विकासन्युज

मुक्तिनाथ विकास बैंकको १३ औं वार्षिक उत्सव, डिजिटल माध्यमद्धारा १८ वटा शाखा उद्घाटन

काठमाडौं । मुक्तिनाथ विकास बैंकले १३ औं वर्ष पार गरी १४ औं वर्षमा प्रवेश गरेको अवसरमा १८ वटा शाखा विस्तार गरेको छ । वार्षिक उत्सवको अवसरमा बैंकले डिजिटल माध्यमद्धारा एकैसाथ १८ वटा शाखाको केन्द्रीय कार्यालयबाटै उद्घाटन गरेको हो । काठमाडौंको बत्तिसपुतली, ललितपुरको भैंसेपाटी, नुवाकोटको बट्टार, कास्कीको नदीपुर र बेगनासताल, तनँहुको आँबुखैरेनी, लमजुङ्गको बेसीशहर, चितवनको टाँडी, नवलपुरको गैंडाकोट,पाल्पाको रामपुर, दाङ्गको लमही, बाँकेको कोहलपुर, कैलालीको लम्की र धनगढी,झापाको काँकरभिट्टा, ईलामको इलाम, धनकुटाको धनकुटा, सुनसरीको दुहवीमाऔपचारीक रुपमा शाखा उद्घाटन गरेको हो । उक्त समारोहको समुद्घाटन बैंकका अध्यक्ष भरतराज ढकालले बताए । अध्यक्ष ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडी बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्धारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरे । उक्त उद्घाटन समारोहमा बैंकका पूर्व सञ्चालक, वर्तमान सञ्चालक, संस्थापक सेयरधनी तथा बैंकका उच्चपदाधिकारीहरुको उपस्थिति रहेको थियो । बैंकले देशका सातै प्रदेशका क्षेत्रीय तथा शाखाहरुमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु गरेको छ, जसमध्ये, विभिन्न विद्यालयका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण, विद्यालयमा स्टेशनरीका सामाग्रीहरु तथा फर्निचर वितरण, विभिन्न अनाथलय तथा वृद्धा श्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, चेपाङ्ग संरक्षण समितिलाई खाद्यान्न वितरण, विभिन्न ठाउँहरुमा डस्वीन वितरण, तराईका शीतलहरबाट प्रभावित क्षेत्रहरुमा कम्बल वितरण, एम्बुलेन्सलाई आवश्यक मर्मत सम्भार, अस्पतालमा विरामी कुरुवा बस्ने कुर्सी सहयोग गरेको छ । यसैगरी बैंकले वाग्मती सरसफाई, गोदावरी सरसफाइ तथा पोखरा उपत्यका सरसफाई अभियानका सहयोग पुराएको छ । यसै अन्तर्गत बैंकका क्षेत्रीय÷शाखा कार्यालयहरुले वृहत रक्तदान कार्यक्रम सञ्चालनमा ल्याएको थियो । बैंकले काठमाडौको कमलादी, काभ्रेको बनेपा, धादिङ्गको धादिङ्ग बेशी, रुपन्देहीको बुटवल, धनुषाको जनकपुर र कास्कीको नदीपुर शाखा कार्यालयहरुमा वृहत रक्तदान कार्यक्रम पनि सञ्चालन गरेका हो । बैंकले रक्तदान कार्यक्रमबाट कुल ४ सय ३० पोका रगत संकलन गर्याे । बैंकले यस वार्षिक उत्सवको अवसरमा गरेका माथि उल्लेखित सामाजिक उत्तर दायित्व कार्यक्रमहरुका लागि कुल ८ लाख बराबरको खर्च गरेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए । मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १ सय ३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गरेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्गलगायतका सेवा प्रदान गर्दै आएको छ ।

त्रिभुवन विमानस्थलमा राखियो एक टनको बुद्धको प्रतिमा

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बद्धको प्रतिमा राखिएको छ । विमानस्थललाई बुटीक विमानस्थलका रुपमा रुपान्तरण गर्ने उद्धेश्यकासाथ शनिबार विमानस्थलको आगमन क्षेत्रमा बुद्धको प्रतिमा राखिएको हो । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले बुद्धको मुर्तिको अनावरण गर्दै प्रतिमा स्थापित भएकाे बताएका छन् । मुर्ति करिब एक टनको रहेको बताइएको छ । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रुपमा विकास गर्न तिव्र गतिमा काम भइरहेको छ ।

धान उत्पादनमा गिरावट, देशकाे अर्थतन्त्रमा ठूलाे धक्का

काठमाडौं । नेपालको प्रमुख अन्नबाली धान उत्पादनमा यस वर्ष भारी गिरावट आउँदा यसले राष्ट्रिय अर्थतन्त्रमा नै नराम्रो धक्का पुग्ने देखिन्छ । धानको उत्पादन घटेकाले कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा समेत असर पर्ने भएकाले अर्थतन्त्रमा धक्का पुग्ने विज्ञहरुको धारणा रहेको छ । गत वर्ष कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ दशमलव पाँच नौ प्रतिशत थियो । आर्थिक सर्वेक्षण २०७५/७६ मा भने कूल कृषि क्षेत्र (कृषि, वन तथा मत्स्यपालन) को योगदान २६ दशमलव नौ आठ प्रतिशत पुग्ने अनुमान थियो । कृषि क्षेत्रको प्रमुख खाद्यान्न बाली धान उत्पादनले कूल गार्हस्थ्य उत्पादनमा १२ प्रतिशत हिस्सा ओगटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै यस वर्ष गत वर्षभन्दा एक दशमलव शून्य पाँच प्रतिशतले धान उत्पादनमा गिरावट आएको जनाएको छ । मन्त्रालयका अनुसार उत्पादन घट्नुमा समयमा वर्षा नहुनु, खेतीयोग्य जमिन खण्डीकरण हुँदै जानु, तराई क्षेत्रमा डुबान हुनु, पर्याप्त मात्रमा सिँचाइ सुविधा नपुग्नु र युवा वर्ग खेती किसानी कार्यबाट पलायन हुनुलाई जनाएको छ । गत आर्थिक वर्षमा ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष भने सो उत्पादनमा एक दशमलव शून्य पाँच प्रतिशतले उत्पादन घट्न गई ५५ लाख ५१ हजार मेट्रिक टनमा सीमित हुन पुग्यो । यसका कारण ५९ लाख मेट्रिक टन धान उत्पादन घटेको भए पनि जनसङ्ख्या भने बढ्दै गएको छ । विसं २०६८ सालको जनगणनालाई आधार मान्दा नेपालीका लागि झण्डै ६० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ । कृषि गणना २०६८ ले नेपालको कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३२ प्रतिशत रहेको उल्लेख छ । त्यसमा धानको योगदान १२ प्रतिशत छ । नेपालको प्रमुख खाद्यन्न बाली धान भएपनि गत वर्ष लगभग रु २८ अर्बको चामल आयात गरेको थियो । नेपालमा चैते, बर्खे र घैँया धानको खेती हुँदै आएको छ । आव २०६०/६१ देखि २०७४/७५ सम्मको तथ्याङ्कलाई केलाउँदा नेपालमा धानको उत्पादन बढ्नु र घट्नुमा मौसम मुख्य कारक देखिन्छ । मौसम अनुकूल भएको वर्ष धानको उत्पादन बढेको देखिन्छ भने मौसम प्रतिकूल भएमा धानको उत्पादन घटेको छ । नेपालमा कूल खेतीयोग्य जमिन ३० लाख ९१ हजार हेक्टर छ । एक हेक्टर जमिन भनेको २० रोपनी हो । कूल खेतीयोग्य जमिनमध्ये लगभग ५० प्रतिशत जमिनमा धान खेती हुन्छ । अधिकांश जमिन आकासे सिँचाइमा निर्भर छ । धान लगाउने मौसम (असार–साउन)मा वर्षा भएन भने सिफारिस भए जति जमिनमा धान रोपाइँ हुन सक्दैन । नेपालमा २०६०/६१ देखि २०७४/७५ अर्थात् १५ वर्षमा सबैभन्दा धेरै धान खेती भएको वर्ष २०६०/६१ साल हो । सो वर्ष १५ लाख ५९ हजार ४३६ हेक्टर जमिनमा धान खेती भएको थियो । उक्त वर्ष ४४ लाख ५५ हजार ७ सय ७२ मेट्रिक टन धान फलेको थियो । त्यसैगरी, त्यसको ११ वर्षपछि सबैभन्दा कम २०७२/७३ मा १३ लाख ६२ हजार ९ सय ८ हेक्टर जमिनमा धान खेती भएको थियो । सो वर्ष ४२ लाख ९९ हजार ७८ मेट्रिक टन धान उत्पादन भएको थियो । पन्ध्र वर्षको अवधिमा सबैभन्दा धेरै धान फलेको वर्ष २०७३/७४ साल हो । उक्त वर्ष ५२ लाख ३० हजार ३२७ मेट्रिक टन धान उत्पादन भएको थियो । प्रत्येक वर्ष धान खेती गर्ने जमिन घटिरेहेको छ । आव २०६०/६१ मा १५ लाख ५९ हजार ४ सय ३६ हेक्टरमा धान खेती भएको थियो । पन्ध्र वर्षपछि २०७४/७५ मा १४ लाख ६९ हजार ५ सय ४५ हेक्टर जमिनमा सीमित हुन पुग्यो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कले धान खेती गर्ने क्षेत्रफल घटे पनि उत्पादन भने बढेको देखाएको छ । कृषि विभागको तथ्याङ्कअनुसार १० लाख ३० हजार हेक्टर जमिन बाँझो छ । वरिष्ठ धान विशेषज्ञ भोलामान सिंह बस्नेतका अनुसार नेपालीलाई लगभग वार्षिक ६० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ । संसारको सबैभन्दा उच्चस्थानमा धानखेती हुने देश नेपालको जुम्ला जिल्लाको छुमचौर हो भने सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला झापा हो । झापा जिल्लालाई सरकारले धान उत्पादनको ‘सुपर जोन’ घोषणा गरी लागू गरेको छ । हिमालपारिका दुई जिल्ला मनाङ र मुस्ताङबाहेक नेपालका सबै जिल्लामा धान रोपाइँ हुन्छ । विगत १५ वर्षदेखिको तथ्याङ्कलाई विश्लेषण गर्दा धानको उत्पादन सन्तोषजनक छैन । सरकारले आगामी पाँच वर्षभित्र धानको उत्पादन दोब्बरले वृद्धि गर्ने घोषणा गरेको छ । आगामी पाँच वर्ष अर्थात् विसं २०७८/७९ मा नेपालले एक करोड चार लाख मेट्रिक टन धान उत्पादन गर्नुपर्छ । रासस

भारत निर्यातमाअनौपचारिक कारोवार, ठूलो परिमाणमा छोकडा बरामद

काठमाडौं । विभिन्न खाद्यान्न सामग्री तेस्रो मुलुकबाट नेपाल आउने र तस्करी भएर भारत जाने क्रम चलिरहेकै बेला पछिल्लो समय छोकडासमेत तस्करी हुन थालेको छ । खुला सीमाको फाइदा उठाउँदै भारततर्फ तस्करी गर्न लगिरहेको ठूलो परिमाणको छोकडा प्रहरीले बरामद गरेसँगै यो तथ्य सार्वजनिक भएको हो । नेपाल–भारत सीमामा रहेको छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीबाट प्रहरीले बेवारिसे अवस्थामा छोगडा बरामद गरेको जनाएको छ । सरुवा भई पाँच दिनअघि मात्र जिल्ला प्रहरी कार्यालय आएका प्रहरी निरीक्षक बाबुराम कार्कीको नेतृत्वमा खटिएको टोलीले भारततर्फ लैजान तयारी अवस्थामा रहेको छोकडा बरामद गरेको हो । इन्जिन नभएको स१त ८७४४ नंको ट्र्याक्टरको ट्रलीबाट तीन हजार ५ सय किलो छोकडा बरामद गरेको प्रहरी निरीक्षक कार्कीले बताए । उक्त ट्र्याक्टरको ट्रलीसहितको ३५ क्विन्टल छोकडा तिलाठी कोइलाडी–१ बेल्हीस्थित भन्सार कार्यालयमा बुझाइएको छ । पछिल्लो समय पाकिस्तानबाट आयात हुने छोकडाको आयातमा भारतले कडाइ गरेपछि नेपाल हुँदै तस्करी हुने क्रम बढेको व्यापारीले बताएका छन् । पछिल्ला केही महिनादेखि व्यवसायी छोकडा कारोवारमा आकर्षित छन् र सीमा क्षेत्रमा भण्डारण गरेर राख्ने गरेका छन् । स्याउ, मरिच, केराउ, सुपारी आदि खाद्यान्न नेपाल हुँदै भारत तस्करी हुने सूचीमा रहेको छ । नेपालबाट अनौपचारिक कारोवार हुँदै भारत निर्यात गर्न पछिल्लो समय नेपालमा छोकडाको माग बढेको बताइन्छ । रासस

चिसो बढेसँगै हवाईयात्रुको चाप, दैनिक ५० उडान

काठमाडौं । नेपालगञ्ज विमानस्थलमा यतिबेला यात्रुको चाप निकै बढेको छ । चिसो बढेसँगै जहाज चढ्ने यात्रु बढेकाले नेपालगञ्ज विमानस्थलमा चाप बढेको हो । दशैं, तिहारमा जस्तै व्यस्त विमानस्थलमा अहिले दैनिक ५० उडान भइरहेका छन् । यात्रुलाई टिकट पाउन मुस्किल परेको छ । नेपालगञ्ज विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार दैनिक हवाईजहाज चढेर आवतजावत गर्ने यात्रुको सङ्ख्या एक हजार २ सयदेखि एक हजार ५ सयसम्म पुग्छ । यो सङ्ख्या विगत वर्षभन्दा बढी हो । चिसोका कारण सडक यातायातभन्दा हवाईजहाज रोज्ने बढेका छन् । चिसोमा कष्ट र झन्झट हुने भएपछि जहाजमा यात्रा गर्नेको चाप देखिएको ठाकुरले बताए । “अहिले तीन हजारदेखि चार हजार रुपैयाँसम्म टिकट पाइरहेको छ”, विमानस्थल प्रमुख ठाकुरले भने, “आयस्रोत बढेका कारण छिटो र सहजरूपमा गन्तव्यमा पुगिने जहाज प्रयोग गरिरहेका छन् ।” नेपालगञ्ज विमानस्थलमा दशैँ, तिहार र मानसरोवरको याममा अहिलेको भन्दा यात्रुको चाप धेरै हुन्छ । नेपालगञ्ज–काठमाडौँ आवातजावत गर्ने यात्रु धेरै छन् । पहाडी जिल्लामा जानेभन्दा बेँसी झर्नेको सङ्ख्या बढी छ । नेपालगञ्ज होली डेका प्रबन्ध निर्देशक श्रीराम सिग्देलले आयस्रोत बढेसँगै जहाज प्रयोग गर्ने बढेको बताए । “नेपालगञ्ज–काठमाडौँको भाडादर रु १० हजार हुँदा पनि नागरिक जहाज चढ्थे । अहिले त्योभन्दा धेरै कम छ”, सिग्देलले भने । सिग्देलले आन्तरिक हवाई यात्रु जस्तै पश्चिम नेपालमा पर्यटकको चाप बढाउन सके अझ राम्रो हुने बताए। भ्रमण वर्ष शुरु भए पनि घुम्नका लागि पश्चिम आउने पर्यटकको सङ्ख्या भने कमै छ । नेपालगञ्ज विमानस्थल आन्तरिक यात्रुले नै धानेको छ । यो विमानस्थल आन्तरिक उडानतर्फ धेरै व्यस्त हुने विमानस्थलका रुपमा रहेको छ । पहिलेका वर्षहरुमा चिसोको समयमा पटक–पटक हवाई उडान अवरुद्ध हुने गरेकामा यसपटक दुई दिनमात्र त्यस्तो समस्या आएको विमानस्थल प्रमुख ठाकुरले बताउनुभयो । सडक यातायात भरपर्दो नभएको र अन्य ठाउँमा नियमित उडान नहुँदा नेपालगञ्ज विमानस्थमा दुई वर्षयता हवाई यात्रुको चाप बढेको नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ । पश्चिम क्षेत्रको केन्द्रमा सबैभन्दा ठूलो र सबैको पहुँचमा रहेका कारण पनि नेपालगञ्ज विमानस्थलमा यात्रुको चाप बढेको हो । वर्षेनी यात्रुको चाप बढ्दै गएको तर उडानमा वृद्धि नहुँदा भने नागरिकले अपेक्षाअनुसार सेवा पाउन नसकेको यात्रुहरुको गुनासो छ । सडक यात्रामा धेरै चापमा परिने र दुःख पाइने भएका कारण पनि हवाई यात्राप्रति आकर्षण बढेको हो । अहिले अधिकांश कार्यालय प्रयोजनका लागि आवतजावत गर्ने यात्रुले हवाईमार्ग प्रयोग गर्ने गर्छन् । सार्वजनिक यातायातमा यात्रा गर्दा निश्चित समयमा गन्तव्यमा पुग्न कठिनाइ हुने र काम बिग्रने भएका कारण पनि हवाई यात्रु बढेका हुन् । विमान चढ्ने यात्रुको चाप हेर्दा गत वर्षभन्दा यस वर्ष अझै बढ्ने देखिएको विमानस्थल प्रमुख ठाकुरले बताए । “सबैलाई समयमै आफ्नो गन्तव्यमा पुग्ने सोच हुन्छ, सडक यात्रामा भनेजस्तो नहुन पनि सक्छ”, ठाकुरले भन्नुभयो, “हवाई भाडा पहिलेजस्तो महङ्गो पनि छैन, सहुलियत दरमा समयमै गन्तव्यमा पुग्ने भएकै कारण हवाईयात्रुको चाप बढेको हो ।” अन्य ठाउँमा नियमित उडान हुन नसक्दा नेपालगञ्ज विमानस्थल प्रयोग गर्ने यात्रुको चाप बढेको हो । रासस

महिन्द्राका ‘एक्सयूभी-३००’ अब चितवनमा पनि, विभिन्न ६ रंगमा पाइने(मूल्य सहित)

काठमाडौं । नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नि इन्कर्पोरेटेडले अब चितवनमा पनि ‘एक्सयूभी-३००’  बिक्री वितरण शुरु गरेको छ । भारतीय बजारमा सार्वजनिक भएको छोटो समयमा नै आफ्नो अलगै पहिचान बनाउन सफल महिन्द्राले आफ्नो स्पोर्ट्स यूटिलिटी भेइकल (एसयूभी) ‘एक्सयूभी-३००’ गण्डकी प्रदेश र बुटवल पश्चात चितवनमा बिक्री वितरण शुरु गरेको हाे । ‘एक्सयूभी-३००’ गाडीलाई नेपालका लागि महिन्द्रा एण्ड महिन्द्राका प्रमुख चैतन्य कगाल्कर र अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्। समारोहमा बोल्दै प्रबन्ध निर्देशक श्रेष्ठले भने- ‘हामी एक्सयूभी ३०० चितवनमा उपलब्ध गराउन पाउँदा उत्साहित छौं, जुन अपेक्षापूर्ण नयाँ पुस्ताका महिन्द्रा सवारीसाधनहरूमध्येको नवीनतम भेट हो । मलाई विश्वास छ, नयाँ जमानाको दृष्यता र उच्च प्रविधियुक्त विशेषताहरूयुक्त एक्सयूभी ३०० हाम्रा ग्राहकहरूबीच तत्कालै लोकप्रिय हुनेछ ।’ अग्नि ग्रुपका स्थानीय विक्रेता सेन्ट्रल अटो जोन प्रा. लि. चितवनका प्रबन्ध निर्देशक राजेन्द्र बताजुका अनुसार, महिन्द्राको लेटेस्ट एसयूभी महिन्द्रा एक्सयूभी-३०० नेपाली बजारमा निकै प्रतिक्षा गरिएको मिड साईज एसयूभी हो । महिन्द्राको नयाँ एक्सयूभी-३०० को डिजाइन निकै आक्रामक रहेको छ । कम्फर्ट मोडमा सहरी ट्राफिकमा सहजतापूर्वक सञ्चालन गर्ने सुविधा प्राप्त भएको यस गाडीले उच्च गति र जोशका लागि तपाईको आवश्यकता पूरा गर्नेछ र गाडीले चितवनमा निकै राम्रो बजार बिस्तार गर्नेे आशा कम्पनीले गरेको छ । यसमा आकर्षक सनरुफको साथै, एलईडी डेटाइम रनिङ्ग-लाइट, पुश स्टार्ट–स्टप बटन, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोल लगायतका विशेषता उपलब्ध छन् । मुटुको धडकन बढाउने खालको उल्लास पेट्रोल र डिजेलको टर्बो चार्ज हुने सवारी सञ्चालन संयन्त्र (पावरट्रेन) प्रणालीले कुशलतापूर्वक इन्जिनको शक्ति उपयोग गर्छ र व्यापक सञ्चालनका तहहरूमा टर्क उपलब्ध गराइ रोमाञ्चकता प्रदान गर्ने कुरालाई सुनिश्चित गर्छ । यो एसयूभी डब्लु ४, डब्लु ६, डब्लु ८ र डब्लु ८ (अफ्सनल) चारवटा भेरियन्टमा उपलब्ध हुनेछ । नयाँ एक्सयूभी ३००को मूल्य पेट्रोलमा डब्लु ४ वर्गका लागि ३९ लाख ७५ हजार रूपैयाँ र डब्लु ८ (अप्शनल) वर्गका लागि ५६ लाख ५० हजार रूपैयाँ रहेकाे छ । त्यस्तै गरि डिजेलमा डब्लु ४ वर्गका लागि ४१ लाख २५ हजार रूपैयाँ, डब्लु ६ वर्गका लागि ४५ लाख रूपैयाँ, डब्लु ८ वर्गका लागि ५१ लाख ५० हजार रूपैयाँ र डब्लु ८ (अफ्सनल) वर्गका लागि ५७ लाख २५ हजार रूपैयाँ तोकिएको छ र यी सवारीसाधनहरू नेपालभरि रहेका अग्नि इन्कर्पाोरेटेडका डिलर सञ्जालमा उपलब्ध हुनेछ । यो एसयूभी ६ रंगहरू जस्तैः एक्वा मरिन, सनब्रस्ट ओरेन्ज, रेड रेज, पर्ल ह्वाइट, नपोली ब्लाक, डी-स्याट सिल्भर मा उपलब्ध छ भने एक्वा मरिन र तथा रेड रेज डब्लू ८ (अप्सनल) प्याकमा मात्र उपलब्ध छ । एक्सयूभी ३०० मा थुप्रै फर्ट इन सेग्मेन्ट सेफ्टी फिचर समेत दिइएको छ । सातवटा एयरब्याग, चारै चक्कामा डिस्क-ब्रेक, १७ इन्च अलोय-ह्वील, ईबीडी तथा एबीएसजस्ता अत्याधुनिक विशेषताले एक्सयूभी-३०० निकै सुरक्षित गाडी बनेको छ । नयाँ एसयूभी १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध रहेको छ । यसमा उपलब्ध १.२ लिटर पेट्रोल इन्जिनले ५ हजार आरपीएममा ११० पीएस पावरकासाथै ३५ सय आरपीएममा २०० एनएम-टर्क उत्पादन गर्छ । साथै, १.५ लिटर डिजेल इन्जिनले ३७५० आरपीएममा ११५ पीएस पावरकासाथै १५ सय २५ सय आरपीएममा ३०० एनएम-टर्क उत्पादन गर्छ । यो गाडीले युवा पुस्तालाई आकर्षित गर्नेछ । एक्सयूभी ३०० कम्फर्ट मोडमा सहरी ट्राफिकमा सहजतापूर्वाक सञ्चालन गर्ने सुविधा प्राप्त हुन्छ भने स्पोर्ट मोर्डले उच्च गति र जोशका लागि तपाईको आवश्यकता पूरा गर्छ ।

दाङको घोराही बजारमा दुई करोड लगानीमा ७१ वटा विद्युतीय खम्बा जडान 

काठमाडाै‌ । दाङको घोराही बजार क्षेत्रको मुख्य सडकमा सडकबत्ती जडान शुरु भएको छ । घोराही उपमहानगरपालिकाले बजारका तीन स्थानमा पहिलो  चरणअन्तर्गत ७१ वटा विद्युतीय खम्बा जडान शुरु गरेकोे  हो । घोराही बजारको  कुटवालखोलादेखि रतनपुरचोक, नेपाल बैंक लिमिटेडदेखि शहीदगेट र तुलसीपुरचोकदेखि दामोदर चोकसम्मको  सडकको बीच भागमा ७१ वटा विद्युतीय सडक बत्ती जडानको  काम शुरु गरिए को  छ । उपमहानगरले सडक बत्ती जडानको जिम्मा एपेक्स नेपाललाई दिएको छ । विज्ञापन सामग्री राख्ने  गरी घोराही उपमहानगरपालिका र एपेक्स नेपालबीच विद्युतीय सडक खम्बा बत्तीसहित यात्रु प्रतीक्षालय र ट्राफिक आइल्याण्ड निर्माण तथा जडान गर्ने सम्झौता भएको  छ । एपेक्स नेपालले  दुर्ई करोडको  लगानीमा विज्ञापन सामग्री राख्ने  गरी विद्युतीय सडक बत्ती, यात्रु प्रतीक्षालय र ट्राफिक आइल्याण्ड निर्माण गर्ने बताए। एपेक्स नेपालका प्राविधिक प्रमुख अनन्त न्यौपानेले  पहिलो  चरणअन्तर्गत विद्युतीय सडक बत्ती जडानको  काम शुरु गरिएको जनाएकाे छ। “पहिलो  चरणअन्तर्गत ७१ वटा खम्बामध्ये  ५० वटा खम्बा जडान भइसकेका छन्”, उनले भने, “दुई दिनभित्रै बाँकी खम्बा जडानको  काम सम्पन्न गर्छौं ।” जडान गरिएका विद्युतीय खम्बा अटोमेटिक रहेको बताए । कम्पनीले  सम्झौताअनुरुप दोस्रो चरणअन्तर्गत घोराहीको  विभिन्न स्थानमा गरी १५ यात्रु प्रतीक्षालय र पाँच ठाउँमा ट्राफिक आइल्याण्ड निर्माण गर्नेछ । रासस

मुआब्जा पाएको दशक बितेपनि जग्गाधनीले पाएनन् लालपुर्जा

काठमाडौं । बाजुराको बूढीगङ्गा नगरपालिका साविकको बह्मतोला गाविस–६ गडतोलाका स्थानीय नरबहादुुर रौलेले साँफे–मार्तडी राजमार्ग सडकमा परेको जग्गाको कित्ता काट गर्न सडक डिभिजन कार्यालयलाई दिएको पूर्जा अझै नपाएको बताए । सडक क्षेत्रमा परेका व्यक्तिलाई मुआब्जा दिन र सो ठाउँमा काटिएको जग्गा जग्गाधनी पुर्जाबाट हटाएपछि फिर्ता दिने गरी लिएको पुर्जा एक दशक बितिसक्दा पनि फिर्ता नदिएको उनले गुनासो गरे । उनले भने, “सडक क्षेत्रमा परेको जग्गाको कित्ताकाटका लागि दिएकाले जग्गाधनी पुर्जा एक दशकदेखि पाएको छैन ।” “सडक डिभिजनले जिल्ला मालपोत कार्यालयमा बुझाएको खबर मात्र पाएका छु, लालपुर्जा भने दिएको छैन”, रौलेले भने। केवल एक पात्रकाे रुपमा रहेका राैल जस्ता सडकमा परेर काटिएको जग्गाको लालपुर्जा सोही ठाउँका रामप्रसाद उपाध्यायले समेत नपाएको बताए । “डिभिजन सडकले मुआब्जाका लागि लालपुर्जा चाहियो भनेर दियाै‌, तर काहाँ छन् कुनै पत्ता छैन”, उपाध्यायले भने । साँफे–मार्तडी राजमार्ग सडक छेउमा रहेको जग्गाको आधा भाग काटिएका छ । त्यस्तै बडीमालिका नगरपालिका साविकको बूढीगङ्गा गाविस–६ का स्थानीय रङ्ग बडुृवालले पनि मुआब्जाका लागि दिएको लालपुर्जा अझै पाउन सकेका छैनन् । सडकमा खेतीयोग्य जमिन काटिएपछि मुआब्जा पाए पनि सडक निर्माण सकिएको वर्षाै बित्दा पनि उक्त जग्गाधनी पुर्जा नपाएको बडुवालले बताए। लालपुर्जा नहुँदा जग्गा धितो राखेर ऋण निकाल्न समस्या भएको बडुवालको भनाइ रहेको छ । आर्थिक अवस्था कमजोर भएकाले छोराछोरी पढाउन र व्यवसाय गर्न लालपुर्जा अनिवार्य धितो राख्न चाहिने भएकाले सो नहुँदा ऋण लिन कठिन भएको बडुवालले दुखेसो गरे । साँफे–मार्तडी राजमार्ग सडकमा परेका बूढीगङ्गा नगरपालिका साविकका बाह्रविसको इकडीगाड हुँदै कुल्देवमाडौँको बार्जुगाड, बाम्का, फालासै र बह्मतोला गाविसको सेरा, बल्दे अमकोट र बडीमालिका नगरपालिकाका साविकको बूढीगङ्गा र मार्तडी गाविसमा रहेका तिपाडा, रिला, जडांगा, रापक र मार्तडीका गरी २२५ बढी परिवारका जग्गाधनी प्रमाण पुर्जा जिल्ला मालपोत कार्यालयमा थन्किएका छन् । सडक डिभिजन कार्यालय साँफेका अनुसार राजमार्ग सडकमा परेका जग्गाधनीलाई मुआब्जा बुझाएको र जग्गाको कित्ताकाट गर्नका लागि जिल्ला मालपोत कार्यालय बाजुरामा पत्रसहित जग्गाधनीका प्रमाण पुर्जा बुझाएको जनाएको छ । मालपोत कार्यालय बाजुराले नै जग्गाधनीका प्रमाणपत्र बुझाउन ढिलाइ गरेको बताइएको छ । सडक डिभिजन कार्यालयले २२५ जना बढीको जग्गाधनी प्रमाण कार्यालयको लिखितपत्रसहित बुझाएको भए पनि सडकको क्षेत्रमा जग्गाको कुनतर्फ काटिएको हो भन्नेबारेमा यकिन नभएकाले उक्त प्रमाणपत्र दिन नसकेको मालपोत कार्यालय बाजुराका प्रमुख लक्ष्मण पाण्डेले बताए । सडक डिभिजनको त्रुटिका कारण जग्गाधनीको प्रमाणपत्र बुझाउन नसकेको पाण्डेले स्वीकार गरे। “सडकमा परेका जग्गा काटिएको क्षेत्र स्पष्ट भए यो समस्या नै आउने थिएन”, पाण्डेले भने । सडक डिभिजन साँफेलाई काटिएका जग्गाको लगत माग्दा लगत नै नदिएको मालपोत प्रमुख पाण्डेको भनाइ रहेको छ । सडकमा परेका जग्गाको नीतिगत रुपमा नक्सा नभएकाले जग्गाधनी पुर्जा दिन नमिल्ले पाण्डे बताए । कित्ताकाटमा प्राविधिको नै गल्ती भएकाले नापी कार्यालयले सडकमा परेका जग्गाको क्षेत्र खुलाउने गरी पुन सर्भे गर्नपर्ने आवश्यक रहेको पाण्डेको भनाइ छ । मालपोत कार्यालयमा विगतदेखि थन्किएका जग्गाधनीका प्रमाण पुर्जा फिर्ता गर्न नापी कार्यालय बाजुराबाट अमिनले सर्भे गरेर मात्र दिन सकिने प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बताए । नापी कार्यालयमा कर्मचारी अभावका कारण सडकमा परेका जग्गाको पुनः सर्भे गर्न ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी न्यौपानेकाे भनाइ ५ ।  सडकको क्षेत्र खुलाउने गरी तत्काल अमिन खटाएर जग्गा प्रमाण पुर्जा फिर्ता गर्ने प्रतिवद्धता उनले भने । साँफे–मार्तडी राजमार्ग सडकमा परेर काटिएका जग्गाको पुनः सर्भे गराउन सडक डिभिजन कार्यालय साँफे तयार रहेकाले बिदाको समयमा सर्भे गर्ने तयारी थालिएको प्रजिअ न्यौपानेको भनाइ थियो । साँफे–मार्तडी राजमार्ग सडकखण्ड निर्माण कार्य सम्पन्न भएको दुई वर्ष बितिसकेको छ । रासस