नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट, ९१ करोडको सेयर किनबेच
काठमाडौं । बुधबार नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट भएको छ । बजारमा नेप्से ६ दशमलब २२ अंकले घटेर १६६१ अंकमा झरेको छ । सो दिन ९१ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार १५९ कम्पनीको २८ लाख ३२ हजार कित्ता सेयर किनबेच भएको छ । सेयर बजारमा सबैभन्दा बढी उत्पादनमूलक समूहको परिसूचक २५ अंकले ओरालो लागेको छ । त्यस्तै, विकास बैंक र हाइड्रो समूहको परिसूचक बराबर १२ अंकले घटेका छन् । बीमा र होटल समूहको परिसूचक क्रमशः ८ र १.३५ अंकले उकालो लागेका छन् । बुधबार सबैभन्दा बढी लक्ष्मी भ्यालु फण्ड १ को सेयर मूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, जेनरल फाइनान्स र छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य क्रमशः ८.८४ र ८.८७ प्रतिशतले घटेका छन् । सोही दिन तिनाउ डेभलपमेन्ट बैंकको सेयर मूल्य ५.६६ प्रतिशतले बढेको छ । बजारमा सबैभन्दा बढी नागरिक लगानी कोषको ३ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार कम्पनीको सेयर प्रतिकित्ता ४७०० रुपैयाँ रहेको छ ।
टाटाको नयाँ कार ‘स्टायलब्याक’ टिगोर नेपाली बजारमा, मूल्य पौने २४ लाख रुपैयाँ
काठमाडौं । सिप्रदी ट्रेडिङले टाटा मोटर्सको नयाँ कार स्टायलब्याक टाटा टिगोर नेपाली बजारमा ल्याएको छ । प्यासेन्जर सेग्मेन्टमा नयाँ पोर्टफोलियोको रुपमा बिक्री सुरु गरिएको हो । कमर्सियल कारमा अगाडि रहेको टाटा मोटर्सले नयाँ पुस्तालाई लक्षित गरेर आक्रमकरुपमा बजार विस्तारका लागि नयाँ कार बजारमा ल्याएको छ । टाटा मोटर्स विश्वको चर्चित अटोमोबाइल कम्पनी हो । रिभोर्टन १.२ लिटरको पेट्रोल क्षमताको उक्त कारको मूल्य २३ लाख ४५ हजार रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले कारमा चार वर्षसम्मको वारेन्टीको व्यवस्था गरेको छ । टिगोरका कारहरु एक्स इ, एक्स टी, एक्स जेड र एक्स जेड (0) गरी चारवटा भेरियन्टमा उपलब्ध छन् । कारहरु ६ वटा आकर्षक रङ्गमा उपलब्ध छन्; कपर ड्याजल, एक्प्रेसो ब्राउन, पर्लसेन्ट ह्वाइट, प्लाटिनम सिल्भर, स्ट्राइकर ब्लू, बेरी रेड । कारमा रहेको गोल्डेन इयर्स सहितको हर्मन प्रविधिको अत्यानिक अडियो तथा कनेक्टनेक्स्ट इन्फोटेनमेन्ट सिस्टम मनोरञ्जनको दुनियाँमा कनेक्ट हुन चाहने नयाँ पुस्ताका लागि उपयोगी हुने कम्पनीले जनाएको छ । नेपाली बजारमा बिक्री सुरु भएको टाटा टिगोर कम्पनीका पुराना उत्पादनभन्दा केहि फरक र अत्याधुनिक विशेषताहरु रहेको टाटा मोटर्सका इन्टरनेशनल बिजनेश हेड जोनी ओम्मेनले बताए । उनले भने, ‘भावी पूस्ताको मागलाई ध्यानमा राखेर अत्याधुनिक विशेषताहरुसहित नयाँ वर्गको आकर्षक गाडी निर्माणमा विशेष जोड दिएका छौं ।’ टिगोरको भित्री सजावटमा इन्टेलिजेन्ट स्पेसको प्रयोग गरिएको र कनेक्टीभीटी विशेषताहरु रहेको कम्पनीका सि. इ. ओ. राजन बाबु श्रेष्ठले बताए । उनले भने, ‘यसले चालकलाई इनटच अनुभवका साथै भित्री र बाहिरी संसारको उत्कृष्ट अनुभूति प्रदान गर्छ ।’
राष्ट्रिय वाणिज्य बैंकले अनलाइन आस्बा सेवा संचालन गर्ने, कहिले देखि सुरु ?
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले अनलाइन आस्बा सेवा २०७४ साउन २७ गते बाट सुरु गर्ने भएकाे छ । यस सेवा अन्तर्गत अब प्राथमिक शेयर निष्काशन हुँदा ग्राहकले घरमै बसेर शेयर भर्न पाउनेछन् । बैंकको ६८ जिल्लामा रहेका १७९ वटै शाखा कार्यालयहरुबाट यो सेवा निशुल्क रुपमा लिन सकिने छ । सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडको सम्बन्धित निक्षेप सदस्यता मार्फत मेरो शेयरको यूजर प्राप्त गरेका ग्राहकले बैंकमा उपस्थित नभईकन पनि सहज रुपमा अनलाइन सी-आस्बा सेवा मार्फत आइपीओ, एफपीओ तथा म्युचल फण्डहरुमा आवेदन दिन सकिने बैंकले जनाएको छ । आस्बा प्रणाली अन्तर्गत सार्वजनिक रुपमा धितोपत्र निष्काशन हुँदा यस बैंकको जुनसुकै शाखा कार्यालयका खातावाला लगानीकर्ताहरुबाट शेयर खरिद गर्न चाहेमा अनलाइन वा दरखास्त फारम संकलन गरी फारममा उल्लेख भए अनुसारको रकम सम्बन्धीत लगानीकर्ता खाताधनीकै खातामा रोक्का राखिने छ । त्यसपछि धितोपत्र बाँडफाँड भए पश्चात लगानीकर्ताको नाममा कायम हुन आएको धितोपत्र बराबरको रकम सम्बन्धीत धितोपत्र निष्काशनकर्ता कम्पनीमा पठाई बाँकी रकम सम्बन्धीत खाताधनीले पुर्ववत रुपमा प्रयोग गर्न सक्ने गरी फुकुवा गरिने बैंकले बताएको छ ।
अबदेखि मन्त्री, सांसद र सरकारी कर्मचारीले निजी क्षेत्रको बिमान चढ्न नपाउने
काठमाडौं । अबदेखि मन्त्री, सांसद र सरकारी कर्मचारीहरुले निजी कम्पनीका बिमान चढ्न नपाउने भएका छन् । बुधबार बसेको व्यवस्थापिका-संसद सार्वजनिक लेखा समितिले सार्वजनिक पद धारण गर्ने राजनीतिज्ञ र सरकारी कर्मचारीहरुलाई नेपाल वायु सेवा निगमकै जहाज चढ्न निर्देशन दिएको छ । समितिले सार्वजनिक पद धारण गर्ने राजनीतिक पदाधिकारी र राज्यकोषबाट तलब सुविधा लिने कर्मचारीलाई राष्ट्रिय ध्वजाबाहक जहाज नै चढ्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। नेपाल वायु सेवा निगमको व्यवसायिक क्षमता अभिवृद्धि गराउन त्यस्तो व्यवस्था गर्न लागिएको समितिले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र नारायण देवको प्रस्तावमा समितिले यस्तो निर्णय गरेको हो । मन्त्री देवले भारतमा पनि सरकारी कर्मचारीलाई इण्डियन एयरलायन्स मात्रै प्रयोग गर्ने अनुमति रहेको बताउँदै नेपालमा पनि त्यस्तै व्यवस्थाका लागि समितिले निर्देशन दिनुपर्ने धारणा राखेका थिए । यो व्यवस्था कार्यान्वयनमा आएपछि मन्त्री सांसद र कर्मचारीले नेपाल वायु सेवा निगमको जहाज उड्ने गन्तव्यहरुमा नीजि कम्पनीका जहाज चढ्ने पाउने छैनन् ।
नेपाल इन्स्योरेन्सले पुँजी वृद्धि योजना बुझायो, मर्जर वा एक्विजिशनबाट ३७ करोड पुँजी जुटाउने
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले बीमा समितिमा पुँजी वृद्धि योजना पेश गरेको छ । कम्पनीले दुई पटक गरी १० प्रतिशत बोनस सेयर दिने, एक पटक १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने र करिव ३७ करोड रुपैयाँ पुँजी मर्जर तथा एक्विजिशनबाट जुटाएर १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने योजना पेश गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी २८ करोड रुपैयाँ छ । आर्थिक वर्ष २०७२/७३ को नाफाबाट ५ प्रतिशत बोनस सेयर वितरण गरी पुँजी करिब ३० करोड १९ लाख रुपैयाँ पुर्याउने छ । त्यसपछि कम्पनीले १०० प्रतिशत (१ बराबर १ अनुपातमा) हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद सेयर निष्काशन पनि कम्पनीको चुक्ता पुँजी ६० करोड ३९ लाख रुपैयाँ हुने छ । आर्थिक वर्ष २०७३/७४ को नाफाबाट कम्पनीले फेरी ५ प्रतिशत बोनस सेयर दिने योजना पेश गरेको छ । उक्त बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ६३ करोड ४१ लाख रुपैयाँ हुनेछ । बाँकी करिब ३७ करोड रपैयाँ पुँजी जुटाउने विषयमा भने भेगपूर्ण प्रस्ताव गरिएको छ । स्रोतका अनुसार कम्पनीले मर्जर तथा एक्विशिजन वा बोनर तथा हकप्रद सेयरबाट ३६ करोड ५९ लाख रुपैयाँ पुँजी वृद्धि गर्ने प्रस्ताव पेश गरेको छ । उक्त पुँजी वृद्धि योजना कम्पनीको तर्फबाट सार्वजनिक गरिएको छैन ।
सोर्स कोडले जित्यो दक्षिण एसियाकै उत्कृष्ट एमबिलियन्थ अवार्ड
काठमाडौं । नेपाली सूचना प्रविधि सम्बन्धी कम्पनी सोर्स कोड प्रालिले मोबाइल सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट काम गरे बापत आठौं एमबिलियन्थ अवार्ड जितेको छ । भारतको नयाँ दिल्लीमा गत शुक्रबार आयोजित कार्यक्रममा सोर्स कोडप्रालिले बनाएको ‘नेपाली पैसा’मोबाइल एप्लिकेसनलाई उत्कृष्ट घोषणा गर्दै यो अवार्ड (उपाधि) दिइएको हो । डिजिटल इम्पावरमेन्ट फाउन्डेसनले मोबाइल प्रविधिसँग सम्बन्धित दक्षिण एसियाका कम्पनीहरुलाई सम्मान गर्दै आएको छ । यस प्रतिस्पर्धामा दक्षिण एसियाली मुलुकहरुबाट कुल २९४ वटा सूचना प्रविधि सम्बन्धी (आइटी) कम्पनीहरुले अवार्डका लागि आवेदन दिएका थिए । त्यसमध्ये बाट६५ वटा कम्पनीअन्तिम छनोटमा परेका थिए । जसमा सोर्ड कोर्डले बनाएको ‘नेपाली पैसा’मोबाइल एप्लिकेसनले सूचना तथा मनोरञ्जन विधातर्फ एमबिलियन्थ अवार्ड हात पारेको हो । विभिन्न १० वटा विधामार्फत सहभागी कम्पनीहरु अन्तिम छनोटमा परेका थिए । सोर्स कोडले ‘नेपाली पैसा’लाई सञ्चार तथामनोरञ्जन विधाअन्तर्गत आवेदन दिएको थियो । यस अवार्डले वित्तीय क्षेत्रसँग सम्बन्धित मोबाइल प्रविधिमा आधारित काम गर्न थप हौसला मिलेको सोर्स कोडका प्रबन्ध निर्देशक अभिजित श्रेष्ठले बताए । अवार्डले सोर्स कोड र नेपाली पैसाको ब्रान्डिङमा थप सहयोग पुग्नुका साथै सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमाकामगर्ने सम्पूर्ण नेपालीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न समेत हौसाला प्रदान गरेको श्रेष्ठको भनाई छ । आधुनिक मोबाइल प्रविधिले सर्वसाधारणको दैनिक जीवनलाई सहज र सशक्त बनाउन मद्दत पुर्याइरहेको छ । मोबाइल फोनको प्रयोग दक्षिण एसियाली राष्ट्रहरुमा पनि बढ्दो क्रममा रहेको छ । यसलाई ध्यानमा राख्दै डिजिटल इम्पावरमेन्ट फाउन्डेसनले २०१० देखि मोबाइल प्रविधिका क्षेत्रमा काम गर्ने उत्कृष्ट कम्पनीलाई पहिचान र हौसला दिन ‘एमबिलियन्थ अवार्ड साउथ एसिया’प्रदान गर्दै आएको छ ।
जिल्ला अदालतमा ७७ प्रतिशत मुद्दा फछ्र्यौट
तेह्रथुम। जिल्ला अदालत तेह्रथुमले आर्थिक वर्ष ०७३/७४ मा ७७ दशमलव ६२ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । यो लक्ष्य भन्दा दुई दशमलव ६२ प्रतिशत बढी हो । अदालतले गत वर्ष ७५ प्रतिशत मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएको थियो । दर्ता भएका २१० थान मुद्दामध्ये उक्त अवधिमा १६६ थान मुद्दा फछ्र्यौट गरेको जिल्ला अदलात तेह्रथुमका श्रेस्तेदार अम्बिकाप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार चालु आवका लागि ४७ थान मुद्दा सरिआएका छन् । अदालतले चालु आवमा २६२ थान मुद्दा दर्ता हुने लक्ष्य राखेको छ । अदालतकाअनुसार हालसम्म फैसला भएकामध्ये ३९६ वर्ष चार महिना २७ दिन कैद फैसला कार्यान्वयन हुन बाँकी रहेको छ । यस्तै रु ३७ लाख ६५ हजार १४८ जरिवाना समेत असुल गर्न बाँकी रहेको श्रेस्तेदार दाहालले बताए । यो वर्ष फैसला भएको १५७ वर्ष सात महिना एक दिन कैदमध्ये १०७ वर्ष एक महिना १६ दिन कार्यान्वयन भइरहेको छ । भने ५० वर्ष बढी कैद फैसला कार्यान्वयन हुन बाँकी छ । यस्तै रु पाँच लाख ८१ हजार जरिवाना तोकिएकोमा तीन लाख ८३ हजार ९७३ कार्यान्वयन हुनसकेको छैन । यो वर्ष ८४ वटा फौजदारी सम्बन्धी मुद्दा फैसला भएका छन् । अदातलका अनुसार दर्ता भएकामध्ये सबैभन्दा धेरै महिला हिंसा र सम्बन्ध विच्छेद सम्बन्धी मुद्दा रहेका छन् । रासस
मेरो माइक्रोफाइनान्सले ४२ प्रतिशत लाभांश दिने, ३० प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद
काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई ४५ दशमलब १०५ प्रतिशत लाभांश दिने भएको छ । बुधबार बिहान बसेको कम्पनीको सञ्चालक समिति बैंठकले ३० प्रतिशत बोनस सेयर र करसहित १२.१०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको सो कम्पनीले जनाएको छ । प्रतावित लाभांश नियामक निकायको स्वीकृति र कम्पनीको साधारणसभाले अनुमोदन गरपछि वितरण गरिनेछ ।