विकासन्युज

सेयर कारोबार २१ प्रतिशतले घट्यो, परिसूचक ८ अंकले बढ्यो

काठमाडौं, १० भदौ । यो साता सेयर बजारमा मिश्रित परिसूचकहरु देखिएको छ । रकमको आधारमा कारोबार कम भए पनि समग्रमा सेयरको मूल्य बढेको छ । यो साता १९ हजार ९५४ कारोबारबाट ३ अर्ब ४५ करोड १४ लाख ४७ हजार रुपैयाँ बराबरका ४७ लाख ८१ हजार नौ सय कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २१.४० प्रतिशत कम हो । यो साता सेयर बजार ४ दिन मात्र खुलेकोले पनि कारोबार कम भएको देखिन्छ । यो साता नेपाल स्टक एक्सचेन्जमा १५६ कम्पनीहरुको कारोबार भएको छ । कारोबार घटेपनि नेप्से परिसूचक पहिलो दिनको तुलनामा ८.१९ अंकले बढेर अन्तिम दिन १७३०.६२ अंकमा पुगेको छ । आईतबार १७२२ रहेको परिसूचक मंगलबार १६८१ मा झरेको थियो तर बुधबार बढेर १७३० भयो । सातामा बीमा समूहको परिसूचक २९५ अंकले बढेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २.२४ अंकले बढेर ३७४.२५ अंकमा आईपुगेको छ । यस साता कारोबार रकम ( २८ करोड १३ लाख ९० हजार रुपैयाँ) को आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लि. अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (दुई लाख ९१ हजार कित्ता) को आधारमा एनएमवि सुलभ इन्भेस्टमेन्ट फण्ड १ अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (३०८७ वटा) को आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लि. अग्रस्थानमा रहेको छ ।

लक्ष्मी बैंकको नारायणघाट शाखा स्थानान्तरण हुँदै

काठमाडौं, १० भदौ । लक्ष्मी बैंकको नारायणघाट शाखा भाद्र १२ गते आइतबारबाट नयाँ स्थानमा स्थानान्तरण हुँदै छ । बैंकको नयाँ शाखा नारायणघाटको भरतपुर उपमहानगरपालिका वडा नं. ३ स्थित कृष्ण कम्प्लेक्सको पहिलो तल्लामा सरेको बैंकले जनाएको छ । ग्राहकहरुलाई थप सुविधा एवंम सेवा दिने उद्देश्यले बैंकले सोही शाखा नयाँ स्थानमा स्थानान्तरण गरेको बताएको छ । जम्मा २३०० वर्गफिट क्षेत्रफलमा अवस्थित नयाँ शाखाबाट बैंकका सम्पूर्ण ग्राहकलाई थप सहजता पुग्ने र चितवन क्षेत्रको बढ्दो व्यापारिक आवश्यकता र मागहरु पूर्ण गर्न सक्ने बैंकको विश्वास रहेको छ । यसअघि बैंकले नारायणघाट स्थित भरतपुर उपमहानगरपालिका वडा नं. ४ बाट ग्राहकलाई सेवा उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले १० प्रतिशत बोनस सेयर दिने

काठमाडौं, १० भदौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले सेयरधनीलाई १० दशमलब ०५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै कम्पनीले शून्य दशमलब ५५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय शुक्रबार बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको सो निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् ।

एनआइसी एसियाले २७ प्रतिशत लाभांश र १५ प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं, १० भदौ । एनआइसी एसिया बैंकले सेयरधनीलाई जम्माजम्मी २७ दशमलब ३७ प्रतिशत लाभांश दिने भएको छ । बैंकले २६ प्रतिशत बोनस सेयर र १ दशमलब ३७ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निणर्य गरेको छ । साथै, बैंकले बोनस सेयर वितरण पछि १५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । उक्त निर्णय भदौ १० गते बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको सो निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् । साथै, सेयर बिक्री वितरण गर्न पाउने कम्पनीले जनाएको छ ।

काँग्रेसका १३ मन्त्रीद्धारा सपथ ग्रहण, कसले कुन मन्त्रालय पाए ?

काठमाडौं, १० भदौ। नेपाली काँग्रेसका १३ जना मन्त्रीले सपथ ग्रहण गरेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला र खुम बहादुर खड्का समुहसँग भागबण्डा मिलेसँगै शुक्रबार मन्त्रीहरुले सपथ ग्रहण गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नव नियुक्त मन्त्रीहरुलाई शितल निवासमा सपथ ग्रहण गराएकी हुन् । काँग्रेसका तर्फबाट सपथ ग्रहण गर्ने १३ नयाँ मन्त्रीहरुमा प्रकाशशरण महत (परराष्ट्र), अर्जुननरसिंह केसी (शहरी विकास), बालकृष्ण खाँड (रक्षा), सूर्यमान गुरुङ (श्रम), शंकर भण्डारी (वन), नवीन्द्रराज जोशी (उद्योग), केशव बूढाथोकी (सामान्य प्रशासन), दीपक गिरी (सिँचाइँ) र सीतादेवी यादव (शान्ति), रोमी गौचन थकाली(वाणिज्य), हृदयराम थानी(सहकारी), जीवनबहादुर शाही(पर्यटन तथा संस्कृति) र गगन थापा(स्वास्थ्य) मन्त्री रहेका छन् ।

८ अर्ब रुपैयाँभन्दा बढीको हकप्रद निस्कासनको अनुमति माग्दै बोर्डमा निवेदन (कुन कम्पनीको कति आउदै छ हकप्रद ?)

काठमाडौं, १० भदौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीले ८ अर्ब रुपैयाँभन्दा बढीको हकप्रद सेयर निस्कासनको अनुमति माग्दै धितोपत्र वोर्डमा निवेदन दिएका छन् । खासगरी बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले हकप्रद निस्कासनको अनुमति मागेका हुन् । केही जलविद्युत कम्पनीले पनि हकप्रद निस्कासनको अनुमति मागेका धितोपत्र वोर्डले जानकारी दिएको छ । बोर्डले दिएको जानकारीअनुसार लक्ष्मी लघुवित्त संस्थाले १ बराबर १ कित्ताको दरले हकप्रद निष्कासनको अनुमति माग्दै गत २१ वैशाखमा बोर्डमा निवेदन दिएको छ । उसले १ बराबर १ कित्ताको दरले हकप्रद निष्कासन गर्ने अनुमति माग गरेको हो । लक्ष्मीले ११ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हिमालयन बैंकले ७ बराबर १ कित्ताको दरले हकप्रद सेयर निष्कासनको अनुमति माग्दै गत २७ वैशाखमा निवेदन दिएको छ । बैंकले ६४ लाख २७ हजार ३ सय ५० कित्ता हकप्रद सेयर निष्कासनको अनुमति मागेको हो । अपी पावर कम्पनीले १ बराबर २ कित्ताको दरले हकप्रद निष्कासनको अनुमति माग्दै गत २७ वैशाखमै निवेदन दिएको थियो । अपीले २ करोड कित्ता हकप्रद निष्कासन गर्ने अनुमति मागेको हो । सेती फाइनान्सले गत ३१ जेठमा १ बराबर डेढ कित्ताको दरले हकप्रद जारी गर्न अनुमति मागेको छ । सेतीले ९ लाख ५१ हजार ७ सय ८६ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । ललितपुर फाइनान्सले गत १४ असारमा १ बराबर १ कित्ताको दरले हकप्रद निष्कासन गर्न माग गर्दै बोर्डमा निवेदन दिएको छ । ललितपुरले १८ लाख ७९ हजार ४ सय ५३ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । नागबेली लघुवित्त विकास बैंकले २ बराबर १ कित्ताको दरले हकप्रद निष्कासनको अनुमति माग्दै गत १६ असारमा बोर्डमा निवेदन दिएको थियो । नागबेलीले १ लाख २५ हजार कित्ता हकप्रद सेयर निष्कासनको माग गरेको हो । अरनिको डेभलपमेन्ट बैंकले १० बराबर ३.६ कित्ताको दरले हकप्रद निष्कासनको अनुमति माग्दै गत १९ असारमा बोर्डमा निवेदन दिएको थियो । अरनिकोले ९ लाख २८ हजार १ सय ९० कित्ता सेयर निष्कासनको अनुमति मागेको हो । सप्तकोसी डेभलपमेन्ट बैंकले १ बराबर १ कित्ताको दरले हकप्रद निष्कासनको माग गर्दै गत २० असारमा बोर्डमा निवेदन दिएको थियो । सो बैंकले १० लाख कित्ता हकप्रद सेयर निष्कासनको अनुमति मागेको हो । सेवा विकास बैंकले १ बराबर १.२ कित्ताको दरले हकप्रद सेयर निष्कासनको अनुमति माग्दै गत २० असारमा बोर्डमा निवेदन दिएको छ । सेवाले ५१ लाख ६ हजार ६ सय ६२ कित्ता हकप्रद सेयर निष्कासनको अनुमति मागेको हो । मुक्तिनाथ विकास बैंकले २ बराबर १ कित्ताको दरले हकप्रद सेयर निष्कासन गर्ने अधिकार दिन भन्दै गत २६ असारमा बोर्डमा निवेदन दिएको छ । मुक्तिनाथले ४१ लाख ९२ हजार १ सय ६३ कित्ता सेयर हकप्रद निष्कासनको अनुमति मागेको हो । मितेरी डेभलपमेन्ट बैंकले २ बराबर १ कित्ताको दरले हकप्रद निष्कासनको माग गर्दै गत २६ असारमा बोर्डमा निवेदन दिएको थियो । मितेरीले १० लाख ५६ हजार ३ सय ६९ कित्ता हकप्रद सेयर निष्कासनको अनुमति मागेको हो । एनएमबी माइक्रो फाइनान्सले १ बराबर १.२ कित्ताको दरले हकप्रद सेयर निष्कासनको माग गर्दै गत ५ साउनमा बोर्डमा निवेदन दिएको छ । उसले ५ लाख ५२ हजार कित्ता हकप्रद सेयर निष्कासनको अनुमति माग गरेको हो । सिद्धार्थ बैंकले ४ बराबर १ कित्ताको दरले हकप्रद सेयर निष्कासनको अनुमति माग्दै गत ६ साउनमा बोर्डमा निवेदन दिएको छ । सिद्धार्थले ७५ लाख ५५ हजार १ सय ९३ कित्ता हकप्रद सेयर निष्कासनको अनुमति मागेको हो । त्रिवेणी विकास बैंकले २ बराबर १ कित्ताको दरले हकप्रद निष्कासनको माग गर्दै गत १० साउनमा निवेदन दिएको छ । त्रिवेणीले ८२ लाख १ सय ५२ कित्ता हकप्रद सेयर निष्कासनको अनुमति मागेको हो । नेको इन्स्योरेन्स कम्पनीले १ बराबर १ कित्ताको दरले हकप्रद सेयर निष्कासनको अनुमति माग्दै गत १२ साउनमा बोर्डमा निवेदन दिएको छ । नेकोले ३२ लाख ४० हजार ४ सय ३६ कित्ता हकप्रद सेयर निष्कासनको अनुमति मागेको हो । कञ्चन डेभपलमेन्ट बैंकले २ बराबर १ कित्ताको दरले हकप्रद निष्कासनको माग गर्दै गत २४ साउनमा बोर्डमा निवेदन दिएको छ । कञ्चनले ९ लाख ९० हजार कित्ता हकप्रद सेयर निष्कासनको माग गरेको हो । कैलाश विकास बैंकले ५ बराबर १ कित्ताको दरले हकप्रद सेयर निष्कासनको अनुमति माग्दै गत ३० साउनमा बोर्डमा निवेदन दिएको छ । कैलाशले ३१ लाख ६० हजार ६ सय ७२ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । काष्ठमाण्डप डेभलमेन्ट बैंकले ४ कित्ता बराबर १ कित्तको दरले हकप्रद सेयर निस्कासनको अनुमति माग्दै बोर्डमा निवेदन दिएको छ । बैंकले गत ३१ साउनमा बोर्डमा निवेदन दिएको हो । उसले १६ लाख ९९ हजार ७ सय ४१ कित्ता हकप्रद सेयर निस्कासनको अनुमति मागेको हो । यस्तै सिद्धार्थ इन्स्योरेन्स कम्पनीले पनि ४ बराबर १ कित्ताको दरले हकप्रद सेयर निस्कासनको अनुमति माग्दै गत ३२ साउनमा बोर्डमा निवेदन दिएको छ । उसले ८ लाख ६२ हजार १ सय २५ कित्ता हकप्रद निस्कासनको अनुमति मागेको हो ।

बुर्किनी प्रतिबन्धले फ्रान्समा हंगामा

काठमाडौं, १० भदौं । फ्रान्सका २६ वटा नगरमा बुर्किनी लगाउन प्रतिबन्ध लगाएपछि मुलुकभर हंगामा भएको छ । बुर्किनी प्रतिबन्धको अन्तराष्ट्रिय क्षेत्रमा पनि बहस सुरु गरेको छ । फ्रान्सका बिभिन्न २६ राज्यले समुद्री तटमा पुरै शरिर ढाक्ने बुर्किनी नामक स्विम सुट लगाउन प्रतिबन्ध लगाएका थिए । उनीहरुले बुर्किनीको पहिरनमा आइएस आतंकवादीले आक्रमण गर्न सक्ने भन्दै त्यस्तो पहिरनमा रोक लगाएको जनाएको छ ।

किन देश निकाला गरियो २८१ जना विदेशी नागरिकलाई ?

काठमाडौं, १० भदौं । नेपालले २८१ जना विदेशी नागरिकलाई देश निकाला गरेको छ । सरकारले गत आर्थिक वर्ष २०७२/७३ सालमा आगामी १० वर्षसम्म नेपाल आउन नपाउने गरि ती विदेशी नागरिकलाई देश निकाला गरेको हो । उनीहरुले लागु औषध र डलरको तस्करी गरेको प्रमाण फेला परेपछि सरकारले देश निकाला गरेको हो । अघिल्लो बर्ष नेपालले ३२६ जना विदेशीलाई देश निकाला गरेको थियो । यसरी देश निकाला गरिएका मध्ये ९३ चिनियाँ, ३८ जना अमेरिकी, उज्वेकिस्तानका १९, बंगलादेशका १८, बेलायतका १५, सिरियाका १४, अष्टे«लियका १२, फ्रान्सका १२, इरानका ९, रसियाका ८ र क्यानडाका ७ जना रहेका छन् । समाचार श्रोत राजधानी दैनिक