सीमा विवादको कुरालाई प्राथमिकता दिने भन्दै डा. केसीले तोडे अनसन
काठमाडौं। नौ दिन देखी डडेलधुरामा अनसनरत डा. केसीले अनसन तोडेका छन्। डडेलधुरामा पत्रकार सम्मेलन गर्दाै डा. केसीले अनसन तोडेका हुन्। कार्तिक १८ गते सोमबार देखी अनसनरत डा. केसीले ४ बर्ष स्यान्जु जैरुबाट जुस पिएर अन्सन तोडेका हुन्। केसीले अहिले भारतले नेपाली भुमी कालापानी, लिपुलेख र लिम्पियाधुरा आफ्नो नक्सामा समेटेर सिमा मिचेकाले राष्ट्रियताको लागि एक हुन अनसन स्थगित गरेको बताएका छन्।
नेपाल टेलिकमको बल्क एसएमएस सेवाः एकै पटक धेरै जनालाई सन्देश पठाउन उपयोगी
काठमाडौँ । नेपाल टेलिकमले एकै पटकमा धेरै जनालाई एकै प्रकारको सन्देश अर्थात् एसएमएस पठाउनका लागि बल्क एसएमएस सुबिधा उपलब्ध गराएको जनाएको छ । यो सेवा विशेष गरी धेरै सदस्य वा ग्राहकसँग नियमित सम्पर्क गर्नुपर्ने व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्था, वित्तीय संस्था, पर्यटन व्यवसायी, सरकारी, अर्ध सरकारी र गैरसरकारी निकायलगायतका संघ÷संस्थाहरुका लागि बढी उपयोगी छ । व्यक्तिगत प्रयोजनका रुपमा एकैपटक धेरै व्यक्तिहरुलाई एसएमएस (छोटो सन्देश) पठाउनका लागि पनि यो उपयोगी हुन्छ । संघ÷संस्थाहरुले नेपाल टेलिकमको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालय, विभिन्न ठाउँमा रहेका निर्देशनालय मार्फत र व्यक्तिगत उपभोक्ताले कम्पनीको अनुमति प्राप्त भ्यालु एडेड सर्भिससेवा प्रदायक संस्थासँग सम्पर्क गरी सेवा प्राप्त गर्न सकिन्छ । यस सम्बन्धी सेवा उपलब्ध गराउन चाहने सेवा प्रदायकले आफ्नो प्रस्ताव र अन्य कागजातका साथ प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा सम्पर्क राख्नु पर्दछ । यो सेवा प्रिपेड प्रकृतिको भएको हुनाले एसएमएस संख्याका आधारमा लाग्ने शुल्क भुक्तानी गरिसकेपछि युजर नेम र पासवर्ड उपलब्ध हुनेछ । युजर नेम तथा पासवर्ड प्राप्त गरेपश्चात टेलिकमको वेबसाइट प्रयोग गरी यो सेवा उपभोग गर्न सकिन्छ । ग्राहक स्वयम्ले आफ्नो समूहभित्र रहेका नेपाल टेलिकमका जीएसएम तथा सीडीएमए दुवै किसिमका पोष्टपेड तथा प्रिपेड मोबाइल नम्बरमा एउटा एसएमएस बराबर अंग्रेजीमा १४० अक्षर तथा युनिकोडमा ७० अक्षर पठाउन सकिन्छ । वेब सुविधा नभएका ग्राहकहरुले पठाउन चाहेको सन्देश र पठाउनु पर्ने मोबाइल नम्बरहरु उपलब्ध गराएमा कम्पनी वा सेवाप्रदायकले एसएमएस पठाइदिने सुविधा पनि उपलब्ध छ । नेपाल टेलिकमबाट यो सेवा लिन चाहने संघ-संस्थाले मासिक न्यूनतम १ हजार ५ सय एसएमएस पठाउनु पर्ने हुन्छ । सो भन्दा कम एसएमएस पठाउन चाहने संघ/संस्थाले कम्पनीबाट अनुमति प्राप्त सेवा प्रदायकहरुसँग सम्पर्क गरी लाभ लिन सकिने छ र एसएमएस संख्याको आधारमा शुल्क निर्धारण गरिएको छ ।
युनाइटेड इन्स्योरेन्सको एजीएमले सञ्चालक समितिलाई दियो मर्जर सम्बन्धी अख्तियारी
काठमाडौँ । युनाईटेड ईन्स्योरेन्स कं.(नेपाल) लि.को २५ औ बार्षिक साधारण सभा(एजीएम) मंगलवार सम्पन्न भएको छ । वार्षिक साधारणसभा कम्पनी संचालक समिति अध्यक्ष भरतबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो । साधारण सभाले संचालक समिति सदस्यहरुको बैठक भत्ता सम्बन्धि प्रस्ताव बहुमतले पारित गरेको छ । आव २०७४÷०७५ बार्षिक प्रतिवेदन, सोही आवको नाफा नोक्सान तथा नगदप्रवाहको विवरण लगायत वित्तीय विवरणहरु पारित गर्दै आगामी आव २०७५÷०७६ को लागि लेखा परीक्षकमा मदन निरौला एण्ड कम्पनीलाई नियुक्त गरिएको सर्वसम्मत रुपमा बैठकबाट पारित भयो । त्यसैगरी, बिशेष प्रस्तावको रुपमा पेश भएको संचालक समितिको संरचनामा ७ जना संचालक सदस्यहरु रहने गरी कम्पनीको विनियमावलीमा संसोधन गर्ने प्रस्ताव र कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीहरुसंग एक आपसमा भाग्ने/गाभिने चलअचल सम्पत्ति र दायित्व मूल्याङ्कन गर्नको लागि मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्न निजको पारिश्रमिक तोक्ने लगायत मर्जर सम्बन्धि अन्य आवश्यक प्रकृया पूरा गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको कम्पनी सचिव बिदुरबहादुर भुजेलले जनाएका छन् ।
नेपाल बैंकले ल्यायो सस्तो घर कर्जा तथा वातावरण मैत्री निक्षेप योजना
काठमाडौं । नेपाल बैंकले शुलभ आवास कर्जा योजना र ‘ग्रीन सेभिङ् डिपोजिट’ नामक वातावरण मैत्री निक्षेप योजना ल्याएको छ । बैंकले आफ्नो ८३औँ वार्षिकोत्सवको अवसरमा पत्रकार सम्मेलन गर्दै उक्त दुई योजना बजारमा सार्वजनिक गरेको हो । बैंकले ल्याएको शुलभ आवास कर्जा योजना अन्तर्गत ग्राहकले घर निर्माण, खरीद तथा थप निर्माण गर्न सस्तो व्याजदरमा कर्जा सुविधा पाउने छन् । जसअन्तर्गत बैंकले न्युनतम ८.८४ देखि अधिकतम ९.९४ प्रतिशत ब्याजदरमा घर कर्जा योजना उपलब्ध गराउने भएको छ । बैंकले हालको आधार दर(बेस रेट)मा १ देखि २ प्रतिशतसम्म प्रिमियम शुल्क लिएर कर्जा उपलब्ध गराउन लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बताए । हाल बैंकको बेस रेट ७.८४ प्रतिशत रहेको छ । यस अन्तर्गत ग्राहकले बैंकको जुनसुकै शाखाबाट ५ देखि २० वर्षसम्मको लागि कर्जा लिन सक्ने छन् । त्यस्तै, बैंकले सार्वजनिक गरेको वातावरण मैत्री निक्षेप योजनाअन्तर्गत ग्राहकले न्युनतम २५ हजारमा बचत खाता खोल्न सक्ने छन् । जसमा ६.५ प्रतिशत आकर्षक व्याजदर पाइने बैंकले जनाएको छ । साथै, ग्राहकले एक वर्षसम्म बैंकको डेविट कार्डबाट अन्य जुनसुकै बैंकको एटीएममा निःशुल्क कारोबार समेत गर्न सक्नेछन् । यस योजनामार्फत संकलन भएको निक्षेपको रकम बैंकले नवीकरणीय ऊर्जा तथा वातावरणमैत्री क्षेत्रमा लगानी गर्ने कम्पनीले जनाएका छन् । त्यसैगरी, ग्राहकले ५० हजार रुपैयाँसम्मको औषधोपचार सुविधा तथा ५० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पाउने छन् । उक्त निक्षेप योजनाअन्तर्गत ग्राहकले एटीएम भिसा डेविट कार्ड, मोबाइल बैंकिङ्ग सुविधा, एबीबीएस सुविधा तथा इन्टरनेट बैंकिङ सुविधा निःशुल्क रुपमा पाउने छन् । बैंकले हाल १६७ वटा शाखा, १०२ वटा एटीएम तथा २३ वटा एक्सटेन्सन काउन्टर मार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
मेलम्चीपछिको ठूलो मर्दी खोला खानेपानी आयोजनाको काम धमाधम अघि बढ्दै
काठमाडौं । पोखरामा अहिले सम्मकै ठूलो मानिएको मर्दी खोला शुद्धीकरण खानेपानी आयोजनाको काम तीव्र गतिमा अघि बढेको छ । नेपाल खानेपानी संस्थानले पोखरास्थित मर्दी खोलाको पानी प्रशोधन र शुद्धीकरण गरी पिउनयोग्य बनाउने उद्देश्यले जापान सरकारको सहयोगमा उक्त आयोजनाको काम अघि बढाएको छ । आयोजनाको काम शुरु भएको पाँच महिना पूरा भएको छ । गत जेठ महिनामा खानेपानी मन्त्री बिना मगरले उक्त आयोजनाको शिलान्यास गरेकी थिइन् । मन्त्री मगरले पोखरामा बन्दै गरेको यस आयोजनालाई ढिलाई नगर्न निर्देशन दिएकी छिन् । खानेपानी मन्त्रालयको मेलम्ची आयोजना पछिको यो दोस्रो ठूलो आयोजना हो । आयोजनाको काम तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पोखरामा खानेपानी सुधार आयोजना सुरु गर्न जापान सरकारले नेपाललाई चार अर्ब ८१ करोड रुपैयाँ अनुदान दिने सम्झौता गरेको थियो । जापानले दिएको कुल अनुदान रकममध्ये चार अर्ब २१ करोडमा सिभिल कार्यका लागि जापानमै बोलपत्र आह्वान भएको थियोे । जसमध्ये हाज्मा एन्दो कर्पोरेशन कम्पनीले अनुमानित लागत रकमभन्दा ८ दशमलव २ प्रतिशत कममा बोलपत्र कबोल गरेको थियो । हाज्मा कम्पनीसँग संस्थानले गत २४ फागुनमा सम्झौता गरेको थियो । हाज्मा कम्पनीले ३ अर्ब ९४ करोड २७ लाख रुपैयाँमा ठेक्का पाएको हो । संस्थानका अध्यक्ष जिउलाल चौधरीले खानेपानीको क्षेत्रमा यो अहिलेसम्मकै ठूलो आर्थिक सहयोग भएको र यस आयोजनाबाट अधिकांश पोखरेलीबासीले प्रत्यक्ष लाभ पाउने बताए । यस आयोजनाबाट पोखरा महानगरपालिका क्षेत्रभित्र करिब ३ लाख जनसंख्या प्रत्यक्ष लाभान्वित हुने अध्यक्ष चौधरीको भनाई छ । यो पाँच महिनाको अवधिमा उल्लेख्य भौतिक प्रगति भएको संस्थानका महाप्रबन्धक डा. भूपेन्द्र प्रसादले जानकारी दिए । जापानले दिएको अनुदान रकम पानी शुद्धीकरणका लागि ट्रिटमेन्ट प्लान्ट, रिजर्भवायर ट्यांकी निर्माण र पाइपलाइन विस्तारमा खर्च हुने महाप्रबन्धक डा. प्रसादको भनाइ छ । दैनिक ४ करोड १० लाख लिटर पानी प्रशोधन गर्ने गरी ट्रिटमेन्ट प्लान्टको काम रफ्तारमा अघि बढेको महाप्रबन्धक प्रसादले बताए । त्यस्तै, खानेपानी भण्डारण गर्न २०-२० लाख लिटरको तीनवटा रिजर्भवायर पानी ट्यांकीको निर्माण कार्य पनि धमाधम भईरहेको छ । पोखराको पस्र्याङ, फूलबारी र कोलपाटनमा रिजर्भवायर ट्यांकी निर्माणको काम भईरहेको संस्थानका पोखरा शाखा प्रमुख आशिष कार्कीले जानकारी दिए । शुद्धीकरणको पहिलो प्रक्रिया मर्दी मुहानमै हुनेछ भने ९ सय ३० घनमिटरका २ वटा प्लान्ट निर्माण गरी पुरन्चौर तुल्सीतारा घाटमा सफा पानी संकलन हुनेछ । पस्र्याङ, फूलबारी, कोलपाटनमा निर्माण भईरहेको ट्यांकी मार्फत पोखरामा पानी वितरण हुनेछ, त्यसका लागि १ सय १३ किलोमिटर पाइपलाइन बिछ्याइने छ । सन् २००४ मै यसको सम्भाव्यता अध्ययन भएको थियो ।
सीको भ्रमणमा सिङ्गारिएको सोल्टीमोड-कालिमाटी सडकखण्डको दुर्दशा(फोटो फिचर)
काठमाडौं । केही समय अघि चीनका राष्ट्रपति ‘सी जीन पिङ’ दुई दिने राजकीय भ्रमणमा नेपाल आए । उनी नेपालमा रहँदा सोल्टी होटलमा बसे । उनको आगमन र नेपाल बसाईका बेलासम्म कालीमाटी–सोल्टीमोड सडक खण्ड चिल्लो र सजिसजाउ पारिएको थियो । बनाइएको थियो र दायाँबायाँ सभा र चिटिक्क पारिएको थियो । सीको अगमनका बेला उक्त सडकमा न धुँवाधुलो थियो र न त अस्तव्यस्त अवस्था थियो । तर, २ दिनको राजकीय भ्रमण सकेर राष्ट्रपति सी फर्किएसँग सो सडक खण्डमा ढलको संरचना निर्माण थालिएको छ । जसले गर्दा उक्त स्थान फेरी अस्तव्यक्त र धुलाम्मे भएको छ । केही दिन अघिमात्रै पिच गरिएको तथा सजिसजाउ भएको सडक अहिले बाङबुङ्ग पारेर भत्काइदैछ । त्यसरी भत्काउनुको कारण ढल निर्माण हो, तर सडक बनाउने, फेरी भत्काउने, फेरी थप संरचना बनाउने गर्दा पक्कैपनि राम्रो देखिदैन । नेपालको विकास मोडल ठीक छैन । सडक बनाइन्छ, जब सडक भत्कन थाल्छ अनि छेउ छेउमा ढल बनाइन्छ । केही समयपछि पानीका पाइब बिछ्याउन फेरी सडक खनिन्छ अनि सडक खाल्डाखुल्डी भएर भत्कन्छ । यसरी हेर्दा सडक संरचनाको लागि सरकारको रकम खर्च भइरहेको हुन्छ र राम्रो भएको कहिलेपनि अनुभूति गर्न पनि पाइदैन । अहिले सोल्टीमोड–कालीमाटी सडकमा भएको पनि यही हो । सडक निमार्णका कारण धुुँलो प्रदुषण हुने नै भयो, तर कामलाई लामो समय लगाइदिंदा त्यसले दिर्घकालीन असर समेत पर्दै आएको छ । सडकमा सवारी चलाउनेदेखी पैदल यात्रा गर्ने, व्यवसाय गर्ने सबैले सास्ती भोग्दै आएका छन् ।
बङ्गलादेशका राष्ट्रपति हमिद आज काठमाडाैं आइपुगे
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका क्रममा आज अपराह्न यहाँ आइपुगेका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले बङ्गलादेशी समकक्षी हमिदलाई स्वागत गरेकी थिइन् । विमानस्थलको सोही कक्षमा राष्ट्रपति हमिदलाई पञ्चकन्याले पुष्पहारद्वारा स्वागत गरेका थिए । यसअघि राष्ट्रपति हमिद सवार विमान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले स्वागत गरेका थिए । सो अवसरमा राष्ट्रपति हमिदको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो । विशिष्ट पाहुनाको स्वागतार्थ विमानस्थलमा सातवटै प्रदेशका जीवन्त कला र संस्कृतिको झाँकी प्रदर्शन गरिएको थियो । विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली उपस्थित थिए । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीसँग बङ्गलादेशी समकक्षी हमिदले राष्ट्रपति भवन, शीतल निवासमा बुधबार अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले आफ्ना बङ्गलादेशी समकक्षी तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा सोही दिन साँझ रात्रिभोजको आयोजना गरिनेछ । बुधबार नै बङ्गलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने भएका छन् । राष्ट्रपति हमिदसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा तथा राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि शिष्टाचार भेट गर्नेछन् । नेपाल बसाइका बेला बङ्गलादेशका विशिष्ट अतिथिले भक्तपुर दरबार क्षेत्र, पोखराका साथै काठमाडौँको चन्द्रगिरि भ्रमण गर्ने कार्यक्रम छ । रासस
नवौँ विश्व रेन्जर सम्मेलन आजबाट शुरु, ७२ देशका ५५० प्रतिनिधि सहभागी
चितवन । नवौँ विश्व रेन्जर सम्मेलन आजबाट सौराहामा शुरु भएको छ । अन्तर्राष्ट्रिय रेन्जर महासङ्घ (आइआरएफ) र वन तथा वातारण मन्त्रालयको संयुक्त आयोजनामा शुरु भएको सो सम्मेलन पाँच दिनसम्म चल्नेछ । सन १९९५ बाट शुरु भएको सम्मेलन हरेक तीन/तीन वर्षमा हुँदै आएको छ । यसअघिको आठौँ सम्मेलन सन् २०१६ मा अमेरिकामा भएको थियो । सरकारले नवौँ सम्मेलन सम्पन्न गर्न वन मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालको संयोजकत्वमा व्यवस्थापन गर्न समिति गठन गरेको छ । समितिका संयोजक ढकालका अनुसार सम्मेलनमा नेपालसहित ७२ देशका ५५० प्रतिनिधि सहभागी छन् । सम्मेलनमा नेपालले मध्यवर्ती क्षेत्रको व्यवस्थापन, भूपरिधि, मानव वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण, शून्य चोरी शिकार, पर्यापर्यटनमा स्थानीय समुदायको साझेदारीलगायतका विषयमा भएका उपलब्धिलाई प्रस्तुत गर्ने कार्यक्रम रहेको उनले जानकारी दिएका छन् । त्यसैगरी, प्रविधिमा विश्वका अन्य देशमा भएका प्रगति र समस्याका विषयमा आआफ्ना प्रस्तुतीकरण गर्ने कार्यक्रम छ । सम्मेलनमा वन्यजन्तु संरक्षण, अनुसन्धान र प्रजाति अनुसन्धान, वन्यजन्तु मानव द्वन्द्व न्यूनीकरणका विषयमा विज्ञले आआफ्ना मुलुकका सफल उदाहारण प्रस्तुत गर्ने ढकालले बताए । वन्यजन्तु संरक्षणमा काम गर्ने प्राविधिक कर्मचारीलाई रेन्जर भनिन्छ । उनीहरुको साझा संस्था आइआरएफ हो । सम्मेलनको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पर्यटन वर्ष २०२० को सँघारमा यहाँ हुने सम्मेलनले चितवन र नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ । रासस