सार्वजनिक शिक्षा सवलीकरण गर्ने तयारीमा सरकार: मन्त्री पोखरेल
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले सार्वजनिक शिक्षा सवलीकरण गर्न खोजेको बताएका छन् । प्रेस सङ्गठन नेपाल मोरङद्वारा आयोजित पत्रकार भेटघाटमा उनले नेपालमा पहिलोपटक शिक्षा नीति बनाएर शिक्षा विधेयक ल्याउन लागेको जानकारी दिए । मन्त्री पोखरेलले सबै नागरिकलाई सीप सिकाउने तवरले कार्यक्रम ल्याउन लागेको चर्चा गर्दै शिक्षकले आफ्नो सक्षमताको विकास गरेर सीपमूलक ज्ञान प्रवाह गर्नुपर्ने बताए । उनले शिक्षालाई सीप, सीपलाई श्रम र श्रमलाई उत्पादनसँग जोड्नुपर्ने धारणा राख्दै सरकारले १० वर्षमा शैक्षिक क्षेत्रमा सुधार ल्याइसक्ने दाबी गरे । मन्त्री पोखरेलले अङ्ग्रेजी भाषाको नाममा नेपाली भाषालाई कमजोर बनाउन नहुने तर्क गर्दै देशभरमा सरकारले पाँच हजार शिक्षक भर्ना गर्ने तयारीमा रहेको जानकारी दिए । “सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर सुधान गर्न तीनै तहका सरकारको भूमिका अग्रणी छ”, मन्त्री पोखरेले भने, “दिगो विकासको लक्ष्य हासिल गर्न शिक्षा क्षेत्रको सवलीकरण आवश्यक छ ।” उनले बुद्ध, सगरमाथा र पूर्वीय दर्शन बुझ्न र बुझाउन पनि शिक्षा नै माध्यम हुने उल्लेख गर्दै विसं २०८५ सम्ममा सबै नागरिकले आधारभूत शिक्षा लिइसक्ने गरी सरकार तयारीमा जुटेको जानकारी दिए । रासस
गायक प्रेमध्वज प्रधानलाई लाईफ टाईम अचिभमेन्ट अवार्ड
काठमाडौं । रेडियो कान्तिपुरले वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई लाईफ टाईम अचिभमेन्ट अवार्ड २०७६ बाट सम्मान गरेको छ । २१ औं नेसनल म्युजिक अवार्डका अवसरमा रेडियोले यो वर्ष वरिष्ठ गायक प्रधाननलाई सम्मान गरेको हो । सात दशकदेखि नेपाली सांगितिक क्षेत्रमा अनवरत रुपमा लाग्दै आएका प्रेमध्वजले आधुनिक, लोक, भजन, चलचित्र र नेपाल भाषा गरि विभिन्न विधामा सात सय भन्दा वढी गीतमा स्वर र संगित भरेका छन् । गायक प्रधानका धुम्तिमा नआऊ है, पर लैजाऊ फुलहरु, तारा मात्र हैन तिमीलाई, जस्ता दर्जनौ गीतहरु अहिले पनि उत्तिकै चर्चामा छन् । वरिष्ठ गायक प्रेमध्वजलाई रेडियो कान्तिपुरले १ लाख रुपैया नगद र ताम्रपत्र सहित सम्मान गरेको हो । प्रधानलाई सम्मान गर्दै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले नेपाली सांगितिक क्षेत्रका नक्षत्रलाई सम्मान गर्न पाउनु रेडियो र समग्र कान्तिपुर मिडिया गु्रपकै लागि गौरव भएको बताए । २१ औं वार्षिक उत्सवको अवसरमा रेडियोले सांगितिक क्षेत्रका विभिन्न व्यक्तित्वहरुलाई समेत नेसनल म्युजिक अवार्डबाट सम्मान गरेको छ । वर्षभरि बजेका गीतहरु मध्येबाट उत्कृष्ट एक जनालाई अर्वाड प्रदान गरेको हो । यो वर्ष पुरुष पाश्व गायनतर्फ बनकी चरी गीतबाट रुपक डोटेल र महिला तर्फ जिन्दगीनै गीतबाट प्रविशा अधिकारी उत्कृष्ट भए । यसैगरि पप तर्फ अलि अलि गीतबाट प्रताप दास र समृद्धि राई म दामी छु गीतबाट उत्कृष्ट घोषित भए । आधुनिक गीततर्फ जिस्काँउथे गीतबाट सुमन कुमार श्रेष्ठ र सम्झनामा नआउ गीतबाट संगिता राना प्रदान उत्कृष्ट भए । लोक गीततर्फको अवार्ड यो वर्ष सालको पात टपरी हुनेबाट कलेन्द विश्वकर्माले जिते भने मुखैमा चिनी गीतबाट गायिका सुनिता दुलालले यो वर्ष नेसनल म्युजिक अवार्ड जितिन् । यो वर्षको पिपुल्स च्वाईस अवार्ड भने गलवन्दी च्यातियो गीतबाट प्रकाश सपुत र शान्ति श्री परियारले संयुक्त रुपमा प्राप्त गरे । युगलगीत तर्फ यो वर्ष कर्के नजर गीतबाट संजिव पराजुली र टीका प्रसांईले अवार्ड प्राप्त गरे । उत्कृष्ट व्याण्डको अवार्ड भने लाहुरे गीतबाट मन्त्र व्याण्डले जित्यो । उत्कृष्टि म्युजिक निर्देशकको अवार्ड कर्मा ग्याल्जेन बम्जनले बाबाको टोपी गीतबा जिते भने उत्कृष्ट गीतकारको अवार्ड कस्तो हाल गीतबाट विरेन्द्र पाठकले प्राप्त गरे । कस्तो दुरी गीतबाट बिक्रम बरालले नव गायकको उपाधी जिते । राष्ट्रिय गीत तर्फको अवार्ड भने नविर्स है गीतबाट चितमान गुरुङले प्राप्त गरे ।
पोखरा प्रिमियर लिगको रेस पार्टनरमा टिभिएस अपाचे सिरीज
काठमाडौं । नेपालका लागि टिभिएस मोटर साईकल तथा स्कुटरका आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले पोखरा प्रिमियर लिग (पीपीएल)को रेस पार्टनरको रुपमा टिभिएस अपाचे सिरीजलाई राखेकाे छ । रेस पार्टनरका निमित्त जगदम्बा मोटर्स् प्रालिका प्रबन्ध निर्देशक शाहिल अग्रवाल र पीपीएलका प्रबन्ध निर्देशक छुम्बी लामाबीच आपसी समझदारी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । मंसिर २८ गते देखि पौष १२ गते सम्म चल्ने पीपीएलका लागि दोस्रो सिजनको खेल तालिका सार्वजनिक भइसकेको छ । पीपीएलमा विभिन्न ६ टिम बुटवल ब्लास्टर, चितवन राइनोज, विराटनगर टाईटन, पोखरा पल्टन, एक्सपर्ट धनगढी ब्लूज र काठमाडौं रोयल्स खेल्दै छन् । उद्घाटन खेल पोखरा पल्टन र काठमाडौं रोयल्सबीच हुन लागेको पीपीएल पौष १२ गतेकोे अन्तिम खेलपछि सकिने छ । हालै सम्पन्न भएको दक्षिण एसियाली खेलकुदमा नेपालको स्तरीय प्रर्दशनी निकै प्रशंसनीय रहेको उल्लेख गर्दै जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने, “नेपालमा आयोजना गरिएको यस पालीको दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालका खेलाडीहरुले हरेक विधामा निकै राम्रो प्रदर्शन गरे । धेरै भन्दा धेरै स्वर्ण पदक हात पार्न सफल भएका हाम्रा मेहनती र प्रतिबद्ध खेलाडीहरुको जोश र जाँगरले हामीलाई समेत प्रोत्साहित गरेको छ । तसर्थ, हामीले पनि नेपाली खेलकुद जगत्मा केही योगदान दिएमा नेपाली खेलकुदको भविष्य अवश्य सुनिश्चित हुने र प्रगतिको पथ तर्फ निरन्तर बढ्नेछ भन्ने विश्वासका साथ हामी पीपीएल सँग आवद्ध हुने निश्चय गरेका हौँ ।” टिभिएस मोटर साईकलका नेपालको निम्ति आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले आफ्नो देशव्यापी डिलरहरुको सञ्जाल मार्फत बिक्री वितरण गर्दै आईरहेको छ । कम्पनीले सधै विभिन्न खेलकुदहरुलाई प्रायोजन गर्दै आएको छ भने विभिन्न प्रतियोगिताहरु सँग आवद्ध पनि हुदै आएको छ र भविष्यमा पनि यस्ता खेलकुदहरुलाई सधै प्रोत्साहन गर्ने प्रतिवद्धता जनाएको छ ।
१५० सीसीको बेनेली मोटरसाइकल २ लाख ३० हजारमै, यस्ता छन् विशेषता
जम्मा दुई लाख ३० हजार रुपैयाँमा १५० सीसीको मोटरसाइकल, त्यो पनि ‘बेनेली’ को, विश्वास गर्नुहुन्छ ? एउटा इटालियन ब्राण्डको मोटरसाइकलको मूल्य त्यति मात्र पर्नु वास्तवमै आश्चर्य लाग्दो कुरा हो । आज हामी चर्चा गर्दैछौं ‘टिएनटि १५’ को । बेनेलीको नेपालका लागि आधिकारिक विक्रेता केटिएम इन्टरनेशनल ट्रेडिङ्ग प्रा.लि.ले टिएनटि १५ लाई केहि महिना अघि नेपाली बजारमा सार्वजनिक गरेको थियो । टिएनटि १५ को डिजाइनको कुरा गर्नु पर्दा यो स्लिम लुकिङ्ग मोटरसाइकलको डिजाइन अरु ठूला बेनेली बाट प्रभावित भएको हो । झट्ट हेर्दा टिएनटि ३०० को जस्तो देखिने यसको हेडलाइट हामीले निकै आकर्षक रहेको पायौं । त्यसैगरी यस मोटरसाइकलको ट्याङ्क एक्स्टेन्सन प्यानल्स, सेम कलरमा रहेको वेली प्यान, स्प्लीट सिट्स र तल्लो साइडमा जडित बल्कि एग्जस्टले यस मोटरसाइकललाई थप एग्रेशिभ एवं स्पोर्टि बनाएको छ, जसले हरकोहिलाई मोटरसाइकल कुदाउँदा गर्वको महशुस गराउने छ । आम नेपालीले हिजोका दिनसम्म मोटरसाइकल किन्ने योजना बनाउँदा उसको प्राथमिकतामा कुनै इण्डियन अथवा जापनिज ब्राण्ड पर्ने गथ्र्यो । अन्य इन्टरनेशनल ब्राण्डको मोटरसाइकल त कसले पो किन्न सकोस् र । तर इटालियन ब्राण्ड बेनेलीले टिएनटि १५ बजारमा ल्याएदेखि भने उक्त कुरा एकादेशको कथा भइसकेको छ । बेनेली टिएनटि १५ मा जडान गरिएको इञ्जिन १४८ सीसीको सिङ्गल-सिलिण्डर एयर-कुल्ड इञ्जिन हो जसले १२.०६ बीएचपीको पावर र त्यसैगरी ११ एनएमको टर्क प्रदान गर्दछ । ५-स्पिड गियरबक्सले ट्रान्समिशन ड्यूटीको काम गर्ने यस मोटरसाइकलमा फ्युल-सप्लायरको काम भने कार्बुरेटरले गर्दछ । यस मोटरसाइकलमा सेमी-डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल समावेश गरिएको छ जसमा स्पीडोमिटर, ओडोमिटर, ट्रिपमिटर, क्लक, फ्युल-गज, गियर-इन्डिकेटर लगायतका कुराहरु सजिलै हेर्न सकिन्छ । १७ इञ्चको अलोए व्हिल्स लगाइएको यस मोटरसाइकलका दुवै टायरहरु ट्युवलेस छन् भने अगाडिको चक्कामा डिस्क ब्रेक र त्यसैगरी पछाडिको चक्कामा ड्रम ब्रेक जडान गरिएको छ । यो ब्रेकिङ्ग १५० सीसीको मोटरसाइकलमा नराम्रो मानिँदैन । बजारमा हाल यो मोटरसाइकल ब्ल्याक, व्हाइट र रेड गरी ३ कलर अप्सनहरुमा उपलब्ध रहेको छ । कम्पनीले यो मोटरसाइकल ११० केएमपीएच प्लसको स्पिडसम्म कुद्न सक्छ र त्यसैगरी ५० प्लसको माइलेज दिन्छ भनी दावी गरेको छ । १६ लिटर फ्युल ट्याङ्क क्यापासिटी रहेको यस मोटरसाइकलको लम्वाइ २०४० मिलिमिटर, चौडाइ ७८० मिलिमिटर र त्यसैगरी उचाइ भने १०७० मिलिमिटर छ । त्यसैगरी, यस मोटरसाइकलको ग्राउण्ड क्लियरेन्स १८५ मिलिमिटर छ भने व्हिलबेस चाहिँ १२६० मिलिमिटर छ । बेनेली टिएनटि १५ अन्य ब्राण्डका १५० सीसीको मोटरसाइकलहरु भन्दा अत्यन्त कम मूल्यमा बजारमा आएको हुनाले कम्पनीले सो मोटरसाइकलले राम्रो पकड जमाउनेछ भनि विश्वास लिएको छ ।
सेवाग्राहीसँग घुस माग्ने भन्सार अधिकृतसहित पाँच जना विरुद्ध अदालतमा मुद्धा दायर
काठमाडाैं । सेवाग्राहीसँग घुस माग्ने भन्सार अधिकृतसहित पाँच जना विरूद्द विशेष अदालतमा आरोप पत्र दायर भएको छ । सेवाग्राहीसँग घुस माग गर्ने पाँच जना विरूद्द अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेको हो । मोरङकाे जहदा गाउँपालिका वडा नं. १ का कार्यवहाक वडा अध्यक्ष उमेशकुमार साह, लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय कार्यालय रुपन्देहीका लेखापाल रत्नेश्वर तिवारी, विराटनगर भन्सार कार्यालय, मोरङका तत्कालीन प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतसमेत गरी २ जना र तातोपानी भन्सार कार्यालय, सिन्धुपाल्चोकको प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतसमेत गरी ५ जना विरूद्द अदालतमा आरोप पत्र दायर गरिएको हो । तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत बस्नेतले सेवा प्रवेश गरेदेखि मिति २०७६ असार मसान्तसम्म समग्र आय र व्यय तथा लगानीको अनुसन्धान गर्दा निज बस्नेतले गैरकानूनी रुपमा १० करोड ५६ लाख ९१ हजार ६०९ रुपैयाँ ९१ पैसा बराबरको सम्पत्ति आर्जन गरेको अनुसन्धानका क्रममा खुलेको आयोगले जनाएको छ । भन्सार अधिकृतिका रुपमा रहँदा बस्नेतले आयातित सामानको भन्सार छुटाउदा व्यापारीसँग ठूलो मात्रामा घुस लिएको र त्यसबाट निजको आयभन्दा व्यय एक करोड ३५ लाख ३८ हजार ८१७ रुपैयाँ ९१ पैसा अधिक देखिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए। यस्तै लुम्बिनी बौद्ध विश्वविद्यालयमा कार्यरत लेखापाल रत्नेश्वर तिवारीले सेवाग्राहीसँग २५ हजार घुस अवस्थामा नियन्त्रणमा लिएको थियो। विराटनगर भन्सार कार्यालय, मोरङका तत्कालीन प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतले गैरकानूनी सम्पत्ति आर्जन गरेको र क्यारिङ व्यवसायीसँग आयात गरीएका सामानहरु भन्सारबाट छुटाउने प्रयोजनको लागि १७ लाख घुस लिएको तथ्य प्रमाणित भएको कारण उनी विरुद्ध पनि मुदा दायर भएको छ । मोरङ जहदा गाउँपालिका वडा नं १ का कार्यवहाक वडा अध्यक्ष उमेशकुमार साहले पनि यस्तै गैरकानुनी कार्य गरेकाे कारण उनी विरूद्द पनि मुद्दा दायर भएकाे बताइएके छ ।
बलात्कार आरोपमा पक्राउ परेका साल्ट ट्रेडिङ्ग सुर्खेतका प्रमुख धरौटीमा रिहा
काठमाडाैं । बलात्कार आरोपमा पक्राउ परेका साल्ट ट्रेडिङ्ग कार्यालय सुर्खेतका प्रमुख रामबाबु गुप्ता आज धरौटीमा रिहा भएका छन् । उनलाई तीन लाख ५० हजार रूपैयाँ धरौटीमा रिहा गरिएको जिल्ला अदालत सुर्खेतका श्रेस्तेदार अधिकृत भोपाल भण्डारीले बताए । उनले भने-“गुप्ता कसुरदार देखिएकाले धरौटी लिएर छोडिएको हो । अनुसन्धान निरन्तर चलिरहन्छ ।” जागिर लगाई दिने भन्दै एक युवतीलाई बलात्कार गरेको आरोपमा उनी यही मङ्सिर ५ गते पक्राउ परेका थिए । कार्यालय प्रमुख गुप्ताले विभिन्न प्रलोभन देखाएर बलात्कार गर्ने गरेको र पछि भिडियो बनाएको छु, सार्वजनिक गर्दिन्छु भन्दै डर देखाएर बलात्कार गर्दै आएको पीडितको युवतीले प्रहरीमा उजुरी दिएकी थिइन् । त्यही उजुरीका आधारमा कार्यालय प्रमुख गुप्ता पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब निरीक्षक रवि रावलले जानकारी दिए । पीडित युवती भने डिप्रेसनका कारण अस्पतालमा उपचारत रहेको उनका आफन्तले जनाएका छन् । महिला अधिकारवादी पवित्रा शाहीले यस घटनाले अदालतको स्वच्छताप्रति नागरिकहरुको विश्वास मरेको बताए । उनले भने, “महिला, बालिकाहरु धमाधम बलात्कृत भइरहेका छन् । तर शक्ति र पैसाका भरमा पीडकलाई उन्मुक्ति दिएर पीडितलाई अझ पीडा दिइन्छ । यो कदापि सैह्य हुँदैन ।” रासस
कतार एयरवेजले ‘ए डिभिजन शहीद स्मारक लिग २०१९-२०’ प्रायोजन गर्ने
दोहा । कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । नेपालको सबैभन्दा ठूलो फुटबल लिग कतार एयरवेज ए डिभिजन शहीद स्मारक लिग १४ डिसेम्बर २०१९ देखि १५ फेब्रुअरी २०२० सम्म हुनेछ । यस साझेदारीसँगै कतार एयरवेजको लोगो प्रतियोगितामा सहभागी सबै १४ क्लबको जर्सीमा देखिने छ । यसको साथमा कम्पनीले बोर्ड, रंगाशालाका झण्डा, एलईडी स्क्रीन तथा डिजिटल लगायतका सामाग्री प्रायोजन गर्नेछ । कतार एयरवेज ग्रुप प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले भने, “यस साझेदारीसँगै हामी निकै उत्साहित छौँ जसबाट कतार एयरवेजले देशकै फुटबल विकासमा सहयोग पुर्याउने छ । खेलकूदले सबैलाई एक बनाउने हाम्रो विश्वास छ र यसप्रतिको हाम्रो समर्पणको एक उदाहरण हो यस साझेदारी । ”
एनआईसी एशिया बैंकका ग्राहकलाई फुडमाण्डूमा २५ प्रतिशत छुट
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले फुडमाण्डूमा २५ प्रतिशत छुट पाउने भएका छन् । बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले फुडमाण्डूबाट खानेकुरा अर्डर गरीे क्यु आर कोडमार्फत् भुक्तानी गर्दा मात्र सो मात्रा वा अधिकतम् ४०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस सम्बन्धि दुई संस्थाबीच एनआईसी एशिया बैंकले उपलब्ध गराएको विभिन्न डिजिटल प्रविधिमार्फत् भुक्तानी संकलन गर्ने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र फुडमाण्डूको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निदान श्रेष्ठले हस्ताक्षर गरेका हुन् । यस सम्झौता सीमित अवधिका लागि रहेकाे बैंकले जनाएकाे छ । हाल बैंकले ३१० शाखा कार्यालयहरु, ४०२ एटिएम, ९५ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।