विकासन्युज

इटहरी इन्टरनेसनल कलेजकाे दीक्षान्त समारोह सम्पन्न

काठमाडौं । इटहरीस्थित इटहरी इन्टरनेसनल कलेजको सन् २०२३मा पास भएका विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा स्नातक तह अन्तर्गत विशेषज्ञताहरू बिएससी (अनर्स) कम्प्युटिब र बिए (अनर्स) बिजनेस प्रशासनका २०० जना विद्यार्थी सहभागी भएका थिए । दीक्षान्त समारोहमा विद्यार्थीका अभिभावकको पनि उपस्थिति थियो । समारोहमा बिए (अनर्स) बिजनेस प्रशासनका विषयमा स्नातक तह पूरा गर्ने ४८ जना र बिएससी (अनर्स) कम्प्युटिब तह पूरा गर्ने १५२ जना विद्यार्थी गरी जम्मा २०० विद्यार्थी दीक्षित भएका थिए । वार्षिक कार्यक्रम अनुसार दीक्षान्त समारोह आयोजना गरेको कलेजले जनाएको छ । सो कलेजबाट दीक्षित उत्कृष्ट विद्यार्थीलाई आइएनजीले छात्रवृत्ति उपलब्ध गराएको छ । यस वर्ष आइएनजी छात्रवृत्तिका लागि सारीका दाहाल र स्रिजा पोखरेल सम्मानित भएका थिए । वार्षिक दीक्षान्त समारोहमा आइएनजीका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकी, लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट एकेडेमिक पार्टनरसिपका प्रमुख डा. वेन्डी ब्लोइसी लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा यो कार्यक्रम गरिएको थियो । आइएनजीका संस्थापक तथा अध्यक्ष बुढाथोकीले प्रत्येक स्नातकलाई व्यक्तिगत रूपमा बधाई दिँदै उनीहरूको लगनशीलता र समर्पणको प्रशंसा गरे । डा. ब्लोइसीले यस अवसरमा आईएनजी र लन्डन मेट्रोपोलिटन विश्वविद्यालयबीचको दिगो साझेदारीलाई प्रकाश पार्दै विद्यार्थी र कलेजको उल्लेखनीय उपलब्धिको प्रशंसा गरे ।

बसाइँसराइले रित्तिदै गाउँ : बढ्यो बाँदर आतङ्क

ढोरपाटन । बसाइँसराइका कारण रित्तिएका गाउँ । खेतीयोग्य जमिन वनमाराले खेतबारी ढापक्कै ढाकिएका छन् । वरपरका रुखबिरुवा बढेर गाउँ छेकिन थालेको छ । गाउँमा बूढापाकाबाहेक अरु कोही छैनन् । युवाशक्ति विदेश र बालबालिका बजार झर्दा बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका हुन् । एक दशक अगाडिसम्म रमाइलो गाउँबस्ती हिजोआज उराठलाग्दो बनेका छन् । विद्यालयमा विद्यार्थी घटिरहेका छन् । सेवा सुविधा घरदैलोमै पुगेका छन् तर सेवा सुविधाको उपभोग गर्ने मान्छे निकै कम छन् । विकासले नछुँदा मान्छेको चहलपहल हुने गाउँ अहिले खाली हुँदै गएका छन् । दिनप्रतिदिन बजार झर्नेको सङ्ख्या बढ्दै गएपछि गाउँमा बस्नेलाई वन्यजन्तुले सास्ती दिन थालेका छन् । सबैभन्दा बढी बाँदरले गाउँमा भएका वृद्धवृद्धालाई दुःख दिने गरेको पाइएको छ । जिल्लामा बसाइँसराइ गरी बजार झर्ने र विदेश जाने सङ्ख्या गलकोट नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकामा बढी छ । गाउँमा बस्ने बूढापाकाले काम गर्न सक्न छाडेपछि घरै छेउका खेतबारी झाडीमा परिणत हुँदै गएका छन् । यसका कारण बाँदरलगायतका वन्यजन्तु सजिलै घरमा छिर्ने गरेका छन् । बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुण्ड्याएर राखिएका सामानसमेत नष्ट गरिदिने गरेको छ । बढ्दो बाँदर आतङ्कका कारण स्थानीयले रोकथामको माग गरिरहेका छन् । केही पालिकाले बाँदर नियन्त्रणका लागि योजना तयार गरे पनि अहिलेसम्म कार्यान्वयन गर्न सकेका छैनन् । गाउँमा जनसङ्ख्या कम हुँदै गएपछि बाँदर आतङ्क बढ्दै गएको काठेखोला गाउँपालिका–१ का लक्ष्मण थापाले बताए । पाँच वर्ष पहिलेसम्म जङ्गलमा मात्रै भेटिने बाँदर हिजोआज घरमै आएर सास्ती दिने गरेको उहाँको भनाइ छ । हरेक वर्ष गाउँबाट बजार झर्नेको सङ्ख्या बढ्दै गएको र उनीहरूलाई गाउँमै रोक्न सक्ने योजना सरकारले ल्याउन नसकेको उहाँको गुनासो छ । विकास गाउँ उक्लने, मानिस सुविधा खोज्दै बजार झर्ने गरेको भन्दै सुनसान गाउँमा बाँदर र चितुवाले बासस्थान बनाउन थालेको उनले बताए । रोजगार सिर्जना गरी बजार झरेकालाई गाउँमै फर्काउन सके बाँदर नियन्त्रण हुने थापाको भनाइ छ । बाँदर धपाउन अनेक जुक्ति लगाए पनि नसकेको उनले बताए । ‘पहिले–पहिले मान्छेहरूले गाउँ भरिन्थ्यो, एउटै घरमा १०–१२ जनासम्म मान्छे बस्थे, गाउँमै खेतीपाती गर्ने, वनजङ्गलमा पुगेर घाँस दाउरा गर्थे र पो बाँदर आउँदैनथ्यो, अहिले गाउँ सुनसान छ, बूढाबूढीमात्रै छन्, सुनसान ठाउँमा बाँदर, बाघ र भालु आउने नै भए’, उनले भने, ‘अब सरकारले गाउँमा बजारको जस्तो सेवा सुविधा दिनेगरी काम गर्नुपर्छ, बजार झर्नबाट रोक्न सकेमात्रै बाँदर नियन्त्रण गर्न सकिन्छ नत्र बाँदरमात्रै होइन, अब गाउँ जङ्गली जनावरको बासस्थानका बन्ने छ ।’ जैमिनी –५ का पदम सुवेदीले बाँदरले बालीनाली सबै सखाप पर्दा लाखौँको नोक्सानी व्यहोर्नुपरेको बताए। धेरै मान्छे बसाइँसराइ गरी अन्तै गएपछि गाउँमा अहिले थोरै सङ्ख्यामा मात्रै मान्छे रहेको उनको भनाइ छ । गाउँमा बस्ने अधिकांशको जीविकोपार्जन खेतीपाती गरेर नै हुने भन्दै बारीमा लगाउने बालीनालीदेखि तरकारी सबै बाँदरले नष्ट गरिदिने सुवेदीले गुनासो पोखे । बालीनाली जोगाउन एक–दुईजना कुरुवा अनिर्वाय राख्नुपर्ने उनले बताए । आजभोलि बाँदर निकै चलाख र बाठो हुँदै गएपछि मान्छेलाई समेत नटेर्ने सुवेदी बताउँछन् । उनले भने, ‘हिउँदबर्खा बाह्रै महिना बाँदर लाग्छ, कुरुवा नबस्ने हो भने एकैछिनमा सबै बाली नष्ट गरिदिन्छ, बारीमा गयो बारीमै, घरमा आयो घरमै बाँदरको आतङ्क निकै बढ्यो, बूढाबूढीलाई कोपार्न, चिर्थोनसमेत आउने गरेको छ, बाँदरले हामीलाई निकै समस्या बनायो, सुरुसुरुमा बाँदर धपाउने बन्दुक पट्काउँदा डराउँथे, अहिले त डराउनै छाडे, घरको आँटीमै आएर बस्छ, अन्नपात निकालेर खाइदिन्छ, साँझ आउदा केही बाँकी राख्दैन ।’ जैमिनी नगरपालिकाले बाँदर नियन्त्रणका लागि ‘मङ्की पार्क’ बनाउने योजना बनाएको छ । जैमिनी, काठेखोलालगायत जिल्लाभर बाँदर आतङ्क बढ्दो छ । बाँदर नियन्त्रणका लागि काठेखोला गाउँपालिकाले पनि जङ्गलमा फलफूलका बिरुवा रोप्ने योजना बनाएको गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा ९तिलक० ले जानकारी दिए । पछिल्लो केही वर्षयता बाँदरले धेरै किसान र ग्रामीण भेगका धेरै नागरिकलाई दुःख दिइराखेको भन्दै यस समस्या समाधान गर्नतर्फ गाउँपालिका गम्भीर भएर लागेको सुनाए । ‘बाँदर आतङ्क रोक्नका लागि पालिकामा धेरैपटक छलफल भएको छ, अहिले यसरी बाँदर आतङ्क बढेको मान्छेहरूले गाउँ छाड्नु प्रमुख कारण हो, अब गाउँपालिकाले जङ्गलमा फलफूलको बिरुवा रोप्ने र जङ्गलमै बाँदर भुलाउने खालको योजना बनाएका छौँ’, उनले भने, ‘विज्ञहरूसँग पनि बहस गरिरहेका छौँ, सुझाव लिइरहेका छौँ, ढिलोचाँडो उपाय निस्किन्छ, त्यसपछि हामीहरू नियन्त्रणमा लाग्छौँ ।’ रासस

शिक्षक अभाव हुँदा दैनिक पठनपाठनमा समस्या

फाइल फोटो वराहक्षेत्र । नेपालको ‘श्रीलङ्का टापु’ भनेर चिनिने वराहक्षेत्र नगरपालिकाको वडा नं ६ स्थित आधारभूत तहको विद्यालय सञ्चालन गर्न पनि जनशक्ति अभाव भएको छ । सप्तकोशीपारिको एक मात्र सो जनता आधारभूत विद्यालयमा शिक्षक अभाव हुँदा दैनिक पठनपाठनमा समस्या भएको हो । आवश्यकताअनुसारका शिक्षक नहुँदा विद्यालयको पठनपाठनमा बाधा पुगिरहेको विद्यालयका प्रधानाध्यापक सन्तोष कर्माकारले जानकारी दिए । उनले भने, ‘हामीले वर्षौँदेखि प्राथमिक तह ९प्रावि० दरबन्दीका शिक्षकबाट नै आधारभूत तहसम्म अध्यापन गराइरहेका छौँ ।’ कक्षा ५ सम्म पढाउने क्षमता भएका शिक्षकले ८ कक्षासम्म पढाइरहनुपर्दा विद्यार्थीको सिकाइमा नकारात्मक प्रभाव पार्ने उनको भनाइ छ । ‘हामीले सकी नसकी पढाउन त पढाइरहेकै छौँ’, उनले भने, ‘राज्यले पर्याप्त दरबन्दी नदिँदा अदक्ष शिक्षकबाटै भए पनि काम चलाइरहनुपरेको छ । यो हाम्रो बाध्यता हो ।’ वराहक्षेत्र नगरपालिकाको वडा नं ६ र ९ श्रीलङ्का टापुलाई कोशीटप्पु पनि भन्ने गरिन्छ । यहाँ दुई हजारभन्दा बढी जनसङ्ख्या छ । विद्यालयका शिक्षक सन्तोष चन्द्रवंशीका अनुसार श्रीलङ्का टापुभरिमा तीनवटा सामुदायिक विद्यालय छन्, यसमा दुईवटा प्राथमिक तहका विद्यालय छन् भने एउटा आधारभूत तहको विद्यालय छ । जनता आधारभूत विद्यालयले २०६६ सालदेखि यस क्षेत्रका विद्यार्थीलाई कक्षा ८ सम्म अध्यापन गराउँदै आएको छ । तथापि शैक्षिकसत्र २०७८÷७९ देखि नगरपालिकाको शिक्षा शाखाले शिक्षण सहयोग अनुदान भनेर एउटा निमावि ९आधारभूत० दरबन्दी दिएको प्रधानाध्यापक कर्माकारले जानकारी दिए । उनले भने, ‘आधारभूत तह चलाउनै गाह्रो छ । त्यसै कारण गुणस्तरीय शिक्षा पनि दिन सकिएको छैन ।’ वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले दरबन्दी आवश्यकतालाई पूर्ति गर्ने बताएका छन् । उनले भने, ‘दरबन्दीको आवश्यकता पूरा गर्दै आगामी शैक्षिकसत्रदेखि यस विद्यालयमा कक्षा ९ थप्नेसमेतको योजना छ ।’ सप्तकोशी नदीले धार परिवर्तन गर्दा बनेको श्रीलङ्का टापु जान कोशीमा डुङ्गा चढेर जानुपर्छ । वर्षात्का समयमा डुङ्गा पनि प्रयोग गर्न गाह्रो हुने भएकाले यातायातको निकै समस्या रहेको कोशी प्रदेशसभा सदस्य सदानन्द मण्डलले जानकारी दिए । उनले तरकारी खेतीका लागि निकै प्रख्यात सो क्षेत्रका किसानलाई आफ्ना उत्पादन बजारसम्म लैजान समस्या भएको बताए । उनले भने, ‘किसानले मेहनतअनुसारको मूल्य समेत पाएका छैनन् । सप्तकोशी नदीमा झोलुङ्गे पुलको आवश्यकता छ । रासस

एनएमबि बैंकले डाक्यो २८औं साधारणसभा, मुख्य एजेण्डा के के छन् ?

काठमाडौं । एनएमबि बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको मंसिर २७ गते बसेको बैठकले २८औं वार्षिक साधारण सभा पुस २६ गते राष्ट्रिय सभागृह काठमाडौंमा बिहान १० बजे बोलाएको हो । बैंकको सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । यस्तै, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ । यस्तै, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने २ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना गरी ५ जना सञ्चालकको निर्वाचन गर्नेछ । बैंकले वार्षिक साधारणसभा प्रयोजनका लागि पुस ६ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पुस ५ गतेसम्म कायम सेयरधनीहरूले मात्रै बैंकको साधारणसभामा सहभागी हुन सक्ने छन् ।

युनिक नेपाल लघुवित्तको २० प्रतिशत लाभांश गायब

  काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको गत भदौ ३० गते बसेको सञ्चालक समितिले लाभांश वितरण गर्ने निर्णय गर्याे । लघुवित्त संस्थाले सेयरधनीहरूलाई बोनस सेयर र नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । ‘विभिन्न कारणहरूले स्थापना कालदेखि हाल पाँच वर्षसम्म सेयरधनीहरूलाई लाभांस वितरण नगरेको हुनाले गत आर्थिक वर्ष २०७९/८०सम्मको लाभांश बाँड्ने मिल्ने कोष र नेपाल राष्ट्र बैंकले पछिल्लो पटक जारी गरेको निर्देशन समेतलाई ध्यानमा राखी यो वर्ष सेयर बोनस र कर प्रयोजनको नगद लाभांस सहितको २० प्रतिशतसम्म बाड्नको लागि नेपाल राष्ट्र बैंकमा प्रस्ताव पेश गर्ने निर्णय गरियो,’ लघुवित्तले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मार्फत् सार्वजनिक गरेको सूचनामा उल्लेख छ । लघुवित्तले उक्त सूचनामा कति प्रतिशत बोनस सेयर र कति प्रतिशत नगद लाभांश वितरण गर्ने भनेर स्पष्ट खुलाएको छैन । लघुवित्तले लाभांश घोषणा गरेको ३ महिना भयो । योबिचमा यस विषयमा लगानीकर्तालाई कुनै जानकारी पनि गराइएन । तर, तीन महिनापछि आज पुस १ गते सूचना प्रकाशन गरी लाभांशको एजेण्डा बिना नै वार्षिक साधारणसभा आह्वान गर्याे । लघुवित्तको मंसिर ३० गते बसेको सञ्चालक समितिको बैठकले पाँचौं वार्षिक साधारणसभा पुस २४ गते कोहलपुर बाँकेमा बिहान १० बजे बोलाएको छ । तर, लघुवित्तले २० प्रतिशत लाभांश वितरणको एजेण्डा नराखि साधारणसभ आह्वान गरेको हो । लघुवित्तका कार्यकारी निर्देशक डा.गोपाल दहितले लाभांशको एजेण्डा हटाएको र आउने वर्ष मात्रै वितरण गर्ने बताए । ‘लाभांश घोषणा गरेर पनि प्राविधिक कारणले बाँड्न नसक्ने भयौं, मर्जर गर्ने तयारीमा छौं, त्यसैले लाभांशको एजेण्डालाई पछि धकेलेको हो, अहिले मर्जरको अभियान नै चलेको छ, मर्जर सम्पन्न भएपछि बाँड्छौं,’ उनले भने । लघुवित्तको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव राखेको छ । यस्तै, सभाले कुनै उपयुक्त संस्थासँग मर्जर तथा एक्विजिशन गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिनेछ । लघुवित्तले वार्षिक साधारणसभा प्रयोजनका लागि पुस १२ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेप्सेमा मंसिर ११ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी हुन सक्ने छन् । युनिक लघुवित्तले २० प्रतिशत बोनस दिने

४ सय रुपैयाँमा नेपाल लाइफको ५ लाख २३ हजार कित्ता सेयर लिलामीमा

काठमाडौं । प्रुडेन्सियल यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि.ले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा रहेको सेयर बिक्री गर्ने भएको छ । कम्पनीले इन्स्योरेन्समा रहेको आफ्नो ५ लाख २३ हजार ११२ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । इन्स्योरेन्स कम्पनीका अनुसार आज पुस १ गतेदेखि संस्थापक समूहतर्फको सेयर लिलाम प्रक्रियाबाट बिक्रीमा राखिएको हो । कम्पनीको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ४ सय रुपैयाँ तोकिएको छ । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । ईच्छुक संस्थापकले खरीद गर्न चाहेको प्रतिकित्ता मूल्य उल्लेख गरी आवश्यक कागजातसहित पुस ६ गतेभित्र निवेदन दिन कम्पनीले आग्रह गरेको छ । लगानीकर्ताले न्यूनतम ५० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्।

भुक्तानीका लागि डिडिसीले माग्यो ऋण

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले मौज्दात रहेको दुग्ध पदार्थका आधारमा सहुलियतपूर्ण ऋण उपलब्ध गराइदिन कृषि तथा पशुपन्छी मन्त्रालयमा निवेदन दिएको छ । दुग्ध पदार्थ अत्यधिक मौज्दात रहेका कारण लामो समयदेखि किसानको भुक्तानी गर्न नसकेको डिडिसीले सो भुक्तानीका लागि ऋणको आवश्यकता रहेको भन्दै कृषि मन्त्रालयमा निवेदन दिएको छ । डिडिसीका महाप्रबन्धक सञ्जीव झाका अनुसार डिडिसीसँग ७२ करोड रुपियाँ बराबरको दुग्ध पदार्थ मौज्दात रहेको जानकारी कृषि मन्त्रालयलाई जानकारी गराएको छ । मौज्दात रहेको दुग्ध पदार्थ धरौटी राखेर ऋण उपलब्ध गराइदिन आग्रह गरिएको उनले बताए । त्यसबापत कम्तीमा ३० करोड रुपियाँ सहुलियत ऋण उपलब्ध गराइदिन आग्रह गरिएको महाप्रबन्धक झाले बताए । केही दिनपहिले कृषिमन्त्री डा.वेदुराम भुसालले डेरी उद्योगीसँग छलफल गर्दै मौज्दातका आधारमा आफूले सहुलियत ऋण उपलब्ध गराउन पहल गर्ने र त्यसका लागि मौज्दातको तथ्याङ्क मन्त्रालयलाई उपलब्ध गराउन आग्रह गरेका थिए । डेरी उद्योगीसँग मौज्दात रहेको दुग्ध पदार्थ बैङ्कमा धरौटी राखेर ऋण उपलब्ध गराउन पहल गर्ने मन्त्री भुसालले आवश्वासन दिएको थिए । आग्रह गरेको दुई महिनाभन्दा बढी भइसक्यो तर हालसम्म निजी क्षेत्रका डेरी उद्योगीले तथ्याङ्क उपलब्ध नगराएको कृषि मन्त्रालयले जनाएको छ । डिडिसीबाहेकका कुनै पनि उद्योगीले मौज्दातको अवस्थाबारे तथ्याङ्क उपलब्ध नगराएको कृषि मन्त्रालयका एक अधिकारीले बताए । डिडिसीले मात्र किसानलाई भुक्तानी गर्न ७० करोड रुपियाँ बाँकी रहेको छ भने निजी क्षेत्रका कतिपय उद्योगीले पनि किसानको भुक्तानी दिएका छैनन् । किसानको भुक्तानी दिन कृषिमन्त्रीले उद्योगीलाई पटक पटक आग्रह गर्दै आएका छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

हिमालयन रिइन्स्योरेन्सको आईपीओमा आवेदन दिने समय लम्बियो

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओमा आवेदन दिने समय लम्बिएको छ । मंसिर २७ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा अब सर्वसाधारण लगानीकर्ताहरूले पुस ११ गतेसम्म आवेदन दिन सक्ने छन् । साथै, आवश्यक संख्यामा आवेदन प्राप्त भएपश्चात सो सम्बन्धी सार्वजनिक सूचना प्रकाशन गरी निष्काशन खुल्ला भएको ४ कार्यदिनपश्चात कुनै पनि दिन निष्काशन बन्द गरिने कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको अंकित मूल्य १ सय रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा ३ करोड कित्ता सेयर बिक्री गरेको हो । दोस्रो चरणमा कम्पनीले २ प्रतिशत अर्थात् ६ लाख कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् १५ लाख कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी रहेको २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सक्ने छन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत् खरिद आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।