हिमालयन बैंकका ग्राहकले ७५ स्थानमा ३५ प्रतिशत छुट पाउने
काठमाडौं । हिमालयन बैंकका ग्राहकले विभिन्न ७५ भन्दा बढी ठाउँमा विशेष छुट पाउने भएका हुन् । बैंकले आफ्नो २७ औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई काठमाडौं, पोखरा, चितवनका विभिन्न ७५ भन्दा बढि स्थानमा विशेष छुट दिने भएको हो । बैंकका ग्राहकहरुले देशका विभिन्न स्थानमा रहेका प्रसिद्ध होटल, रेष्टुराँ, अस्पताल, गहना गृह, कपडा, चश्मा तथा घडी पसल, मोबाइल, ल्यापटप तथा सम्बन्धित समाग्री, खेलकुद समाग्री, फर्निचर, विद्युतीय दुई पांग्रे सवारी, कस्मेटिक, बुटिक लगायत अन्य स्थानहरुमा भारी छुट पाउने छन् । बैंकले ती स्थानहरुसंगको सहकार्यमा आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर राख्दै अधिकतम ३५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको हो । यस बैंकका ग्राहकले आफु हिमालयन बैंकका ग्राहक भएको कुनै पनि परिचय (डेबिट÷क्रेडिट कार्ड, चेक बुक) प्रस्तुत गरेमा उक्त स्थानहरुबाट निर्धारित छुट पाउने छन् । हाल यो योजना ७५ भन्दा बढि स्थानबाट लागू भएको छ । निकट भविष्यमा बैंकले यस योजना देशभरि कम्तिमा २०० वटा थप स्थानहरुमा विस्तार गरि आफ्ना ग्राहकहरुलाई छुट सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।
आत्महत्या दुरुत्साहन मुद्दामा रवि लामिछानेले पाए सफाइ
काठमाडाैं । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा सञ्चारकर्मी रवि लामिछानेसहितका ३ जना प्रतिवादीले सफाइ पाएका छन् । जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलाशले आइतबार लामिछानेसहित न्यूज २४ टिभिका पत्रकार युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीलाई सफाइ दिएको हो । पत्रकार शालिकराम पुडासैनीको रहस्यमय निधन सम्बन्धमा अनुसन्धानका लागि ११ दिन प्रहरीको न्यायिक हिरासत बसेर गत भदौ ९ गते रिहा भएका थिए । पत्रकार पुडासैनीको गएको साउन २० गते भएको रहस्यमय निधन सम्बन्धमा साउन ३० गते छानबिनका लागि भन्दै प्रहरीले रविसहित युवराज कँडेल र अस्मिता कार्कीलाई नियन्त्रणमा लिएर न्यायिक हिरासतमा राखेर अभियोग पत्र दर्ता गरिएको थियो । पत्रकार शालिकराम पुडासैनीको रहस्यमय निधनमा उनीहरुको भूमिका रहेको भन्दै सरकारी वकीलले उनीहरुविरुद्ध ८ भदौमा चितवन जिल्ला अदालतमा आत्महत्यादुरुत्साहन गरेको कसुरमा अभियोग पत्र दर्ता भएको थियो । दुवै पक्षको कानुन व्यवसायीको बहसपछि ९ भदौमा चितवन जिल्ला अदालतको आदेशपछि रविले ५ लाख रुपैयाँ र युवराजले ३ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए भने भने अस्मिता भने साधारण तारेखमा रिहा भएकी थिइन् । अभियोग पत्रमा उनीहरुविरुद्ध ५ वर्ष जेल सजाय र ५० हजार जरिवानाको माग गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले ११ दिन लगाएर गरेको अनुसन्धान प्रतिवेदन आइतबार सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।
यस वर्ष ३० प्रतिशत लाभांश दियाैं, अर्काे वर्ष अझैं बढाउँछाैं: अनिल उपाध्याय
काठमाडाैं । वि.सं २०२४ सालमा सरकारको पूर्ण स्वामित्वमा रही आफ्नै ऐन २०२४ बाट संचालित यात्रा ५२ वर्षको उकाली ओराली पार गर्दै ५३ औं वर्षको पूर्वसन्ध्यामा एक सबल एवं सक्षम बैंक “सम्पूर्ण बैंकिङ सुविधा सहितको तपाईं हाम्रो घर आँगनको बैंकको रुपमा स्थापित हुन पुगेको छ । कृषि विकास बैंकको ५ दशकको सफलता असफलताको कथा, प्रयास र प्रगति, हासिल गरेका उपलब्धि र आगामी दिनका भावी कार्यक्रम तथा योजनाका बारेमा आयोजित यस प्रेस भेटघाट तथा संवाद कार्यक्रममा तपाइँ सम्पूर्ण पत्रकार तथा संचारकर्मी लगायत उपस्थित महानुभावहरुलाई कृषि विकास बैंक लि. परिवार तथा मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु। हाम्रो पाँच दशकको लामो इतिहासलाई स्मरण गर्दा कृषि विकास बैंकलाई इञ्जिन फर रुरल ट्रान्सफर्मेसनको अभियन्ताको रुपमा हेर्न सकिन्छ । ग्रामीण तथा कृषि क्षेत्रको विकासको लागि सरल र सुलभ कृषि कर्जामा केन्द्रित रहेको यस बैंक आजसम्म आइपुग्दा “कृषिलाई नछोड्ने, अरुलाई जोड्ने अभियानमा क्रियाशील रही आएको छ । साना किसान विकास आयोजना मार्फत सामूहिक प्रणालीमा आवद्ध हुने, शैक्षिक एवं स्वास्थ्य कार्यक्रम, वचत परिचालन र सामूहिक जमानीमा कर्जा कारोबार गर्दै उक्त आयोजना समूहलाई नै संचालन गर्ने क्षमता अभिवृद्धि गर्दै सहकारीमा रुपान्तरण गरी सुदृढ बनाउन गरेको प्रयास र सफलताको कथा फेरी एक पटक फेरि तपाईहरुमाझ दोहोर्याउन चाहन्छ । यसरी करिब २ दशक सरकार, दातृ निकाय आदिको सहयोगमा वित्तीय सेवाका साथै उपकरण, यान्त्रीकरण, क्षमता अभिवृद्धि, विकास परियोजनाको सहयात्री भइ लामो यात्राको अनुभव बटुल्दै, श्रोतमा आन्तरिक निर्भरता हुनुपर्छ भनी यस बैंकले वि.स २०४१ सालमा नेपालमा पहिलो पटक कम्प्यूटरयुक्त बैंकिङ सीमित सेवा (निक्षेप कारोवार, कर्जा तथा जमानत, फयाक्स कारोवार) सहितको बैंकको रुपमा स्थापित भइ बैंकको शाखा संजाल र साना किसान विकास आयोजनामार्फत कृषि तथा कृषि क्षेत्रसँग आवद्ध क्षेत्र मूल्य शृंखलामा लगानी गर्दै आएको छ । खल्ला बजार, निजिकरण र प्रतिस्पर्धाको पछिल्लो चरण अर्थात डेढ दशकअघि आव २०६२/६३ मा नेपाल सरकारको “बैंक तथा वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत यस बैंकको पुनसंरचनाका लागी एशियाली विकास बैंकको ऋण तथा प्रविधि सहयोगमा २०६३ सालमा कम्पनी ऐन, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अन्तर्गत क वर्गको नेपाल राष्ट्र बैंकवाट इजाजत प्राप्त गरी नेपाल सरकारको ५१ पतिशत र सर्वसाधारणको ४९ प्रतिशतको शेयरमा अधिकांश कृषकहरु भएको संचरनामा रही आफ्नो बलियो पूँजी संरचना, प्रविधियुक्त कोर बैंकिङ सफ्टवेर बृहत शाखा संजाल, प्रदेश र तालिम केन्द्र मार्फत करिव १२ लाख निक्षेपग्राही, करिव १ लाख ४५ हजार कांग्राही, ६ हजारलाई इन्टरनेट सेवासहित सम्पूर्ण बैंकिङ्क वस्तु तथा सेवा कर्जाको प्रकार, निक्षेपका प्रकार, जमानत तथा गैरकोषमा आधारित ट्रेड फाइनान्स, एलसी कारोबार, कारोबार, फोरएक्स, कारोबार, डीम्याट, सी-आस्बा,आइपीएस, कन्टेन्ट आइपीएस, जीओएएमएल स्विफ्ट सेवाका साथै करिव २ लाख ६२ हजारलाई मोबाइल बैंकिङ सेवा, एप्स, करिब ८१ हजारलाई भिसा डेबिट कार्ड सेवामार्फत हामी “सम्पूर्ण बैंकिङ सुविधा सहितको तपाई हाम्रो घर आँगनको बैंक” बन्न सफल भएका छौं । यसैगरी नेपाल राष्ट्र बैंक लगायत नियमनकारी निकायहरुद्वारा जारी निर्देशनहरुको पूर्ण परिपालना गर्दै बैंकको आन्तरिक नियन्त्रण प्रणाली तथा संस्थागत सुशासनलाई थप मजबुत बनाइएको छ। नेपाल सरकारले आह्वान गरेको “सबै नेपालीको बचत खाता खोलौं बैंक खाता अन्तर्गत ५२ हजारभन्दा बढी जनताको खाता खोल्न सफल भएको हाम्रा लागि एउटा असल उदाहरण र सुखद क्षण हो। हामी खराव कर्जालाई नियन्त्रण गर्दै गुणस्तरीय सेवाका माध्यमवाट बढीभन्दा बढी ग्रामीण क्षेत्रमा आफ्नो बैंकिङ्ग, कारोबारलाई प्रविधिमैत्री एवं डिजिटल पद्धतिमा जोड दिने नीति लिई अग्रणी भूमिका निर्वाह गर्ने योजनासाथ अघि वढेका छौं। विगतका वर्षहरुमा औसत १५ प्रतिशत लाभांश दिदै आएको यस बैंक गत वर्ष २१।०५ प्रतिशत र यस वर्ष निर्धारित समयमै आफ्नो १३ औं साधारणसभा सम्पन्न गरी आव २०७५/७६ मा ३० प्रतिशत उत्साहजनक लाभांश उपलब्ध गराउन सफल भएको छ । आगामी वर्षहरुमा यस वृद्धिको उत्साहलाई निरन्तरता दिने कुरामा विश्वास दिलाउन चाहन्छौं । हामीलाई गर्व लाग्छ, सन् २०१२ मा एसियन डेभलपमेन्ट बैंकले रुरल फाइनान्स सेक्टर डेभलपमेन्ट क्लस्टर प्रोग्राम फेज १ प्रोगाम उफर्मेन्स अवार्ड प्राप्त गरी फेज २ क्लस्टर डेभलपमेन्ट प्रोग्राम प्राप्त गर्न बैंक सफल भएको विषय यहाँहरुमाझ बॉडन पाउँदा खुसी लागेको छ। गएको १ वर्षमा यस बैंकले सहुलियतपूर्ण कृषि अनुदान कर्जामा करिव २५०० संख्या भन्दा बढीमा करिव ५ अर्व ५८ करोड रकम लगानी गरेको अवस्था छ । यस कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न बैंकले प्रदेश कृषि मन्त्रालय, ग्रामीण पद्धति केन्द्र (महिला ५००, ८ जिल्लामा), ७ जिल्लामा हेफर इन्टरनेशनल, किसान महासंघ, युवा परिषद् आदिसँग सहकार्य गरी लक्षित वर्गमा कर्जा तथा बैंकिङ्ग सेवाको विस्तार गर्ने क्रममा छौं । यसैगरी नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी करिव १ हजार होमस्टे आबद्ध भएको होमस्टे एशोशिएसन नेपाल सँग सम्झौता गरी उक्त क्षेत्रमा सरल होमस्टे कर्जा प्रवाह गर्ने कार्यक्रम समेत तय गरेका छौं। हामीलाई थाहा छ, हाम्रो १ करोडभन्दा माथिको कर्जाको भार कुल कर्जामा १ प्रतिशतभन्दा न्यून छ । १० लाखभन्दा कम कर्जाको भार ८४ प्रतिशत रहेको र यी सबैजसो कर्जा ग्रामीण भेगका कृषक, मजदुर र साना तथा मझौला कर्जाका रुपमा रहेका छन् । हामीले यो विश्वासलाई अझ बलियो बनाउन कृषक र ग्रामीण भेगका जनतालाई ‘बैंकले लिनमात्रै होइन, दिन पनि जान्दछ’ भनी आगामी ७ वर्षका लागि १०.३५ प्रतिशत व्याजदरमा प्रति ऋणपत्र १००० अंकित मूल्यमा २५ लाख कित्ताले हुन आउने २ अर्ब ५० करोड रूपैयाँको बराबरको एडीबीएल कृषि बैक ऋणपत्र २०८३ निष्काशनको अन्तिम तयारीमा रहेका छौं। बैंक ५३ औं वर्षमा प्रवेश गर्न लाग्दा एउटा सवल, स्वस्थ र सबैको मनमा बस्न सक्ने दिगो, भरपर्दो वित्तीय संस्थाको रुपमा स्थापित हुन प्रयासरत रहेको छ । यस सुखद घडीमा नेपाल सरकार, दातृ निकाय, शेयरधनी, ग्राहक, कर्मचारी, सम्पूर्ण पत्रकार र संचारकर्मी एवं सबै शुभेच्छुकहरुको सहयोगले बैंक दीर्घकालीन दृष्टिकोणसहितको सुनिश्चित बैंक हुने कुरामा हामी विश्वस्त छौं । यही साथ र सहयोग निरन्तर पाइरहने आशासहित यहाँहरु सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । (कृषि विकास बैंकको ५३औं वार्षिकात्सवको बारेमा जानकारी दिन आयोजित प्रेस भेटघाट कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकत अनिल कुमार उपाध्यायले व्यक्त गरेकाे विचारकाे सम्पादित अंश )
मुनाल सहकारीद्वारा प्रहरी कार्यालय भवन निर्माणमा आर्थिक सहयोग
काठमाडौं । पोखराको मुनाल बचत तथा ऋण सहकारी संस्था सहकारीले आफ्नो बाह्रौं वार्षिक उत्सवको अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई आर्थिक सहयोग गरेको छ । संस्थाले जिल्ला ट्राफिक प्रहरी कार्यालयद्वारा निर्माण भईरहेको कार्यालय भवनको निर्माण सहयोगार्थ रु पच्चिस हजार आर्थिक सहयोग उपलब्ध गराएको संस्थाका अध्यक्ष दुर्गा प्रसाद हुमागाईले बताएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय भवन निर्माण समितिका अध्यक्ष दिलिपराज श्रेष्ठलाई सहकारी संस्थाका अध्यक्ष दुर्गाप्रसाद हुमागाईले सहयोग रकम हस्तान्तरण गरेका हुन । कार्यक्रममा मुनाल सहकारीका सञ्चालकहरु, कर्मचारी र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
हिमपातका कारण रसुवा–केरुङ आवतजावत बन्द, सयौँ सवारी चालक अलपत्र
रसुवा । हिमपातका कारण नेपाल चीनबीच केरुङको आवतजावत बन्द भएको छ । सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम नेपालका अनुसार चिनियाँ भूभागको अधिकांश सडकमा हिउँ जमेका कारण सवारीसाधन एवं मानिस हिँड्डुल गर्नसमेत बन्द भएको हो । दैनिक रूपमा मालसामान ओसारपसार गर्ने ट्रक तथा कन्टेनर आवतजावत गर्न नसक्दा सयौँ सवारी चालक अलपत्र रूपमा दिनचर्या बिताइरहेको बताइएको छ । एक सयभन्दा बढी ठूला मालवाहक सवारीसाधन गुड्ने रसुवागढी क्षेत्रमा हिमपातले सडक अवरुद्व भएपछि अहोरात्र पहरा दिने सुरक्षाकर्मीलाई आराम गर्ने मौका मिलेको स्थानीय बासिन्दाले बताएका छन् । केरुङमा रहेका नेपालीमध्ये तीनजना कठोर यात्राका साथ शनिबार रसुवागढी आइपुगेको र सडक खुल्न अझै केही दिन लाग्ने सीमा प्रहरी चौकी टिमुरेले जनाएको छ । रसुवा राजमार्गले अझै मर्मत पाएन उत्तरी क्षेत्रबाट व्यापार–व्यवसाय गर्ने राजमार्ग मर्मत हुन नसक्दा दिनानुदिन जीर्ण बन्दै गएको छ । नेपाल चीनबीच व्यापारी कारोवारबाट दैनिक तीन करोड राजश्व आर्जन गर्ने एकमात्र पासाङल्हामु राजमार्ग मर्मत हुन नसक्दा मालवाहक सवारीसाधन गुडाउन असहज बन्दै गएको ट्रक तथा कन्टेनर चालकहरूले बताएका छन् । सडकका अधिकांश स्थानमा खाल्टाखुल्टी हुँदा मालवाहक ट्रक तथा कन्टेनर कोल्टिन गई भिरालो सतहमा सवारीसाधन पार गर्न घण्टौँ प्रयास गर्नुपर्ने समस्या झेल्नु परेको सवारी चालकद्वारा निरन्तर आवाज उठिरहेको छ । पहिलो चरणमा राम्चे तथा मूलखर्कको उकालो र खोपाङभिर क्षेत्रअन्तर्गत थोरै राजमार्ग सडक सतह ढलान र अन्य ठाउँमा ग्रेगर माटो भर्ने व्यवस्थापन भए पनि सहज रूपले सवारीसाधन आवतजावत हुने चालकहरूको भनाइ छ । राजमार्ग मर्मतसम्भार गरी दिन सयाैं सवारी चालकले आवाज उठाइरहे तापनि सडक कार्यालयले बेवास्ता गरिरहेको चालक रामचन्द्र पुडासैनीले बताए । साँघुरो राजमार्ग, मर्मतमा शिथिलता, अनुगमन गर्ने डिभिजन कार्यालय नुवाकोट जिल्लामा रहँदा सडक प्राविधिकको न्यून उपस्थितिले रसुवाको पासाङल्हामु राजमार्ग जीर्ण बन्दै गएको स्थानीय बासिन्दाले समेत आवाज उठाइरहेका छन् । जिल्ला समन्वय प्रमुख कुलप्रसाद भट्टले भने राम्चेको स्याउबारीदेखि स्याफ्रुबेँसीसम्म दिनानु दिन जीर्ण हुँदै गएको राजमार्ग छिटोभन्दा छिटो सुधारका लागि आफूले निरन्तर समन्वयकारी भूमिका निर्वाह गरिरहेको बताएका छन् । राजमार्गको मूलखर्क ठूलोढुङ्गा नजिक उकालो भागमा असहज भएकै कारण नं ९४३५ को एसी बससमेत गत हप्ता दुर्घटना भइसकेको ट्राफिक प्रहरीले जनाएको छ । राम्चेदेखि स्याफ्रुबेंसीसम्म करिब ३० किमी राजमार्गका ठाउँठाउँमा हिलोका कारण सवारीसाधनका चक्का गाडिने समस्यासमेत बढेको बताइएको छ । राजमार्गको टड्कारो समस्या हल गर्न ग्राभेल तथा ढलानका लागि आफूले बारम्बार ताकेता गरिरहेको र डिभिजन सडक कार्यालय नुवाकोटले बजेटको समस्या मात्र देखाई बेवास्ता गरिरहेको स्थानीय प्रशासनले जनाएको छ । जनताको माग र टड्कारो समस्या हल गर्न स्थानीय प्रशासनका तर्फबाट बजेट व्यवस्थापनका लागि सडक विभागसँग बारम्बार पत्राचार भए पनि हालसम्म कुनै कार्यान्वयन नभएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । सडक सुधारका लागि साल बसाली आउने बजेटसमेत पासाङल्हामु राजमार्गको रसुवा खण्डका असहजभन्दा आफूलाई सहज पर्ने क्षेत्रमा मात्र खर्च गर्ने सडक प्राविधिकको बानी देखिएकाले सडकको सुधार गर्ने कार्यमा थप जटिल बन्दै गएको नागरिक समाजले जनाएको छ । राज्यको ठूलो राजश्व आर्जन गर्ने पासाङल्हामु राजमार्गलाई बेवास्ता गर्ने जिम्मेवार राष्ट्रसेवक सडक प्राविधिकले सडक सुधारका लागि विगतमा गरेका खर्चको लेखाजोखा गरी दोषीउपर कारवाही र अत्यावश्यक क्षेत्रमा काम गराउन निर्देशनात्मक आदेशका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष स्थानीयवासीले आग्रह गरेका छन् । रसुवा खण्डको राजमार्ग सुधारका क्रममा हिउँदभरि आलटाल गर्ने र वर्षा लागेपछि आकस्मिक बजेट मात्र परिचालन गराउने डिभिजन सडक कार्यालय नुवाकोटमार्फत रसुवा हेर्ने प्राविधिकको विशेषता देखिएको स्थानीयवासीको अनुमान रहेको छ । पूर्वसावधानीको अभावमा धुञ्चेस्थित ब्रावल भिरको राजमार्ग जीर्ण रहेको र जटिल स्थानमा समेत सडक प्राविधिकको ध्यान नपुग्दा सो स्थानमा सडक मर्मतका लागि राज्यको ठूलो धनराशि खर्च हुने अवस्थामा पुगेको छ । गत साउन महिनामा ब्रावल भिरको सडक भासिन जाँदा स्थानीय प्रशासनको सहयोगमा आवागमन सञ्चालनका लागि सुरक्षा अङ्ग परिचालन भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । सुरक्षा अङ्गले व्रावल भिरको अलावा राम्चे भिरमा ग्याबिन लगाई अवरुद्व राजमार्ग सञ्चालन गराउनुका साथै र खोपाङ पाखाको असहज सडक सतहमा ढुङ्गा छाप्ने कामसमेत गरेको प्रहरीले जानकारी दिएको छ । सुरक्षा अङ्गले गरेका कामको समेत सडक सुधारको नाममा सडक प्राविधिकले रनिङ्बल उठाए की भन्ने आशङ्का बढेको समेत स्थानीयवासी अख्तियार समक्ष आग्रह गरेका छन् । रासस
काभ्रेमा तीन दिन सार्वजनिक विदा
काभ्रेपलाञ्चोक । सोनाम ल्होछारका अवसरमा रोशी गाउँपालिकाले यही माघ १०, ११ र १२ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । संविधानतः सबै धर्म समुदायको समान अधिकार अनुरुप सबै पर्वमा सार्वजनिक विदा दिँदै आएको गाउँपालिका अध्यक्ष दलबहादुर लामाले बताए । “सबै पर्वलाई उल्लासमय बनाउन राष्ट्रिय एवम् स्थानीय सबै पर्वमा सम्मानजनक ढङ्गले गाउँपालिकामा सार्वजनिक विदा दिने गरिएको छ”, उनले भने । उनका अनुसार ल्होछारका अवसरमा गाउँपालिकाका विभिन्न स्थानमा विभिन्न साङ्गीतिक कार्यक्रमको आयोजना गरिनेछ । यसअघि, यही माघ १ गते रितिरिवाज, चाडपर्व तथा संस्कृतिको जगेर्ना गर्ने जनाउँदै माघे सङ्क्रान्ति (माघी पर्व)का अवसरमा पाँचखाल र मण्डनदेउपुर नगरपालिका तथा महाभारत र रोशी गाउँपालिकाले सार्वजनिक सूचनामार्फत सार्वजनिक विदा दिएका थिए । नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले ल्होछारकै अवसरमा नमोबुद्ध नगरपालिकामा महोत्सवको आयोजना गरिने भएको छ । यही माघ ९ देखि १९ गतेसम्म भकुण्डेबेँसी चोकमा आयोजना गरिएको महोत्सवमा कृषि, पर्यटन प्रवद्र्धन तथा स्थानीय संस्कृति झल्कने कार्यक्रम आयोजना गरिएको नमोबुद्ध उद्योग बाणिज्य सङ्घका अध्यक्ष बसुनारायण श्रेष्ठले जानकारी दिए । यस्तै, नगरकोट नाल्दूम पर्यटन विकास समितिले पनि भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले ल्होछारकै अवसरमा माघ १० गतेदेखि तीन दिन पर्यटकीयस्थल नगरकोटमा महोत्सव आयोजना गरी स्थानीय लोपोन्मुख बाजा, नाचगान तथा पहिचानलाई प्रदर्शन एवम् खानाका परिकारका माध्यमबाट पर्यटकलाई आकर्षण गर्ने योजना बनाएको छ । रासस
एक वर्षमा कृषि विकास बैंकः नाफा १७ प्रतिशत बढ्यो, खराब कर्जा १९ प्रतिशत घट्यो
काठमाडौं । कृषि विकास बैंकले एक वर्षको बीचमा वित्तीय परिसूचकमा उल्लेख्य सुधार गरेको छ । बैंकको गत वर्षको पुस मसान्त र यो वर्षको पुस मसान्तको तथ्यांक विश्लेषण गर्दा परिसूचकमा उल्लेख्य सुधार भएको देखिएको हो । बैंकले मनाउन लागेको ५३औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार अघिल्लो वर्षको पुस मसान्तमा बैंकसँग १ खर्ब १० अर्ब रुपैयाँ निक्षेप थियो । यो वर्षको पुस मसान्तमा बैंकसँग १ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप छ । एक वर्षको बीचमा बैंकको निक्षेप १५.४४ प्रतिशतले बढेको छ । बैंकको कर्जा तथा लगानी १०.२३ प्रतिशतले बढेको छ । गत वर्षको पुस मसान्तसम्ममा १ खर्ब ६ अर्ब रुपैयाँ कर्जा तथा लगानी गरेको बैंकले यो वर्षको पुस मसान्तसम्म आइपुग्दा यस्तो लगानी १ खर्ब १७ अर्ब रुपैयाँ पुर्याएको छ । बैंकको खराब कर्जाको अनुपात पनि निकै घटेको छ । गत वर्षको पुस मसान्तमा ४ अर्ब ७१ करोड रुपैयाँ खराब कर्जा रहेकोमा यस वर्षको पस मसान्त आइपुग्दा यस्तो कर्जा ४ अर्ब २३ करोड रुपैयाँमा सिमित भएको छ । एक वर्षको बीचमा बैंकको खराब कर्जा १०.३१ प्रतिशतले घटेको हो । रकमका आधारमा खराब कर्जा १०.३१ प्रतिशतले घटेको देखिए पनि प्रतिशतका आधारमा भने निकै घटेको छ । गत वर्षको पुसमा ४.४२ प्रतिशत रहेको खराब कर्जा अनुपात यसवर्षको पुसमा ३.५९ प्रतिशतमा झरेको छ । यो एक वर्षको बीचमा प्रतिशतका आधारमा बैंकको खराब कर्जा १८.६४ प्रतिशतले कम भएको हो । बैंकको करअघिको नाफामा १७ प्रतिशतले बढाएको छ । गत वर्षको पुस मसान्तमा १ अर्ब ७४ करोड रुपैयाँ नाफा गरेको बैंकले यो वर्षको पुस मसान्तमा २ अर्ब ३ करोड रुपैयाँ नाफा गरेको छ । यो नाफा सरकारलाई कर तिर्नुभन्दा अगाडिको हो । बैंकको प्रतिसेयर आम्दानी पनि ५ रुपैयाँले बढेको छ । गत वर्षको पुस मसान्तमा २३.५५ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी यो वषको पुस मसान्तमा २८.३७ रुपैयाँ पुगेको छ ।
सानिमा बैंक र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबीच छुटसम्बन्धी सम्झौता
काठमाडौं । सानिमा बैंकका ग्राहकलाई ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको स्वास्थ्य उपचारमा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत बबि सिंह गड्तौला र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका प्रमुख मार्केटिङ्ग अधिकृत दिनेश पौडेलले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता अनुसार सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल साझेदार रहेका नेपालका विभिन्न अस्पतालहरुमा उपचारको क्रममा सहज रुपमा भुक्तानीका साथै अस्पतालका विभिन्न सेवा सुविधाहरुमा ७.५ % सम्म छुट प्राप्त गर्न सक्नेछन् ।