विकासन्युज

सूचिकृत कम्पनीको नियमन आफैं गर्ने धितोपत्र बोर्डको घोषणा, रियल सेक्टर मालामाल हुने

काठमाडौं, १४ पुस । नेपाल धितो पत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचिकृत कम्पनीहरुको नियमन आफैं गर्ने घोषणा गरेको छ । बोर्डको यस्तो घोषणाले बैंक तथा वित्तिय संस्था बाहेकका सूचिकृत कम्पनीहरु प्रति सर्वसाधारण लगानी कर्ताको विश्वास बढ्ने अपेक्षा गरिएको छ । बिहिबार राजधानीमा आयोजीत सार्वजनिक निष्काशन सम्बन्धि नयाँ व्यवस्था र निष्काशन निर्देशीका तयारीका सन्दर्भमा वास्तविय क्षेत्र(रियल सेक्टर)सँगको छलफल कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक निरज गिरीले सबै खाले पब्लिक कम्पनीहरुको नियमन बोर्ड आफैंले गर्ने बताएका हुन् । ‘सबै सूचिकृत कम्पनीहरुको नियमनकारी निकाय धितोपत्र बोर्ड नै हुनु पर्ने हो, तर जनशक्तिको अभावमा त्यो सम्भव भैरहेको थिएन अब हामी नियमनलाई प्रभावकारी बनाउँछौं’, बोर्डका कार्यकारी निर्देशक गिरीले भने । हाल उर्जा, पर्यटन लगायतका क्षेत्रको प्रत्यक्ष नियमनकारी निकाय नहुँदा लगानी कर्ता अन्यायमा परिरहेको आरोप लागि रहेको छ । कार्यक्रममा बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीले भने–‘हाइड्रो लगायतका क्षेत्रको कडा नियमन गरिदिन हामीलाई पनि लगानी कर्ताले आग्रह गरिरहेका छन, रियल सेक्टरको अवस्था पनि त्यहि छ, उद्योग विभागले खासै काम गरिरहेको छैन, अब हामी आफैं नियमन गर्छाै ।’ जलविद्युत कम्पनीको नियमन गर्नुपर्ने निकाय विद्युत विकास विभाग मौन रहेकाले अब सूचिकृत जलविद्युत कम्पनीको नियमन आफैं गर्ने उनले बताएका थिए । कार्यक्रममा कार्यक्रम प्रस्तुत गर्दै चाटर्ड एकाउण्टेण्ट जगदिश भट्टराईले निजी कम्पनी भन्दा पब्लिक कम्पनी प्रति सर्वसाधारणको विश्वा बढि हुने र पब्लिक कम्पनीकै ब्राण्ड इमेज समेत राम्रो हुने भएकाले रियल सेक्टरका निजी कम्पनीहरु पब्लिक कम्पनीका रुपमा नेप्सेमा सूचिकृत हुनुपर्ने धारणा राखेका थिए । उनले नेपालमा बजारले बजार नचलाएर नियमनकारी निकायले बजार सञ्चालन गर्नुपर्ने अवस्था रहेको आरोप पनि लगाएका थिए । कडा नियमनको डरले निजी कम्पनीहरु पब्लिक कम्पनीका रुपमा सूचिकृत हुन डराइरहेको पनि उनको निष्कर्ष थियो । मर्चेण्ट बैंकर एसोसियसनका अध्यक्ष प्रबिण रमण पराजुलीले पनि रियल सेक्टरलाई पुँजी बजारमा नल्याएसम्म बजारले दिगोपन नपाउने धारणा राखेका थिए । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले रियल सेक्टरका उद्योगी नेप्सेमा सूचिकृत हुन डराईरहेको बताए । आफुले पनि विगत ३ बर्षदेखि अर्घाखाँची सिमेन्टलाई सूचिकृत गर्न चाहेको तर डराईरहेको धारणा राखे । ‘पब्लिक कम्पनीमा गएपछि डुबिन्छ भन्ने उद्योगीको धारणा छ अनि पब्लिक कम्पनीका रियल सेक्टर उद्योगीले पैसा खाएर भाग्छन भन्ने पब्लिकको बुझाई छ, यसलाई चिर्नु आवश्यक छ’, मुरारकाले भने । कर्पारेट कानुनका अधिवक्ता ज्योति दाहालले पनि रियल सेक्टरले सूचिकृत गर्नुपुर्व कडा नियमनको व्यवस्था आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा फ्रि प्राइसिङ तथा प्रिमियम मुल्यमा सेयर जारी गर्ने बिषयमा पनि आवाज उठेको थियो ।

मिसन डेभलपमेन्ट बैंकले धितोपत्र बोर्डमा दियो शतप्रतिशत हकप्रदको लागि निवेदन

काठमाडौं, १४ पुस । मिसन डेभलपमेन्ट बैंकले १ बराबर १ (१०० प्रतिशत) को अनुपातमा हकप्रद सेयर ल्याउन गत मंगलबार धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले १९ करोड ४९ लाख २५ हजार रूपैयाँको १९ लाख कित्ता हकप्रद सेयर ल्याउन लागेको हो । हाल बैंकको चुक्ता पूँजी १९ करोड ४६ लाख रुपैयाँ रहेको छ । बैंकको हकप्रदमा बिक्री प्रवन्धकको काम भिवोर क्यापिटल लिमिटेडले गरिरहेको छ ।

प्रिमियर इन्स्योरेन्सको २१ प्रतिशत लाभांश पारित, ६ लाख कित्ता एफपीओ जारी गर्ने

काठमाडौं, १४ पुस । प्रिमियर इन्स्योरेन्सले गत वर्षको नाफाबाट लगानीकर्तालाई २१ दशमलब ०५ प्रतिशत लाभांश दिने भएको छ । बिहीबार सम्पन्न कम्पनीको २३ औँ साधारणसभाले २० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५ प्रतिशत नगद लाभांश वितरण गर्ने कम्पनीको प्रस्तावलाई पारित गरेको हो । साथै कम्पनीले सर्वसाधारणको लागि ६ लाख ५९ हजार ५६५ कित्ता एफपिओ निष्कासन गर्ने निर्णय गरेको छ । इन्स्योरेन्सले संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ कायम गर्न सो मात्राको एफपिओ जारी गर्न लागेको हो । कम्पनीले एफपीओ जारी गर्न बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरिसकेको छ । तर कम्पनीले हालसम्म एफपिओको मूल्य भने तोकिएको छैन । गत वर्षमा कम्पनीले १८ करोड ५७ लाख २७ हजार रुपैंया खुद नाफा कमाएको थियो । चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा २ करोड ४ लाख खुद नाफा कमाएको कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्तापूँजी ३७ करोड ३७ लाख रुपैयाँ रहेको छ । सो मात्राको बोनस पश्चात कम्पनीको चुक्तापूँजी ४४ करोड ८५ लाख रुपैयाँ नाघ्नेछ ।

यामाहाको ‘फाइभबुलस २०१७’ अफर, मोटरसाइकल तथा स्कुटर खरिदमा नगद छुट

काठमाडौं, १४ पुस । यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ वर्ष २०१७ को अवसरमा नयाँ अफर ल्याएको छ । एमएडब्लुले नयाँ वर्षको उत्सवलाई थप उल्लासमय बनाउन ‘फाइभबुलस २०१७’ अफर ल्याएको हो । यो अफर अन्तर्गत यामाहा ब्राण्डका जुनसुकै मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले पाँच हजार रुपैयाँ नगद छुट पाउनेछन् । एमएडब्लु इन्टरप्राइजेज, यामाहा डिभिजनका सेल्स एन्ड बिजनेस डेभलपमेन्ट-एजीएम दिपक रौनियारले भनेका छन्, ‘हामीलाई विश्वास छ यो अफरले नयाँ वर्षको उत्सवलाई थप उल्लासमय बनाउनेछ । हामी विश्वास दिलाउन चाहन्छौं कि यामाहाका मोटरसाइकल र स्कुटर किन्ने यो उत्तम समय हो । किनभने हामी जे गर्छौं हाम्रा ग्राहकको पक्षमा गर्छौं ।’ नयाँ वर्ष योजना यामाहाका सबै मोटरसाइकल र स्कुटरका मोडेलमा लागू हुनेछ । एमएडब्लुले यसै वर्ष स्पोर्टी स्कुटर रे जेडआरलाई नेपालमा ल्याएको थियो । यसबाहेक बजारमा यामाहा एफजेड-एस एफआई, एफजेड एफआई, आर १५, स्यालुटो, एसजीआरआर, फेसिनो, रेजी र प्राविधिक रुपमा उच्च स्तरीय आर३ उपलब्ध छन् । यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिन जडित रहेका कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई एफपीओ निष्कासन गर्न बोर्डको अनुमति, प्रतिकित्ता मूल्य १४२५ रुपैयाँ

काठमाडौं, १४ पुस । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई थप फरदर पब्लिक इस्यु (एफपिओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले ३० लाख ९६ हजार ४२९ कित्ता एफपिओ निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले प्रिमियम मूल्यसहित प्रतिकित्ता १ हजार ४ सय २५ रुपैयाँमा एफपिओ निष्कासन गर्ने भएको छ । गत जेठमा सम्पन्न कम्पनीको १६ औं वार्षिक साधारणसभाले ३० लाख ९६ हजार कित्ता एफपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब १६ करोड ७५ लाख रुपैयाँ छ । सो मात्राको एफपीओ पश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब ४७ करोड रुपैयाँ पुुग्नेछ । यो निष्कासनपछि कम्पनीको शेयर संरचना ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधरणको हुनेछ । कम्पनीले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ८९ लाख खूद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले एफपीओ निश्कासन गर्न बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियूक्त गरेको छ ।  

नेप्से परिसूचक ३० अंकले उकालो, ५६ करोडको सेयर कारोबार, सबै समूह हरिया

काठमाडौं, १४ पुस । बिहीबार नेप्से परिसूचक ३० दशमलब २३ अंकले बढेर १४४३ दशमलब ३८ अंकमा पुगेको छ । लगातार ओरालो लागिरहेको सेयर बजारमा बुधबारदेखि भने केही सुधारको सङ्केत देखिएको छ । बुधबार सामान्य ५ अंकले बढेको नेप्से परिसूचक बिहीबार भने दोहोरो अंकले उकालो लागेको छ । बुधबारको तुलनामा सेयर करोबार रकममा पनि वृद्धि भएको छ । बिहीबार ५६ करोड ६४ लाख १७ हजार रुपैयाँको सेयर किनबेच भएको छ । उक्त रकम बुधबारको भन्दा १० करोड रुपैयाँ बढी हो । बिहीबार सेयर बजारमा १२६ कम्पनीको १० लाख ५६ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा कारोबार भएका सबै समूहका परिसूचकहरु हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २८६ अंकले उकालो लागेको छ । त्यस्तै, होटल, बैंकिङ्, फाइनान्स र विकास बैंक समूहका परिसूचकहरु दाहोरो अंक क्रमशः ५५, २८, २१, २० अंकले उकालो लागेका छन् । हाइड्रोपावर र अन्य समूहको परिसूचक क्रमशः १० र १.७३ अंकले बढेका छन् । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार भएको छ । कम्पनीको ५ करोड ७६ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ हजार ८०० रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल दुरसञ्चार कम्पनीको ३ करोड र बैंक अफ काठमाण्डूको २ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । बुधबार एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ । सबैभन्दा बढी ललितपुर फाइनान्सको सेयर मूल्य ५ प्रतिशतले घटेको छ ।

स्मार्ट एप्लाएन्सेसको डिलर्स मिट सम्पन्न, ५ डिलरलाई सम्मान सहित अवार्ड प्रदान

काठमाडौं, १४ पुस । के.एल. दुगड् ग्रुप सम्बद्ध कम्पनी स्मार्ट एप्लाएन्सेसले देशमा होम एप्लाएन्सेस्को विभिन्न रेन्जका प्रोडक्टहरु प्रस्तुत गर्दै आइरहेको छ । यसै सन्दर्भमा आफ्ना देशभरका डिलरहरुलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत स्मार्ट एप्लाएन्सेसले आफ्नो ओलेड टिभिको र त्यसको लाइन अप ल्याउने घोषणा गरेको छ । स्मार्ट एप्लाएन्सेसले देशभरबाट १३० वटा भन्दा डिलरहरु भेला गर्नुका साथै विशेष सम्मान कार्यक्रम मार्फत सम्मान-पत्र प्रदान गरेको हो । कार्यक्रममा ५ जना डिलरहरुलाई विभिन्न वर्गहरु अन्तर्गत अवार्ड समेत प्रदान गरिएको थियो । उक्त अवार्डहरु जित्नेमा बेस्ट टेलिभिजन सेल्स् अन्तर्गत शर्मिला इन्टरप्राइजेज, महाबौद्ध, बेस्ट होम् एप्लाएन्सेस् सेल्स् अन्तर्गत ए-वान सेल्स् एण्ड सर्भिस, बानेश्वर, बेस्ट ओभरअल सेल्स् अन्तर्गत महालक्ष्मी इलेक्ट्रोनिक्स्, धरान, बेस्ट सेल्स् प्रमोटर अन्तर्गत न्यू डिएम इलेक्ट्रोनिक्स्, भक्तपुर तथा बेस्ट् एक्स्क्लुजिभ आउटलेट अन्तर्गत रिजर्भ मल्टिनेशनल, पोखरा रहेका थिए । सो कार्यक्रममा कम्पनीले विभिन्न नयाँ र अत्याधुुनिक विशेषताले सुुसज्जित ओलेड टिभि लन्च गरेको थियो । नेपाली बजारमा एउटा नयाँ टेक्नोलोजीको रुपमा आएको ओलेड टिभि ब्याकलाइट नचाहिने टेक्नोलोजीमा चल्छ । कम्पनीका अनुसार हङकङमा निर्मित यी टेलिभिजनहरु ठूलो स्क्रिनहरुमा बढ्दै गएको नेपाली बजारको माग पूरा गर्न डिजाइन गरिएको छ ।

एस डेभलपमेन्ट बैंकलाई आस्वा प्रणालीमा सहभागी हुन अनुमति

काठमाडौं, १४ पुस । एस डेभलपमेन्ट बैंकलाई आस्वा प्रणालीमा सहभागी हुन नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले दिएको अनुमतिद्धारा धितापत्र निष्काशन भएको समयमा लगानीकर्ताले एस बैंकमा खाता खोली सो खातामा भएको रकम रोक्का राखी बैंकमा नै सेयरको दरखास्त फारम बुझाउन सक्ने छन् । यस प्रणाली आगामी माघ १ गतेदेखि लागु हुने बोर्डले जनाएको छ ।