विकासन्युज

साना उद्यमीको रोजाइ बन्दै इनड्राइभ.कुरियर्स

काठमाडौं । इनड्राइभल डेलिभरी सेवा इनड्राइभ.कुरियर्सप्रति उल्लेखनीय रूपमा माग बढेको जनाएको छ । विशेषगरी साना तथा मध्यम व्यवसायहरूले यस वृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको इन्ड्राइभले जनाएको छ । इनड्राइभ.कुरियर्स एक अन–डिमान्ड डेलिभरी सेवा हो, जसले व्यक्तिहरू र व्यवसायहरूलाई छिटो, भरपर्दो र पारदर्शी रूपमा सामान पठाउन कुरियर सेवासँग जोड्छ । यस सेवामार्फत ग्राहक र कुरियरबीच सिधै सहमतिमा उचित भाडा निर्धारण गरी शहरभित्र पार्सल पठाउन सकिन्छ । औसतमा, कुरियरहरू ५–६ मिनेटमै पिकअप स्थानमा पुग्छन् भने ४० सेकेन्डभन्दा कम समयमा अर्डर मिलान हुन्छ । औसत डेलिभरी दूरी करिब ६ किलोमिटर रहेको छ । इनड्राइभको तथ्यांकअनुसार सन् २०२५ को नेपाली नयाँ वर्षको अवधिमा डेलिभरी अर्डर संख्या अघिल्लो वर्षको तुलनामा २०० प्रतिशतभन्दा बढीले बढेको थियो ।  साथै कुल प्रयोगकर्ता संख्या र साना तथा मध्यम व्यवसाय साझेदारहरू, जसमा स्थानीय पसल, अनलाइन विक्रेता र घरबाट सञ्चालन हुने व्यवसायहरू समावेश छन्, दुवैमा उल्लेखनीय वृद्धि भएको देखिएको छ । अघिल्लो वर्षको तुलनामा सक्रिय व्यवसाय प्रयोगकर्ताको संख्या २.६ गुणाले बढेको छ, जसले साना व्यवसायहरूमा डेलिभरी सेवाको प्रयोग तीव्र रूपमा बढिरहेको देखाउँछ । अर्डर संख्यामा काठमाडौंले अग्रणी भूमिका खेलेको छ । साथै पोखरा र भरतपुरजस्ता सहरहरूमा पनि स्थिर विस्तार भइरहेको छ ।  इनड्राइभ.कुरियर्सले नेपालका साना व्यवसायहरूका लागि भरपर्दो डेलिभरी समाधानका रूपमा आफ्नो स्थान अझ सुदृढ बनाउँदै जाने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । 

अब घरमै बसेर पेन्सन पाइने

काठमाडौं । सेवा निवृत्त कर्मचारीहरूलाई प्रदान गरिने पेन्सन सेवालाई थप प्रभावकारी र डिजिटलमैत्री बनाइएको छ । सरकारले सो सेवालाई  थप सरल, सहज र नागरिकमैत्री बनाउने उद्देश्यले विकसित गरिएको ‘पेन्सन व्यवस्थापन सूचना प्रणाली’ शुक्रबार औपचारिक रूपमा शुभारम्भ गर्दै घरमै बसेर पेन्सन पाइने सुविधा गरेको हो ।  शुक्रबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त प्रणालीको उद्घाटन गरे । महालेखा नियन्त्रक कार्यालय र मातहतका निकायहरूबाट प्रदान गरिँदै आएका सेवाहरूलाई प्रविधिमैत्री बनाउने लक्ष्यसहित यो प्रणाली विकास गरिएको हो ।  नयाँ प्रणालीमार्फत अब सेवा निवृत्त कर्मचारीहरू- निजामती, शिक्षक, नेपाली सेना तथा प्रहरीले घरमै बसेर अनलाइन माध्यमबाट पेन्सनसम्बन्धी सेवा लिन सक्ने भएका छन् । यसका लागि निवृत्तभरण व्यवस्थापन कार्यालयको वेबसाइटमा गई ‘हाम्रो सेवाहरू’ अन्तर्गत रहेको सम्बन्धित बटनमा क्लिक गर्नुपर्नेछ । साथै, सेवासम्बन्धी जिज्ञासा वा समस्या समाधानका लागि प्रणालीमै ‘भिडियो ट्युटोरियल’ समेत उपलब्ध गराइएको छ, जसले प्रयोगकर्तालाई सहजता प्रदान गर्ने विश्वास गरिएको छ । यस प्रणालीको कार्यान्वयनसँगै अब पेन्सन लिइरहेका कर्मचारीहरूले वार्षिक रूपमा बैंकमा उपस्थित भई प्रमाणीकरण गराउनु पर्ने झन्झट हटेको छ । त्यस्तै, पेन्सन खाता खोल्नका लागि निवृत्तभरण व्यवस्थापन कार्यालय धाउनुपर्ने बाध्यता पनि अन्त्य भएको छ । सरकारले यो प्रणालीबाट सेवा निवृत्त कर्मचारीहरूलाई थप सहज, मितव्ययी र प्रभावकारी रूपमा सेवा उपलब्ध हुने अपेक्षा गरेको छ ।

सिजीले ग‍र्यो समिट होटलको शिलान्यास, दुई वर्षभित्रै सञ्चालनमा आउने

काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी हस्पिटालिटीले गोर्खालाई अन्तर्राष्ट्रिय स्तरको लक्जरी पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित लक्जरी हेरिटेज ‘समिट होटल’ को बिहीबार शिलान्यास गरेको छ ।  काठमाडौंको ‘समिट होटल’बाट प्रेरित यस परियोजना आधुनिक सुविधा र नेपाली मौलिकता समेटिएको स्तरीय लक्जरी रिसोर्टका रूपमा विकास गरिने सीजी हस्पिटालिटीले जनाएको छ । सीजी हस्पिटालिटीका अनुसार सन् १९७८ मा स्थापित काठमाडौंको समिट होटलको विरासतलाई नयाँ स्वरूप दिँदै गोर्खामा निर्माण हुन लागेको यो परियोजनाले आधुनिक सुविधाहरूका साथै नेपाली मौलिकता प्रदान गर्नेछ । करिब ३० रोपनी क्षेत्रफलमा फैलिने यो परियोजना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष लिइएको छ । करिब ३० वटा लक्जरी कोठाहरू रहने यस होटलको रुम रेट करिब ५०० अमेरिकी डलर आसपास रहने छ । समिट होटलले नेपालभित्रका तथा विदेशबाट आउने पर्यटकलाई लक्षित गर्दै स्तरीय सेवा प्रदान गर्नेछ । सीजी हस्पिटालिटीका अनुसार यस परियोजनाको मुख्य उद्देश्य गोर्खालाई नेपालका प्रमुख लक्जरी पर्यटन गन्तव्यहरूको सर्किटमा जोड्नु हो ।  ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण गोर्खा दरबार नजिकै निर्माण हुने यो परियोजनाले नेपालको इतिहास, मौलिकता र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ । गोर्खा त्यही स्थल हो जहाँबाट पृथ्वीनारायण शाहले नेपाल राज्यको एकीकरण गर्दै आधुनिक नेपालको निर्माण गरेका थिए । सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक एवं कार्यकारी अधिकृत राहुल चौधरीले यो परियोजना नेपालको पर्यटन क्षेत्रमा चौधरी ग्रुपको निरन्तर विश्वास र प्रतिबद्धताको अर्को एउटा महत्त्वपूर्ण कदम रहेको बताए ।  समिट होटलले गोर्खा क्षेत्रमा रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्र सुदृढीकरण तथा नयाँ लगानी आकर्षित गर्ने अपेक्षा गरिएको छ । यसले पर्यटनमार्फत क्षेत्रीय विकासलाई गति दिने विश्वाससमेत गरिएको छ । केही दिनअघि मात्रै चौधरी ग्रुपले विश्वप्रसिद्ध होटल म्यारियट इन्टरनेसनलसँगको साझेदारीमा प्रतिष्ठित लक्जरी ब्रान्ड ‘द रिट्ज–कार्लटन होटलको शिलान्यास काठमाडौंको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा गरेको थियो । सीजी हस्पिटालिटी ग्लोबलले हाल प्रमुख अन्तर्राष्ट्रिय होटल ब्रान्डहरूसँग साझेदारी गर्दै आफ्नो विश्वव्यापी उपस्थितिलाई विस्तार गरिरहेको छ । हाल यसको पोर्टफोलियोमा १२ देशका १३० गन्तव्यमा २३० भन्दा बढी होटल तथा रिसोर्ट सञ्चालनमा रहेका छन्, जसमा १५ हजारभन्दा बढी रुम क्यापासिटी रहेको छ ।

उपसभामुखमा एमालेले मतदान नगर्ने

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनमा नेकपा एमालेले भाग नलिने भएको छ । शुक्रबार संसदमा उपसभामुखका लागि मतदानअघि प्रस्तावक र समर्थकले बोल्ने क्रम जारी छ ।  संसदमा बोल्दै एमालेका सांसद मोहम्मद इस्तियाक राईले एमालेले मतदान नगरेर तटस्थ बस्ने निर्णय गरेको बताए ।   

नयाँ वर्षदेखि साझा यातायातका बस एआई निगरानीमा, सबै गतिविधि रुमबाटै थाहा हुने

काठमाडौं । साझा यातायातले सार्वजनिक यातायात क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन डिजिटल रूपान्तरणको सुरुवात गरेको छ । ललितपुरको पुल्चोकस्थित केन्द्रीय कार्यालयमा अत्याधुनिक कृत्रिम बाैद्धिकता (एआई) प्रविधिमा आधारित कन्ट्रोल रुम स्थापना भएसँगै साझाले नयाँ फड्को मारेको हो ।  साझा यातायातका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भूपेन्द्र अर्यालका अनुसार यो प्रणाली अहिले परीक्षणको अन्तिम चरणमा छ र आगामी २०८३ वैशाख दोस्रो वा तेस्रो हप्ताभित्र औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरिएको छ । कन्ट्रोल रुमले साझाका गाडीहरूमा जडान गरिएका सीसीटिभी क्यामेरा र जीपीएस प्रणालीलाई एउटै प्लेटफर्ममा जोड्नेछ ।  यसबाट कार्यालयबाटै गाडीभित्र र बाहिरका गतिविधिहरू लाइभ हेर्न सकिनेछ । यात्रुमाथि हुने दुर्व्यवहार रोकथाम गर्न र सामान हराएमा तत्काल ट्र्याकिङ गर्न सजिलो हुनेछ । यदि चालक निदाएमा, सवारी चलाउँदा धुम्रपान गरेमा वा असामान्य व्यवहार देखाएमा प्रणालीले तत्काल कन्ट्रोल रुममा नोटिफिकेसन पठाउनेछ । गाडीको गति, दुई गाडी बीचको दूरी र बस स्टपमा रोकिने समयको डिजिटल अनुगमन हुनेछ ।  सीईओ अर्यालले भने, ‘अब यात्रुहरू ढुक्क भएर बस चढ्न सक्नेछन्, किनभने प्रत्येक गतिविधि र प्रत्येक व्यक्तिको चलायमान अवस्था रेकर्ड र निगरानीमा रहनेछ । केवल एक क्लिकमै सबै जानकारी हेर्न सकिने यो प्रविधिले सार्वजनिक यातायातमा पारदर्शिता र सुरक्षालाई नयाँ उचाइमा पुर्‍याउनेछ ।’ यात्रु र संस्थालाई हुने लाभ यो प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आएपछि सार्वजनिक यातायातमा देखिने अव्यवस्थित प्रतिस्पर्धा र ढिलासुस्ती अन्त्य हुने अपेक्षा गरिएको छ । 

महिलालाई अपशब्द बोलेर भिडियो बनाउने राइड सेयरिङका चालक पक्राउ

काठमाडौं । महिला यात्रुलाई अपशब्द बोल्दै भिडियो बनाएको आरोपमा राइड सेयरिङका चालक पक्राउ परेका छन् । राइड सेयरिङका चालकलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार ती राइडरले मोटरसाइकलमा सवार महिला यात्रुलाई अपशब्द बोल्दै भिडियो बनाएर सामाजिक सञ्जालमा हालेका थिए । घटना नक्सालस्थित भगवती बहाल मन्दिर अगाडिको हो । कुनै पनि भिडियो बनाउँदा वा प्रतिक्रिया व्यक्त गर्नुअघि अन्य व्यक्तिको मर्यादा, प्रतिष्ठा तथा चरित्रमा आँच आउने किसिमका कार्य नगर्न पनि नेपाल प्रहरीले अनुरोध गरेको छ ।

बीमा व्यवसायको गरिमा उच्च हुनेगरी काम गर्न बीमा कम्पनीलाई सुवेदीको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा क्षेत्रको विकास, विस्तार एवम् पहुँच अभिवृद्धिका लागि सबै मिलेर अगाडि बढ्नु आवश्यक रहेको बताएका छन् । शुक्रबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आयोजित नववर्ष २०८३ को शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । प्राधिकरणले कसैप्रति पनि आग्रह वा पूर्वाग्रह नराखी काम गर्दै आएको उल्लेख गर्दै उनले बीमा सम्बन्धी ऐन, नियम र निर्देशनहरू बमोजिम बीमा व्यवसायको गरिमा उच्च हुने गरी कार्य गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिए । कार्यकारी निर्देशक सुवेदीले बीमा क्षेत्रको विकास एवम् विस्तार, सुशासन कायम, नविनतम् प्रविधि अवलम्बन र बीमाको पहुँच विस्तारका लागि उपयुक्त वातावरण तयार गर्नका लागि आवश्यक सहजीकरण गर्न प्राधिकरण सदैव तयार रहेको बताए। कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुंगेलले पछिल्लो समयमा बीमाको पहुँच उल्लेख्य रूपले बढ्दै गएर देशको झण्डै ५० प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको र बीमा क्षेत्रका अधिकाङ्श परिसूचकहरू पनि सकारात्मक रहेको जानकारी दिए । निर्देशक ढुंगेलले जोखिम व्यवस्थापनका साथसाथै ग्रामीण क्षेत्रसम्म बीमा सेवा विस्तारलाई प्राथमिकता दिएर बीमा क्षेत्रलाई सशक्त, विश्वसनीय, आधुनिक र समावेशी बनाउन सामूहिक प्रयासको आवश्यकता औंल्याए । त्यस अवसरमा नेपाल बीमा प्राधिकरणले विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी प्रकाशन गरेको चित्रकथामा आधारित बीमा सम्बन्धी जानकारीमूलक पुस्तक ‘बीमाको चित्रकथाको सङ्गालो’ सार्वजनिक गरिएको थियो । कार्यक्रममा नेपाल बीमक संघ, नेपाल जीवन बीमक संघ र नेपाल लघु जीवन बीमक संघका अध्यक्षहरूका साथै विभिन्न बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशकहरू, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू र प्राधिकरणका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

देशभरका विमानस्थलमा स्तनपान कक्ष, प्राथमिक उपचारदेखि स्यानिटरी प्याड उपलब्ध गराउन निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन विमानस्थलसहित देशभरका विमानस्थलहरूमा स्तनपान कक्ष र प्राथमिक उपचार कक्षदेखि यात्रुलाई दिने विभिन्न सेवामा थप सुधार गर्न निर्देशन दिएको छ ।  मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।  मन्त्रालयले देशभरका सम्पूर्ण विमानस्थलहरूमा सार्वजनिक माध्यम तथा यात्रुहरूबाट प्राप्त गुनासा र सुझावका आधारमा यात्रु सेवा, सरसफाई तथा मानवमैत्री पूर्वाधारमा व्यापक सुधार आवश्यक देखिएको भन्दै यस्तो निर्देशन जारी गरेको जनाएको छ ।  स्तनपान तथा शिशु हेरचाह कक्षअन्तर्गत  सफा, सुरक्षित तथा गोपनीयता सुनिश्चित भएको स्तनपान/बेबी–चेन्जिङ कक्ष सञ्चालन गर्ने वा आवश्यकता अनुसार स्तरोन्नति गर्नुपर्ने सूचनामा उल्लेख छ ।  त्यस्तै, बिरामी तथा विशेष आवश्यकता भएका यात्रुका लगि प्राथमिक हेरचाह कक्ष बिरामी, ज्येष्ठ नागरिक तथा अशक्त यात्रुका लागि प्राथमिक हेरचाह कक्षको व्यवस्था गर्न मन्त्रालयले निर्देशन दिएको छ ।  त्यसैगरी, विमानस्थलमा महिला यात्रुहरूको आपतकालीन आवश्यकतालाई ध्यानमा राखी प्रमुख शौचालयहरूमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउन मन्त्रालयको निर्देशन छ ।