विकासन्युज

नेप्से परिसूचक २५ अंकले ओरालो, ५९ करोडको कारोबार, सबै सूचक राताम्मे

काठमाडौं, १२ पुस । मंगलबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । बजारमा नेप्से परिसूचक २५ दशमलब ०४ अंकले घटेर १४०७ अंकमा झरेको छ । सो दिन बजारमा निकै उतारचढाव भएको देखिन्छ । कारोबार खुलेको करिब २ घन्टामा परिसूचक घटेर १३९४ अंकमा पुगेको बजारलाई बन्द हुँदा भने केही टेवा पुगेको देखिन्छ । मंगलबार बजारमा ५९ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जुन सोमबारको तुलनामा करिब ११ करोड रुपैयाँ बढी हो । सो दिन १३० कम्पनीको १० लाख कित्ता सेयर किनबेच भएको छ । बजारमा कारोबार भएका सबै परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १९१ अंकले ओरालो लागेका छन् । त्यस्तै, हाइड्रोपावर, बैंकिङ्, विकास बैंक, होटल र फाइनान्स समूहको परिसूचक क्रमशः ३०, २४, २१, १७ र १६ अंकले घटेका छन् । अन्य समूहको परिसूचक सामान्य अंक ३ दशमलब ४७ अंकले घटेको छ । मंगलबारको बजारमा सिद्धार्थ बैंकको सबैभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ । तीन करोड बढी रुपैयाँको सेयर कारोबार भएको बैंकको सेयर मूल्य प्रतिकित्ता ९२८ रुपैयाँ रहेको छ । त्यस्तै, बैंक अफ काठमाण्डू र एभरेष्ट बैंकको २ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । मञ्जुश्री फाइनान्सियल इन्स्टिट्यूसन र प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ । सबैभन्दा बढी एनबी इन्स्योरेन्सको सेयर मूल्य ९.९० प्रतिशतले बढेको छ ।

खोटाङ र उदयपुरको सिमानामा बेलिब्रिज जडान, तराईसँगको सिधा यातायात शुरु

खोटाङ, १२ पुस । खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसी नदीस्थित फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिज मंगलबारदेखि सञ्चालनमा आएको छ । जिल्लाको दक्षिणी गाविस लिच्किराम्चे र उदयपुरको आँपटार गाविस जोड्ने फोक्सिङ्टारस्थित सुनकोसी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै जिल्लाबाट सिधा यातायात सेवा सुरु भएको छ । तराईलगायत अन्य जिल्ला पुग्न सबैभन्दा छोटो मार्गका रुपमा महुरे– फोक्सिङ्टार सडक खण्ड मानिन्छ । सुनकोसी, दूधकोसी, तामाकोसी, लिखु र इन्द्रावती गरी पाँच नदी मिसिएर बग्ने फोक्सिङ्टारमा अस्थायी बेलिब्रिज सञ्चालन भएपछि जिल्लाबाट यातायातका सवारी साधन छुटाउन थालिएको यातायात व्यवसायी सङ्घ खोटाङका सचिव रामकुमार हिङ्माङले जानकारी दिएका छन्। फोक्सिङ्टारमा बेलिब्रिज सञ्चालनमा आएपछि जिल्लावासीलाई तराईलगायत अन्य जिल्ला आवतजावतका साथै दैनिक उपभोग्यवस्तु ढुवानीमा सहज भएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताए । पक्की पुल निर्माणका लागि ठेक्का लागिसकेको फोक्सिङ्टारमा अहिलेसम्म पुल निर्माणको काम हुन सकेको छैन । तीन वर्षअघि शिलान्यास गरिएको पक्की पुल निर्माणमा ठेकेदारले लापरबाही गरेकाले काम नभएको स्थानीयवासीको आरोप छ । पुल निर्माण नभएपछि विकल्पमा अस्थायी बेलिब्रिज जडान गर्दा वार्षिक ६० लाख रुपैयाँभन्दा बढी राज्यकोषको रकम खर्च हुने गरेको छ । अहिलेसम्म कच्ची अवस्थामा रहेको दिक्तेल– गाईघाट सडक कालोपत्रेसमेत सुरु गरिएको छ । रासस

सिटिजन्स बैंकलाई धितोपत्र दरखास्त संकलन गर्न बोर्डको अनुमति

काठमाडौं, १२ पुस । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धितोपत्र दरखास्त संकलनको कार्य गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । सिटिजन्स बैंकले धितोपत्र निष्कासन हुँदाका बखत लगानीकर्ताबाट दरखास्त बुझेर उनीहरुको खातामा रकम होल्ड गरी दरखास्त लिने गर्दछ । बैंकले उक्त कार्य आगामी माघ १ गतेदेखि लागू गर्नेछ ।

समता माइक्रोफाइनान्सको आइपीओ पुस १९ गतेदेखि, २२ गतेसम्म आवेदन दिन पाइने

काठमाडौं, १२ पुस । समता माइक्रोफाइनान्स वित्तीय संस्थाको थप साधारण सेयर(आइपीओ ) पुस १९ गतेबाट बिक्री खुला हुने भएको छ । कम्पनीले एक सय अंकित मूल्यको ९४ हजार ८ सय कित्ता साधारण सेयरको बिक्री खुला गर्न लागेको हो । कम्पनीका अनुसार कुल ९४ हजार ८ सय कित्तामध्ये एक हजार ८९६ कित्ता सेयर कर्मचारीको लागि र ४ हजार ७४० कित्ता सेयर म्युचुअल फण्डको लागि छुट्टाइएको छ । इच्छुक लगानीकर्ताले ८८ हजार कित्ता सेयरकोलागि मात्र आवेदन दिन पाउने छन् । लागानीकर्ताले न्यूनतम ५० देखि अधिकत्तम पाँच सय कित्ता सेयरको माग गर्न पाउने छन् । कम्पनीका अनुसार लगानीकर्ताले छिटोमा पुस १९ गतेदेखि पुस २२ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल मार्केटलाई नियूक्त गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकका शाखाहरु, एनआइबिएल क्यापिटलको कार्यालय लाजिम्पाट, बारा स्थित माइक्रोफाइनान्सको कार्यालय लगायत विभिन्न ११ संस्थामा सेयर आवेदन बुझाउन सकिने जनाइएको छ ।

‘आर्थिक समृद्धिका लागि राजनीतिक लोडसेडिङ हटाउनुपर्छ’

काठमाडौं, १२ पुस । ऊर्जामन्त्री जनार्दन शर्माले मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउन र व्यापार घाटा घटाउन जलविद्युत् क्षेत्रको समग्र विकास जरुरी रहेको बताएका छन् । अनेरास्ववियु (क्रान्तिकारी) पाटन संयुक्त क्याम्पसले आयोजना गरेको स्वागत, बिदाइ तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको आर्थिक समृद्धिका लागि आफूले सानो प्रयास थालनी गरेको र त्यसलाई सफलतामा पुर्याउन समाजका सबै तह र तप्काको उत्तिकै सहयोग जरुरी रहेको बताएका छन् । काठमाडौं उपत्यकालाई मात्रै विद्युत्भार कटौतीमुक्त गर्दा त्यसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको छ भन्दै उनले आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा रहेको जलविद्युत् क्षेत्रमा सबै नेपालीले सहज रुपमा लगानी गर्न सक्ने गरी कार्यविधि बनाइएको उल्लेख गरेका छन्। ‘नेपालको पानी जनताको लगानी’ भन्ने नारा तय गरेर एकाध वर्षभित्र उल्लेख्य मात्रामा जलविद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम अगाडि बढेको जानकारी दिँदै मन्त्री शर्माले केही समयभित्रै बूढीगण्डकी, नलसिंहगाड, अरुण, सुनकोसीजस्ता आयोजना सुरु गर्ने तयारीमा सरकार रहेको बताए। सामान्य रुपमा बिजुली बाल्ने मात्रै नभई आर्थिक समृद्धिका लागि विद्युत्को उपभोगसमेत बढाउनुपर्नेमा जोड दिँदै उनले १० हजार मेगावाट विद्युत् मुलुकभित्रै खपत गर्न सकिने विश्वास व्यक्त गरेका छन् । राजनीतिक नेतृत्वमा इच्छाशक्ति भए मुलुकको परिवर्तन गर्न कुनै पनि समस्या छैन भन्दै उनले त्यसका लागि राजनीतिमा जारी रहेको ‘राजनीतिक लोडसेडिङ’को समेत अन्त्य गर्नुपर्ने बताएका छन् । सो अवसरमा पाटन संयुक्त क्याम्पसका प्रमुख अमन श्रेष्ठले प्राज्ञिक क्षेत्रबाट जलविद्युत् क्षेत्रको विकास र आर्थिक समृद्धिका लागिसहयोग गर्न आफूहरु तयार रहेको बताएका छन् । अनेरास्ववियु (क्रान्तिकारी)का उपाध्यक्ष रञ्जित तामाङले सरकारले योजना दिए सम्पूर्ण विद्यार्थीलाई जलविद्युत् क्षेत्रको विकासमा लगाउन आफूहरुले पहल गर्ने बताएका छन् । कार्यक्रममा गायक बाबु बोगटीले गीतमार्फत युवा तथा विद्यार्थीलाई सिर्जनशील र सक्रिय बन्न आग्रह गरेका थिए। रासस

नेपाल बङ्गलादेश बैंकको ३७ औं शाखा कचंनपुरको झलारीमा

काठमाडौं, १२ पुस । नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्नो ३७ औं शाखा कचंनपुर जिल्लाको झलारी पिपलडाँडीमा संचालनमा ल्याएको छ । उक्त शाखाको औपचारिक उद्घाटन बैंकका संचालक माधवप्रसाद न्यौपानेको सभापतित्व तथा बैंकका नायब महाप्रबन्धक सुरेन्द्र भुषण श्रेष्ठको उपस्थितिमा प्रमुख अतिथी बैंकका संचालक दीपक कार्की गरिएको थियो । साथै कार्यक्रममा बैंकको एटिएमको उद्घाटन झलारी-पिपलडाँडीका प्रमुख कार्यकारी अधिकृत रघुनाथ अवस्थिद्धारा गरिएको थियो । हाल झलारी शाखा सहित बैंकले ३७ शाखा, २ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ३६ वटा एटिएमबाट बैंकिङ्ग मार्फट सुविधा दिंदै आएको छ । बैंकले आ.व. २०७३।७४ को पहिलो त्रैमासिकमा कुल निक्षेप ३९ अर्ब ६० करोड रुपैयाँ र कुल कर्जा ३४ अर्ब २७ करोड रुपैयाँ परिचालन गरेको छ । साथै सोहि अवधिमा बैंकको खुद नाफा २२ करोड ५० लाख रुपैयाँ रहेको बैंकद्धारा जारी विगेप्तिमा उल्लेख छ ।

नेपालको जलविद्युतमा बंगलादेशको १ खर्ब लगानी, पीपीए र पीटीए सम्झौता हुँदै

काठमाडौं, १२ पुस । नेपालले बंगलादेशसँग पनि विद्युत् उत्पादन तथा व्यापार सम्झौता गर्ने तयारी गरेको छ । नेपालले व्यापार सम्झौताको लागि दुई साता अघि बंगलादेशमा सम्झौता पेपरको मोडल पठाएको छ । बंगलादेशको प्रस्तावअनुसार यहि पुसमा विद्युत् उत्पादन तथा व्यापार सम्झौता पत्रमा हस्ताक्षर गर्ने गरी ऊर्जा मन्त्रालयले तयारी गरेको थियो । तर, अहिलेसम्म कुनै जवाफ नआएको र आफूले बंगलादेश राजदुतावाससँग समय समयमा यस विषयमा कुराकानी गरिरहेको ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले बताए । बंगलादेशले केही समयअघि नै नेपालमा उत्पादित विद्युत् आफूले खरीद गर्ने योजनाका साथ नेपालको जलविद्युत्मा १ खर्ब नेपाली रुपैयाँ बराबर लगानी गर्ने प्रस्ताव गरेको थियो । बंगलादेशले नेपालको ऊर्जाक्षेत्रमा संयुक्त लगानी गर्न चासो देखाएसँगै द्विदेशीय उक्त सम्झौता गर्ने तयारी गरिएको घिमिरेले बताए । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले ऊर्जामन्त्री जनार्दन शर्मालाई विद्युत् उत्पादन तथा व्यापार सम्झौता गरेर नेपालसँग मिलेर संयुक्त लगानी गर्ने प्रस्ताव राखेकी थिइन् । दुई देशका सरकार÷सरकारवीचको संयुक्त लगानीमा, कम्पनीमार्फत सरकारीस्तरमा वा निजी कम्पनीमार्फत अथवा विद्युत् व्यापार गर्ने अन्य कम्पनीमार्फत विद्युत् खरीद—विक्री गर्ने कुरा सम्झौताका प्रमुख विषय बन्ने ऊर्जा मन्त्रालयले बताएको छ । ऊर्जाक्षेत्रमा संयुक्त लगानी गर्ने वा नेपालमा उत्पादित विद्युत् ऊर्जा विक्री कम्पनीमार्फत खरीद गर्ने वा अन्य कुनै विकल्प अपनाउने भन्ने बारेमा भने संयुक्त कार्यदल बनाएर छलफल गर्ने प्रस्ताव बंगलादेशले राखेको छ । बंगलादेशले यसअघि पनि धेरै पटक नेपालसँग विद्युत् उत्पादन तथा खरीदसम्बन्धी सम्झौता गर्ने इच्छा प्रकट गरेको थियो । हाल बंगलादेशको विद्युत् उत्पादन १५ हजार मेगावाट रहेको छ । सन् २०३० सम्ममा सो विद्युत् माग बढेर ३५ हजार मेगावाट पुग्ने भएकाले बंगलादेशले यसको परिपूर्तिका लागि नेपालसँग विद्यूत् सझौता गरी लगानी गर्न लागेको हो । ‘यसैको परिपूर्तिका लागि छिमेकी देशहरूको विद्युत्मा लगानी र खरीदबिक्री प्रक्रिया अगाडि बढाउन लागिएको हो,’ केही समयअघि नेपालमा सम्पन्न ऊर्जा सम्मेलनलाई सम्बोधन गर्दै बंगलादेशकी राजदूत म्यास्फि बिण्ट शाम्सले बताएकी थिइन् । नेपालमा उत्पादित विद्युत् सिधै बंगलादेश लान सम्भव नभएकोले व्यापारमा अप्ठ्यारो अवस्था आउन सक्ने ऊर्जा मन्त्रालय सम्बद्ध स्रोतले बताएको छ । उत्पादनमा सहज भए पनि विद्युत् खरीदविक्रीमा भने जटिलता आउन सक्ने ऊर्जाले व्यापारिक समस्या बताएको छ । यसका लागि एउटा सम्झौता द्विदेशीय भए पनि प्रसारणका लागि नेपाल–बंगलादेश–भारतबीचको अर्को एक त्रिदेशीय सम्झौता पनि गर्नु आवश्यक हुन्छ । स्रोतले भन्यो, ‘अन्यथा भारतको जमिन भएर विद्युत् बंगलादेश लैजाने भन्ने कुरा सम्भव छैन ।’ तर, ‘सार्क इलेक्ट्रिकल फ्रेम एग्रिमेण्ट’ अनुसार सार्क राष्ट्रबीच विद्युत् आदानप्रदान गर्न सम्भव छ । जुन एग्रिमेण्टले दक्षिण एशियाली राष्ट्रहरूका बीचमा ऊर्जाक्षेत्रमा लगानी तथा व्यापार गर्न सकिने प्रावधान रहेको छ । अर्को सार्क उपक्षेत्रीय संगठन (सासेक)को अवधारणाले पनि यो सम्भावनालाई खुला देखाएको छ । तर, गत मङ्सिर २० गते भारतले जारी गरेको सीमापार विद्युत् व्यापार निर्र्देिशकामा नेपालमा उत्पादित विद्युत् अन्य देशमा लैजान सहज नहुने अनुमान ऊर्जाले गरेको छ । नेपालको जलविद्युत् उत्पादन र आयातमा एकाधिकार जमाउने छनक निर्देशिकाले दिएको छ । दुबै देशको सहमति भएपछि नेपालका ऊर्जामन्त्री जनार्दन शर्मा र बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदले उक्त सम्झौतामा हस्ताक्षर गर्नेछन् । सम्झौताले नेपाल र बंगलादेशबीच हुने विद्युत् व्यापारको मोडेल टुङ्गो लगाउनेछ ।

स्टक ब्रोकर कम्पनी किन नथप्ने ? ब्रोकरको काम वाणिज्य बैंकलाई किन ?

१२ पुस । अहिले स्टक ब्रोकरको काम वाणिज्य बैंकहरुलाई पनि दिनुपर्ने पक्ष र विपक्षमा बहस सुरु भएको छ । वाणिज्य बैंकको सहायक कम्पनी स्थापना गरेर स्टक ब्रोकरको काम दिएपनि केही बिग्रदैन । अहिलेको अवस्था भन्दा त राम्रो नै हुन्छ । ब्रोकरको काम बैंकलाई दिने प्रयास सहि र उत्तम होइन । वाणिज्य बैंकका सहायक कम्पनीलाई स्टक ब्रोकर बनाउँदा उनीहरुले दिने सेवाले बजारको आवश्यकता धान्दैन । सहि र उत्तम बाटो भनेको अहिले संंचालनमा रहेका स्टक ब्रोकरको क्षमता बढाउनु हो । ब्रोकरको लाईसेन्स खुला गर्नु हो । ब्रोकर कम्पनीलाई पुँजी, प्रविधि र जनशत्तिका हिसावमा अहिलेको भन्दा गुणात्मक रुपमा विकास गर्नु हो । अनलाईन कारोवार सुरु गरेर स्टक ब्रोकरको कारोवार गर्न चाहनेलाई खुरुक्क अनुमति दिनुपर्ने एजेण्डातर्फ ध्यान नदिई अन्य विषयमा वहस सुरु भएको छ । अहिले नेपालको स्टक मार्केटको पहिलो आवश्यकता हो प्रविधि सहितको आधुनिकता । यो आधुनिकता ल्याउ“छ सेयरको अनलाईन कारोवारले । अनलाईन कारोवार सुरु गर्ने र लाईसेन्सको आवदेन गर्नेलाई स्टक ब्रोकरको लाईसेन्स दिने व्यवस्था हुने वित्तिकै नेपालको स्टक मार्केट आधुनिक युगमा प्रवेश गर्नेछ । स्टक ब्रोकर स्थापना गर्न चाहनेका लागि निश्चित पुँजी लगानी पर्ने व्यवस्था आवश्यक छ । नेपालको पुँजी बजार २० खर्ब रुपैयाँ बराबर हुन लागिसक्यो । दैनिक २ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भईसक्यो । राम्रो कारोबार गर्ने कम्पनीले दैनिक १० करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार गर्छन । दैनिक १० करोड कारोबार गर्ने कम्पनीले बर्षमा कम्तिमा २५ अर्ब रुपैयाँको कारोबार गर्न सक्छ । वार्षिक २५ अर्ब रुपैयाँको कारोबार गर्ने कम्पनीको चुक्ता पुँजी न्यूनतम १ अर्ब रुपैयाँ किन नबनाउने ? नेपाल धित्रोपत्र बोर्डले ब्रोकर कम्पनीको न्यूनतम चुक्ता पुँजी १ अर्ब बनाएर लाईसेन्स खुला गरोस त, कतिवटा आवेदन पर्छ ? खुला बजार अर्थनीति लिएको सरकारले किन कोटा तोकेर लाईसेन्स वितरण गर्छ ? स्टक ब्रोकर स्वयंम नै एक ठूलो कम्पनी हुन आवश्यक छ । बैंकको सहायक कम्पनी होइन, वाणिज्य बैंकहरु भन्दा ठूलो र सक्षम स्टक ब्रोकर आवश्यक छ । बैंकहरु भन्दा ठूलो कम्पनीलाई स्टक ब्रोकरको लाईसेन्स दिने व्यवस्था आवश्यक छ । ब्रोकर कम्पनीलाई पनि सर्वसाधारणको सेयर रहने पब्लिक कम्पनी बन्न सक्छ । यस्ता स्टक ब्रोकरले मार्जिन लेन्डिङको काम गर्ने छन् । लगानीकर्ताले सम्पूर्ण सूचना उपलव्ध गराउनु पर्ने हुन्छ । वाणिज्य बैंकलाई स्टक ब्रोकरको लाईसेन्स दिनुभन्दा असीमित संख्यामा ब्रोकरको लाईसेन्स खुला गरेर ठूला र सक्षम कम्पनीलाई बजारमा प्रवेश गराउन जरुरी छ । यसका लागि न्यूनतम पु“जी, प्रविधि र जनशक्तिको योग्यता तोक्न जरुरी हुन्छ । अनलाईन कारोवार र असीमित संख्यामा कम्पनीलाई स्टक ब्रोकरको लाईसेन्स दिएपछि प्रतिस्पर्धा सुरु हुन्छ । ब्रोकर कम्पनीहरु नै शुल्क घटाएर लगानीकर्ता आकर्षित गर्न थाल्छन् । सरकारले प्रतिस्पर्धाको वातावरण बनाउने हो । ब्रोकर शुल्क घटाउने वा बनाउने काम सरकारको होइन । स्टक ब्रोकरको काम सूचिकृत सबै कम्पनीका सबै वित्तिय विवरण आफ्ना लगानीकर्तालाई हेर्न चाहेको बखत उपलव्ध गराउनु पनि हो । लगानीकर्ताले चाहेको बखत सूचिकृत कम्पनीको विवरण र विश्वभरका समाचार लगानीकर्तालाई तत्कालै उपलव्ध गराउने काम पनि स्टक ब्रोकरले गर्नुपर्छ । यस्तो सेवा दिने विषयमा वहस पनि शुरु भएको छैन । ब्रोकरहरुले लगानीकर्तालाई सूचना दिने, जानकारी लिने, लगानीकर्तालाई लाभको बातावरण बनाउने र लगानीकर्तालाई आकर्षिक गर्ने काम गरेको छैनन् । केबल कारोवार गरेवापत शुल्क लिन्छन् । प्रयाप्त जानकारी विना लगानी गर्ने लगानीकर्ता ढुब्छ । तर ब्रोकर कम्पनी कुनै कामै नगरी कारोबार शुल्क असुल्छ । स्टक ब्रोकरको नियन्त्रित लाईसेन्स खुला गर्ने हो भने अहिलेका ब्रोकरको कार्यालयमा कोही पनि जान नपर्ने, घरमा वा विदेशमा जहाँ बसेर पनि कारोबार गर्न सक्ने बातावरण ब्रोकर कम्पनीले नै बनाउने छन् । ब्रोकर कम्पनीलाई व्यवसायिक बन्न र प्रतिस्पर्धात्मक बन्न बातावरण बनाइदिनुपर्छ । त्यस्तो अवस्थामा वाणिज्य बैंकहरुलाई स्टक ब्रोकरको लाईसेन्स दिने कि नदिने वहस निरर्थक हुन आउँछ । अनलाईन कारोवार सुरु गर्ने हो भने इन्टरनेटको सुविधा पुगेको कुनै पनि नेपालको भू–भाग र विश्वको कुनै पनि कुनाबाट नेपालका कम्पनीको सेयर कारोवार गर्न सकिन्छ । अहिले शाखा खोल्ने विषय पनि निरर्थक छ । लाईसेन्स खुला गर्ने वित्तिकै विजनेश बढाउन ब्रोकर आफैं देशभर पुग्छन् । उसैपनि अनलाईन कारोवार सुरु हुने वित्तिकै इन्टरनेट पुगेको ठाउ“बाट कारोवार थालिहल्छन् । हुन त अनलाईन कारोवार सुरु गर्नका लागि सरकारी स्वामित्वको स्टक एक्सचेन्ज बाधक छ । यसले अत्याधुनिक सुविधासहितको काम गर्न सक्ने अवस्था छैन । त्यसकारण यसको विकल्प भनेको नीजि क्षेत्रको सहभागितामा अत्याधुनिक स्टक कम्पनी स्थापना गर्नु नै हो । सेयर बजारमा आधुनिक र अनलाईन कारोवार सुरु भैसकेपछि दुई स्टकलाई मर्जगरे हुन्छ । यसो नगरि सरकारी स्वामित्वको स्टकबाट अनलाईन कारोवार सुरु हुन धेरै वर्ष लाग्छ । उसैपनि नेपालको सेयर बजार विश्वबाट अलग्गै बसेको टापु हो । विदेशी लगानीको त कुरै छोडौं, गैरआवासिय नेपालीको लगानी समेत नेपालको सेयर बजारमा आकर्षित हुन सकेको छैन । विदेशी लगानीका आंशिक रुपमा भएपनि खुला गर्दै गैरआवासिय नेपालीको लगानी मुलुकमा भित्र्याउने सहज माध्यम सेयरको अनलाईन कारोवार हो । यसका लागि स्टक ब्रोकर कम्पनी हरेक हिसावले बलियो र प्रभावकारी हुनुपर्छ ।