विकासन्युज

सेञ्चुरी बैंकद्वारा २५० थान टर्चलाइट हस्तान्तरण

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले श्री माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई श्रद्धालु भक्तजनहरुको रात्री यात्रालाई सहज बनाउन २ सय ५० थान टर्चलाइट हस्तान्तरण गरेको छ । बैकका बजार प्रबन्धक शेखर राज बस्ताकोटीले समितिका महासचिव एल.पि.श्रेष्ठलाई र्टचलाईट हस्तान्तरण गरेका हुन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य कार्यक्रमहरु पनि गर्दै आएको छ ।

भ्रष्टचार सूचकांककाे ११३औं स्थानमा नेपाल

काठमाडौं । नेपाल भ्रष्टाचार निवारण सम्बन्धी विश्‍वव्यापी सूचकांककाे ११३औं स्थानमा रहेकाे छ ।  ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई)ले जारी गरेको भ्रष्टाचार अवधारणा सूचकांक ‘करप्सन पर्सेप्सन इन्डेक्स (सिपिआई)-२०१९’मा नेपाल यसपटक ११३औं स्थानमा उक्लिएको छ। गत वर्षकाे तथ्याकं भन्दा याे वर्ष थाेरै सुधार भएकाे छ । गत वर्ष १२४औं स्थानमा रहेको थियो। टीआइलेले जम्मा १ सय ८० देशको भ्रष्टाचार तथा सुशासनको अध्ययन गरी तयार गरेको रिपोर्ट बिहीबार विश्वव्यापी रुपमा सार्वजनिक गरिएको हो। विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक डेनमार्क देखिएको छ । एक सय पूर्णांक आधार मानेर गरिएको सर्वेक्षणमा डेनमार्कले ८७ नम्बर ल्याएको छ । नेपालले भने ३४ नम्बर ल्याएको छ । अघिल्लो वर्ष ३१ मात्रै ल्याएको थियो । विश्वमा सबैभन्दा कम अंक ल्याउने अर्थात् सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुक सोमालिया रहेको रिपोर्टले देखाएको छ । जसको जम्मा ९ अंक रहेको रिपोर्टले देखाएको छ । ४३ नम्बर आएको खण्डमा भ्रष्टाचार निवारणको अवस्थामा सामान्यतः सन्तोषजनक मानिन्छ । ५० बढी ल्याउँदा भ्रष्टाचार निवारणमा प्रगति भएको मानिन्छ ।

चिडियाखाना घुम्न अब घरबाटै टिकट, घण्टौं लाइन बस्नुपर्ने दिनकाे अन्त्य हुँदै

काठमाडाैं । तपाई चिडियाखानाका वन्यजन्तु हेर्न कति समय लाइन बसेर टिकट काट्नुहुन्छ ? कहिलेकाहीँ त घण्टौँ कुर्नुभयो होला, तर अब यो झन्झटबाट मुक्त हुनुभएको छ । तपाईंले घरमै बसिबसी टिकट ‘बुक’ गर्न सक्नुहुन्छ । जावलाखेलमा रहेको सदर चिडियाखानाले अवलोकनकर्ताका लागि घरमै बसेर टिकट काट्ने व्यवस्था गर्न लागेसँगै दर्शकका लागि लाइन बस्ने समस्या टर्ने भएको हो । अवलोकनकर्ताको ध्यानलाई मध्यनजर गर्दै चालू आर्थिक वर्षभित्रै यस किसिमको व्यवस्था गर्न लागेको सदर चिडियाखानाले जनाएको छ । पहिलोपटक गर्न लागिएको यस कामका लागि चिडियाखाना व्यवस्थापन पक्ष अहिले अभ्यासरत रहेको चिडियाखाना व्यवस्थापन प्रमुख डा. चिरञ्जीवीप्रसाद पोखरेलले  जानकारी  दिए । अनलाइनबाट टिकट काट्ने व्यवस्थासँगै अवलोकनकर्ताको समय बचत हुनुका साथै कर्मचारी अभावको समस्या पनि टर्ने डा. पोखरेलले बताए । टिकट काट्नका लागि भन्दै अहिले दैनिक पाँच कर्मचारी खटिएका छन् । तर आगामी दिनमा एक कर्मचारीले मात्रै अवलोकनकर्तालाई टिकट उपलब्ध गराउन सक्नेछन् । प्रवेशद्वारमै सूचना केन्द्र अवलोकनकर्तालाई ध्यानमा राखेर चिडियाखाना व्यवस्थापनले प्रवेशद्वारमै सूचना केन्द्र स्थापना गरी विद्युतीय सूचनापाटी राखेको छ । सूचनापाटीबाट चिडियाखानामा राखिएका जनावरका बारेमा जानकारी लिन सकिन्छ । दश महिना स्थापना गरिएको सूचना केन्द्रबाट अवलोकनकर्तालाई निकै सहज भएको छ । सूचनापाटीमार्फत कुनकुन जनावर राखिएको छ ?, त्यसको विषेषता के हो, कहाँ पाइन्छ ? पाउन कतिको सहज छ ? के खान्छ ? र कति वर्ष आयु छ ? जस्ता विषयमा जानकारी प्राप्त गर्न सकिने छ । त्यसैगरी टिकट लिएर प्रवेश गर्ने बेलामै अवलोकनकर्ताले हाल के कति जनावर रहेका छन् र कुनको सङ्ख्या कति छ जस्ता विषयको जानकारी सहज रूपमा लिन सक्नेछन् । यति मात्रै होइन, कुन जनावर कुन स्थानमा राखिएको छ भनी हेर्नका लागि सहज बनाइएको छ । हाल चिडयाखानासँग साथीको रूपमा सम्बन्ध स्थापित भएका २ सय विद्यालयका पाँच हजार विद्यार्थी सहभागी हुँदै आएका छन् । सूचना केन्द्रलाई यी विद्यार्थीका कारण निकै सहज भएको छ । मुख्य आकर्षण चिडियाखानामा १ सय१९ प्रजातिका एक हजार ९८ जीव/जनावर छन् । मुख्य आकर्षणका रूपमा बाघ, भालु चितुवा, रेडपाण्डाजस्ता जनावर छन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ । पछिल्लो सयय काठमाडौँ उपत्यकामा कम हुँदै गरेको खुलास्थान र जीव/जनावर हेर्ने चाहनाका कारण चिडियाखानामा आउने अवलोकनकर्तामा कुनै कमी आएको छैन । अवलोकनका लागि विदेशीका लागि रु ७ सय ५०, सार्क राष्ट्रका पाहुनाका लागि रु ५ सय, नेपालीलाई रु १ सय ५० र विद्यार्थी र ज्येष्ठ नागरिकका लागि रु ९० शुल्क निर्धारण गरिएको छ । वार्षिक ११ लाख दर्शक अवलोकन गर्न आउने यहाँ रु १५ करोडको आर्थिक कारोबार हुने गरेको छ । उद्धार केन्द्र अभाव सदर चिडियाखानामा विभिन्न जीवजन्तुलाई संरक्षण गर्न पहिलो चरणमा ल्याएर राखिने उद्धार केन्द्रको अभाव छ । जङ्गली जनावरले समयसमयमा मानवबस्तीमा आएर समस्या पार्ने गरेकाले तीनलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ । त्यसरी मानवबस्तीमा आएर दुःख दिने जनावरलाई पहिलो चरणमै चिडियाखानामा राखिएको अन्य जनावरसँग घुलमिल गराएर राख्न समस्या हुन्छ । तिनलाई लामो समय स्वास्थ्य परीक्षण गर्नका लागि विशेष निगरानीमा राख्नुपर्ने भए पनि चिडियाखानामा यस्तो स्थानको अभाव छ । “प्रत्येक वर्ष १०/१५ जीवजन्तु यहाँ संरक्षण गर्नुपर्छ, संरक्षण गरिएको जीवजन्तुलाई छ महिनादेखि एक वर्षसम्म अवलोकन गर्नका लागि राख्न सम्भव हुँदैन, पशु चिकित्सकको निगरानीमा संरक्षण गरी राख्नुपर्छ, तर स्थान अभाव छ”, प्रमुख व्यवस्थापक डा पोखरेलले भने । चिडियाखानाका सूचना अधिकारी लीना चालिसे उद्धार केन्द्र मात्र नभएर पछिल्लो समय जीवजन्तुकोसङ्ख्या बढिरहेकाले स्थान अभाव पनि भएको बताउँछन् । रासस

अर्घाखाँची सिमेन्टले थप्याे ‘धन वर्षा’ योजनाको समयावधी

काठमाडौं । अर्घाखाँची सिमेन्टले आफ्ना उपभोक्ताका लागि बिगत दुई महिनाअघिदेखि लागू गरिरहेको ‘धन वर्षा’ योजनाको समयावधी केहि समयका लागि थप गरेको छ । अर्घाखाँची सिमेन्टको ‘धन वर्षा’ योजनामा ग्राहकको उत्साहजनक सहभागीता रहेकोले यस स्युर सट नगद उपहार योजनालाई अतिरिक्त केही समयमा लागि निरन्तरता दिइएको कम्पनीले बिहीबार प्रेश विज्ञप्तिमार्फत जानकारी दिएको छ । “नव निर्माणमा धनको बहार, अर्घाखाँचीमा करोडाैं उपहार” नारा दिइएको यस योजना अर्घाखाँची सिमेन्टलले स्थापनाको पाँचाैं वर्षको उपलक्ष्यमा मंसिर ८ गतेदेखि माघ ८ सम्मका लागि ल्याएको थियो । कम्पनीले यस योजनाअन्तर्गत समयावधी बाहेक अन्य शर्तहरु परिवर्तन नभएको पनि जनाएको छ । यस योजनाअन्तर्गत ग्राहक तथा उपभोक्ताले अर्घाखाँचीको जुनसुकै (ओपिसी वा पिपिसी) १५ बोरा सिमेन्टको खरिदमा एक स्क्रयाच कुपन पाउनेछन् जसलाई स्क्रयाच गरी उपभोक्ताहरुले रु १ सय देखि रु ५ सय, रु १ हजार, रु १० हजार, रु २५ हजार, रु ५० हजार र रु १ लाखसम्मको सुयोर सट नगद उपहार पाउनेछन् । यसरी पाउने नगद उपहारमा नेपाल सरकारको नियमानुसार लाग्ने कर विजेताले नै तिनुपर्नेछ । देशैभरी लागु हुने यस योजनाअन्तर्गत भाग्यशाली विजेताले डिलर वा हार्डवयेरमार्फत सिमेन्ट खरिद गर्दाकै समयमा सुयोर सट नगद उपहार प्राप्त गर्नेछन् । ग्राहकसँगको सम्बन्धलाई थप सुदृढ गर्न यस योजनाको समयावधी थपिएको कम्पनीका सहायक महाप्रबन्धक रमेश थापाले बताएका छन् ।

११ वर्ष अगाडि प्लस टु पास गर्न नसकेकाले अन्तिम पटक परीक्षा दिन पाउने

काठमाडौं । ११ वर्ष अगाडि प्लस टुको परीक्षा पास गर्न नसकेकाले अन्तिम पटक परिक्षा दिन पाउने भएका छन् । २०६५ साल देखि २०७१ सम्मका प्लस टु पास गर्न नसकेकाहरुलाइ अन्तिम पटक परीक्षा दिन पाउने भएका हुन् । राष्ट्रिय परीक्षा बोर्डकाे मंगलबार बसेका बैठकले रजिस्ट्रेसन नम्बरको सुरुको दुई अंक ६५ देखि ७१ भएका परिक्षर्थिहरुलाई अन्तिम पटक परिक्षा दिन पाउने निर्णय गरेको हो । विभिन्न कारण धेरै मानिसहरुले  परीक्षा दिन नपाएर अड्किरहेकाले बार्डले अन्तिम पटक परीक्षादिन पाउने निर्णय गरेको परिक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए । परीक्षा दिन चाहने परिक्षार्थीहरुले आफुले पढेको विद्यालयमा संम्पर्क गरि फारम भर्नु पर्न हुन्छ । फारमको शुल्क ११ र १२ दुबैको लागि ६/६ सय तोकिएको शर्माले बताए ।

अब सुत्केरी हुने अवस्थामा पुरुषको उपस्थिति अनिवार्य हुनुपर्ने

काठमाडाैं । शिशु कसरी जन्माउने रु प्राकृतिक (नर्मल) अथवा शल्यक्रिया (अप्रेशन)मार्फत । यी विधि गर्भवतीको रोजाइले भन्दा श्रीमान्, घरपरिवार र स्वास्थ्यकर्मीको निर्णयले नेपालमा प्राथमिकता पाइरहेको छ । स्वास्थ्य संस्था अथवा घरमा सुत्केरी व्यथाले छट्पटाइरहेकी श्रीमतीको दुःखको साक्षी प्रायः श्रीमान् हुँदैनन् । उनीको साथमा आमा, सासु, दिदीबहिनी अन्य महिला नै हुने गर्दछन् । सुत्केरी हुने अवस्थामा श्रीमान् अनिवार्य हुनुपर्ने प्रावधान विकसित देशमा रहेको बताइन्छ । कतिपय देशमा श्रीमानकाे अनुमतिविना चिकित्सकले गर्भवती जाँचसमेत गर्दैनन् । श्रीमानलाई साथमा राखेर सेवा दिन्छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित जुम्ला अस्पतालले गर्भवतीले आफूले चाहेको विधिमा सुत्केरी हुन पाउने र विशेषगरी सुत्केरी हुन लागेको अवस्थामा श्रीमान् अथवा घरपरिवार अनिवार्य साथमा रहनुपर्ने अभ्यासलाई प्रयोगमा ल्याउने तयारी थाल्दै छ । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालले ती अभ्यासलाई पहिलोपटक व्यवहारमा ल्याएको थियो । प्रसूति तथा स्त्रीरोगसम्बन्धी केन्द्रीय अस्पताल परोपकार प्रसूतिगृह थापाथलीले सो अभ्यासलाई हालसम्म व्यवहारमा ल्याउन सकेको छैन । सुत्केरी हुन लागेको अवस्थामा रहेकी महिलाका साथमा स्वास्थ्यकर्मी मात्र रहन्छन । पुरुषलाई निषेध छ । परिवारका आफन्तले सुत्केरीलाई मुस्किलले भेट्न पाउँछन् । प्रतिष्ठानका नर्सिङ डीन सरस्वती गौतमले प्राकृतिक रूपमा सहज सुत्केरी गराउन जुम्ला अस्पतालले छुट्टै बर्थिङ सेन्टर (सुत्केरी केन्द्र) स्थापना गर्न लागेको जानकारी दिए । ‘चिकित्सकले जटिल भनेर सिफारिश गरेका बाहेक’ अन्य गर्भवतीलाई प्राकृतिक रूपमा सुत्केरी गराउन मिडवाइफले सेवा दिने उनले जानकारी दिएका छन्। अस्पतालमा पछिल्लो समय शल्यक्रियामार्फत सुत्केरी गराउन निरुत्साहित हुँदै आएको छ । “नर्मल विधिबाट डेलिभरी हुन पाउनु महिलाको अधिकार हो, शल्यक्रिया त जटिल अवस्थामा दोस्रो विकल्प हो । पहिलो विकल्प हुँदाहुँदै दोस्रोको प्रयोगलाई न्यूनीकरण गर्ने हाम्रो ध्येय हो”, उनले भनिन्, “सुत्केरी हुने अवस्थामा श्रीमान् अथवा घरपरिवार नजिक हुँदा आत्मबल उच्च हुन्छ । शिशु निकाल्न शक्ति उत्पन्न हुन्छ । यसैले सुत्केरी हुँदा नजिक परिवारको अनिवार्य खोजी गरिएको हो ।” सुत्केरी गराउन, आमा र नवजात शिशुको स्याहार तथा परिवार नियोजनका सेवा प्रदान गर्न मिडवाइफलाई उत्कृष्ट मानिन्छ । पछिल्लो समय प्राकृतिकभन्दा शल्यक्रियामार्फत सुत्केरी गराउने सङ्ख्यामा वृद्धि भइराखेको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नवजात शिशु, शिशु, पाँच वर्षमुनिका बालमृत्युदर तथा मातृमृत्युदर घटाउन मिडवाइफ जनशक्ति उत्पादनलाई उच्च प्राथमिकतामा राखेको छ । हाल चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)बाट पहिलो समूहमा नौ मिडवाइफ जनशक्ति उत्पादन भएका छन् । काठमाडौँ विश्वविद्यालयले सो विषयमा अध्यापन शुरुआत गराएको छ । यहाँस्थित संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए) ले ती दुई निकायलाई प्राविधिक सहयोग गरेको जनाइएको छ । अगामी वर्षदेखि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ती विषयमा अध्यापन गराउने तयारी गर्दैछन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जुम्ला अस्पताल, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई आवश्यक पर्ने मिडवाइफ जनशक्ति उत्पादन गर्न गत वर्षदेखि मिडवाइफमा तीनवर्षे स्नातक कार्यक्रम सञ्चालन ल्याएको थियो । हाल गत वर्षका छ र यस वर्षका १० जनाले सो विषय अध्ययन गरिराखेका छन् । “ज्ञान, सीप र व्यवहार तीनै पक्षबाट विद्यार्थीलाई उत्कृष्ट बनाउन प्रतिष्ठानले उच्च ध्यान दिएको छ । हाम्रा जनशक्ति विश्वबजारमा प्रतिष्पर्धा गर्न सक्ने हुन्छन् । पाठ्यक्रम स्थानीय होइन, अन्तरराष्ट्रियस्तरको हो”, प्रतिष्ठानकी नर्सिङ डीन भट्टराईले भने । सो विषयमा स्नातक तह अध्ययन गरिराखेका विद्यार्थीको ज्ञान, सीप र व्यवहार मापन गर्न प्रतिष्ठानले ‘दक्षता मापन विधि’ को मस्यौदा तयार पारेको छ । बुधबार सम्पन्न तीनदिने विशेषज्ञ बैठकले नेपाल नर्सिङ काउन्सिलले कार्यान्वयनमा ल्याएको मिडवाइफ पाठ्यक्रम निर्देशिका र मिडवाइफको अन्तरराष्ट्रिय महासङ्घले निर्धारण गरेका ३ सय १८ बुँदाका आधारमा विधि तयार पारेको प्रतिष्ठानका नर्सिङ प्रमुख निर्मलाकुमारी पहाडीले जानकारी दिएकी छन् । अब सैद्धान्तिक ज्ञानबाट प्राप्त अङ्क र मापन विधिका आधारमा विद्यार्थीको मूल्याङ्कन हुने छ । नर्सिङभन्दा मिडवाइफ्रि केयर उत्कृष्ट बिरामीसँगको भेटमा शिर निहुर्याएर नमस्कार गर्नुपर्ने, हँसिलो अनुहारमा मुस्कुराउँदै प्रस्तुत हुनुपर्ने, आफ्नो परिचय दिनुपर्ने, शिष्ट र मर्यादित भाषामा बोल्नुपर्ने, बिरामीको गोपनियतालाई विशेष ध्यान दिनुपर्ने, सुत्केरी गराउँदाका चिकित्सकीय हरेक चरणलाई अनुशरण गर्नुपर्नेलगायतका ज्ञान, सीप र व्यवहारलाई समावेश गर्ने बुँदा मापनमा समावेश गरिएका छन् । जुम्ला अस्पतालमा गत वर्ष करीब ७ सय सुत्केरी भएका थिए । तीमध्ये न्यून मात्रमा शल्यक्रिया भएको प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले जानकारी दिए । एक जना आमा तथा जवजात शिशुले अकालमा मृत्युवरण गर्नुपरेको थिएन । मिडवाइफ अध्ययनत एक विद्यार्थीले कम्तीमा एक सयभन्दा बढी गर्भवतीको जाँच, ५० को प्राकृतिक (नर्मल) सुत्केरी, सुत्केरी गराउँदा सकेसम्म चिकित्सकीय उपकरण प्रयोग गर्न नहुने, दशको जटिल शल्यक्रिया, कम्तीमा ५० गर्भवतीको पाठेघरको मुखको जाँच अनिवार्य गर्नुपर्ने प्रावधानलाई प्रतिष्ठानले लागू गरेको छ । नर्सिङ काउन्सिलको मिडवाइफ पाठ्यक्रमको निर्देशिकामा सोही प्रावधान रहेको अध्यक्ष गोमा निरौलाले जानकारी दिए । आमा र बच्चाको सुरक्षा गर्न मिडवाइफ जनशक्ति अति आवश्यक मानिन्छ । उनले भने, “गर्भवती आमा, सुत्केरी गराउन तथा नवजात शिशुका लागि नर्सिङ केयरभन्दा मिडवाइफ केयर महत्वपूर्ण हुन्छन् । मिडवाइफले सकेसम्म नर्मल डेलिभरीमा जोड दिन्छन् । परिवार योजनामा दक्षता बढी हुन्छ ।” पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान नर्सिङ विभागका प्रमुख सरला केसी नवजात शिशु मृत्यु, बालमृत्यु तथा मातृमृत्युदर घटाउने विभिन्न विधिमध्ये दक्ष सुत्केरी सेवा रहेको र मिडवाइफले प्रदान गर्ने सेवा विशिष्टकृत हुने बताएकी छन् । उनले भनिन्, “जुम्लामा स्नातक तहको मिडवाइफ अध्ययनले प्रजनन स्वास्थ्यमा सुधार ल्याउने छ । प्रतिष्ठानले तयार गरेको मापदण्डलाई पाटनले अगामी दिनमा अनुशरण गर्ने छ ।” प्राकृतिक रूपमा हुने सुत्केरीले आमा र नवजात शिशुको स्वास्थ्यलाई फाइदा हुन्छ । दक्ष स्वास्थ्यकर्मीको अभावमा कर्णालीका आमाले अकालमा मृत्युवरण गर्न नपरोस् भनेर जनशक्ति उत्पादन गर्न प्रतिष्ठानले मिडवाइफको अध्यययन अध्यापन शुरुआत गरेको प्रतिष्ठानका उपकुलपति प्रा. डा. राजेन्द्रराज बाग्ले बताउँछन्। उनले भने, “एमबीबीएस र एमडीजिपी तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्न प्रतिष्ठानले शैक्षिक जनशक्ति, पूर्वाधार र उपकरणका तयारी पूरा गरेको छ । सरकारको अनुमतिको पर्खाइमा छौँ ।” कर्णाली प्रदेशका १० जिल्लामा गत वर्ष १७ लाख ४३ हजार जनसङ्ख्या पुगेको सामाजिक विकास मन्त्रालयले प्रक्षेपण गरेको थियो । रासस

महालक्ष्मी विकास बैंकका ग्राहकलाई चिरायु नेसनल हस्पिटलमा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल ईन्स्टिच्युटसँग सम्झौता गरेको छ । बुधबार भएको उक्त सम्झौतापत्रमा बैंकका बजार व्यवस्थापन प्रमुख प्रकाश घिमिरे र अस्पतालका सञ्चालन निर्देशक चण्डेश्वर एनआर वैद्यले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत बैंकका संस्थापक/सेयरधनीहरुले चिरायु नेसनल हस्पिटलमा उपचार गराउँदा सेवा शुल्कमा छुट पाउनेछन् ।साथै, बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, संस्थापक/सेयरधनीहरु, कर्मचारी साथै कर्मचारीका परिवारले बेड चार्जमा अधिकतम २०%, उपचार प्रक्रियामा अधिकतम १५%, रोगको निदानमा अधिकतम १२% तथा औषधिमा ५% आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । देशका १ सय २ वटा शाखाहरुबाट बैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आगामी दिनहरुमा उक्त अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।

बीमा दाबी भुक्तानीः जीवनमा २२ दिन र निर्जीवनमा ५० दिनभित्रमा दिइसक्नुपर्ने

काठमाडौं । बीमा कम्पनीहरुले बिमितलाई गर्ने दाबी भुक्तानीको म्याद तोकिएको छ । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले दाबी भुक्तानी मार्गदर्शन २०७६ जारी गर्दै म्याद तोकेको हो । समितिले बनाएको मार्गदर्शनमा जीवन बीमा कम्पनीहरुले बीमा शुल्कको अन्तिम किस्ता तिरिसकेको मितिले १५ दिनभित्रमा दाबी भुक्तानी लिन चाहिने कागजात संलग्न गरी दाबी लिन आउन बिमितलाई सूचना जारी गर्नुपर्नेछ । यसरी सूचना जारी गरेपछि बिमितले आवश्यक कागजात पेश गरेको मितिले ७ दिनभित्रमा दाबी भुक्तानी दिनुपर्ने मार्गदर्शनमा उल्लेख छ । यसरी जीवन बीमाको दाबी बढीमा २२ दिनभित्रमा भुक्तानी गरिसक्ने व्यवस्था मिलाउनु पर्ने मार्गदर्शनमा उल्लेख छ । निर्जीवन बीमाको हकमा भने दाबी परेको बढीमा ५० दिनभित्रमा दाबी भुक्तानी गरिसक्नु पर्नेछ । निर्जीवन बीमामा बिमितबाट दाबी पर्ने वित्तिकै बीम कम्पनीहरुले आवश्यक देखेमा सर्भेयर खटाउन सक्नेछन् । यसरी खटाएको सर्भेयरले १५ दिनभित्रमा आवश्यक जाँचबुझ गरी कम्पनीको दायित्व निर्धारण गरी विस्तृत विवरणसहितको प्रतिवेदन बीमा कम्पनी समक्ष पेश गर्नुपर्ने हुन्छ । यसरी प्रतिवेदन प्राप्त भएको साधारणयता ३५ दिनभित्रमा दाबी भुक्तानी गरिसक्नु पर्ने मार्गदर्शनमा उल्लेख छ । दाबी भुक्तानी ढिला हुने गरेको र कम्पनीहरुले के कस्ता कागज र प्रमाणका आधारमा कसरी दाबी भुक्तानी गर्ने भन्ने स्पष्ट व्यवस्था नभएकोले समितिले यस्तो मार्गदर्शन जारी गरेको हो । दावी भुक्तानी प्रकृयालाई छिटो, छरितो तथा पारदर्शी बनाउने उद्देश्यले दाबी भुक्तानी मार्गदर्शन २०७६ जारी गरिएको समितिले जनाएको छ । बीमा क्षेत्रलाई थप पारदर्शी, जिम्मेवार र बिमितमैत्री बनाउन मार्गदर्शन जारी गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । ‘पछिल्लो समय बीमा समितिले बीमा क्षेत्रलाई अझ पारदर्शी बनाउन आवश्यक गृहकार्य गरिरहेको छ, अहिले जारी गरिएको मार्गदर्शनको कार्यान्वयनबाट दाबी भुक्तानी प्रक्रिया पारदर्शी, छिटो र बिमितमैत्री हुनुका साथै विमित र बिमकबीच हुने विवाद पनि कम हुनेछ,’ कार्यकारी निर्देशक पौडेलले विकासन्युजसँग भने । दाबी विभाग गठन गर्नुपर्ने मार्गदर्शनमा बीमाकम्पनीहरुले गठनात्मक संरचना अन्तर्गत एउटा दाबी विभागको गठन गर्नुपर्नेछ । उक्त दाबी विभागमा विभागीय प्रमुखसहित आवश्यक संख्यामा कर्मचारी नियुक्त गर्नु पर्ने व्यवस्था गरिएको छ भने दाबीको प्रकृतिअनुसार कागजपत्र संकलन गर्ने तथा आवश्यक प्रक्रिया अपनाउनु पर्ने व्यवस्था गरिएको छ । यस्तै, बीमा लेख बमोजिम बीमा दाबी गर्नुपर्ने भएमा बीमितले सम्पूर्ण विवरणहरु राखी अबिलम्ब सम्बन्धित बीमकलाई लिखित जानकारी दिनुपर्ने छ । बीमा कम्पनी दाबी दर्ता किताबमा दाबीका लागि प्राप्त भएका निवेदनहरुको अभिलेख राख्नुपर्ने छ । जीवन बीमा दाबी भुक्तानी जीवन बीमा गर्नेहरुले म्याद पूरा भएको बढीमा २२ दिनभित्रमा दाबी भुक्तानी पाइसक्ने व्यवस्था मार्गदर्शनमा गरिएको छ । कम्पनीहरुले बीमा शुल्कको अन्तिम किस्ता भुक्तान गरेको १५ दिनभित्र बिमितलाई दाबी भुक्तानी लिन आउने सूचना जारी गर्नुपर्नेछ । यो १५ दिनको म्यादभित्र बिमितले बीमा लेखसहित अन्य आवश्यक कागजात संलग्न गरी बीमा कम्पनीमा पेश गर्नुपर्नेछ । यसरी आवश्यक कागजातसहित दाबी परेको ७ दिनभित्रमा कम्पनीहरुले जीवन बीमाको दाबी भुक्तानी गरिसक्नुपर्ने मार्गदर्शनमा उल्लेख छ । यसो गर्दा म्याद पूरा भएको बढीमा २२ दिनभित्रमा विमितले दाबी भुक्तानी पाइसक्ने छन् । तर, जीवन बीमा लेखको अवधि समाप्त नभई बिमितको मृत्यु भएमा सबैभन्दा नजिकको हकवालले बीमा रकम पाउँन सक्नेछन् । बीमा रकम प्राप्त गर्न हकवालाले दाबी सम्बन्धी विवरण, बिमितको मृत्यु दर्ता प्रमाण पत्र, चिकित्सकले शव परीक्षण गरेको प्रतिवेदन जस्ता कागजात पेश गर्नु पर्नेछ । साथै, बिमितसँगको नाता तथा उमेरको प्रमाणपत्र र बीमा समितिले तोकेका अन्य विवरण बुझाउनु पर्छ । निर्जीवन बीमा दाबी भुक्तानी निर्जीवन बीमा दाबी भुक्तानीको लागि बढीमा ५० दिन लाग्नेछ । समितिले बनाएको मार्गदर्शनमा दाबी पर्ने वित्तिकै आवश्यक देखिएमा सर्भेयर खटाउने, सर्भेयरले बढीमा १५ दिनभित्रमा विस्तृत प्रतिवेदन बुझाइसक्नु पर्ने र सर्भेयरको प्रतिवेदन प्राप्त भएको ३५ दिनभित्रमा कम्पनीले दाबी भुक्तानी दिइसक्नु पर्ने मार्गदर्शनमा उल्लेख छ । निर्जीवन बीमाको दाबी भुक्तानीका लागि बिमितको निवेदन प्राप्त भएमा कम्पनीले तुरुन्त सर्भेयर खटाउन सक्नेछन् । उक्त सर्भेयर बीमा समितिबाट इजाजत प्राप्त गरेको हुनु पर्नेछ । बीमा कम्पनीले आवश्यक परेको खण्डमा समितिको स्विकृतिलिई विदेशी सर्भेयर नियुक्त गर्न पाउने छन् । सर्भेयरले १५ दिनभित्रमा विस्तृत प्रतिवेदन कम्पनीलाई दिनुपर्ने र सर्भेयरबाट विस्तृत विवरणसहितको प्रतिवेदन प्राप्त भएको साधारणतया ३५ दिनभित्रमा कम्पनीले दाबी भुक्तानी गरिसक्नु पर्ने मार्गदर्शनमा उल्लेख छ । बीमा समितिले दाबी भुक्तानी मार्ग दर्शनअनुसार जीवन बीमा कम्पनीले १० लाख रुपैयाँभन्दा माथिको समर्पण मूल्य वा ऋण भुक्तानी कारोबारको सम्बन्धमा सम्पत्ती शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको लागि विशेष ध्यान दिनु पर्नेछ ।