प्रतिनिधि सभा निर्वाचन : १ हजार ८६५ उम्मेदवारले खोले बैंक खाता
काठमाडौं । निर्वाचन प्रयोजनका निम्ति १ हजार ८६५ उम्मेदवारले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ । आयोगका कानुन तथा राजनीतिक दल महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले आजसम्ममा १ हजार ८६५ उम्मेदवारले खाता खोलेको विवरण प्राप्त जानकारी भएको बताए । उनका अनुसार १ हजार ५४१ उम्मेदवारले अझै बैंक खाता खोलेका छैनन् । १ सय ६५ निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फ ३ हजार ४०६ उम्मेदवार छन् । प्रत्यक्षतर्फ ६४ दल र स्वतन्त्र गरी तीन हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा छन् । ११ दलले बैंक खाता खोल्न सिफारिस लगेको आयोगले जनाएको छ । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ ।
हवाई आक्रमणमा इरानी सेनाका चिफ अफ स्टाफ र रक्षामन्त्रीको मृत्यु
काठमाडौं । इरानी सेनाका चिफ अफ स्टाफ अब्दुल रहिम मौसवी र रक्षामन्त्री अजिज नासिरजादेहको मृत्यु भएको छ । अमेरिका र इजरायलले गरेका आक्रमणहरूमा अन्य धेरै उच्च सैन्य अधिकारीहरू पनि मारिएका छन्। बीबीसी पर्सियनका अनुसार मौसवीको मृत्युको पुष्टि इरानी संस्था ‘द फाउन्डेसन फर द प्रिजर्भेसन अफ मोनुमेन्ट्स एण्ड डिसेमिनेशन अफ सेक्रेड डिफेन्स भ्यालुज’ ले गरेको हो । इरानी संस्थाले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘शनिबार भएका आक्रमणहरूमा मौसवीसँगै रक्षामन्त्री अजिज नासिरजादेह, रिभोलुसनरी गाड्र्सका कमान्डर मोहम्मद पाकपुर र सुप्रिम डिफेन्स काउन्सिलका अध्यक्ष अली शामखानी पनि मारिएका छन् ।’ विज्ञप्तिका अनुसार, ‘उनीहरू डिफेन्स काउन्सिलको बैठकका क्रममा मारिएका हुन् र मृत्यु हुने अन्य व्यक्तिहरूको नाम पछि सार्वजनिक गरिनेछ ।’ शृङ्खलाबद्ध हमलाहरू विशेष गरी इरानको उच्च सैन्य नेतृत्वलाई लक्षित गरी गरिएको पाइएको छ । यस आक्रमणमा हालसम्म कम्तीमा २०१ जनाको मृत्यु भएको आधिकारिक पुष्टि भए तापनि कतिपय अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले मृतकको संख्या एक हजार नाघेको अनुमान गरेका छन् । यो घटनामा सैन्य अधिकारीहरू मात्र नभई ठुलो संख्यामा सर्वसाधारण र बालबालिकाहरू पनि मारिएका छन् । विशेष गरी दक्षिणी इरानको मिनाबस्थित एउटा प्राथमिक विद्यालयमा भएको बमबारीमा १०८ जना बालबालिकाले ज्यान गुमाएका छन् । आक्रमणमा परी ७५० भन्दा बढी व्यक्ति घाइते भएका छन् र कतिपय क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएकाले क्षतिको पूर्ण विवरण आउन अझै बाँकी छ। यस घटनाले मध्यपूर्वमा तनावलाई चरम सीमामा पुर्याएको छ भने इरानले यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ ।
सेयर बजारमा ५ अर्बको कारोबार, २ कम्पनीमा सकारात्मक सर्किट
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ अंकले बढेर २६७४ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १८७ कम्पनीको सेयर मूल्य बढ्दा ६४ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३१४ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधी विद्युतको ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै एपीआई पावरको ३३ करोड, मन्जुश्री फाइनान्सको २८ करोड, आँखु खोला जलविद्युतको २६ करोड र एसवाई प्यानलको २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साल्पा विकास बैंक र रिलाइन्स स्पिनिङ मिल्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।
श्री स्टील्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ
काठमाडौं । श्री स्टील्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावलीअनुसार नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि आईपीओ जारी गर्ने जनाएको छ । आईपीओ निष्काशन कार्यका लागि कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ। आइतबार सम्पन्न सम्झौतामा श्री स्टील्स लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक राजेश कुमार अग्रवाल तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए । उक्त सम्झौता कम्पनीका प्रमुख कार्यकारी अधिकृत सोमेश अग्रवालको रोहवरमा सम्पन्न भएको जनाइएको छ । श्री स्टील्स लिमिटेड पूर्ण स्वचालित प्लान्टमार्फत टीएमटी रिबार उत्पादनमा विशेषज्ञता हासिल गरेको कम्पनी हो । भौगोलिक जटिलता र भूकम्पीय जोखिम उच्च रहेको नेपालमा बलिया संरचना निर्माणको आवश्यकता औंल्याउँदै कम्पनीले अत्याधुनिक जापानी प्रविधिमा आधारित सिक्स–स्ट्यान्ड ब्लक मिल प्रयोग गरी उत्पादन गर्दै आएको जनाएको छ । विश्वस्तरीय प्रविधि प्रयोग गरेर गुणस्तरीय उत्पादनमार्फत नेपालको औद्योगिक आधार मजबुत बनाउने, फलाम तथा रडजन्य सामग्रीमा देशलाई आत्मनिर्भर बनाउने र रोजगारी सिर्जना गर्ने कम्पनीको लक्ष्य रहेको उल्लेख गरिएको छ ।
इरान र इजरायल : मित्रतादेखि कट्टर दुश्मनीसम्म, यस्तो छ नालीबेली
मध्यपूर्वको राजनीतिमा आज इरान र इजरायल एकअर्काको अस्तित्व मेटाउन लागिपरेका देखिन्छन्, इतिहासको पाना पल्टाउँदा अवस्था ठ्याक्कै उल्टो थियो । सन् १९४८ मा इजरायलको स्थापना हुँदा इरान उसलाई मान्यता दिने दोस्रो मुस्लिम राष्ट्र मात्र थिएन, बरु यी दुई देशबीचको सम्बन्ध निकै प्रगाढ र रणनीतिक थियो । इरानका तत्कालीन राजा मोहम्मद रेजा शाह पहलवीको शासनकालमा यी दुई राष्ट्रले आर्थिक र सैन्य क्षेत्रमा सहकार्यसमेत गरेका थिए । इरानले इजरायललाई आफ्नो तेल बेच्थ्यो भने बदलामा इजरायली प्रविधि र हतियारले इरानी सेनालाई सुसज्जित बनाइन्थ्यो । त्यतिबेला यी दुवै देशको साझा दुश्मन तत्कालीन सोभियत संघ र अरबका केही राष्ट्रहरू थिए, जसले गर्दा उनीहरूलाई एक-अर्काको साथ अपरिहार्य बनेको थियो । तर, सन् १९७९ को इस्लामिक क्रान्तिले यो मैत्रीपूर्ण सम्बन्धलाई एकाएक कट्टर दुश्मनीमा बदलिदियो । अयातोल्लाह खोमेनीको नेतृत्वमा भएको उक्त क्रान्तिले इरानमा राजतन्त्र अन्त्य गरी कट्टरपन्थी इस्लामिक शासन व्यवस्था लागू गर्यो । नयाँ नेतृत्वले इजरायललाई ‘अवैध कब्जाकारी’ र ‘मुस्लिम जगतको दुश्मन’ घोषणा गर्दै उसको अस्तित्व नै स्वीकार्न अस्वीकार गर्यो । इरानले इजरायललाई ‘सानो शैतान’ र उसको मुख्य सहयोगी अमेरिकालाई ‘ठूलो शैतान’ को संज्ञा दियो । इरानले प्यालेस्टाइनको मुद्दालाई आफ्नो मुख्य राजनीतिक एजेन्डा बनायो ताकि उसले सम्पूर्ण मुस्लिम विश्वको नेतृत्व गर्न सकोस् । यहीँबाट इरान र इजरायलबीचको शीतयुद्ध सुरु भएको हो जसले आजसम्म मध्यपूर्वलाई अशान्त बनाइरहेको छ । दुश्मनी बढ्दै गएपछि इरानले इजरायललाई प्रत्यक्ष रूपमा चुनौती दिनुको साटो ‘प्रोक्सी वार’ अर्थात् छद्म युद्धको सहारा लियो । इरानले इजरायलको सिमाना नजिक रहेका सशस्त्र समूहहरू जस्तै लेबनानको हिजबुल्लाह र गाजाको हमासलाई भारी आर्थिक र सैन्य सहयोग गर्न थाल्यो । यसको मुख्य उद्देश्य इजरायललाई उसको आफ्नै सिमानामा व्यस्त र त्रसित राख्नु थियो । अर्कोतर्फ इजरायलले पनि इरानको यो रणनीतिलाई निस्तेज पार्न सिरिया र लेबनानमा रहेका इरानी सैन्य अखडाहरूमाथि लगातार हवाई आक्रमण गर्दै आयो । यो लुकिछिपी चलिरहेको युद्धले गर्दा दुवै देशका सुरक्षा एजेन्सीहरू संसारभर एकअर्काका विरुद्ध गुप्तचर अप्रेसनमा सक्रिय रहे । यस दुश्मनीको सबैभन्दा खतरनाक मोड इरानको आणविक कार्यक्रम हो । इजरायलको मान्यता अनुसार यदि इरानले परमाणु बम बनायो भने त्यो इजरायलको अस्तित्वका लागि सिधै अन्त्यको कारण बन्नेछ । त्यसैले इजरायलले इरानको आणविक क्षमता रोक्न विभिन्न साइबर आक्रमणहरू र इरानी वैज्ञानिकहरूको रहस्यमय हत्या गराएको आरोप लाग्दै आएको छ । इरानले पनि यसको बदला स्वरूप इजरायली जहाजहरूमाथि समुद्रमा आक्रमण गर्ने र साइबर हमला गर्ने कार्यलाई तीव्रता दियो । पछिल्लो समय इरानले इजरायली भूमिमै सिधै मिसाइल र ड्रोन प्रहार गरेपछि यो युद्ध अब छायाँबाट बाहिर निस्किएर प्रत्यक्ष सैन्य मुठभेडको अवस्थामा पुगेको हो । वर्तमान समयमा यो संघर्ष केवल दुई देशको लडाइँ मात्र होइन, यसले विश्व राजनीतिलाई नै दुई कित्तामा विभाजन गरिदिएको छ । अमेरिका र पश्चिमा मुलुकहरू इजरायलको रक्षा कवच बनेर उभिएका छन् भने इरानले रुस र चीनसँगको सम्बन्ध बलियो बनाउँदै इजरायललाई क्षेत्रीय रूपमा एक्ल्याउने प्रयास गरिरहेको छ । इजरायलले अरब देशहरूसँग सम्बन्ध सुधार गर्दै ‘अब्राहम एकर्ड’ नीति सुरु गरेको छ । यो नीति २०२० मा मध्यपूर्वका केही देशहरू विशेषगरी इजरायल, संयुक्त अरब इमिरेट्स र बहराइनबीच गरिएको ऐतिहासिक शान्ति सम्झौताको उपज हो । यस मान्यताले यी देशहरूबीच कूटनीतिक र आर्थिक सम्बन्ध स्थापना गर्ने व्यवस्था गरेको थियो । यसै आधारमा इजरायलले नयाँ समीकरण बनाउन खोज्दा इरान थप आक्रामक बनेको देखिन्छ । यसरी आधा शताब्दीदेखि चल्दै आएको यो दुश्मनीले आज मध्यपूर्वलाई एउटा यस्तो मोडमा उभ्याएको छ, जहाँ सानो एउटा गल्तीले पनि विश्वव्यापी महायुद्धको रूप लिन सक्छ । इरान र इजरायलबीचको यो दुश्मनी केवल सीमाको झगडा होइन, बरु यो त मध्यपूर्वमा ‘को शक्तिशाली’ भन्ने वर्चस्वको लडाइँ पनि हो । इरानले आफ्नो ‘एक्सिस अफ रेसिस्टेन्स’ मार्फत इराक, सिरिया, लेबनान र यमनसम्म एउटा सैन्य सञ्जाल तयार पारेको छ । यसको मुख्य उद्देश्य इजरायललाई चारैतिरबाट घेराबन्दीमा पार्नु र अमेरिकी प्रभावलाई यो क्षेत्रबाट हटाउनू हो । इरानले हुथी विद्रोहीहरूलाई प्रयोग गरेर लालसागरमा इजरायलसँग जोडिएका जहाजहरूमाथि आक्रमण गराउनु यसै रणनीतिको एउटा कडी हो, जसले विश्व व्यापारलाई नै प्रभावित बनाएको छ । अर्कोतर्फ इजरायलले इरानको यो घेराबन्दीलाई तोड्न ‘डक्ट्रिन अफ द हेड अफ द स्नेक’ (सर्पको टाउकोमा प्रहार गर्ने सिद्धान्त) अपनाएको देखिन्छ । इजरायल अब इरानका प्रोक्सी समूहहरूसँग मात्र लडेर पुग्दैन भन्ने निष्कर्षमा पुगेको छ र सिधै इरानी भूमि वा इरानी सैन्य कमान्डरहरूलाई निशाना बनाउन थालेको छ । सिरियाको दमास्कसस्थित इरानी दूतावास नजिकै भएको आक्रमण र त्यसको जवाफमा इरानले इजरायली भूमिमा सिधै प्रहार गरेका सयौं मिसाइलहरूले यो दुश्मनी अब ‘छद्म युद्ध’ बाट निस्किएर ‘आमने–सामनेको युद्ध’ मा परिणत भएको पुष्टि गर्दछ । यसले गर्दा दुवै देशका नागरिकहरू सधैं भय र मनोवैज्ञानिक युद्धको चपेटामा परेका छन् । यो द्वन्द्वको अर्को पाटो भनेको प्रविधिको प्रतिस्पर्धा पनि हो । इजरायलले आफ्नो ‘आइरन डोम’ र ‘एरो’ जस्ता अत्याधुनिक मिसाइल डिफेन्स सिस्टममार्फत इरानी आक्रमणलाई निस्तेज पार्ने प्रयास गरिरहेको छ भने इरानले आफ्ना ड्रोन र व्यालिस्टिक मिसाइलहरूको संख्या र क्षमतालाई लगातार बढाइरहेको छ । इरानको बढ्दो सैन्य शक्ति र रुससँगको उसको सामरिक साझेदारीले इजरायल र पश्चिमा मुलुकहरूलाई झनै सशंकित बनाएको छ । रुस–युक्रेन युद्धमा इरानी ड्रोनको प्रयोग भएपछि यो दुश्मनीमा युरोपेली देशहरूको चासो र चिन्ता पनि ह्वात्तै बढेको छ । अन्त्यमा इरान र इजरायलबीचको यो दुश्मनीले मध्यपूर्वको भूगोल मात्र होइन, विश्वको ऊर्जा सुरक्षा र आर्थिक स्थायित्वलाई पनि जोखिममा पारेको छ । यदि यी दुई देशबीच पूर्ण रूपमा युद्ध भयो भने विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिने निश्चित छ, जसको प्रत्यक्ष असर नेपालजस्ता विकासोन्मुख देशहरूको अर्थतन्त्रमा पर्नेछ । धार्मिक कट्टरता, परमाणु हतियारको होड र क्षेत्रीय शक्तिको घमण्डले गर्दा यी दुई पुराना मित्रहरू आज यस्तो मोडमा आइपुगेका छन्, जहाँबाट फर्कने बाटो निकै कठिन देखिन्छ । (अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा प्रकाशित सामग्रीको सहयोगमा तयार पारिएको सामग्री) इरानमाथिको आक्रमणले तेलको मूल्य प्रतिव्यारेल १०० डलर नाघ्ने संकेत, एसियाली अर्थतन्त्रमाथि दबाब
हरिसिद्धिमा लामिनारको प्रिमियम एम्पोरियो शोरूम उद्घाटन
काठमाडौं । टाइल ब्रान्ड लामिनारले काठमाडौं उपत्यकामा नयाँ शोरूम उद्घाटन गरेको छ । गोदावरी ग्रेनाइट एन्ड टाइल्सले हरिसिद्धि, ललितपुरमा लामिनारको प्रिमियम एम्पोरियो शोरूमको औपचारिक उद्घाटन गरेको हो । शोरूमको उद्घाटन गोदावरी ग्रेनाइट एण्ड टाइल्सका डाइरेक्टर ओमप्रकाश गोयल र लुम्बिनी सेरामिक्सका डाइरेक्टर आशुतोष खेतानले संयुक्त रूपमा गरेका थिए । नयाँ शोरूममा लामिनारका उच्च गुणस्तरयुक्त, अत्याधुनिक र टिकाउ टाइलहरू प्रदर्शनमा राखिएका छन् । यी टाइलहरू आधुनिक आवासीय घर, व्यावसायिक भवन, होटल, अस्पताल, विमानस्थल तथा ठूला सार्वजनिक पूर्वाधार परियोजनालाई लक्षित गरी डिजाइन गरिएका छन् । कम्पनीका अनुसार लामिनारका टाइलहरू एनएस ६१७ प्रमाणित पूर्ण भिट्रिफाइड छन्, जसको पानी अवशोषण दर ०.०८ प्रतिशतभन्दा कम छ । कम पानी अवशोषण दरका कारण टाइलहरू अत्यधिक टिकाउ र दीर्घकालीन हुने दाबी गरिएको छ । बर्दियाको गुलरियास्थित अत्याधुनिक कारखानामा इटालियन तथा स्पेनिस ग्लेज र डिजिटल इंक प्रणाली प्रयोग गरी उत्पादन गरिएका यी टाइलहरूले सतह निर्माण क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरेको कम्पनीको भनाइ छ । लामिनारले ८ भन्दा बढी कलेक्सन र ५५० भन्दा बढी एसकेयू उपलब्ध गराउँदै नेपालकै ठूलो भिट्रिफाइड टाइल पोर्टफोलियो प्रदान गर्दै आएको जनाएको छ । उत्पादनमा मार्बल लुक, समकालीन कंक्रीट डिजाइन, उच्च ट्राफिक क्षेत्रका लागि पीईआई ५ घर्षण प्रतिरोध, एमओएचएस ९ कठोरता (स्क्र्याच प्रतिरोधी) तथा आर१२ स्लिप प्रतिरोधजस्ता विशेषता समावेश छन् । शोरूम उद्घाटनसँगै लामिनारका उत्पादनहरू सातै प्रदेशमा १९० भन्दा बढी डिलर सञ्जालमार्फत उपलब्ध रहेको कम्पनीले जनाएको छ । गोदावरी ग्रेनाइट एण्ड टाइल्सका निर्देशक कृष्ण मणि बिधारीले उद्घाटन समारोहमा लामिनारले प्रदर्शन र डिजाइन दुवैमा उत्कृष्ट पूर्ण भिट्रिफाइड उत्पादन प्रदान गर्दै आएको बताए । 'यसको गुणस्तरमा निरन्तरताले बजारमा ठूलो विश्वास जितेको छ । नयाँ शोरूम घरधनी, आर्किटेक्ट, इन्जिनियर तथा ठूला संस्थाका लागि टिकाउ र भविष्य–उन्मुख सतह समाधान अनुभव गर्ने उत्कृष्ट स्थान बन्नेछ,' उनले भने । उन्नत नेपाली उत्पादन, निरन्तर डिजाइन नवप्रवर्तन र राष्ट्रव्यापी विस्तारसँगै लामिनारले ‘मेड इन नेपाल’ पूर्ण भिट्रिफाइड प्रविधिमार्फत मजबुती, टिकाउपन र दीर्घकालीन विश्वसनीयता प्रदान गर्दै टाइल उद्योगमा नयाँ उचाइ कायम गर्ने लक्ष्य लिएको जनाएको छ ।
शाओमीको वीरगञ्ज र जनकपुरमा खुले दुई आधिकारिक सर्भिस सेन्टर
काठमाडौं । प्रविधि कम्पनी शाओमीले ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको छ । यही क्रममा कम्पनीले फागुन १४ गते बिहीबार आदर्शनगर, वीरगन्ज तथा फागुन १५ गते शुक्रबार अर्विट मल, शिवचोक, जनकपुरमा दुई आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरू सञ्चालनमा आएसँगै मधेस प्रदेशका शाओमी प्रयोगकर्ताहरूले अब आफ्नै क्षेत्रमा आधिकारिक गुणस्तरीय सेवा प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार यस विस्तारले ग्राहकको सन्तुष्टि अझ सुदृढ हुने विश्वास लिइएको छ । नयाँ सर्भिस सेन्टरमार्फत शाओमीका स्मार्टफोन, वेअरएबल्स (स्मार्टवाच तथा फिटनेस ब्यान्ड), हियरएबल्स (इयरफोन तथा हेडफोन) र विभिन्न आइओटी उपकरणहरूको मर्मत, प्राविधिक जाँच तथा सेवा उपलब्ध गराइनेछ । यहाँ प्रयोग हुने सबै स्पेयर पार्ट्स आधिकारिक (जेनुइन) हुनेछन् । यी सर्भिस सेन्टरहरूको सञ्चालन टेलिडाइरेक्टर प्रा.लि.ले गर्नेछ । टेलिडाइरेक्ट, रमेश कर्पअन्तर्गतको कम्पनी हो, जसले नेपालभर शाओमी ब्रान्डका लागि आधिकारिक सेवा व्यवस्थापन गर्दै आएको छ र ग्राहकमाझ विश्वासिलो सेवा प्रदायकका रुपमा स्थापित छ । उद्घाटनको अवसरमा कम्पनीले विशेष अफरसमेत घोषणा गरेको छ । सञ्चालनमा आएको मितिदेखि एक महिनासम्म ग्राहकहरूले सबै उपकरणमा निःशुल्क सभिर्सिङ तथा सफ्टवेयर अपग्रेड सेवा पाउनेछन् । साथै वारिन्टीबाहिर रहेका स्पेयर पाट्र्स र मर्मत सेवामा २५ प्रतिशतसम्म छुट तथा वारिन्टीबाहिरका स्पेयर पाट्र्समा कुनै सर्भिस शुल्क नलाग्ने सुविधा उपलब्ध गराइने पनि कम्पनीले जनाएको छ । दुवै सर्भिस सेन्टरमा दक्ष तथा तालिमप्राप्त प्राविधिक टोली रहनेछ, जसले सामान्य मर्मतदेखि जटिल प्राविधिक समस्यासम्म आधिकारिक र मापदण्डअनुसारको सेवा प्रदान गर्नेछन् ।
कतार एयरवेजका सबै उडान बन्द
काठमाडौं । कतार एयरवेजले सबै उडान बन्द गरेको छ । कतार एयरवेजको एयरस्पेस बन्द भएपछि अस्थायी रूपमा उडान बन्द भएको हो । कतार एयरवेजका अनुसार कतार नागरिक उड्डयन प्राधिकरणले कतारी एयरस्पेस सुरक्षित रूपमा पुनः खोलेको घोषणा गरेपछि कतार एयरवेजले आफ्नो उडान सुरु गर्नेछ । कतार एयरवेजको पुनः उडानसम्बन्धी तालिक अपडेट गर्दै जाने पनि एयरवेजले जनाएको छ ।