याे वर्ष ५० प्रतिशतले धान उत्पादन घट्याे
बारा । बारामा किसानले लगाएको धान उत्पादनमा ५० प्रतिशतले कमी आएको छ । समयमा पानी नपर्नु, रासायनिक मलखादको अभाव र फौजी किराको आक्रमण जस्ता कारणले यस वर्ष धान उत्पादनमा कमी भएकाे कृषि ज्ञान केन्द्रका जितेन्द्र यादवले जानकारी दिएका छन् । यो वर्ष चैते १२ हजार ११३ हेक्टर, भदैया धान ११ हजार ९३० हेक्टर र अगहनी धान ३४ हजार १६३ हेक्टरसमेत गरी कूल ५८ हजार २०६ हेक्टर क्षेत्रफलमा धान खेती भई एक लाख ३७ हजार ६२६ दशमल ३२ मेट्रिक टन धानको प्रतिक्विन्टल रु दुई हजार २०० का दरले रु तीन अर्ब दुई करोड ७७ लाख ७९ हजारको धान उत्पादन भएको कृषि प्राविधिक गेनालाल मण्डलले बताए । गत आर्थिक वर्ष चैते धान १२ हजार २२५, भदैया धान ११ हजार ९२५ र अगहनी धान ३८ हजार ५५० समेत गरी कूल ६२ हजार ७०० क्षेत्रफलमा लगाएको हुँदा रु पाँच अर्ब ८८ करोड ५० लाख १९ हजार १४० बराबरको २२ लाख ६७ हजार ५०० दशमलव ८७ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रको कार्यालयले जनाएको छ । नगदे बालीका रूपमा उखु खेती र माछा पालनतिर किसान बढी केन्द्रित भएको हुँदा धान उत्पादनमा कमी आउने गरेको ज्ञान केन्द्रका प्रमुख यादवले जानकारी दिए ।
‘डिजिटल इन्डिया’लाई इन्टरनेट बन्दले जिस्क्याएको भन्दै मोदीको आलोचना
काठमाडौं । भारत सरकारले ल्याएको नयाँ नागरिकता कानुनको अहिले भारतभर विरोध भइरहेको छ । भारतको दुवै सदनले ‘मुस्लिम समुदायलाई धार्मिक रूपले विभेद गर्ने गरी’ नागरिकता कानुन पारित गरेपछि भारतमा नागरिकता कानुन र मोदी सरकारविरूद्ध प्रदर्शन भइरहेको छ । यही विरोधलाई शान्त पार्न भन्दै भारतले विभिन्न क्षेत्रमा ईन्टरनेट सेवा नै बन्द गरिदिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकता संशोधन विधेयक पारित भएकोमा आसामका मानिसलाई केही चिन्ता नलिन १२ डिसेम्बरमा ट्विटर मार्फत आश्वासन दिँएका थिए । तर, आसाममा त्यो दिन ईन्टरनेट नै थिएन । प्रधानमन्त्री मोदीले ट्वीटरमार्फत दिएको सन्देश कति प्रदर्शनकारीले प्राप्त गरे भन्ने यकिन हुन सकेन । ईन्टरनेट सटडाउन ह्याकरका अनुसार यो वर्ष मात्र भारतमा ९५ पटक ईन्टरनेट सेवा बन्द गरिएको छ । यस्तो बन्दमध्ये अन्तिम पटकको बन्द नै यस वर्षको सबैभन्दा लामो समयको ईन्टरनेट सटडाउन हो । सरकारी अधिकारीहरूले सामान्यतः सार्वजनिक आदेशका कारण सेवाहरू बन्द गर्न इन्टरनेट प्रदायकहरूलाई आदेश दिने गरेका छन् । यद्यपि भारतीय कानून बमोजिम सरकारले टेलिकम कम्पनीहरूलाई सेवाहरू सिधै बन्द गर्न वा साइटहरू डाउन गर्न निर्देशन दिन सक्छ । नयाँ नागरिकता कानुनको विरोधको कारण आसाममा मात्र नभएर पश्चिम बंगाल राज्यका केही जिल्लाहरु र उत्तरी शहर अलिगरमा ईन्टरनेट सेवा केही हप्तासम्म अवरुद्ध भएको थियो । गत बिहीबार दिल्लीको केही क्षेत्रमा पनि सेवा अवरुद्ध भएको थियो । एउटा बलियो लोकतान्त्रिक मन्चको रुपमा लिईएको ईन्टरनेट सेवा अवरुद्ध गरिदा भारत सरकारको आलोचना भएको छ । यस्तै, काश्मिरमा ब्रोडब्यान्ड र मोबाइल डाटा सेवाहरू चार महिनाभन्दा बढी समयदेखि बन्द छ । बन्द भएको सेवा कहिले सुचारु हुन्छ भन्नेमा अझै यकिन छैन । चीन, म्यानमार जस्ता नागरिकलाई कम राजनीतिक अधिकार दिइएका देशहरुमा भने ईन्टरनेट सेवा बेलाबेलामा रोकिने गरेको छ । तर, भारत जस्तो लोकतान्त्रिक देशमा यसरी ईन्टरनेट बन्द गरिनु असामान्य हो भन्नेहरु पनि छन् । भारत सरकारले ईन्टरनेट पहुँचलाई रोकेको यो पहिलो पटक भने होइन । सन् २०१८ मा विश्वभर सबैभन्दा बढी समय ईन्टरनेट सटडाउन भएका थिए । सो समय सबैभन्दा धेरै पटक इन्टरनेट बन्द गर्ने देशको दोस्रो सुचीमा रहेको पाकिस्तानमा पनि १२ पटक मात्रै इन्टरनेट बन्द गरिएको थियो । विश्वमा दुत गतिमा बृद्धि भईरहेको ईन्टरनेट सेवा बन्द गर्ने सरकारको कार्यप्रति धेरै भारतीयले आलोचना गरेका छन् । यस्तो आलोचना हुनुको मुख्य कारण भनेको प्रधानमन्त्री मोदीले सन् २०१४ मा प्रधानमन्त्री बन्नुभन्दा पहिला ईन्टरनेट जडानलाई आफ्नो मुख्य चुनाबी मुद्दाका रुपमा प्रस्तुत गरेका थिए । यस्तै, उनले प्रविधिको विकासका लागि डिजिटल इन्डिया अभियान नै सुरु गरेका थिए । मोदीले १ अर्ब भन्दा बढी भारतीयलाई अनलाईन देख्न चाहको र ग्रामीण क्षेत्रमा सस्तो र उच्च गतिको ब्रोडब्याण्ड ईन्टरनेट पुराउने बताएका थिए । भारतको सबैभन्दा लामो ईन्टरनेट बन्द १. १ सय ४१ दिन (अगस्ट ४ देखि अहिलेसम्म जम्मु र कस्मिरमा) २. १ सय ३३ दिन (कश्मिरमा ८ जुलाईदेखि १९ नोभेम्बरसम्म) ३. ९९ दिन (२०१७ मा, भारतको पश्चिम बंगालममा १ जुनदेखि २२ सेप्टेम्बरसम्म)
सन नेपाल लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दोश्रो बार्षिक साधारण सभा पुस ५ गते सम्पन्न भएको छ । काठमाडौंको नक्साल स्थित मेरियट होटलमा सम्पन्न भएको उक्त सभा संचालक समितिका अध्यक्ष अनुजक्यालको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले सामान्य प्रस्तावमा बार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित आ.व २०७४/०७५ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायत वित्तीय विवरण प्रतिवेदन, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आ.व २०७५/०७६ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय समेत पारित गरेको छ । अध्यक्ष अनुजक्यालले सभामा आ.व २०७४/०७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को मंसिर मसान्त सम्मको अवधिमा २१ शखा र ७७ उपशाखा कार्यालय संचालन गरी करीब १५ हजार अभिकर्ता संरचना तयार गरेको छ । साथै, इन्स्योरेन्सले छोटो अवधिमा नै उल्लेखनीय बीमालेख बिक्री गरी देशभर आफ्नो संजाल र कारोवार बिस्तार गर्न सफल भएको कम्पनीले जनाएको छ ।
माथिल्लो भोटेकोशी जलविद्युतकाे व्यापारिक उत्पादन आजदेखि शुरु
चौतारा । पैँतालिस मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाबाट आइतबारदेखि व्यापारिक उत्पादन शुरु भएको छ । दुई साताको परीक्षण प्रसारणपछि लामोसाँघुको सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गरी व्यापारिक उत्पादन शुरु भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विक्रम स्थापितले बताएका छन् । विसं २०७२ को भूकम्प र बाढीपहिरोलगायत पटकपटकको प्राकृतिक प्रकोपका कारण आयोजना पाँच वर्षसम्म बन्द रहेको थियो । निजी क्षेत्रबाट सञ्चालित उक्त आयोजनाको दुवै युनिट सञ्चालनमा ल्याइए पनि हाल नदीमा पानी बहाव कम भएकाले दैनिक सरदर २२ देखि २५ मेगावाट मात्र विद्युत् उत्पादन भएको आयोजनाले जनाएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत फुल्पीङकट्टीको झिर्पुमा विद्युत् गृह रहेको आयोजनाको पुनःनिर्माणका लागि यही पुसको दोस्रो सातामा सम्पन्न गर्ने गरी २०७४ सालमा चिनियाँ कम्पनी सिनो हाइड्रो ११ ब्युरोलाई रु सात अर्बमा ठेक्का दिइएको थियो ।
हङकङमा ट्रान्जिट भीसाको व्यवस्था गरौंः काँग्रेस
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेपाली नागरिकका लागि हङकङमा ट्रान्जिट भीसाको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडको नेतृत्वमा गएको टोलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ग्यापनपत्र बुझाउँदै यस्तो माग गरेको हो । ठूलो संख्यामा नेपाली कामदार मकाउमा कार्यरत रहेको तर हङकङमा ट्रान्जिट भीसाको व्यवस्था नहुँदा समस्या भएकोले यस्तो व्यवस्था गर्नुपर्ने प्रमुख सचेतक खाँडले वताए । ‘वर्क पर्मिट’ प्राप्त गरी करिब ४ हजार नेपाली रोजगारीका लागि मकाउमा रहँदै आएका छन् । काठमाडौंदेखि मकाउ जान र मकाउदेखि काठमाडौं आउन हालसम्म सोझो हवाई उडान छैन । मकाउमा रोजगारीका लागि पुग्ने र आउने नेपालीले कठिनाई भोग्नु परेकोले हङकङमा ट्रान्जिट भीसाको व्यवस्था गर्नुपर्ने काँग्रसको माग छ । काठमाडौं–हङकङ–मकाउ वा मकाउ–हङकङ–काठमाडौं सबैभन्दा पायक र सहज रुटमा रहेको छ । तर सो रुट भएर यात्रा गर्नका लागि नेपालीहरुलाई हङकङमा ट्रान्जिट भीसाको व्यवस्था नभएकोले हङकङको ट्रान्जिट भीसा व्यवस्था गर्न माग गरिएको हो । परराष्ट्र मन्त्री ज्ञवालीले हङकङमा ट्रान्जिट भीसा नहुँदा नेपालीहरुले भोग्नु परेको समस्याका बारेमा आफू गम्भीर रहेको बताउँदै यस बिषयमा तत्काल मन्त्रालयबाट पहल गर्ने प्रतिबद्धता जनाए । प्रतिनिधिमण्डलमा काँग्रेस संसदीय दलका प्रमुख सचेतक खाँडासहित तरुण दलका पूर्वसचिव एवं नेपाली काँग्रेस महासमिति सदस्य जन्मजय तिमिल्सिना, तरुण दलका कोषाध्यक्ष बिद्धान गुरुङ, नेपाल मकाउ चेम्बर आफ कमर्शका अध्यक्ष सुदर्शन थापा मगर, मनोज गुरुङ र रामकृष्ण श्रेष्ठ थिए ।
नुवाकोटको विदुरमा सवारी दुर्घटना हुँदा दुईको मृत्यु, ६ घाइते
विदुर । नुवाकोटको विदुर नगरपालिका–६ स्थित मूल्थलामा बाटोको काम गर्ने नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिको गाडी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा छ जना घाइते भएका छन् । मूल्थलाबाट चैनपुरतर्फ जाँदै गरेको बा२क ७९१० नंको आइचरमा सवार सोही कम्पनीका कर्मचारी दुईजनाको दुर्घटनामा परी मृत्यु भएको नुवाकोट प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताएका छन् । नायब उपरीक्षक थापाका अनुसार आइचरमा सवार नागार्जुन कन्स्ट्रक्सन कम्पनीका कर्मचारीहरु बाटोको काम गर्न चैनपुर जाँदै गर्दा दुर्घटना भएको हो । रसुवा जिल्ला नौकुण्ड गाउँपालिका–३ का १९ वर्षीय सुदीप तमाङ (सह–चालक) र खोटाङ जिल्ला घर भएका १९ वर्षीय अविरल तमाङको घटनास्थलमै मृत्यु भएको उनले बताए । घाइते हुनेमा नुवाकोट ककनी गाउँपालिका–१ का २८ वर्षीय गणेश बलामी (चालक), सोही जिल्लाका विदुर नगरपालिका– ६ का ४५ वर्षीय सचितकुमार रिमाल, जाजरकोट जिल्ला भेरी नगरपालिका–३ का २२ वर्षीय शङ्करराज सुनार, सोही ठाउँका २७ वर्षीय हेमराज ठकुरी, ३० वर्षीय तिलक खत्री र १८ वर्षीय विमल सुनार रहेको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिएका छन् । घाइते छ जनामध्ये दुई जनालाई काठमाडौं ‘रिफर’ गरिएको र चारजनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको उनले बताए ।
मुक्तिनाथ रेमिट्यान्स अभियानका विजेताले पाए स्कुटरदेखि स्पिकरसम्म
काठमाडौं । मुक्तिनाथ रेमिटले रेमिट्यान्स अभियानका विजेताहरुलाई विभिन्न ७६ पुुुरस्कार वितरण गरेको छ । भदौ १ गतेदेखि कार्तिक ३० गतेसम्म लागूहुने गरी सञ्चालन गरेको उक्त अभियानकाे भाग्यशाली विजेताहरुको घोषणा २०७६ मंसिर १५ गते आईतबार यस विकास बैंकको फेसबुक पेजमार्फत लाइभ गरिएको थियो । यस अभियान अन्तर्गत तोकिएको अवधिभित्र मुक्तिनाथ रेमिटबाट पैसा पठाउने वा कुनै पनि रेमिट्यान्स मार्फत पठाएको रकम मुक्तिनाथ विकास बैंकबाट लिने सम्पुर्ण ग्राहक मध्येबाट भाग्यशाली विजेताहरुलाई विभिन्न ७६ पुरस्कारहरु वितरण गरिएको हो । ७६ पुरस्कारमध्ये २५ जनालाई ब्लुटुथ स्पिकर, २० जनालाई प्रेसर कुकर, १५ जनालाई स्मार्ट मोबाइल, ७ जनालाई टिभी ३२ स्मार्ट एचडी, ५ जनालाई फ्रिज २००लि., ३ जनालाई ल्यापटप, १ जनालाई स्कुटर वितरण गरिएको छ ।
सीएको कार्यक्रममा अर्थमन्त्रीदेखि अख्तियारका प्रमुखसम्मको गुनासो लेखापरीक्षकसँग नै
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रविधिमा आधारित रहेर वित्तीय तथा आर्थिक अनियमितता तथा भ्रष्टाचारजन्य गतिविधि बढेको भन्दै लेखापरीक्षकहरुले ध्यान पुर्याउनुपर्ने बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आयोजना गरेको प्रोफेसनल इन्टिग्रिटी फर कम्ब्याटिङ करप्सन एन्ड फ्रड सम्बन्धी अन्तर्क्रियामा अर्थमन्त्री खतिवडाले वित्तीय अपराधको दायर बढिरहेको भन्दै नियन्त्रणको चुनौती रहेको बताए । अर्थमन्त्री खतिवडाले कम्पनी दर्ता, वासलात तयारदेखि त्यसको लेखापरीक्षणसम्म गलत हिसाबले हुने गरेको भन्दै त्यसमा कसैले पनि सहयोग गर्न नहुने उल्लेख गरे । ‘गलत कम्पनी दर्ता हुने, गलत वासलात तयार हुने र त्यसैको लेखापरीक्षण हुने गरेको छ, कुनै कारोबारको जरोदेखि नै गलत कृयाकलाप सुरु हुने गरेको छ, त्यसलाई सदर गर्ने भूमिका लेखापरीक्षकको हुनु भएन,’ मन्त्री खतिवडाले भने । प्रविधिको उपलब्धता तथा नयाँ प्रविधिको विकास र त्यसको उपयोगले वित्तीय तथा आर्थिक अपराधका नयाँ आयाम थपेको पनि डा. खतिवडाको भनाइ छ । अर्थमन्त्री खतिवडाले हरेक पेशा र व्यवसायमा संलग्न हुने व्यक्तिले मूल्य मान्यता बाहिरका काम गर्न नहुने भन्दै चार्टर्ड एकाउन्टेन्ट, वकिललगायतका जोसुकै व्यक्तिले पनि व्यावसायिक आचारसंहिता र नैतिकताको सीमा बिर्सिन नहुने धारणा राखे । ‘भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्दै पारदर्शिता कायम गर्न सरकार लागि परेको छ, यसकै लागि कानुन पनि बनिरहेका छन्, भ्रष्टचार नियन्त्रणमा सबैको सहयोग आवश्यक छ,’ मन्त्री खतिवडाले भने । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले लेखापद्धति र लेखापरीक्षण व्यवस्थित बनाउन चार्टर्ड एकाउन्टेन्ट् संस्थाको भूमिका महत्वपूर्ण हुने बताए । लेखापरीक्षणका क्रममा वित्तीय ठगी र भ्रष्टाचार भए नभएको हेर्नुपर्ने प्रमुख आयुक्त घिमिरेको भनाइ छ । लेखापरीक्षकले आर्थिक अनियमितता लुकाउने गरी काम गर्न नहुनेमा पनि घिमिरेले जोड दिए।‘हामी सबैले बुझ्नुपर्छ, भ्रष्टाचार निवारणमा लेखापरीक्षकको भूमिका हुन्छ, त्यसमा यहाँहरुले पनि व्यावसायिक र नैतिक दायराभित्र बसेर काम गर्नुपर्छ,’ घिमिरेले भने । महालेखापरीक्षक टंकमणि शर्माले हरेक व्यावसायिक व्यक्तिले न्यूनतम तहको मूल्य मान्यताभित्र बसे मात्रै पनि भ्रष्टाचारको समस्या न्यूनीकरण हुने बताए । अहिलेको समयमा कर चुहावट, अनियमितता, भ्रष्टाचारको विकेन्द्रीकरण जस्ता समस्या रहेको भन्दै उनले त्यसतर्फ सचेत हुन आग्रह गरे । अहिले संसारभर नै निजी क्षेत्र ठगीमा र सार्वजनिक क्षेत्र भ्रष्टाचार लुकाउन केन्द्रित रहेको शर्माको भनाइ छ । अन्तर्राष्ट्रिय तहमै सम्पत्ति शुद्धीकरणका विषय पनि उठिरहेको भन्दै त्यसतर्फ पनि सचेत हुनुपर्ने घिमिरेको भनाइ छ । नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले व्यवसायिक संस्थाहरुको काम कारबाही सुधार हुँदै जानुपर्ने बताए । उनले नियमनकारी निकायहरुको भूमिका अझै बलियो हुनुपर्ने आवश्यकता पनि औंल्याए । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले विभिन्न पेशा र व्यवसायमा नैतिकता क्षयीकरण देखिएको अनुभूति जनमानसमा परिरहेको उल्लेख गरे । उनले आफूहरुले आयोजना गरेको यस्ता कार्यक्रमले सदाचार प्रबर्धन र भ्रष्टाचार नियन्त्रणमा कसरी काम गर्ने भन्ने विषयमा सरकारलाई पनि सहयोग पुग्ने बताए । ‘व्यावसायिक नैतिकता प्रबर्धन गर्ने र हरेक व्यावसायिक व्यक्ति र संस्थालाई नैतिकताको सीमामा राख्ने गरी हामीले काम गर्नुपर्नेछ, त्यसैका लागि छलफल आवश्यक परेकाले हामीले यो कार्यक्रम आयोजना गरेका हौँ । यो कार्यक्रमबाट प्राप्त हुने सुझाव र सल्लाह हामी सरकार र अन्य सरोकारवाला निकायलाई पनि प्रस्तुत गर्नेछौँ,’ अध्यक्ष आचार्यले भने । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्तासमेत रहेका सहसचिव प्रदीप कोइरालाले लेखापरीक्षकले गरेको लेखापरीक्षणमा अनुसन्धान गर्ने निकाय ढुक्क हुन सक्ने अवस्था नरहेको बताए । उनले स्थानीय तहहरुमा भ्रष्टाचार बढिरहेको र त्यसमा धेरै विवरण लेखापरीक्षण भैसकेको कागजात पनि भेटिएको उल्लेख गरे । लेखापरीक्षकले लेखापरीक्षणका क्रममा त्रुटी भेटिए पनि त्यसलाई विस्तृत अनुसन्धानका लागि सुझावका रुपमा प्रस्तुत नगर्ने प्रवृत्ति रहेको पनि जानकारी दिए । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले सर्टिफिकेसन कोर्स अन फरेन्सिक एकाउन्टिङ एन्ड फ्रड डिटेक्सन नामको कोर्सअन्तर्गत ४० जनालाई तालिम दिइसकेको पनि कार्यक्रममा जानकारी दिइयो ।