विकासन्युज

ज्योति विकास बैंकले १ दिनमै सेयर कर्जा दिने

काठमाडौं । एक कदम अघि बढ्दै ज्योति विकास बैंकले १ दिनमै सेयर कर्जा दिने भएको छ । अन्य बैक तथा वित्तीय संस्थाले प्रक्रिया सुरु गरेको २ दिनमा सेयर कर्जा दिने योजना सार्वजनिक गरिरहेका बेला ज्योतिले १ दिनमा सेयर कर्जा दिने योजना सार्वजनिक गरेको हो । ज्योतिले आवश्यक कागजात बुझाएको दिनमै सेयर कर्जा दिने गरी ज्योति सेयर कर्जा लगानी योजना ल्याएको छ । उसले सेयर कर्जाको ब्याज भने खुलाएको छैन् । हालसम्म सेयर कर्जा योजना सार्वजनिक गर्ने मध्ये कैलाश विकास बैंकले १२ प्रतिशत सेयर कर्जा योजना सार्वजनिक गरिसकेको छ । नेपाल राष्ट्र बैंकले नयाँ निर्देशन जारी गरेपछि बैंकहरु धमाधम सेयरमा लगानी गर्न थालेका छन् । बैंकहरुले सेयर कर्जा लिन बोलाए पनि बजारमा सुधार आउन सकेको छैन् । बिहीबार बजार झण्डै १२ अंकले घटेको छ । हालसम्म आधा दर्जन बैंक तथा वित्तीय संस्थाले सेयर कर्जा योजना अघि सारेका छन् ।  

क्लासिटेकले ल्यायो १०० एमबिपिएस सेवा, आकर्षक अफर सहित

काठमाडौं । क्लासिक टेक प्रालिले नेपालमै पहिलो पटक घरायसी प्रयोजनको लागि १०० एम बि पि एस सेवा बजारमा ल्याएको छ । फाईबर टु द होम ईन्टरनेट सेवाको माध्यमबाट क्लासिक टेकले ग्राहकवर्गलाई सुपरफास्ट ईन्टरनेट सेवा उपलब्ध गराउनेछ । सुपरफास्ट ईन्टरनेटलाई सुपथ मुल्यमा उपलब्ध गराउने उद्दश्यका साथ क्लासिक टेकले चाडवाड अफर बजार ल्याएको छ ।वार्षिकग्राहकहरुलाई ६ एम बि पि एस ९१६ रुपैयाँ प्रति महिना, १५एम बि पि एस १०४२ रुपैयाँ प्रति महिना, ३०एम बि पि एस १२०८ रुपैयाँ प्रति महिना, ६०एम बि पि एस १५२५ रुपैयाँ प्रति महिना, र १०० एम बि पि एस अनलिमिटेड २९१६ रुपैयाँ प्रति महिनामाको दरमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । यो अफर नेपालभरका विभिन्न १६ वटै शाखाहरुमा लागुहुनेछ । क्लासिक टेकले डिस होमको खरिदमा पनि भारी छुटको अफर ल्याएको छ । यो अफरक्लासिक टेकको ग्राहकलाई मात्र उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । यसका साथै कम्पनिले चाडवाड मनाउने लक्ष्य लिएर ग्राहकवर्गको घर दैलोमा बिभिन्न कार्यक्रमहरु लिएर जाने योजना बनाएको छ । हालसालै इन्द्रजात्राको अवसर पारी काठमाण्डौ, भक्तपुर, ललितपुर र बनेपामा लाखेनाच आयोजना गरेको थियो ।

हिमालयन बैंकले पायो टीएफपी अवार्ड २०१७

  काठमाडौं । हिमालयन बैंकले टीएफपी अवार्ड २०१७ लिडिङ पाटर्नर बैंक इन नेपालबाट पुरस्कृत भएको छ । एसियाली विकास बैंक (एडीबी) ले एसिया प्रशान्त क्षेत्रमा व्यापार वित्तलाई प्रवद्र्धन गर्न खेलेको भुमिकाको कदर गर्दे सो पुरस्कार प्रदान गरेको हो । गत मंगलबार सिंङापुरमा भएको व्यापार वित्त कार्यक्रममा एडीबीले वरिष्ठ व्यवस्थापक नवीनकुमार पौडेल र सतिशराज जोशीलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ । बैंकले प्राप्त गरेको यो दोस्रो पुरस्कार हो ।

मेयरका सय दिन: दोहोरियो मोनोरेल र सिटी केबलकारको प्रतिबद्धता

काठमाडौं । विद्यासुन्दर शाक्य नेतृत्वको काठमाडौं महानगरपालिकाको बीहिवार सय दिन पुरा भएको छ । नतिजा देखिने गरी केही काम हुन नसकेको व्यापक आलोचनाका बीच मेयर शाक्यले सय दिनका उपलब्धीहरु सार्वजनिक गरेका छन् । हावामा उडाइएको मनोरेल, मेट्रोरेल र सिटी केबलकार सञ्चालनमा ल्याउने कुरा उपलब्धीमा जोड्दै उनले फेरी दोहोर्‍याएका छन् । मोनोरेल, मेट्रोरेल र सिटी केबलकार ल्याउने प्रतिबद्धता दोहोर्‍याउदै उनले ती आउनु अगाडी सार्वजनिक यातायातमा सुधार ल्याउन साझा यातायात र महानगर यातायातमा बस थपेको बताएका छन् । चुनाव प्रचारका क्रममा शाक्यले निर्वाचित भएको दिनदेखि सय दिनसम्म जनताको घरदैलोमा गएर जनताका १ सय १ काम गर्ने प्रतिबद्धता गरेका थिए । उनले तिनै प्रतिबद्धताहरुलाई समेटेर प्रगती तयार पारेका छन् । १) महानगरपालिका सफा गर्ने अभियान अनुरुप ‘क्लिन द सिटी’ कार्यक्रम अन्तर्गत १०९५ मेट्रिक टन फोहोर संकलन गरी अन्तिम व्यवस्थापन गरिएको छ । २) ‘ग्रिन द सिटी’ अन्तर्गत १८०३ वटा वृक्षरोपण गरिएको छ । ३) उज्यालो अभियान अन्तर्गत ३२ वटा वडामा १७७६ थान सोलार बत्ती जडान गरी करिब ६९३ किलोवाट विद्युत किफायत भएको । ४) ८८ वर्षिया चार सय ८९ जेष्ठ नागरिकहरुलाई १२ हजार महानगर विशेष भत्ता र निशु:ल्क स्वास्थ्य परीक्षण गरियो। ५) पूर्ण अपाङ्गता भएका व्यक्तिहरुलाई वार्षिक तीन हजार रुपैयाँ उपलब्ध गराएको । भौतिक संरचनाहरु अपाङ्गमैत्री बनाउन ३, ७ र १५ वडामा र्‍याम्प निर्माण गरिएको । ६) स्मार्ट सिटी अवधारणा अनुसार धर्मपथ र टेकुमा डिजिटल कार पार्किङ र भर्टिकल कार पार्किङ निर्माण प्रकृया अघि बढाइएको । ७) बालाजु, रत्नपार्क र बसन्तपुरलाई फ्रि वाइफाइ जोन बनाएको । ८) दैनिक फोहोरबाट तीन मेट्रिक टन फोहोरबाट १४ किलोवाट बिजुली उत्पादन सुरु गरिएको । ९) साझा यातायातको संख्या वृद्धि गरी महानगर भित्र सार्वजनिक यातायात सहज बनाउने कामको थालनी गरिएको । पाँच करोड लगानीबाट थाप २० वटा ठुला बस थपिदैँ । १०) भ्रष्टाचारमुक्त र पारदर्शी बनाउन वडा कार्यालयहरुमा हल्प डेक्स स्थापना र सिसिटिभी जडान गरिएको । ११) भवन निर्माण प्रणाली सुधार गर्न इबीपीएस विथ डिजिटल सिग्नेचर लागू गर्ने अन्तिम चरण १२) बाढी, पहिरो र डुवानप्रभावित व्यक्तिहरुमा ३९ लाख रुपैयाँ सहयोग । सामाखुशीको नालामा परी घाइते भएकी सत्या सापकोटालाई एक लाख रुपैयाँको बीमा र तारकेश्वरमा बाढीमा परी दिवंगत विनिता फूँयालको परिवारजनलाई २५ हजार सहयोग गरिएको । १३)२९८ जनालाई सीपमूलक तालिम र सुकुम्बासी बस्तिमा ९० दिनको साक्षरता कक्षा सञ्चालन गरिएको । १४) बागदरबार भवन पूर्ण क्षतिग्रस्त भएकाले पुन निर्माण गर्ने निर्णय गरी सूचना प्रकाशित गरेको । १५) महानगरभित्र ८४ स्थानमा ढल निर्माण, १५०७ स्थानमा मर्मत । १६) ६ वटा स्थानमा नयाँ उद्यान निर्माण ।

जनता बैंकबाट गुरुप्रसाद न्यौपानेको सेयर जफत हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले जनता बैंकमा रहेको गुरुप्रसाद न्यौपानेको सेयर जफत गर्न निर्देशन दिएको छ । न्यौपानेले आफु बैंकको सञ्चालक रहेका बेला श्रीमतीका नाममा सेयर बजारबाट सेयर खरिद गरेको फेला परेपछि न्यौपानेको सेयर जफत गर्न जनता बैंकलाई निर्देशन दिएको हो । न्यौपानेकी श्रीमति सुमित्रादेवी न्यौपानको स्वामित्वमा रहेको सर्व साधारण समुहको ५२ हजार ४ सय ७० कित्ता सेयर जफत गर्न राष्ट्र बैंकले भदौ ११ गते जनता बैंकलाई पत्र लेखेको हो । सो सेयर वापत आउने बोनस तथा हकप्रद सेयर समेत जफल गर्न केन्द्रिय बैंकले भनेको छ । न्यौपानेकी श्रीमतिका नाममा १२ प्रतिशत बोनस सेयर र ५० प्रतिशत हकप्रद वापत कुल ८५ हजार कित्ता सेय रहेको छ । जनता बैंकको सेयरको बजार मूल्यका आधारमा न्यौपाने परिवारको २ करोड १२ लाख भन्दा बढि मूल्यको साधारण सेयर जफत हुन लागेको हो । यसरी जफत भएको सेयर स्वतः जनता बैंकको सम्पतिमा गणना हुनेछ ।  

दशै तिहारको अवसरमा टिसीएलले ‘ल्यायो हातमा हात्ती पकेटको साथी’ अफर

काठमाडौं । टिभी ब्राण्ड टीसीएलले दशैं तिहारलाई लक्षित गरी ‘हातमा हात्ती पकेटको साथी’ अफर ल्याएको छ । यो योजनामा ग्राहकले प्रत्येक टीसीएलका टिभी, वासिन मेसिन , रेफ्रिजेरेटरको खरीदमा २५ हजार रुपैयाँसम्मको नगद छुट तथा एयर कन्डिस्नरको खरीदमा फ्रि इन्सटलेसन पाउने कम्पनीले जनाएको छ । ग्राहकले खरीद गरेको सामाग्री टिसीएलको अफिसियल फेसबुक पेजमा वारेन्टि कार्ड सहित सेल्फि अपलोड गरी धेरै भन्दा धेरै लाइक पाएर उत्कृष्ट १० जनाले २५ हजार रुपैयाँ सम्म पाउने तथा आकर्षक उपहारहरु जित्ने मौका पाउने कम्पनीले जानकारी दिएको छ । नेपालका लागि टिसीएल ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत इओएल प्रालि रहेको छ ।

नेशनल लाईफद्धारा बाढीपीडितलाई राहत वितरण

काठमाडौं । नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले तराई बाढीपिडितहरुलाई राहत वितरण गरेको छ । कम्पनीको शाखा कार्यालय राजविराज मार्फत उक्त राहत वितरण गरिएको थियो । तिलाठी कोइलाडी गाँउपालिका वडा नं ५ अन्तर्गत कोइलाडी बर्साइन गाविसको वडा नं. १, ३ र ४ मा ४ सय ५० जना बाढीपिडित परिवारलाई चामल, दाल, आलु, नुन, गेडागुडि, चिउरा आदि वितरण गरेको छ । २०७४ भाद्र १७ गतेको दिन राजविराज शाखाका शाखा प्रमुख राजेन्द्र प्रसाद यादवको संयोजकत्व रहेको उक्त राहत वितरण कार्यक्रममा कम्पनीका शाखा कार्यालयका कर्मचारीहरु लगायत अन्य शाखाका प्रमुखहरु तथा अभिकर्ताहरुको टोली एवंम प्रहरी प्रशासनका कर्मचारीहरु राहत सामाग्री पिडितहरुको घर आगनमै पुगी वितरण गरेको जानकारी जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । कम्पनीले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत उक्त राहत वितरण गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नारच्याङमा जलविद्युत् आयोजनाका काम धमाधम

म्याग्दी । जलविद्युत्मा प्रचुर सम्भावना बोकेको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा भित्रिएका जलविद्युत् आयोजनाले निर्माण कार्यलाई तीव्रता दिएका छन् । नारच्याङमा अहिले ५ वटा जलविद्युत् आयोजनाले निर्माण अगाडि बढाएका छन् । जलविद्युत् आयोजनाले पूर्वाधार निर्माणलाई तीव्रता दिएसँगै नारच्याङ छिट्टै जलविद्युत् गाउँका रुपमा विकास हुने भएको छ । अन्नपूर्ण हिमालको फेदीबाट बग्ने घलेम्दीखोलाबाट विद्युत् उत्पादन गर्न लागेको घलेम्दीखोला जलविद्युत् आयोजनाले आगामी चैतभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्यसहित पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । घलेम्दी हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको पाँच मेगावाट क्षमताको सो आयोजनाको करिब एक हजार ७ सय मिटर लामो सुरुङ निर्माण सकिएको छ । सुरुङमार्ग निर्माणले पूर्णता पाएसँगै बाँधतर्फ सामान ढुवानी गर्न सकिने भएकाले निर्माण सहज भएको घलेम्दी हाइड्रो लिमिटेडका अध्यक्ष किशोर सुवेदीले बताए । सो आयोजना जिल्लाकै लगानीकर्ता र प्रवद्र्धकको प्रयासमा निर्माण हुन लागेको पहिलो आयोजना हो । विसं २०७१ देखि शुरु भएको आयोजनाको पूर्वाधार निर्माणको काम हालसम्म ७५ प्रतिशत पूरा भएको छ । आयोजनाबाट २०७४ चैतभित्र उत्पादन शुरु गर्ने लक्ष्य छ । आयोजनामा लुम्बिनी र टुरिजम् डेभलपमेन्ट बैंकले ५५ करोड रुपैयाँ लगानी गरेका छन् । सो आयोजनाबाट उत्पादन हुने विद्युत्लाई नारच्याङकै घरापस्थित तातोपानी साना जलविद्युत् आयोजनाको सबस्टेसनमार्फत केन्द्रीय प्रसारण लाइनमा जडान गर्ने योजना छ । नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाले समेत पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । रोवष्ट इनर्जी प्रालिले निर्माण गर्न लागेको सो आयोजनाको काम विगत करिब १ वर्षदेखि दु्रत गतिमा बढेको छ । निलगिरि र घलेम्दीखोलाको दोभानमा बाँध रहने यस आयोजनाको २ हजार ३ सय मिटर सुरुङमार्गबाट ल्याइने पानीलाई २ सय ८७ मिटर हेडबाट नारच्याङको बेँसीगाउँस्थित कालीगण्डकी नदीको किनारमा रहने विद्युत् गृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ । पूर्वाधार निर्माणमा परिचालन भएको हाई हिमाल हाइड्रो कन्स्ट्रक्सनले अहिलेसम्म ९ सय ६० मिटरभन्दा बढी सुरुङमार्ग निर्माण गरिसकेको परामर्शदाता हाइड्रो कन्सल्ट इन्जिनियरिङका आवासिय इन्जिनियर दिवाकर खड्काले बताए । सन् २०१६ को जुनदेखि पूर्वाधार निर्माण शुरु गरेको उक्त आयोजनाबाट सन् २०१९ फेब्रुअरीसम्ममा विद्युत् उत्पादन शुरु गर्ने लक्ष्यअनुसार काम भइरहेको छ । नारच्याङमै निलगिरि खोलाबाट जलविद्युत् उत्पादनका लागि २ वटा आयोजनाको काम अगाडि बढेको छ । ३८ मेगावाटको निलगिरि र ६२ मेगावाट क्षमताको निलगिरि क्यास्केटका प्रवद्र्धकले निलगिरि खोलाको किनार हुँदै सडक निर्माण भइरहेको स्थानीय जनजागरण युवा क्लबका तमबहादुर चोचाङ्गीले बताए । नारच्याङमा विसं २०४३ मा निर्माण शुरु भएर २०४४ देखि जिल्लामै पहिलोपटक विद्युत् वितरण थालेको दुई मेगावाट क्षमताको तातोपानी जलविद्युत् आयोजनाले जलविद्युत्को सम्भावनाको ढोका खोलेको थियो । अन्नपूर्ण साउथबाट बग्ने घलेम्दी, निलगिरि हिमालबाट बग्ने निलगिरि र खयरवराह तालबाट बग्ने रेले खोला तथा कालीगण्डकी नदीबाट विद्युत् उत्पादनका लागि अहिलेसम्म नारच्याङमा मात्रै १० वटा जलविद्युत् आयोजना दर्ता भइसकेका छन् । दर्ता भएकामध्ये १० मेगावाटको रेलेखोला जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकेको छ भने १० मेगावाट क्षमताको माथिल्लो घलेम्दी, पाँच मेगावाटको निलगिरि माथिल्लो र ५० मेगावाटको मध्य कालीगण्डकी जलविद्युत् आयोजना अहिले दर्ता भएर इआइएको चरणमा छन् । लाइसेन्स खारेजीमा परेको १६५ मेगावाट क्षमताको कालीगण्डकी गर्ज डिटेल सर्वेको काम सकेको र करिब ३ सय रोपनी जग्गाको मुआब्जा वितरण गरिसकेकाले उक्त आयोजना लगानीकर्ताको खोजीमा छ । जलविद्युत् आयोजनासँगै गाउँमा भौतिक पूर्वाधार विकासले गति लिएको छ । स्थानीयस्तरमा उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि म्याग्दीको दाना र पर्वतको खुर्कोटमा २ सय २० केभी क्षमताको सबस्टेसन तथा ३८ किमी दूरीको दाना–खुर्कोट प्रसारण लाइन निर्माण शुरु गरेपछि जलविद्युत् आयोजनाले पूर्वाधार निर्माणलाई तीव्रता दिएका हुन् । आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्ने प्रसारण लाइन र सबस्टेसनको अभावमा यसअघि अनुमति लिएर पनि लामो समयदेखि दर्तामै थन्किनु परेको थियो । रासस