रास्वपाको खुला केन्द्रीय सदस्यमा स्वर्णिम, सोविता, शिशिर र सागर ढकाल सर्वाधिक मतसहित निर्वाचित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्य पदको निर्वाचन परिणाम सार्वजनिक भएको छ । प्राप्त मत परिणाम अनुसार डा. स्वर्णिम वाग्लेले सबैभन्दा बढी २ हजार ६०७ मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । त्यसैगरी, सोविता गौतमले २ हजार ५९४ मत, शिशिर खनालले २ हजार ४९५ मत र सागर ढकालले २ हजार ३३३ मत ल्याएर विजयी भएका छन् । निर्वाचनबाट निशा डाँगीले २ हजार ०८९ मत, तोसिमा कार्कीले २ हजार २५७ मत, रञ्जु दर्शनाले २ हजार २४९ मत, मनिष झाले २ हजार २३७ मत र हरि ढकालले २ हजार २१९ मत प्राप्त गर्दै केन्द्रीय समितिमा आफ्नो स्थान सुरक्षित गरेका छन् । यस्तै, कविन्द्र बुर्लाकोटीले २ हजार १८४ मत, विपिन आचार्यले २ हजार १२६ मत, रमेश प्रसाईंले २ हजार १२३ मत, बिराजभक्त श्रेष्ठले २ हजार ०९४ मत र इन्दीरा रानामगरले २ हजार ०४७ मत प्राप्त गरी निर्वाचित भएका छन् । अन्य विजयी उम्मेदवारहरूमा गणेश पराजुली (२ हजार ०४५ मत), जगदिश खरेल–ललितपुर (२ हजार ०४४ मत), पुकार बम (२ हजार ०३० मत), प्रमोद न्यौपाने (१ हजार ८९२ मत), यज्ञमणी न्यौपाने (१ हजार ८६९ मत), सस्मित पोखरेल (१ हजार ८३३ मत), राजुनाथ पाण्डे (१ हजार ८१२ मत), रिमा विश्वकर्मा (१ हजार ८१० मत), असीम साह (१ हजार ७२८ मत), खगेन्द्र सुनार (१ हजार ७०८ मत) र राजीव खत्री (१ हजार ७०१ मत) रेहका छन् । यसैगरी, समिक्षा बास्कोटाले १ हजार ६९९ मत, गणेश कार्कीले १ हजार ६९३ मत, जगदिश खरेल–दोलखाले १ हजार ५१३ मत, लिमा अधिकारीले १ हजार ५०४ मत, टिका संग्रौलाले १,४९० मत, शंकर श्रेष्ठले १ हजार ४८४ मत, आशिका तामाङले १ हजार ४३० मत र सुदीप ढकालले १ हजार ४२९ मत ल्याएर खुला केन्द्रीय सदस्यमा निर्वाचित हुन सफल भएका छन् । क्रान्तिशीखा धितालले १ हजार ४७९ मत, अनुष्का श्रेष्ठले १ हजार ३५३ मत, रोहन कार्कीले १ हजार ०२२ मत, अरनिको पाण्डेले ९१२ मत, धनञ्जय रेग्मीले ८९० मत र रामजी यादवले ८६९ मत प्राप्त गर्दै रास्वपाको खुला केन्द्रीय सदस्यका रूपमा निर्वाचित भएका छन् ।
व्यवसायी अजेय सुमार्गीको पासपोर्ट रोक्का, सम्पत्ति शुद्धीकरण विभागले काट्यो पत्र
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी अजेय सुमार्गीको पासपोर्ट (राहदानी) रोक्का गरेको छ । सुमार्गीमाथि चलिरहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानलाई प्रभावकारी बनाउन विभागले अध्यागमन विभागलाई पत्राचार गर्दै उनको पासपोर्ट रोक्का राख्न निर्देशन दिएको हो । विभागका उच्च स्रोतका अनुसार अनुसन्धान प्रक्रिया जारी रहेका बेला सुमार्गी विदेश जान सक्ने सम्भावनालाई मध्यनजर गर्दै यो कदम चालिएको हो । व्यवसायी सुमार्गीमाथि कर उन्मुक्ति हुने विभिन्न मुलुकहरूबाट शंकास्पद ढंगले नेपालमा ठूलो परिमाणमा रकम भित्र्याएको आरोप छ । विशेषगरी मुक्तिश्री सिमेन्ट र स्याटलाईट टेलिकममा भित्रिएको वैदेशिक लगानीको स्रोतलाई लिएर लामो समयदेखि विवाद हुँदै आएको थियो । यसअघि उक्त रकम रोक्का नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिए पनि पछि सो आदेशले निरन्तरता पाएको थिएन । करिब एक दशक पुरानो उजुरीका आधारमा विभागले हाल अनुसन्धानलाई पुनः सक्रिय बनाएको छ ।
चिकित्सकविरुद्ध उजुरी दिन अब काठमाडौं धाइनु नपर्ने, अनलाइनबाटै सुनुवाइ हुने
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी लिने भएको छ । काउन्सिलका निमित्त रजिस्ट्रार डा. दीपेन्द्र पाण्डेले ‘हेलो एनएमसी’ मार्फत गुनासो तथा उजुरी र सुझाव सङ्कलन गर्नेगरी अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको जानकारी दिए । ‘हेलो एनएमसी’ सञ्चालनमा आएपछि सर्वसाधारण र दर्तावाला चिकित्सक सामान्य गुनासाका लागि काउन्सिलको कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता हटेको उनले बताए । दूरदराजबाट आउने सेवाग्राहीले सामान्य कामका लागि पनि काठमाडौंको कार्यालयमै धाउनुपर्दा समय र खर्च बढी लाग्ने गरेको थियो । चिकित्सकविरुद्ध उजुरी दिने प्रक्रिया झन्झटिलो हुँदा सर्वसाधारणले सहजै आफ्ना गुनासा दर्ता गराउनसक्ने अवस्था थिएन । यस पोर्टलमार्फत उजुरीकर्ताले आफ्नो पहिचान खुलाएर वा नाम गोप्य राखी उजुरी दर्ता गराउनसक्ने व्यवस्था छ । विगतमा उजुरीको अवस्था र कारबाहीको प्रक्रियाबारे जानकारी पाउन कठिन हुने गरेकामा अब उजुरी दर्ता भएपछि प्रणालीले स्वचालित रूपमा एउटा ‘ट्र्याकिङ नम्बर’ उपलब्ध गराउने छ । उक्त उजुरीमाथि भइरहेको छानबिन वा कारबाहीको अवस्थाबारे सम्बन्धित उजुरीकर्तालाई सिधै एसएमएस र इमेलमार्फत निरन्तर जानकारी गराइने छ । दर्तावाला चिकित्सकले doctor.nmc.org.np मा गई आफ्नो व्यक्तिगत एकाउन्टमा लगइन गरेर गुनासो दर्ता गर्न सक्नेछन् । सर्वसाधारणले काउन्सिलको आधिकारिक वेबसाइट www.nmc.org.np मा रहेको ‘हेलो एनएमसी’ पोर्टलमा क्लिक गरी उजुरी दर्ता गर्नसक्ने व्यवस्था मिलाइएको छ ।
रास्वपाको खुला केन्द्रीय सदस्यमा स्वर्णिम सर्वाधिक मतसहित निर्वाचित, सोविता दोस्रो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित भएका छन् । सार्वजनिक मतपरिणामअनुसार डा. वाग्लेले २ हजार ६ सय ७ मत प्राप्त गर्दै खुलातर्फ पहिलो स्थान हासिल गरेका हुन् । उनलाई सोविता गौतम ले पछ्याएकी छन् । गौतमले २ हजार ५ सय ९४ मत प्राप्त गरी दोस्रो स्थान सुरक्षित गरिन् । यस्तै, सागर ढकाल ले २ हजार ३ सय ३३ मत प्राप्त गरेका छन् भने शिशिर खनाल ले १ हजार ४ सय ९५ मत ल्याएका छन्। महाधिवेशनअन्तर्गत खुला समूहबाट ३५ जना केन्द्रीय सदस्य चयनका लागि मतदान भएको थियो । मतपरिणामले पार्टीभित्र स्थापित तथा चर्चित नेताहरूको प्रभाव कायम रहेको संकेत गरेको छ । डा. वाग्ले, गौतम, ढकाल र खनालले प्राप्त गरेको मतले प्रतिनिधिमाझ उनीहरूको लोकप्रियता अझै बलियो रहेको देखाएको छ । रास्वपाको केन्द्रीय नेतृत्व चयन प्रक्रिया अन्तर्गत अन्य समूहको मतगणना तथा परिणाम सार्वजनिक गर्ने कार्य पनि जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
किसानलाई चार तहमा वर्गीकरण गर्दै सरकार, २६ लाख सूचीकरण प्रणालीमा आबद्ध
काठमाडौं । किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका २६ लाख किसान आबद्ध भएका छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयले जमिनको विवरण र खेती उत्पादनका आधारमा किसानलाई सूचीकरण गरेको हो । विद्युतीय प्रणालीमार्फत सूचीकृत गरी किसानलाई चार तहमा वर्गीकरण गरेर आवश्यक सहुलियत तथा सुविधा दिने लक्ष्यअनुसार काम भइरहेको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिए । उनका अनुसार मन्त्रालयले निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी चारप्रकारमा वर्गीकरण गर्ने योजना बनाएको छ । वर्गीकरणपश्चात् किसानलाई परिचयपत्र वितरण गरिने जनाइएको छ । सरकारले किसानलाई परिचयपत्रका आधारमा अनुदानसहित रासायनिक मल, बीउ, अनुदान, सेवा व्यवस्थापनलगायत सुविधासहित उपलब्ध गराउने जनाएको छ । कृषि जनगणना, २०७८ अनुसार ४१ लाख ३० हजारको सङ्ख्या रहेकाले बाँकी १५ लाखभन्दा बढी किसानलाई पनि सूचीकृत गर्ने कार्य भइरहेको छ । केन्द्रले यस कार्यक्रममा आफ्नो नाम दर्ता गराउन किसानलाई आह्वानसमेत गरेको छ । सूचीकरण कार्यक्रमलाई व्यवस्थित बनाउन देशभर स्थानीय तहसँग समन्वय गरी किसानको प्रमाणीकरण गरी तथ्याङ्क सङ्कलन गरिएको छ ।
श्रम कानुन मिच्ने अस्पताल र बैंकलाई श्रम विभागले कारबाही गर्ने
काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न निजी अस्पताल, बैंक तथा वित्तीय संस्थामा गरिएको अनुगमनका क्रममा श्रम कानुनको उल्लङ्घन पाइएको भन्दै ध्यानाकर्षण गराएको छ । विभागले बिहीबार (आज) प्रेस विज्ञप्ति जारी गर्दै प्रचलित श्रम ऐन तथा नियमावली पालना नगर्ने प्रतिष्ठानलाई कानुनी कारबाही गर्ने जनाएको छ । विभागका अनुसार पछिल्लो समय गरिएका अनुगमनका क्रममा निजी अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा आपूर्ति गरिएका श्रमिकलाई ‘ओभर टाइम’बापतको पारिश्रमिक नदिइएको पाइएको छ । त्यसैगरी, उनीहरूलाई लगातार लामो समय काममा लगाउने र सरकारले तोकेको न्यूनतम पारिश्रमिकसमेत उपलब्ध नगराएको पाइएको छ । विभागले यस्ता कैफियत देखिएका संस्थाहरूलाई तोकिएको समयभित्र सुधार गर्न निर्देशनसमेत दिएको छ । बैंक तथा वित्तीय संस्थामा आपूर्ति गरिएका सुरक्षाकर्मी र श्रमिकको हकमा पनि उस्तै समस्या देखिएको विभागले जनाएको छ । न्यूनतम पारिश्रमिक नदिने, धेरै घण्टा काममा लगाउने र चाडपर्व खर्चसमेत उपलब्ध नगराएको गुनासो आएपछि विभागले ती संस्थालाई प्रचलित कानुनी व्यवस्था कार्यान्वयनका लागि पत्राचार गरेको छ । विज्ञप्तिमा उल्लेख भएअनुसार विभागले २०८२ साउनदेखि २०८३ जेठ मसान्तसम्म तीन हजार २६७ प्रतिष्ठानको निरीक्षण गरेको छ । सोही अवधिमा तीन हजार १३७ प्रतिष्ठानमा बालश्रम निरीक्षण गरिएको र तीन हजार ३९० श्रम अडिट प्रतिवेदन प्राप्त भएको छ । त्यसैगरी, २०८२ चैत १३ गतेदेखि २०८३ असार १० गतेसम्ममा ७६१ प्रतिष्ठानको श्रम निरीक्षण गरिएको र ६७९ श्रम अडिट प्रतिवेदन प्राप्त भएको तथ्याङ्क छ ।
बढ्दो दुर्घटनापछि फेवातालमा सुरक्षा मापदण्ड कडा, १९ बुँदे निर्देशन जारी
काठमाडौं । पोखरास्थित पर्यटकको प्रमुख आकर्षक गन्तव्यका रूपमा रहेको फेवातालमा पछिल्ला समय दुर्घटनाका घटना बढ्न थालेपछि प्रशासनले जलपर्यटनसँग सम्बन्धित गतिविधि सञ्चालनमा कडाइ गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले फेवातालमा सञ्चालनमा रहेका डुङ्गा, कायकिङ तथा सर्फिङ व्यवसायलाई थप व्यवस्थित र सुरक्षित बनाउन आज १९ बुँदे निर्देशन जारी गरेको हो । सूचनाअनुसार अब डुङ्गा, कायकिङ र सर्फिङमा सहभागी सबैले अनिवार्य रूपमा लाइफ ज्याकेट लगाउनुपर्नेछ । ज्याकेटबिना कुनै पनि जलपर्यटन गतिविधि सञ्चालन गर्न पाइने छैन । सेवा प्रदायकले गतिविधि सुरु गर्नुअघि सेवाग्राहीलाई सञ्चालन विधि, सम्भावित जोखिम, आपतकालीन अवस्था र सुरक्षाका उपायबारे पूर्वजानकारी दिनुपर्ने व्यवस्था गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । यसैगरी, प्रशासनले कास्कीमा दिउँसोपछि हावाहुरी, चट्याङ र वर्षाको जोखिम बढेको भन्दै सामान्य अवस्थामा दिउँसो २ः०० बजेपछि विशेष सावधानी अपनाउन र साँझ ६ः०० बजेपछि डुङ्गा, कायकिङ तथा सर्फिङजस्ता जलपर्यटन गतिविधि पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको छ । मौसम सामान्य भए पनि एक्कासी हावाहुरी चल्नसक्ने भएकाले आवश्यक परे सुरक्षा निकायसँग समन्वय गरेर मात्र सेवा सञ्चालन गर्न सूचनामार्फत भनिएको छ । जलपर्यटन गतिविधिमा देखिएको लापरबाही, दर्ता तथा बिमासम्बन्धी कमजोरी र पछिल्ला दुर्घटनाका घटनालाई ध्यानमा राख्दै प्रशासनले सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको हो । जलपर्यटन व्यवसाय दर्ता तथा नवीकरण नगरी सञ्चालन भएको, मूल्यसूची नराखिएको, सेवाग्राहीलाई बिल नदिएको, बिमा नगरिएको तथा असुरक्षित ढङ्गले सेवा प्रदान गरिएको गुनासो प्राप्त भएपछि अनुगमनका क्रममा देखिएका विषयलाई समेटेर सो निर्देशन जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए । त्यस्तै, व्यवसायी तथा सञ्चालकले धूमपान, मद्यपान वा लागुपदार्थ सेवन गरेर सेवा सञ्चालन गर्न नपाउने तथा त्यस्तो अवस्थामा रहेका सेवाग्राहीलाई पनि सेवा दिन नपाइने प्रशासनले जनाएको छ । यसैगरी १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई अभिभावकबिना यस्ता गतिविधिमा सहभागी गराउन नपाइने सूचनामा उल्लेख छ । दुर्घटना भए तत्काल उद्धार गर्नुपर्ने, फेवातालमा खटिएको सशस्त्र प्रहरीको रेस्क्यु टोली तथा सुरक्षा निकायलाई तत्काल जानकारी गराउनुपर्ने र घाइतेलाई नजिकको अस्पताल पुर्याई उपचारको व्यवस्था गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । मौसम प्रतिकूल हुने सम्भावनालाई ध्यानमा राख्दै प्रशासनले विशेष सतर्कता अपनाउन पनि आग्रह गरेको छ । सूचनाविपरीत गतिविधि सञ्चालन गरेको पाइए प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिँदै प्रशासनले जलपर्यटन व्यवसायी, सरोकारवाला निकाय र सेवाग्राही सबैलाई सुरक्षा सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ ।
देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न
काठमाडौं । किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका २६ लाख किसान आबद्ध भएका छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयले जमिनको विवरण र खेती उत्पादनका आधारमा किसानलाई सूचीकरण गरेको हो । विद्युतीय प्रणालीमार्फत सूचीकृत गरी किसानलाई चार तहमा वर्गीकरण गरेर आवश्यक सहुलियत तथा सुविधा दिने लक्ष्यअनुसार काम भइरहेको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिए । उनका अनुसार मन्त्रालयले निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी चारप्रकारमा वर्गीकरण गर्ने योजना बनाएको छ । वर्गीकरणपश्चात् किसानलाई परिचयपत्र वितरण गरिने जनाइएको छ । सरकारले किसानलाई परिचयपत्रका आधारमा अनुदानसहित रासायनिक मल, बीउ, अनुदान, सेवा व्यवस्थापनलगायत सुविधासहित उपलब्ध गराउने जनाएको छ । कृषि जनगणना, २०७८ अनुसार ४१ लाख ३० हजारको सङ्ख्या रहेकाले बाँकी १५ लाखभन्दा बढी किसानलाई पनि सूचीकृत गर्ने कार्य भइरहेको छ । केन्द्रले यस कार्यक्रममा आफ्नो नाम दर्ता गराउन किसानलाई आह्वानसमेत गरेको छ । सूचीकरण कार्यक्रमलाई व्यवस्थित बनाउन देशभर स्थानीय तहसँग समन्वय गरी किसानको प्रमाणीकरण गरी तथ्याङ्क सङ्कलन गरिएको छ।