रास्वपा महाधिवेशन: केन्द्रीय समिति चयनका लागि मतदान सुरु, भोलि बिहान १० बजेसम्म समय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि मतदानको समयतालिका सार्वजनिक गरेको छ । आयोगका प्रमुख भुवन केसीद्वारा जारी सूचनाअनुसार निर्वाचनका लागि मतदान प्रक्रिया बुधबार (आज) असार १० गते राति १०ः३० बजेदेखि सुरु भइसकेको छ । यो मतदान प्रक्रिया भोलि (२०८३ असार ११ गते) बिहान १०ः०० बजेसम्म जारी रहनेछ । केन्द्रीय निर्वाचन आयोगले तोकिएको समयभित्र व्यवस्थित, पारदर्शी र निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउनका लागि आवश्यक सम्पूर्ण तयारीहरू पूरा भइसकेको जनाएको छ । आयोगले महाधिवेशनमा सहभागी सम्पूर्ण सम्बन्धित प्रतिनिधिहरूलाई तोकिएको समयसीमाभित्र आफ्नो मताधिकार प्रयोग गर्न हार्दिक अनुरोध समेत गरेको छ । मतदान स्थल, डिजिटल मतपत्र र निर्वाचनका अन्य प्राविधिक प्रक्रियाका बारेमा प्रतिनिधिहरूलाई छुट्टै माध्यमबाट जानकारी गराइने सूचनामा उल्लेख छ ।
ट्रम्पको दाबी: इरानले हर्मुज मार्गमा जहाजहरूसँग कुनै शुल्क लिन्नँ भनेको छ
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले हर्मुज स्ट्रेट (जलमार्ग) प्रयोग गर्ने जहाजहरूलाई कुनै शुल्क नलिइने बताएको दाबी गरेका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘इरानले अमेरिकालाई सञ्चारमाध्यममा आएका खबरविपरीत हर्मुज स्ट्रेट भएर यात्रा गर्ने जहाजहरूलाई कुनै टोल, बिमा शुल्क वा अन्य शुल्क नलिने जानकारी गराएको छ । ’ साथै उनले अगाडि लेखेका छन्, ‘यदि यो जानकारी गलत साबित भयो भने वार्ता तुरुन्तै अन्त्य गरिनेछ ।’ उल्लेखनीय छ- इरान र अमेरिकाबिच हस्ताक्षर भएको सम्झौताअन्तर्गत ६० दिनसम्म हर्मुज मार्गमा कुनै शुल्क नलिइने उल्लेख छ। यद्यपि इरानले यस अवधिपछि ओमानसँगको सम्झौताका आधारमा यसले नेभिगेसन सेवा, सुरक्षा र वातावरणीय संरक्षणका लागि जहाजहरूसँग शुल्क लिइने बताएको छ ।
ललितपुर महानगरले ल्यायो ७ अर्ब ४८ करोडको बजेट
काठमाडौं । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरले उपप्रमुख मञ्जली शाक्य बज्राचार्यको अध्यक्षतामा बुधबार (आज) बसेको नवौं नगरसभाको तेस्रो बैठकले चालु खर्चतर्फ तीन अर्ब २५ करोड १८ लाख ५१ हजार रुपैयाँ र पुँजीगततर्फ चार अर्ब २३ करोड ६९ लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको हो । उपप्रमुख शाक्यले प्रस्तुत गरेको बजेटमा संस्थागत सुदृढीकरण र सुशासन, दिगो पूर्वाधार तथा सहरी विकास, कला, संस्कृति, सम्पदा संरक्षण र सम्वद्र्धन, सुलभ आधारभूत स्वास्थ्य सेवा तथा नगरवासीको जीवन रक्षा, रोजगारमूलक एवं स्तरीय आधारभूत शिक्षालाई प्राथमिकता दिइएको छ । यसैगरी बजेटमा लैङ्गिक समानता, महिला सशक्तीकरण तथा सामाजिक समावेशीकरण, वातावरण संरक्षण, स्थानीय सहकारी तथा उद्यम व्यवसायको प्रवद्र्धन र विकास, सम्पदा तथा सांस्कृतिक एवं धार्मिक पर्यटनको प्रवद्र्धन, अपाङ्गतामैत्री व्यवहार र व्यवस्था, युवा तथा खेलकुद, बालमैत्री व्यवहार र व्यवस्था, विपद् जोखिम न्यूनीकरण र उद्धार, उद्यमशीलता विकासमार्फत रोजगार प्रवद्र्धन तथा गरिबी न्यूनीकरण, निजी क्षेत्र, गैरसरकारी संस्था र नागरिक समाजसँग सहकार्य, प्रविधियुक्त एवं नागरिक मैत्री र जवाफदेही सेवा प्रवाह तथा प्रत्येक घरमा स्वच्छ खानेपानीलाई प्राथमिकता दिइएको छ । प्रस्तुत वार्षिक बजेटका लागि महानगरले स्रोत व्यवस्थापनतर्फ सङ्घीय सरकारबाट एक अर्ब ३६ करोड ५३ लाख ९० हजार रुपैयाँ र बागमती प्रदेश सरकारबाट १७ करोड ६३ लाख ९० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै आन्तरिक आयबाट तीन अर्ब ३५ करोड ५० लाख रुपैयाँ सङ्कलन हुने अनुमान बजेटमा उल्लेख छ । त्यस्तै अन्तर सरकारी अख्तियारीबाट एक अर्ब ६ करोड २० लाख प्राप्त हुने अपेक्षा गरिएको छ । एक अर्ब ४७ करोड रुपैयाँ नगद मौज्दातबाट बेहोरिने उपप्रमुख शाक्यले जानकारी दिइन् । महानगरले गत वर्ष सात अर्ब ४७ करोड ४१ लाख ४७ हजारको वार्षिक बजेट प्रस्तुत गरेकामा २०८३ को जेठ मसान्तसम्म रतीन अर्ब ४३ करोड ७६ लाख ९१ हजार रुपैयाँ अर्थात् ५१.२ प्रतिशत बजेट खर्च भएको उपप्रमुख शाक्यले जानकारी दिइन् । यसअघि यही असार ५ गते भएको नगरसभाको पहिलो बैठकमा महानगरप्रमुख चिरीबाबु महर्जनले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । सोही नीति तथा कार्यक्रमको आधारमा आज बजेट प्रस्तुत गरिएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।
रास्वपामा मन्त्रीहरू नै प्रतिस्पर्धामा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि वर्तमान मन्त्रिपरिषद्का नौ जना सदस्यहरूले उम्मेदवारी दिएका छन् । प्रारम्भिक सूचीअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गण्डकी प्रदेश खुलातर्फबाट उम्मेदवारी दिएका हुन् । परराष्ट्रमन्त्री शिशिर खनालले खुलातर्फ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती प्रदेश खुलातर्फ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बागमती प्रदेशतर्फबाट उम्मेदवारी दिएका छन् । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले कर्णाली भूगोलतर्फ, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले कोशी भूगोलतर्फ, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खुला केन्द्रीय सदस्यतर्फ तथा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले सुदूरपश्चिम खुलातर्फ केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका छन् । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले खुला मधेशी समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । प्रथम महाधिवेशनमार्फत रास्वपाले नयाँ नेतृत्व चयन गर्न केन्द्रीय समितिका विभिन्न पद तथा सदस्यका लागि निर्वाचन प्रक्रिया अघि बढाएको जनाएको छ । प्रारम्भिक सूचीअनुसार केन्द्रीय समितिमा विभिन्न क्लस्टरबाट ३८४ जनाले उम्मेदवारी दिएका छन् ।
वीरगञ्ज महानगरले ल्यायो ४ अर्ब ४२ करोडभन्दा बढीको बजेट
काठमाडौं । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि चार अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बुधबार (आज) आयोजित नगरसभाको २०औं अधिवेशनमा महानगरका कार्यवाहक प्रमुख इम्तियाज आलम तर्फबाट नगर कार्यपालिका सदस्य जगत साहले चार अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरे । प्रस्तुत बजेटअनुसार पुँजीगत खर्चतर्फ एक अर्ब ९६ करोड ९९ लाख ८४ हजार रुपैयाँ अर्थात् ४४.६ प्रतिशत तथा वित्तीय व्यवस्थापनतर्फ पाँच करोड अर्थात् १.१ प्रतिशत बजेट छुट्याइएको छ । त्यसैगरी चालु खर्चतर्फ दुई अर्ब ४० करोड ३४ लाख ६९ हजार रुपैयाँ अर्थात् कूल बजेटको ५४.३ प्रतिशत विनियोजन गरिएको छ । सङ्घीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ९८ करोड २९ लाख रुपैयाँ, आन्तरिक राजस्वबाट एक अर्ब ४८ करोड, सङ्घीय राजस्व बाँडफाँटबाट २४ करोड ६८ लाख ८३ हजार रूपैयाँ छ । प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड २८ हजार रुपैयाँ तथा प्रदेश राजस्व बाँडफाँटबाट एक करोड ६७ लाख १४ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यसअघि नगरसभामा कार्यवाहक प्रमुख आलमले आगामी आर्थिक वर्षका लागि महानगरको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसैगरी घरजग्गा रजिष्ट्रेसन शुल्कबाट ४५ करोड रुपैयँ, गत वर्षको नगद मौज्दातबाट चार करोड ६९ लाख ४४ हजार रुपैयाँ तथा नगर विकास कोषबाट १५ करोड रूपैयाँ व्यवस्थापन गरिने बजेटमा उल्लेख गरिएको छ । आलमकै अध्यक्षतामा सम्पन्न नगरसभाको २०औं अधिवेशनमा प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहरा, नगर कार्यपालिका सदस्य, महानगरका ३२ वटै वडाका वडाध्यक्ष तथा वडा सदस्य, कर्मचारीलगायतको सहभागिता रहेको थियो । आज प्रस्तुत वीरगञ्ज महानगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमममा पूर्वाधार विकास, वन तथा वातावरण, विपद् व्यवस्थापन, आर्थिक विकास, सामाजिक विकास र सुशासनमा जोड दिइएको छ ।
रास्वापाको महाधिवेशन निर्वाचन तालिका संशोधन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका संशोधन गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले बुधबार (आज) संशोधित तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार महाधिवेशनका प्रतिनिधिको अन्तिम नामावली साँझ ५ः०० बजे पार्टीको वेबसाइट, ह्वाट्स्याप ग्रुप र महाधिवेशनस्थलमा सार्वजनिक गरिएको छ । आयोगका प्रमुख भुवन केसीका उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन आज दिउँसो ३ः३० बजे गरिएको छ । साँझ ५ः०० बजेसम्मका लागि उम्मेदवारविरुद्ध दाबीविरोध गर्ने समय तोकिएको छ । साँझ ५ः३० बजेसम्म दाबीविरोध परेका उम्मेदवारबारे परेको जाँच बुझको समय रहेको छ । साँझ ६ः०० बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय रहेको छ । उम्मेदवारको अन्तिम नामावली बेलुका ६ः३० बजेसम्म राखिएको छ । बेलुका ६ः४५ बजेदेखि मौनअवधि छ भने पहिलो चरणको मतदान बेलुका ८ः३० बजे सुरु गर्ने गरी तालिका संशोधन गरिएको आयोगले जनाएको छ । पहिलो चरणमा सार्वजनिक गरिएको उम्मेदवारको सङ्ख्या ३८४ रहेको छ । जसबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुने छन् ।
चन्द्रागिरीबाट नक्कली डाक्टर पक्राउ
काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा डाक्टरको नक्कली उपाधि खडा गरी गैरकानूनी रूपमा बिरामीको उपचारमा संलग्न एक व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं साविक मातातीर्थ गाविस वडा नंम्बर ७ ठेगाना भएका ४७ वर्षीय चेतना ए.एम. (पौडेल) रहेकी छन् । नेपाल मेडिकल काउन्सिल (एनएमसी) बाँसबारीको नियमित अनुगमनका क्रममा चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ मा सञ्चालित स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्टमा पाैडेलले कानुनविपरीत चिकित्सा अभ्यास गरिरहेको फेला पारेको थियो । पौडेलले आफूले प्राप्त नगरेको चिकित्सकको उपाधि (डाक्टर) प्रयोग गर्नुका साथै नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (एनएमसी नम्बर) बिना नै आधुनिक चिकित्सा निदान र उपचार गरिरहेको पाइएको हो । अनुगमनका क्रममा उनले बिरामीलाई विभिन्न औषधिहरू सिफारिस गरेको प्रेस्क्रिप्सनसहित फेला पारिएपछि मेडिकल काउन्सिलले ब्यूरोमा छानविन प्रतिवेदनसहित उजुरी दर्ता गरेको थियो । उजुरी प्राप्त भएलगत्तै प्रारम्भिक अनुसन्धान गरी ब्यूरोको टोलीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । प्रहरी टोलीले पौडेललाई असार ९ गते चन्द्रागिरीबाट नियन्त्रणमा लिएको हो । केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराका अनुसार पक्राउ परेका पौडेलमाथि मुलुकी अपराध संहिता, २०७४ को ‘इलाज सम्बन्धी कसूर’ अन्तर्गत अदालतबाट म्याद थप अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।
महिलाको अश्लील तस्बिर तथा भिडियो पोस्ट गर्ने तिमिल्सिना पक्राउ
महिलाको अश्लील तस्बिर तथा भिडियो पोस्ट गर्ने तिमिल्सिना पक्राउ काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थायी ठेगाना भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ त्रिभुवन पार्क बस्ने १९ वर्षीय विज्ञान शर्मा तिमल्सिना रहेका छन् । ब्यूरोका अनुसार पीडित महिलाको अश्लील तस्बिर तथा भिडियो दुरुपयोग गरी सामाजिक सञ्जाल डिस्कोर्ड र टेलिग्राममा समेतमा पोस्ट गरिएको थियो । आफ्नो चरित्र हत्या हुने गरी सामग्रीहरू पोस्ट भएपछि पीडित महिलाले कसुरमा संलग्न व्यक्तिलाई पक्राउ गरी कानुन बमोजिम कारबाहीका लागि साइबर ब्यूरोमा निवेदन दिएकी थिइन् । पीडितको निवेदनका आधारमा साइबर ब्यूरोबाट खटिएको टोलीले प्राविधिक अनुसन्धान तथा विश्लेषण गरेको थियो । सोही अनुसन्धानका आधारमा तिमल्सिनाको संलग्नता पुष्टि भएपछि ब्यूरोको टोलीले उनलाई असार १० गते पक्राउ गरेको हो। पक्राउ परेका तिमल्सिनामाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइएको छ । थप अनुसन्धानका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए ।