निक्षेपको चरम अभाव हुँदा नबिलले गर्यो १०.१० प्रतिशत अफर, अरु वाणिज्य बैंकलाई तनाव
काठमाडौं । बैकिङ क्षेत्रमा निक्षेपको चरम अभाव भएको बेलामा नबिल इन्भेष्टमेन्ट लिमिटेडले निक्षेपकर्तालाई १० दशमलव १० प्रतिशत प्रतिफल दिने नयाँ याेजना ल्याएकाे छ । मुद्दति खाताका बचतकर्तालाई जस्तै लगानीकर्तालाई हरेक तीन महिनामा प्रतिफल भुक्तानी गरिने नबिल इन्भेष्टमेन्टले जनाएको छ । बैकिङ क्षेत्रको लिडर बैंकको रुपमा परिचित नबिल बैंकको सहायक कम्पनीले ल्याएकाे नयाँ स्कीमले बैंकहरुलाई ब्याज बढाउन दवाव पर्ने जानकारहरु बताउँछन् । नेपाल बैंकर्स संघको निर्णयका आधारमा वाणिज्य बैंकहरुले ९.७५ प्रतिशत वा सोभन्दा कम ब्याजदरमा निक्षेप संकलन गर्दै आएको समयमा नबिलले १०.१० प्रतिशत प्रतिफल दिने निक्षेप प्रकृतिकाे याेजना ल्याएकाे हाे । ‘फिक्स रिर्टन’ नाम दिइएको उक्त स्कीम सात दिन मात्रा चल्ने नबिलले जनाएको छ । तर उक्त सेवाको बारेमा जानकारी दिंदै अनिश तन्डुकारले विकासन्युजसँग भने-‘तपाई पैसा व्यवस्थापन गर्न समय लाग्छ भने दशैंपछि पनि आउन सक्नुहुन्छ ।’ यस्तो स्कीमको रिर्टनदर घटबढ भईरहने उनले बताए । बैंकमा मुद्दति निक्षेपको ब्याज १० प्रतिशतभन्दा कम भएको समयमा मर्चेन्ट बैकर्सले १० प्रतिशतभन्दा बढी प्रतिफल दिनुले यसभित्र जोखिमको गन्ध आउँछ । ‘पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस’ अन्तरगत दिने यो सेवाको विशेषता वाणिज्य बैंकको मुद्दति बचतको जस्तै हुने र पूर्ण सुरक्षित हुने तण्डुकारले बताए । ‘लिखित डकुमेन्ट हुन्छ । लगानीकर्ताको नाम, लगानी भएको रकम, ब्याज र मुद्दति परिपक्व हुने अवधि तोकेर सर्टिभिकेट दिन्छौं । सावाँ ब्याज दुबै ग्यारेन्टी गरिएको हुन्छ’ उनले भने-‘मुद्दति निक्षेपमा झै यस सर्टिफिकेट धितो राखेर कर्जा लिने भने पाइने छैन ।’ ‘नबिल इन्भेष्टमन्टले शुरुमा पनि यसरी स्रोत परिचालन गरेको थियो । त्यतिबेला प्रतिफल दर पनि कम थियो र कम प्रभावकारी भयो । अहिले बैंकले दिने व्याजदर भन्दा बढी प्रस्ताव गरेको छौं’ तण्डुकारले भने । पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस अन्तरगतकाे याे याेजना झट्ट हेर्दा निक्षेप जस्ताे भएपनि याे मुद्दति निक्षेप नभइ लगानी नै भएकाे नबिल इन्भेन्टमेन्ट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बाधे श्रेष्ठले बताए । पोर्टफोलियो म्यानेजमेन्ट गर्नेले स्रोतको निश्चित प्रतिशत बैंकको मुद्दतिमा राख्न पाउने नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताए । ‘पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस’ अन्तरगत मर्चेन्ट बैंकर्सले यसरी बजारबाट पैसा संकलन गर्न पाउने उनको भनाई छ ।
राष्ट्रिय गौरवका आयोजनामा २ खर्ब ८३ अर्ब खर्च, सन्तोषजनक छैन भौतिक प्रगति
काठमाडौँ । राष्ट्रिय गौरवका २२ आयोजनामा हालसम्म २ खर्ब ८३ अर्ब ८६ करोड खर्च भएको छ । कूल लागत १८ खर्ब १० अर्ब ६८ करोड भएका आयोजनामा हालसम्मको २ खर्ब ८३ अर्ब मात्र खर्च भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय योजना आयोगद्वारा आइतबार आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ४६ औँ बैठकमा आव २०७५/७६सम्मको कूल खर्च प्रस्तुत गरिएको हो । आव २०७५/७६सम्मको भौतिक प्रगतितर्फ राष्ट्रिय गौरवका आयोजना मध्ये पुष्पलाल मध्यपहाडी लोकमार्गको ४८ प्रतिशत, रेल्वे तथा मेट्रो विकास आयोजनाको १९.४ प्रतिशत, हुलाकी लोकमार्गको ४४ प्रतिशत, उत्तर दक्षिण(कोशी करिडोर) लोकमार्गको १५ प्रतिशत, उत्तर दक्षिण(कालिगण्डकी करिडोर) लोकमार्गको २७ प्रतिशत देखिएको छ । त्यसैगरी, काठमाडौँ-तराई/मधेस द्रुतमार्गको ८.५ प्रतिशत, गौतमबुद्ध अन्तर्राष्ट्रि विमानस्थलको ७४ प्रतिशत, पोखरा क्षेत्रीय विमानस्थलको ४२ प्रतिशत, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको १० प्रतिशत र लुम्बिनी विकास कोषको ८२ प्रतिशत भौतिक प्रगति देखिएको छ । यता, बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना पहिलो चरणको भौतिक प्रगति १५.१२ प्रतिशत, राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको १२.१९ प्रतिशत, सिक्टा सिचाई आयोजनाको ८०.७ प्रतिशत, बबई सिचाई आयोजनाको ४६.४ प्रतिशत, रानीजमरा कुलरिया आयोजनाको ४३ प्रतिशत र भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ३८.४ प्रतिशत भौतिक प्रगति भएको योजना आयोगले प्रस्तुत गरेको तथ्याङ्कमा उल्लेख छ । यसैगरी, माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको भौतिक प्रगति ९९.३ प्रतिशत भएको छ । आयोगले प्रस्तुत गरेको विवरणमा बुढीगण्डकी जलविद्युत आयोजना, पश्चिम सेति जलविद्युत आयोजना, विद्युत प्रशारण आयोजना र पशुपति क्षेत्र विकास कोषको भौतिक प्रगति भने उल्लेख छैन ।
कागज मिलाउनेलाई होइन काम गर्नेलाई योजना दिनुस् : मन्त्री अर्याल
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले कागज मिलाउन जान्नेलाई नभएर सहि रूपमा जनताको पक्षमा काम गर्नेलाई विकास योजनाका काम दिन स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गरे । राष्ट्रिय सहकारी महासंघले मन्त्रालयको सहयोगमा ‘प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी विषयमा आयोजना गरेको दुई दिने प्रादेशिक गोष्ठीलाई भक्तपुरमा सम्बोधन गर्दै ’मन्त्री अर्यालले भने । मन्त्री अर्यालले खासगरी योगना बाँडफाँडका क्रममा हुने गरेका बेथितिलाई इङ्गित गर्दै कागज मिलाएर व्यक्तिगत स्वार्थमा प्रयोग गर्नेलाई नभएर सहि रूपमा जनताको काममा योजना लगाउनेलाई काम दिन आग्रह गरे। ‘योजना माग्न आउदाखेरि कागज बनाएर ल्याउनेलाई मात्र योजना नदिन। काम गर्नेले पाउदैन । कागज बनाउनेले पाउछ । कागज बनाउनेले पाउछ नीजि स्वार्थमा प्रयोग गर्छ । जनतालाई समेटेर काम गर्नेले योजना पाउदै पाउदैन । किनकी उसको नेतासँग पहुँचै छैन । उ दिनदिनै आउन पनि भ्याउदैन । अनि भेट्न पनि सक्दैन’ मन्त्री अर्यालकाे भनाइ छ । उनले भने, कागज मिलाउनेलाई होइन काम गर्नेलाई योजनाका काम दिनुस । अब हामीले कागज मिलाउनेलाई होइन काम गर्नेलाई भन्ने हिसाबले केही न केही हिजो भन्दा फरक हुनेगरी हामी अगाडी बढौं ।’ यपाली जनताले लामो संघर्षपश्चात् प्राप्त गरेको गणतन्त्र सबैले कुशलतापूर्वक काम गरेर जनताको मन जित्न सकियो भने सफल हुने भन्दै मन्त्री अर्यालले राम्रोढंगले काम गर्न नसकेमा, जनताको मन जित्न नसेकामा जनतामा आशंकारअविश्वास खडा हुने र गणतन्त्र पनि जोगाउन कठिन हुने बताए । स्थानीय, प्रदेश तथा संघ सबैतिर कम्युनिष्टको बहुमत आउने कुरा कसैले कल्पना गरेको कुरा नरहेको अवस्थामा नेपालले सबैतिर बहुमत ल्याउदा अन्तर्राष्ट्रिय जगत हिजोको परम्परावादी शैलीले अब कुनैपनि काम चल्न नसक्ने भन्दै मन्त्री अर्यालले हिजोकै मान्यता, सोच, काम गर्ने शैलीबाट पार नलाग्ने दाबी गरे । अहिलेपनि आक्रमण गर्ने, अनआस्था फैलाउने, अविश्वास खडा गर्ने, हाम्रो व्यवस्थामाथी प्रश्न उठाउने ठाउँमा पुर्या्उनेगरी चलखेल शुरू भइसकेको भन्दै यी कुरालाई चिर्दै अगाडी बढ्नुपर्ने अवस्था रहेको छ । यी कुरामा सबै जनप्रतिनिधिहरू सचेत हुदै मसिनो ढंगले, सिर्जनशील ढंगले जनताको घरदैलोमा लाभान्वित हुने खालको काम गर्न मन्त्री अर्यालले स्थानीय तहका जनप्रतिनिधिहरूलाई आग्रह गरे । एक वर्षको अवधीमा संघियतालाई कुशलतापुर्वक कार्यान्वयन गर्न सफल भएको भन्दै उनले यो सरकारले नेपालमा एक वर्षमा कुशलतापूर्वक संघियता कार्यान्वयन गर्न सकेर विश्वमै आश्चर्जनक काम गर्न सफल भएको बताए । हालकाे कानुन निर्माणसँगै काम गर्ने हाे भने सरकारले फड्को मारेर अगाडी बढेको समेत मन्त्री अर्यालको भनाइ थियो । हिजोको दुई वर्ष अगाडीको स्थानीय पालिका र अहिलेको स्थानीय पालिकामा निकै भिन्नता आएको भन्दै अब बिकासका निम्ती योजनाबद्ध तरिकाले स्थानीय पालिकामा जाने हो भने धेरै काम गर्न सकिने अपेक्षा राखेर जनताले अनुभूत गर्ने सरकार भनेको स्थानीय तह भएको भन्दै सचेत भएर काम गर्न उहाँले स्थानीय पालिकाहरूलाई आग्रह गरे । त्यस अवसरमा मन्त्री अर्यालले सहकारी महासंघको तर्फबाट इण्डियन फार्मर फर्टिलाइजर कोअपरेटिभ (इफ्को)का एमडी डा.यु.एस अवस्थीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गर्न भएको थियो ।
केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक विकास दुगड प्रबल जनसेवा श्री बाट सम्मानित
काठमाडौँ । केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक युवा उद्योगी विकास दुगडलाई संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवा श्री मानपदवीबाट विभूषित गरिने घोषणा गरिएको छ । मुलुकको समग्र औद्योगिक व्यवसायिक क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप दुगडलाई सो मानपदवी प्रदान गरिने भएको हो ।
दशैंअफर सहित सिटिसी मलमा मोबाइल मेला शुरु, सस्तोमा मोबाइल
काठमाडौँ । दशैको बेला उपभोक्तालाई सस्तो मूल्यमा मोबाइल उपलब्ध गराउने लक्ष्यका साथ सिटिसी मोबाइल हब सुनधारामा मोबाइल मेला सुरु भएको छ । विभिन्न मोबाईल कम्पनीहरुसँगको सहकार्यमा सुपथ मुल्य र अफÞरै अफर सहितको मोबाईल मेला आइतबारदेखि सुरु भएको हो । मोबाईल मेलामा ६० प्रतिशतसम्म छुटका साथै बाई वान गेट वानफ्रिअफर मेलाको आकर्षण बन्नेछ । निःशुल्क पार्किङको व्यवस्थागरिएको मोबाइल मेलामा मेरो सुरक्षासँगको सहकार्यमानिशुल्कमोबाइलबीमाको समेत व्यवस्थागरिएको छ । यसबाट मोबाइलचोरी हुने, फुट्ने वा कुनै किसिमको समस्या आएमा तत्काल सेवाग्रहीले त्यसको समाधान पाउने मोबाइल हबका प्रबन्धनिर्देशक संगम राईले बताए । साथै हरेक मोबाइलको खरिदमासिनेमाको टिकट निःशुल्क बितरण हुनेछ भने गल्फमा सहभागी भई २ स्कोर गरे साधारण मोबाईल, ३ स्कोर गरे आफुले खरीद गरेको मोबाईलमा ५०प्रतिशत छुट र ४ स्कोर गरे खरीद गरेको मोबाइल निःशुल्क पाइनेछ । हरेक दिन मेला अवलोकनकर्ता मध्येबाट लक्कि ड्र मार्फत एक जनाले स्मार्ट फोन जित्न सक्ने छन् भने हरेक मोबाईलको खरिदमा ग्राहकले हात खÞाली नजाने उपहार पाउने छन् । सिटिसी मल र विभिन्न मोबाईल कम्पनीहरुको दोहोरो अफरले सेवाग्राही धेरै लाभान्वित हुने विश्वास मोबाइल हबले लिएको छ । असोज ५ गतेबाट दशै, तिहार र छठ कार्तिक १६ सम्ममा मोबाईल खरिद गर्ने सबै ग्राहकलाई लक्की ड्र मा सहभागीगराई प्रथम पुरस्कार स्वरुप यामाहा को रे जेट आर स्कूटर प्रदान गरिनेछ । दोस्रो पुरस्कारमा एक जनालाई बाली भ्रमणको प्याकेज र तेस्रो पुरस्कारमा डेलको एउटा ल्यापटप बितरण गरिनेछ । मोबाइल मेलादशैंको पूmलपातीका दिनसम्म सञ्चालन हुनेछ भने अफरहरु कार्तिक १६ गतेसम्म लागू हुने जनाइएको छ ।
सिटिजन्स बैंकद्वारा नशा रहित समाजलाई १ लाख आर्थिक सहयोग
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लागुऔषधको दुव्र्यसनमा परेका व्यक्तिहरुलाई कुलतबाट छुटकारा गराउने कार्यमा काम गर्दै आएको नशा रहित समाज नेपाललाई रू. १०१,०००।- आर्थिक सहयोग प्रदान गरेको छ । नशा रहित समाज नेपालको कार्यालय बडिखेलमा आयोजित एक कार्यक्रमका बीच बैंकले रू उक्त रकमको चेक संस्थाका संचालक सोनाम शेर्पालाई हस्तान्तरण गरेको हो । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८२ वटा शाखा, ७९ वटा एटिएम र १०१ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट करिव चार लाखलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
नेपाल बैंकको सीईओ छनोट प्रक्रिया अन्तिम चरणमा, को आउँदैछ १६५ अर्बको बैंक हाँक्ने ड्राइभर ?
काठमाडौं । छ महिनादेखि रिक्त नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को नियुक्ति प्रक्रिया दशैंअघि नै टुंगिने भएको छ । बैंकको सीईओ छनौट सिफारिस समितिले छनौट प्रक्रिया अन्तिम चरणमा पुर्याएको दशैं अघि नै त्यसको टुंगो लाग्ने बैंक स्रोतले जानकारी दियो । नेपाल बैंकमा प्रमुख कार्यकारी अधिकृत बन्न १४ जनाले आवेदन पेश गरेका थिए । अहिले प्राप्त भएका आवेदनहरुको मूल्यांकन समितिले सबै आवेदकहरूबाट प्राप्त भएको प्रस्तावको मूल्यांकन गरिरहेको छ । प्रस्ताव मूल्यांकनमा लागि पूर्वसचिव दीपेन्द्रविक्रम थापाको संयोजकत्वमा बैंकले ३ सदस्यीय मूल्यांकन कमिटी बनाएको थियो । मूल्यांकन कमिटीले आवेदक १४ सिईओका प्रस्तावकमध्ये ५ ओटाको सर्टलिष्ट गरेको छ । सर्टलिष्टमा परेका ५ जनाले पेश गरेका प्रस्तावहरु उपर समितिले सम्बन्धित आबेदकलाई ‘पावरपोइन्ट प्रिजिन्टसन’ गर्न लगाउँदैछ । यो काम आज भोलिनै सम्पन्न हुन्छ । त्यसपछि पाँचजनाले पेश गरेको प्रस्तावबाट स्कोर सहित उत्कृष्ट ३ जनाको नाम मूल्यांकन समितिले बोर्डमा पठाउँछ । बोर्डले अर्थ मन्त्रालयको सहमतिमा ३ जनामध्ये एकलाई प्रमुख कार्यकारीको रुपमा नियुक्त गर्ने प्रावधान छ । यी सबै प्रक्रियाहरु एक साताभित्रै टुङ्गिन्छ, ढिला भयो भने पनि दशैं अगाडि नै बैंकले नयाँ सीईओ पाउँछ, बैंक स्रोतले विकासन्यूजसँग भन्यो । १ अर्ब ६५ अर्बको वासलात आकार भएको बैंक चैत ११ गतेदेखि प्रमुख कार्यकारी अधिकृतविहीन छ । दैनिक कार्यहरु कायम मुकायम प्रमुख कार्यकारी अधिकृतबाट भइरहे पनि ठूला र दीर्घकालीन निर्णयहरु लिन बैंकलाई अप्ठ्यारो पर्दै आएको छ । बैंकले सुरुमा बजारमा रहेका चर्चित अनुहारहरुबाटै प्रमुख कार्यकारी अधिकृत छनौट गर्न खोजे पनि चार महिनासम्म उपयुक्त सिईओ नपाएपछि बैंकले साउन १२ गते खुला प्रतिस्पर्धाबाट सीईओ छनौट गर्न आवेदन खोलेको थियो । उक्त अवधिभरमा १ महिला सहित १४ जनाले सीईओका लागि आवेदन दिएका थिए । आवेदन दिनेहरूमा हाल बैकिङ क्षेत्रमा परिचित नाम भने कसैको छैन ।
प्रहरीलाई सहुलियतमा ऋण सुविधा, ब्याजदर ६ प्रतिशत
काठमाडौँ । प्रहरी कर्मचारीलाई सहुलियतपूर्ण ऋण सुविधाका लागि प्रहरी कल्याण कोषमा रु १५ करोड विनियोजन गरिएको छ । प्रहरीको कल्याण कोष सञ्चालक समितिको निर्णयअनुसार उक्त ऋण सुविधा आजदेखि नै लागू भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । वरिष्ठ प्रहरी अधिकृत र कनिष्ठ प्रहरी अधिकृतका लागि हलुका सवारी र सकल दर्जाका प्रहरी कर्मचारीका लागि मोटरसाइकल, स्कुटर, ल्यापटप, टेलिभिजन, फ्रिज, वासिङ मेसिन, माइक्रो ओभन किस्ताबन्दीमा समेत खरिद गर्नका लागि सहुलियत ऋण उपलब्ध हुने प्रहरी वरिष्ठ उपरीक्षक टेकबहादुर तामाङले जानकारी दिए । प्रहरीले यसरी किस्ताबन्दीमा ऋण लिँदा कल्याणकोष कार्यविधि २०७१ को अनुसूचि १० अनुसारको निवेदन दिनुपर्नेछ । हलुका सवारी साधनका लागि छ प्रतिशत व्याजदरमा रु १५ लाखसम्म १० वर्षका लागि ऋण लिन सकिनेछ । मोटरसाइकलका लागि भने सोही व्याजदरमा चार वर्षका लागि रु दुई लाख, ल्यापटप र टिभीलगायतमा रु ५० हजार र फ्रिज माइक्रोओभनमा रु २५ हजार ऋण लिन सकिने प्रहरीले जनाएको छ । कार÷जीप लिने प्रहरी अधिकृतको हकमा सात वर्ष नोकरी गरेको र कनिष्ठ प्रहरी अधिकृतका हकमा सात वर्ष, प्रहरी निरीक्षकदेखि प्रहरी उपरीक्षकसम्म पाँच वर्ष र सोभन्दा माथिका लागि तीन वर्ष नोकरी अवधि बाँकी भएको हुनुपर्नेछ । अन्यको हकमा भने पाँच वर्ष नोकरी अवधि भएको हुनुपर्ने जनाइएको छ ।चाडबाड शुरु भएकाले त्यस्ता सामग्री खरीद गर्न चाहने प्रहरी कर्मचारीका लागि यो सहुलियत ऋण सुविधा उपलब्ध गराइएको नेपाल प्रहरीका सहप्रवक्ता उमेशराज जोशीले जानकारी दिए ।