विकासन्युज

एनसीसी बैंकको साधारणसभा अर्को वर्ष धकेलियो तर सञ्चालक बन्न दौडधुप जारी, बोनस २१ प्रतिशत

काठमाडौं । एनसीसी बैंकको साधारणसभा अर्को आर्थिक वर्ष धकेलिएको छ । आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को को साधारणसभा यहि असार मसान्तसम्म गर्ने बैंकको प्रयास असफल भएको छ । लेखापरिक्षण प्रतिवेदन राष्ट्र बैंकबाट स्वीकृत गराउन नसकेपछि साधारणसभा असारमा हुने सम्भावना टरेको छ । ‘राष्ट्र बैंकबाट लेखापरिक्षण प्रतिवेदन स्वीकृत भएको छैन । राष्ट्र बैंकबाट स्वीकृत भई आएपछि बोर्डबाट लाभांशको प्रस्तावसहित अन्तिम प्रतिवेदन राष्ट्र बैंकमा पठाउनुपर्छ । साधारणसभाको लागि २१ दिन अघि सूचना दिनुपर्छ । अब असारभित्र साधारणसभा गर्न सम्भव छैन’ बैंक सम्बद्ध स्रोतले भन्यो । एनसीसी बैंकको वार्षिक प्रतिवेदन राष्ट्र बैंकले हेरिरहेको र केही दिनभित्रै अन्तिम निर्णय दिने राष्ट्र बैंकका प्रबक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए । आगामी साउन भित्रमा दुई आर्थिक वर्षको साधारणसभा गर्ने बैंकको तयारी रहेको छ। चालु आर्थिक वर्षको साधारणसभा आगामी पुससम्म गर्ने, विगत दुई आर्थिक वर्षको साधारणसभा भने सकेसम्म चाँडो गर्ने बैंक स्राेतले बतायाे । राष्ट्र बैंकमा पठाएको प्रतिवेदन स्वीकृत भएर आएमा बैंकले सेयरधनीलाई २१ प्रतिशत लाभांश दिन सक्ने सञ्चालक इमानसिंह लामाले बताए । तर राष्ट्र बैंकले प्राेभिजन थपेमा लाभांश दर घट्न सक्छ । हाल बैंकको चुक्ता पुँजी ७ अर्ब १ करोड रुपैयाँ छ । पुँजी ८ अर्ब बनाउन बैंकले करिब १५ प्रतिशत बोनस सेयर दिनुपर्छ । बाँकी नगद लाभांश दिनसक्छ । प्रोक्सी संकलन गर्न दौडधुप आगामी साधारणसभामा बैंकले ६ जनाको सञ्चालक समिति चयन गर्दैछ । एनसीसी बैंकमा राष्ट्र बैंकले टेकओभर गरेपछि र चार वटा विकास बैंक मर्ज भएपछि पहिलो पटक सेयरधनीले सञ्चालक समितिको चयन गर्दैछन् । एनबी समूह र निर्मल प्रधान समूहबीच टकरावले फेरी पनि बैंकको सञ्चालक समितिमा सर्वसहमतिको सम्भावना कम भएको ठूला सेयरधनीहरु बताउँछन् । एनबी समूहले आफ्नो तर्फबाट उम्मेदवार तय गरेको छैन । प्रधान समूहबाट निर्मल प्रधान आफै सञ्चालकको उम्मेदवार बन्ने तयारी छ । यी दुई समूहबीच सञ्चालक मात्र होइन, अध्यक्ष नै आफ्नो पक्षमा पार्ने उदेश्यसहित सेयरधनीसँग लविङ गरिरहेका छन् । उता मर्ज भएका विकास बैंकहरुको तर्फबाट राजाराम खड्का, इमानसिंह लामा, शम्भु अधिकारी, चन्द्र बास्तोलासहितले प्रोक्सी संकलन गरिरहेका छन् । मर्ज भएका चार विकास बैंकले कम्तिमा आफ्नो तर्फबाट एक जना सञ्चालक सुरक्षित गर्न चाहेका छन् । उता एनसीसी बैंकका सेयरधनीहरु आफ्नो पक्षमा कम्तिमा ४ जना सञ्चालक जिताउन कोसिस गरिरहेका छन् । ७ जनाको सञ्चालक समितिमा एक विज्ञ र एक महिला सञ्चालक हुनैपर्छ ।

नगरपालिकाको लापरवाहीका कारण ज्येष्ठ नागरिक सामाजिक सुरक्षाभत्ता पाउनबाट वञ्चित

काठमाडौं । सप्तरी बोदे बर्साइन नगरपालिकाको लापरवाहीका कारण ज्येष्ठ नागरिक तथा एकल महिलाले सामाजिक सुरक्षाभत्ता पाउनबाट वञ्चित भएका छन् । नगरपालिका कार्यालयले समयमै बैंक खाता खोल्न ध्यान नदिँदा नगरपालिकाको १० वटै वडाका करिब एक हजारभन्दा बढी ज्येष्ठ नागरिक तथा एकल महिलाले विगत आठ महिनादेखि सामाजिक सुरक्षाभत्ता पाउनबाट वञ्चित भएका हुन् । गत वर्षको मङ्सिर महिनायता सामाजिक सुरक्षाभत्ता बापत कुनै रकम पाउन नसकेको बोदे बर्साइन नगरपालिका–१ का ज्येष्ठ नागरिक शिवनन्दन यादवले बताए । चालू आर्थिक वर्षको दोस्रो र तेस्रो किस्ता बापतको पाउनुपर्ने सामाजिक सुरक्षाभत्ता हालसम्म पनि पाउन नसकेको ज्येष्ठ नागरिकको गुनासो छ । सामाजिक सुरक्षाभत्ताकै रकमबाट औषधि उपचार गराइरहेको थिए, बोदे बर्साइन– ५ का स्थानीयवासी ८१ वर्षीय फुलेश्वर दासले भने, “श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित रहे पनि भत्ता नपाउँदा उपचार गराउनसमेत समस्या भएको छ ।” भत्ताबापतको रकमका लागि पटकपटक वडादेखि नगरपालिकाको कार्यालयसम्म धाउँदै आए पनि भत्ता पाउन नसकेको उनको गुनासो छ । मन्त्रालयबाट नै सोबापतको रकम आउन ढिलाइ भएकाले ज्येष्ठ नागरिक तथा एकल महिला लगायतले पाउनुपर्ने सामाजिक सुरक्षाभत्ता वितरण गर्न नसकिएको नगरपालिकाका प्रमुख आतेशसिंह यादवले बताएका छन् । उनले अब मन्त्रालयबाट रकम निकासा भइसकेकाले केही दिनभित्रै सबै सेवाग्राहीको बैंकमा खाता खुलाएर दुवै किस्ताको रकम एकैपटक वितरण गरिने नगरप्रमुख यादवको भनाइ छ । रासस

मुगुकोे मुगुम कार्मारोङ्गमा राष्ट्रिय वाणिज्य बैंकको शाखा बिस्तार

काठमाडौँ । कर्णाली प्रदेश अन्तरगत मुगु जिल्लाको मुगुम कार्मारोङ्ग गाउँपालिका वडा न. ५ पुलुमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शाखा कार्यालय मुगुम कार्मारोङ शाखाबाट कारोबार शुभारम्भ भएको छ । उक्त शाखा बिस्तारसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २२० पुगेको छ । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २२० वटा शाखा कार्यालय, १७२ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको जनाएको छ ।

सुधारिएको नेप्सेलाई कारोबार रकमको समेत साथ, ह्याङओभरबाट तग्रिँदै लगानीकर्ता

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज परिसूचक सुधारको दिशामा फर्किएको छ । सोमबारको शेयर बजारमा ५.७५ अंकको वृद्धिसँगै नेप्से परिसूचक १२६०.१० विन्दुमा पुगेको छ । नेप्से परिसूचकसँगै सेन्सेटिभ र फ्लोट इन्डेक्समा समेत सुधार देखिएको छ । आजको बढेको नेप्से परिसूचकलाई कारोबार रकमले समेत साथ दिएको छ । कुन ४८ करोड १४ लाख ९२ हजार रुपैंया बराबरको कारोबार भएको छ जुन अघिल्लो हप्ताहरुको औसत कारोबार रकम भन्दा बढी हो । परिसूचक र कारोबार रकममा देखिएको सुधारले बजार थप सकारात्मक दिशामा जाने संकेत समेत गर्छ । बिहीबारदेखि नै बजारले सुधार संकेत देखाएको भए पनि धितोपत्र बोर्डले ल्याएको सम्पत्ति शुद्धीकरणससम्बन्धी निर्देशिकाको नाममा आइतबारको बजारमा केही चलखेल भएको थियो, फलस्वरुप बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे थियाे । आजदेखि भने बजार दिनभर स्थिर रह्यो भने अन्तिम घण्टामा सुधारात्मक देखियो । आजको बजारमा अधिकांश स्क्रिपहरुमा लगानीकर्ताले विवेकशील रुपमा कारोबार गरिरहेको देखिएको छ । आज शिवम् सिमेन्टको शेयरमूल्य ९ रुपैंयाले बढेर ६६० रुपैंया पुग्दा ५ करोडभन्दा धेरै कारोबारसहित सर्वाधिक कारोबार हुने कम्पनी बन्न सो कम्पनी सफल भएको छ । जनउत्थान र गणपति माक्रोफाइनान्सका शेयरहरुमा पोजेटिभ सर्किट ब्रेकर लाग्दा मल्टिप्रोपोज फाइनान्समा नेगेटिभ सर्किट लागेको छ । उपसमूहतर्फ होटल, माइक्रोफाइनान्स र अन्य समूह १ प्रतिशत भन्दा धेरै विन्दुले बढ्दा विकास बैंक, जीवन तथा निर्जीवन बीमा र म्युचुअल फण्ड समूहमा झिनो गिरावट देखिएको छ ।

धादिङको विशालनगरमा प्रभु बैंकको आरुघाट शाखा बिस्तार

काठमाडौँ । प्रभु बैंक लि. ले धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २, विशालनगरमा सोमबारदेखि बैंकको आरुघाट शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले एक समारोहकाबीच बैंकको आरुघाट शाखा कार्यालयको उद्घाटन गरेका हुन् । आरुघाट शाखा कार्यालय उद्घाटन कार्यक्रममा धादिङ जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघ धादिङका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

गरिमाका ग्राहकलाई मनमोहन मेमोरियल पूर्वाञ्चलमा विशेष छुट

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुलाई मनमोहन मेमोरियल पूर्वाञ्चल सामुदायिक अस्पताल विर्तामोडमा लाग्ने उपचार खर्चमा विशेष छुट दिने सम्बन्धमा सम्झौता भएको छ । आईतबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र मनमोहन मेमोरियल पूर्वाञ्चल सामुदायिक अस्पतालको तर्फबाट अस्पताल संयोजक रोमनी भट्टराईले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात गरिमा विकास बैंक लिमिटेडमा बचत खाता रहेका ग्राहकहरु तथा भिजा कार्ड होल्डरहरुले मनमोहन मेमोरियल पूर्वाञ्चल सामुदायिक अस्पतालमा उपचार गराउँदा अपरेशन शुल्क, बेड शुल्क, मेडिकल शुल्क, ल्याब, फिजियो थेरापी, पूर्ण शारीरिक परीक्षण, डेण्टल सेवालगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्नेछन् ।

स्मार्ट लाइसेन्स पुनः छपाइ गर्दा कार्यालयकाे गल्तीमा सेवाग्राहीले जरिवाना तिर्न नपर्ने

काठमाडौं । चालक अनुमतित्रपत्र छपाईमा कार्यालयकै गल्तीका कारण पुनः छपाइ गर्दासमेत सेवाग्राहीले जरिवाना तिर्दै आएकामा सो जरिवाना हटाउने तयारी भएको छ । नयाँ चालक अनुमतिपत्र वा नवीकरण गर्दा ‘स्मार्ट’ चालक अनुमतिपत्रमा फोटो वा विवरण स्पष्ट नहुँदा दिइएको प्रतिलिपिका लागि पनि चालक रकम तिर्न बाध्य थिए, यसैगरी सेवाग्राहीको गल्ती नभए पनि विगतमा पुनःछपाइ गर्दा उनीहरुसँग रकम लिने गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालले बताए । उनले भने, “चालक आफ्नै कारण प्रतिलिपि लिँदाजस्तै गरेर हाम्रै कारणले प्रतिलिपि दिँदा दस्तुर लिनुहुँदैन भनेर हटाएका छौँ ।”प्रवक्ता खनालका अनुसार विभागले छपाइ चाँडो गर्न भन्दै गतवर्ष निजी कम्पनीलाई ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्ने जिम्मेवारी दिएको थियो । उक्त कम्पनीले रङ्गिन छपाइ गर्दा कतिपयमा सेवाग्राहीको फोटो त कतिमा नाम, ठेगाना, रक्त समूहलगायत विवरण स्प्रष्ट बुझिने थिएन । अहिले विभाग आफैँले छापिरहेकाले यी समस्या नरहेको जानकारी दिँदै उनले भने, “हामीले उक्त परिचयपत्र श्यामस्वेत नै छापिरहेकाले नबुझने समस्या छैन ।” निजी कम्पनीले चालक अनुमतिपत्र छपाइ गर्दा झण्डै १३ हजार कार्डमा समस्या भएको थियो । तीमध्ये कतिपयले प्रतिलिपि लिइसकेका छन् भने कतिपयले लिन बाँकी छ । कार्यालयले अहिले ‘स्मार्ट’ चालक अनुमतिपत्रका लागि आवेदन दिएका झण्डै नौ लाख ५४ हजार कार्ड छाप्न बाँकी छ । दैनिक झण्डै तीन हजारले चालक अनुमतिपत्रका लागि आवेदन दिइरहेका छन् । रासस

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले धनगढीको सीपी हस्पिटल प्रालिसँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । बैंक र हस्पिटलबीच हस्ताक्षर भएको एमओयूमा ग्राहकहरुले बेड चार्ज, डाइग्नोस्टिक (इन हाउस), सर्जरी, प्रोसीड्यूर र फार्मेसीमा १०% छुट पाउने छन् । साझेदारी अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले एटिएम कार्ड वा क्रेडिट कार्ड देखाएर १०% छुट पाउनेछन् । एभरेष्ट बैंकको ग्राहक संख्या १० लाख भन्दा बढी रहेको र ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११९ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।