आइतबार पनि भारी वर्षा ः सोमबारबाट मौसम सुधार
काठमाडौ। मनसुन बढी सक्रिय भएसँगै अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालमा बदली र वर्षात् भएको छ । बिहीबारदेखि सक्रिय यो प्रणालीले देशभर बदली र वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त वायुको प्रभावले आज पनि देशभर वर्षात् भएको र यो क्रम भोलि पनि जारी रहने मौसमविद् सुजन सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पश्चिमका केही स्थानबाहेक देशभर बदली छ भने अधिकांश स्थानमा वर्षात् भइरहेको छ । आइतबार देशैभर वर्षात् हुने तथा विशेषगरी मध्य र मध्यपश्चिम नेपालका तराई क्षेत्रमा भारी वर्षात् हुने मौसमविद् सुवेदीको भनाइ छ । तुलनात्मकरुपमा पूर्वी क्षेत्रमा कम वर्षात् हुनेछ । सोमबारदेखि मौसममा क्रमिक सुधार आउने जनाइएको छ । आज पनि काठमाडौँ उपत्यकासहित देशभर वर्षात् भएको छ । धेरै स्थानमा भारी वर्षा भएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी सिमरामा २१७ र सबैभन्दा कम दीपायलमा पाँच मिलिमिटर वर्षात् भएको छ । नेपालगञ्जमा १६९, दाङमा १६७ र जनकपुरमा १३७ मिलिमिटर वर्षात् भएको छ । काठमाडौँमा ३० मिलिमिटर वर्षात् भएको छ । आज काठमाडौँ उपत्यकाको अधिकतम २६ र न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस रहेको छ । दुई दिनदेखि लगातार परेको वर्षा खासगरी पूर्वी, पश्चिम र मध्यपश्चिमका तराई भेगमा बाढीको डुबान छ भने पहाडी भेगमा पहिरोले धनजनको क्षति गरेको छ ।गृह मन्त्रालयका अनुसार घटनामा परी हालसम्म ३० जनाभन्दा बढीको मृत्यु र दसभन्दा बढी मानिस बेपत्ता भएका छन् । रासस
सीमामा रहेका बाँधको ढोका खोल्न भारतलाई आग्रह
काठमाडौ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल–भारत सीमाका नदीमा रहेका बाँधको आवश्यक सबै ढोका खोल्नका लागि नेपालस्थित भारतीय राजदूतमार्फत भारत सरकारलाई आग्रह गर्नुभएको छ । उपप्रधानमन्त्री महराले नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीलाई आज टेलिफोन गरेर शुक्रबारदेखि जारी वर्षाका कारण नेपालको तराई क्षेत्र डुबानमा परेको भन्दै भारतीय पक्षले आवश्यकताअनुसार सीमाका बाँधको ढोका खोल्नका पहल गरिदिन आग्रह गर्नुभएको उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ । डुबानका कारण तराईमा जनधनको क्षति भएको तथा जनजीवन पूर्णरुपमा प्रभावित भएकाले थप क्षति हुन नदिन बाँधको ढोका खोल्न आग्रह गरिएको हो । सप्तकोशी, लक्ष्मणपुरलगायत ब्यारेजको ढोका आवश्यकताअनुसार भारतीय पक्षले नखोलिदिँदा नेपालतर्फ डुबान बढ्दै गएपछि मन्त्री महराले सो आग्रह गर्नुभएको हो । रासस
पुल बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
नेपालगन्ज । पूर्व–पश्चिम सडकखण्डअन्तर्गत कोहलपुर–कुसुम क्षेत्रमा पर्ने गाभर खोला र गन्धैली नालाको पुल बाढीले बगाउँदा यातायात अवरुद्ध भएको छ । शुक्रबार रातभरि परेको अबिरल वर्षाका कारण आएको बाढीले सो पुल बगाउँदा अहिले सडक वारीपारी दुवैतर्पmका यात्रु अलपत्र परेका छन् । सडक डिभिजन कार्यालयले भत्केको पुलको छेउबाट डाइभर्सन बनाउने तयारी गरे पनि पानीको भेलका कारण त्यो सम्भव हुन सकेको छैन । त्यसैगरी अबिरल वर्षाका कारण जिल्लाको राप्ती र डुडुवा नदीमा आएको भीषण बाढीका कारण राप्ती–सोनारी गाउँपालिकाअन्तर्गतका गाउँहरु अहिले डुबानमा परेका छन् । बाढी र डुबानका कारण सो गाँउपालिका–४ लालपुर गाउँका कमीलाल थारुको घर भत्किँदा तीन बालबालिकाको मृत्यु भएको छ भने आमालाई बाढीले बगाएको जिल्ला प्रहरी प्रमुख टेकबहादुर तामाङले जानकारी दिए । बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काका अनुसार बाढीमा फसेका नागरिकको उद्धारका लागि सो क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल, जनपथ प्रहरीसहितको उद्धार टोली परिचालन गरिसकिएको छ । अबिरल वर्षाका कारण बैजापुर, बिनौना, फत्तेपुर, होलिया, बेतहनी बनकट्टी, कम्दी गाउँ डुबानमा परेका छन् । त्यसैगरी किरण नालामा आएको बाढीले कोहलपुर र खजुरा क्षेत्रका बस्ती पनि प्रभावित भएका छन् । स्थानीय प्रशासनले बाढीबाट बिस्थापितलाई सुरक्षित स्थानमा राख्ने, खाद्यान्न सामग्री उपलब्ध गराउने, उचित बसोबासको व्यवस्था मिलाउने, उपचार सेवा उपलव्ध गराउनेलगायत तत्काल राहतको चाँजोपाँजो मिलाएको जनाएको छ । रासस
हिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ को सेतीदोभान भन्ने ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । दिनभरको अविरल वर्षापछि पहिरोको जोखिम हुनसक्ने भन्दै अपराह्न २ बजेदेखि सवारी आवागमन रोकिएको थियो । त्यसको केही समयमा मुग्लिनबाट नौ किलोमिटर नारायणगढतर्फ सेतीदोभान नजिकै पहिरो खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले बताए । त्यसैगरी, मुग्लिनको मुखैमा, भालुढुंगा, भोर्लेलगायत ठाउँमा पनि पहिरो खसेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार बीचसडक क्षेत्रमा पुग्न नसकेकाले अन्य के–कति ठाउँमा पहिरो खसेको छ जानकारी हुन सकेको छैन । यद्यपि ठूला पहिरो कुनै पनि नभएकाले पहिरो रोकिएमा सफा गर्न भने समय नलाग्ने उनले बताए । पहिरो खस्ने क्रम नरोकिएकाले पहिरो पन्छाउने काम सुरु गर्न नसकिएको उनले जानकारी िदए । ती ठाउँमा माथिबाट ढुंगा र लेदो माटो खसिरहेको छ । सडक अवरुद्ध भएपछि दिउँसोदेखि यात्रु अलपत्र परेका छन् । पहिरो खस्न रोकिएमा सडकका बीचमा रहेका सवारीलाई गन्तव्यतर्फ पठाउन सडक खुलाउने प्रयासका लागि तयारी अवस्थामा उपकरण र जनशक्ति राखिएको खनालले बताउनुभयो । रातको समयमा सो सडकमा आवागमन रोकिँदै आएको छ । रासस –––––––
भारी वर्षाले धेरै स्थानमा विद्युत आपूर्ति बन्द, प्राधिकरण भन्छ-सुचारुको प्रयास जारी छ
काठमाडौं । अविरल वर्षादले विद्युत वितरण प्रणालीमा समस्या आई धेरै स्थानमा आपूर्ति अवरोध भएको छ । अविरल वर्षाले गर्दा प्रशारणलाइन, सबस्टेशन तथा वितरण प्रणाली लगायतका संरचनामा ठुलो क्षति भएकोले विधुत वितरणमा समस्या आएको प्राधिकरणले जनाएको छ । केही स्थानका सव–स्टेशन जलमग्न भई विद्युत आपूर्ति बन्द भएका छन् । दुहबी स्थित १३२ केभी. सब–स्टेशन जलमग्न भएको प्राधिकरणले जानकारी दिएको छ । यस्तै अनारमनी–कावेली १३२ केभी प्रसारणलाइनको टावर ढलेको छ । खिम्ती–ढल्केबर १३२ केभी. प्रसारणलाइनमा समस्या आएको प्राधिकरणले जनाएको छ । हेटौंडा–चन्द्रनिगाहपुर–ढल्केबर प्रसारणलाइनमा ठुला रुखहरु ढलेकाले विधुत आपूर्तिमा अवरोध उत्पन्न भएको प्राधिकरणले स्पष्ट पारेको छ । समस्या आएका स्थानमा विद्युत आपूर्ति सुचारु गराउन तदारुकताका साथ मर्मत कार्य भै रहेको प्राधिकरणले जानकारी गराएको छ ।
चार अर्बको सेयर कारोबार
काठमाडौ। धितोपत्र बजारमा यस साता तीन अर्ब ८१ करोड ८४ लाख ६० हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कूल १६८ कम्पनीको एक करोड २१ लाख तीन हजार ५८० कित्ता शेयर कारोबार भएको हो ।गत साता १६७ कम्पनीको पाँच अर्ब २५ करोड २४ लाख १५ हजार बराबरका एक करोड पाँच लाख ८० हजार ४९० कित्ता शेयर खरिद बिक्री भएका थिए । यस साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ११ दशमलव ५२ अङ्कले घटेर अन्तिम दिन एक हजार ६५३ दशमलव ५३ अङ्कमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २ दशमलव ०८ अङ्कले घटेर ३४७ दशमलव ०३ अङ्कमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा नागरिक लगानी कोष अग्रस्थानमा छ । सो कोषको रु १९ करोड ५३ लाख १० हजारको कारोबार भएको छ । यस्तै शेयर संख्याको आधारमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १ अग्रस्थानमा छ । सो स्किमको ३१ लाख २७ हजार कित्ता शेयर कारोबार भएको थियो । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार नभएको स्टकले जनाएको छ । यस साता जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक र हिमालयन पावर पार्टनरको बोनस र साधारण शेयर स्टकमा सूचीकृत भएका थिए । रासस
विदेशबाट फर्किएका युवाद्वारा सामूहिक कृषि शुरु
लमजुङ । विभिन्न २४ जिल्लाका ९४ जना युवा मिलेर लमजुङमा सामूहिक कृषि शुरु गरेका छन् । इजरायलमा अध्ययन र प्रयोगात्मक सीप सिकेर नेपाल फर्किएका ती युवाले सामूहिक कृषि व्यवसाय शुरु गरेका हुन् । सुन्दरबजार नगरपालिका–३, चन्द्रेश्वरमा आरभा नेपाल मोर्डन एग्रिकल्चर नामक कम्पनी सञ्चालनमा ल्याई सामूहिक कृषि पेशा शुरु गरेका हुन् । आधुनिक कृषिका लागि युवालाई आकर्षण गर्ने गरी कार्य शुरु गरिएको कम्पनीका अध्यक्ष विनोद घिमिरेले बताए। अध्ययनका लागि इजरायल पुगेका युवाले प्रयोगात्मक सीपका लागि आरभा मरुभूमिमा काम गर्दाको अनुभवले नेपालमा फर्किन उत्प्रेरित भएको बताएका छन् । त्यहाँको प्रविधि अपनाउँदै नेपालमा नमूना कृषि परियोजना सञ्चालन गर्न लागेको उनीहरुको भनाइ छ । “आरभा मरुभूमि हो, जहाँ माटो, पानी अर्कै ठाउँबाट ल्याइन्छ”, अध्यक्ष घिमिरेले भने, “हामीसँग मरुभूमिमा फल फलाएको अनुभव छ, अब आफ्नै माटोमा पनि फलाउँछौँ ।” तरकारीखेतीका साथै गाई, बाख्रा, कुखुरा, हाँस माछापालन कृषि तालीम केन्द्र सञ्चालन गर्ने योजना रहेको घिमिरेको भनाइ छ । व्यावसायिक र सामूहिक कृषिसँगै कृषि पर्यटनको विकास गर्ने लक्ष्य रहेको घिमिरेले बताउछन्। १७ करोड लगानी गर्ने योजना रहेको सो व्यवसायका लािग तीन करोड रूपैयाँ भन्दा बढीको भौतिक संरचना निर्माण भइसकेको छ । कृषि व्यवसायका लागि २२० रोपनी जग्गा खरिद गरी भौतिक संरचना निर्माण गरिएको छ । कृषि फार्ममा एकसय गाई पाल्न सक्ने गोठ, ३०० बाख्रा पाल्न सक्ने आधुनिक खोर, १० हजार कुखुरा पाल्न सक्ने कुखुराको खोर निर्माण गरी सकिएको कम्पनीका सञ्चालक कृष्णप्रसाद बजगाईंले जानकारी िदए । नेपाल फर्किएपछि देशका लागि कृषि क्षेत्रमा केही नमूना काम गर्ने लक्ष्यसहित इजरायलमा कृषि अध्ययनकै क्रममा यो परियोजनाको खाका तयार पारिएको सञ्चालक देवराज आचार्यले बताए। पछिल्लो समय स्थानीयवासीले शेयरको नाममा जग्गा पनि प्रदान गरेका छन् । लमजुङको परियोजना सञ्चालनपछि १० वर्षभित्रमा सातवटै प्रदेशमा यस्ता कृषि परियोजना स्थापना गरी कृषि क्षेत्रमा नयाँ आयाम ल्याउने कम्पनीको विश्वास छ । रासस
प्रधानमन्त्रीको भ्रमणमा विगतका सहमति कार्यान्वयन प्राथमिकतामा ः राजदूत उपाध्याय
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी भारत भ्रमणका अवसरमा विगतमा भएका सहमति र सम्झौता कार्यान्वयनको विषयलाई प्राथमिकताका साथ उठाइने भएको छ । ललितपुरमा आज आयोजित साक्षात्कारमा भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले भने, “विगतमा भएका सहमति र समझदारी कुन अवस्थामा रहेका छन् त्यो हेर्ने, पुनरावलोकन गर्ने तथा हुन सक्ने कुरालाई अलमल नगरी कार्यान्वयनमा लैजाने विषयमा गम्भीरतापूर्वक छलफल गरिनेछ । प्रधानमन्त्री देउवाको भारत भ्रमणका बेला उठाइने र सहमति हुने विषयवस्तुको कार्यसूचि बनाउने अन्तिम चरणमा रहेको बताउँदै भारतको तर्फबाट राजनीतिक तहमा भ्रमणप्रति ठूलो सद्भाव रहेको आफूले पाएको जानकारी दिए । अरुण तेस्रो, माथिल्लो कर्णाली र पञ्चेश्वर जलविद्युत् आयोजना अघि बढाउन सकियो भने मुलुकको विकासमा कायापलट हुने बताउँदै उनले भने हाम्रो तर्फबाट कार्यसूची टुंग्यायाैं अरुण तेस्रोको शिलान्यास दुवै प्रधानमन्त्रीबाट हुनुपर्छ भन्नेमा सामाजिक र राजनीतिक तहबाट बल पु¥याउन आवश्यक छ । रासस