ससुराले ज्वाइलाई दिएकाे कराेडाैं कर्जा दक्षिणामा परिणत हुँदै, यसरी भयाे शक्ति दुरुपयोग
काठमाडौं । ससुरा बैंकको कार्यकारी अध्यक्ष । ज्वाई गार्मेन्ट कम्पनीको मालिक । ससुराले ज्वाईलाई व्यवसाय गर्न करोडौं रुपैयाँ कर्जा दिन्छन् । ज्वाईले बैंकबाट लिएको कर्जालाई ससुराले टिका लगाएर दिएको दक्षिणा झै प्रयोग गर्छन् । अर्थात बैंकबाट लिएको कर्जाको सावा व्याज केही पनि भुक्तानी गर्दैनन् । सुन्दा कथा जस्तो लाग्छ तर यो वास्तविक घट्ना हो । त्यो पनि पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक भित्रको घट्ना हो । जहाँ एउटै कर्जाको फाइलमा ३ अर्ब ८५ करोड मिनाहा गरिदैछ । बहुदल आएपछि नेपाली काँग्रेसको बहुमतको सरकार बन्यो । पञ्चायत ढलेर २०४७ सालको नयाँ संविधान बनेपछि निर्वाचित शक्तिशाली सरकार । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री । महेश आचार्य अर्थ राज्यमन्त्री । राज्यमन्त्री आचार्यले आफ्ना दाई राजेश्वर आचार्यलाई राष्ट्रिय वाणिज्य बैंकको कार्यकारी अध्यक्ष बनाउने प्रस्ताव गरे । प्रधानमन्त्री कोइरालाले सहमति दिए । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको कार्यकारी अध्यक्षमा राजनीतिक नियुक्ती भयो । शुरु भयो बैंकमा राजनीतिक कार्यकर्तालाई कर्मचारीमा नियुक्त गर्ने र पार्टी निकट व्यक्तिलाई मागेजति कर्जा स्वीकृति । सरकारी लगानी रहेको राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकको अधोगति यहिबाट शुरु भयो । खोलाको वगर र भीरपाखा धितो राखेर सरकारी बैंकबाट कर्जा लिने अभ्यास मौलाउँदै गयो । मौकामा चौका हान्नेहरुको लागि सुवर्ण अवसर थियो । त्यहिबेला चण्डिराज ढकालले राष्ट्रिय वाणिज्य बैंकबाट कर्जा लिएका हुन् । उनले मोमेन्टो एपरल्स नामक गार्मेन्ट कम्पनी खाेलेका थिए । बैंकका कार्यकारी अध्यक्ष राजश्वेर आचार्य सुसुरा । मोमेन्टो एपरल्सका मालिक चण्डिराज ढकाल ज्वाई । ज्वाई सुसुराको मिलिभगतमा कमजोर धितो राखेर करोडौं रुपैयाँ कर्जा प्रवाह भयो । २०५० देखि २०५५ सम्म गार्मेन्ट उद्योग मौलाए । अमेरिकाको बजारमा नेपाली गार्मेन्टले पाउँदै आएको सुविधा अन्त्यपछि गार्मेन्ट उद्योगहरु थला परे । मोमेन्टो पनि थला पर्यो । कम्पनीले बैंकको ऋण भुक्तानी गरेन । वाणिज्य बैंकमा अनुसार २०५० सालमा शुरु कर्जा ३१ करोड ५६ लाख रुपैयाँ थियो । त्यसका नियमित व्याज ८६ करोड ४० लाख रुपैयाँ, पेलान व्याज ९ करोड २७ लाख रुपैयाँ, व्याज पुँजीकरण ३ अर्ब ५ करोड १८ लाख रुपैयाँ गरी असोज मसान्तसम्ममा कूल ४ अर्ब ३२ करोड ४२ लाख रुपैयाँ तिर्नु पर्ने हिसाब देखिएको छ । चण्डिराज ढकालले नियतबश कर्जा भुक्तानी नगरेको भन्दैं बैंकको सिफारिसमा कर्जा सूचना केन्द्रले उनको नाम र उनको कम्पनी मोमेन्टो एपरेल्सलाई कालोसूचिमा राखेको छ । कालोसूचीमा राख्नेबाहेक बैंकले कर्जा असुलीतर्फ अरु काम गरेन । २६ वर्ष पुरानो कर्जा असुलीमा बैंकले ठोस प्रयास किन गरेन ? बैंकका उच्च अधिकारी भन्छन् – ‘धितो कम छ । कर्जा धेरै छ । धितो बिक्रीबाट असुल हुनुपर्ने कर्जाको १० प्रतिशत पनि उठ्दैन ।’ मोमेन्टो एपिरियन्स र कृष्ण गार्मेट रेडियन्ट फन वेयर फेसन परियोजनाको नाममा ढकालले ९ करोड ३२ लाखको जग्गा र मेशिनरी उपकरण सहित धितो राखेर कर्जा लिएका थिए । कर्जा लिनका लागि त्यतिबेला धितोमा राखिएको मेशिनरी उपकरणको मूल्य घटेको छ भने जग्गाको मूल्य बढेको छ । २०७३ कात्तिकमा धितोमा राखिएको जग्गाको पुर्नमूल्यांकन गर्दा २० करोड १६ लाख रुपैयाँ धितोबाट असुली गर्न सक्ने देखिएको छ । ढकालले कर्जा धितोमा काठमाडौं सिनामंगलको २ रोपनी र झापाको भद्रपुरमा रहेको २ विगा १६ कट्ठा ८ धूर जग्गा राखेका छन् । ‘शुरुको अवस्थाबारे मलाई धेरै ज्ञान भएन । चण्डिराज ढकाल नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भएपछि शक्तिको दुरुपयोग गर्दै बैंकको कर्जा मिनाहा गर्न निरन्तर लागि परेका छन्’ एक जना पूर्व प्रमुख कार्यकारी अधिकृतले नाम नखुलाउने सर्तमा भने-‘माओवादी द्वन्द्वको बेलामा एसएलआर लिएर तपाई सिध्याइदिन्छु भन्ने धम्की पनि दिए । कर्जा मिनाह गर्न प्रधानमन्त्री तहबाट फोन समेत गराए । तर हामीले कर्जा मिनाह गर्न मानेनौं ।’ नेपाली काँग्रेसको राजनीतिक संरक्षण र ज्वाई ससुराको मिलिभगतमा प्रवाह भएको कर्जा यतिबेला नेपाल कम्यूनिष्ट पार्टीको संरक्षरण तथा ऋणी चण्डिराज ढकाल र बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठको मिलोमत्तोमा मिनाह गरिदैछ । राजनीतिक हस्तक्षेपले डुबेका सरकारी बैंकहरु विदेशीबाट करिब ८ अर्ब रुपैयाँ ऋण लिएर २०६० को दशकमा सुधार गरिएको थियो । २०७० को दशकमा फेरी यी बैंक जोखिमपूर्ण बाटोमा अगाडि बढेको जानकारहरु बताउँछन् । चण्डिराज ढकाललाई ३ अर्ब ८५ करोड ऋण मिनाह गरिदै, राजनीतिक संरक्षणमा बैंकलाई नोक्सानी
उद्योगी करदातामध्ये धेरै मूल्य अभिवृद्धि कर तिर्नेमा घोराही सिमेन्ट, लगातार दुई पटक सम्मानित
काठमाडौं । नेपाल भर रहेका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिवृद्धिकर बुझाए बापत घोराही सिमेन्ट उद्योग सम्मानित भएको छ । आठौं राष्ट्रिय कर दिवस २०७६ को अवसरमा अर्थमन्त्रीद्वारा आइतबार काठमाडौंमा आयोजित विशेष समारोहमा उक्त उद्योग सम्मानित भएको हो । सरकारले आठ वर्ष अघिदेखि राष्ट्रिय कर दिवस मनाउँदै आएको छ । सोहीक्रममा अघिल्लो आर्थिक बर्ष २०७४/०७५ मा देश भरका उद्योगी करदातामध्ये घोराहीसिमेन्ट उद्योग समयमै र सबैभन्दा धेरै मूल्य अभिवृद्धि कर तिर्ने उद्योगका रुपमा सम्मानित भएको थियो । नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग लाजिम्पाट काठमाडौंले आठौं राष्ट्रिय कर दिवसका अबसरमा घोराही उपमहानगरपालिका वडा नं. ४ गाेंग्लीमा रहेको घोराही सिमेन्ट उद्योग प्रा.लिलाई सम्मान गरेको हो । स्थापनाकाल देखि हालसम्म समयमै मूल्य अभिवृद्धि कर विवरण र कर बुझाएका करदातामध्ये बितेको आर्थिक वर्ष २०७४/२०७५ मा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गरेको भन्दै विभागले सम्मान गरेको हो । आन्तरिक राजश्व विभागले हरेक वर्ष मंसिर १ गतेका दिन राष्ट्रिय कर दिवसको रुपमा मनाउँदै आएको छ । सोही क्रममा देशभरका उद्योगी, व्यवसायी र व्यक्तिगत रुपमा उत्कृष्ठ करदातालाई सम्मान गर्दै आएको छ ।
शिवमले सर्वोत्कृष्ट ३७ डिलरहरुलाई गर्यो सम्मान, तीन विजेताले पाए छुट्टाछुट्टै अवार्ड
काठमाडौ । शिवम् सिमेन्टले “शिवम् कृति समारोह २०७६” को अवासरमा उत्कृष्ट डिलरहरु मध्ये सर्वोत्कृष्ट ३७ वटा डिलरहरुलाई विभिन्न विधामा अवार्डहरुबाट सम्मान गरेको छ । सिमेन्टले कार्तिक २९ र ३० गते काठमाडौंको हायात होटलमा भएको कार्यक्रममा आफ्ना सर्वोत्कृष्ट डिलरहरुलाई सम्मान गरेका हो । जस अनुसार पहिलो दिन कोर इष्ट जोनका डिलरहरुलाई त्रिनेत्र, प्रगति, परमविर, सदावहार र सर्वोत्कृष्ट तीन जना विजेतालाई शिवम् रिजनल डाइमण्ड, गोल्ड र सिल्भर तथा दोश्रो दिन सेन्ट्रल वेस्ट जोनको डिलरहरुलाई रिजनल अवार्डहरुको साथ साथै नेसनल प्रगति, परमविर, सदावहार र सर्वोत्कृष्ट तीन जना विजेतालाई शिवम् नेशनल डाइमण्ड, गोल्ड तथा सिल्भर अवार्डहरुबाट सम्मानित गरिएको छ । ‘क्वालिटीको मामिलामा नो कम्पर्माइज’ भन्ने सिद्धान्त लिएको शिवम् सिमेन्टसले क्वालिटीको मामिलामा कम्पर्माइज भन्दै सम्मान गरेको हो । उक्त कार्यक्रममा नेपालको चर्चित कलाकारहरुको साथ साथै भारतका कलाकार राजु श्रीवास्तवका मनोरञ्जनात्मक प्रस्तुति रहेको थियो । उक्त कार्यक्रममा देशको हरेक भूभागबाट डिलरहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाइ सम्बोधन गर्दै शिवम् सिमेन्टसका अध्यक्ष सुरेन्द्रकुमार गोयलले आपसी,सदभाव, समझदारी र सहकार्यबाट नै आज शिवम् सिमेन्टसले सिमेन्ट जगतमा उच्च स्थान पाउन सफल भएको बताए । साथै, आगामी दिनहरुमा अझै दिगो रुपमा प्रस्तुत गर्दै शिवम् सिमेन्टसलाई सदैव नम्बर. सिमेन्टको रुपमा परिचित गराइराख्ने प्रतिवद्धता व्यक्त गरे । उपस्थित डिलरहरुले शिवम् सिमेन्टले आयोजना गरेको यस्तो कार्यक्रमहरुबाट व्यापार, व्यवसायमा लागेका सम्पुर्ण उद्योगी, व्यापारीहरुलाई थप हौसला प्रदान गर्ने धारणा राखेका थिए ।
सबैभन्दा बढी आयकर दाखिला गर्नेमा कामना सेवा विकास बैंक, राजस्व विभागबाट सम्मानित
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड आर्थिक वर्ष २०७४/०७५ मा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा सम्मानित भएको छ । बैंक “आठौं राष्ट्रिय कर दिवस, २०७६“ को अवसरमा मध्यमस्तरीय करदाता कार्यालयको कार्य क्षेत्रभित्र पर्ने करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गरेकोमा आन्तरिक राजस्व विभागबाट सम्मानित भएको हो । बैंकले हाल १०३ वटा शाखा तथा ५१ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै, बैंकले एबीएबीएस, लेटेस्ट इन्टरनेट बैंकिङ एण्ड मोबाइल बैंकिङ लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।
गण्डकी विकास बैंकले एकैदिन विस्तार गर्यो चार नयाँ शाखा, थप ११ वटा सञ्चालनमा आउँदै
काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले एकैदिन चार वटा शाखा कार्यालयहरु विस्तार गरेको छ । बैंकले आइतबार मात्र धादिङ्गको धादिङ्गबेसी, लमजुङ्गको भोटेओडार, तनहुँको जामुने र चितवनको मेघौलीमा एकैसाथ शाखा कार्यालय विस्तार गरेको हो । यस सहित बैंकको शाखा संख्या ८५ पुगेको छ । बैंकको थप विभिन्न ११ स्थानमा शाखा कार्यालयहरुको निर्माण कार्य भै राखेको र उक्त शाखा कार्यालयहरु समेत सञ्चालनमा आए पश्चात बैंकको कुल शाखा संख्या ९६ पुग्नेछ । न्यू विजनेश एजद्वारा आयोजित सन् २०१९ को बेष्ट म्यानेजड डेभलपमेन्ट बैंकको एवार्डबाट पुरस्कृत यस विकास बैंकको कुल चुक्ता पूँजी २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । गत असोजमसान्तसम्म बैंकले १२ करोड ४२ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । उक्त अवधिमा बैंकले कुल निक्षेप ३० अर्ब ९ करोड रुपैयाँ संकलन गर्न र कुल कर्जा २६ अर्ब ३० करोड रुपैयाँ प्रवाह गर्न सफल भएको छ । समिक्षा अवधिमा बैंकको निश्क्रिय कर्जाको अनुपात पनि न्यून रहेको छ । मेगा बैंक नेपाल लिमिटेडसँग गत आश्विनमा मर्जर/प्राप्ति सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरी बैंकलाई अझ सवल, सक्षम बनाउने र यसका लगानीकर्ताहरुको लगानीको सम्बर्धन गर्ने र सबै सरोकारवालाहरुको हित संरक्षण गर्ने नीति बैंकको रहेको छ ।
सनराइज बैंकको १२४औँ शाखा सप्तरीको इनरुवामा
काठमाडौं । सनराइज बैंकले सप्तरी स्थित इनरुवामा १२४औँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहेता र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) जनकशर्मा पौड्यालले संयुक्त रुपमा गरेका हुन् । साथै, इनरुवा वडा १ का वंडाअध्यक्ष रामचन्द्र पोद्घार र इनरुवा उद्योग वाणिज्य संघका अध्यक्ष बिरेन्द्र शाहले संयुक्त रुपमा एटीएमको उद्घाटन गरेका छन् । कार्यक्रममा सीईओ जनकशर्मा पौड्यालले कृषि क्षेत्रलाई बैंकले सधै प्राथमिकतामा राख्दै आएको र आगामी दिनमा पनि प्राथमिकताका साथ अघि बढाउदैं लाने बताएका छन् । हालसम्म बैंकले १२४ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा एटीएम मार्फत बैंकिङ् सेवा प्रदान गर्दै आइरहेको छ ।
बीमा व्यवसायमा सबैभन्दा बढी आयकर बुझाउने नेपाल लाइफ इन्स्योरेन्स
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा नेपालमा बीमा व्यवसाय गर्ने कम्पनीमध्येमै सबैभन्दा बढी आयकर दाखिला गरेको छ । उक्त स्वरुप आन्तरिक राजस्व विभागले कम्पनीलाई कदर स्वरुप सम्मान गरेको छ । आठौं राष्ट्रिय कर दिवस २०७६ को अवसरमा मंसिर १ गते काठमाडौंमा आयोजित एक समारोहका बीच प्रमुख अतिथि तथा अर्थमन्त्री डा. युवराज खतिवडाले इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झालाई उक्त सम्मानपत्र प्रदान गरेका हुन् । सो अवसरमा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत झाले यो सम्मानले कम्पनीलाई अझ जिम्मेवार बनाएको तथा नेपालको बीमा व्यवसाय अझ परिस्कृत गर्दै सबै जनताका सामु पुगी सेवा प्रदान गर्दै अगाडि बढ्न र नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउन हौसला मिलेको बताएका छन् । जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजार हिस्सा ओगटेको यस कम्पनीको चुक्ता पूँजी ५ अर्ब ५० करोड र लगानी ७८ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ७२ अर्ब ३३ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ५७ करोडभन्दा बढी रहेको छ । कम्पनीले यस आर्थिक वर्षको पहिलो चार महिनामा जम्मा ९ अर्ब ६२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । १ लाख ३५ हजार ६ सय १० प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीमा स्वेदेशी तथा विदेशी गरी २६ लाख ६९ हजार ८ सय ८६ व्यक्ति यस कम्पनीमा बीमित भइसकेका इन्स्योरेन्सले जानकारी दिएको छ ।
घर बनाउँदा नक्सासँगै इन्टेरियर डिजाइन पास गर्नु पर्ने, के हो इन्टेरियर डिजाइन ?
काठमाडौं । अब घर बनाउदा घरको नक्सासँगै घरका लागि इन्टेरियर डिजाइन पनि पास गराउनु पर्ने भएकाे छ । इन्टेरियर डिजाइनर्स एशोसियस अफ नेपालको १६औं वार्षिक उत्सवको कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेशकाजी श्रेष्ठले साे कुरा बताएका हुन् । उनले भने – ‘हामीले महानगरपालिकामा नक्सा पास गर्न आउँदा इन्टेरियर डिजाइन पनि पास गर्नका लागि छलफल भैइरहको छ। साथै, इन्टेरियर डिजाइन पास गराउँदा घर सजावटको खर्च पनि कम हुने र पछि इन्टेरियर डिजाइनको लागि समय पनि लाग्दैन । इन्टेरियर डिजाइनर्स एशोसियस अफ नेपालका अध्यक्ष विन्द्रा कक्षपति प्रधानले हाल इन्टेरियर डिजाइनको महत्व बढ्दै गएको बताउँदै इन्टेरियर डिजाइनरहरुको हकहित तथा प्रतिष्ठा र सचेतना बढाउन संस्था कटिबद्ध रहेको धारणा राखेकी छिन्। साथै, उनले यस क्षेत्रमा ज्ञान भएकाहरु कोहि पनि बेरोजगार बस्नु नपर्ने उल्लेख गर्दै रोजगार तथा स्वरोजगार क्षेत्रको रुपमा इन्टेरियर डिजाइनलाई विकास गर्नुपर्नेमा जोड दिएकी छिन्। घर, अपार्टमेन्ट, होटेल, हस्पिटल र रेस्टुरेन्टमा इन्टेरियर डिजाइनको माग बढ्दै गएको छ । अन्य पेसाजस्तै इन्टेरियर डिजाइनबाट पनि राम्रो कमाइ गर्न सकिने र समयअनुसार डिजाइनर ‘अपग्रेड’ हनुपर्ने उनको भनाई छ । अहिले घर बनाई सकेपछि डेकोरेटरका रुपमा मात्र इन्टेरियरको काम हुने गरेको भन्दै उनले घर निर्माणको योजना बनाउँदादेखि नै इन्टेरियर डिजाइनलाई पनि सँगै अघि बढाउँदा खर्च कम हुनुका साथै राम्रो डिजाइन बन्ने उनको दाबी छ । के हो इन्टेरियर डिजाइन ? जसरी आधुनिक फेसनका लुगामा बुट्टा भरेर, नयाँ नयाँ शैलीमा कट आउट गरेर डिजाइनमा लुक दिइन्छ, त्यसरी नै घरका सादा र रंगविहिन भित्ता, सिलिङ र रुमको बनावट इन्टेरियर डिजाइनमार्फत नयाँ रूप दिइन्छ । यो कला एक डिजाइनरको कल्पनाशक्ति र सिर्जन शीलतामा आधारित हुन्छ ।