कतारकाे अल जमान एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटेन्स सेवा शुरु
काठमाडौं । कतारको अल जमान एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटेन्स सेवा शुरु गर्ने सम्झौता भएको छ । सो सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट प्रबन्धनिर्देशक चन्द्र टण्डनले र अल जमान एक्सचेन्जको तर्फबाट चिफ अपरेटिङ अफिसर जुबियार अब्दुल रहिमानले हस्ताक्षर गरेका छन् । सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छट्टै पहिचान बनाउदै बिगत ११ बर्षदेखि रेमिटेन्स सेवा दिदैं आइरहेको छ । यस सम्झौता पश्चात कतारमा हुने नेपालीहरुले कुनै पनि अल जमान एक्सचेन्जको ७ वटा भुक्तानी केन्द्रहरु मार्फत नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरमा रकम पठाउन सक्नेछन् । त्यसरी पठाएको रकम सिटी एक्सप्रेसको ५,००० भुक्तानी केन्द्रहरु मार्फत सहज तरीकाले भुक्तानी लिन सकिने कम्पनीले जनाएको छ ।
खसीबजार मेलामा १६ लाखको खसी बिक्री
नुवाकोट । दशैंलाई लक्षित गरी तुप्चेको सोलबजारमा भएको खसीबजार मेलामा लाखौँको खसीबोका बिक्री भएको छ । विदुरकाे तुप्चेमा आयोजित खसीबजार मेलामा १३५ वटा खसीबोका बिक्री भएको र यसबाट किसानले १६ लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्न सफल भएको आयोजकले जनाएको छ । हाम्रो सहकारी संस्था लिमिटेड, साविम कृषि सहकारी संस्था लिमिटेड र सहायता सामुदायिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले संयुक्तरुपमा सो मेला आयोजना गरेका हुन् । कृषि प्रधान मुलुकमा दशैँका लागि आवश्यक खसीबोकाको विकल्पमा चीनबाट आउने भेडाच्याङ्ग्रा रहेकाले तुप्चेका सहकारीले पछिल्लो पाँच वर्षदेखि यस्तो अभियान सञ्चालन गर्दै आएका छन् । खसीबजार तथा कृषिउपज मेलामा खसीपालक किसान तथा उपभोक्ताको भीड लागेको थियो । खसीबोका बिक्रीको मेलासँगै किसानले उत्पादन गरेका विभिन्न कृषिजन्य सामग्रीसमेत बिक्री भएको आयोजक संस्था किसान र उपभोक्तालाई लक्षित गरी गाउँमै पालेको खसी समान मूल्यमा खरिद गरेर वडादशैँलाई सर्वसुलभ र भब्य बनाउन उक्त मेलाले सघाएको आयोजकमध्येका साविम कृषि सहकारी संस्थाका अध्यक्ष रामप्रसाद नेपालले जानकारी दिए । सहकारी संस्थाले अन्य सामग्री बिक्रीका लागि राखिने निःशुल्क कक्ष उपलब्ध गराएको मेलामा खसी बिक्रीका लागि आउने कृषकलाई सम्मानसमेत गरेको थियो । मेलामा २० किलोग्रामसम्मको खसीबोकाको प्रतिकिलोग्राम रु ३८०, २० देखि २४ केजीसम्मको प्रतिकेजी रु ४००, २५ देखि ३० केजीसम्मको प्रतिकेजी रु ४३०, ३० देखि ४० केजीसम्मको प्रतिकेजी रु ४४० र ४१ केजीभन्दा माथिको खसीबोकाको प्रतिकेजी रु ४५० मूल्य निर्धारण गरी बिक्री गरिएको थियो । खसीबजार मेलामा फिकुरीका किसान विष्णु देवकोटाले आफूले खसीबोका मेलामा २० वटा खसी बिक्री गरेको जानकारी दिँदै मेलाका कारण आफूले खसी बिक्रीका लागि अन्यत्र बजार खोज्नु नपरेको बताए । रासस
सानिमा बैंकको वार्षिक साधारणसभा असोज २९ गते, १६ प्रतिशत बोनस सेयर दिने
काठमाडौं । सानिमा बैंकको १३ औ वार्षिक साधारणसभा असोज २९ गते हुने भएको छ । उक्त सभाले सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने सञ्चालक समितिको निर्णयलाई पारित गर्ने भएको छ । बैंकले गत आवमा गरको नाफाबाट सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिन लागेको हो । हाल बैंकको चुक्ता पूँजी ८ अर्ब रुपैयाँ रहेको छ । १६ प्रतिशत बोनस पछि कम्पनीको पूँजी ९ अर्ब २८ करोड रुपैयाँ नाघ्ने बैंकले जनाएको छ ।
साना किसान विकास बैंकले २५ प्रतिशत बोनस सेयर दिने, पूँजी ७० करोड नाघ्ने
काठमाडौं । साना किसान विकास बैंकले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनका लागि १.३१६ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ । उक्त बोनस सेयर दिने निर्णय कम्पनीको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ५७ करोड ८० लाख रुपैयाँ रहेको छ । उक्त पूँजीमा २५ प्रतिशत अर्थात १२ करोड ५७ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको कम्पनीले जनाएको छ । सो मात्राको बोनस सेयर पछि कम्पनीको चुक्ता पूँजी ७० करोड ३८ लाख रुपैयाँ नाघ्ने छ । कम्पनीको सञ्चालक समितिको बैठकलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र सो मात्राको बोनस वितरण गरिने छ ।
१२२ वटा स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक, हालसम्म काँग्रेस अगाडि
काठमाडौं । असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये हालसम्म १२२ स्थानीय तहको मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरणअनुसार, स्थानीय तहको प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेस ३६, नेकपा (एमाले) १६, नेकपा (माओवादी केन्द्र) २०, राष्ट्रिय जनता पार्टी नेपाल २१, संघीय समाजवादी फोरम नेपाल २३, फोरम लोकतान्त्रिक तीन, नेपाली जनता दल दुई र नयाँ शक्ति नेपालका उम्मेदवार एक स्थानमा विजयी भएका छन् । आयोगमा अब १४ स्थानीय तहको निर्वाचन परिणाम आउन बाँकी छ । असोज २ गते १३६ स्थानीय तहका एक हजार २७१ वडाका लागि निर्वाचन भएको थियो । रासस
प्रुडेन्सियल इन्स्योरेन्सले २० प्रतिशत बोनस सेयर दिने
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय असोज ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ४२ करोड ७६ रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पूँजी ५१ करोड ३२ लाख रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ । उक्त सञ्चालक समितिको निर्णयलाई बीमा समितिले स्वीकृति दिए पछि मात्र कम्पनीका सेयरधनीले सो मात्राको बोनस पाउने कम्पनीले जनाएको छ ।
सिद्धार्थ इन्स्योरेन्सले २० प्रतिशत बोनस सेयर दिने, पूँजी ६४ करोड नाघ्ने
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि १.०५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय असोज ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले हाल कायम रहेको कम्पनीको ५३ करोड ४५ लाख १७ हजार रुपैयाँ चुक्ता पूँजीको २० प्रतिशतले हुने आउने १० करोड ६९ लाख ३ हजार रुपैयाँ बोनस सेयर दिने निर्णय गरेको हो । सो मात्राको बोनस पछि कम्पनीको पूँजी ६४ करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ । सञ्चालक समितिको निर्णयलाई बीमा समितिले स्वीकृति दिए पछि मात्र कम्पनीका सेयरधनीले सो मात्राको बोनस पाउने कम्पनीले जनाएको छ । कम्पनीले उक्त निर्णय स्वीकृतिको लागि बीमा समितिमा पेश गराइसकेको जानकारी दिएको छ ।
कैलाश विकास बैंकले १० प्रतिशत बोनस सेयर र ९.५० प्रतिशत नगद लाभांश दिने
काठमाडौं । कैलाश विकास बैंकले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले ९.५० प्रतिशतका दरले नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय असोज ६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले गत वर्षको मुनाफा बाट सेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर दिने निर्णय गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब २९ करोड १४ लाख रुपैयाँ रहेको छ । बैंकको सञ्चालक समितिको निर्णयलाई राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ ।