अटोलोनको सीमावृद्धि नीति अलपत्र, नाडा ओटो शो प्रभावित हुन सक्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आवश्यक निर्देशन जारी नगर्दा निजी प्रयोजनका सवारी साधनमा हुने कर्जाको सीमा वृद्धि सम्बन्धी मौद्रिक नीतिले गरेको नयाँ व्यवस्था अलपत्र परेको छ । राष्ट्र बैंकले असार २५ गते नै मौद्रिक नीति मार्फत निजी प्रयोजनका सवारी साधनमा बैंक तथा वित्तिय संस्थाले ६५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउने व्यवस्था ल्याएको थियो । त्यसअघि बैंक तथा वित्तिय संस्थाले त्यस्तो कर्जामा ५० प्रतिशत मात्रै लगानी गर्न पाउने व्यवस्था थियो । मौद्रिक नीति आएको एक महिना नाघि सक्दा पनि केन्द्रिय बैंकले अझै आवश्यक निर्देशन जारी नगरेको बैंकहरुले निजी क्षेत्रमा प्रवाह हुने कर्जा ठप्प गरेका छन् । ‘नेपाल राष्ट्र बैंकले निजी प्रयोजनका सवारी साधनमा कर्जाको सीमा त बढायो तर बैंकहरुले कर्जा दिन मानिरहेका छैनन्’ नाडा अटोमोबाइल एसोसियसन नेपालका अध्यक्ष अञ्जन श्रेष्ठले भने । बैंकहरुले कर्जा प्रवाहमा खुकुलो नीति नअपनाउकोले यस क्षेत्रको व्यापार विस्तार हुन नसकेको उनले बताए । ‘निजी प्रयोजनका सवारी साधनमा ऋण प्रवाह गर्दा सो सवारीको मूल्यांकनको अधिकतम ५० प्रतिशतसम्म मात्र बैंकले लगानी गर्न सक्ने व्यवस्थालाई ६५ प्रतिशत पुर्याइएको छ । साथै, व्यक्तिगत विद्युतिय सवारी साधनको हकमा उक्त सिमा ८० प्रतिशत काम गरिएको छ’– आर्थिक वर्ष २०७४÷७५ को लागि जारी गरेको मौद्रिक नीतिमा उल्लेख गरिएको छ । मौद्रिक नीतिले निजी प्रयोगका सवारी साधनमा कर्जाको सीमालाई १५ प्रतिशत बढाउने व्यवस्था गरेसँगै उत्साहित बनेका अटोमोबाइल व्यवसायी उक्त नीति कार्यान्वयनमा नआउँदा निरास देखिन्छन् । मौद्रिक नीतिमा उल्लेख गरिएको नीतिगत विषयमा राष्ट्र बैंकले आवश्यक निर्देशन जारी गरेपछि मात्र त्यसको कार्यान्वय गर्ने अभ्यास भएको नेपाल बैंकर्स संघका अध्यक्ष अनिल केशरी साहले बताए । नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले भने सर्कुलर चाँडै जारी हुने बताए । ‘मौद्रिक नीति तयार हुँदा नै कुन सर्कुलर कति बेला जारी गर्ने भन्ने कार्य तालिका बनेको हुन्छ, सोही अनुसार त्यसको कार्यान्वयन हुने हो, अटोलोनमा दिइएको सुबिधा सम्बन्धी सर्कुलर पनि सोही कार्य तालिका अनुसार आउँछ’, राष्ट्र बैंकका सहायक प्रवक्ता पण्डितले भने । उनले चाँडै सर्कुलर जारी हुने पनि स्पष्ट पारे ।‘केन्द्रिय बैंकले सम्पूर्ण जोखिम र अवसरहरुलाई हेरेर मौद्रिक नीति बनाउँछ, त्यसको कार्यान्वयनको योजना पनि बनाएको हुन्छ, त्यसै अनुसार सर्कुलरहरु आउने हुन, अटोलोनका सवालमा पनि त्यहि हुने हो’, पण्डितले भने । सवारी कर्जा नीति खुकुलो बनाउने नीति कार्यान्वन गर्न आवश्यक निर्देशन ढिलाई गरेमा भदौं १३ देखि हुन लागेको नाडा अटो शो निकै प्रभावित हुने भएको छ । ‘सवारी किन्ने मध्ये अधिकांशले बैंकबाट कर्जा लिने हो, बैंकको कर्जा नीति खुकुलो नभएसम्म नयाँ सवारी किन्न ग्राहक तयार हुँदैन’ सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाजु श्रेष्ठले भने ।
निर्जीबन बीमा लाईसेन्सप्रति बीमा समिति अनुदार, १३ वर्षदेखि निर्जीवन कम्पनी थपिएनन्
काठमाडौं । एउटै अविभावकले आफ्ना दुई सन्तानलाई फरक फरक नजरले हेर्दैनन् भन्ने नैतिक मान्यता समाजमा स्थापित छ । तर त्यहि समाजमा एउटा नियामक निकायले आफूले नियमन गर्ने २ प्रकारका संस्थालाई भने भिन्दै नजरले हेर्दै आएको छ । पछिल्लो समय नयाँ लाईसेन्सको प्रतिक्षामा बसेको निर्जीवन बीमा कम्पनीहरुले आफूहरुलाई बीमा समितिले उपेक्षा गरेको महसुश गरिरहेको छ । ६ वटा जीवन बीमा कम्पनीले लाइसेन्स पाउँदा एउटा पनि निर्जीवन बीमा कम्पनीलाई लाईसेन्स नदिएकोमा उनीहरुले बीमा समितिप्रति गुनासो गर्न थालेका छन् । बीमा क्षेत्रको नियमन गर्ने अधिकार पाएको बीमा समितिले जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीहरुलाई फरक फरक ढंगको व्यवहार गर्दै आएको छ । त्यस्तो व्यवहारको प्रमाण हो नयाँ बीमा कम्पनीलाई दिइएको लासेन्स प्रकरण । ‘६ महिनाअघि आवेदन गर्ने जीवन बीमा कम्पनीलाई बीमा समितिले लाईसेन्स दिईसक्यो । हामीले २०६४ सालमा लाइसेन्सका लागि आवेदन दिएको, १० वर्षमा पनि पाउन सकेका छैनौं’ प्रक्रियामा रहेका एक कम्पनीको लगानीकर्ताले भने । जीवन बीमा कम्पनीलाई लाइसेन्स दिन अर्थ मन्त्रालयको स्वीकृति चाहिन्छ तर निर्जीवन बीमा कम्पनीलाई समिति आफैंले लाइसेन्स दिन सक्छ । आफ्नै हातमा अधिकार हुँदा हुँदै पनि बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई लाइसेन्स नदिएर निजीवन कम्पनीमा लगानी गर्ने लगानीकर्ताको मनोवल गिराउने काम गरेको उनको टिप्पणी छ । यतिबेला मनकामना इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स कम्पनी नेपाल र सानिमा इन्स्योरेन्सले लाइसेन्स पर्खिरहेका छन् । तर समितिले एउटा कमिटी बनाएर थप अध्ययन गरिरहेको बताएको छ । ‘अहिले १७ वटा निर्जीवन बीमा कम्पनी छन, ४ वटाले लाइसेन्सका लागि आवेदन दिएका छन, हामीले एउटा कमिटी बनाएर अध्ययन गरिरहेका छौं’, बीमा समितिका एक अधिकारीले भने । बीमा समितिले १३ वर्षयता निर्जीबन बीमा कम्पनीलाई लाईसेन्स दिएको छैन । १३ वर्षअघि लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी खुलेको थियो । यसबीचमा जीवन बीमातर्फ चार वटा कम्पनी थपिएर कारोबार गर्दै आएको छन् । हालै मात्र ६ वटा जीवन बीमा कम्पनीहरुले लाईसेन्स पाएका छन् भने निटक भविष्यामा थप ४ वटा कम्पनीले लाईसेन्स पाउने सम्भावना छ ।
नेशनल लाइफ इन्स्योरेन्सको २५ प्रतिशत बोनस र ६० प्रतिशत हकप्रद पास
काठमाडाैं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको २६.३२ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको २९औं वार्षिक साधारणसभाले यो बोनस पारित गरेको हो । २५प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ दशमलब ३२ प्रतिशत गरी २६.३२ प्रतिशत लाभांश पारित गरेको हो । योसँगै कम्पनीको चुक्ता पूँजी १ अर्ब ६५ करोड ६० लाख पुगेको छ।बोनशपछि हुन आउने चुक्ता पूँजी ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । यो हकप्रदपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ६४ करोड ९६ लाख पुग्ने कम्पनीले जनाएको छ । अघिल्लो आर्थिक वर्ष ३६ करोड खुद मुनाफा गरेको छ । कम्पनीले ३ अर्ब ८५ करोड बीमा शुल्क संकलन भएको र १ अर्ब ७ करोड खुद दाबी भूक्तानी गरेको जनायो । कम्पनीको कुल लगानी २० दशमलब १० प्रतिशत वृद्धि भएर १४ अर्ब २० करोड पुगेको छ भने कम्पनीको बीमा कोष २२ दशमलब ९४ प्रतिशत वृद्धि भएर अघिल्लो असार मसान्तसम्म १४ अर्ब १८ करोड पुगेको छ।सिंहले अघिल्लो आर्थिक वर्षमा नाकाबन्दी र अत्याधिक तरलताका कारण निक्षेप ब्याजदरमा ह्रास आएकोले जीवन बीमा प्रभावित भएको बताईन् ।
जनता बैंकको नाफा ३९२ प्रतिशत बढ्यो
काठमाडौं । जनता बैंकको नाफा ३९२ प्रतिशतले बढेको छ । सिद्धार्थ डेभलपमेन्ट बैंकलाई अक्वायर र त्रिवेणी डेभलपमेन्ट बैंकसँग मर्ज भएसँगै बैंकको नाफा ६४ करोड पुगेको हो । गत आवको सोही अवधीमा बैंकले जम्मा १३ करोड मात्रै नाफा कमाएको थियो । जनता बैंकले २ अर्ब ८४ करोड ब्याज आम्दानी गरेको देखिन्छ भने ब्याज खर्च १ अर्ब ६९ करोड गरेको छ । बैंकले ४८ अर्ब निक्षेप संकलन गरेर ४५ अर्ब कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा २ दशमलब शुन्य ९ प्रतिशत रहेको छ । ९ रुपैंयाँ १८ पैसा प्रति सेयर आम्दानी गरेको बैंकको प्रति सेयर नेटवर्थ भने १२६ रुपैंयाँ शुन्य ५ पैसा रहेको छ । ६ अर्ब ९९ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ८२ करोड रुपैयाँ रहेको छ ।
हिमालयन बैंकको नाफा २ अर्ब १७ करोड
काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्ष ०७३/०७४ मा खुद नाफा २५ करोड रुपैयाँ बढाएको छ । गत आवको असारसम्म बैंकले २ अर्ब १७ करोड ६४ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ९३ करोड ५९ लाख रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले आइतबार सार्वजनिक गरेको गत आवको वित्तीय विवरणअनुसार खुदनाफा, निक्षेप परिचालन र कर्जा लगानीमा विस्तार भएको जानकारी दिएको छ । गत असारसम्म बैंकले ९२ अर्ब ८८ करोड ११ लाख रुपैयाँ निक्षेप परिचालन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ८७ अर्ब ३३ करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । गत वर्ष बैंकले ६ अर्ब रुपैयाँ मात्र निक्षेप बढाएको छ । समीक्षा अवधिमा बैंकले ७७ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ६७ अर्ब ७४ करोड ५९ लाख रुपैयाँ लगानी गरेको छ । एक वर्षको अवधिमा बैंकले कर्जा लगानी ११ अर्ब रुपैयाँ बढाएको छ । बैंकको खराव कर्जा १ प्रतिशत तल रहेको छ । पुँजीगत लागत ३.९९, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९ र आधार दर ९.५७ प्रतिशत रहेको बैंकले जनाएको छ । यस्तै बैंकको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ५३ पैसा छ । बैंकको चुक्तापुँजी साढे ६ अर्ब रुपैयाँ पुगेको छ । बैंकको बचत ५ अर्ब २७ करोड ४४ लाख रुपैयाँ छ ।
उद्धारका लागि टेलिफोन सेवा सुचारु राख्न प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले टेलिफोन सेवा सुचारु राख्न सेवा प्रदायकलाई निर्देशन दिएको छ । गत शुक्रबारदेखिको अविरल वर्षाले भिषण बाढी र पहिरोले ठुलो धनजनको क्षति भएको भन्दै सेवा सुचारु राखी आकस्मिक रुपमा गर्नुपर्ने सबै काम गर्न भनेको छ । उद्धार र राहतमा दुरसञ्चार सेवा नियमित सुचारु आवश्यक भएको भन्दै प्राधिकरणले निर्देशन दिएको हो ।
पुर्चौडीको बजेट रु ४५ करोड ४३ लाख
बैतडी । पुर्चौडी नगरपालिकाले ४५ करोड रूपैयाँ बढीको बजेट सार्वजनिक गरेको छ । शुक्रबार नगरपालिकामा सम्पन्न नगर परिषद्मा र ४५ करोड ४३ लाख सात हजार रूपैयाँको बजेट नगरप्रमुख रणबहादुर कुँवरले सार्वजनिक गरेका हुन्। चालूतर्फ पाँच करोड छ लाख ३६ हजार र पूँजीगततर्फ २२ करोड ८९ लाख ९० हजार र विषयगततर्फ २२ करोड ८९ लाख ९० हजार रूपैयाँ विनियोजन गरेको छ । नगरकार्यपालिकाबाट नगरसभामा पेश हुने नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । यस अनुसार नगरभित्रका सडक सञ्जाललाई प्राथमिकतामा राखिएको छ । नगरपालिकामा शिक्षा, स्वास्थ्य, सडकलगायतका विभिन्न विकास निर्माणका कार्यक्रम रहेका छन् । रासस
धनुषा र महोत्तरी जोड्ने रातोपुल पुनः भासियो
महेन्द्रनगर (धनुषा), २८ साउन । विगत चार दिनदेखि भएको अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषा र महोत्तरी जोड्ने रातो पुल पुनः भासिएको छ । तीन वर्ष पहिले पनि यो पुल भासिएको थियो । पूर्वलाई काठमाडौंसँग जोड्ने प्रमुख पुलको रुपमा यो पुल रहेको छ । पुल भासिएपछि पुलमा भारी सवारी निषेध गरिएको छ । हलुका सवारी मात्र जान दिइएको प्रहरीले जनाएको छ । पुल ४–५ इन्च भन्दा धेरै भासिएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक सालिकराम शर्माका अनुसार आइतबार प्राविधिक जाँच पछिमात्रै अन्य सवारीलाई खोल्ने वा नखोल्ने टुंगो लाग्नेछ । खोलामा पानीको बहाब उच्च भएपछि पहिले डाइभर्सन दिएको स्थानमा अलि भासिएकाले सवारीसाधन आवागमन बन्द गरिएको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय, बर्दिबाससँग समन्वय गरी साँझ ७ बजेदेखि सवारीसाधन आउजाउ बन्द गरिएको उहाँले बताउनुभयो । पुलको अवस्था हेरेर मात्र साना सवारीसाधनहरु आउन जान सक्ने वा नसक्ने विषयमा विचार गरेर मात्र सञ्चालन गर्न दिने प्रहरीले जनाएको छ । सवारीसाधन सञ्चालनमा रोक लगाएपछि राजधानीसहित देशको विभिन्न ठाउँ जाने रात्रिकालीन बस सेवाका एक हजारभन्दा बढी गाडी र हजाराँै यात्री अलपत्र परेका छन् । रासस