माओवादीले भन्योः हामी सरकार नछाड्ने भयौ
काठमाडौं । नेकपा माओवादी केन्द्र फेरी सरकार नछाड्ने भएको छ । “निर्वाचन सार्ने कुरा आएकाले सरकार नछाड्ने भइयो” गृहमन्त्री जनार्दश शर्माले पत्रकार सम्मेलनमा भने “निर्वाचन सार्ने प्रपञ्च भएकाले आज छाड्ने भनेकोमा नछाड्ने भइयो ।” निर्वाचन आयोगबाट सूचना आएपछि सरकारबाट हट्ने विज्ञप्तिमा हस्ताक्षर हुँदै गर्दा स्थगित भएको उनले जानकारी दिए । “हामी सरकारमा बस्न लोभी छनौ” उनले भने “केहिबेरमा वास्तविक कुरा थाहा हुन्छ ।” उनले संसद पनि नभएको अवस्थामा सरकारले चुनाव नगराउने आशंका गर्दे तत्काल सरकारबाट नहट्ने निर्णय भएको उनले सुनाए । मनोनयनपत्र दर्ता हुने दिनसम्म बस्ने उनको भनाई छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारबाट नहटे विनाविभागिय बनाउने चेतावनी दिएपछि अध्यक्ष पुष्पकमल दाहाल सरकारबाट हट्ने मनस्थितिमा पुगेका थिए ।
फोहर व्यवस्थापन प्लाण्ट सहित योजना ल्याउने उद्योगले मात्र बैंकबाट कर्जा पाउने, राष्ट्र बैंकले नीतिगत व्यवस्था लागु गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले फोहर व्यवस्थापन प्लाण्ट जडान सहितको योजना ल्याउने उद्योगलाई मात्र कर्जा दिने नीतिगत व्यवस्था गर्न लागेको छ । यो व्यवस्था लागु भएपछि फोहर प्रशोधनको बेग्लै प्लाण्ट जडान गर्न थप लगानी गर्नुपर्ने हुन्छ ।दातृ निकायहरुले यस विषयमा ध्यान दिन सुझाएपछि राष्ट्र बैंकले कार्यन्वयनमा ल्याउन हाल अध्ययन थालेको डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बताए । यस विषयमा अध्ययन गर्न अर्का डेपुटी गभर्नर शिवराज श्रेष्ठ हाल बंगलादेशमा रहेको उनले जानकारी दिए । विश्व बैंक अन्र्तगतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) ले उद्योग व्यवसायलाई स्वच्छ वातावरण कायम राख्नका लागि नीतिगत व्यवस्थाका लागि काम अघि बढाउन सुझाएपछि प्रक्रिया अघि बढाइको उनको भनाई छ । विश्वका धेरै मुलुकमा फोहर व्यवस्थापन उद्योग आफैले गर्ने चलन रहेकाले नेपालमा पनि यसलाई लागु गर्ने तयारी भइरहेको उनले जानकारी दिए । हाल अध्ययनका क्रममा रहेकाले निष्कर्ष आएपछि लागु गर्ने तयारी राष्ट्र बैंकको छ । नेपालमा सञ्चालित अधिकांश उद्योगले वस्तु उत्पादनपछि निष्कासन हुने फोहर सिधै खोला र नदीमा पठाउने गरेका छन् । विकास न्युजसंग कुरा गर्दै उनले भने “अध्ययनको काम सुरु भइसकेकाले राष्ट्र बैंकले यस विषयमा केही गर्ने छ ।” उनले अध्ययनपछि मात्र यस विषयमा निर्णय लिइने बताए । हाल बढी फोहर निष्कासन गर्ने सिमेन्ट, डण्डी, छालाजन्य वस्तु उत्पादन, गलैचा, रंग, सावुन, कपडा, जुट लगायतका उद्योगबाट फोहर बस्तु र पानी निष्कासन हुने गरेको छ । यस्ता फोर प्रशोधन गर्न उद्योगसंग बेग्लै प्लाण्ट नहुँदा सिधै खोला तथा नदीमा मिसिने गर्दा प्रदुषण हुने गरेको छ । यसतर्फ सरकारले ध्यान दिएको छैन । उद्योगले वातावरणीय प्रदुषण बढाएपछि यसलाई नियन्त्रण गर्न नयाँ अवधारणा लागु गर्न लागिएको हो । अध्ययन गरेपछि यस विषयमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि चाडै सर्कुलर ल्याउने जानकारी दिएको छ ।
एउटै गाउँबाट तीन करोडको माला बिक्री
भक्तपुर । तिहार नजिकिएसँगै परम्परागत रुपमा मखमली फूलखेती गर्ने ताथलीको वनमाला समुदायलाई मखमली फूलको माला उन्न भ्याइनभ्याई भएको छ । तिहारको भाइटीकाका लागि मखमली फूलमाला उन्न चाँगुनारायण नगरपालिका- ९ को वनमाला समुदायका केटाकेटी, महिला र पुरुष माला उन्न र बजार पुर्याउन व्यस्त छन् । आयआर्जनको प्रमुख स्रोत फूलखेती बनाउँदै आएको ताथलीको वनमाला समुदायको ४० घरपरिवारलाई फूल टिप्न, माला गाँस्न र बजार लैजान भ्याइनभ्याई भएको स्थानीयवासी विष्णु वनमालाले बताए । तिहारका लागि वनमाला समुदायले एक रोपनीदेखि १० रोपनी जग्गामा मखमली फूलखेती गर्ने गरेका छन् । वैशाख–जेठमा छर्ने मखमली फूल साउनदेखि फूल्न थाल्छ । स्थानीयवासी कर्णबहादुर वनमाला मनग्य आम्दानी हुनथालेपछि वनमाला समुदाय मखमली फूलखेतीतर्फ आकर्षित भएका बताउँछन् । तिहारमा फूल बेचेर प्रत्येक परिवारले एक लाख रुपैयाँदेखि आठ लाखरुपैयाँसम्म कमाउने गरेका छन् । अहिलेसम्ममा करिब ३० हजार फूलको माला उनीसकेको अम्बिका वनमालाले बताए । बिहानको समयमा फूल टिप्ने र दिनभरि फूलको माला गाँस्ने गरेको उनले बताए । अहिले मखमली फूलको माला रु १०० सम्ममा बिक्री हुन्छ । माला लिन गाउँमै व्यापारी आउने गरेका छन् । स्थानीयवासीले जग्गा भाडामा लिएर फूलखेती गर्ने गरेका छन् । कोटेश्वर, पशुपति, गौशाला, बानेश्वर, चाबहिल, स्वयम्भू, असन, इन्द्रचोकदेखि पूर्वमा काभ्रेको विभिन्न ठाउँमा समेत यहाँका फूलको माला बिक्री हुन्छ । जिल्लामा ताथलीलगायत गुण्डु, कटुञ्जे, छालिङ, दधिकोट, सिपाडोल, बालकोटमा व्यावसायिक रुपमा मखमली र सयपत्री फूलखेती गरिँदै आएको छ । एक रोपनी खेतको भाडा रु ६ हजारदेखि रु १० हजार तिर्ने किसानले एक रोपनी जग्गामा फूलबाट कम्तिमा रु ४० हजारसम्म आम्दानी गर्ने गरेका छन् ।
रमेश दुलालद्धारा रत्नपार्कमा काग सम्मेलन
काठमाडौं । मंगलबारबाट यसबर्षको तिहार पर्व शुरु भएसँगै पहिलो दिन कागतिहार मनाइएको छ । यसका साथै काग तिहारको अवसरमा नेपालका मुखबाटै १७० निकाल्न सक्ने रमेश दुलालले काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा काग सम्मेलन गरेका छन् । प्रत्येक बर्ष काग तिहारको दिनमै काग सम्मेलन गर्दै आएको दुलालको यो १४ औं काग सम्मेलन हो । दुलालले यमलोकको खबर यमराज समक्ष खबर पठाउने माध्यमको रुपमा लिइने कागको बारेमा लामो समयसम्म अध्ययन गरेका र साच्चै नै खबर पठाउछ या पठाउदैन भन्ने बारे अध्ययन पश्चात पठाउने बुझेपछि उनले पनि कागलाई साथीको रुपमा लिएर सन्देश पठाउने गरेको बताउँछन् । ‘मैले कागलाई उसकै भाषामा बोलाउछु र सन्देश पनि पठाउने गरेको छु ।, सन्देश पठाउने माध्यमको रुपमा लिइने कागले साच्चै नै सन्देश लिएर जाने गरेको मैले पाएको छु ।’, कागको बारेमा बोल्दै दुलालले भने । दुलालले दुईबर्षअघि मात्रै नेपालमा भारतले लगाएको नाकाबन्दीमा पनि त्यसको बिरुद्ध कागलाई जम्मा गरी भारतीय दुतावास घेराऊ गरेका थिए ।
कात्तिक ५ गते ६ अर्बको विकास ऋणपत्र आउदै, ७ वर्षमा फिर्ता हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्न लागेको छ । सरकारको तर्फबाट राष्ट्र बैंकले ७ वर्ष अवधिको “विकास ऋणपत्र २०८१ क” बोलकबोल प्रक्रियाद्वारा निष्कासन गर्न लागेको हो । विकास ऋणपत्र आउदो कात्तिक ५ गते निष्कासन हुने भएको छ । विकास ऋणपत्र बैक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्ने छन् । ऋणपत्रको साँवा भुक्तानी ०८१ कात्तिक ६ गते र ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्र धितो राखेर कर्जा पनि लिने सुविधा रहेको छ । चालु आर्थिक वर्षमा सरकारले १ खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना अनुसार राष्ट्र बैंकले विकास ऋणपत्र उपकरण ल्याउन लागेको हो । चालु आवमा यो उपकरणमार्फत ७२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी सरकारको छ ।
नेपाल ग्रामीण विकास बैंकको एफपीओ बाँडफाँट, कसले कति कित्ता पाए ?
काठमाडौं । नेपाल ग्रामीण विकास बैंकले भदौ २७ देखि भदौ ३० गतेसम्म निष्काशन गरेको एफपीओको मंगलबार बाँडफाँट भएको छ । कुल दुई अर्ब ७३ करोड २२ हजार ८०० रुपैयाँ बराबरको आवेदन परेको उक्त एफपीओमा ९७ हजार ५०० जना आवेदकले मात्र सेयर पाएका छन् । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कुल २ लाख ५० हजार ५२४ जनाको आवेदन परेको उक्त एफपीओमा गोलाप्रथाबाट जम्मा ९७ हजार ५०० जनाले मात्र १० कित्ता सेयर पाएका छन् । कुल आवेदन परेको मध्ये ३ हजार ७९१ जनाको आवेदन रद्द भएको छ भने बाँकी आवेदकलाई सेयर नपरेको बिक्री प्रवन्धकले जनाएको छ । कम्पनीले ९ लाख ७५ हजार कित्ता एफपीओ जारी गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी ५५ करोड ७५ लाख रुपैयाँ रहेको छ । उक्त एफपीओ निष्काशन पश्चात कम्पनीको पुँजी ६५ करोड ५० लाख रुपैयाँ पुगेको छ । (कसले कति कित्ता पाए ? हेर्नको लागि यसमा क्लिक गर्नुहोस्)
माओवादी केन्द्रले सरकार छाड्याे
काठमाडौं । अन्तत नेकपा (माओवादी) केन्द्रले सरकार छोड्ने भएको छ । माओवादीले सरकारबाट बाहिरएको औपचारिक घोषणाका लागि आज मंगलबार उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले दिउँसो १ बजे मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेका छन् । यस्तै गृहमन्त्री जनार्दन शर्माले पनि दिउसो २ बजे पत्रकार सम्मेलन गरेर जानकारी गराउदैछन् । माओवादीले नेकपा एमालेसंग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीलाई हटाउन राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा ल्याएपछि माओवादीलाई सरकार छाडन् थप दवाव सिर्जन भएको छ । गत शुक्रबार प्रधानमन्त्री देउवाले राप्रपाका अध्यक्ष कमल थापा उपप्रधानमन्त्रीसहित ८ जनालाई मन्त्रिपरिषद्मा थप गरेका थिए । माओवादीले नछाडे उक्त पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बिनाविभागीय बनाउने देउवाको तयारीमा छन् । माओवादी मन्त्री हटेपछि मन्त्रीको संख्या पनि कम हुने छ ।
इक्रा नेपालको वार्षिक साधारणसभा कात्तिक २१ गते, केके छन् विशेष प्रस्ताव ?
काठमाडौं । इक्रा नेपालको पाँचौ वार्षिक साधारणसभा आगामी कात्तिक २१ गते हुने भएको छ । उक्त सभाले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको १५.७९ प्रतिशत नगद लभांश स्वीकृत गर्ने भएको छ । साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने भएको छ ।