प्रधानमन्त्री देउवा नयाँ दिल्ली प्रस्थान, भारतीय प्रम मोदीले भोली भेट्ने
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणका लागि आज नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद आरजु राणा देउवाका साथ उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएका हुन् । प्रधानमन्त्री देउवालाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीत्रय विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठले बिदाइ गरेका थिए । प्रधानमन्त्री देउवाको बिदाइका लागि मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्च अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि विमानस्थल पुगेका थिए । सो अवसरमा प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । प्रधानमन्त्री देउवा नेपाल वायुसेवा निगमको उडानबाट त्यसतर्फ गएका हुन्। परराष्ट्र मन्त्रालयले तयार पारेको प्रधानमन्त्रीको प्रस्तावित भ्रमण तालिकाअनुसार आज नयाँ दिल्ली पुगेर राष्ट्रपति भवनमा केहीबेर विश्रामपछि प्रधानमन्त्री देउवाले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्नेछन् । प्रधानमन्त्रीले भारतका उद्योगी–व्यवसायीको साझा संस्था एसोसिएटेड चेम्बर अफ कमर्श एण्ड इण्डस्ट्रीज अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई आजै सम्बोधन गर्नेछन् । बिहीबार बिहान राष्ट्रपति भवनमा प्रधानमन्त्रीलाई प्रधानमन्त्री मोदीले औपचारिक समारोहबीच स्वागत गर्नेछन् । त्यसपछि महात्मा गान्धीको समाधिस्थलमा पुगेर उहाँले पुष्पहार अर्पण गरी अहिंसाका पुजारी गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवासँग बिहीबारै भारतका बाह्य मामिला मन्त्री सुष्मा स्वराजले शिष्टाचार भेट गर्नुहुनेछ भने त्यसलगत्तै हैदरावाद हाउसमा दुवै देशका प्रधानमन्त्रीबीच सहयोगीरहित एक्लाएक्लै भेटवार्ता हुनेछ । दुई देशका सरकार प्रमुखबीचको भेटवार्तापछि हैदरावाद हाउसमा नै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । वार्तापछि प्रधानमन्त्रीद्वयको उपस्थितिमा सम्बन्धित अधिकारीले द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर गर्नुहुनेछ भने नेपाल–भारत प्रसारण लाइनको दूरनियन्त्रित यन्त्रबाट प्रधानमन्त्रीले शुभारम्भ गर्ने कार्यक्रम छ । दुवै देशका प्रधानमन्त्रीले सञ्चारकर्मीलाई सम्बोधन गरेपछि प्रधानमन्त्री मोदीले आफ्नो सम्मानमा हैदरावाद हाउसमा आयोजना गर्नुहुने दिवाभोजमा प्रधानमन्त्री देउवा सरिक हुनुछन् । सोही दिन अपराह्न राष्ट्रपति भवनमा भारतका राष्ट्रपति रामनाथ कोबिन्द र उपराष्ट्रपति बेंकैया नायडूसँग प्रधानमन्त्री देउवाले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन् । त्यसैगरी, नयाँ दिल्लीमा रहँदा प्रधानमन्त्री देउवासँग भारतीय गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्ली, भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष तथा सांसद सोनिया गान्धी र पूर्वप्रधानमन्त्री मनमोहन सिंहले छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भारतको राजकीय भ्रमण पूरा गरेर उहाँ यही भदौ ११ गते स्वदेश फर्कनेछन् ।
एउटै वडाबाट एकसय ४७ मेगावाट विद्युत्
बेनी, म्याग्दी । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १४७ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् । छिमेकी दानामा निर्माणाधीन अवस्थामा रहेको २२० केभी विद्युत् प्रसारण लाइनको निर्माण कार्य तीव्रगतिमा अगाडि बढेपछि जलविद्युत् उत्पादनमा प्रचुर सम्भावना रहेको नारच्याङमा लामो समयसम्म लाइसेन्स ओगटेर बसेका कम्पनीले समेत लगानी जुटाएर काम शुरु गरेका छन् । नारच्याङमा रहेका विभिन्न खोलाबाट धमाधम आयोजनाका काम शुरु भएपछि स्थानीयले रोजगारका अवसरका साथै आर्थिक कारोबारसमेत बढेको छ । नारच्याङमा रोवर्ट्स इनर्जी प्रालिको ४२ मेगावाटको म्रिस्ती खोला जलविद्युत् आयोजनाको दुई हजार ३०० मिटर लामो टनेलमा ९७० मिटर, पावर हाउस, बालुवा थिग्राउने दुईवटा पोखरी, पेनस्टकलगायतका निर्माण कार्यले तीव्रता पाएको छ । उता निलगिरि खोलाबाट पहाडको भित्र ड्याम राख्ने निलगिरि खोला हाइड्रोपावरले ६२ मेगावाट र हुवाखोला जलविद्युत् आयोजनाले ३८ मेगावाट उत्पादन लक्ष्यसहित सडक, मजदुरलाई आवासगृहलगायतका संरचना निर्माण कार्य शुरु गरेको छ । अन्नपूर्ण बेसक्याम्पको फेदमा बाँध राख्ने तयारी गरिएको आयोजनाले हुवाखोलादेखि छोटेपासम्म ३८ र म्रिस्ती खोला र निलगिरि खोलाको दोभिल्लाबाट ६२ मेगावाट उत्पादनको लक्ष्य राखिएको छ । यी दुवै आयोजना निलगिरि हाइड्रोपावरले सञ्चालन गर्ने अनुमति पाएको छ । त्यस्तै, पाँच मेगावाटको रेलेखोला जलविद्युत् आयोजनाले समेत सर्वे, पानी जाँचलगायतका काम गरिरहेको छ ।
तीजमा कसरी हुँदैछ उपत्यकाको ट्राफिक व्यवस्थापन ?
काठमाडौं । नेपाली महिलाहरुको चाड हरितालिका तीजमा हुने ट्राफिक जामको समस्या समाधान गर्न ट्राफिक प्रहरीले व्यवस्थापन योजना बनाएको छ । ट्राफिक प्रहरीले बिहिबारका लागि तिनकुनेबाट गौशाला हुँदै चक्रपथ परिक्रमा गर्ने सवारी साधनलाई बानेश्वर हुँदै माइतीघर तर्फ लैजाने भएको छ । त्यस्तै, गोपीकृष्णबाट चावहिल हुँदै चक्रपथ आउने सवारी साधनलाई पनि सुकेधाराबाटै फकाईनेछ ।
आरएमडिसीको ८७ हजार कित्ता सेयर लिलामीमा
काठमाडौं । रुरल माइक्रो फाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेड(आरएमडिसी)को ८७ हजार कित्ता संस्थापक सेयर लिलामी हुने भएको छ । नेपाल ग्रामिण विकास बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडिसीको ८७ हजार ५ सय ६४ दशमलब ७४ कित्ता संस्थापक सेयर मूल्य बढाबढमा लिलामी गर्न लागेको हो । आरएमडिसीको सो सेयर खरिदका लागि भदौ १५ गतेदेखि २३ गतेसम्म प्रति कित्ता न्युनतम ४०१ रुपैंयाँ भन्दा बढि कबोल गरेर आवेदन दिन सकिनेछ । न्युनतम १०० कित्ता सेयर खरिदका लागि आवेदन दिन सकिनेछ । आरएमडिसीको सेयर खरिदका लागि एनएमबी क्यापिटललाई बिक्रि प्रबन्धक तोकिएको छ ।
माछापुच्छ्रे बैंकको हकप्रद सेयर भर्ने आज अन्तिम दिन
काठमाडौं । माछापुच्छ्रे बैंकको हकप्रद सेयरको निष्काशन आजबाट बन्द हुँदैछ । बैंकले जेठ १६ गतेसम्म सेयर खरिद गरेका लगानी कर्ताका लागि १० कित्ता बराबर १ दशमलब २ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको थियो । माछापुच्छ्रे बैंकले साउन ५ गतेदेखि एनएमबी क्यापिटललाई बिक्रि प्रबन्धक तोकेर हकप्रद सेयर खुल्ला गरेको थियो । आज बैंकिङ समय भित्रै हकप्रद सेयरका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ ।
महासंघले सुरु गर्यो राहत वितरण, रौतहट, सप्तरी र धनुषा जिल्लामा पठायो राहत
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बाढी प्रभावित जिल्लाहरुमा राहत सामग्री पठाउन थालेको छ । महासंघले खाद्यान्न, त्रिपाल, औषधि,पानी लगायतका राहत सामग्री रौतहटको गौर, सुनसरीको इनरुवा, धनुषाको जनकपुरमा पठाएको हो । महासंघले पठाएका ती राहत सामग्रीहरू नेपाल सरकारको स्थानीय दैवि प्रकोप उद्धार समितिको समन्वयमा महासंघको स्थानीय उद्योग वाणिज्य संघहरूले प्रभावित जनताहरूलाई वितरण गर्ने कार्यक्रम छ । ३ वटा ट्रक मार्फत पठाइएका राहत सामग्रीहरूमा प्रति ट्रक १ सय २० वटा बक्स रहेको छ भने प्रत्येक बक्समा चामल २५ केजी, दाल ५ केजी, खानेतेल १ लिटर, गरम मसला १ पाकेट, नुन १ किलो, वाईवाई ३० प्याकेट, नेविको विस्कुट २० प्याकेट, सोयाविन १ किलो, डिटोल सावुन १ पिस, लुगा धुने सावुन १ पिस, पियूस पानी शुद्धिकरण १ पिस, चिनी १ केजी, जीवनजल ५ पाकेट, चिउरा ५ केजी गरी प्रतिपरिवारलाई एक महिनाका लागि खाद्यान्न राखिएको छ । त्यसैगरी महासंघले रौतहट, सुनसरी र धनुषा जिल्लामा औषधि र एम्बुलेन्स सहितको डाक्टरहरूको टीम समेत पठाइसकेको छ । त्यसैगरी त्रिपाल, लत्ताकपडा समेत ती जिल्लाहरूमा यस अघिनै पठाई सकिएको छ । महासंघ र ब्रोडकाष्टिङ एसोसिएसन नेपालको संयुक्त पहलमा बाढी प्रभावित जिल्लाहरूमा जनचेतनामुलक रेडियो संदेश प्रचार प्रसार गरिनुका साथै सामाजिक संजाल, इमेल, फेसवुट, ट्वीटर, गो फण्ड मार्फत अन्तराष्ट्रिय सहयोग परिचालनमा समेत कार्य भैरहेको छ । प्रभावित जिल्लामा महासंघका सदस्य उद्योग वाणिज्य संघहरूले अग्रस्थामा रहेर सहयोग गरीरहेका छन् । महासंघले राहत वितरण कार्यक्रमलाई नियमितरुपमा अझ प्रभावकारी ढंगबाट अगाडी बढाउने योजना समेत बनाएको छ । बाढी प्रभावितहरुको सहयोगार्थ प्रभावकारी ढंगले काम गर्न महासंघले महासंघको सामाजिक सेवा फोरमका सभापति जय प्रसाद सिवाकोटीको संयोजकत्वमा १७ सदस्यीय बाढी पहिरो व्यवस्थापन कार्यदल २०७४ गठन गरी कार्य गरीरहेको छ ।
प्रधानमन्त्री देउवा आज नयाँदिल्ली जाँदै, यस्ता छन् नेपालले उठाउने एजेन्डा
काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिने राजकीय भ्रमणमा आज बिहान १० बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्लीतर्फ प्रस्थान गर्दैछन् । भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा आरजू राणा देउवाका साथ ५० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा आज भारत भ्रमणमा जान लागेका हुन् । भारतको नयाँदिल्लीमा बिहीबार द्विदेशीय उच्चस्तरीय वार्तासहित भेटघाट र अन्य कार्यक्रममा प्रधानमन्त्री देउवा व्यस्त हुनेछन् । भारत भ्रमणको मुख्य काम पनि सोही दिन नै सकिने छ । भ्रमणमा नयाँ भन्दा पनि पुराना सम्झौता कार्यन्वयनमा नेपालले जोड दिने छ । दुई मुलुकबीच आर्थिक एवम अन्य क्षेत्रमा धेरै सम्झौता भएपनि कार्यन्वयन हुन सकेका छैनन् । सो अवसरमा ४ विभिन्न क्षेत्रमा ७ समझदारी गर्ने तयारी भएको छ । भूकम्पपछिको पुननिर्माणका लागि सम्झौता हुने बताइएको छ । यसैगरी मेचीमा पुल बनाउने, गुणस्तरमा मान्यता र लागुऔषधी ओसारपसार नियन्त्रयण गर्ने विषयमा समझदारी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । पुननिर्माणमा भारतले दिने प्रतिवद्धता जनाएको २५ अर्ब अनुदान सहयोग परिचालन गर्ने विषयमा समझदारी हुने बुझिएको छ । नेपालमा गुणस्तर चिन्ह पाएका उत्पादनले सहज रुपमा भारतमा बजार पाउनका लागि समझदारी हुने बताइएको छ । दुई देशबीच निजगढ विमानस्थल, पुर्वपश्चिम रेल परियोजना र हुलाकी सडक निर्माणका विषयमा पनि थप छलफल हुने कार्यक्रम रहेका छन् । ]लामो समयदेखि चर्चामा रहेको तर सुस्त गतिमा अघि बढेको ५ हजार मेगावाटको पञ्चेश्वर बहुउद्धेशिय परियोजना अघि बढाउने विषयमा छलफल हुने भएको छ । परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भएपछि यसमा सहमति जुट्न सकेको छैन् । प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा यस बिषयमा सहमति जुट्ने अपेक्षा गरिएको छ । यस्तै भारतले सीमावर्ति क्षेत्रमा बनाएको बाँधले नेपालको तराई क्षेत्र डुवानमा परेपछि भएको ठुलो धनजनको क्षति र यसको दीर्धकालिन समधानका लागि छलफल हुने कार्यक्रम छ । कोशी गण्डकी र टनकपुरमा पानी प्रावह नियन्त्रण, कोशी बाढीबाट पीडितलाई राहद दिलाउने विषयमा छलफल हुनेछ । बिहीबार साँझ नै प्रधानमन्त्रीले भारतका उद्योगी–व्यवसायीको साझा संस्था एशोशिएटेड चेम्बर्स अफ कमर्श एण्ड इण्डस्ट्री अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने छन् । बिहीबार बिहान राष्ट्रपति भवनमा प्रधानमन्त्री देवालाई समकक्षी प्रधानमन्त्री मोदीले औपचारिक समारोहबीच स्वागत गर्ने कार्याक्रम तय भएको छ । बिहीबार प्रधानमन्त्री देउवासँग भारतका विदेशमन्त्री सुस्मा स्वराजले शिष्टाचार भेट हुने छ । त्यसपछि हैदरवाद हाउसमा दुवै देशका प्रधानमन्त्रीबीच भेटवार्ता हुनेछ । वार्तापछि प्रधानमन्त्रीद्वयको उपस्थितिमा सम्बन्धित अधिकारीले द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ । सो अवसमा नेपाल–भारत अन्र्तगतको कटैया–कुसाह १३२ केभी प्रसारणलाइनको दूरनियन्त्रित यन्त्रबाट प्रधानमन्त्रीले शुभारम्भ गर्ने कार्यक्रम छ । यो लाइनबाट थप ५० मेगावाट बिजुली आयात हुने छ । भ्रमणका क्रममा विद्युत व्यापारको विषयमा पनि छलफ हुने छ । प्रधानमन्त्री मोदीले आफ्नो सम्मानमा हैदरावाद हाउसमा आयोजना गर्नुहुने दिवाभोजमा प्रधानमन्त्री देउवा सरिह हुनेछन् । सोही दिन अपराह्न राष्ट्रपति भवनमा भारतका राष्ट्रपति रामनाथ कोबिन्द र उपराष्ट्रपति बेंकैया नैडूसँग प्रधानमन्त्री देउवाले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री देउवासंग भारतीय गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्ली, भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष तथा सांसद सोनिया गान्धी र पूर्वप्रधानमन्त्री मनमोहन सिंहले छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । सोही दिन साँझ इण्डिया फाउण्डेशनले नेपाल–भारत सम्बन्धबारे आयोजना गर्ने अन्तक्र्रियामा सहभागी भएर प्रधानमन्त्री देउवा आफ्नो सम्मानमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले आयोजना गर्ने रात्रिभोजमा सरिक हुनुहुनेछ । शुक्रबार अपराह्न प्रधानमन्त्री विशेष विमानबाट हैदरावादतर्फ प्रस्थान गर्नेछन् । त्यहाँ उहाँले तेलांगना र आन्ध्रप्रदेशका राज्यपाल इएसएल नरसिंहनसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सोही दिन अपराह्न नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रधानमन्त्री साँझ स्वदेश फर्कने कार्यक्रम छ । बाँधको विषयमा कुरा उठाउनुस : ओली प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले सीमामा एकतर्फी रुपमा बाँध र तटवन्ध निर्माण गरेका कारण नेपाली भूभाग डुवानमा परेको बताउदै यसको दीर्धकालिन समस्या समधानका लागि भारतीय पक्षसंग कुरा गर्न सुझाएका छन् । उनले तटवन्ध संरचना भत्काउन माग गरेका छन् । प्रधानमन्त्री देउवालाई सुझाप पेश गर्दे उनले भारत र चीनबीचको विवादमा तटस्थ रहन सुझाएका छन् । परराष्टविद्ले पनि पुराना सन्धी र समझौता कार्यन्वयनमा जोड दिएका छन् । रासस
पत्रकार महासंघमा विजयीको पूर्ण विवरण
काठमाडौ। नेपाल पत्रकार महासंघको २५औँ महाधिवेशनबाट अध्यक्षमा गोविन्द आचार्यसहित ४७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । आचार्यले ७३२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गर्नुभयो । आचार्य महासंघका पूर्वउपाध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार हुनुहुन्थ्यो । विजयी भएपछि उहाँले महासंघका प्रतिनिधिले दिएको अभिमतलाई सम्मान गर्दै महासंघको साझा छवि कायम राख्न सबै पक्षसँग मिलेर काम गर्ने बताउनुभयो । महाधिवेशन यही भदौ ४ र ५ मा नेपाल प्रज्ञा–प्रतिष्ठानमा भएको थियो । पदाधिकारीहरूमा पनि आचार्य नेतृत्वकै प्रेस सेन्टर र नेपाल प्रेस युनियनका संयुक्त समूह विजयी भएको छ भने केही सदस्यहरूमा प्रेस चौतारी नेपालको समूह विजयी भएको छ । कूल एक हजार ५०८ मतदाता रहेको निर्वाचनमा एक हजार ४४९ मत खसेको थियो । निर्वाचित पदाधिकारीहरूमा खुला उपाध्यक्षतर्फ विपुल पोख्रेल, समावेशी उपाध्यक्ष दिलीप थापामगर, महासचिव रमेश विष्ट, खुला सचिव रामप्रसाद दाहाल, महिला सचिव लक्ष्मी पुन, आदिवासी जनजाति सचिव उदय जिएम, मधेशी सचिव शीतलप्रसाद महतो, दलित सचिव रेमबहादुर विश्वकर्मा, एशोसिएट सचिव प्रकाश थापा र कोषाध्यक्ष राजेश मिश्र हुनुहुन्छ । यस्तै, लेखा समितिको संयोजकमा रोशन पुरी विजयी हुनुभएको छ । भूगोलतर्फ केन्द्रीय सदस्यमा प्रदेश नं १ बाट सटेन्द्र जबेगु र उद्धव तिमिल्सिना प्रदेश नं २ बाट देवराम यादव र शैलेन्द्र झा, प्रदेश नं ३ बाट द्वारिका काफ्ले, कृष्ण गिरी, प्रदेश नं ४ बाट रामकृष्ण ज्ञवाली र नवीन कुइँकेल, प्रदेश नं ५ बाट बसन्त गिरी र पुरुषोत्तम सुवेदी, प्रदेश नं ६ बाट कलेन्द्र सेजवाल, पूर्णप्रसाद चौलागाईं, प्रदेश नं ७ बाट मीन बम तथा बराबर मत ल्याई आधा÷आधा कार्यकालका लागि उत्तर विष्ट र श्याम भट्ट विजयी हुनुभएको छ । यस्तै काठमाडौँ उपत्यकाको केन्द्रीय सदस्यमा गोविन्द चौलागाई र लेखनाथ न्यौपाने, प्रतिष्ठानमा टीकाराम प्रधान र यम बिरही विजयी हुनुभएको छ । खुल्ला केन्द्रीय सदस्यमा जन्मदेव जैसी, टेकराज शाही नकुल अर्याल, लक्ष्मण कार्की, हरिहर सिंह राठौर, महिलामा जानुका बराल, सिर्जना अर्याल र श्वेता सिन्हा, दलितमा गोपाल बराइली, मधु शाही, आदिवासी÷जनजातिमा टेकराज थामी र राजेश चाम्लिङ राई, मधेसीमा अवधेशकुमार झा र सुरेशकुमार यादव, अपांगतामा माधव चम्लागाईं, अल्पसंख्यकमा छेटु शेर्पा विजयी हुनुभएको घोषणा निर्वाचन समितिका संयोजक चिरञ्जिवी खनालले गर्नुभयो । लेखा समिति सदस्यमा भूपेन्द्र आचार्य र मीरा राजभण्डारी निर्वाचित हुनुभयो । महासंघका अध्यक्ष डा महेन्द्र विष्टले सम्भवतः यही शुक्रबार नयाँ नेतृत्वलाई कार्यभार हस्तान्तरण गरिने बताउनुभयो ।