विकासन्युज

राष्ट्रिय वाणिज्य बैंकबाट ६७४ जनाले लिए सहुलियतपूर्ण कर्जा, महिला उद्यमीतर्फ मात्रै ६० प्रतिशत

काठमाडाैं । सरकारले ल्याएको सहुलियतपूर्ण कर्जा लिनेको संख्या हालसम्म ६ सय ७४ पुगेको छ । केही सीप भएका र आत्मनिर्भर बन्न चाहनेहरुलाई मध्येनजर गर्दै ल्याएको सहुलियतपूर्ण कर्जा लिनेको संख्या ६ सय ७४ पुगेको राष्ट्रिय वाणिज्य बैंकले जनाएको हो । तिनीहरुलाई करिब ६० करोड रुपैयाँ कर्जा वितरण गरिसकेको बैंकले जनाएको छ । गत वर्ष सरकारले कृषि तथा  पशुपंछीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्धन गरी उत्पादन एवमं रोजगारी अभिबृद्धि गर्न, शिक्षित वेरोजगारी युवालाई मुलुकभित्र रोजगारीको अवसर सिर्जना गर्न, आर्थिक रुपमा विपन्न समुदाय र विद्यार्थीलाई उच्च र प्राविधिक शिक्षा अध्ययनका लागि ऋण उपलब्ध गराउने लगायत शिर्षकका लागि सरकारले सहुलियतपूर्ण कर्जा कार्यविधि ल्याएको थियो । यस्तै महिला उद्यमशीलको विकास गर्न पनि सहुलियतपूर्ण कर्जा ल्याएको थियो । हालसम्म महिला उद्यमशिलता तर्फ मात्र ४ सय १० जनाले सहुलियतपूर्ण कर्जा लिएका छन् । जसको ६०  प्रतिशत हुन आउँछ । महिलाहरुले मात्रै हाल सम्म ४० करोड ६२ लाख कर्जा लिएको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बताए । ‘सबै प्रदेशमा सन्तुलित रुपमा कर्जा प्रवाह भएको छ’ उनले भने, महिलाका लागि मात्रै ६० प्रतिशत जानु ठुलो उपलब्धि हो, सात वटै प्रदेशका सबै ग्रामिण भेगमा बढी कर्जा प्रवाह भएकाे छ ।’ जसको परियोजना मापदण्ड ठीक छ उसैलाई कर्जा उपलब्ध गराएको बताउँदै उनले यसलाई अझै प्रभावकारी बनाउन जनशक्ति थपिने बताए । यसैगरी महिलाहरूको पुनरुत्थान र सबलीकरणका लागि विभिन्न जिल्लामा लागू भएको महिला उद्यमशीलता कर्जा पनि बिना धितोमा ६ प्रतिशत ब्याजमा दिइएको बताए । कतिपय कर्जा लिनकै लागि व्यवसाय दर्ता गर्ने र देखावटी व्यवसाय गर्ने, रकम प्राप्त गरिसकेपछिका दिनहरूमा व्यवसाय सञ्चालन गर्न छाड्ने प्रवृत्ति देखिएको छ । यसको अन्त्यका लागि बैंकले परिपक्क निर्णय बनाएर सिस्टमेटिक तरिकाले अगाडी बढेको उनले बताए । सरकारले सात कर्जाहरु घोषणा गरेको थियो । जसमा व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा तर्फ ५ करोड, विदेशबाट फर्केका युवा परियोजना कर्जा १० लाख, महिला उद्यमशील कर्जा १५ लाख, दलित समुदाय व्यवसाय विकास कर्जा १० लाख, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा ५ लाख र भूकम्पपीडितहरूको निजी आवास निर्माण कर्जा ३ लाख रुपैयाँसम्म  रहेको छ । बैंकहरुले आफ्नो आधार दरमा २ प्रतिशत बिन्दुमाथिसम्म मात्र यस्तो ऋणको ब्याजदर तोक्न पाउने सरकारी कार्यविधिमा उल्लेख छ । राष्ट्रिय वाणिज्य बैंकको हालको आधारदर ५.६० प्रतिशत कायम छ । यसमा २ प्रतिशत बिन्दू जोड्दा ब्याज ७.६० प्रतिशत कायम हुन्छ । महिला उद्यमीहरुले लिने ब्याजमा ६ प्रतिशत अनुदान दिइएका कारण उनीहरुले १.६० प्रतिशतमै कर्जा पाउने छन् । र अन्यमा भने ५ प्रतिशत सरकारी अनुदान दिइएकाले २.६० प्रतिशत ब्याजमै बैंकहरूले ऋण उपलब्ध गराउँदै आएका छन् । बैंकले बैंकिङ्ग क्षेत्रको विस्तार, वित्तीय पहुंचको लागि वित्तीय साक्षरता, बैंकलाई प्रतिस्पर्धी बनाएर युवाहरु लक्षित बैंकिङ्ग कारोबार संचालन, प्राथमिकता क्षेत्र तथा विपन्न वर्गमा कर्जा प्रवाह गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सघाउ पुग्ने गरी बैंकिङ्ग सेवाहरु प्रदान गरिरहेको छ । सीईओ श्रेष्ठले एक अर्ब ४६ करोड रूपैयाँसम्म बैंकले कर्जा दिन सक्ने बताए । बैंकले गत आव २०७५/०७६ मा ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैंया, कर्जा १ खर्ब ४४ अर्ब रुपैंया रहेको छ । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०५ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

२ अर्ब लगानीमा नर्भिक हस्पिटलको नयाँ भवन बन्दै

काठमाडौं। नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो अत्याधुनिक सुविधासम्पन्न थप नयाँ हस्पिटल भवन निर्माणार्थ शुक्रबार “भूमिपूजन” तथा भवन निर्माणको शिलान्यास गरेको छ। नयाँ भवनको निर्माण पश्चात् नर्भिक २०० शैयायुक्त अत्याधुनिक सुविधासम्पन्न र पूर्वाधारयुक्त हस्पिटलका रुपमा परिणत हुने र यो चिकित्सा फाँटका तेस्रो पुस्ताको अति विशिष्ट प्रविधि र साधन–सुविधाले सुसज्जित हुने र विश्वस्तरीय स्वास्थ्य सेवा पु¥याउन आवश्यक पर्ने सवै आधुनिक साधन–सुविधा हरु जडित हुने बताईएको छ। नवीनतम् हस्पिटल भवन निर्माणार्थ भूमि पूजन तथा भवनको शिलान्यास एक विशेष समारोह बीच हस्पिटल परिसरमा शुक्रबार अपरान्ह हस्पिटलका अध्यक्ष वसन्त कुमार चौधरीले गरेका थिए। नयाँ भवनको प्रस्तावित निर्माण क्षेत्र १ लाख ५४ हजार वर्गफिट हुने र जग्गा वाहेक परियोजनाको जम्मा लागत करिव  दुई अर्ब हुने बताइएको छ। अत्याधुनिक नयाँ भवन निर्माण परियोजना आगामी तीन बर्षभित्र सम्पन्न भइसक्ने अस्पतालले जानकारी दिएको छ। नेपाली चिकित्सा फाँटमै नवीनतम् यस परियोजनाको डिजाइन नेपाली आर्किटेक्चर र परियोजना व्यवस्थापन कम्पनीहरु मध्येको अग्रणी कम्पनी–केज कन्सल्ट (प्रा.) लि. ले गरेको छ भने निर्माण हुने नवीनतम् भवनको आन्तरीक साज–सज्जाका सम्पूर्ण कार्यहरु सिङ्गापुरको एक ख्यातिप्राप्त कम्पनीले गर्नेछ। वि.सं. २०५० मा काठमाडौंमा स्थापित नर्भिक इन्टरनेशनल हस्पिटल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा ख्यातिप्राप्त एक उत्कृष्ट हस्पिटल रहँदै आएको छ । नेपाली स्वास्थ्य सेवाका फाँटमा नर्भिकको प्रवेश पश्चात् स्तरीय स्वास्थ्य सेवाका लागि ठूलो धनराशी सहित विदेसिनुपर्ने नेपालीहरुको वाध्यतालाई न्यूनीकरण गर्न नर्भिकले ठूलो सहयोग पुर्याउँदै आएको छ।

मेलम्ची आयोजनाको काम के के हुँदैछ ?

मेलम्ची खानेपानी आयोजनाको पानी वितरणका लागि आवश्यक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मुख्य पाइप विस्तार ७७ किलोमिटरमध्ये झण्डै साढे ७४ किलोमिटर सकिएको छ भने बाँकी काम छिट्टै अघि बढ्नेछ । यद्यपि मेलम्ची आयोजनाको निर्माण कार्य भने ९५ प्रतिशत पूरा भै सकेको छ । मेलम्चीको सहायक परियोजना–१ अन्तर्गत सुरुङ निर्माण हुँदै प्रशोधन केन्द्रसम्मको निर्माण रहेकामा दोस्रो चरणमा प्रशोधन केन्द्रबाट पानी उपभोक्ताको घर–घरसम्म पु¥याउने काम भै रहेको छ । सन् २०११ देखि आयोजनाले मुख्य, सहायक र वितरण पाइप बिच्छ्याउने काम गरिरहेको छ । पानी सङ्कलनका लागि विभिन्न १० स्थानमा ट्याङ्की निर्माण भइरहेको छ । मेलम्चीको पानी दुई चरणमा गरी काठमाडौँ उपत्यका ल्याउन लागिएकामा अहिले पहिलो चरणमा भित्रने १७ करोड पानी सङ्कलन, वितरण हुँदै फोहर पानी प्रशोधनका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको हो । यस चरणमा चक्रपथभित्रका एक लाख १० हजार घरधुरीमा पानी वितरण हुनेछ । काठमाडौँका चोकहरुमा एउटा दिशाबाट अर्का दिशामा पाइप लैजानका लागि ‘क्रसिङ’ गर्नुपर्नेमा अधिकांश स्थानमा सकिएको मेलम्ची खानेपानी आयोजना, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । पुतलीसडक, कलङ्की, दरबारमार्गलगायत नौ चोकमा निर्माण गर्न बाँकी रहेकामा यी स्थानमा अब अघि बढ्ने परियोजना निर्देशक भोजविक्रम थापाले बताए । यी स्थानमा सवारी आवागमनमा बाधा पुग्ने भनी ‘क्रसिङ’ निर्माण नभए पनि अहिले निर्माणका लागि सहमति भइसकेको थापाको भनाइ छ । थापाका अनुसार सडक विभागसँग सहमति लिइसकेकाले अब चाँडै शुरु हुनेछ । मेलम्चीको पानी आएपछि पानी भण्डारणका लागि १० वटा ‘रिजर्भ ट्याङ्की’ निर्माण गर्ने आयोजनाको योजना रहेको थियो जसमध्ये नौ स्थानमा निर्माण भइसकेको आयोजना प्रमुख थापाले बताउनुभयो । यी सबै स्थानमा सात करोड ४५ लाख लिटर क्षमताको ट्याङ्की निर्माण भएको हो । भक्तपुरको कटुञ्जेमा विवादका कारण निर्माण हुन नसकेकामा अहिले विवाद समाधान भइसकेकाले छिट्टै निर्माण शुरु हुने उनको भनाइ छ । यस स्थानमा डेढ किलोमिटर पाइप निर्माणसमेत अघि बढ्न नसकेकामा अब अघि बढाइने उनले । आयोजनाले मुख्य, सहायक र वितरण गरी तीन किसिमका पाइपलाइन बिच्छ्याइरहेको छ । जसमध्ये घर–घरमा पुग्ने वितरण पाइप जडानको काम झण्डै ८९० किलोमिटर सकिएको र झण्डै २०० बाँकी रहेको आयोजनाले जनाएको छ । पाइप लाइन विस्तारसँगै आयोजनाले पाइपहरुको जाँच गरिरहेको निर्देशक थापाले बताए । अहिले वाग्मतीको पानी प्रशोधन केन्द्रमा प्रशोधन गरेर नयाँ जडान भएका पाइपहरुको जाँच भइरहेको हो । नियमितरूपमा भने काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पुरानै पाइपमार्फत वितरण गरिरहेको छ । १०० वर्षभन्दा पुराना पाइपहरु जीर्ण अवस्थामा छन् । ठाउँ–ठाउँमा ‘हेभी’ गाडीका कारण पाइपमा समस्या आइरहँदा मर्मत गरेर सञ्चालन गरिएको थापाको भनार्इ छ । “कतिपय स्थानमा पाइप माटोमा नै परिणत भइसकेको छ, मेलम्चीको बाँकी काम सकिएर पानी वितरण गर्न शुरु भए पनि यी पाइप पूर्णरूपमा प्रयोगमा आउँदैन ।” आयोजनाअन्तर्गत नै पाइप विस्तारका लागि खनिएका सडकहरु मर्मतका कामसमेत आयोजनाले गरिरहेको छ । सडक विभागको अधिकार क्षेत्रअन्तर्गत पर्ने सडक विभागले र स्थानीय तहको अधिकार क्षेत्रमा पर्ने सडकको मर्मतको काम परियोजनाले गरिरहेको छ । मेलम्चीको पानी आएपछि त्यसको व्यवस्थापनका लागि आयोजनाले नै चार स्थानमा पाँच वटा फोहर पानी प्रशोधन केन्द्रको निर्माण गरिरहेको छ । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणको काम कम मात्रै बाँकी रहेकाले आयोजनाले वितरणका लागि आवश्यक पूर्वाधारका कामलाई तीव्रता दिइएको हो । सरकारले आयोजनाको बाँकी रहेको भनिएको पाँच प्रतिशत काम सम्पन्न गर्ने गरी चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता गरेको थियो । उक्त कम्पनी साइटमा गएसँगै कामले गति लिने देखिएको छ । आयोजनाको जम्मा कामको ९५ प्रतिशत काम सम्पन्न भइसकेकाले बाँकी पाँच प्रतिशत कामका लागि ठेक्का सम्झौता भएको हो । दुई महीना पहिले १५ महीनामा काम गर्ने गरी सम्झौता भएको थियो । कम्पनीले काम शुरु गरेको दिनदेखि १५ महीनामा काम सम्पन्न गर्ने गरी सम्झौता भएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । सरकारले बाँकी काम सकेसम्म चाँडो सम्पन्न गर्ने लक्ष्य लिएको पन्तले बताए । कम्पनीलाई चाँडो काम सम्पन्न गर्दा प्रतिदिन ०.१५ प्रतिशतले लाभांश दिने सरकारको योजना छ ।

विश्वमै उत्कृष्ट ब्राण्ड पाएको नेपाली कफीको उत्पादनमा कमी, १८ बाट झरेर छ टनमा

अर्घाखाँची । विश्वमै उत्कृष्ट ब्राण्ड पाएको यहाँको कफीमा पछिल्लो चार वर्षदेखि उप्पादनमा कमी आएको छ । चार वर्ष पहिला १८ टन कफी उत्पादन भएकामा गबारोले कफीका बोट मरेपछि गएको वर्ष उत्पादन घटेर छ टनमा झरेको  हाे । बजारको सुनिश्चित, मनग्य आम्दानी र सजिलैसँग खेती गर्न सकिने भएपछि अर्घाखाँचीका कृषकहरु छ वर्षदेखि कफीखेतीमा आकर्षित भएका थिए । विसं २०७० देखि झण्डै १२ टन कफी उप्पादनमा कमी आएको जिल्ला कफी व्यवसायी सङ्घका कोषाध्यक्ष पुष्करनाथ बन्जाडेले बताएका छन् । गबारोले कफीका बोटमा आक्रमण गरी ध्वस्त पारेपछि पकेट क्षेत्रका रुपमा रहेका सन्धिखर्क नगरपालिकाका अर्घा, किमडाँडा र बाङ्गला, छत्रदेव गाउँपालिकाका ठूलापोखरा र बल्कोट, भूमिकास्थान नगरपालिकाका धारापानी र ढाकाबाङग, शीतगङ्गा नगरपालिकाका ठाडा र सीतापुरलगायतका ठाउँमा उत्पादनमा कमी आएको हो । यहाँ विसं २०५८ देखि कफी व्यवसायी सङ्घ स्थापना गरी, व्यावसायिक रूपमा व्यवसाय शुरु गरिएको हो । विसं २०६०÷६१ मा जिल्लाका विभिन्न स्थानमा ४१ समूह गठन गरी एक हजार १६५ सदस्य रहेका बजान्डेले बताएका छन् । जिल्लामा उत्पादन भएको अग्र्यानिक र पार्चमेन्ट कफी कोरिया, अमेरिका र जापानमा निर्यात भएको छ । जिल्ला कफी व्यवसायी सङ्घले सघाउँदै सङ्कलन गरिदिएपछि नेपाली कफीको विदेशमा बजारीकरण हँुदै आएको हो । नेपालमा सात वर्ष पहिले भएको ३२ देशका कफी व्यवसायीको तालीममा कप टेष्ट गर्दा पनि नेपालकै अर्घाखाँची र गुल्मीको कफी स्वादिलो भएको प्रमाणित भएको तालिममा सहभागी बजान्डेको भनाइ छ । विश्वमा नेपालको कफी उत्कृष्ट भएर माग बढ्दै गएकाले, कफी खेतीलाई व्यवस्थित बनाएर उत्पादनमा वृद्धि गर्न, कफी कृषक लागेका छन् । करिब १.०९ हेक्टर जमिनमा कफी खेती हुँदै आएको कृषि ज्ञान केन्दले जनाएको छ । गवारो नियन्त्रणका लागि प्रयास भइरहेको जिल्ला कृषि ज्ञान केन्द्रका थीरलाल गैरेले बताए । यस वर्ष पनि गएको वर्षको हाराहारीमै कफी उत्पादन हुने अपेक्षा गरिएको छ । पूर्णरूपमा गबारो नियन्त्रण नभए पनि भाउ राम्रो र बजारका लागि कतै धाउनै नपर्ने भएपछि कृषक झन् उत्साहित बनेका उनको भनाइ छ । कफीका लागि छहारी व्यवस्थापन र गबारो नियन्त्रणसम्बन्धी सीप सिकाउन सरकार तथा कुनै सङ्घ संस्थाले पहल गरेमा कृषकलाई ठूलो राहत हुने ठूलापोखराका कृषक कृष्णप्रसाद पाण्डेले जानकारी गराए । कफी उत्पादन दुई वर्षदेखि घट्दै गएको र कफीका बिरुवा लगाउँदा कृषकले छहारीमा लगाउनुको सट्टा नाङ्गो जमीनमा लगाउँदा र चिस्यान बारीको सट्टा सुक्खा जमिनमा लगाउँदा गबारो लाग्ने सम्भावना बढी हुन्छ । समुद्री सतहदेखि ८०० मिटरको उचाइमा हुने कफी बढी स्वादिले हुने भएपछि यहाँको कफीले अन्तरराष्ट्रिय स्तरमा राम्रो बजार पाएको छ ।

यातायातको भाडादर निर्धारणलाई वैज्ञानिक बनाउन सरकारद्वारा अध्ययन शुरु

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडादर निर्धारणलाई वैज्ञानिक बनाउन अध्ययन शुरु गरेको छ । अहिलेसम्म ३५ प्रतिशत पेट्रोलियम पदार्थ र ६५ प्रतिशत जनशक्तिवापत लाग्ने खर्च र सवारीसाधनमा प्रयोग हुने उपकरणलगायतलाई आधार बनाएर भाडादर निर्धारण हुँदै आएकामा यही आधार ठीक हो–होइन भनी निक्र्यौल गर्न अध्ययन थालिएको यातायात व्यवस्था विभागले जनाएको छ । एक दशक पहिलेदेखि शुरु भएको भाडादरको आधारमा पुनरावलोकन गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताएका छन् । उहाँले भन्नुभयो, “केही महिनाभित्रमा त्यसको अध्ययन हुनेछ ।” अहिलेसम्म सरकारले १८सूचकलाई आधार बनाएर भाडा निर्धारण गर्दै आएको थियो । ती सूचकहरु बढ्न वा घट्न सक्ने उनको भनाइ थियो । भाडा निर्धारण सूचकमा पुनरावलोकन भएपछि मात्रै भाडा समायोजन गरिने महानिर्देशक हमालले बताए । यातायात व्यवसायी महासङ्घले सरकारले समय समयमा भाडा समायोजन गर्नुपर्नेमा जोड दिँदै आएको थियो । पेट्रोलियम पदार्थका मूल्यलाई आधार बनाएर भाडा समायोजन भए पनि सवारी साधनका उपकरण र जनशक्तिको सुविधाका आधारमा लामो समयसम्म भाडादर समायोजन हुन नसकेको बताइएको छ । रासस

प्रदर्शन स्थलबाटै १८ लाख डलरको हीरा चाेरी

टोकियो । जापानी प्रहरीले शुक्रबार १८ लाख अमेरिकी डलरभन्दा बढीको चोरी भएको हीराको खोजीलाई तिव्र बनाएको छ । यो हीरा राजधानी टोकियो बाहिर आयोजित गरगहना व्यापार प्रदर्शनीका क्रममा हराएको थियो । टोकियोका प्रहरी प्रवक्ताले प्रदर्शन स्थलबाट चोरी भएको बहुमूल्य हीरा खोज्न प्रहरी परिचालन गरिएको जानकारी दिएका छन् । योकोहामा शहरमा तीन दिने गरगहना प्रदर्शनीका क्रममा हीरा चोरिएको हो । यो हीरा करिब ५० क्यारेटको थियो । यहाँ जापान, रुस, चीन र अरु मुलुकका बहुमूल्य गरगहना प्रदर्शनमा राखिएका थिए । जापानको सरकारी टेलिभिजन एनएचकेका अनुसार जापानी कम्पनीको यो हीरा चोरिएपछि प्रदर्शनी स्थलमा खैलाबैला भएको थियो । रासस

तिलोत्तमा नगरपालिकाद्वारा दुग्ध उत्पादक किसानलाई नगद अनुदान

रुपन्देही । तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा नगद अनुदान वितरण गरेको छ । दूधमा आत्मनिर्भर उक्त नगरपालिकाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान कार्यक्रम अघि बढाएको हो । नगरपालिकाले दुई वर्षदेखि पशु बीमा रकममा ५० प्रतिशत अनुदान पनि दिँदै आएको छ । अनुदानमा साना किसानको पहुँच बढाउँदै दुग्ध उत्पादनमा प्रोत्साहन गर्न अनुदान कार्यक्रम ल्याइएको नगरप्रमुख वासुदेव घिमिरेले बताएका छन् । नगरपालिकाले चालू आर्थिक वर्षमा दुग्ध उत्पादक किसानलाई प्रतिलिटर रु एकका दरले अनुदान दिनेगरी दुग्ध उत्पादक सहकारीमार्फत किसानलाई अनुदान दिने व्यवस्था मिलाएको हो । किसानले एक वर्षमा जति लिटर दूध सहकारीमार्फत बिक्री गर्छन् सोहीअनुसार अनुदान प्राप्त गर्ने उपप्रमुख जागेश्वरी चौधरीले बताए । अनुदानलाई व्यवस्थित बनाउन सरोकारवालाहरुसँगको परामर्शमा नगरपालिकाले प्रोत्साहन रकम वितरण कार्यविधि जारी गरेको छ । तिलोत्तमामा हाल १९ दुग्ध उत्पादक सहकारी छन् । सहकारीको पछिल्लो आर्थिक वर्षको प्रतिवेदनकोे आधारमा किसानलाई नगद अनुदान दिनेगरी व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले जानकारी दिएका हुन् । शुक्रबार आयोजित एक कार्यक्रममा नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ को दूध सङ्कलन विवरणको आधारमा दूध उत्पादन अनुदान वितरण गरेकामा विभिन्न १४ सहकारीले शुक्रबार अनुदान रकम प्राप्त गरेका छन् । बाँकी सहकारीले आवश्यक प्रक्रिया पूरा गरेपछि अनुदान रकम प्राप्त गर्ने नगरपालिकाले जनाएको छ । नगरमा वार्षिक रु ५० लाख लिटर बढी दूध उत्पादन हुने गरेकामा गत आर्थिक वर्षमा सहकारीले कूल रु ३८ लाख ८५ हजार लिटर दूध सङ्कलन गरेका थिए । नगरको टिकुलिगढ दुग्ध उत्पादक सहकारीले वार्षिक सात लाख लिटरभन्दा बढी दूध सङ्कलन गर्दै आएको छ । सहकारीमार्फत तीन हजार बढी किसानले दूध बिक्री गर्ने गरेको र २७ केन्द्रमा दूध सङ्कलन हुने गरेको सहकारीले उपलब्ध गराएको तथ्याङ्कमा जनाइएको छ । सहकारीले अनुदान रकम किसानलाई भुक्तान गरी त्यसको भर्पाई विवरण नगरपालिकालाई बुझाउनुपर्नेछ । यो व्यवस्थाले तल्लो तहका किसानमा समेत अनुदानको पहुँच पुग्ने नगरपालिकाको विश्वास छ । शङ्करनगर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष प्रेमबहादुर भण्डारीले गरीब किसानलाई समेत पुग्नेगरी नगरपालिकाले गरेको अनुदान व्यवस्था अत्यन्त प्रशंसनीय रहेको बताए । अनुदान वितरण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तिलोत्तमा नगर कमिटी सचिव लक्ष्मण खनाल, जिल्ला दुग्ध उत्पादक सङ्घका अध्यक्ष लेखनाथ पाण्डे, पञ्चामृत सहकारी संस्थाका अध्यक्ष माधव पाठकलगायतले नगरपालिकाको अनुदानले सबै किसानलाई लाभ पुग्ने भएकाले उत्पादनका आधारमा अनुदान वितरण प्रणाली उपर्युक्त रहेको जानकारी दिएका छन् । उनीहरुले सबै किसानको पहुँच पुग्नेगरी अनुदान वितरण गरेर तिलोत्तमाले राम्रो काम प्रारम्भ गरेको बताउँदै दूधको लागत घटाउने अन्य कार्यक्रम पनि शुरु गर्नुपर्नेमा जोड दिएका छन् । नगरपालिकाले गाईभैँसीको गोठ सुधार, घाँसखेती, पशुको कृत्रिम गर्भाधान, पशु खोपलगायत कार्यक्रम पनि चलाइने जनाएको छ । रासस

राष्ट्रिय वाणिज्य बैंक र सक्षमबीच सहुलियतपूर्ण कर्जामा सहमति

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक र युके एड सक्षम एक्सिस टु फाइनान्सबीच सहुलियतपूर्ण कर्जामा सहमति भएकाे छ ।   शुक्रबार बैंकले पत्रकार सम्मेलनको आयोजना गर्दै गोरखा र धादिङ जिल्लाका भुकम्प पीडितलाई सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सहमति  भएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको उपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र सक्षम एक्सिस टु फाइनान्सका टिम लिडर निर्मल दाहालले हस्ताक्षर गरेका छन् । २०७२ सालको भुकम्पले क्षति पु¥याएका धादिङ र गोरखाका ६ पालिकाहरुका भुकम्प पीडितहरुलाई उपलब्ध गरिने बताइएको छ । धादिङका धुनिबेँशी, नीलकण्ठ र ज्वालामुखी गाउँपालिका र गोरखाका गोरखा नगरपालिका, पालुङटार नगरपालिका र सहिदलखन गाउँपालिकाका भुकम्प पीडितलाई सहुलियत कर्जा उपलब्ध गरिने बताए । यस्तै सम्झौतापछि प्रदेश नम्बर २, ५ कर्णाली र सुदूरपश्मि प्रदेशकमा दुर्गम जिल्लाहरुमा बैंकले सक्षमसँग मिलेर सामाजिक सुरक्षा कोषको भुक्तानी बैंक मार्फत गर्नको लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्नेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पश्चात राज्यले लिएकाे नीति तथा कार्यक्रममा सहयोग पुग्ने गरी जनताको जीवनस्तरमा परिवर्तन आउने गरी बैंकले भुकम्प पीडितलाई सहुलियत रुपमा कर्जा लगानी गरिने बताए । यस्तै सक्षमका टीम लिडर निर्मल दाहालले यो सम्झौतले भुकम्प पीडितहरुले धेरै सहयोग पुग्ने बताए । उनले भुकम्प पीडितहरुलाई कर्जाको ब्याजदरमा कसरी सहुलियत गर्ने भन्ने कुरामा बारम्बार छलफल हुँदा अहिले आएर सम्झौता भएको बताए ।  अहिले  राष्ट्रिय वाणिज्य बैंकबाट सहुलियतपूर्ण कर्जा लिनेले २.६ प्रतिशत ब्याजमा कर्जा पाइरहेका छन् ।