सुदूरपश्चिम प्रदेशमा नेपाल भ्रमण वर्षको तयारी
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ हुने दिन यही पुस १६ गते अर्थात् जनवरी १ लाई यहाँ उत्सवको रूपमा मनाउने तयारी गरिएको छ । प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिको बैठकले गरेको निर्णयअनुसार नेपाल भ्रमण वर्ष शुरु हुने आगामी जनवरी १ लाई उत्सवका रूपमा मनाउने तयारी भएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पर्यटन शाखाका प्रमुख भोजराज पाठकले बताए । सङ्घीय प्रहरी एकाइ कार्यालय धनगढीको मैदानमा नेपाल भ्रमण वर्ष २०२० को मुख्य समारोह गर्ने गरी तयारी भइरहको छ । मुख्य समारोह अघि प्रदेशका नौवटै जिल्लाको लोकसंस्कृति झल्किने झाँकी र सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न लागिएको छ । पहिलो दिनलाई उत्सवका रूपमा मनाएर वर्षभरि गरिने पर्यटन गतिविधिलाई अगाडि बढाउने तयारी भएको मन्त्रालयका प्रवक्ता भरतप्रसाद श्रेष्ठले बताए । भ्रमण वर्षलाई सफल तुल्याउन प्रदेशका पर्यटकीय गन्तव्यको प्रचारप्रसारलाई बढी महत्व दिइएको छ । यसका लागि भ्रमण वर्षलाई लक्षित गरेर प्रदेशमा भित्रिने पर्यटकको स्वागतका लागि चिसापानी, खक्रौला, त्रिनगर, गड्डाचौकी, झुलाघाटलगायतका सीमानाका र धनगढी विमानस्थलमा स्वागतद्वार निर्माण गर्न लागिएको छ । स्वागतद्वारमा प्रदेशका पर्यटकीय गतिविधि र पर्यटन गन्तव्य झल्किने र आवश्यक सूचना दिने खालका पोष्टर र होर्डिङ बोर्डसमेत राख्न लागिएको छ । सञ्चारमाध्यम मार्फत प्रचारप्रसार गर्ने योजना बनाइएको छ । ‘भिजिट नेपाल २०२०’ को लोगोसहित प्रदेशको पर्यटकीय गन्तव्य झल्किने लोगोसमेत अङ्कित ‘स्टीकर’ सार्वजनिक यातायातका साधनमा टाँसेर प्रचारप्रसार गर्ने योजना पनि बनाइएको छ । प्रदेशको पर्यटन झल्किने गरी तयार पारिएको लोगो पर्यटक प्रवद्र्धन समितिको बैठकले अनुमोदन गरिसकेको छ । ‘देव भूमि सुन्दर भूमि’नारा लेखिएको लोगोमा प्रदेशका प्राकृतिक र मानव निर्मित पर्यटकीय क्षेत्रको तस्वीरसमेत राखिएको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले भ्रमण वर्षलाई लक्षित गरी ‘भ्रमण वर्ष २०२०, हाम्रो मूल नारा राष्ट्र विकास, सबैको विकास, जुटौं हामी सारा’ भन्ने मूल नारासहित पर्यटनमैत्री गतिविधि गर्ने योजना बनाएको छ । अभियानअन्तर्गत सीमानाकामार्फत भित्रिने पर्यटकको विवरण सङ्कलनका साथै पर्यटकलाई लक्षित गरी नाकाबाट भित्रिने गाडीका चालकका लागि सचेतना कार्यक्रम शुरु गरिसकेको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए । यस्तै सीमानाकाबाट भित्रिने भारतीय गाडीका चालकले रुट परमिट(सडक इजाजत) लिनका लागि झन्झट व्यहोर्नुपरेको अवस्था रहेको परिपे्रक्ष्यमा भ्रमण वर्षलाई मध्यनजर गरी सीमानाकामा नै ‘रुट परमिट’ उपलब्ध गराउने व्यवस्था गर्न लागिएको पनि उनले बताए । प्रदेश सरकारले भ्रमण वर्षलाई प्रत्यक्ष अप्रत्यक्ष सघाउ पुग्ने गरी पर्यटन व्यवसायीलाई सक्रिय बनाउने योजनासहितका कार्यक्रम सञ्चालन गर्ने योजना बनाउन लागेको छ । यसका लागि तेस्रो मुलुकका पर्यटकलाई प्रदेशका पर्यटकीय गन्तव्यस्थलमा घुमाइदिने व्यसायीलाई तोकिएको मापदण्डका आधारमा अनुदान उपलब्ध गराउने गरी तयारी भइरहेको छ । प्रदेशमा नगण्यरूपमा भित्रिने तेस्रो मुलुकका पर्यटकलाई भित्र्याउन यस्तो रणनीति बनाउन लागिएको हो । यो प्रदेशमा तेस्रो मुलकको तुलनामा भारतीय पर्यटक बढी आउने गरेका छन् । रासस
साहित्यकार डा.भट्टले पाए वनिता लघुकथा सम्मान
काठमाडौं । वनिता लघुकथा सम्मान २०७६ द्वारा साहित्यकार डा.पुष्करराज भट्ट सम्मानित भएका छन् । वर्षेनी साहित्यकारलाई प्रदान गरिँदै अाएको पुरस्कार यो वर्ष डा.भट्टलाई प्रदान गरिएको हो । कार्यक्रमकी सभापति रञ्जुश्री पराजुलीले वनिता त्रैमासिकमार्फत पुरस्कार प्रदान गर्ने गरी एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेेको बताइन् । वनिता परिवारको तर्फबाट मञ्जिला उप्रेतीले स्वागत मन्तव्य राखेकी हुन् । समारोहमा वनिता त्रैमासिककी सम्पादक, प्रकाशक लक्ष्मी उप्रेती, सम्मानित स्रष्टा डा.पुष्करराज भट्ट एवम् प्रेस काउन्सिलका सदस्य चेतनाथ धमलाले मन्तव्य राखेका थिए । उक्त वनिता लघुकथा विशेषांक विमोचन कार्यक्रममा वरिष्ठ बालसाहित्यकार, नियात्राकार रञ्जुश्री पराजुलीको अध्यक्षता, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद सदस्य मातृका पोखरेलको प्रमुख आतिथ्य एवम् कथाकार इन्द्रकुमार श्रेष्ठ लगायतकाे उपस्थिति रहेकाे थियाे ।
कामपाले शुरु गर्याे प्रचार सामग्री हटाउने कार्य
काठमाडौं । महानगरपालिकाले प्रचारप्रसारका लागि शहरका विभिन्न स्थानमा राखिएका होर्डिङ बोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेट, भित्तेलेखनलगायत सहरी दृश्य प्रदूषण हुने प्रचार सामग्री हटाउने काम शुक्रबारदेखि शुरु गरेको छ । शुक्रबार बबरमहल, तीनकुने र कालीमाटी क्षेत्रका ठूला बोर्ड हटाइएको नगर प्रहरी महाशाखा प्रमुख एवं नगर प्रहरी नायब उपरीक्षक धनपति सापकोटाले जानकारी दिए। उनले भने, “भित्तेलेखन, पोल र भित्तामा टाँसिएका पर्चा पम्प्लेट, ब्यानरलगायत शहरलाई कुरूप बनाउने सबै सामग्री हटाउँदैछौँ, शहरलाई सुन्दर बनाउन होर्डिङ बोर्ड मात्र व्यवस्थापन गरेर पुग्दैन, भित्तेलेखन, पर्चा, पोष्टर, पम्प्लेट सबै हटाउनु पर्छ ।” शहरी दृश्य प्रदूषण हटाउन परमादेशको माग गर्दै सर्वोच्च गएका अधिवक्ता पदमबहादुर श्रेष्ठले भने, ‘महानगरको रेकर्ड भएका प्रचार सामग्रीलाई विधिअनुसार व्यवस्थापन गर्नुपर्छ, अभिलेखमा नआएका बिजुलीको पोल, भित्ता तथा अन्य सार्वजनिक ठाउँ वा सार्वजनिक ठाउँबाट देखिने ठाउँका सबै प्रकारका प्रचार सामग्री हटाउनुपर्छ ।’ कारवाही स्वरुप ५८ हजार रुपैयाँ जरिवाना शुक्रबार मात्रै कामपाले भित्ते लेखन तथा सडकमा जथाभावी माटो खसाल्ने १० कम्पनी र व्यक्तिलाई कारवाही गरेको छ । जथाभावी होर्डिङ बोर्ड र पर्चा–पम्प्लेट टाँसेको भन्दै भ्याली इष्टिच्युट चाबहिललाई १० हजार रुपैयाँ र काठमाडौं जब इम्प्लोइमेण्टलाई पाँच हजार रुपैयाँ जरिवाना तिराएको पनि सापकोटाले जानकारी दिए । सेन्ट जेभियर्स र गोल्डेनगेट मल्टिपर्पोजलाई पनि कामपाले क्रमशः पाँच–पाँच हजार रुपैयाँ जरिवाना तिराएको छ । शुक्रबार मात्रै विभिन्न व्यक्ति र संस्थाबाट कामपाले ५८ हजार जरिमाना असुलेको छ । भित्ते लेखनलगायत सहरी दृश्य प्रदूषण हुने प्रचार सामग्री हटाउने कामलाई महानगरले सोमबारबाट कम्तीमा तीन वटा टोली बनाएर महानगरभरि नै परिचालन गर्ने भएको छ । ‘नेपाल पर्यटन वर्ष २०२०’ लाई लक्षित गरेर शहर सुन्दर बनाउने अभियानलाई कामपाले तीव्रता दिएको हो । बिहीबार मात्रै गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा कामपा प्रमुख विद्यासुन्दर शाक्यसहित बसेको बैठकले सरोकारवाला निकायका अधिकारीबीच शहरी सुन्दरता कायम गर्ने काममा सघाउ पु¥याउन सबै पक्षलाई आग्रह गरिएको थियो । रासस
हेलिकप्टर जसरी उड्यो मोटरसाइकल, मूल्य ६ कराेड भन्दा बढी (भिडियोसहित)
काठमाडौं । त्यो समयको कल्पना गर्नुहोस् जब तपाईं एउटा बटनको सहारामा आफ्नो मोटरसाइकललाई हावामा उडाउँदै गन्तव्य सम्म पुग्नुहुन्छ । सडक जाममा परिएको वेला त यस्तो कल्पना झन् कसलाई पो नआउला र ! तर वास्तविक रुपमै त्यस्तो कल्पनालाई साकार तुल्याएको छ फ्रान्सको एउटा कस्टम अटोमोवाइल कम्पनीले, जसको नाम हो ‘ल्याजरेथ’ । यहि कम्पनीले निर्माण गरेको एउटा मोटरसाइकल अन्य मोटरसाइकल सरह गुड्न त सक्छ नै साथै हेलिकप्टर जसरी आकासमा उड्न पनि सक्छ । एलएमभि ४९६ नाम दिइएको यस मोटरसाइकलाई कम्पनीले केहि महिना अघि सफलतापूर्वक परिक्षण पनि गरेको थियो । यस्ता छन् विशेषता यस मोटरसाइकलमा चार वटा चक्काहरु रहेका छन् भने मसेराती कारको ५२०० सीसी भि८ इञ्जिन समावेश गरिएको छ । मसेराती आफ्नो अल्ट्रा लक्जरियसका साथै रफ्तार कारहरुका लागि प्रख्यात मानिन्छ । ल्याजरेथ एलएमभि ४९६ को सवै टायरहरुको बिचमा ९६००० आरपीएमको जेट टर्वाइन जडान गरिएको छ । यस मोटरसाइकलको सवैभन्दा राम्रो पक्ष भनेको यो राइड मोडबाट फ्लाइ मोडमा प्रवेश गर्न केवल ६० सेकेण्डको मात्र समय लाग्छ । कम्पनीले यसको परिक्षणको समयमा यसलाई एक मिटरको उचाइसम्म उडाएर देखाएको थियो । यस मोटरसाइकलको तौल जम्मा १४० के.जी मात्र रहेको छ भने फ्लाइट मोडमा चाहिँ यसले १२० के.जी सम्मको तौल लिएर उड्न सक्ने कम्पनीकाे दावी छ । पोलिष्टर र कार्वन फाइवरको चेसिसमा निर्माण भएको हुनाले पनि यस मोटरसाइकलको तौल तुलनात्मक रुपमा कम रहेको हो । यसरी उड्छ मोटरसाइकल यस मोटरसाइकलमा जडित हाइड्रोलिक एक्यूएटर्सले चारओटा व्हिल्सलाई माथितर्फ मोडिदिन्छ । त्यसपछि सम्पूर्ण चक्काहरुमा भएको टर्बाइन चालु भएर मोटरसाइकललाई माथितर्फ धकेलिदिन्छ र यो उड्न थाल्छ । चेसिसको बिच भागमा समावेश गरिएका थप दुई जेटले मोटरसाइकललाई माथि उड्न थप वल प्रदान गर्छ जसका कारण यसले बढि वजन लिएर पनि उड्न सक्छ । कति पर्छ मूल्य ? कम्पनीले ल्याजरेथ एलएमभि ४९६ को मूल्य ५ लाख ६० हजार अमेरिकन डलर तोकेको छ, नेपाली रूपैयाँमा परिवर्तन गर्दा यसकाे मूल्य ६ कराेड रूपैयाँ भन्दा बढी पर्छ ।
पर्यटन वर्षलाई लक्षित गर्दै ताप्लेजुङको पाथीभरा उडान शुरु
काठमाडौं । इलामबाट धार्मिक तथा पर्यटकीयस्थल ताप्लेजुङको पाथीभरा उडान शुरु गरिने भएको छ । नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै सिम्रिक एयरले सो उडान शुरु गर्ने भएको हो । इलामको सूर्योदय नगरपालिका–११ को पूर्णे डाँडाबाट ताप्लेजुङका लागि उडान शुरु गरिने बताइएको छ । पूर्वका पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने उद्देश्यले इलामसहित पूर्वका तीन स्थानबाट ताप्लेजुङको पाथीभरासम्म हेलिकप्टर यात्रा गराउने उद्देश्यले उडान शुरु गरिएको सिम्रिक कम्पनीले जनाएको छ । सूर्योदय नगरपालिका–११ को पूर्णे डाँडासहित धनकुटाको भेडेटार र ताप्लेजुङको सुकेटारबाट पुसको तेस्रो साताबाट ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गराउने सिम्रिकका प्रमुख कार्यकारी अधिकृत योगेश सापकोटाले जानकारी दिए । इलाम पर्यटकीय क्षेत्र भएकाले यहाँबाट पहाडी जिल्लासहित भारतका पर्यटक लक्षित गरेर उडान शुरु गरिएको सापकोटाको भनाइ थियो । पूर्णे डाँडाबाट १५ देखि २० मिनेटमा पाथीभरा पुग्ने बताइएको छ । दर्शनार्थीले एक घण्टा पाथीभरामा बिताउने र त्यसपछि पुनः सोही स्थानमा ल्याएर छोडिने सिम्रिकका इलाम प्रतिनिधि प्रेमप्रसाद आचार्यले जानकारी दिए । पर्यटन वर्षमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्नका लागि पूर्वका स्थानमा नयाँ ‘उत्पादन’ थप गरेको सापकोटाले बताए । सिम्रिकले इलामबाट २८ हजार ९९९ रुपैयाँमा पाथीभराको दर्शन गराउने छ । त्यसैगरी भेडेटारबाट २९ हजार ९९९ रुपैयाँमा र सुकेटारबाट ६ हजार ९९९ रुपैयाँमा भ्रमण गराउने बताइएको छ । गाडीमा यात्रा गर्न असहज हुने दर्शनार्थीका लागि यो नौलो अवसर भएकाले पनि प्रचार गर्न आवश्यक रहेको पर्यटनकर्मीले बताउँदै आएका छन् । यसले पर्यटन वर्षलाई सफल बनाउन मद्दत गर्ने अपेक्षा लिइएको छ । इलामबाट शुरु गरिने उडानबाट जिल्लावासी मात्र होइन तराई र भारतको दार्जिलिङ, सिक्किम, सिलिगुडीसहितका दर्शनार्थीलाई समेत सहज हुनेछ । इलाम प्रतिनिधि आचार्यका अनुसार इलामबाट बुकिङ शुरु गरिसकिएको छ । भ्रमण वर्ष मनाउन जिल्लाका स्थानीय तहले पनि तयारी थालेका छन् । रासस
डिजिटल नेपाल निर्माण गर्न सबैले एकजुट हुनुपर्छ : नवराज कुँवर
यो समय सूचना प्रविधिको हो । बालकदेखि बृद्धसम्म सूचना प्रविधिमै रमाउन चाहन्छन् । पछिल्लो समय सूचना प्रविधिको प्रयोग गर्नेको संख्या पनि ह्वात्तै बढेको छ । सरकारले पनि डिजिटल नेपालको अवधारणा अघि सारेको छ । नेपालमा इन्टरनेटदेखि सफ्टवेरसम्म सम्बन्ध राख्ने कम्पूटर एशोसीएसन अफ नेपाल पनि आम जनमानसलाई प्रविधिमा संलग्न गराउन महत्वपूर्ण भूमिका खेलिरहेको छ । हालै कम्पूटर एशोसीएसन अफ नेपालको नेतृत्व नवराज कुँवरले पाएका छन् । उनै कुवँरसँग नेपालको सूचना प्रविधिको अवस्था, सूचना प्रविधिको विकासमा उनका आगामी योजनाका बारेमा विकासन्यूजका लागि नबिन पोखरेलले गरेको कुराकानी : क्यान महासंघ सूचना प्रविधिको व्यवसाय प्रवर्द्दनका लागि कसरी अगाडि बढी रहेको छ ? व्यवसाय प्रवद्र्धन भन्दापनि हामीले समग्र प्रविधि बजारको हितकालागि काम गर्ने हो । सो कामकालागि आवश्यक रहेको ठाउँमा हामीले काम गर्दै आएका छौँ । विषेश गरेर हाम्रो उदेश्य भनेको ग्रामीण क्षेत्रमा काम गर्ने हो । अहिले ग्रामिण क्षेत्र भनेको डिजिटल रुपमा काम गर्न आवश्यक रहेको क्षेत्रपनि हो । क्यान महासंघले सरकारका लक्ष्य तथा योजनमा सघाउँदै आएको छ । मुख्यतः आवश्यक रहेको ठाउँका विभिन्न किसिमका कार्यक्रमहरु गर्दै हामीले अघि बढी रहेका छौँ । यस वर्ष हामीले उपत्यका बाहिरबाट कामको थालनी गर्ने लक्ष्य लिएका छौँ । सोही लक्ष्यअनुसार मुलुकका २६ ठाउँमा विविध कार्यक्रमहरु हुनेछन् । प्रविधिको साक्षरताका लागि के कस्ता कार्यक्रमहरुको आयोजना गर्नु भएको छ ? अहिलेको युगमा नयाँ पुस्तामा इन्टरनेटको ज्ञान राम्रो छ । सोही कारण नयाँ पुस्तामा भन्दा अघिल्ला पुस्ताकालागि हामीले कार्यकम तय गर्नु पर्छ । अघिल्ला पिढी तथा पछिल्ला पिढीलाई मिल्ने हिसाबले हामीले इन्टरनेटका कार्यक्रम अघि बढाइ रहेका छौँ । कार्यक्रमको तय कसरी गर्नु भएको छ,कार्यक्रम सञ्चालनका लागि सरकारसँग समन्वय गर्नु भएको छकि छैन ? हामीले कार्यक्रम स्थानीयतह,जिल्ला र प्रदेश अनुसार तय भइरहेको छ । जहाँ जस्तो आवश्यकता पर्छ हामी सोही अनुसार काम गर्न तयार छौँ । सरकारसँग समन्वय गर्ने कि नगर्ने भन्ने कुरा अवस्था हेरेर हुन्छ । हामी कतिपय अवस्थामा सरकारी तहसँग मिलेर काम गर्नेछौं भने कतिपय अवस्थामा हामी एक्लैपनि काम गर्नेछौं । विभिन्न आवश्यकता र अवस्थालाई नियाल्दै हामी अगाडि बढ्छौं । हामीलाई जरुरी पर्यो भनेपनि स्थानिय तह, प्रदेश सरकार र संिघय सरकारसँग पनि सहकार्य गरेर काम गर्छौं । क्यान महासंघलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउन तपाईका आगामी योजना तथा रणनितीहरु के कस्ता छन् ? नेपालको सूचना प्रविधिको विश्व बजार भन्दा निकै पछाडि छ । विश्व बजारले ४० वर्ष पहिले प्रयोग गरि सकेका सूचना प्रविधि हामी अहिले प्रयोग गर्दैछौं । हामी भने अहिले ती सूचना प्रविधिमा हामी रमि रहेका छौं । सूचना प्रविधिको विकासमा निजी क्षेत्रबाट पनि धेरै विकासका प्रयासहरु भएका छन् । निजी क्षेत्रले राम्रा सफ्टवेरको निमार्ण गरेर विदेशमा निर्यात गरेको उदाहरण पनि हामी कहाँ छन् । पछिल्लो समय नेपाल सरकारले सूचना तथा संचार निती २०७२ लिएर आएको छ । त्यसमा भएका राम्रा कुराहरु नै कार्यान्वयन हुन नसकेको अवस्था छ । सरकारी नितीमा रहेका राम्रा कुराहरु कार्यन्वयन भएमा सबैलाई फाईदा पुग्छ । हामीले सोही नितीमा रहेका कुरालाई कार्यान्वयन गराउँनुपर्छ भन्ने पक्षमा आवाज उठाउँदै आएका छौँ । सरकारको डिजिटल नेपाल सार्वजनिक निजी साझेदारीमा गर्ने योजना बनाएको छ । त्यसकालागि क्यान महासंघ सहयोगी हुने देखिन्छ । सरकारको योजना र हामीले गर्दै आएको काममा निकै हदसम्म समानता रहेकोे पाईन्छ । सोही कारण पनि सरकालाई हामी सहयोगीसिद्ध हुने कुरामा दुइ मत नहोला । तपाईको कार्यकालमा इन्टरनेटको विकासका लागि के गर्नु हुन्छ ? देशको ग्रामिण क्षेत्रमा इन्टरनेको पूर्वाधार नै पुगि सकेको छैन । इन्टरनेको पूवार्धारको विस्तार गर्ने काम नेपाल सरकारको हो । हामीले सरकारले पूवार्धार विस्तार गर्नुपर्छ भन्दै आएका छौँ । इन्टरनेटको विषयमा छुटाउनै नहुने कुरा भनेको नेपालको इन्टरनेट शुल्क महङ्गो छ । सरकारका नितीमा केही सुधार भएको अवस्थामा इन्टरनेट शुल्कमा हेरफेर हुने हाम्रो अनुमान छ । मुख्यतः मन्त्रालयमा नै एक किसिमको समन्वयको वातावरण छैन । सर्वप्रथम त सरकारी तहमा एक अर्काबीच राम्रो समन्वय हुन आवश्यक छ । सरकारले इन्टरनेटको शुल्कको बारेमा २०७४ सालको मन्त्री परिषद्बाट निर्णय गरेको थियो । त्यसलाई खरिदमा लाग्ने १० प्रतिशत ट्याक्सबाट ५ प्रतिशतमा ल्याएको कुरा छिटो भन्दा छिटो कार्यान्वयन गराउन आवश्यक छ । फागुनमा क्यान महासंघले इन्फोटेक मेलाको आयोजना गर्दैछ । यो पटक ग्राहकले नयाँ कुरा के पाउँछन् ? प्रविधि भनेको आफैमा नयाँ कुरा हो । सोही कारण क्यान इन्फोटेक मेलामा प्रविधिका अन्य समय जस्तै नयाँ प्रविधिको लाभ ग्राहकहरुले उठाउँन पाउने छन् । हामीले नेपाली विद्यार्थीद्धारा बनाएको सफ्टवेरलाई क्यान इन्फोटक मेलामा प्राथमिकता दिने छौँ । हाम्रै देशमा रहेका विद्यार्थीले प्रविधिको क्षेत्रमा गरेको मेहनत सबै समक्ष पुर्याउने हाम्रो उदेश्य रहेको छ । देशमा प्रविधिको क्षेत्रमा काम गर्नेहरुको अवस्था कस्तो छ ? प्रविधिमार्फत काम गर्नेहरु पछिल्लो समय बढ्दै गइरहेका छन् । दिनैपिच्छे तिनीहरुको संख्या पनि बढ्दै छ । देशभर प्रविधिकै क्षेत्रमै कतिले काम गर्छन् त्यसको भने एकिन तथ्याकं अहिलेसम्म राखेको छैन । प्रष्ट रुपमा भन्दा देशको सबैभन्दा धेरै रोजगार सिर्जना गरिरहेको क्षेत्र भनेको प्रविधि हो । साथै, प्रविधिमा रोजगार गर्न चाहनेलाई राम्रो वातावरण छ । क्यान इन्फोटेक जनचेतना वृद्धीका लागि कतिको उपयोगी छ ? मेलामा कतिपय कुराहरु अुनभव गर्नका लागि सहज हुन्छ भने कतिपय कुरा आँखाले देख्न पाउँदा नै राम्रो हुन्छ । डिजिटल नेपाल फेमवर्कमा ई हाटबजार कन्सेप्ट छ क्यान इन्फोटेकलाई ई हाटबजार को रुपमा पनि लिन सकिन्छ । सबै सफ्टवेर एकै ठाउँमा देखिने भएकाले प्रविधिमा विज्ञ,अनविज्ञ सबैका लागि प्रविधि मेला उपयोगी हुनेछ । अन्त्यमा के भन्न चाहानु हुन्छ ? प्रविधिको नकारात्मक र सकारात्मक दुई पाटा हुन्छन् यसलाई सबैले बुझ्न आवश्यक हुन्छ । अर्को, सरकारी तहबाट प्रविधि क्षेत्रलाई सुरक्षित बनाउन पहल गर्नु आजको आवश्यकता हो भन्ने मलाई लाग्छ ।
चावहिल–साँखु सडक: आधा मात्रै मापदण्ड अनुसार
काठमाडौं। चावहिल–साँखु सडकमा झण्डै ५० प्रतिशत भागमा मात्रै मापदण्डअनुसार सडक चौडा हुने र पूर्वाधारको निर्माण हुने भएको छ । उपलब्ध चौडाइमा सडक कालोपत्र गर्ने भनी गत वर्ष मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । सोही आधारमा काम अघि बढाउँदा सबै स्थानमा मापदण्डअनुसार सडक निर्माण हुन नसकेको हो । चार वर्ष पहिले २२ मिटर चौडाइ कायम गर्नेगरी ठेक्का सम्झौता भए पनि स्थानीयवासीको विरोधका कारण सबैतिर मापदण्डअनुसार चौडाइ कायम गर्न नसकिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सो सडकमा साँघुरा बस्ती रहेका स्थानमा पाँच/छ मिटरभन्दा बढी चौडाइ बढाउन नसकिएको आयोजनामा कार्यरत इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए। सडकमा कतिपय स्थानमा कालोपत्र त बाँकी ठाउँमा ग्राभेलको काम भइसकेको छ भने कतिपय स्थानमा अझै खाल्डाखुल्डी देखिन्छ । चौडाइ बढाउन नसकिएका स्थानमा सडकमा निर्माणका लागि आवश्यक तयारी नभएको उहाँको भनाइ छ । “अरु स्थानमा निर्माण सकिँदासम्म चौडाइ बढाउन सकिन्छ कि भनेर अन्तिममा काम गर्न लागिएको हो”, उनले भने । निर्माणाधीन सडक कागेश्वरी–मनोहरा, गोकर्णेश्वर र शङ्करापुर गरी तीन नगरपालिकामा पर्छ । सबै जनप्रतिनिधि चौडाइ बढाएरै कालोपत्र गर्नुपर्छ भन्ने पक्षमा रहेको र स्थानीयस्तरमा सहजीकरण गरिरहेको इञ्जिनीयर श्रेष्ठले बताए। उनका अनुसार उपत्यकाका विस्तारका क्रममा रहेका कतिपय सडकमा जनप्रतिनिधिले स्थानीयवासीको घर भत्काउन हुँदैन भन्ने पक्षमा वा कतिपयले भने बेवास्ता गरिरहेका छन् । यहाँका जनप्रतिनिधिकै सहयोगका कारण सडक आधा लम्बाइमा मापण्डअनुसार कालोपत्र भएको उनको भनाइ छ । उनले भने, “जनप्रतिनिधि नियमितरूपमा सहजीकरण गर्ने र विवाद आउँदा त्यसको समाधानमा लाग्नुभएको छ ।” कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ का अध्यक्ष राजाराम पुडासैनीले मुआब्जा लिइसकेका घरधनीसमेत घर भत्काउन तदारुकता नदेखाएको बताए । मुआब्जा बुझिसकेका घर बहालमा लगाएर त्यसबाट भाडा उठाइरहेको उनको भनाइ छ । अदालतले घर नभत्काउन गरेको निर्णय बेवास्ता गरेको गरेको भनी हाम्रा विरुद्धमा मुद्दा गरेका छन् । उनले भने, “हामीले पटक–पटक भन्दा पनि अटेर भइरहेको छ, नेपाल सरकार आफैँ लाग्न आवश्यक छ ।” सडकमा कतिपय स्थानमा एक वा दुई घरका कारणले पनि सडक निर्माण हुन नसकेको इञ्जिनीयर श्रेष्ठले बताए। आयोजनाले चार वर्ष पहिले ठेक्का सम्झौता गर्दा पैदलयात्रुमार्ग, वर्षाको पानी जम्मा हुने पाइपलगायतका संरचनासमेत निर्माण गर्नेगरी ठेक्का सम्झौता भएको थियो । आयोजनाले अहिले २२ मिटर नै खाली गर्न सकिएका स्थानमा यी पूर्वाधार निर्माण गर्ने र नभएका स्थानमा सडकमात्रै निर्माण गरिरहेको छ । उनले भने, “भविष्यमा त्यो सडक बढाउन सकियो भने त्यसपछि पैदलयात्रुमार्ग निर्माण गर्ने योजना छ ।” सलम्बुटार, डाँछी, थलीलगायत स्थानमा स्थानीयवासीले अहिले पनि अवरोध गरिरहेको इञ्जिनीयर श्रेष्ठले बताए। हिमपाइप हाल्दा आफ्नो जग्गामा नदिने भन्दै उनीहरुले अवरोध गरिरहेका छन् । उनले भने, “संरचना बन्न जति ढिलाइ हुन्छ ती स्थानमा सडक कालोपत्र भइसक्न पनि उति नै ढिलाइ हुन्छ ।” सो सडकमा निर्माण सम्झौता भएको तीन वर्षपछि कालोपत्रको काम शुरु भएको थियो । आयोजनाले विसं २०७२ मा साढे १२ किमी लामो सो सडक विस्तार गर्न प्रक्रिया अघि बढाएको थियो । मुआब्जा विवादसँगै सो सडकमा मेलम्ची खानेपानी आयोजनाको पाइप लाइन विस्तार, टेलिफोन र बिजुलीका खम्बा, ढललगायत संरचनाले पनि काममा अवरोध पु¥याएको थियो । पटक–पटक पत्राचार गर्दा पनि सम्बन्धित निकायले संरचना सार्न ढिलाइ गर्दा कतिपय स्थानमा आयोजना आफैँले ती कुरा हटाएर ‘साइट’ खाली गराएर काम अघि बढाएको छ । विस्तारका क्रममा रहेका अरु सडकजस्तै आयोजनाले सो सडक २२ मिटरमा विस्तार गर्न ठेक्का लगाएको थियो । सडक विस्तार गर्दा ठूलो सङ्ख्यामा भौतिक संरचना भत्काउनुपर्ने अवस्था थियो । सडकसँगै घर भएका स्थानीयवासी शुरुदेखि नै आफ्नो घर भत्काएर सडक विस्तार गर्ने पक्षमा थिएनन् । सडक निर्माणका लागि ठेक्का सम्झौता भएसँगै यहाँलगायत उपत्यकाका विस्तारित सडकका पीडित स्थानीयवासी सङ्गठितरूपमा आन्दोलन गर्दा निर्माण अवरुद्ध बनेको थियो । अहिले पनि विस्तारका क्रममा रहेका अधिकांश सडक निर्माण हुनसकेको छैन । मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले काठमाडौँ उपत्यकाको सडक निर्माणमा चासो देखाएका छन्। गत साता उनले यस सडकको अनुगमन गर्दै स्थानीयवासीका गुनासो सुनेका थिए । चालू आवभित्रै सडक निर्माण सम्पन्न गर्ने मन्त्रालयको योजना छ ।
साग विजेता आयशा शाक्य र आशिष बस्नेत सम्मानित
काठमाडौँ महानगरपालिका वडा नं ३१ ले स्वर्णपदक विजेता आयशा शाक्य र रजत पदक विजेता आशिष बस्नेतलाई सम्मान गरेको छ । कामपा वडा नं ३१ ले शुक्रबार आयोजना गरेको सम्मान कार्यक्रममा आफ्नो वडावासी तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)का पदक विजेतालाई सम्मान गरेको हो । शाक्यले तेक्वान्दो खेलको पुम्से एकल तथा युगल जोडीतर्फ २९ वर्ष माथिको उमेर समूहमा गरी दुईवटा स्वर्ण पदक हासील गरेका थिए भने बस्नेतले बास्केटबलमा रजत पदक प्राप्त गर्नुभएको थियो । कार्यक्रममा शाक्यलाई ५० हजार रुपैयाँ र बस्नेतलाई २५ हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्रदान गरिएको हो । सो अवसरमा तेक्वान्दो खेलका प्रशिक्षक दीपक बिष्ट, कराँते खेलका प्रशिक्षक तुलसी महर्जन, बास्केटबल खेलका प्रशिक्षक निरञ्जन सत्याल, व्याडमिन्टनका किरण थापालाई सम्मानित गरिएको छ । कार्यक्रममा प्रदेशसभा सदस्य गणेश दुलालले खेलाडीलाई सम्मान गर्न पाउँदा गौरव महसुस भएको बताए । वडाध्यक्ष नारायण भण्डारीले स्वस्थ समाज निर्माणका लागि महानगरले खेलकुदलाई प्राथमिकतामा राखेको बताए । महानगरको सम्मानबाट आफूहरुलाई खेलमा लाग्न थप हौसला मिलेको सम्मानित खेलाडीहरु शाक्य र बस्नेतले धारणा राखेका थिए ।