विकासन्युज

“मोडल सङ्गस अवार्ड २०२०” भारतको नयाँ दिल्लीमा हुँदै

काठमाडौं । मोडल सङ्गस नेपालले “मोडल सङ्गस अवार्ड, २०२०” आयोजना गर्ने भएको छ । ग्लोरी मिडिया, पेजेन्ट नेपाल र दक्ष ईन्टरनेशनल एसोसिएट्स पार्टनर रहेको उक्त अवार्ड शो को दोश्रो संस्करण भारतको नयाँ दिल्लीमा अप्रिल १२ मा हुन लागेको हो । मोडल सङ्ग्स अवार्ड, २०२० बारे जानकारी गराउने उद्देश्यका साथ बुधबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम माझ बोल्दै अवार्डमा संगित, चलचित्र, फेशन, मोडल, ईभेन्ट अन्तर्गत विभिन्न विधामा भोटिगंका आधारमा सर्जक, कलाकार, प्राविधिक एवम् व्यवस्थापकलाई पुरस्कृत गरिने आयोजक संस्थाका सिईओ डेविल सिंह राजपुतले बनाए । साथै, उनले अवार्डमा मनोनयनका लागि माघ २ गते देखि आवेदन फाराम खुल्ला रहने जानकारी दिए । आवेदन फाराम फेब्रुअरी २९ भित्र भरिसक्नु पर्ने साथै अवार्डको नोमिनेशन मार्च ७ मा सार्वजनिक भई मार्च २१ मा नोमिनेशन सर्टिफिकेट प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । अन्तर्राष्ट्रिय स्तरमा नेपाली कला,संस्कृतिको प्रचार प्रसार तथा प्रवद्र्धन गर्ने हेतुले भारतको राजधानी नयाँ दिल्लीमा अवार्ड कार्यक्रम आयोजना गर्न लागिएकोले यसको महत्व अझ बढ्ने आशा आयोजक संस्थाले लिएको छ । उक्त कार्यक्रमको लागि नेपालबाट आयोजक टोलीसंगै ख्याति प्राप्त कलाकार, लब्ध प्रतिष्ठित व्यक्तिक्त एवं संचारकर्मी त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। मनोरन्जन र सिर्जनशीलताको क्षेत्रमा लागिपर्दै आउने क्रममा विभिन्न व्यक्तित्वहरुले समाजमा पुर्याउदै आएको योगदानको कदर गर्दै मोडल सङ्गस नेपालले उनीहरुलाई प्रोत्साहनका साथै हौसला प्रदान गर्न अवार्ड कार्यक्रम आयोजना गर्न लागेकोले हो । अवार्डलाई मर्यादित र आकर्षित तुल्याउन एक्यबद्ध हुँदै यस संस्करणमा हाम्रो साथ रहन्छु अवार्ड कार्यक्रमका एशोसियट पार्टनर ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले बताए । त्यसैगरी, पेजेन्ट नेपाल र दक्ष ईन्टरनेशनलका तर्फबाट क्रमशः राज लुइँटेल र टेक राज पाण्डेले बोल्दै ईभेण्टलाई व्यवस्थित बनाउन लागि पर्ने प्रतिबद्धता जनाएका छन् ।

बारम्बार विवादमा पर्यटन मन्त्री

युवा पुस्ताले मन पराएको युवा नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएको पाँच महिना पूरा भएको छ । पाँच महिनामा उनी पाँचौं पटक विवादमा परेका छन् । युवा मन्त्रीको केटौले पनले उनी प्रतिको विश्वास र भरोसा धर्मराउन थालेको छ । मन्त्री भए लगत्तै उनलाई बधाई दिन पुगेको एक नारीलाई मन्त्री भट्टराईले अंकमाल गरेको फोटो सामाजिक सञ्चालमा भाइरल बन्यो । फोटोका पात्रहरुले क्यामरालाई दोष दिएपनि धेरै मानिसले मन्त्री भट्टराईबाट गल्ती भएको टिप्पणी गरे । मन्त्री भट्टराईले पशुपतिको आर्यघाटमा आरती गर्नुपूर्व राष्ट्रिय गान गाउन दिएको निर्देशन पनि विवादास्पद बन्यो । आर्यघाटमा शब जलिरहेको हुने, आर्यघाट पुग्ने सबै मानिस शोकमा ढुबेको हुने र त्यस्तो बेलामा राष्ट्रिय गान गाउनुपर्छ भन्ने मन्त्री भट्टराईको निर्देशनको चौतर्फी आलोचना भयो । मन्त्रीका निर्देशनपछि आरतिपूर्व आर्यघाटमा राष्ट्रिय गान गाउन शुरु भएपनि चौतर्फी आलोचना भएपछि राष्ट्रिय गान गाउन बन्द गरिएको छ । मन्त्री भट्टराई यहाँ दोस्रो पटक चुके । भदौ २८ गते नेपालगञ्जबाट काठमाडौं आउने विमानमा निर्धा्रित समयभन्दा निकै ढिलो पुगेपछि मन्त्री भट्टराई तेस्रो पटक विवादमा परे । मन्त्री भट्टराई विमानमा ढिला पुगेको भन्दै विमानभित्रै होहल्ला भयो । यात्रुहरुले मन्त्रीलाई गाली गलौज गरे । बुद्ध एयरको उक्त उडान समय निर्धारित समयभन्दा झण्डै २ घण्टा पर धकेलिएपछि यात्रुहरु आक्रोशित भएका थिए । उक्त घट्नालाई लिएर शुरुमा मन्त्री भट्टराईले गणतन्त्रमाथि मण्डले आक्रमण भएको टिप्पणी गरे । उनको भनाईप्रति सामाजिक सञ्जालमा थप आक्रोश व्यक्त भएपछि घुमाउने शैलीमा माफि मागे । जनवरी एक तारिकमा दशरथ रङ्गशालामा आयोजित नेपाल भ्रमण वर्षको उद्घाटन कार्यक्रमको असफलता उनको चौथो ठूलो कमजोरी थियो । राष्ट्रपति, मन्त्री, व्यवसायीहरुले भाषण गर्दै दीप प्रज्वलन गरेर नेपाल भ्रमण वर्ष २०२० उद्घाटन कार्यक्रममा अतिथि मात्र आए । २५ हजार दर्शक अट्ने रंगशालामा ५ हजार मानिस पनि छिरेनन् । कारण एउटै थियो भाषणमुखी कार्यक्रममा जान पैसा तिरेर टिकट लिनुपर्ने व्यवस्था । पैसा तिरेर कोही गएनन् । निर्धारित समयभन्दा साढे दुई घण्टापछि शुरु भएको कार्यक्रममा राष्ट्रपतिले भाषण गर्दा सबै कुर्सी खाली थिए । भ्रमण वर्ष २०२० को प्रचारप्रसारमा अष्ट्रेलिया पुगेका मन्त्री योगेश भट्टराई त्यहाँ पनि विवादमा फसेका छन् । अष्ट्रेलिया राष्ट्रिय संकटमा परेको बेलामा उनी अष्ट्रेलियामा र्यालीसहित विजनेश प्रमोशनमा जानुले उनको निर्णय क्षमतामा धेरैले प्रश्न गरेका छन् । मन्त्री भट्टराईले त्यहाँको सरकारसँग अनुमति नलिई र्याली गर्न खोज्दा प्रहरीले रोकेको समाचार अहिले चर्चामा छन् । अन्तराष्ट्रिय सञ्चार माध्यम साउथ एसिया डटकमले सिड्नी सिटीको सुरक्षाकर्मीले भ्रमण वर्षको कार्यक्रममा रोक लगाएको समाचार प्रकाशित गरेको छ । अष्ट्रेलियन सरकारले राष्ट्रिय विपतको घोषणा गरेको छ । यतिबेला अष्ट्रेलियन नागरिकलाई नेपाल भ्रमणको लागि निम्ता गर्न पर्यटन मन्त्री विदेश भ्रमणमा जानु, त्यहाँको सरकारसँग सहमति नलिई सडक र्याली आयोजना गर्ने प्रयास गर्नु र अष्ट्रेलियन सरकारले नेपालको मन्त्री सहभागि भएको र्यालीमा अवरोध गर्नुले नेपालको बेइज्जत भएको छ र नेपालीको शिर झुकेको छ । भट्टराई मन्त्री हुनुपूर्व आशालाग्दा नेताको रुपमा उदाएको थिए । मन्त्री भएको पाँच महिनामा पाँच वटा विवादमा परेपछि उनी उनीप्रतिको आशा र विश्वास धर्मराउन थालेको छ ।

नेपाल राष्ट्र बैंक र दुई विकास बैंकबीच आरटिजिएस सम्बन्धी सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंक , मुक्तिनाथ विकास बैंक तथा देवः विकास बैंक लिमिटेडबीच आरटिजिए प्रणाली सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बम बहादुर मिश्र, मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र देवः विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन् । मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १ सय ३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आईरहेको छ ।  

धौलागिरी लघुवित्तको वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रथम  वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष ईश्वरलाल राजभण्डारीले आ.व २०७५।०७६ को वार्षिक प्रतिवेदनलाई छलफल गरी पारित गरिएको संस्थाका कम्पनी सचिव तथा का.मु प्रमुख कार्यकारी अधिकृत शिवराम जोशीले बताए । सभामा संस्थाले आ.व २०७६।०७७ को प्रथम त्रैमासिक लक्ष्य पूरा गर्ने र शाखा कार्यालयहरु प्रथम शाखा ठाडा अर्घाखाची,दोश्रो शाखा बुर्तिबाड.र तेश्रो नौडाँडा शाखालाई सम्मान स्वरुप अध्यक्षबाट प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको बताइएको छ । यस धौलागिरी लघुवित्त वित्तीय संस्था र आँधिखोला लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्बन्धी सम्झौतामा २०७६।०९।०२ गते दुवै संस्थाबाट समझदारी सम्झौता पत्रमा हस्ताक्षर भई कार्य अघि बढेको अध्यक्ष ईश्वर लाल राजभण्डारीले बताए । सभामा संस्थापक शेयरधनीहरुको तर्फबाट संञ्चालक समितिमा ईश्वरलाल राजभण्डारी, सिर्जना थापा, हरि प्रसाद शर्मा र प्रभु बैकबाट उत्तम कुमार राजभण्डारी सर्वसहमतिले निर्वाचित भएको बताइएको छ । संस्थाको हाल केन्द्रिय कार्यालय बागलुङ अन्र्तगत ३६ वटा शाखा कार्यालय संचालन , कूल सदस्य २८,४५६ ऋण लगानीमा ७६ करोड रुपैयाँ, बचत ४८ करोड ९१ लाख र चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको का.मु प्रमुख कार्यकारी अधिकृत शिवराम जोशीले बताए ।

बल्ल बले ट्राफिक लाईट, १२ ठाउँका लाइट मर्मत गर्न साढे ९७ लाख खर्चियो

काठमाडाैं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा रहेका ट्राफिक लाइट बल्न थालेका छन् । विगत आठ वर्षदेखि बिग्रिएर थन्केका ट्राफिक लाइटहरु बल्न थालेका हुन् । सडक विभागले ट्राफिक लाइट मर्मतको काम शुरु गरेसँगै ११ ठाउँमा रहेका लाइटहरुले काम गर्न थालेका हुन् । २०५७ सालमा जापान सरकारले जडान गरिदिएको ट्राफिक लाइट बिग्रिएपछि काम गर्न छोडेको थियो । जापान सरकारले लाइट जडान गरेको १० वर्ष चलेपछि बन्द भएका थिए । २०६८ सालदेखि ट्राफिक लाइट बन्द थिए । बन्द भएका लाइट नेपाल सरकारले मर्मत गर्न उत्सुकता देखाएको थिएन । तर, हाल ती सबै ठाउँमा लाइटहरु मर्मत गर्ने काम थालिएको छ । उपत्यकामा हुने सवारी दुर्घटना ट्राफिक लाइट नहुनु पनि मूख्य कारण पाइएपछि धमाधम बनाइकाे हाे । सडक विभागका सुचना अधिकारी शिबहरी सापकोटाले विभागले धमाधम रुपमा लाइटको मर्मत कार्य गरिरहेकाे बताए । ‘गत वर्ष लाइट मर्मत गर्ने ठेक्का प्रक्रियाकाे कार्य सम्पन्न गरेर यो वर्षदेखि लाइट मर्मत गर्न शुरु गरिएको हो, त्यतिखेर डेढ करोड रुपैयाँको अनुमान आएपनि २७ प्रतिशत बिगोमा ठेक्का लगाएर काम शुरु गरिएको हो,’ उनले भने । १२ वटा ठाउँको ट्राफिक लाइट मर्मत गर्न ९७ लाख ५० हजार रुपैयाँको ठेक्का दिएको उनले बताए ।  लाइटको अवस्था हरेर त्यसको लागत लाग्ने उनकाे भनाइ छ । ११ ठाउँकाे बत्ती बलेपनि एक ठाउँमा अझै बलेकाे छैन । कुन कुन ठाउँमा बले ट्राफिक लाइट ? हाल काठमाडौं उपत्यकाको ११ ठाउँमा ट्राफिक लाइट बलेका छन् । उपत्यकाको पुतली सडक, पद्मोदयमोड, सिँहदरबार, गौशाला, पुरानो बानेश्वर, नयाँ बानेश्वर, तिनकुने (बानेश्वर तर्फ), तिनकुने (एयरपोर्ट तर्फ), मुनिभैरव, ठिमी चोक र महापाल चोकका ट्राफिक लाइटहरु काम गरिरहेका छन् । यी सबै लाइटको व्यवस्थापन ट्राफिक प्रहरी महाशाखाको कन्ट्रोल रूममा ‘कनेक्सन’ गरिएको छ । यस्तै, केशरमहल, संग्रहालय दक्षिण गेट, माईतीघर, थापाथली, कालिमाटी, कोटेश्वर, जडिबुटी, सूर्यविनायक, कौशलटार, सल्लाघारी र नारायण गोपाल चोकका लाइटहरुले काम गर्न सकेका छैनन् । उपत्यकामा दिनानुदिन सवारी साधनको चाप बढ्दो छ । यही बढ्दो चापलाई नियन्त्रण गर्न र उपत्यकाको ट्राफिक व्यवस्थालाई थप प्रभावकारी बनाउन विभागले लाइट मर्मतको काम थालेको हो । ट्राफिक लाइट मर्मतको ठेक्का यार्सा टेक्नोलोजीले पाएको छ । यस्तै, काठमाडौं महानगरपालिको लगानीमा महाराजगन्ज चोक र शिक्षण अस्पताल अगाडि जेब्राक्रसमा पैदल यात्रुका लागि लाइट व्यवस्थापन गरिएको छ । साताभित्र थापाथली, कालिमाटी र मित्रपार्कमा पनि लाइट बनाइसक्ने बताइएको छ । इन्टरनेटको माध्यमबाट कुन चोकमा कुन लाइट कति समय थपघट गर्ने भन्ने चलाउन सकिन्छ । ‘कति मिनेटपछि लाइट रिभर्स हुने अर्थात् काउन्टिङ डिस्प्ले बनाउने भन्ने अब ट्राफिक प्रहरी कक्षबाटै गर्न सकिने भएकाे छ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिएसपी पदम बहादुर बिष्टले भने । उनले उपत्यकाका विभिन्न एक सय ३९ स्थानमा ट्राफिक लाइटको आवश्यकता रहेको बताए । यसले उपत्यकामा हुने दुर्घटना न्यूनीकरणमा सघाउ पुग्ने उनको भनाइ छ । उनका अनुसार, चोक चोकमा ट्राफिक लाइटको अभावमा प्रत्येक चोकमा चारदेखि छ जना ट्राफिक प्रहरी खटाउनु परेको छ । यी सबै स्थानमा ट्राफिक लाइट हुने हो भने जनशक्ति पनि कम लाग्छ र ट्राफिक व्यवस्थापन पनि प्रविधिमा आधारित भएर चल्ने उनकाे भनाइ छ । ‘ट्राफिक लाइट जडान भए पछि सम्पूर्ण ट्राफिक व्यवस्थापन सिस्टममा चल्छ, सडकमा सवारीको चाप र जामको समस्या आफैँ समाधान हुन्छ, ट्राफिक नै उभिएर ट्राफिक व्यवस्थापन गर्दा एकातिर पाँच मिनेट रोक्न सक्छ र अर्कोतिर  आठ मिनेट रोक्न सक्छ । यसले गर्दा पनि जाममा परेका सर्वसाधारण रुष्ट हुन सक्छन्,’ उनले भने । यो प्रविधि नेपाली इन्जिनियरहरुले नै विकास गरेका हुन् । बिग्रेको अवस्थामा उनीहरुले नै मर्मत गर्ने सहमति भएको छ ।

सानिमा बैंक र पाटन अस्पतालबीच आर्थिक सम्झौता नवीकरण

काठमाडौं । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गत वर्ष भएको सम्झौता नवीकरण गरिएको छ । उक्त सम्झौतापत्रमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल र पाटन अस्पतालका निर्देशक डा. विष्णु प्रसाद शर्माले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलाहरुलाई प्रति व्यक्ति २० हजारसम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएकोमा सो सम्झौता पुनः नवीकरण गरिएको छ । नक्सालमा आयोजित उक्त कार्यक्रममा सानिमा बैंकले प्रत्येक “नारी बचत खाता” बापत बैंकको तर्फबाट मासिक रु. १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएको छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग सम्झौता गरेको हो । कार्यक्रममा अस्पताललाई बैंकले उपलब्ध गराउने सो सहयोग रकमले निम्न आयस्तर भएका महिलाहरुको उपचारमा राहत पुग्नुका साथै बैंकको सो कदम प्रशंसनीय रहेको पाटन अस्पतालका निर्देशक शर्माले बताएका छन् ।

सनराइज बैंककाे क्यास ब्याक योजना, अनलाइन काराेबार गर्दा एक हजार फिर्ता पाइने

काठमाडौं । सनराइज बैंकले क्यास ब्याक योजना ल्याएको छ । बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यले माघ १ गतेदेखि तीन महिनासम्म लागू हुने गरी उक्त याेजना ल्याएकाे हाे । यस योजना अन्तर्गत सनराइज बैंकका डेबिट/क्रेडिट कार्ड सेवा लिएका तर हालसम्म पनि पोइन्ट अफ सेल (पीओएस) टर्मिनल वा ई-कमर्स मा कार्ड प्रयोग नगरेका ग्राहकहरुले पोइन्ट अफ सेल (पीओएस)टर्मिनलमा कारोबार गर्दा २५० रुपैयाँ क्यास ब्याक र ई-कर्मशमा कारोबारमा २५० रुपैयाँ क्यास व्याक प्राप्त गर्न सक्नेछन् । यस योजना अन्तर्गत क्यास ब्याक प्राप्त गर्नको लागी डेबिट/क्रेडिट कार्ड मार्फत महिनामा कम्तीमा दुई पटक न्यूनतम ५०० रुपैयाँ वा सोभन्दा बढीको कारोबार गर्नुपर्नेछ । साथै, कुनै पनि ग्राहकले डेबिट/क्रेडिट कार्ड मार्फत एकै पटक वा पटक पटक गरी एक महिनामा १५ हजार रुपैयाँ वा सो भन्दा बढिको खरिद कारोबार गरेमा एक हजार रुपैयाँ क्यास व्याक प्राप्त गर्न सक्नेछन् । यस योजनामा एकजना कार्डहोल्डरले उल्लेखित योजना मुताबिक अधिकतम ३ हजार ५ सय रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । यस क्यास ब्याक अफरले ग्राहकहरुलाई नगद भुक्तानीबाट डिजिटल भुक्तानीमा जान आकर्षित गर्ने र उक्त भुक्तानीमा पाइने क्यास व्याकले अझै बढी कारोबार गर्न मदत गर्ने बैंकले जनाएको छ ।

गण्डकी विकास बैंकको सभाले पारित गर्यो १७.३२ प्रतिशत लाभांश

काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडको १२ औं वार्षिक साभारण सभाले प्रस्तावित १७.३२ प्रतिशत लाभांश पारित गरेको छ । बैंकका अध्यक्ष सुशिल गौचनको अध्यक्षतामा पोखरामा सम्पन्न उक्त सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै विकास बैंकले शेयरधनीलाई चुक्ता पुँजीको १७.३२ प्रतिशत अर्थात ४७ करोड ६३ लाख रुपैयाँ कर समेतको नगद लाभांश वितरण गर्ने छ । यस विकास बैंकको कुल चुक्ता पूँजी २ अर्ब ७५ करोड रहेको छ भने २०७६ मंसिर मसान्त सम्ममा कुल निक्षेप ३२ अर्ब ९७ करोड संकलन गरी २६ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको संस्थाले जानकारी दिएको छ । हाल बैंकले मुलुकभरका ९२ शाखा सञ्जाल तथा २७ वटा एटीएमबाट सेवा प्रदान गर्दै आएकोछ । निकट भविश्यमा बैंकले विभिन्न स्थानमा गरी थप ३ बटा शाखाहरु सञ्चालनमा ल्याउने तयारी गरिरहेकोले कूल शाखा संख्या ९५ पुग्नेछ । यस बैंकलाई मेगा बैंक नेपाल लिमिटेडले प्राप्ति गर्ने सम्बन्धमा दुवै संस्थाहरुको बीचमा समझदारी पत्रमा हस्ताक्षर भै प्राप्ती सम्बन्धी प्रक्रिया अघि बढेको छ । मेगा बैंक नेपालले यस बैंकलाई प्राप्ती गरे पश्चात बन्ने एकिकृत बैंक अझ सवल, सक्षम र अग्रणी बैंक बन्न सफल हुनुका साथै यसका लगानीकर्ताहरुको लगानीको सम्वर्धन, संरक्षण र उच्च प्रतिफल दिन सफल हुने संस्थाकाे विश्वास छ ।