मन्दीको बेलामा टाटाकाे बजार हिस्सा बढ्यो, इकोस्पोर्ट र ब्रेजालाई नेक्सनको टक्कर
काठमाडौं । नेपाली बजारमा सवारी साधानको किनबेच निकै सुस्ताएको अवस्थामा कार तथा जीप सेगमेन्टमा टाटा मोटर्सका उत्पादनको बिक्री बढेको छ । गत वैशाखसम्ममा नेपाली बजारमा कार जीप सेगमेन्टमा टाटाको बजार हिस्सा १० प्रतिशत थियो । पुस मसान्तसम्ममा यो हिस्सा १३.८ प्रतिशत भएको नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले जनाएको छ । जतिबेला टाटाको हिस्सा १० प्रतिशत थियो त्यतिबेलासम्म उसका उत्पादनहरु सुमो, स्ट्रोम, एम्बुलेन्स, बोल्ट, जेस्ट, टिगोर, टियागो, नेक्शन र हेक्सा बिक्री हुने गरेकाे थियाे । यस अवधिमा टाटाले केही उत्पादनहरु बन्द गर्यो । नेपालमा पनि सुमो, स्ट्रोम, एम्बुलेन्स, बोल्ट र जेस्टको बिक्री बन्द भयो । जबकी एक वर्षअघिसम्म टाटाका कार जीपको कुल बजारको ६० प्रतिशत हिस्सा सुमो, स्ट्रोम र एम्बुलेन्सले लिएका थिए । हाल सिप्रदीले टाटाका जम्मा ४ वटा मोडेल मात्र बिक्री गर्दै आएको छ । त्यसमा टिगोर, टियागो, नेक्शन र एच५ रहेका छन् । पाँच प्रकारका उत्पादनहरु बन्द हुँदा पनि नेपाली अटो बजारमा टाटाकाे हिस्सा भने १० बाट बढेर १३.८ प्रतिशत पुगेको छ । भन्सारबाट नेपाल भित्र्याएका अन्य ब्राण्डका सवारी साधनको संख्यासँग सिप्रदीले बिक्री भईसकेको सवारी साधनको संख्यासँग तुलना गरिएको सिप्रदीले जनाएको छ । ‘भन्सारबाट भित्रिएका अन्य ब्राण्डका सवारी साधानको संख्यासँग टाटाको बिक्री भईसकेको संख्यासँग तुलना गरेका छौं । स्टकमा भएको सवारी हामीले यसमा जोडेका छैनौं’ सिप्रदीका एक कर्मचारीले नाम नखुलाउने सर्तमा बताए । यदि टाटाले पनि भन्सारबाट भित्रिएका आफ्ना सम्पूर्ण मोडेलहरुलाई आधार मानेको थियो भने उसको बजार हिस्सा अझ बढेको देखिने थियो । ‘सुमो, स्ट्रोम र एम्बुलेन्स बजारमा भइरहन्थे भने त झन् अहिले टाटाको बजार सेयर २० प्रतिशतको हाराहारीमा पुग्ने थियो’ उनले भने । कसरी बढ्यो टाटाको सेयर ? टाटाको बजार हिस्सा बढ्नु मुख्य कारणका रुपमा उसले परिवर्तन गरेका सेल्स टेक्निकहरुलाई लिएको छ । ‘हामीले रिसर्च एण्ड डेभलपमेन्ट तर्फ बढि मिहिनेत गरिरहेका छौं । उपभोक्ताको चाहाना र बिक्रीपछिको सेवालाई प्रभावकारी बनाउँदै लगेका छौं’ उनले भने । कमर्सियल गाडीतर्फ बजारमा लगभग एकछत्र राज गरेको सिप्रदीले प्यासेन्जर सेगमेन्टमा ठिक समयमा प्रवेश गरेकोले नतिजा राम्रो ल्याउन सकेको सिप्रदीको विश्लेषण छ । सिप्रदी नेपाल हरेक वर्ष बढी कर तिर्ने कम्पनीको रुपमा नेपाल सरकारबाट सम्मानित समेत हुदै आएको छ । प्रभावशाली ब्राण्ड ‘नेक्सन’ टाटाले नेक्सनलाई नेपाली बजारमा भित्र्याए पश्चात् नेक्सन हाल सीयूभी सेग्मेन्टमा ३० प्रतिशत बजार सेयर ओगट्दै हाइयेस्ट सेलिङ्ग प्रोडक्ट बन्न पुगेको कम्पनीकाे भनाइ छ। त्यसैगरी हाल सेडान सेग्मेन्ट तर्फ भने टिगोरले प्रथम स्थान ओगट्न सफल भएको सिप्रदीको जनाएको छ । नेपालकाे कार बजारमा सबैभन्दा ठूलो हिस्सा भनेको ह्याचब्याक सेग्मेन्टको हो जसमा प्रतिष्पर्धा गर्नका लागि टाटासित राम्रो प्रोडक्ट सुरुवातबाटै थिएन । सो सेग्मेन्टमा बृद्धि ल्याउनका लागि टाटाले उपलब्ध मोडेलको नयाँ भेरियन्टहरु लिएर आयो । यसले गर्दा टाटाको ह्याचब्याक तर्फको हिस्सा ६ प्रतिशतले बढ्दै हाल ८ प्रतिशतसम्म पुग्न सफल भएको छ । ६ प्रतिशत ह्याचब्याकमा बृद्धि हुनासाथ टाटाको कुल बजार हिस्सा बढेर १३.८ प्रतिशत हुन पुगेको हो । ब्रेजा र इकोस्पोटलाई चुनौति नेक्सनको बजार हिस्सा बढिरहँदा यसले मारुती सुजुकीको ब्रेजा र फोर्डको इकोस्पोर्टको बिक्रीमा ठूलो धक्का लाग्न पुगेको बताइएको छ । मारुती सुजुकीले नेक्सनसँग प्रतिष्पर्धा गर्नका लागि नै ब्रेजाको मूल्यमा ६ लाख रुपैयाँ घटाइसकेको छ । तैपति उपभोक्ताको रुची नेक्सनतर्फ बढी देखिन्छ । विगतमा बैंकिङ्ग क्षेत्रका कर्मचारीहरुको रोजाइमा रहेको इकोस्पोर्ट स्थान पनि टाटा लिन लागेको छ । ‘आज हरेक बैंकले एउटा न एउटा नेक्सन लिएका छन् । सुपरमार्केट वा विग कन्फेरेन्स एरियामा गएर हेर्नु भयो भने सीयूभी सेग्मेन्ट नेक्सन नै धेरै देख्न सक्नुुहुन्छ’ उनले भने । यसैगरी सेडान सेग्मेन्टमा मारुती सुजुकी डिजायरको बजार हिस्सा पनि टाटाको टिगोरले खाइदिएको, ह्याचब्याक तर्फको मारुती सुजुकी सेलेरियो र हुण्डाई आइ१० सँग टाटाको टियागोले कडा प्रतिष्पर्धा गरिरहेको पनि उनको दावी छ । युवा वर्गप्रति लक्षित आफ्नो विल्कुलै नयाँ उत्पादन अल्ट्रोज एसयूभीलाई टाटाले यहि माघ महिनाको अन्त्यतिर नेपाल भित्र्याउने तयारी गरेको छ । यस प्रिमियम एसयूभीको नेपाली बजार प्रवेष पश्चात् यसले मारुती सुजुकी बलेनो, होण्डा ज्याज, टोयोटा ग्लान्जा र हुण्डाई आई२० जस्ता मोडेलहरुसँग कडा प्रतिष्पर्धा गर्नेछ । गत नोभेम्वर महिनामा टाटाले एच५ लञ्च गर्यो जसले विस्तारै मार्केट लिँदै गइरहेको छ । यस्ता कारणले गर्दा कम्पनीको शेयर थप बढ्ने सिप्रदीको विश्वास छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकका ग्राहकलाई चिरायु अस्पतालमा विशेष छुट, के के सेवामा पाउँछन् छुट ?
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकका ग्राहकले चिरायु चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्युटमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंकका नायव महाप्रबन्धक विजेन्द्र सुवाल र अस्पतालका सञ्चालन निर्देशक चन्डेश्वर नन्दराज वैद्यले हस्ताक्षर गरेका हुन् । यससँगै बैंकका वैध कार्डबाहकहरू, कर्मचारी तथा सेयरधनीहरुले विभिन्न स्वास्थ्य सेवामा विशेष छुटको सुविधा पाउने छन् । अब बैंकका सबै कर्मचारीहरू, खाताधनीहरू र नेपाल इन्भेष्टमेन्ट बैंकका सेयरधनीहरूले चिरायु अस्पतालमा बेड शुल्क, अस्पतालभित्र गरिने परीक्षण, प्रक्रियागत शुल्क, शल्यक्रिया शुल्क र फार्मेसीमा छुट प्राप्त गर्नसक्ने छन् । चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्युट (सीएनएचएमआई) ले आधुनिक सुविधाहरूसहित उत्कृष्ट प्रकारका साधारण था विशेषज्ञ चिकिसकीय सेवाहरू उपलब्ध गराउँदै आएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल)ले हाल ८२ शाखा, १२४ एटीएम, १६ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५७ शाखारहीत बैंकिङ काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पुर्याउँदै आएको छ ।
सनराइज बैंकको ४६औं शाखारहित बैंकिङ्ग सेवा मोरङ्गको हरैचामा
काठमाडौं । सनराइज बैंक लिमिटेडले मोरङ्गको हरैचामा ४६ औं शाखारहित बैंकिङ्ग सेवाको शुरू गरेको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यका साथ उक्त स्थानमा बैंकिङ्ग सेवाको शुरूवात गरेको हो । बिहिबार आयोजित एक कार्यक्रममा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन सुन्दरहरैचा नगरपालिका-१ का अध्यक्ष विनोद बहादुर बस्नेत र बैंकको प्रादेशिक कार्यालय १ का प्रमुख विवेक निरौलाले संयुक्त रुपमा गरेका हुन् । कार्यक्रममा बैंकिङ्ग सेवाका प्रतिनिधि ममता कुमारी चौधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरिएको छ । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । शाखारहित बैंकिङ्ग सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । हालसम्म सनराइज बैंकले १३० वटा शाखा,४६ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १५२ वटा एटीएम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै, बैंकले आफ्ना सेवाहरू विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।
सिद्धार्थ बैंकले सम्पन्न गर्यो ६ दिने आँखा शल्यक्रिया शिविर, एक हजार बढीको आँखा परीक्षण
काठमाडौं । सिद्धार्थ बैंकले ६ दिने नि: शुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं जिल्लाको त्रिपुरेश्वरमा अवस्थित नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा उक्त शिविर सम्पन्न गरेको हो । बैंकले पुस २२ गतेदेखि २५ गतेसम्म श्रीनगर(सर्लाही) र पुस २७ गतेदेखि पुस २९ गतेसम्म मलंगवा (सर्लाही) मा संचालन गरेको थियो । उक्त शिविरमा कूल एक हजार २ सय ४१ जनाको आँखा परिक्षण गरिएको थियो । परिक्षण गरिएका मध्य एक सय ७८ जना मोतिया बिन्दु रोगीहरुको पहिचान गरि उनीहरुको आँखा शल्यक्रिया गरिएको बैंकले जनाएको छ । साथै, उक्त शल्यक्रियाका लागि बैंकले नेपाल आँखा अस्पताललाई ४ लाख ६७ हजार ५ सय रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको थियो । उक्त सहयोग रकम बैंकका संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाले एक विशेष कार्यक्रमकाबीच नेपाल आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत श्रीदमन बहादुर घलेलाई हस्तान्तरण गरेका हुन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, वातावरण तथा अन्य विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । साथै, आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउँदै जाने बैंकले जनाएको छ ।
भीमफेदी-कुलेखानी सुरुङमार्ग प्रदेश सरकारले बनाउने, साढे २ वर्षमा सञ्चालन हुने
काठमाडौं । बागमती प्रदेश सरकारले भीमफेदी-कुलेखानी सुरुङमार्ग बनाउने भएको छ । प्रदेश राजधानी हेटौडा र संघीय राजधानी काठमाडौं जोड्न सुरुङ मार्ग बनाउन लागिएको हो । अहिले भीमफेदीबाट कुलेखानी आइपुग्न करिब १६ किलोमिटर छ । सुरुङमार्ग बनिसकेपछि यसको दुरी बढीमा ४ किलोमिटर हुने बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तेजराज भट्टले जानकारी दिए । हेटौंडालाई काठमाडौंसगँ जोड्ने सडकखण्डमा भीमफेदी-कुलेखानी सुरुङमार्ग निर्माण गर्न बागमती प्रदेश सरकारले अग्रसरता देखाएको हो । प्रदेश सरकारले अहिले सो सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्दैछ । सुरुङमार्ग निर्माणका लागि यसै वर्ष नै ठेक्का लगाउने मन्त्रालयको तयारी छ । याे सुरुङमार्गको अनुमानित लागत १३ अर्ब रूपैयाँ रहेकाे मन्त्रालयकाे भनाइ छ । सचिव भट्टले भीमफेदी-कुलेखानी सुरुङमार्ग निर्माणका लागि अहिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीको काम सुरु भएको जानकारी दिए । आगामी चैतसम्ममा डीपीआर तयार गरेर ठेक्का प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ । ‘डीपीआर निर्माणको काम अन्तिम चरणमा छ, चैतसम्म डीपीआरको काम सकिन्छ, डीपीआर सकिनेबित्तिकै सुरुङमाग निर्माणका लागि ठेक्काको प्रक्रिया अगाडि बढाइन्छ,’ सचिव भट्टले भने । आगामी आर्थिक वर्षदेखि सुरुङमार्गको निर्माण कार्य शुरु हुने र अढाइ वर्षभित्रमा नै निर्माण कार्य सम्पन्न गरी सञ्चालन गर्ने लक्ष्य रहेको भट्टले जानकारी दिए । काठमाडौं-हेटौडा सुरुङमार्ग निर्माणको जिम्मा लिएको निजी क्षेत्रको नेपाल पूर्वाधार विकास कम्पनी (एनपीबीसीएल) ले लामो समयसम्म केही नगरी परियोजना मात्रै ओघटेपछि प्रदेश सरकारले सो स्थानमा सुरुङमार्ग बनाउन लागेको हो । एनपीबीसीएलले पनि भीमफेदी-कुलेखानी खण्डमा सुरुङ मार्ग नै बनाउने भनेको थियो । २०६९ सालमा सुरुङमार्गको शिलान्यास गरिएको थियो । अहिलेसम्म सो कम्पनीले सुरुङमार्ग निर्माणको आर्थिक स्रोतको नै जुटाउन सकेको छैन । २०६९ सालमा मन्त्रिपरिषदले एनपीबीसीएललाई सुरुङ मार्ग बनाउने अनुमति दिएको थियो । तीन तहकै सरकारको लगानी बागमती प्रदेश सरकारले अघि सारेको अवधारणा अनुसार सो सुरुङ मार्गमा तीन तहकै सरकारको लगानी हुनेछ । सुरुङ मार्ग बनाउन संघीय सरकार, बागमती प्रदेश सरकार र सो क्षेत्रका स्थानीय सरकारले पनि लगानी गर्ने सचिव भट्टले जानकारी दिए । सर्भे गर्ने टोली फिल्डमा प्रदेश सरकारले सुरुङ मार्ग बनाउनको लागि ड्रोन उडाएर स्थलगत अवलोकन गरिसकेको छ । यस्तो अवलोकनबाट बन क्षेत्र, सरकारी सर्वसाधारणको जमिन यकिन गरी अधिग्रहण गर्नुपर्ने जग्गा यकिन हुनेछ । यस्तै, सुरुङ मार्ग बनाउनको लागि सरकारले सर्भेयरलाई फिल्डमा खटाइसकेको सचिव भट्टले जानकारी दिए ।
महिन्द्रा एक्सयूभी ३००ले पायो फाइभ स्टार सुरक्षा रेटिङ, भारतीय गाडीमध्ये उत्कृष्ट
मुम्बई। २०.७ अर्ब अमेरिकी डलरको महिन्द्रा ग्रुपको एक हिस्सा महिन्द्रा एण्ड महिन्द्राले आफ्नो कम्प्याक्ट एसयूभी- एक्सयूभी ३०० ले ग्लोबल एनसीएपीद्वारा उच्चतम फाइभ स्टार सुरक्षा रेटिङ पाएको घोषणा गरेको छ । यो विश्वव्यापी सम्मानसहित एक्सयूभी ३०० ग्लोबल एनसीएपीद्वारा परीक्षण गरिएका सबै फाइभ स्टार रेटिङ प्राप्त भारतीय सवारी साधनहरूमध्ये सर्वाधिक अंक प्राप्त गर्ने पहिलो सवारी साधन बनेको छ । एक्सयूभी ३०० बालबालिकाहरूको सुरक्षामा पनि फोर स्टार रेटिङ पाउने पहिलो भारतीय सवारी साधन उल्लेखनीय बनेको छ। फाइभ स्टार रेडिङका लागि छेउबाट पर्ने धक्काको असर कम हुने प्रदर्शन पूर्वशर्तमध्ये एक हो र छेउबाट पर्ने धक्का (साइड इम्प्याक्ट) को असर कम हुने प्रदर्शनमा सबै फाइभ स्टार रेटिङ पाएका कारहरूमध्ये एक्सयूभी ३०० को प्रदर्शन सबैभन्दा उत्तम छ । यो उपलब्धीका बारेमा प्रतिक्रिया व्यक्त गर्दै महिन्द्रा एन्ड महिन्द्राको अटोमोटिभतर्फका प्रेसिडेन्ड राजन वाढेराले भने- “यो महिन्द्राका लागि गर्वका क्षण हो, फाइभ स्टार रेटिङले सुरक्षाप्रति हाम्रो निरन्तर प्रतिबद्धतालाई दोहोर्याउँछ । आजका जागरुक ग्राहकहरूले आफ्नो किनमेलको निर्णय लिने समयमा सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्ने गर्छन् र हामीले एक्सयूभी ३०० लाई भारतमा सबैभन्दा सुरक्षित सवारी साधनमध्ये एक बनाएका छौं । मलाई विश्वास छ, यो मान्यताले हामीलाई साथसाथै भारतीय अटोमोटिभ उद्योगलाई पनि भारतीय सडकमा गुड्ने सबै किसिमका सवारी साधनहरूमा समान किसिमका सुरक्षाका मापदण्डमा अगाडि बढ्नका लागि प्रेरित गर्नेछ ।” महिन्द्रा एक्सयूभी ३०० मा ७ वटा एयरब्याग, सबै चार वटै पाङ्ग्रामा डिस्क बे्रक, फ्रन्ट पार्किङ सेन्सर र हिटेड ओआरभीएमहरुसहितका ‘फर्ष्ट-इन-सेगमेन्ट’का थुप्रै विशेषताहरुले यसलाई अतुलनीय बनाएको छ । आज एक्सयूभी ३०० ले उपभोक्ता कार सुरक्षा परीक्षण निकायहरूको छाता निकाय ग्लोबल एनसीएपीद्वारा फाइभ स्टार रेटिङको सम्मान प्राप्त गरेर भारतमा सवारी साधन सुरक्षाको नयाँ मानक कीर्तिमान स्थापना गरेको छ । हालै जर्मनीमा महिन्द्रा एक्सयूभी ३०० को औपचारिक ग्लोबल एनसीएपी परीक्षण गरिएको हो । ग्लोबल एनसीएपीद्वारा उच्चतम फाइभ स्टार सुरक्षा रेटिङ एक्सयूभी ३०० नेपालभरि रहेका अग्नि इन्कर्पाोरेटेडका डिलर सञ्जालमा उपलब्ध छन् ।
इलेक्ट्रिक सेग्मेन्टमा टिभिएसको प्रवेश, फुल चार्जमा १०० किलोमिटर माइलेज दिने स्कुटर ल्याउँदै
काठमाडाैं । टिभिएसले टिजर मार्फत् आफ्नो आउँदै गरेको इलेक्ट्रिक स्कुटरको एक झलक देखाएको छ । कम्पनीले सो टिजरलाई आफ्नो आधिकारीक सामाजिक सञ्जाल पेजमा रिलिज गरेको हो । उक्त स्कुटर आउँदो जनवरी २५ का दिन भारतमा आधिकारीक रुपमा सार्वजनिक हुँदैछ । टिजरमा देखिएअनुसार यो स्कुटर फेमिली-ओरियन्टेड डिजाइनमा आधारित छ । अर्थात् यसमा ठूला बढी प्यानल्स र ठुलो फ्रन्ट एप्रोन समावेश हुनेछन् । आधुनिक समय अनुसारका फुल-डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, ब्लुटुथ कनेक्टिभिटी, फुल एलईडी लाइटिङ्ग लगायतका विशेषताहरु पनि यसमा समावेश हुनेछन् । यस इलेक्ट्रिक स्कुटरको पर्फमेन्स अन्य ११० सीसी स्कुटरहरु जस्तै हुने अनुमान गरिएको छ । यो स्कुटर टिभिएस क्रेओन कन्सेप्टमा आधारित हुने अनुमान गरिएको छ । क्रेओन कन्सेप्टलाई टिभिएसले सन् २०१८ को अटो एक्स्पोमा प्रदर्शनको लागि राखेको थियो । यस स्कुटरमा ८० देखि १०० किलोमिटरको रेञ्ज प्रदान गर्नसक्ने ४ किलोवाटआवरको लिथियम-आयन ब्याट्री समावेश गरिने आँकलन गरिएको छ । त्यसैगरी, यसमा अगाडितर्फ टेलिस्कपिक फर्क र फ्रन्ट डिस्क ब्रेक पनि समावेश हुनेछ । बजारमा आए पश्चात् सो स्कुटरले बजाजको इलेक्ट्रिक स्कुटर ‘चेतक’ सँग कडा प्रतिष्पर्धा गर्नेछ ।
ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्यायो थप दुई शाखा
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले थप दुई शाखा कार्यालय सञ्चालमा ल्याएको छ । बैंकले माघ ९ गते बिहीबारबाट काठमाडौंको बालुवापाटी र कापिलवस्तुको गुरुद्वारा रोडमा नयाँ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको हो । दुई नयाँ शाखाहरु सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६९ पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकले २६९ वटा शाखा, ३७ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४८शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना १८ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।