भक्तपुरका भूकम्पपीडितलाई तोकिएको बैंकबाट पहिलो किस्ताको अनुदान वितरण
भक्तपुर, ९ माघ । भक्तपुरका ६ वटा नगरपालिकाका भूकम्पपीडित (लाभग्राही)लाई भोलि सोमबारदेखि पहिलो किस्ताको अनुदान रकम ५० हजार रुपैयाँ वितरण गरिने भएको छ । जिल्लाका १८ हजार लाभग्राहीका लागि सरकारले पठाएको ९० करोड रुपैयाँ तोकिएको बैंकमार्फत भोलिदेखि वितरण कार्य सुरु हुने भक्तपुरका स्थानीय विकास अधिकारी धुवप्रसाद कोइरालाले जानकारी दिए । सरकारले निकासा गरेको रकम कोष तथा लेखा नियन्त्रण कार्यालयले सम्बन्धित बैंकहरुमा पठाइसकेको जानकारी दिँदै उनले भने–“कोष तथा लेखा नियन्त्रण कार्यालयले बैंकहरुमा पठाएको रकमको आज चेक क्लिरियन्स गरेपछि अधिकांश बैंकले भोलिदेखि लाभग्राहीलाई पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ रकम वितरण गर्ने थाल्ने छन् ।” चेक क्लिरियन्स गर्न केही समय लाग्ने बैंकमा भने थप एक दुई दिनपछि वितरण हुने उहाँको भनाइ छ । अन्य जिल्लाका भूकम्पपीडितलाई सरकारले दोस्रो किस्ताको अनुदान रकम वितरण सुरु गरेपनि भक्तपुरका लाभग्राहीले भने निजी आवास पुनःनिर्माणका लागि भूकम्प गएको २० महिनापछि अनुदान रकम पाउन लागेका हुन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भक्तपुरमा प्रमाणित गरी पठाएका २६ हजार १६ लाभग्राहीमध्ये हालसम्म २० हजार १५० लाभग्राहीसँग यहाँका नगरपालिकाले पहिलो किस्ताको अनुदान रकमका लागि सम्झौता गरेका छन् । कोइरालाकाअनुसार नगरपालिकाले सम्झौता गरी पठाएकामध्ये जिविसले १८ हजार २८ लाभग्राहीको थप प्रमाणीकरण गरी कोष तथा लेखा नियन्त्रण कार्यालय पठाएको थियो । कोइरालाले भने-“कोलेनिकाले १८ हजार लाभग्राहीलाई अनुदान रकम वितरण गर्न पुग्ने गरी बैंकमा रकम पठाएको छ । थप लाभग्राहीका लागि नपुग रकम छिटो पठाउन जिविसले माग गरेको छ । थप रकम आएपछि लाभग्राहीको सूचीमा रहेका सबैले पहिलो किस्ताको अनुदान रकम पाउँछन् ।” सम्झौता भएका लाभग्राहीलाई रकम वितरण गर्न अझै १० करोड ७५ लाख रुपैयाँ नपुग छ । लाभग्राहीको सूचीमा सूचीकृत भएका सबै लाभग्राहीलाई पहिलो किस्ताको रकम वितरण गर्न अझै ४० करोड आठ लाख रुपैयाँ अपुग रहेको छ । अनुदान रकम वितरण गर्दा पहिला अनुदान सम्झौता हुने लाभग्राहीलाई वितरण गरिने भएको छ । शुरु सुरुमा अनुदान सम्झौता भएका लाभग्राहीको सूचीअनुसार क्रमैसँग वितरण गरिन्छ, पछाडि सम्झौता भएकाहरुले पछाडि नै रकम पाउने उनको भनाइ छ । भक्तपुर नगरपालिकाको चार हजार ३४९, मध्यपुरथिमीको ९३८, नगरकोटको तीन हजार ४१२, चाँगुनारायण नगरपालिकाको तीन हजार ३२९, अनन्तलिङ्गेश्वरको दुई हजार ६१२ र सूर्यविनायकको तीन हजार ३६० लाभग्राहीले पहिलो किस्ताको अनुदान रकम पाउने भएका छन् । जिविस भक्तपुरले आइतबारदेखि नै पहिलो किस्ताको अनुदान रकम वितरण गर्ने झुटो प्रचार गराएको भन्दै बैंकहरुमा पुगेका लाभग्राहीले जिविस विरुद्ध आक्रोश पोखेका छन् । जिविसले लाभग्राहीलाई दुःख दिने नियतले गलत प्रचार गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए । अनुदान सम्झौता भएका लाभग्राहीले खाता खोलेका तोकिएको बैंकबाटै अनुदान रकम पाउने व्यवस्था गरिएको छ । यसमा भक्तपुर नगरपालिकाले लाभग्राहीमध्ये वडा नं. १, २, ३, ४, ५, ६ र ९ वडाका लाभग्राहीले नेपाल बैंक लिमिटेड कमलविनायकबाट, ७, ८, ११, १२ र १४ वडाका लाभग्राहीले राष्ट्रिय वाणिज्य बैंक सूर्यविनायकबाट र १०, १३, १५, १६ र १७ वडाका लाभग्राहीले कृषि विकास बैंक दूधपाटीबाट अनुदान रकम पाउने व्यवस्था गरिएको छ । त्यसैगरी, मध्यपुरठिमी नगरपालिकाको वडा नं १, २ र ३ का लाभग्राहीले मेगा बैंक लिमिटेड बाहाखा बजारबाट, ४, ५ र ६ का लाभग्राहीले कृषि विकास बैंक, ७, ८, ९, १० र १७ वडाका लाभग्राहीले राष्ट्रिय वाणिज्य बैंकबाट, ११ र १२ वडाका लाभग्राहीले नेपाल बैंक लिमिटेड ठिमी शाखाबाट, १३ र १४ वडाका लाभग्राहीले माछापुच्छ्रे बैंक ठिमीबाट, १५ वडाका लाभग्राहीले सिद्धार्थ बैंक गठ्ठाघरबाट र १६ वडाका लाभग्राहीले एनआइसी एसिया कौशलटार शाखाबाट अनुदान रकम लिन पाउने व्यवस्था गरिएको छ । त्यस्तै, नगरकोट नगरपालिका-१ देखि १० वडाका लाभग्राहीलाई यति डेभलपमेन्ट बैंक कमलविनायकबाट र ११ देखि १३ वडाका लाभग्राहीलाई माछापुच्छ्रे बैंक कमलविनायकबाट अनुदान रकम पाउने व्यवस्था गरिएको छ । यता, चाँगुनारायण नगरपालिकाका १, २, ३, ४, ८, ९, १०, ११ वडाका लाभग्राहीले माछापुच्छ्रे बैंक कमलविनायकबाट, ५, ६ र ७ तथा १७ वडाका लाभग्राहीले यति डेभलपमेन्ट बैंक कमलविनायकबाट र १२ देखि १६ वडाका लाभग्राहीले कृषि विकास बैंक सल्लाघारीबाट अनुदान रकम पाउने व्यस्था गरिएको छ । सूर्यविनायक नगरपालिकाको वडा नं १ देखि ५ सम्मका लाभग्राहीले एनएमबी बैंक सूर्यविनायकबाट, वडा नं ६ देखि ८ सम्मकाले सानिमा बैंक सूर्यविनायकबाट, ९ देखि ११ वडाका लाभग्राहीले ग्लोबल आइएमई बैंक सूर्यविनायकबाट र १३ देखि १५ वडाका लाभग्राहीले बैंक अफ काठमाडौं लुम्बिनी सूर्यविनायक शाखाबाट अनुदान रकम पाउनेछन् । यता, अनन्तलिङ्गेश्वर नगरपालिकाका लाभग्राहीमध्ये भने वडा न १ देखि ५ सम्मकाले हिमालयन बैंक कौशलटारबाट, ६ देखि ८ सम्मकाले लक्ष्मी बैंक कौशलटारबाट, ९ देखि १२ वडाका लाभग्राहीले माछापुच्छ्रे बैंक नयाँ ठिमीबाट र १३ देखि १५ वडाका लाभग्राहीलाई एभरेस्ट बैंक सूर्यविनायकबाट अनुदान रकम पाउने व्यवस्था गरिएको छ । रासस
इन्फिनिटी माइक्रोफाइनान्सको कारोबार शुरु, तत्काल १० वटा शाखा विस्तार गर्ने
काठमाडौं, ९ माघ । इन्फिनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको कारोबार शुरु भएको छ । नवलपरासीको गैंडाकोटमा केन्द्रीय कार्यालय रहेको उक्त संस्थाको उद्घाटन गत शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिविले गरेका छन् । उक्त संस्था लघुवित्त सेवाको माध्यमबाट समाजका विपन्न वर्गको जिवनस्तर उकास्ने उद्देश्य सहित नेपाल सरकारका पूर्व सचिव, प्राध्यापक, बैंकर, इन्जिनियर तथा व्यापारीहरुको प्रबद्धनमा संचालनमा आएको हो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिबि नेपालले लघुवित्त संस्थाहरु ग्रामीण क्षेत्रमा सहयोगी हातहरुको रुपमा हुनुपर्ने बताए । साथै उनले वित्तीय पहुंच नपुगेको ठाउंमा पुग्न तथा वित्तीय साक्षरता कार्यक्रम संचालन गर्न समेत लघुवित्त संस्थाहरुलाई निर्देशन दिएका छन् । हाल संस्थाको चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ । संस्थाले आफ्नो कार्यक्रम विस्तार गर्ने क्रममा कम्तीमा १० वटा शाखाहरु खोल्ने बताएको छ । थप शाखाहरु विस्तारसँगै वित्तीय सेवाको पहुंच कम भएका जनताहरुलाई उनीहरुको घरदैलोमा पुगी सेवा दिने संस्थाले जानकारी गराएको छ ।
आइतबार नेप्से परिसूचक १४६५ अंकमा, ३० करोड रुपैयाँको सेयर कारोबार
काठमाडौं, ९ माघ । आइतबार नेप्से परिसूचकमा सामान्य सुधार आएको छ । परिसूचक ३ दशमलब २८ अंकले बढेर १४६५ दशमलब ८४ अंकमा पुगेको छ । परिसूचकमा केही सुधार आएता पनि सेयर कारोबार रकममा भने गिरावट आएको छ । बजारमा जम्मा २९ करोड ९१ करोडको सेयर किनबेच भएको छ । उक्त रकम बिहीबारको तुलनामा ४ करोड बढी रुपैयाँ घटि हो । आइतबार १३२ कम्पनीको ७ लाख २९ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा कारोबार भएका तीन समूहको परिसूचक बाहेक बाँकी समुहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी उत्पादन मूलक समूहको परिसूचक ३३ दशमलब ३८ अंकले उकालो लागेको छ । हाइड्रोपावर, फाइनान्स र विकास बैंक समूहको परिसूचक क्रमशः १२, ४ र २ अंकले ओरालो लागेका छन् । आइतबार प्रभु बैंक लि प्रमोटर सेयरको सबैभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ । ६ करोड बढी रुपैयाँको सेयर कारोबार भएको उक्त कम्पनीको सेयर मूल्य प्रतिकित्ता २०१ रुपैयाँ रहेको छ । सो दिन राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन् । आइतबार उनीहरुले ७ प्रतिशत गुमाएका छन् ।
देवः विकास बैंकको ५० प्रतिशत हकप्रद खुला, फागुन १५ गतेसम्म आवेदन दिन सकिने
काठमाडौं, ९ माघ देवः विकास बैंकले आइतबारदेखि सर्वसाधारणको लागि हकप्रदको बिक्री खुला गरेको छ । बैंकले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयरको बिक्री खुला गरेको हो । सो मात्राको हकप्रदको लागि इच्छुक लगानीकर्ताले आइतबार (आज) देखि फागुन १५ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । इच्छुक सर्वसाधारणले हकप्रद एनआइबिएल क्यापिटल मार्केट, देव बिकास बैंकको केन्द्रीय कार्यालय र सबै शाखा कार्यालय, नेपाल इन्भेस्टमेन्ट बैंकको शाखा कार्यालय पोखरा, बिराटनगर र बिरगंज, गुडविल फाईनान्सको शाखा कार्यालयहरु नेपालगंज र इटहरीबाट आवेदन दिन सक्नेछन् । हाल बैंकको बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट लिमिटेड रहेको छ । हाल बैंकको चुक्ता पूँजी एक अर्ब १० करोड रुपैयाँ रहेको छ ।
नांगो साबुनको नाममा नयाँ कम्पनीको व्यापारीकरण, कारवाही गर्ने आपुर्ति विभागको घोषणा
काठमाडौं, ९ माघ । बजारमा लेभल उल्लेख नभएका नांगो साबुनले उपभोक्ताको स्वास्थ्यमा गम्भिर असर पारेका रिपोर्टहरु आईरहेका बेला एउटा साबुन कम्पनीले भने त्यसैलाई व्यापारिकरणको माध्यम बनाएको छ । आइतबार एउटा कम्पनीले अधिकांश मुलधारका दैनिक पत्रिकामा झट्ट हेर्दा जनचेतनाका लागि जारि गरिएको जस्तो देखिने विज्ञापन छपाएको छ । जसमा भनिएको छ– कतै तपाईंको नांगो साबुनमा बोसो त छैन ? आफुले प्रयोग गर्ने साबुनमा के छ ? के को लागि प्रयोग गर्ने ? भन्ने थाहा पाउनु हरेक उपभोक्ताको अधिकार हो, त्यसैले सबै जानकारीयुक्त ‘लेबल’ भएको साबुन मात्रै प्रयोग गरौं । यो विज्ञापनमा लेबल शब्दलाई बिशेष ढंगले जोड दिएको देखिन्छ । जुन केहि दिनभित्रै नेपाली बजारमा नयाँ ब्राण्डको साबुनका रुपमा आउने तयारी गरिरहेको बुझ्न सकिन्छ । त्यसको तल पनि चार वटा बिभिन्न रंगका नांगो साबुनको चाङ देखाएर नजिकै लेबल लेखिएको खोलयुक्त साबुन देखाइएको छ । अर्को पानामा बिभिन्न काममा प्रयोग भैरहेका नांगो साबुन देखाइएको छ र त्यसका नकारात्मक प्रभावबारे पनि उल्लेख गरिएको छ । नांगो साबुनले उपभोक्तालाई नकारात्मक प्रभाव पारेकोबारे जानकारी दिनु राम्रो कुरा भएपनि त्यसका नाममा व्यापार गरिनु गलत भएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताउँछन् । ‘यो प्रतिष्पर्धी बजारलाई कुण्ठित बनाउने विज्ञापन हो । यस्तो विज्ञापन अनइथिकल पनि हो । राज्य सजग रहनुपर्छ । राज्यले यसलाई नियन्त्रण गर्न सक्नुपर्छ । ब्रोडसिट पेपरले यस्ता विज्ञापन हाल्ने की नहाल्ने भन्नेबारे सोच्नु आवश्यक छ ।’ महर्जनले भने । के भन्छ नियामक निकाय ? बजार नियमनको जिम्मेवारी पाएको आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग भने यस्तो विज्ञापनबारे चासै चासो दिईरहेको छैन् । विभागका महानिर्देशक गोकुल धिताल भन्छन–‘त्यस्तो विज्ञपान गर्न पाइँदैन, सबैका आ आफ्ना इथिक्स हुन्छन, इथिक्स नाघ्नेलाई कारवाही गरिन्छ ।’ उनका अनुसार विज्ञापनको उदेश्य र विज्ञापनदाता कम्पनीका बारेमा खुल्ने जानकारी प्रकाशित तथा प्रसारित विज्ञापनमा हुनु आवश्यक छ । त्यस्तै, कुनै एउटा कम्पनीले आफुलाई राम्रो भन्न पाउने तर अन्यलाई खराब भन्ने अधिकार पनि कसैलाई नभएको उनले स्पष्ट पारे ।
जग्गाधनी प्रमाण पुर्जा नभएकाले पनि अनुदान सम्झौता गर्न पाउने
भक्तपुर, ९ माघ । भूकम्पपीडितको लाभग्राहीको सूचीमा नाम समावेश भए पनि जग्गाधनी दर्ता प्रमाणपुर्जा नभएर अनुदान सम्झौता गर्न नपाएका पीडितले अब सम्झौता गर्न पाउने भएका छन् । मन्त्रिपरिषद्ले भूकम्पबाट क्षतिग्रस्त भएका ‘निजी आवास पुनःनिर्माण अनुदान वितरणसम्बन्धी कार्यविधि – २०७२’ खारेज गरी ‘भूकम्पबाट प्रभावित निजी आवास पुनःनिर्माण अनुदान वितरणसम्बन्धी कार्यविधि – २०७३’ स्वीकृत गरेपछि जग्गाधनी दर्ता प्रमाणपुर्जा नभएका पीडितको अनुदान सम्झौता गर्ने बाटो खुल्ला भएको हो । यसअघि जग्गाधनी पुर्जा नभएकै कारण भक्तपुरमा ६ हजारभन्दा बढी पीडितले लाभग्राहीमा नाम समावेश भए पनि अनुदान सम्झौता गर्नबाट वञ्चित हुँदै आइरहेका थिए । नयाँ कार्यविधिले मध्यपुर थिमि नगर क्षेत्रका स्ववासी जग्गाधनी, मोहियानी हक निस्सामात्र भएका र गुठीको नाममा जग्गा भएकाहरुले समेत अनुदान सम्झौता गर्न पाउने भएका छन् । यो व्यवस्थाले विशेष गरी स्ववासी जग्गाधनीलाई अनुदान सम्झौता गर्न बाटो खोलेको मध्यपुर थिमि नगरपालिकाका पूर्व मेयर मदनकृष्ण श्रेष्ठले बताए । कार्यविधिको बुँदा नं १२ मा सार्वजनिक सरकारी र वन क्षेत्रको जग्गाबाहेक विभिन्न किसिमका गुठी, बिर्ता र गुठी अधीनस्थ जग्गा, मोही लागेको जग्गा, रुवावासी, बेनिस्सा, गाउँ ब्लक कोदाली, आँकडा, विटौरी, उखडासमेतका जग्गामा बसोबास भई क्षति भएका लाभग्राहीका हकमा निजी बसोबासीसँग घरवास भएको जग्गाको भोगसम्बन्धी कुनै निस्सा, रसिद वा पुर्जी भए सो निस्सा, रसिद वा पुर्जीका आधारमा स्थानीय निकायले गरिदिएको सिफारिस र त्यस्तो निस्सा, रसिद वा पुर्जी नभएको अवस्थामा सोही व्यहोराको सिफारिस वा क्षतिग्रस्त घरवास भएको जग्गाका कम्तीमा दुईजना सँधियारले घरवास भएको जग्गाको भोगचलन गरेको हो भनी गरिदिएको सर्जमिन मुचुल्काका आधारमा त्यस्ता घरधनी लाभग्राहीसँग घर निर्माण अनुदान सम्झौता गर्न सकिनेछ भनी उल्लेख गरेको छ । तर त्यस्तो सम्झौतालाई जग्गा दर्ताको प्रमाणका रुपमा भने नलिइने व्यवस्था गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जग्गा व्यवस्थापन तथा भौगर्भिक अध्ययन शाखाका प्रमुख नापी अधिकृत कमल घिमिरेले जानकारी दिए । रासस
‘ब्रोकर अफ दि ईयर’को उपाधि सोनाटालाई
काठमाडौं, ९ माघ । मर्कन्टाईल एक्सचेन्ज नेपाल लिमिटेडद्धारा मेक्स एनुवल अवार्ड २०१६ मा ‘ब्रोकर अफ द इयर’ को उपाधि सोनाटा इनभेष्टमेन्ट प्रालीले जितेको छ । मर्कन्टाईलले शनिबार आफ्नो बार्षिकोत्सवका अवसरमा विभिन्न ब्रोकरहरुलाई ९ बिधामा पुरस्कृत गरेको थियो । बजार सहभागीहरुलाई प्रोत्साहित गर्न र स्वच्छ प्रतिस्पर्धालाई स्थापित गर्न मर्कन्टाईल एक्सचेन्ज नेपाल लिमिटेडले सो कार्यक्रम आयोजना गरेको हो । मेक्सले आफ्ना ब्रोकरहरुको निष्ठा, परिश्रम, क्षमता तथा कार्यकुशलतालाई पहिचान गराउन यो कार्यक्रम वार्षिक रुपमा आयोजना गर्दै आइरहेको छ । उक्त कार्यक्रममा यो बर्ष बिभिन्न ब्रोकरहरुलाई ९ बिधामा पुरस्कृत गर्नुका साथै विशिष्ट योगदान दिने अन्य विभिन्न सरोकारवालाहरुलाई पनि सम्मानित गरिएको थियो । कार्यक्रममा मेक्सले कारोबरका लागि अर्को क्षेत्रको रुपमा अपसन ट्रेडिङ्ग समेत उपलब्ध गराउने जानकारी दिएको छ । अव नेपालका कमोडिटी कारोबारीहरुले माघ १० गते देखि अपसनमा समेत कारोबार गर्न सक्नेछन् । विभिन्न ब्रोकरहरुलाई ९ बिधामा पुरस्कृत: अन्तर्रा्ष्ट्रिय बजारमा निकै लोकप्रिय रहेको अपसन कारोबार नेपालमा भने मेक्सले पहिलो पटक कारोबारका लगि ल्याएको हो । हाल मेक्सले अपसन करोबार एन्ड्रोइड भर्जनमा मात्र उपलब्द गराएको छ । यसलाई डाउनलोड गर्न गुगल प्ले स्टोरमा गएर मेक्सन अप्सन ट्रेडर टाइप गरी खोज्न सकिने कम्पनीले जनाएको छ ।
६ महिनामा ४ खर्ब ९९ अर्बको वैदेशिक व्यापार, १३ गुणाले बढ्यो आयात
काठमाडौं, ९ माघ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ४ खर्ब ९९ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ । उक्त अवधिमा भएको वैदेशिक व्यापार गएको आर्थिक वर्ष २०७२/७३ को तुलनामा १ खर्ब ९० अर्ब ७४ करोडले बढी हो । गत आवमा सीमा नाका बन्दका कारण छिमेही मुलुक तथा तेस्रो देशबाट समेत नेपालमा सामान आयात निर्यात हुन सकिरहेको थिएन । सो कारणले गत आवको उक्त अवधिमा वैदेशिक व्यापार कम भएको थियो भने अहिले त्यस्तो स्थिति नरहेकोले व्यापार बढेको भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाले बताए । ‘अहिले आयात निर्यातमा कुनै अवरोध छैन, उनले भने ‘त्यसैले व्यापार बढेको हो । चालू आवको पहिलो ६ महिनामा ४ खर्ब ६३ अर्ब ७२ करोड रुपैयाँको वस्तु तथा सेवा नेपाल भित्रिएको छ भने ३६ अर्ब १९ करोड रुपैयाँको वस्तु तथा सेवा नेपालबाट बाहिरिएका छन् । गएको वर्ष सो अवधिमा २ खर्ब ७७ अर्बको वस्तु आयात भएको थियो भने ३१ अर्ब रुपैयाँको निर्यात भएको विभागको तथ्याङ्क छ । देशलाई आवश्यक पर्ने वस्तु तथा सेवा उत्पादन हुन नसक्दा ४ खर्ब २७ अबृ पुगेको छ । गत आवकामा यस्तो घाटा २ खर्ब ४६ अर्ब रहेको थियो । चालू आवमा निर्यातभन्दा आयात १३ गुणाले बढेको छ भने कुल व्यापारमा करिब ९३ प्रतिशत आयातको योगदान रेहेको छ । गएको वर्षको समीक्षा अवधिमा निर्यातभन्दा आयात करिब ९गुणाले वृद्धि भएको थियो भने कुल वैदेशिक व्यापारमा करिब ९० प्रतिशत आयातको योगदान रहेको थियो । चालू आवको पहिलो ६ महिनामा सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको छ । उक्त अवधिमा ५७ अर्ब १३ करोडको पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ भने यसबाट राज्यले १४ अर्ब राजस्व संकलन गरेको छ । त्यस्तै ४६ अर्ब ६१ करोडको सवारी साधन, ४५ अर्ब ६७ करोडको आइरन तथा स्टील नेपाल भित्रिएको छ । यी साधनबाट क्रमशः ४५ अर्ब ४१ र ८ अर्ब ८६ करोडे राजस्व प्राप्त भएको विभागको तथ्याङ्क छ । धेरै आयात हुने चौथो वस्तु मेशिनरी तथा मेडिकलन अप्लायन्स ३८ अर्ब १५ करोड र इलेक्ट्रकिल मेशिनरी तथा उपकरणहरु ३६ अर्ब ४९ करोडको आयात भएको छ । समीक्षा अवधिमा सबैभन्दा बढी तीन अर्ब ९२ करोडको कार्पेट निर्यात भएको छ भने चिया तथा धेरै निर्यात हुने दोस्रो वस्तुमा चिया तथा कफी रहेको छ । उक्त अवधिमा तीन अर्ब ६४ करोडको चिया तथा कफी निर्यात भएको विभागले जानकारी दिएको छ । सो अवधिमा तीन अर्ब २६ करोडको विभिन्न कपडाबाट निर्मित वस्तुहरु निर्यात भएको छ भने दुई अर्ब ९५ रकोडको मानव निर्मित फाइवरका कपडा तथा वस्तु निर्यात भएको छ भने सो अवधिमा दुई अर्ब ३७ करोडको तरकारी, फलफूल, सुपारीलयातका वस्तु निर्यात भएको छ ।