आईपे र माछापुच्छ्रेबीच रेमिट्यान्स सम्झौता
काठमाडौं, ७ साउन । विदेशमा रहेका नेपालीहरुले श्रम गरी आर्जन गरेको रेमिट्यान्स मुलुक भित्र्याउँदै आएको रेमिट्यान्स कम्पनी आई पे रिलायबल रेमिट्यान्स र माछापुच्छ्रे बैकबीच रेमिट्यान्स सम्झौता भएको छ । विदेशबाट आई पे मार्फत पठाएको पैसा ग्राहकहरुले आफुलाई पायक पर्ने माछापुच्छ्रे बैकको शाखा बाट भुक्तानी लिन सक्ने कम्पनीले जानकारी दिएको छ । विदेशबाट सुरक्षित र भरपर्दो तरिकाले रेमिट्यान्स भित्र्याउँदै आएको आई पे ले अमेरिका, साउदी अरब, कतार, मलेशिया, युएई, बेलायत, अष्ट्रेलिया, जापान लगायत नेपाली कार्यरत सबैजसो मुलुकहरुबाट विभिन्न रेमिट्यान्स कम्पनीहरुसँग सहकार्य गरी नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ । आई पे रिलायबल रेमिट्यान्स को नेपाल भर ३ हजार ५ सय भन्दा बढी भुक्तानी काउन्टरहरु रहेका छन् र बैंक वित्तिय संस्थाको पहुंच नभएको क्षेत्रमा यस्ता भुक्तानी काउन्टर हरुबाट ग्राहकहरुले भुक्तानी लिन सक्ने छन् ।
आन्तरिक राजस्व विभागले उठायो लक्ष्यभन्दा १० अर्ब बढी राजस्व
काठमाडौं, ७ साउन । गत आर्थिक बर्षमा आन्तरिक राजस्व विभाग र अन्तर्गतका कार्यालयहरुको राजस्वको संकलनको लक्ष्य भन्दा १० अर्ब बढी राजस्व उठाएका छन् । विभाग र अन्तरगत कार्यालयहरुको लागि १ खर्व ९४ अर्व ६७ करोड ६२ लाख ९९ हजार रुपैयाँ लक्ष्य तोकिएकोमा २ खर्व ४ अर्व ४३ करोड ५३ लाख ९२ हजार असुली भएको छ । विभागले दिएको जानकारी अनुसार गत आर्थिक बर्षको लागि आयकर तर्फ १ खर्व ९ अर्व ७ करोड ४७ लाख ४३ हजार, मू.अ.कर तर्फ ४८ अर्व १८ करोड १ लाख ४२ हजार, अन्तःशुल्क तर्फ ३५ अर्ब ९४ करोड ५७ लाख ९२ हजार, शिक्षा सेवा शुल्क तर्फ रु.६४ करोड ६८ लाख ४८ हजार र स्वास्थ्य सेवा शुल्क तर्फ ८२ करोड ८७ लाख ७४ हजार गरी जम्मा १ खर्ब ९४ अर्व ६७ करोड ६२ लाख ९९ हजार रुपैयाँ लक्ष्य तोकिएको थियो । तर गत असार मसान्तसम्ममा आयकर तर्फ १ खर्व १७ अर्व १३ करोड ११ लाख ७४ हजार, मू.अ.कर तर्फ ४९ अर्व ८२ करोड ३५ लाख हजार, अन्तःशुल्क तर्फ ३६ अर्व १९ करोड ३१ लाख ४० हजार, शिक्षा सेवा शुल्क तर्फ ७२ करोड ७ लाख २४ हजार र स्वास्थ्य सेवा शुल्क तर्फ ५६ करोड ६८ लाख १८ हजार समेत गरी २ खर्व ४ अर्व ४३ करोड ५३ लाख ९२ हजार रुपैयाँ असुली भएको छ । २०७२ वैशाखको शुरुमै देशले भोग्नु परेको विनाशकारी भूकम्प, २०७२÷७३ को प्रारम्भदेखि नै तराई स्थित नाकामा भएको आपूर्ति अवरोध, विकास निर्माणमा देखिएको सुस्तता, पूँजीगत खर्चमा भएको कमी, आर्थिक वर्षको आधा समय २०७२ फागुन महिनासम्म तराईमा भएको बजार वन्द आदि कारणहरुले २०७२ फागुन महिनासम्म १० अर्व २२ करोड १० लाख राजस्व घटी असुली भएको अवस्था रहेको थियो । उक्त अवधिमा राजस्व लक्ष्यको तुलनामा असुली घटी हुनका कारणहरुको समीक्षा गर्दै ती कारणहरुबाट सृजित समस्या समाधानका लागि राजस्व संकलन ‘व्याक अप प्लान’लाई कार्यान्वयन गर्न राजस्व संकलन रणनीति तयार गरी फागुन महिनासम्मको घटी राजस्व समेत पूरा भई वार्षिक लक्ष्य १ खर्व ९४ अर्व ६७ करोड ६२ लाख ९९ हजार रहेकोमा उक्त लक्ष्यभन्दा ९ अर्व ७५ करोड ९० लाख ९३ हजार वढी राजस्व संकलन गर्न विभाग सक्षम भएको छ । उल्लेखित कठिनाइहरुका वावजुद आर्थिक वर्ष २०७२÷०७३ का लागि तोकिएको राजस्व लक्ष्य गत वर्षको असुलीको तुलनामा १२८ प्रतिशतले बढी हो ।
महालक्ष्मी फाइनान्सको पनि १७ प्रतिशत वृद्धि, १६ प्रतिशत बोनस सेयर दिन सक्ने
काठमाडौं, ७ साउन । महालक्ष्मी फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष १० करोड २६ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्ष तुलानामा फाइनान्सले १७ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्षमा फाइनान्सले ८ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेको थियो । फाइनान्सले गत आर्थिक बर्षको नाफाबाट करिब १६ प्रतिशत बोनस सेयर दिन सक्ने देखिएको छ । फाइनान्सको चुक्ता पुँजी ४८ करोड ३० लाख रुपैयाँ मात्र छ । यस फइनान्सले निक्षेप ५ अर्ब ४३ करोड रुपैयाँ र कर्जा तथा लगानी ४ अर्ब ७७ करोड रुपैयाँ परिचालन गरेको छ । फाइनान्सको खराब कर्जा ०.२७ प्रतिशत मात्र छ भने कर्जा निक्षेप अनुपात ७३ प्रतिशत रहेको छ ।
मञ्जुश्री फाइनान्सियलको नाफा ११८%ले बढ्यो, १०% बोनस सेयर दिन सक्ने
काठमाडौं, ७ साउन । मञ्जुश्री फाइनान्सियल इन्स्टिच्युसन लिमिटेडले गत आर्थिक वर्ष ३ करोड ३० लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्ष तुलानामा फाइनान्सले ११८ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्षमा फाइनान्सले १ करोड ५१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । फाइनान्सले गत आर्थिक बर्षको नाफाबाट करिब १० प्रतिशत बोनस सेयर दिन सक्ने देखिएको छ । फाइनान्सको चुक्ता पुँजी २५ करोड ६ लाख रुपैयाँ मात्र छ । पुँजी वृद्धि सम्बन्धि राष्ट्र बैंकको निर्देशनका कारण यस बैंकलाई पनि बोनस सेयर दिनुपर्ने बाध्याता छ । यस फइनान्सले निक्षेप २ अर्ब ४८ करोड रुपैयाँ र कर्जा तथा लगानी २ अर्ब १६ करोड रुपैयाँ परिचालन गरेको छ । फाइनान्सको खराब कर्जा ३.५७ प्रतिशत मात्र छ भने कर्जा निक्षेप अनुपात ७५ प्रतिशत रहेको छ ।
लाखौ सेयरधनीको गोप्य सूचना छरपष्ट, गोप्यता भंग गरेकोमा दर्जन धितोपत्र व्यवसायीमाथि कारवाही
काठमाडौं, ६ साउन । लगानीकर्ताको गोपनियता भंग गरेको र गैर कानूनी रुपमा सेयर लगानीकर्ताको सूचना बिक्री गरेको आरोपमा तीन दर्जन धितोपत्र व्यवसायीलाई नेपाल धितोपत्र बोर्डले सचेत गराएको छ । केही कम्पनीहरुले सम्वन्धित सरकारी निकायबाट अनुमति नलिई सफ्टवेयर प्रयोग गरेको र त्यसबाट लगानीकर्ताको संवेदनशिल सूचना चुहाएकोले उनीहरुलाई आईन्दा यस्तो नगर्न सचेत गराएको छ । ‘धितोपत्र सम्बन्धी विवरण सम्बन्धित निक्षेप सदस्यले सुरक्षित राख्नु पर्ने तथा सम्बन्धित लगानीकर्ताको मात्र पहुँच हुनुपर्ने भन्दै सो सम्बन्धमा गोप्यता कायम राख्नुपर्ने’ भन्दै बोर्डले उनीहरुलाई सचेत गराएको छ । बोर्डले सिभिल क्यापिटल मार्केट लि., ग्रोमोर मर्चेन्ट बैंकर लि, एन.सि.एममर्चेन्ट बैकिङ लि., भिबोर क्यापिटल लि., मार्केट सेक्युरिटिज एण्ड एक्सचेञ्ज प्रा. लि., अग्रवाल सेक्युरिटिज प्रा. लि, प्राइमो सेक्युरिटिज प्रा.लि, एबिसि सेक्युरिटिज प्रा.लि., सिप्ला सेक्युरिटिज प्रा.लि, एसियन सेक्युरिटिज प्रा. लि., श्री कृष्ण सेक्युरिटिज लि., प्रिमियर सेक्युरिटिज कं. लि., कोहिनुर ईन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रा.लि, सेक्युर्ड सेक्युरिटिज लि., सनि सेक्युरिटिज कं. लि., डाईनामिकमनि मेनेजर्स प्रा.लि, क्रिष्टल कंचनजंघा सेक्युरिटिज प्रा.लि, सेवा सेक्युरिटिज प्रा.लि., भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रा.लि., श्रीहरि सेक्युरिटिज प्रा.लि., दिब्या सेक्युरिटिज एण्ड स्टक हाउस प्रा.लि र अनलाइन सेक्युरिटिज प्रा.लिलाई सेचत गराएको हो । उनीहरुले सेयरबजार सम्बन्धि सूचनाहरु प्रवाह गर्दै आएको एक न्यूजपोर्टलाई अस्वभाविक साँठगाँठ गरेर लगानीकर्ताको प्रवाह गर्दै आएको पाइएको स्रोतले बतायो । ‘सबैको मिलोमत्तोमा क्रिमिनल एक्टिभिटज (अपराधिक कृयाकलाप) भईराखेको रहेछ’ धितोपत्र बोर्डका उच्च अधिकारीले भने–जानिजानि वा नजानेर नेपाल स्टक एक्स्चेञ्ज, सिडिएस एण्ड क्लियरिङले समेत उनीहरुलाई पहुँच दिएर सहयोग गरेको पाईयो ।’ बैंकले निक्षेपकर्ताको तथा ऋणीको सूचना जसरी गोप्य राख्नुपर्ने हो त्यसरी नै धितोपत्र व्यवसायीहरुले लगानीकर्ताको सूचना गोप्य राख्नु पर्नेमा धितोपत्र बोर्डले जोड दिएको छ । धितोपत्र बोर्डले नेप्से र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई समेत सचेत बनाएको छ । यसैगरी, बोर्डले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सिडिएस एण्ड क्लियरिङलाई धितोपत्र कारोवार व्यवस्थित तथा नियमित बनाउन निर्देशन दिएको छ । साथै सम्पूर्ण लगानीकर्ताको डाटा केन्द्रिय निक्षेप प्रणालीमा रहने गरी वेभसाइट मार्फत सम्बन्धित हितग्राहीलाई मात्र त्यस्तो खाता हेर्न दिन सिडिएसलाई निर्देशन दिएको हो । यसैगरी, इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल प्रा. लि., अग्रवाल सेक्युरिटिज प्रा.लि., नाशा सेक्युरिटिज लि., डाइनामिक मनिमेनेर्जस प्रा. लि., श्रीहरि सेक्युरिटिज प्रा. लि., प्रिमियर सेक्युरिटिज लि. भृकुटी स्टक ब्रोकिङ्गप्रा.लि. र सेवा सेक्युरिटिज प्रा. लिले ब्रोकर व्याक अफिस प्रणालीको रुपमा मण्डला सिस्टम प्रा. लि. प्रयोग नगरी अन्यव्याक अफिस प्रणाली प्रयोग गरेको भन्दै नेपाल धितोपत्र बोर्ड सम्बन्धी नियमावली, २०६४ को नियम २८(क) बमोजिम सचेत गराएको छ । साथै, हालको ब्रोकर व्याकअफिस प्रणालीलाई सुधार वाविस्थापित गरी नयाँ प्रणाली विकास गर्न आवश्यक देखिएको र धितोपत्र दलाल व्यवसायीको ब्रोकर व्याकअफिस प्रणालीलाई अत्याधुनिक, स्तरीय र सुविधा सम्पन्न बनाई पूँजी बजारको विकास, लगानीकर्ताको हित एवं धितोपत्र दलाल स्वंयको कार्य सहजतकाको लागि सो सम्बन्धी कार्य तत्काल अगाडि बढाउन निर्देशन दिएको छ ।
सिटिजन्स बैंकको नाफा १ अर्ब १० करोड
काठमाडौं, ७ साउन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको गत आर्थिक वर्ष १ अर्ब १० करोड रुपैँया खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलानामा बैंकले ५२ प्रतिशत नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्ष बैंकले ७२ करोड ३ लाख रुपैँया खुद नाफा गरेको थियो । यस बैंकले निक्षेप ४७ अर्ब ३९ करोड र कर्जा तथा लगानी ४८ अर्ब १३ करोड रुपैयाँ परिचालन गरेको छ । बैंकको खराब कर्जा १.३१ प्रतिशत मात्र रहेको छ भने कर्जा निक्षेप अनुपात ७७ प्रतिशत छ ।
मालिका विकास बैंकको नाफा १३ करोड २१ लाख, ३३% बोनस सेयर दिन सक्ने
काठमाडौं, ७ साउन । मालिका विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष १३ करोड २१ लाख रुपैँया खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलानामा बैंकले १०० प्रतिशत नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्ष बैंकले ६ करोड ६० लाख रुपैँया खुद नाफा गरेको थियो । बैंकले गत आर्थिक वर्षको नाफाबाट करिब ३३ प्रतिशत बोनस सेयर दिन सक्ने देखिएको छ । कम्पनीको चुक्ता पुँजी ३१ करोड ३२ लाख रुपैयाँ मात्र छ । पुँजी वृद्धि सम्बन्धि राष्ट्र बैंकको निर्देशनका कारण यस बैंकलाई पनि बोनस सेयर दिनुपर्ने बाध्याता छ । यस बैंकले निक्षेप ३ अर्ब ९५ करोड रुपैयाँ र कर्जा तथा लगानी ३ अर्ब १६ करोड रुपैयाँ परिचालन गरेको छ । बैंकको खराब कर्जा १.६९ प्रतिशत मात्र छ भने कर्जा निक्षेप अनुपात ७० प्रतिशत रहेको छ ।
ट्याक्सीकालागि भूकम्म पिडितले दुई दिनमै मागभन्दा धेरै अावेदन दिए, छान्न कठिन
काठमाडौँः सरकारले भूकम्पबाट अति प्रभावित १४ जिल्लाका जनतालाई उपलब्ध गराउने गरी ट्याक्सी दर्ता खुलाएको दुई दिनमै माग सङ्ख्याभन्दा धेरै निवेदन दर्ता भएको छन्। बुधबार एक हजार एकसय दुई र विहिवार एक हजार चारसय गरी दुई हजार पाँचसय दुई आवेदन दर्ता भएको यातायात व्यवस्था कार्यालयले जनाएको छ। मागसंङ्ख्या भन्दा धरै दुईदिनमै भएका कारण विभागलाई छान्न कठिन हुने जनाएको छ। लामो समयदेखि ट्याक्सी दर्ता बन्द रहेकाले अति प्रभावित १४ जिल्लाका भूकम्पपीडितले आवेदन दर्ता गराएका हुन्। चौध वर्षपछि गत वर्ष विभागले एक हजार अाठसय ट्याक्सी गोलाप्रथाद्वारा छनोट गरेको थियो। यसमा भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा, नुवाकोट, काठमाडौँ, ललितपुर र भक्तपुरका आधिकारिक प्रमाणपत्र भएका भूकम्पपीडितले आवेदन दर्ता गराउन सक्नेछन् । ट्याक्सी दर्ताका लागि साउन ५ गतेदेखि भदौ २ गतेसम्मको समय तोकिएको यातायात व्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए । यसका लागि यातायात व्यवस्था कार्यालय, साना÷ठूला सवारी, वाग्मतीमा आवेदन दिन सकिनेछ । आवेदनका लागि रु १०० तिर्नुपर्ने विभागले जनाएको छ । भूकम्पपीडित परिचयपत्र भएका व्यक्तिले नै आवेदनमा हस्ताक्षर र ल्याप्चे लगाउनुपर्ने व्यवस्था गरिएको छ भौतिक पूर्वाधार तथा यातायात मन्त्रिस्तरीय निर्णयअनुसार बुधबारदेखि ट्याक्सी दर्ताको प्रक्रिया सुरु भएको हो । भूकम्पबाट अति प्रभावित १४ जिल्लाका पीडितले दर्ता गर्न पाउने गरी मन्त्रिस्तरीय निर्णयअनुसार दर्ता खोलिएको हाे।