प्रोग्रेशिभ फाइनान्सको शाखा धनुषाको सबैलामा
काठमाडौँ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले धनुषा जिल्लाको सबैला नगरपालिकामा शाखा शुभारम्भ गरेको छ । शाखाको समुद्घाटन आइतबार एक समारोहबीच सबैला नगरपालिकाका मेयर विजयशंकर प्रसाद साहले गरेका हुन् । शाखा शुभारम्भ कार्यक्रममा बोल्दै सबैला नपाका मेयर विजयशंकर प्रसाद साहले यस क्षेत्रमा बैंकिङ्ग सेवा प्रदान गर्न आएकोमा प्रोग्रेशिभ फाइनान्सलाई धन्यवाद दिँदै उक्त क्षेत्रका अन्य वित्तीय पहुँच नपुगेका स्थानहरुमा वित्तीय सेवा तथा वित्तीय साक्षरता प्रदान गर्न सुझाव दिए । उक्त कार्यका लागि नगरपालिकाले उचित सहयोग गर्ने बचनबद्धता व्यक्त गरे । उद्घाटन कार्यक्रममा संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न जनचेतना मुलक सन्देश छापिएको टिसर्ट बितरण गरिएको थियो । चुक्ता पूँजी रु. ८० करोड १ लाख रहेको फाइनान्सले काठमाण्डौंको तिनकुनेमा कर्पोरेट कार्यालय र न्यूरोडमा मूख्य शाखा सहित चार वटा शाखा र ललितपुरको पूल्चोक, महालक्ष्मीस्थान, काठमाण्डौको तीनकुने तथा भक्तपुरको थिमिमा एक्सटेन्सन काउण्टर मार्फत निरन्तर बित्तीय सेवा प्रदान गर्दै आइरहेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागार्इँले बताए । देशका सवै भूगोलको प्रतिनिधित्व हुने गरी शाखा बिस्तारको योजना राखेको फाइनान्सले निकट भविष्यमा धनुषा जिल्लाको महेन्द्रनगर र सर्लाहिको मलंगवामा नयाँ शाखा संचालनमा ल्याउने योजना रहेको फाइनान्सका अध्यक्ष किशोरकुमार महर्जनले बताए । बित्तीय क्षेत्रमा सरल, सहज र ग्राहकमुखी सेवालाई बढी प्राथमिकतामा राखी आधुनिक प्रविधियुक्त बैंकिङ सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको अध्यक्ष महर्जनले बताए । कार्यक्रममा फाइनान्सका सञ्चालक लक्ष्मीप्रसाद महर्जन, शम्भुलाल डंगोल, समुन्द्रकाजी श्रेष्ठ, फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाइँर्, मुख्यप्रबन्धक प्रमोद भट्टराई लगायत सबैलाका सहकारी संस्थाका प्रमुख, उद्योगी, ब्यापारीको उपस्थिति रहेको बताइएको छ ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेललाई मातृ शोक
काठमाडौ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेललाई मातृ शोक परेको छ । उनकी माता राधादेवीको ८६ वर्षको निधन भएको हो । शनिवार काठमाडौंको मैह्पीमा कार्यकारी निर्देशक पौडेलकी माताको निधन भएको हो । स्वर्गीय माता राधादेवीका २ छोरा र ३ छोरी छन् । बीमा समितिका कार्यकारी निर्देशक पौडेल क्रिया कर्मको लागि चितवनको नारायणघाटमा बसेका छन् । पौडेलकी आमाले अन्तिम संस्कारका लागि चितवनको देवघाट पुर्याउने अनुरोध गरेकी थिइन् । आमाको अन्तिम इच्छा पूरा गर्दै पौडेलका परिवार देवघाट पुगेका हुन् ।
सिर्जना फाईनान्सद्वारा १० हजार उपचार खर्च प्रदान
काठमाडौँ । बिराटनगर महानगरपालिका वडा नं ११ बस्ने रामबाबु राउतकी पत्नी बर्ष २६ की आस्था राउत कार्की एआईएचए जस्तो गम्भीर रोगबाट पीडित भएकी छिन् । विगत ३–४ महिना देखि अस्पताल भर्ना भई उपचारार्थ रहेकोमा निजको उपचारका लागि सिर्जना फाईनान्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग स्वरुप रु. १०,००० प्रदान गरेको छ । शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन क्षमता अभिबृद्धि, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम आदिमा सहयोग गर्दै आएको उक्त संस्थाले असोज १३ गते संस्थाका कार्यकारी अधिकृत भवानीशंकर चापागाञी मार्फत निजको श्रीमान् रामबाबु राउतलाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
दशैंमा मासुको अभाव हुँदैन्, मन्त्री खनाल भन्छन्-‘बजार अनुगमनमा आफैं निस्किन्छु’
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले दशैंमा मासुको कुनै अभाव नहुने आश्वस्त पारेका छन् । सोमबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री खनालले दशैंमा देशभरी कतैपनि मासुको अभाव नहुने स्पष्ट पारेका हुन् । उनले भने–‘काठमाडौं उपत्यकामा मात्रै ५५ हजार खसी बोका आवश्यकत्ता हो, ४० हजार खसी बोका आउने भैसके । अब हामीलाई पर्याप्त हुन्छ । मासुको कुनै अभाव हुँदैन् ।’ दशैं सुरु भएकोले सरकारले बजारमा अनुगमन बढाएको पनि उनले सुनाए । चाडपर्व सुरु भएसँगै आपुर्तिमा असहजता भएको, व्यापारीको मनोमानी बढेको भन्ने गुनासो आएकोले कृषि मन्त्रालय र आपुर्ति मन्त्रालयले संयुक्त अनुगमन सुरु गरेको पनि उनको भनाई छ । उनले भने–‘आपुर्ति सहज बनाउनको लागि उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले नियमित अनुगमन गरिरहेको छ ।’ काठमाडौंमा खसीको मासुको मुल्य अस्वभाविक रुपमा वृद्धि गरिएको भनेर गुनासो सुनिएकोले सरकारले खसीको मासुको मुल्यवृद्धिबारे नियमन गरिरहेको छ । ‘हामी यसबारेमा निरन्तर छलफलमा पनि छौं, सबै कुराको विचार गर्दा पनि खसीको मासुको मुल्य ११ सय भन्दा माथि जाने अवस्था छैन् । हामी कडाई गर्छौं ।’–मन्त्री खनालले भने । खनालले मासुमा नेपाल आत्मनिर्भर हुने अवस्थामा रहेको सुनाए । उनले भने–‘हामीले आफ्नै उत्पादनले ७५ प्रतिशतसम्म धान्न सक्छौं । कुखुरामा आत्मनिर्भर छौं ।’ खसी, बोकाको मासुमा आत्मनिर्भर बन्नको लागि मन्त्रालयले यसपटक जोन, सुपरजोन चलाउने, लाईभ स्टक ईनोभेसनमा पनि खसी, बोका उत्पादन र कृषिमा युवा कार्यक्रम गरेर तीन वटा कार्यक्रम सुरु गरेको उनले सुनाए । आगामी तीन वर्षभित्र नेपाल खसी, बोकामा पनि आत्मनिर्भर हुने उनको दाबी छ । आफूहरुले बजार अनुगमनको कामलाई तिव्रताका साथ अघि बढाईएको सुनाउँदै केही मिठाई पसलले गुणस्तरहीन सामान बेच्ने गरेकोले गुणस्तरीयता कायम गर्न कडा निर्देशन दिएको पनि खनालले स्पष्ट पारे । आवश्यक परे आफू पनि अनुगमनमा उपस्थित् हुने उनले विश्वास दिलाए । बजारमा कृत्रिम अभाव सिर्जना गर्नेलाई कडाभन्दा कडा कारबाही गर्ने उनको चेतावनी छ । भारत सरकारले प्याज निर्यात नगर्ने भनेर निर्णय गरेको भनेर बाहिर हल्ला भएपनि आधिकारिक रुपमा आफूहरुलाई यसबारेमा जानकारी नभएको उनले स्पष्ट पारे । उनले भने,‘भारतलाई नै अभाव भएकोले उसले निर्यात नगर्ने निर्णय गरेको सुनियो, तर आधिकारिक जानकारी छैन् ।’ नेपालमा प्याजको आपुर्ति ८० देखि ९० प्रतिशत रहेकोले प्याजमा मुल्यवृद्धि हुने संभावना देखिएकोपनि उनले सुनाए । तर, बजारमा कृत्रिम अभाव सिर्जना गर्ने कुरा मान्य नहुने भन्दै सरकार कडा रुपमा प्रस्तुत हुने मन्त्री खनालले चेतावनी दिए । आफूहरुले क्वारेन्टाईन चेकजाँच गरेर नै खशी, बोका भित्र्याउने गरेको पनि उनले सुनाए । उनले भने–‘मासु जाँच ऐन–२०५५ अनुसार हामीले अनुगमन गरिरहेका छौं । तर, आपुर्ति असहज हुँदैन् । पर्याप्त व्यवस्था गरिएको छ । ढुक्क हुन म आम उपभोक्तालाई आग्रह गर्छु ।’ भेडा, च्याङग्रा आउने हुम्ला र जुम्लालगायतका उत्तरी भेगका नाका व्यवस्थित बनाईएको पनि उनले स्पष्ट पारे । त्यस्तै, दूध, दही र घ्युको पनि पर्याप्त व्यवस्था गरिएको उनले सुनाए ।
लक्ष्मी बैंकको नयाँ मोरङ्गको रँगेली र काठमाडौँको कपनमा
काठमाडौँ । लक्ष्मी बैंकले मोरङ्गको रँगेली र काठमाडौँको कपनमा नयाँ शाखा संचालनमा ल्याएकोे छ । यी शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा ११५शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४०एटिएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६४शाखा रहित बैंकिङ्ग एजेन्टहरु रहेको जनाइएको छ ।
सिटी एक्सप्रेसले मानव सेवा आश्रमलाई १२ सय थान ज्याकेट सहयोग गर्ने, प्रधानमन्त्रीद्वारा सम्मानित
काठमाडौँ । सिटी एक्सप्रेस ग्रुपले मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । भक्तपुर स्थित मानव सेवा आश्रमको १६ औँ आश्रम उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनले सम्मान ग्रहण गरे । समाजको सकरात्मक रुपान्तरण एवम् मानवीय सेवाको कार्यमा मानव सेवा आश्रमले पुर्याउदै आइरहेको योगदानको कदर गर्दै आश्रमलाई सम्मान गरिएको हो । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमाआफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्टहरुबाट ७००० भन्दा बढी नेपालका एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ । सिटी एक्सप्रेस ग्रुप अन्तर्गत मनि ट्रान्सफर, फाउन्डेशन, फाईनान्स, आईटी कम्पनी, टे«िडङ्ग, म्यानेजमेन्ट लगायतथुप्रै कम्पनीहरु आबद्ध छन् ।
पर्यटन वर्षको मुखैमा होटल मजदूरको आन्दोलन घोषणा, आफ्नै सरकारलाई असहयोग गर्दै जिफन्ट
काठमाडौं । पर्यटन वर्ष २०२० नजिकिँदै गर्दा होटल तथा रेष्टुरेन्ट व्यवसायी भने आन्दोलनमा उत्रिएका छन् । श्रम सम्बन्धमा लामो समयसम्म देखिएको सौहार्दतालाई तोड्दै सरकार समर्थित नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन जिफन्ट अन्तर्गत रहेको नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेन्ट मजदूर युनियन आन्दोलनमा उत्रिएको हो । उनीहरुले विभिन्न ५ बुँदे माग सरकार र व्यवसायीहरुसँग राख्दै सो अवधिभित्र माग पूरा नभए सम्पूर्ण होटल तथा रेष्टुरेन्टहरु बन्द गर्ने चेतावनी समेत दिएका छन् । युनियनले सरकारले तोकेको न्यूनतम पारिश्रमिकको ग्यारेन्टी, होटल तथा रेष्टुरेन्ट मजदूरहरुको सामाजिक सुरक्षा कोषमा सहभागिताको सुनिश्चितता, क्यासिनोका मजदूरहरुलाई घटाइएको सुविधा फिर्ता, मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरुका लागि विशेष व्यवस्था, होटल संघसँग भएको सहमतिको कार्यान्वयन र पर्यटन वर्षको व्यवस्थापन सकितिमा श्रमिकको प्रतिनिधित्वको सुनिश्चितताको माग गर्दै २१ दिने अल्टिमेटम दिएको हो । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युनियनले आफ्ना मागहरु पूरा नभए कडा आन्दोलनमा उत्रिएर देशभरका होटल ठप्प पार्ने चेतावनी दिएका हुन् । होटल तथा रेष्टुरेण्टमा काम गर्ने श्रमिकहरु न्युनतम सात आठ हजारमा काम गर्न बाध्य भएको बताउँदै युनियनले त्यस्ता श्रमिकहरुको लागि सरकारले यथासिघ्र रुपमा ऐन लागु गर्नु पर्ने बताएको छ । युनियनले विभिन्न मागहरु प्रस्तुत गर्दै होटलहरुमा काम गर्ने श्रमिकहरुको रोजीरोटी र सेवासुविधाको सुनिश्चितता सहित दश प्रतिशत सेवा शुल्कलाई समेत क्यासिनोमा लागु गर्ने, महिला श्रमिकहरुको हक हितका र अधिकार सुनिश्चितता सहित थप जिम्मेवार र व्यवस्थित बनाउने जस्ता मागहरु प्रस्तुत गरेको हो । युनियनका अध्यक्ष सुर्य बहादुर कवँरले श्रमिकको १० प्रतिशत सेवा शुल्क कार्यान्वन गराउन हानले वेवास्ता गरेको बताउँदै २१ दिन भित्र लागु नगरे बडा आन्दोलनमा उत्रिने बताए । उनले नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० सफल पार्न श्रमिकहरुको प्रतिनिधित्व हुने गरी व्यवस्थापन गर्न माग गरेको बताए ।
खसीबोका तथा च्याङ्ग्रा बिक्री शुरु, खसीबोका प्रतिकेजी ५ सय ६० रुपैयाँ, च्याङ्ग्राको कति ?
काठमाडौं । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका तथा च्याङ्ग्रा बिक्री शुरु गरेको छ । जीउँदो खसीबोकाको प्रतिकिलो ५ सय ६० रुपैयाँमा र च्याङ्ग्राको ७ सय ४० रुपैयाँ मूल्य निर्धारण गर्दै बिक्री शुरु गरेको हो । कम्पनीले बजार मूल्य भन्दा प्रतिकिलो १० रुपैयाँ छुट दिने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए । दशैंलाई लक्षित खसीबोका ११ सय वटा र च्याङ्ग्रा १९ सय वटा उपत्यकामा भित्र्याइएको सोमबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । खाद्य संस्थानको थापाथलीस्थिति बाग्मती अञ्चल कार्यालय (सदन धान गोदाम)बाट खसी, बोका तथा च्याङ्ग्राको बिक्री शुरु गरेको छ । सरकारले दशैँका समयमा उपभोक्तालाई थोरै भए पनि राहत दिन विगतमा झैँ यसपटक पनि खसी, बोका तथा च्याङ्ग्रा बिक्री गरेको हो । कम्पनीले च्याङ्ग्रा मुस्ताङबाट खरिद गरेर ल्याएको हो । ती च्याङ्ग्रा चार दिन हिँडाएर ल्याएको बताइएको छ । कम्पनीले मुस्ताङबाट च्याङ्ग्रा र मकवानपुर तथा दाङबाट एक हजार खसीबोका खरिद गरेको हो । सरकारले सिधै किसानको गोठबाट खरीद गर्दा उनीहरुले पनि उचित मूल्य पाएको कम्पनी जनाएको छ ।