विकासन्युज

विद्यालयमै डोमलाई छोइछिटो, छुवाछूतकै विभेद कारण दलित शिक्षाबाट वञ्चित

जनकपुरधाम ३, माघ । जनकपुर उपमहानगरपालिका १ को ऐलानी जग्गामा रहेको झोपडीमा बस्ने अनिता मल्लिक डोमले आफ्ना चार छोराछोरीलाई पढाउन सक्दो प्रयत्न गरिन्। सामान्य लेखपढ गर्न आउने दुई छोरी र दुई छोरालाई अनिताले जनकपुरकै सरस्वती उच्च माध्यमिक विद्यालय तथा अन्य सरकारी विद्यालयमा पढ्न पठाइन्। तर छोराछोरीलाई कहिले शिक्षक त कहिले विद्यार्थीका अभिभावकले विद्यालयबाट घर पठाइदिएपछि वाक्कदिक्क भएर छोराछोरी पढाई ठूलो मान्छे बनाउने सपना उनले त्यागेकी छन्। ुमजदुरी गरेरै भए पनि बच्चालाई पढाउँछु भन्ने सोचेकी थिएँ। विद्यालय पठाउन कपीकलम पनि किनिदिएँ, अनिताले भनिन्, ुतर विद्यालयमा डोमका बच्चालाई अछूत भनेर हेला गरिने तथा पढ्नै नदिने वातावरण भएपछि छोराछोरी अहिले कबाड बेच्ने र फोहोर सफा गर्ने काममा लागेका छन्। उनी बस्ने मिल्स एरियाको डोम बस्तीमा कोही पनि बालबालिका विद्यालय जाँदैनन्। उनीहरू घरको काम गर्ने वा फोहोरबाट कबाड छानेर बेच्ने गर्छन्। फाइल तस्विर संविधानले कुनै व्यक्ति वा समुदायमाथि छुवाछूत गर्नुलाई दण्डनीय अपराधका रूपमा परिभाषित गरे पनि तराईका डोम समुदायले छुवाछूतकै विभेदका कारण शिक्षाबाट वञ्चित हुनुपरेको छ। विद्यालयमा डोम बालबालिकालाई सँगै बस्न नदिने, केही सोध्दा पनि शिक्षकले नबताउने र अन्य बालबालिकाका अभिभावकले डोम समुदायका बालबालिका पढाए आफ्ना छोराछोरी विद्यालयबाट छुटाउनेसम्मको चेतावनी दिने गरेकाले आफ्ना बालबालिकालाई चाहेर पनि विद्यालय पठाउन गाह्रो भएको रामअधीन सदा डोम बताउँछन्। छुवाछूतकै कारण डोम, हल्खोर, मेस्तर, चमार र दुसाध जातिका बालबालिकालाई विद्यालयमा पढ्न गाह्रो हुने गरेको विनोद मेस्तरले सुनाए। नपढेकै कारण हामीले पशुकै जीवन बिताउनुपर्‍योु, विनोदले भने, समाजले सधैं हेला गर्‍यो। शौचालय सफा गर्ने, लास फाल्ने, फोहोर सफा गर्ने काम गरेरै जीवन बित्नेभो। आफ्ना छोराछोरी पढलेख गरी राम्रो काम गरून् भन्ने चाहना भए पनि पढ्न विद्यालयले स्थान दिने नगर्दा समस्या भएको विनोदले बताए। टोलैपिच्छे विद्यालय भए पनि त्यहाँ आफ्ना बालबालिकालाई अछूत भनेर पस्नसमेत नदिने गरिएकाले आफूहरूका लागि विद्यालयको केही अर्थ नै नभएको दिनेश डोमले बताए। विद्यालयको सहज पहुँच नहुँदा आफूहरूलाई पढ्नलेख्न समस्या भएको तथा अर्कोतर्फ फोहोरी भनेर समाजले हेला गर्नु निन्दनीय रहेको दिनेशको भनाइ छ। जनकपुर उपमहानगरपालिकामा मात्रै तीन सयभन्दा बढी डोम परिवार छ। तीमध्ये धेरैका बालबालिका विद्यालय जाँदैनन्। पढाइलेखाइ नहुँदा कम उमेरमै विवाह हुने र १६ वर्ष कट्न नपाउँदै बालबच्चाको बोझ बोक्नुपर्दा यो समुदायको स्वास्थ्य अवस्था पनि कमजोर हुने गरेको छ। अधिकांशको दैनिक मजदुरी गरी खानुपर्ने अवस्था रहेकाले बालबच्चालाई पनि कामकाजमै लगाउनुपर्ने उनीहरूको बाध्यता छ। अन्नपूर्ण पोस्टबाट ।

लोकमानले देश छाडे, फर्कने टुंगो नराखि परिवासहित विदेशीए

काठमाडौं ३, माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अयोग्य सावित भएका प्रमुख लोकमानसिंह कार्की आइतबार बिहान परिवारसहित भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । उनी स्वास्थ्य उपचारको लागि त्यसतर्फ लागेको बताइएपनि कहिले फर्कन्छन् भन्ने खुलेको छैन । विमानस्थलका डीआईजी गोविन्द निरौलाले दिएको जानकारी अनुसार कार्की आफूसमेत परिवारका ४ सदस्यका साथ आइतबार बिहान ९ बजे विमानस्थलबाट प्रस्थान गरेका हुन् । लोकमानलाई सर्वोच्च अदालतले अयोग्य भनेर उनको नियुक्ति बदर गरेपनि उनि पदमुक्त भएका थिए । संसदले पनि उनलाई महाअभियोग प्रस्तावमार्फत हटाउने प्रयास गरिरहेको थियो । नेपाल समाचार पत्र दैनिकबाट ।

सुन तस्करीमा दिल्ली–काठमाडौं कनेक्सन, नेपालमा अवैध सुन भित्रने र दिल्लीबाट अवैध मुद्रा दुबई जाने एकैदिन

काठमाडौं ३, माघ । दुबईबाट पुस २१ मा आएको ३३ किलो पाँच सय ७७ ग्राम ४० मिलिग्राम सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट पास भएपछि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले बरामद गर्‍यो । त्यो सुन कसको थियो र कहाँ लैजान आटिएको थियो भन्ने विषय अझै नसुल्झिएपछि धेरैका निम्ती यो घटना नयाँ रहेन । तर त्यही दिन भारतको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई लैजान लागिएको एक करोड भारतीय रुपैयाँ बराबरको साउदी मुद्रा रियाल र युएई मुद्रा दिराम बरामद भएको छ। उच्च सुरक्षा रहेको विमानस्थलको टर्मिनल ३ को शौचालयमा नगद रहेको ब्याग साट्न लागेका बेला अवैध विदेशी मुद्रासहित दुई यात्रु पक्राउ परेका थिए । भारतीय संचारमाध्यमले नेपालमा बरामद भएको अवैध सुनको आयत र भारतबाट जान लागेको अवैध मुद्राको गन्तव्य एकै ठाउँ रहेको भन्दै यसको ‘कनेक्सन’ खोज्ने प्रयास थालेका छन् । यी दुई घटनाको अन्र्तयले सुन तस्करीको अन्तर्राष्ट्रिय आयम बुझ्न भने पक्कै सघाउँछ । केन्द्रिय अनुसन्धान ब्युरोको अनुसन्धान अधिकारीहरु पनि यसबारे जानकार त देखिन्छन् । तर भारतीय संचार माध्यमले जोडेजस्तै यी दुई घटनाको ‘कनेक्सन’ छ कि छैन भनेर अनुसन्धान भने नथालेको उनीहरू बताउँछन् । इन्डिया टिभीले अवैध सुन दुबईबाट काठमाडौं आउनु र भारतबाट अवैध तरिकाले विदेशी मुद्रा दुबई पठाइनु बीच सम्बन्ध रहेको समाचार सामाग्री प्रशारण गरेको छ । नेपाल भित्रीएको अवैध सुन खुला सीमा नाकाको फाइदा उठाउँदै भारत नै पठाउन खोजीएको उक्त समाचारको दाबी छ । त्यसो त दुबई हँुदै नेपाल भित्रीने ठुलो परिणामको अवैध सुन नेपाली बजारमा मात्रै खपत नहुने र त्यो भारतीय बजारसम्म सजिलै पुग्ने जानकारहरुको भनाई छ । ब्युरोका अनुसन्धान अधिकारीहरु पनि यसलाई स्विकार्छन् । नाम उल्लेख नर्गने सर्तमा एक अधिकारीले भने, ‘पाँच सय र हजारका भारतीय नोटहरु प्रतिबन्धित भएपछि अवैध आर्जनको रकम सुनमा लगानी गरेर सुरक्षित गर्ने प्रवृत्ति भारतमा बढेको छ । त्यसको असर नेपालमा ठुलो परिणाममा अवैध सुन भित्रीने तथ्यले पनि पुष्टी गर्छ ।’ इन्दिरा गान्धी विमानस्थलको डाईरेक्टर अफ रेभिन्यु इन्टेलिजेन्सले सुराकीको आधारमा त्यतिका धेरै अवैध विदेशी मुद्रा बरामद गरेको थियो । रकम लिएर दुबई जानका निम्ती एकले जेट एअरवेजको टिकट काटेका थिए भने रकम विमानस्थल पुर्‍याउन आउने यात्रु भने रकम जिम्मा लगाएर एयर इण्डिया मार्फत भुवनेश्वर जाँदै थिए । टाइम्स अफ इण्डियाको अनलनाइन संस्करणमा डाईरेक्टर अफ रेभिन्यु ईन्टेलिजेन्सका अतिरिक्त कार्यकारी निर्देशक एमके सिंहले दुबईबाट सुन किन्नकै लागी कुनै व्यापारीले त्यतिका रकम अवैध रुपमा पठाउन लागेको दाबी गरेका छन् । उनले भनेका छन, ‘सुन तस्करीमा र्‍याकेट नै सक्रिय छ । कुनै पनि अनुसन्धानमा हामीले यसको कनेक्सन त पत्ता लगाउन सकेका छैनौं, तर के निश्चित छ भने, अवैध विदेशी मुद्रा विदेश पठाउनुको अर्थ सुनको तस्करी नै हो ।’ मुम्बई र दिल्लीभन्दा कमजोर सुरक्षा व्यवस्था रहेको हैदरावादको विमानस्थलबाट तस्करहरुले बारम्बार अवैध विदेशी मुद्रा दुबई पठाएको देखिन्छ । पछिल्लो घटनामा भने उनीहरुले इन्धिरा गान्धी विमानस्थललबाटै पठाउने आँट गरेका हुन् । केन्द्रिय अनुसन्धान ब्युरोका डिआईजी नवराज सिलवाल भारतीय विमानस्थलबाट रकम पठाउन लागेको बारे आफूले धेरथोर थाहा पाएको बताउँछन् । ‘अनुसन्धानको निष्कर्ष नआईन्जेल दुबई पठाउन लागिएको उक्त अवैध विदेशी मुद्रा र नेपाल भित्रीएको सुनको कनेक्सनबारे बोल्नु हतार हुन्छ,’ उनले भने । कान्तिपुर दैनिकबाट ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकमा नेपालीको सेयर ३० प्रतिशत पुग्दै, आगामी वर्ष १०० प्रतिशत बोनस सेयर, एफपीओ निष्काशन गर्ने जिम्मा एनएमबी क्यापिटललाई

काठमाडौं, २ माघ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल एफपीओ निष्काशन गर्नको लागि एनएमबी क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्ती गरेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत जोशेफ सिल्भानस र एनएमबी क्यापिटल प्रमुख कार्यकारी अधिकृत श्रीजेस घिमिरेबीच एफपीओ निष्काशन सम्बन्धि कार्य गर्नेबारे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यस बैंकले प्रतिकित्ता १०० अंकित सेयरमा ११९० रुपैंयाँ प्रिमियम थपेर प्रतिकित्ता १२९० रुपैयाँमा २५ लाख ५८ हजार १४० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । बैंकले प्रिमियममा सेयर निष्कासन गरेपछि ३ अर्ब ३० करोड ६ सय रुपैंयाँ पुजी वृद्धि हुने जनाएको छ । स्ट्याण्र्ड चाटर्ड बैंक नेपालले दीर्घकालिन व्यवसायको सम्भावना र देशको आर्थिक वृद्धि सम्भावना देखेर राष्ट्र बैंकको नीतिअनुसार सेयर पुँजी २ अर्बबाट वृद्धि गरी ८ अर्ब बनाउन लागेको जनाउँदै बैंकका प्रबक्ता दीवाकर पौडेलले भने–‘बैंकले एफपीओ निष्काशन गरी बैंकका वर्तमान सेयरधनी र नयाँ सेयरधनीलाई सहभागि गराउँदै पुँजी वृद्धि गर्न लागेको हो ।’ हाल यस बैंकको सेयर पुँजी ३ अर्ब ७५ करोड रुपैयाँ छ । २५ लाख ५८ हजार १४० कित्ता सेयर निष्काशन गरेपछि बैंकको चुक्ता पुँजी ४ अर्ब ५७ लाख रुपैयाँ हुनेछ । प्रिमियबाट ३ अर्ब ४ करोड रुपैयाँ उठ्ने छ भने चालु आर्थिक वर्षको कम्तिमा एक अर्ब रुपैयाँ वितरणयोग्य नाफा आर्जन गर्न सकिने बैंकको योजना छ । नाफा र प्रिमियम जोड्दा सेयरधनीलाई वितरण योग्य कोष ४ अर्ब ४ करोड रुपैयाँ भन्दा बढी हुनेछ । सोही रकमबाट बैंकले आगामी आर्थिक वर्षमा १०० प्रतिशत बोनस सेयर दिने योजना बनाएको छ । हाल बैंकमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालमा स्ट्याण्डर्ड चार्टर्ड ग्रुपको ७५ प्रतिशत सेयर छ भने नेपालीको २५ प्रतिशत छ । एफपीओ निष्काशन पछि ग्रुपको हिस्सा ७० दशमलव २२ प्रतिशतमा झर्नेछ भने नेपालीको सेयर २९ दशमलव ७८ प्रतिशत हुनेछ ।

सिद्धार्थ डेभलपमेण्ट बैंकले १० बराबर ६ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट नियुक्त

काठमाडौं, २ माघ । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडले १० बराबर ६ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । सो हकप्रद शेयर निष्काशन सम्बन्धमा बैंक र धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड बीच सम्झौता सम्पन्न भएको छ । सो सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रविणरमण पराजुलीले हस्ताक्षर गरेका छन् । गत मंसिर २४ मा सम्पन्न बैंकको १७औ वार्षिक साधारण सभाले विद्यमान शेयरधनीहरुमा (बोनस शेयर जारी पश्चात) १० बराबर ६ को अनुपातमा हकप्रद शेयर जारी गर्न निणर्य गरेको थियो । बैंकको हाल रु १ अर्ब ४१ करोड ९१ लाख चुक्ता पुँजी रहेको छ, यस हकप्रद शेयर निष्काशन गरे पश्चात बैंकको चुक्ता पुँजी रु २ अर्ब २७ करोड हुनेछ । बैंकले चालु आर्थिक वर्षमा आर्जित मुनाफावाट बोनस वितरण गरी नेपाल राष्ट बैंकको तोके अनुरुपको चुक्ता पूँजी रु २, अर्ब ५० पुरयाउनेछ । बैंकले देशभर रहेको ३३ शाखा सञ्जाल मार्पmत आफनो लक्षित ग्राहकहरुमा सेवा प्रदान गर्दै आईरहेको छ र चालु आ.व.मा ८ वटा नया शाखा कार्यालयहरु विस्तार गर्ने क्रममा रहेको बैंकले जनाएको छ ।

शाखा अधिकृत पदमा ५४ गुणा बढी आवेदन, ९८० पदका लागि ५३ हजार ४१६ जना भिड्दै

काठमाडौँ, २ माघ । लोक सेवा आयोगले विज्ञापन गरेको निजामती सेवामा राजपत्राङ्कित तृतीय श्रेणी (९शाखा अधिकृत)मा मागेको सङ्ख्याभन्दा ५४ गुणाबढीले आवेदन फाराम भरेका छन् । आयोगले मागेको प्राविधिक र अप्राविधिकतर्फ शाखा अधिकृतको ९८० पदमा ५३ हजार ४१६ जनाले आवेदन फाराम भरेको आयोगका दर्खास्त व्यवस्थापन केन्द्रका शाखा अधिकृत नारायणप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार प्राविधिकतर्फ ६६ गुणा र अप्राविधिकतर्फ ४३ गुणाबढीले आवेदन फाराम भरेका छन् । प्राविधिकतर्फ ४७२ पदका लागि ३१ हजार ५१७ र अप्राविधिकतर्फ ५०८ जनामा २१ हजार ८९९ जनाले फाराम भरेका थिए । शाखा अधिकृत गौतमले प्राविधिकतर्फ एउटै उम्मेदवारले धेरै विषयमा फाराम भर्ने भएकाले सङ्ख्या बढेको बताए । प्राविधिकतर्फ कात्तिकको अन्तिम साता र अप्राविधिकको मङ्सिरको अन्तिम साता अधिकृत तहका विभिन्न पदमा आवेदन माग गरिएको थियो । आयोगले मङ्सिर २९ गते शाखा अधिकृतका विभिन्न सेवातर्फका लागि दर्खास्त आवेदन माग गरेका थिए । आयोगले गत वर्षदेखि अनलाइनमार्फत फाराम भर्न व्यवस्था गरेको थियो । रासस

सान्जेन जलबिद्युत् कम्पनीको साधारण सेयर निश्काशन हुँदै, सेयर निस्कासन तथा बिक्री प्रबन्धकमा लगानी कोष नियुक्त

काठमाडौं, २ माघ । सान्जेन जलबिद्युत् कम्पनी लिमिटेड र नागरिक लगानी कोषबीच सेयर निस्कासन सम्झौता भएको छ । आइतबार भएको सम्झौतामा सान्जेनको सेयर निस्कासन तथा बिक्री प्रबन्धकको तर्फबाट कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र सान्जेनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन । कम्पनीले पहिलो चरणमा समुह ‘ग’ का क्रणदाता कर्मचारीको लागि छुट्टयाइएको १ प्रतिशत तथा संस्थापक सेयरधनी संस्थाका कर्मचारीको लागि ३ दशमलव ५ प्रतिसत र समूह ‘घ’ अन्तरगतका कर्मचारी संचय कोषमा रकम जम्मा गरेका संचयकर्ता कर्मचारीलाई छुट्टयाइएको १९ दशमलव ५ प्रतिसतले हुन आउने प्रतिकित्ता सयको दरले ८७ लाख ६० हजार कित्ता सेयर निस्कासन गर्ने सम्झौता भएको कोषका सूचना अधिकृत उद्धव सिलवाले जानकारी दिए । हस्ताक्षर कार्यक्रममा कोषका कार्यकारी निर्देशक पोखरेलले आर्थिक विकासका लागि जलविद्युत् आवश्यक भएको धारणा राखे । उनले कोषले यो भन्दा अघि माथिल्लो तामाकोशी, जलविद्युत् लगानी तथा बिकास कम्पनी र नेपाल इन्भेष्टमेन्ट बैकको एफपिओ जारी गरी सकेको बताए । त्यसैगरी सान्जेनका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भूकम्प, नाकाबन्दी लगायतका कारणले सेयर निस्कासनमा केही ढिलाई भएको बताएका थिए । कार्यक्रममा कोषका तर्फबाट मुख्य ब्यवस्थापक शुसिल कुमार अर्याल, सेयर शाखा प्रमुख तथा उपब्यवस्थापक रोशनजंग कार्की, कानुन अधिकृत सुमन पौडेल तथा दिपेन्द्रसिंह अधिकारी र सान्जेनको तर्फबाट प्रमुख बित्त अधिकृत सशान्त बास्तोला लगायतका प्रतिनिधि सहभागी रहेका थिए ।

भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिने

काठमाडौं, २ माघ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समन्वयमा स्वास्थ्य मन्त्रालयले भूकम्प प्रभावित क्षेत्रमा विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेल र स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेतीबीच आइतबार भएको बैठकले भूकम्प प्रभावितहरुलाई निःशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गर्न आईओएम, केयू, नाम्स र पाटन विज्ञान स्वास्थ्य प्रतिष्ठान लगायतसँग सहकार्य गरि विशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय गरेको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. पोखरेलले भूकम्प प्रभावित क्षेत्रमा, जिल्लाका ग्रामीण भेगमा घुम्ती सेवामार्फत निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न लागेको जानकारी दिए । भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गरि निःशुल्क रुपमा सेवा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले आइतबारै जिल्ला जनस्वास्थ्य कार्यालय र स्वास्थ्य कार्यालयमा पत्राचार गर्ने निर्णय गरेका छ । स्वास्थ्य मन्त्रालयले सम्बन्धित जनस्वास्थ्य प्रमुख र जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखलाई भूकम्पबाट प्रभावित क्षेत्रमा आफ्नो स्रोत साधन परिचालन गरि निःशुल्क रुपमा विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको प्राधिकरणका सहायक प्रबक्ता डा. भीष्मकुमार भूसालले जानकारी दिए ।