राष्ट्रपतिमा विद्या भण्डारीको उम्मेदवारी, प्रचण्ड, कमल र गच्छद्धारको साथले जित सुनिश्चित
काठमाडौं, १० कात्तिक । राष्ट्रपति पदमा एमाले उपाध्यक्ष विद्या भण्डारीको उम्मेदवारी दर्ता भएको छ । भण्डारीको उम्मेदवारीको प्रस्तावकमा एकिकृत माओवादीका अध्यक्ष प्रचण्ड रहेका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापा समर्थक बसेका छन् । फोरम लोकतान्त्रिकका प्रमुख सचेतक जनक चौधरीले समर्थकका रुपमा हस्ताक्षर गरेको एमाले सांसद रामकुमार भट्टराईले जानकारी दिए । भण्डारीको समर्थकमा चित्र बहादुर केसी, जयदेव जोशी लगायतका सत्ता गठबन्धनका पार्टी तथा सांसदहरु रहेका छन् । एकिकृत माओवादी, फोरम लोकतान्त्रिक र राप्रपा नेपालको प्रस्ताव तथा समर्थनमा उम्मेदवारी दर्ता भएसँगै विद्या भण्डारीको जित सुनिश्चित भएको एमाले सांसद भट्टराईले बताए ।‘सत्ता गठबन्धनका तर्फबाट राष्ट्रपतिमा विद्या भण्डारीको उम्मेदवारी दर्ता भएको हो, भारी बहुमतले विजयी हुने निश्चित छ’, सांसद भट्टराईले भने । व्यवस्थापिका संसदमा एमालेको १८३, एकिकृत माओवादीको ८४, राप्रपा नेपालको २५ र फोरम लोकतान्त्रिकको १८ सांसद रहेका छन् । सत्ता गठबन्धनमा सामेल अन्य साना दलको समेत मत पाउने भएपछि राष्ट्रपतिमा विद्या भण्डारीको जित सुनिश्चित जस्तै देखिएको हो ।
हिन्दकुश भूकम्पले किन गरेन ठुलो क्षति ?
काठमाडौं, १० कात्तिक । अफगानिस्तानको हिन्दकुशस्थित पहाडी क्षेत्रलाई केन्द्र बिन्दु बनाएर सोमबार गएको ७ दशमलब ५ म्याग्नीच्युडको भूकम्पमा परि २६० जना भन्दा बढिको मृत्यु भएको छ भने दुई हजार भन्दा बढि मानिस घाईते भएका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रमा उद्धार कार्य कठिन रहेकाले हताहती हुनेहरुको संख्या अझै बढ्न सक्नेछ । मृत्यु हुनेहरु मध्ये १२ जना अफगानी स्कुले बालबालिका रहेको बताईएको छ । भूकम्पसँगै भागदौड मच्चिदाँ उनीहरुको मृत्यु भएको स्थानिय उद्धारकर्मी तखारलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ । अफगानिस्तानका प्रमुख प्रशासक अब्दल्लाह अब्दुल्लाहले पछिल्ला दशकहरुमा आएको भूकम्प भन्दा ठुलो भूकम्प सोमबार आएको बताएका छन् । भूकम्प पीडितको उद्धार तथा राहत वितरणमा सरकार सबै शक्ति प्रयोग गरेर लागि परेको पनि उनले बताएका छन् । मृत्यु हुनेहरुमध्ये अधिकांश उत्तरी पाकिस्तानमा कम्तिमा २१४ जनाको मृत्यु भएको बताइएको छ । खाईबर प्रान्तमा मात्रै १७९ जनाको मृत्यु भएको छ भने १८०० जना भन्दा बढिका घाईते भएका छन् । पाकिस्तानी सञ्चार मन्त्रीले घडीको सुई सँगै निरन्तर उद्धार र राहतको काम जारी राख्ने घोषणा गरिसकेका छन् । भारत, इरान, अमेरिका लगायतका मुलुकहरुले पाकिस्तानमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिसकेका छन् । जोनाथन वेबः बिबिसी विज्ञान रिपोर्टर विश्वमा बर्षेनी ७ रेक्टर माथीका २० वटा भूकम्प जान्छन् । हिन्दकुश क्षेत्रमा सोमबार गएको भूकम्प ७ दशमलब ५ म्याग्नीच्युडको हो । यो भूकम्पले जमिन भन्दा २०० किलोमिटर तल केन्द्र बिन्दु बनाएकाले पनि ठुलो धनजनको क्षति भएन् । नेपालमा गत बैशाख १२ गते आएको ७ दशमलब ८ म्याग्नीच्युडको भूकम्प जमिन भन्दा जम्मा ८ किलोमिटर तल सेन्टर पारेको थियो । त्यस कारण सो भूकम्पले ९ हजार मानिसको मृत्यु भयो भने पाँच लाख घर पूर्णरुपमा क्षतिग्रस्त बने अनि ८ हजार भन्दा बढि मानिस घाईते भए । सन २००५ कस्मिरमा गएको भूकम्प जमिनबाट २६ किलोमिटर तल सेन्टर पारेको थियो र त्यो ७ दशमलब ६ म्याग्नीच्युड स्केलको थियो । यसले ७५०० जनाको मृत्यु भएको थियो । भूकम्पले अफगानिस्तान, पाकिस्तान, भारत र नेपालमा समेत ठुलो धक्का महशुस गराएको थियो । भारतको राजाधनी दिल्लीबासीहरु भूकम्पको धक्काका कारण सडकमा झरेका थिए ।(एजेन्सीको सहयोगमा)
बिमानस्थलबाट निगम अधिकारीले भने‘मिसन इन्धन बोकेर चीन उडियो’
काठमाडौं, ९ कात्तिक । चीनसँग पेट्रोलियम पदार्थ कारोबार सम्झौता गर्न आठ सदस्यीय नेपाली टोली चिन प्रस्थान गरेको छ । चीनका लागि नेपाली राजदुत डा. महेश मास्के नेतृत्वको टोलीमा आठ सदस्य रहेका छन् । टोलीमा परराष्ट्र, बाणिज्य मन्त्रालय, गुणस्तर बिभाग र नेपाल आयल निगमका अधिककारीहरुको सहभागीता रहेको छ । प्रवक्ता दिपक बरालले दिएको जानकारी अनुसार निगमका प्रबन्ध निर्देशक गोपाल बहादुर खड्का र निर्देशक सुशिल भट्टराई टोलीमा सामेल छन् । परराष्ट्र मन्त्रालयका तर्फबाट सहसचिव झबिन्द्र अर्याल चीन गएका छन् । टोलीले चीनसँग पेट्रोलियम पदार्थको खरिदको सम्झौता गर्नेछ । ‘मिसन इन्धन सहित चीन उड्नै लागेका छौं, चीनसँग वार्ता गरेर इन्धन खरिदको सम्झौता हुनेछ ।’ त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट नेपाल आयल निगमका निर्देशक भट्टराईले भने । चीनसँग पेट्रोलियम कारोबार सम्बन्धी सम्पुर्ण अधिकार सहित नेपाली टोली त्यसतर्फ उडेको हो । भारतले मधेशमा जारी आन्दोलनलाई कारण देखाउँदै अघोषित नाका बन्दी र इन्धन आयातमा अवरोध गरेपछि चीनसँग इन्धन खरिदको प्रक्रिया आरम्भ गरिएको हो । उप प्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले भारत भ्रमणका क्रममा इन्धन पाउने सम्भावना नदेखेसँगै सरकारले चीनसँग इन्धन खरिदको प्रक्रिया अघि बढाउने तयारी गरेको थियो । चीनसँग इन्धन खरिद गर्ने प्रक्रिया अघि बढेसँगै नेपालमा पेट्रोलियम पदार्थ बेच्ने भारतीय एकाधिकारको अन्त्य हुनेछ ।
विद्या भण्डारीलाई राष्ट्रपति उम्मेदवार बनाउने एमाले निर्णय
काठमाडौं, ९ असोज । नेकपा(एमाले)ले उपाध्यक्ष विद्यादेवी भण्डारीलाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ । अब मुलुकले बुधबार नयाँ राष्ट्रपति पाउनेछ । आधा दर्जन राजनीतिज्ञहरुको चर्चा भएपनि अन्नतः एमाले उपाध्यक्ष विद्या भण्डारी मुलुकको दोश्रो तथा प्रथम महिला राष्ट्रपति बन्ने सम्भावना प्रवल बनेको छ । सत्ता रुढ दलहरुका तर्फबाट भण्डारीले उम्मेदवारी दिनेछिन् । भर्खरै सम्पन्न एमाले स्थायी कमिटी बैठकले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । एमालेबाटै पुर्व अध्यक्ष तथा प्रधानमन्त्री झलनाथ खनाल र पुर्व सभामुख सुभाषचन्द्र नेम्बाङको नाम समेत चर्चामा रहेको थियो तर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालल समेत भण्डारीलाई राष्ट्रपति बनाउने पक्षमा उभिएपछि भण्डारीको उम्मेदवारी पक्का भएको हो । रामवरण, खिलराज र केबी गुरुङ पनि रेसमा काँग्रेसले राष्ट्रपतिमा तीन जनाको नाम अघि सारेको छ । उसले पहिलो प्राथमिकतामा वर्तमान राष्ट्रपति डा. रामवरण यादवलाई अघि सारेको छ । सर्व सम्वतः रुपमा डा. यादवलाई पुनः राष्ट्रपति बनाउनु पर्ने काँग्रेसको तर्क छ । उसले निर्वाचन भएर जित्ने अवस्थामा अन्तरिम मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई उम्मेदवार बनाउने आन्तरिक तयारी समेत गरेको छ । तर रेग्मी पनि चुनाव लडेर राष्ट्रपति बन्ने सोँचमा नरहेको श्रोतले बतायो । त्यस्तो अवस्थामा काँग्रेसले पुर्व महामन्त्री केबी गुरुङलाई राष्ट्रपतिको उम्मेदवार बनाउनेछ । एकिकृत माओवादीको भागमा परेको उप राष्ट्रपति पदमा भने जनमुक्ती सेनाका पुर्व प्रमुख नन्दकिशोर पुनको नाममा अघि सारिएको छ । काँग्रेस नेतृत्वको विपक्षी गठबन्धनले भने मधेशी मुलुका नेतालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने तयारी थालेको छ । संबैधानिक व्यवस्था नेपालको संविधानको धारा २९७ को उपधारा ९२० बमोजिम राजनीतिक सहमतिका आधारमा राष्ट्रपति र उपराष्ट्रपति चयन हुने व्यवस्था छ । संविधानको धारा २९७ को उपधारा ९३० ले भने बहुमतिय प्रक्रियाद्धारा राष्ट्रपति र उपराष्ट्रपति चयन गर्ने व्यवस्था गरेको छ । व्यवस्थापिका संसद सचिवालयले बहुमतिय प्रक्रियाका लागि कात्तिक १० अर्थात भोली बिहान १० बजेदेखि अपराह्न १ बजेका लागि उम्मेदवारी दर्ताको समय तोकेको छ । सहमतिका आधारमा आइतबार दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समयसिमा तोकिएको थियो । काँग्रेस र एमाले दुबैले राष्ट्रपतिमा दावी नछाडेपछि निर्वाचन प्रक्रिया निश्चित भएको हो ।
बस चढेपछि एक हजार भाडा ?
गोरखा, ८ कात्तिक । पेट्रोलियम पदार्थको अभावले गर्दा दसैँ मानेर गन्तब्यमा फर्केका गोरखाका यात्रु समस्यामा परेका छन् । अहिले यहाँका ३२ ओटा ग्रामीण मार्गमा १० ओटा मात्रै सवारी चलेका छन् । यात्रुहरुले बस, जीप, ट्र्याक्टर, माइक्रोमा चर्को भाडा तिरेर गन्तब्यमा जानुपरेको गुनासो गरेका छन् । गोरखा बसपार्कबाट काठमाडौँका लागि छुटेका यात्रुबाहक गाडीले प्रतियात्रु एक हजार भाडा उठाएका छन् । “छतमा चढेर यात्रा गर्दा पनि सिटमा बसेकै भाडा लिन्छन्,” मसेलका विशाल गुरुङ्गले भने–“एउटै गाडीमा १८० जनाभन्दा बढी यात्रु कोचिएका हुन्छन् । प्रत्येक यात्रुसँग एक हजारका दरले भाडा उठाउँछन् ।” भच्चेक बजार, बालुवा बजार, बारपाक, भालुस्वाँरा, हर्मी, चोरकाटे, छोप्राक, पालुङटार, आँपपीपललगायत ठाउँका यात्रुहरु गाडीमा कोचिएर यात्रा गर्न बाध्य छन् । साविकको भाडाभन्दा दोब्बर, तेब्बर भाडा उठाएर यातायात व्यवसायीले ग्रामीण रुटमा बस चलाएका छन् । दैनिक २० भन्दा बढी सवारी यात्रु बोकेर काठमाडौँ गएपनि इन्धन अभाव भएपछि दैनिक छ ओटामात्रै सवारी चल्दै आएको छ । चितवनको ठोरीबाट महङ्गो मूल्य तिरेर ल्याएको तेल बसमा राखेर यातायात व्यवसायी समिति गोरखा र पृथ्वी राजमार्ग बस सञ्चालक समितिका व्यवसायीले बस, माइक्रो, ट्रक चलाएका छन् । रातो प्लेटका मालबाहक जीपले पनि नियम विपरीत यात्रु बोकेका छन् । गोरखास्थित कलश आयल स्टोर्सबाट भने रुटमा छुटेका बसलाई मात्रै इन्धन उपलब्ध गराएको छ । स्थानीय प्रशासनले यात्रु लिएर काठमाडौँ गएका सवारीलाई ३० लिटरका दरले इन्धन उपलब्ध गराएको हो । इन्धन नपाएर अधिकांश सवारीसाधन बसपार्क ग्यारेजमा थन्किएको व्यवसायीले जनाएका छन् । गोरखा–काठमाडौँको भाडा माइक्रोमा ३९० हो । तर, पेट्रोलियम पदार्थको अभाव भएको मौका छोपेर व्यवसायीले एक हजार भाडा उठाएका हुन् । त्यस्तै मिनीबसको भाडा ३५० भएपनि अहिले व्यवसायीले प्रतियात्रु रु सात सय भाडा लिँदै आएका छन् । बसमा कोचिएर यात्रा गर्दा यात्रुहरु बेहोससमेत हुने गरेका छन् । एउटै गाडीमा छ जनासम्म बेहोस हुने गरेको यात्रुहरु गुनासो गर्छन् । जिल्ला प्रहरी कार्यालय गोरखाले बसको छतमा बसेर जोखिमपूर्ण रुपमा यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । कच्ची सडकमा छत चढेर यात्रा गर्दा दुर्घटना हुने भएकाले छतमा यात्रु नचढाउन व्यवसायी, यातायात मजदुर र यात्रुलाई प्रहरीले आग्रह गरेको छ । तर, व्यवसायीले छतमा राखेर यात्रुलाई गन्तब्यमा पु¥याइआएका छन् । मझुवा देउराली, बाह्रकिलोलगायत मुख्य चोकमा प्रहरी, ट्राफिक प्रहरीले छतमा बसेका यात्रुलाई ओराले पनि प्रहरी बिट कटेपछि यात्रुहरु छतमा चढेर यात्रा गर्दै आएका छन् । यातायात व्यवसायी समिति गोरखाका अध्यक्ष नारायण खत्रीले छतमा जोखिमसाथ यात्रा नगर्न यात्रुलाई आग्रह गरिएको बताए । “छतमा चढेर यात्रा नगर्नुहोला,” उनले भने, ‘पेट्रोलियम पदार्थको जोहो गरेर सकेसम्म यात्रुलाई सुरक्षितसाथ गन्तब्यमा पु¥याउने हाम्रो तयारी छ ।’ रासस
भारतीय नाका बन्दीसँगै देशैभर इन्धनको कालोबजारी
काठमाडौं, ८ कात्तिक । भारतले जारी राखेको अघोषित नाका बन्दीका कारण मुलुकभर इन्धनको चरम अभावसँगै कालोबजारी पनि बढेको छ । सिमावर्ती जील्लाबाट मोटरसाईकल र प्लाष्टिकका ग्यालिनमा पेट्रोलीयम पदार्थ नेपाल भित्र्याएर पुर्वपश्चिम राजमार्ग हुँदै देशका प्रमुख शहर तथा काठमाडौंसम्म पेट्रोलीयम ढुवानी भैरहेको छ । सरकारले त्यसरी पेट्रोलीयम पदार्थको ढुवानीमा कडाई गरेको भएपनि स्थानिय प्रशासनको समेत मिलेमत्तोमा देशैभर पेट्रोलीयम पदार्थको कालोबजारीले प्रश्रय पाईरहेको हो । राजधानीमा भित्रिने सबै जसो सवारी साधनमा ग्यालिनका ग्यालिन पेट्रोलीयम पदार्थ ओसार्ने गरिएको छ । बिभिन्न नाकामा चेकजाँचका लागि बसेका प्रहरीहरुले घुस खाएर त्यसरी पेट्रोलीयम पदार्थ भित्र्याउने जाँचोपाँचो मिलाउने गरेका छन् । मुख्यतया झापा, मोरंग, सुनसरी, धनुषा, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही लगायतका जिल्लाहरुबाट पेट्रोलीयम पदार्थको कालोबजारीको चाँजोपाँजो मिलाउने गरिएको छ । भारतीय नम्बरको मोटरसाइकलको ट्याकीमा ल्याएको पेट्रोल ग्यालेन वा पानीको बोतलमा खन्याएर बिक्री गर्ने गरिएको छ । यसरी ल्याइएको पेट्रोल प्रतिलिटर १५० देखि १८० सम्ममा बिक्री गर्ने गरिएको छ । तेलको कालोबजारी भारतीयले मात्र नभई सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपालीले पनि गर्ने गरेका छन् । कतिपयले भारतीय नम्बरको मारुती भ्यान तथा बोलेरोमा ग्यालेनमा पेट्रोल राखेर ल्याई अनधिकृत व्यापार गर्ने गरेका छन् । काँकरभिट्टाका एक व्यापारीले पेट्रोल राजधानी र पोखरासम्म पु¥याउने गरेको स्वीकार्दै प्रतिलिटर ५०० सम्ममा पेट्रोल बिक्री गरेको बताए । पेट्रोलको डिमाण्ड बढि राजधानीसहित देशभर पेट्रोलको डिमाण्ड उच्च रहेको छ । सरकारले नीजि सवारी साधानलाई पेट्रोल नदिने निर्णय गरेसँगै त्यसको डिमाण्ड बढेको हो । कालोबजारीमा संलग्नहरुले पनि पेट्रोलकै ढुवानीलाई प्राथमिकतामा राख्ने गरेका छन् । दुई गुणा भन्दा बढि मुल्यमा बेच्न पाईने भएपछि पुर्वपश्चिम राजमार्ग आसपासका शहरहरुमा पेट्रोलीयम पदार्थको कालोबजारी पेशा जस्तै बनेको छ ।
असोजमा काठमाडौबाट १० लाख बाहिरिए, १३ लाख भित्रिए
काठमाडौँ, १ कात्तिक । विगत १ महिनादेखि काठमाडौं उपत्यकामा ग्यास छैन, पेट्रोल छैन, सार्वजनिक सवारीसाधन चलेका छैनन् । बजार पसलहरु बन्द छन् । तर एउटा अनौठो तथ्य सार्वजनिक भएको छ । त्यो तथ्य हो असोज महिनामा काठमाडौवाट वाहिरिने भन्दा भित्रिने यात्रुको संख्या करिब ३ लाखले बढी छ । ट्राफिक प्रहरीले दिएको यस्तो तथ्यांकले काठमाडौप्रतिको आम मानिसको सोचाइ निकै भिन्न रहेको पुष्टी गरेको छ । इन्धनको अभावले गर्दा यस वर्ष दसैँमा उपत्यकाबाट बाहिरिने यात्रु घटेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । असोज महिनाभरमा उपत्यका बाहिर गएका एक लाख ३२ हजार ९ सय ५१ सवारी साधनमा १० लाख ५५ हजार २ सय ३२ मानिस बाहिरिएका छन् । यहि समयमा उपत्यका भित्रिएका एक लाख ३१ हजार २ सय ६६ सवारीमा १३ लाख १७ हजार ३ सय ४२ यात्रु प्रवेश गरेको महाशाखाका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । ‘यस वर्ष तराईमा आन्दोलन र भारतसँगको सीमा नाकाबन्द रहेकाले उपत्यका भित्रिने यात्रुको सङ्ख्या बढेको हुनसक्छ’– प्रवक्ता भट्टले भने । रासस
पुनःनिर्माणका लागि पर्यटक शुल्कमा बढाइयो
काठमाडौँ, २ कात्तिक । हनुमानढोका दरवार क्षेत्र प्रवेश गर्नको लागि पर्यटकले तिर्नुपर्ने शुल्क बढेको छ । हनुमानढोका दरबार क्षेत्र संरक्षण समितिले सम्पदा पुनःनिर्माणका लागि कोष स्थापना गर्दै शुल्क समेत बृद्धि गरेको हो । दरबार क्षेत्रमा भएका ऐतिहासिक महत्वका प्राचीन तथा सांस्कृतिक सम्पदा भूकम्पका कारण भत्किएपछि तिनको मर्मतसम्भार तथा पुनःनिर्माणका लागि कोष स्थापना गरिएको हो । समितिले दरबार क्षेत्रमा घुम्न आउने पर्यटकको शुल्क कात्तिकदेखि लागू हुने गरी प्रतिपर्यटक ७ सय ५० रुपैयाँबाट वृद्धि गरी एक हजार रुपैयाँ पु¥याएको छ । समितिले दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) मुलुकभन्दा बाहिरबाट आएका पर्यटकलाई अहिलेसम्म प्रतिपर्यटक ७ सय ५० रुपैयाँ शुल्क लिँदै आएकोमा उनीहरूलाई शुल्क वृद्धि गरिएको हो । प्रत्येक टिकटबाट प्राप्त हुने २ सय ५० रुपैयाँलाई कोषमा सङ्कलन गरिनेछ । सार्क मुलुकका नागरिकलाई १ सय ५० रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएकोमा त्यसलाई अहिले यथावत् राखिएको छ । काठमाडौँ महानगरपालिकाको गत असारमा बसेको परिषद्ले शुल्क वृद्धि गर्ने निर्णय गरेकोमा त्यसलाई कार्यान्वयन गरिएको समितिका कार्यक्रम प्रमुख नरेन्द्रविलास बज्राचार्यले जानकारी दिए । अहिलेको मौसममा गत वर्ष प्रतिदिन करिब ४ सय पर्यटक आउने गरेकामा यस वर्ष पर्यटकको सङ्ख्या घटेर करिब २ सय ५० आउने गरेको समितिले जनाएको छ ।