बाजुराका दुई गाउँपालिकामा हालसम्म पुगेनन् बैंक
मार्तडी । बाजुराका नौ स्थानीय तहमध्ये पूर्वी उत्तरी भेगमा रहेका स्वामीकार्तिक गाउँपालिका र जगन्नाथ गाउँपालिकामा हालसम्म बैंक स्थापना हुन सकेको छैन । जनप्रतिनिधि आएको अढाइ वर्ष बितिसक्दा बैंक स्थापना नहुँदा स्थानीयवासी समस्यामा परेका छन् । जगन्नाथ गाउँपालिकाका अर्जुन विष्टले बैंकिङ कारोवार गर्न पैदल हिँडेर बूढीनन्दा नगरपालिका जानुपर्ने बाध्यता रहेको दुखेसो गरेका छन् । स्वामीकार्तिक गाउँपालिकाको केन्द्र पिलुचौरमा समेत बैंक छैन । पालिकामा बैंक नहुँदा स्थानीयले बूढीनन्दा नगरपालिका धाउँदै आएका छन् । दुई वटै गाउँपालिकामा बैंक नभएपछि सोही नगरपालिकामा रहेको राष्ट्रिय वाणिज्य बैंकमा कारोबार गर्न धाउनुपर्ने बाध्यता रहेको छ । गाउँपालिकामा बैंक स्थापना गरी सञ्चालनमा ल्याउन गाउँपालिकाले पहल गर्दै आएको बताइएको छ । सात स्थानीय तहमा बैंक सञ्चालन सात स्थानीय तहमा बैंक सञ्चालन भएपछि स्थानीयलाई बैंकिङ कारोबार गर्न सहजता भएको छ । स्थानीयस्तरमा नै बैंक सञ्चालन हुँदा सदरमुकाम मार्तडी आउने समस्या हटेको बूढीनन्दा नगरपालिका–४ का स्थानीय छक्कबहादुर मल्लले जानकारी दिए । उहाँ गाउँमा बैंक नहुँदा दुई दिन लगाएर सदरमुकाम धाउनु पथ्र्यो तर स्थानीय तहका जनप्रतिनिधि आइसकेपछि स्थानीयस्तरमा बैंक हुँदा निकै सहजता भएको बताउँछन् । जिल्लाका नौ स्थानीय तहमा फरक फरक बैंकले कारोबार गर्दै आएका छन् । पूर्वी उत्तरी भेगमा रहेका चार स्थानीय तहमध्ये बूढीनन्दा नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंक, हिमाली गाउँपालिका सानीमा बैंक, सञ्चालनमा आइरहेका छन् । यस्तै बूढीगङ्गा नगरपालिकामा सिद्धार्थ बैंक, त्रिवेणी नगरपालिकामा नेपाल बैंक लिमिटेड, खप्तड छेडेदह गाउँपालिकामा हिमालयन बैंक र बडीमालिका नगरपालिकामा राष्ट्रिय बैंक वाणिज्य सञ्चुरी, एनआइसी, महालक्ष्मी विकास बैंक रहेका छन् । यहाँस्थित गौमुल गाउँपालिकामा कुमारी बैंकले आइतबारदेखि औपचारिक रुपमा आफ्ना सेवा सञ्चालन ल्याएको छ । गाउँपालिकाको केन्द्र घट्मुनामा स्थापना गरिएको बैंकले गाउँपालिकाका नियमित बैंकिङ कारोवार सहज हुने अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिए । बैंकको कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य भएको उनले बताए । बैंकले गाउँपालिका तथा त्यस क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ सेवा पुर्याउन सहज हुने गाउँपालिकाका उपाध्यक्ष सीता थापाले बताएकी छन् । रासस
सबैं स्थानीय तहको सम्पूर्ण तथ्यांक ह्याकरको कब्जामा, अनुसन्धान गर्दै सीआईबी
काठमाडौं । नेपालका सबै स्थानीय तहको तथ्यांक ह्याक भएको छ । मन्त्रिपरिषदले स्वीकृति दिएर महालेखा नियन्त्रकको कार्यालयले प्रयोगमा ल्याएको स्थानीय संचित कोष व्यवस्थापन प्रणाली (सुत्र) मा रहेका सबै तथ्यांक ह्याकरको कब्जामा पुगेको हो । गत १२ मंसिरदेखि ४ पुससम्मका सबै स्थानीय तहका बजेट अख्तियारी, खर्चको विवरण जस्ता सबै प्रकारका तथ्यांक ह्याक भएको महालेखा नियन्त्रकको कार्यालयका सूचना अधिकारी निरज केसीले जानकारी दिए । यसरी प्रणाली ह्याक भएपछि आवश्यक अनुसन्धानको लागि महालेखाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) लाई छानविन गर्न पत्राचार गरेको छ । ‘स्थानीय तहले आफ्नो सबै हिसाब किताब राख्न प्रयोग गरेको प्रणाली सुत्र नै ह्याक भएको छ, हामीले प्रयोग गरेको व्याकअपमा पनि आक्रमण भएकोले यसको छानविनको लागि सीआईबीलाई पत्राचार गरेका छौं,’ केसीले विकासन्यूजसँग भने । ह्याकरले स्थानीय तहका सबै विवरण ह्याक गरेको कारण महालेखा नियन्त्रकको कार्यालयले स्थानीय तहमा कार्यरत लेखा समुहका सबै कर्मचारीको सरुवा रोकेको छ । सरुवा भइसकेका कर्मचारीलाई पनि यसअघिको विवरण पुन प्रविष्ट गर्नुपर्ने भएकोले सो कार्य सकिएपछि मात्रै रमाना दिन सबै स्थानीय तहलाई महालेखाले परिपत्र नै गरेको छ । महालेखाले गरेको परिपत्रमा १२ मंसिरदेखि ९ पुससम्मको तथ्यांक ह्याक भएको उल्लेख गरिएको छ । तर, आज ७ पुस हो । सो परिपत्रमा मिति नै गलत लेखिएको छ । महालेखाका सुचना अधिकारी केसीले ४ पुस (गत शुक्रबार) सम्मको सबै तथ्यांक ह्याक भएको वताए ।
होटल व्यवसायी महासङ्घको अध्यक्षमा शाह
सुर्खेत । होटल व्यवसायी महासङ्घ, नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनले हीराध्वज शाहीलाई अध्यक्षमा चयन गरेकाे छ । बुटवलका होटल व्यवसायीको नेतृत्वमा सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न ७३ सदस्यीय समिति सर्वसम्मत शाहीलाई चयन गरेको हो । निर्वाचन समितिका अनुसार समितिको वरिष्ठ उपाध्यक्षमा दिनेशकुमार चुके, प्रथम उपाध्यक्ष (पर्यटनतर्फ) जनकबहादुर शाही, द्धितीय उपाध्यक्ष (सङ्गठनतर्फ) केपी शर्मा, उपाध्यक्ष (महिलातर्फ) मीनादेवी गौतम, उपाध्यक्ष विश्वराज खनाल, इच्छाबहादुर वाग्ले (प्रशासनतर्फ) र इमान्द बराल चयन भएका छन् । त्यस्तै, महासचिवमा वीरमन्जन बटाला, उपमहासचिवमा शेरबहादुर थापा, कोषाध्यक्षमा तिलकबहादुर कार्की, सहकोषाध्यक्षमा मोदनाथ बेल्वासे, सचिवहरुमा दीर्घमान गुरुङ, परमानन्द भण्डारी, चन्द्रलाल न्यौपाने, तुल्सीराम भण्डारी, राजु अधिकारी र गणेशबहादुर खड्का रहेका छन् । नवनिर्वाचित अध्यक्ष शाहले व्यवसायको हकहितका लागि होटल व्यवसायीको एकता जरुरी रहेको औँल्याए । होटल व्यवसायीले दोहोरो कर तिर्नुपर्ने बाध्यता आफूले अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कुखुरा र अण्डा व्यवसायी विचौलियाको चरम मारमा
बेझाड । कुखुराले बजार मूल्य नपाउँदा रामपुरका व्यावसायिक कुखुरापालक कृषक मारमा परेका छन् । ठूलो लगानीमा व्यवसायमा चलाएका यहाँका व्यवसायी लगानी पनि नउठ्ने गरी कुखुरा बिक्री गर्न बाध्य छन् । बाहिरबाट आएका जिउँदो कुखुरा र अण्डा सस्तो मूल्यमा पाएपछि स्थानीय उत्पादनले बजार नपाएको हो । अहिले जिउँदो कुखुराको मूल्य प्रतिकेजी रु १६० को हाराहारीमा रहेको छ । बिक्री गर्ने बेला भएका कुखुराले बजार नपाउँदा समस्या परेको गर्ने बेला भएका कुखुराले बजार नपाउँदा समस्या परेको व्यवसायी मेगराज न्यौपाने बताउँछन् । “कुखुरा बिक्री गर्न लायकका छन्, १६० दिँदा पनि व्यापारीले लैजान मानेका छैनन्, दानापानीको भाउ सुन्दा डरलाग्दो छ, कुखुरापालक व्यवसायी सङ्कटमा परेका छौँ”, उनले भने । उनको फार्ममा हाल एक हजार कुखुरा छन् । करिब रु एक करोडभन्दा बढीको लगानीमा कुखुरापालन व्यवसाय चलाएका रामपुर एग्रोफार्मका सञ्चालक भुवन अर्याल पनि लागतअनुसारको मूल्य नपाउँदा चिन्तित छन् । उनले अण्डा उत्पादन गर्ने उद्देश्यले लेयर्स जातका करिब तीन हजार कुखुरा पालेका छन् । अण्डाले बजार मूल्य नपाउँदा व्यवसाय नै धरापमा पर्ने स्थिति आएको उनले बताए । “रामपुरमा दैनिक आठ हजारसम्म अण्डा आवश्यकता भए पनि स्थानीय उत्पादनले बजार नपाएको अवस्था छ, नगरपालिकाले निश्चित दरभाउ कायम गरिदिनुपर्ने र नियमित रेखदेख गरेमा मात्र कृषकले बजार मूल्य पाउने छन्”, उनले भने । रामपुर नगरपालिकाभित्र अण्डा उत्पादन गर्ने चार वटा फार्म छन् । यहाँ दैनिक पाँच हजार अण्डा उत्पादन हुने गरेको । यहाँ उत्पादन भएको अण्डा प्रतिगोटा रु नौ मा बिक्री भइरहे पनि उपभोक्ताले भने रु १५ मा खरिद गर्न बाध्य छन् । रु एक हजार १३५ दानाको मूल्य रहँदा रु १२० मा प्रतिकिलो जिउँदो कुखुरा बेचेका रामपुर कुखुरापालक कृषक समूहका अध्यक्ष धातानन्द अर्यालले अहिले दानाको मूल्य बढेर तीन हजार ५७५ पुग्दा पनि प्रतिकेजी रु १६० मा बिक्री गर्नुपर्दा कृषक मारमा परिरहेको बताउँछन् । “केही होला कि भनेर व्यवसाय गर्ने हो, कुखुराको दानापानीको मूल्य आकाशियो तर कृषकको उत्पादनले कहिल्यै बजारमा लागतअनुसारको मूल्य पाउन सकेन, व्यवसाय गरेको उल्टै घाटा बेहोर्नुपरेको छ”, उनले भने । नगरपालिकाले निश्चित मापदण्ड बनाएर बाहिरबाट आउने कुखुरा, अण्डा नरोक्दासम्म यहाँको उत्पादनले बजार नपाउने व्यवसायीले जनाएका छन् । रेखदेख, व्यवसायीको परिश्रम त परै जाओस् दानापानी खरिदको मूल्य पनि उठाउन नसकिरहेको व्यवसायीको गुनासो छ । अहिले रामपुर क्षेत्रमा कुखुरापालन गर्ने व्यवसायी विचौलियाको चरम मारमा छन् । विदेशबाट फर्केर गाउँमै सम्भावना बोकेर केही गर्न खोजेका युवा कुखुराले बजार मूल्य नपाउँदा पुनः विदेश नै फर्कने मनस्थिति बनाउन थालेका छन् । रासस
मिस कल्चर नेपालको पहिलो अडिसन सम्पन्न
काठमाडौं । मिस कल्चर नेपालको छैठौं संस्करण अन्तर्गतको पहिलो अडिसन सम्पन्न भएको छ । हाम्रो संस्कृति हाम्रो पहिचान, लोपोउन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूलनाराका साथ पुष्पाञ्जली फेसन एण्ड इभेन्टले पोखरामा सम्पन्न गरेको हो । अडिसनमा कास्की आसपासका विभिन्न जिल्लाहरूबाट इच्छुक अविवाहित नारीहरूको सहभागिता रहेको थियो । पोखराको न्यूरोडस्थित सगुन रेष्टुरेण्ट एण्ड बारमा भएको अडिसनबाट १३ जना प्रतियोगी छनौट गरिएको आयोजकले जनाएको छ । पछिल्लो समय नेपालमा पश्चिमेली संस्कृतिको प्रभाव नराम्रोसँग युवा पुस्तामा परेको र नेपाली संस्कृति विस्तारै विस्तापित गइरहेकाले यस कार्यक्रममार्फत विदेशी संस्कृतिबाट बढी प्रभावित युवा पुस्तालाई नै संस्कृति र रीतिरिवाज जोगाउन लागि पर्ने वातावरण सृजनाका निम्ति पनि यस कार्यक्रम अझ प्रभावकारी तवरले अगाडि बढाउन लागिएको पुष्पाञ्जली फेशन एण्ड इभेन्टकी अध्यक्ष शोभा गौतमले बताइन् । अडिसनबाट छनौट भएकाहरूलाई ४५ दिनको प्रशिक्षण पश्चात फाइनल कार्यक्रममा प्रवेश गराइने र विजेतालाई स्कुटर सहित चाँदीको क्राउन प्रदान गरिने कार्यक्रम संयोजक दिनेश शर्माले जानकारी दिए । कार्यक्रमको मुख्य प्रायोजकमा सिजि ब्रुअरी नेपाल (नेपाल आइस बियर), प्रिजेन्टेड बाइमा प्रभु बैंक र पावर्डबाइमा हरपल चामल रहेका छन् । शोभा गौतम ९८५६०४४०९४
चावहिलमा सार्वजनिक बसमा पशुपति क्याम्पसका विद्यार्थीले आगो लगाए
काठमाडौं । एउटा वसले विद्यार्थीलाई ठक्कर दिँदा अर्को बसमा आगलागि भएको छ । पशुपति क्याम्पसमा अध्ययनरत एक विद्यार्थीलाई आज विहान कपन नजिकै एक बसले ठक्कर दिएको थियो । ती विद्यार्थी सामान्य घाइत रहेको र अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । विद्यार्थीलाई ठक्कर दिन बस र चालक दुबैलाई प्रहरीले नियन्त्रण गरेको छ । तर उक्त उक्त घट्नापछि पशुपति क्याम्पसको आक्रोशित विद्यार्थीले चावहिलमा अर्को बसमा आगो लगाएका छन् । आगलागीबाट बसमा निकै क्षति भएको छ । विद्यार्थीले सबै यात्रुलाई ओरालेर आगो लगाएको र यस घट्नमा मानविय क्षति नभएको गौशला प्रहरी चौकीले जनाएको छ ।
रिचार्जरको एप डाउनलोड गर्नेलाई दुई वटा क्रिसमस क्याप नि:शुल्क
काठमाडाैं । मोबाइल एप रिचार्जरले क्रिसमस अफर सार्वजनिक गरेको छ । एण्ड्रोइड तथा गूगल प्लेबाट रिचार्जरको एप डाउनलोड गर्नेहरुलाई रिचार्जरले दुईवटा क्रिसमस क्याप नि:शुल्क उपलब्ध गराउने भएको हो । डिसेम्बर २३ तारिख अर्थात पुस ७ गते सोमबार साँझ ३ बजेदेखि ४ बजेसम्मको अवधिमा रिचार्जर एपबाट क्रिसमस क्याप अर्डर गरिसक्नु पर्ने रिचार्जरका प्रमुख कार्यकारी अधिकृत विशाल आचार्यले बताए । गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोले पछि प्रयोगकर्ताले १०० क्यास प्वाइन्ट पाउने छन् । यसरी आउने १०० क्यास प्वाइन्ट खर्चेर प्रयोगकर्ताले सोमबार एक घण्टाको अवधिमा दुईवटा क्रिसमस क्याप अर्डर गर्न सक्ने छन् । क्याप अर्डर गर्दा अरु शुल्क लाग्ने छैन । प्रयोगकर्ताले दरबारमार्गस्थित मर्कन्टाइल प्लाजामा रहेको रिचार्जरको कार्यालयबाट क्याप संकलन गर्नुपर्ने हुन्छ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा रिचार्जरले स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै रिचार्जर बिग सेल २०२० को तयारी अन्तिम चरणमा पुर्याएको छ । अहिले विदेशी प्रयोगकर्ताहरुले रिचार्जरबाट २४ सै घण्टा नाईट फुड सर्भिस अर्डर गर्न सक्छन् भने स्वदेशी बिदेशी पर्यटकलाई लक्षित गर्दै अफरहरु सार्वजनिक हुने क्रममा छन् । विश्भरी रहेका स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण वर्षको अफर रिचार्जर बिग सेल २०२० मा सहभागिता जनाउन सक्ने छन् । स्वदेशी तथा पर्यटकहरुले रिचार्जरबाट २० हजारदेखि २ लाख रुपैंयासम्ममा आकर्षक भ्रमण प्याकेजहरु पाउने छन् । अहिले डाउनलोड गर्नुस्, समय र पैसाको बचत गर्नुस् भन्ने नारा सहित रिचार्जरले दैनिक प्रयोगमा आउने सेवाहरु एकैस्थानमा उपलब्ध गराउँदै आएको छ । रिचार्जरले जतिको मोबाइल रिचार्ज गर्यो त्यत्ति नै क्यास प्वाइन्ट दिँदै आएको छ । यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जर बाट सामान खरिद गर्दा छुटका रुपमा प्रयोग गर्न सकिन्छ । सेवा र किनमेलका लागि उपयोगी रिचार्जरमा ७० प्रतिशतसम्मको छुटमा सामानहरु किन्न सकिन्छ । त्यसैगरी विभिन्न बैंकहरुसँगको सहकार्यमा शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा ग्याजेट, ईलोक्ट्रोनिक्स, टुर प्याकेज, फर्निचर लगायतका घरायसी उपयोगका सामानहरु पनि किन्न सकिन्छ ।
पुस ९ गतेदेखि ‘द काठमाडौं ट्रेड सो २०१९’ हुँदै, विभिन्न देशका १५० स्टल राखिने
काठमाडौं । डेलीरोलिङ मिडिया एण्डइभेन्ट्सले यही पुस ९ गतेदेखि १३ गतेसम्म काठमाडौंको भृकुटिमण्डप प्रर्दशनी हलमा ‘द काठमाडौं ट्रेड सो २०१९’ आयोजना गर्ने भएको छ । उक्त मेलमा भारत, चीन, बंगलादेश, पाकिस्तान र नेपाल लगायत देशहरुको करिब १५० स्टल रहने छन् । यस मेलामा नयाँ नौला बलिया र टिकाउ सामानको प्रर्दशनी तथा बिक्री वितरण हुनेछ । नेपालमा निर्मित तथा अयातित वस्तुहरुको वृहत प्रदर्शनी गर्नु र प्रदर्शकको वित्तीय लेनदेनलाई अझ फाईदाजनक बनाउनु यस मेलाको मुख्य लक्ष्य रहेको छ । लत्ता कपडा, खाद्यान्न, घरायसी सरसमानदेखि ठूलाठूला औजार, सवारी साधान र घर निर्माण सम्मका स्टलहरु यस मेलामा रहने छन् । सन् २०२० को भिजिट नेपाल २०२० लाई लक्ष्य गरी सो सम्बन्धित कार्यक्रम पनि यस मेलामा हुनेछन् । क्रिसमसको बेला परेकाले र दर्शकहरुको संख्यामा उल्लेखनीय वृद्धि गर्ने उद्देश्यले मेलालाई रङ्गीचङ्गी झिलिमिलि सझाउनका साथै मेलालाई बेलुकाको ८ बजेसम्म खुल्ला राख्ने गरी यस मेलाको डिजाइन गरिएको छ भने पहिलो दिन सांगीतिक कार्यक्रमको समेत आयोजना गरीने छ । मेलापुर्ण रुपमा व्यावसायिक र मनोरञ्जनात्मक हुने आयोजक मध्यका एक धिरज ढकालले जानकारी दिएका छन् पर्यटन प्रवद्र्धनकालागि केही स्टलहरु सहुलियत मूल्यमा बिक्री गरी नेपालको भेषभुषा, मौलिक खाद्यान, संस्कृति र मौलिक सर सामानको प्रदर्शनीपनि यस मेलामा समावेश हुनेछन् । काठमाडौं र सिङ्गो नेपालको कला संंस्कृति भेषभुषा रहन सहन अनुसारको व्यापार व्यावसाय गरे अझ फाईदा हुने हुनाले यस मेलालाई ‘ट्रेड इन्फ्ल्युन्स वाइकल्चर’को ढाँचामा आयोजना गर्न लागिएको अर्का आयोजक रोसन अधिकारीले बताए । यस मेला रोलिङ मिडिया एण्ड इभेन्टले आयोजना गरेको छ भने डीएन/इभेन्टस् इन्टर्डक्सन ट्रेड स्वोनले सह आयोजना गरेका छन् । साथै, अधिकारी क्रिएटिभ कन्सर्न, भिलेज क्याफे, अल्ट्रा सोलार, सभा नेपाल, गोफी, भिरजेन्स/ट्रिकोटले सहयोेग गरेका छन्।