विकासन्युज

सबैभन्दा ठूलो राष्ट्रिय झण्डा तनहुँको मानहुँकोटमा राखिँदै

दमौली । पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गइरहेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा नेपालकै ठूलो राष्ट्रिय झण्डा राखिने भएको छ । राष्ट्रभक्तिको भावना जागृत गर्न र झण्डामार्फत व्यास नगरपालिकाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले व्यास नगर युवा क्लब सञ्जालले सो स्थानमा नेपालकै ठूलो झण्डा राख्न लागेको हो । नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर आगामी वैशाख १ गते मानहुँकोटमा नेपालको झण्डा फहराउने लक्ष्य राखिएको सञ्जालका अध्यक्ष गौरव पन्थले जानकारी दिए । उनका अनुसार मानहुँकोटको शिरमा नेपालकै सबैभन्दा ठूलो राष्ट्रिय झण्डा राखेर उक्त स्थानको पर्यटकीय गतिविधिलाई अझै वृद्धि गर्ने ध्येय राखिएको छ । सो क्षेत्रको राष्ट्रिय झण्डासहितको पूर्वाधार निर्माणका लागि रु १९ लाख १२ हजार १७० बजेट अनुमान गरिएको छ । सहभागिताबाट रकम सङ्कलन गरी झण्डासहितको पूर्वाधार निर्माण गरिने जनाइएको छ । “धेरैभन्दा धेरै जनसहभागिताबाट रकम सङ्कलन गर्ने सोच राखेका छौँ”, उनले भने, “सबै वर्गका व्यक्तिबाट रकम सङ्कलन गर्छौ ।” अध्यक्ष पन्थका अनुसार पाँच हजारभन्दा बढीको जनसहभागिताबाट रकम सङ्कलन गरिनेछ । झण्डा निर्माणका लागि रु ५० हजार, पूर्वाधार निर्माणका लागि रु १६ लाख ५२ हजार १ सय ७०, प्रचारप्रसारका लागि रु ३० हजार, दातासम्मानका लागि रु एक लाख बजेट अनुमान गरिएको छ । मानहुँकोटमा झण्डाका अतिरिक्त बस्नका लागि फलामे कुर्ची, उद्यान लगायत निर्माण गर्ने लक्ष्य राखिएको छ । यहाँ राखिने झण्डा पृथ्वीराजमार्ग हुँदै यात्रा गर्ने, दमौली र आसपासका क्षेत्र, कास्की, लमजुङका विभिन्न ठाउँबाट पनि देख्न सकिनेछ । झण्डाको लम्बाइ ४५ फिटको हुनेछ । यसमा प्रयोग गरिने खम्बा ७२ फिट अग्लो हुनेछ । हालसम्म नेपालको सबैभन्दा ठूलो झण्डा काठमाडौंस्थित माइतीघरमा राखिएको छ । जसको लम्बाइ १० मिटर र चौडाइ सात मिटरको रहेको छ । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले मानहुँकोटमा नेपालकै ठूलो झण्डा राखिएपछि व्यास नगरपालिकाको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने बताए। मानहुँकोटको पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले उक्त ठाउँमा रु ४० लाखको लागतमा दृश्यावलोकन स्तम्भ (भ्युटावर) निर्माणको प्रक्रिया अगाडि बढाइसकेको नगरप्रमुख न्यौपानेले जानकारी दिए । साथै प्रत्येक वर्ष शहीद दिवसको अवसरमा मानहुँकोटबाट अल्ट्रा म्याराथन प्रतियोगिता पनि हुँदै आइरहेको छ । व्यास नगरपालिका–५ का वडाध्यक्ष एवं प्रवक्ता मोहनकुमार श्रेष्ठले युवा सञ्जालले गर्न लागेको अभियानमा नगरपालिकाको तर्फबाट सहयोग रहने बताउँदै राष्ट्रिय झण्डा अभियानले समग्र जिल्लाकै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । मानहुँकोटबाट धौलागिरि, माछापुच्छे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । मानहुँकोटबाट दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को ड्याम निर्माणस्थल एवं मनोरम दृश्य देख्न सकिन्छ । मानहुँडाँडा पुग्न बाटो कालोपत्रेको काम पनि शुरु भइसकेको छ । सङ्घीय सरकारको रु सात करोड बजेटबाट सडक कालोपत्रेका लागि नाला निर्माणको काम अन्तिम चरणमा पुगेको र कालोपत्रेको काम छिट्टै शुरु हुने बताइएको छ । सोही वडाको अलैचेबाट मानहुँकोटसम्म पुग्ने साढे छ किमि बाटो कालोपत्रेका लागि काठमाडौंस्थित रानीबारी कन्स्ट्रक्सन प्रालिले जिम्मा पाएको छ । मानहुँसम्म पुग्ने बाटो कालोपत्रे भएपछि पर्यटकको सङ्ख्या अझै वृद्धि हुने अनुमान गरिएको छ । रासस

अष्ट्रेलियामा आगलागी: ५० करोड जिवजन्तु सखाप भएका यी दर्दनाक तस्विर (फाेटाेफिचर)

काठमाडाैं । यतिखेर अष्ट्रेलियाको जङ्गलमा लागेको भीषण डढेलोले उग्र रूप लिएकाे छ । चार महिनादेखिको डढेलो नियन्त्रणमा आउने भन्दा बढी नियन्त्रण बाहिर गइरहेको छ । गत सेप्टेम्बरदेखि लागेको यो डढेलोले मानिस र जनावरलाई भयानक रुपमा प्रभावित पारेको छ । डढेलोका कारण अहिलेसम्म १८ जनाको ज्यान गइसकेको छ भने करीब ५० करोड जनावर र पंक्षीहरुको मृत्यु भइसकेको छ । आगोले २ सय बढी घरमा पनि क्षति पुगेको छ । थुप्रै मानिसहरु अहिले पनि आगोबाट प्रभावित क्षेत्रमा बसिरहेका छन् ।युनिभर्सिटी अफ सिड्नीको इकोलोजिस्टले अहिलेसम्म ५० करोड जनावर डढेर मरिसकेको उल्लेख गरेको छ । यसमा स्तनधारी पशुपंक्षीका साथै घस्रने जनावर पनि समावेश छन् । हेर्नुस् यी दर्दनाक तस्विर:

आरएमडीसी लघुवित्तले सम्पन्न गर्यो सहकारी व्यवस्थापन तालिम

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले सहकारी व्यवस्थापन  तालिम सम्पन्न गरेको छ । तालिमको उद्घाटन शाखाका शाखा प्रबन्धक गोविन्द प्रसाद पौडेलले गरेका हुन् । कार्यक्रम पुस १९ र २० गते मोरङ्गस्थित गोकर्ण रिसोर्टमा सञ्चालन भएको हाे । तालिममा आरएमडीसीे इटहरी शाखाको कार्यक्षेत्र भित्रका ११ जिल्लामा रहेका २९ वटा सहकारी संस्थाहरुको ब्यवस्थापक तथा सहायक व्यवस्थापक स्तरका ३० जना कर्मचारीहरुको सहभागिता रहेको थियो । सहकारीको प्रभावकारी ब्यवस्थापन तथा अवको सहकारीले उत्पादन प्रशोधन तथा बजारीकरण लगायतका बिषयमा थप लगानी बढाउनु पर्ने बारेमा पौडेलले चर्चा गरेका थिए । तालिममा प्रशिक्षकहरुले सहकारीको एतिहासिक पृष्ठभुमि, सहकारी अवधारण तथा महत्व, सहकारी सदस्य शिक्षा, व्यवस्थापन तथा विकास र सदस्य स्थाईत्व, ऋण व्यवस्थापन, विश्लेषण र अनुगमनका अवधारणा, महत्व तथा आधारहरु, ऋणको भाखा नाघ्नुको कारण, असर तथा नियन्त्रणका उपायहरुका बारेमा छलफल भयो । साथै, सहकारी संस्था संचालन सम्बन्धी बर्तमान कानुनी व्यवस्था तथा नियमन बिधि, सहकारीका जोखिम बिश्लेषण तथा व्यवस्थापन, सहकारीमा पल्र्स अबधारण, गणना गर्ने तरिका र यसको परिपालना, सहकारीमा सुशासनको महत्व र कायम गर्ने उपायहरुको विषयमा विस्तृत छलफल भएको थियो ।

नेपाल इन्जिनियरिंग कलेजद्धारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल विद्यार्थी संघ नेपाल इन्जिनियरिंग कलेज परिवारको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ४३ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा भएको उक्त कार्यक्रमका क्रममा सरसफाई कार्यक्रम पनि भएको थियो । रगतको अभावलाई मध्यनजर गरी कार्यक्रम गरिएको थियो । कार्यक्रमबाट ७९ पोका रगत संकलन भएको छ । नेपाल तरुण दल भक्तपुरका सदस्य, युवा तथा तरुण परिचालन भक्तपुरका संयोजक रिगेन कार्कीलगायतको सक्रियतामा कार्यक्रम सम्पन्न भएको हो ।

अब ग्राहकले खातामै एक सय रुपैयाँ बराबरको इन्सेन्टिभ पाउने, चार बैंकले शुरु गरे नयाँ अभियान

काठमाडौं । अब ग्राहकले आफ्नो खातामै एक सय रुपैयाँ बराबरको इन्सेन्टिभ पाउने भएका छन् । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)को सहकार्यमा विभिन्न चार बैंकले उक्त नयाँ अभियान शुरु गरेसँगै ग्राहकले सो मात्राको इन्सेन्टिभ पाउने पाएका हुन् । यससँगै हाल लक्ष्मी बैंक, सिटिजन बैंक इन्टरनेशनल, नबिल बैंक र नेपाल बैंकले ग्राहकहरुलाई एक सय रुपैयाँ बराबरको इन्सेन्टिभ उपलब्ध गराएकाे छ । एनसीएचएलले बैंक खातामा आधारित डिजिटल कारोबारलाई कनेक्ट आईपीएस ई-पेमेन्ट प्रणालीमार्फत प्रबद्र्धन गर्न नेपालका अग्रणी बैंकहरुसँग संयुक्त प्रबद्र्धन अभियान शुरु गरेको हो । बैंकका ग्राहकहरुले आफ्नो बैंक खातालाई कनेक्ट आईपीएसमा लिंक र भेरिफाई गरेपछि प्रबद्र्धन अवधिभित्र सम्बन्धित बैंकले उनीहरुको खातामा एक सय रुपैयाँ जम्मा गरिदिनेछ । ग्राहकहरुले www.connectips.com, यसको मोबाइल एप वा बैंकको आफ्नै मोबाइल बैकिंग प्रयोग गरेर सिधैं आफ्नो बैंक खाताबाट भुक्तानी कारोबार गर्न सक्छन् । कनेक्टआईपीएस इ-पेमेन्ट प्रणाली अनलाइन भुक्तानीको एकिकृत प्ल्याटर्फम हो जसमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेटवे), क्रेडिट कार्ड/बिलभुक्तानी सुविधा उपलब्ध रहेका छन् । यो प्ल्याटर्फममा सदस्य बैंकहरुको अन्य सेवाहरुमा सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, राहदानी शुल्क भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धीभुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, नेप्से अनलाईन ट्रेडिङ्ग तथा सेयर ब्रोकरलाई भुक्तानी, ट्राभल एजेन्सी भुक्तानी, स्कुल/कलेज, इन्स्युरेन्स भुक्तानी लगायतका सेवाहरु उपलब्ध रहेका छन् । यसबैंक खातामा आधारित डिजिटल कारोबारहरुलाई प्रबद्र्धन गर्ने पहललाई थप प्रोत्साहन गर्न यस संयुक्त अभियानले मद्दत गर्ने कम्पनी र बैंक वित्तीय संस्थाहरुको विश्वास छ ।

हङकङमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ, लाखौमाझ सन्देश आदान प्रदान

हङकङ । हङकङमा ‘भिजीट नेपाल २०२०’ को भब्य रुपमा उद्घाटन गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० को प्रबद्र्धनका लागि हङकङमा एक कार्यक्रमकाबीच औपचारिक उद्घाटन गरिएको हो । कार्यक्रमको उद्घाटन हङकङको एक्सन कमीसनर कमिसन अफ टूरिजम मिस चोईले गरेका थिए । नेपाली महावाणिज्य दूतावास हङकङको आयोजना ग़ैर आवासीय नेपाली संघ हङकङ र नेपाल वायुसेवा निगमको सह-आयोजनामा भएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिसहित विभिन्न जातीय भेषभूषमा सजीएर भिजीट नेपालको भब्य प्रचार गरिएको हो । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ हङकङ, नेपाली महासंघ जन सम्पर्क हङकङ, प्रवासी नेपाली एकता मंन्च हङकङ, नेपाली समाज हङकङलगायतका संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । नेपाल भ्रमण वर्षको उद्घाटन लगत्तै ५ वटा खुल्ला बसमा नेपाल भ्रमण वर्ष प्रबद्र्धनका ठूलाठूला ब्यानर लगाएर प्लेकार्ड तथा विभिन्न झाँकीसहित डेढ घण्टा हङकङ साइट परिक्रण गरिएको हो । नेपाल भ्रमण वर्ष प्रबद्र्धन समिति सदस्य सचिव तथा गैर आवासीय नेपाली संघ हङकङकी अध्यक्ष राधिका गुरुङ (टिका) का अनुसार हङकङको निकै ब्यस्त शहर सेन्ट्लमा भएको कार्यक्रममा ५ सय जनाको हाराहारीमा नेपालीको उपस्थिति थियो । हङकङको सेन्ट्ल शहर पर्यटकीय क्षेत्रको रुपमा प्रख्यात छ । जहाँबाट डेढ घन्टाभन्दा बढी बसमा दायाँ बाँया ठूल्ठूलो ब्यानर, टिसर्ट, प्लेकार्ड, नेपाली झण्डा, टोपी र विभिन्न जातीय भेषभूष तथा झांकीसहित भिजीट नेपालको प्रचार प्रसार गरिएको सदस्य सचिव राधिका गुरुङले बताए । निकै ब्यस्त शहर मानिने हङकङमा यो कार्यक्रमले लाखौ माझ भिजीट नेपाल २०२० सन्देश पुगेको छ । हङकङमा खुल्ला बसमा कहिल्यै पनि यसरी प्रचार गरिएको थिएन । ठूल्ठूला बसमा भिजीट नेपालको प्रचार गरिरहँदा पैदल यात्री, ब्यापारी तथा सर्वसाधारणले निकै उत्सृकतापूर्वक चासो दिर्दै प्रचार अभियानलाई सकारात्मक रुपमा लिएको र नेपाल भ्रमण गर्न इच्छुक रहेको प्रतिक्रिया दिएका थिए । नेपाली महावाणिज्य दूतावास आयोजक र एनआरएनए हङकङ सहआयोजक रहेको भिजीट नेपाल २०२० कार्यक्रममा हङकङ डलर १ लाख खर्च भएको छ । यसअघि नेपाल भ्रमण वर्षलाई भव्यताका साथ सम्पन्न गर्न ९ सदस्यीय नेपाल भ्रमण वर्ष २०२० प्रबद्र्धन समिति हङकङ गठन गरिएको थियो । नेपाली कन्सुलेट जनरल मुख्य आयोजक रहने गरि सहआयोजक तथा सदस्य सचिवका रुपमा गैरआवासीय नेपाली संघ हङकङ र नेपाल बायुसेवा निगमलाई राखिएको थियो । त्यस्तै, सदस्यमा नेपाल आदिवासी जनजाती महासंघ हङकङ, हङकङ नेपाली महासंघ, नेपाल च्याम्बर अफ कमर्स हङकङ, प्रवासी नेपाली एकता मंच हङकङ, नेपाली जनसम्पर्क समिति हङकङ र नेपाली समाज हङकङलाई राखिएको थियो ।

सेञ्चुरी कमर्सियल बैंक र नेपाल मेडिसिटी हस्पिटलबीच छुटसम्बन्धी सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र नेपाल मेडिसिटी हस्पिटलबीच विभिन्न सेवा सुविधामा दिइने छुटसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र नेपाल मेडिसिटी हस्पिटलका महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले अस्पतालको विभिन्न सेवामा ७ प्रतिशतसम्म छुट पाउनेछन् ।

स्वस्तिक लघुवित्तको अभिमुखीकरण तालिम सम्पन्न

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले शुक्रबार अभिमुखीकरण तालिम सम्पन्न गरेको छ । तालिममा संस्थाका प्रमुख कार्यकारी अधिकृत जीवन खनालले शाखा प्रमुखको भूमिका, कर्जा व्यवस्थापन तथा व्यवसाय अभिबृद्धि सम्बन्धी अभिमुखिकरण दिएका थिए । साथै, उपस्थित शाखा प्रबन्धकहरुलाई संस्थाका अध्यक्ष सत्य नारायण झाले संस्थागत सुशासन कायम गरी विपन्न वर्गको उत्थानमा लाग्न उत्प्ररित गरे । लेखा व्यवस्थापन, सूचना प्रविधिका बारेमा लेखा तथा आईटी. विभाग प्रमुख तोयानाथ पोखरेलले मानव संशासन, कार्यसंचालनका बारेमा मानव संशाधन विभाग प्रमुख धिरेन्द्र लाल कर्णले तालिम दिएका थिए । लहान, सिराहामा केन्द्रीय कार्यालय रहेको यस वित्तिय संस्थाले न्यून आय भएका तथा बिपन्न वर्गका महिलाहरुलाई आधुनिक प्रविधिका माध्यमवाट घरदैलोमा लघुवित्त सेवा पु¥याउने जनाएको छ ।