कृषि पेसामा रमाएका खड्का दम्पती, मनग्य आम्दानी
त्रिवेणी । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४ जुगेपानीका चन्द्रबहादुर खड्का र उनकी श्रीमती लालकुमारीले खड्का कृषि पेसामा रमाएका छन् । बाउन्न वर्षीय चन्द्रबहादुर ३७ वर्षको हुँदादेखि कृषि पेसामा आवद्ध छन् । अहिले पनि उनको कृषि पेसा प्रतिको जागर र लगाव देख्दा युवाअवस्थाको भन्दाकम छैन् । खड्का दम्पतीले खाना बस्न भन्दा पनि बारीमा उत्पादित तरकारी र फलफुलको बढी चिन्ता लाग्ने गरेको सुनाउँछन् । सुन्तला टिप्ने सिजन आएकाले कामको चाप झन बढेको चन्द्रबहादुरले बताए । ‘बगैँचा नजिकै एउटा सानो बस्न मिल्ने घर छ । जाडोको समय यहाँ रातभर बस्न सकिँदैन, त्यसैले ११/१२ बजेतिर आएर कसैले सुन्तला चोरी गरेका छन्छै/नन् हेरेर जान्छु । अहिले सिजन भएकाले बारीको रेखदेख गर्नुपर्छ’, उनले भने । चन्द्रबहादुरको बारीमा तरकारीका साथै विभिन्न प्रकारका फलफुल खेती हुने गरेको छ । उनको बारीमा प्रवेश गर्नेलाई वरपरको वातावरण अवलोकन गर्दा आनन्द महसुस हुने स्थानीय बताउँछन् । बारीमा सुन्तला बगैँचाका साथै अमिलो, कागती, अलैँची, टिमुर, काठको मुढामा उत्पादन हुने सिताके च्याउ, गोलभेँडा, बन्दागोभी फूलगोभी, खुर्सानी तथा विभिन्न घाँस र फलफुलका नर्सरी राखेर बिक्री गर्ने गरिएको उनले बताए । ‘विगत १५ वर्षदेखि कृषि पेसामा आवद्ध छौँ । पहिले सानो छँदा बाबाले थोरै जग्गामा सुन्तला लगाउनु भएको थियो । बाबाले लगाएको सुन्तलाको उत्पादन देखेर व्यावसायिक रुपमा सुन्तला खेती गर्ने हौसला मिलेको हो’, चन्द्रबहादुरले भने, ‘मेरो काममा श्रीमतीले सधैँ साथ छ । काम विशेषले घरबाहिर घुम्न जान्नुपर्यो भने खेतबारी तथा बगैँचाको रेखदेख श्रीमतीले गछिन् ।’ खड्का दम्पतीको सात जनाको परिवारमा दुई छोरीको विवाह भइसकेको छ । एक छोरी र एक छोरा पढाइको सिलसिलामा जिल्ला बाहिर बस्छन् भने एक छोराले रोजगारी गर्छन् । कृषि पेसामा निकै खुसी मिलेको चन्द्रबहादुरको भनाइ थियो । ‘कान्छो छोराले अमेरिका जान्छु भनिरहन्छ । म नेपालमै बसेर स्वरोजगार बन्न सकिन्छ भनेर नपठाउने योजनामा छु । म दुवै छोरालाई विदेश पठाउँदैन् । स्वदेशमै दुःख गरेर कमाउन सकिन्छ । उनीहरुलाई पनि व्यावसायिक कृषि पेसामा आवद्ध गराउने हो’, उनले भने । खड्काकी श्रीमती लालकुमारीले पनि छोराहरुले अर्काको देशमा दुःख पाउनु भन्दा आफ्नै ठाउँमा केही न केही गरेको हेर्ने रहर भएको सुनाए । मनै लोभ्याउने सुन्तला बगैँचा विसं २०६२ देखि व्यावसायिक सुन्तला खेती गर्नुभएका खड्काको बारीमा अहिले तीन हजार छ सय सुन्तलाका बोट छन् । जसमध्ये करिब पाँच सय बोटले फल दिन सुरु गरिसकेका छन् । अन्य साना बोटले पनि दुई वर्षभित्र फल दिन सुरु गर्ने चन्द्रबहादुरले बताए । गतवर्ष ३६ क्विन्टल सुन्तला उत्पादन भएकामा यस वर्ष राम्रो फल लागेकाले ५० क्विन्टल बिक्री गर्ने योजना रहेको उनको भनाइ थियो । गतवर्ष सुन्तला बिक्रीबाट रू तीन लाख ७५ हजार कमाइ भएको जनाउँदै चन्द्रबहादुरले यस वर्ष दोब्बर आम्दानी हुने आशा गरिएको बताए । बारीबाटै रू ४५ देखि ५० सम्म प्रतिकिलो बिक्री हुने गरेको उनले बताए । उनका अनुसार सुन्तला खरिद गर्न दाङ, सल्यानलगायत स्थानबाट व्यापारी आउने गरेका छन् । चन्द्रबहादुरले अलैँची, अमिलो, टिमुरलगायत फलफूलबाट पनि उत्तिकै आम्दानी गरेका छन् । गत वर्ष अलैँची चार क्विन्टल भन्दा बढी अर्थात चार सय सात किलो बिक्री गरेर रू पाँच लाख आम्दानी गरेको सुनाए । अलैँची पनि गाउँबाटै प्रतिकिलो रू एक हजार तीन सयमा बिक्री हुने गरेको उनको भनाइ थियो । हिउँदे तरकारीबाट तीन लाख र फूलफूलका (कागती, सुन्तला, अमिलो, डाले घाँस) नर्सरी बिक्रीबाट रू १७ लाख, खसीबोका बिक्रीबाट वार्षिक रू तीन लाख ५० हजार आम्दानी हुने गरेको चन्द्रबहादुरले जानकारी दिए । उनका अनुसार वार्षिक रू ३५ देखि ४० लाखसम्म आम्दानी हुने गरेको छ । चन्द्रबहादुरले ६२ रोपनीमा सुन्तला खेती विस्तार गरेका छन् । बाँकी रहेको पाखो पारीमा पनि थप खेती विस्तार गर्ने योजना रहेको उनले बताए । आफूले व्यावसायिक रुपमा कृषि पेसा गरे पनि वास्तविक कृृषि पेसामा आवद्ध किसानले अनुदानका कार्यक्रम नपाउने गरेकामा उनले दुखेसो पोखे । अनुदानका कार्यक्रम आए पनि पहुँचवालालाई मात्र सम्मेटने गरिएको चन्द्रबहादुरको गुनासो थियो । धेरै मेहनतपछि कृषि विकास कार्यालय रुकुमपश्चिमबाट ५० प्रतिशत अनुदानमा एउटा टनेल, सिँचाइ पोखरी र बाख्रापालनको लागि भकारो सुधार कार्यक्रमअन्तर्गत अनुदानमा पाएको उनले जानकारी दिए । एकजनालाई रोजगारी परिवारका सदस्यले मात्र घर तथा कृषि क्षेत्रको काम तथा बारीको रेखदेख गर्न नसकिने भएपछि खड्का दम्पतीले एकजनालाई वार्षिक रुपमा रोजगारी दिएका छन् । मासिक रू १२ हजारका दरले एक जना कामदारले काम गरिरहेका उनले बताए । कामको चाप बढेकाले थप कामदार राख्ने योजना बनाइएको उनको भनाइ थियो । ‘वार्षिक एकजना कामदार लगाए पनि सुन्तला टिप्ने सिजनमा भने एक हप्तासम्म १० जना भन्दा धेरै कामदार लाग्ने गरेका छन्’, चन्द्रबहादुरले भने । अलैँची खन्ने सिजनमा पनि थप कामदार लगाउने गरेको उनले बताए । ग्रामीण सडक व्यवस्थित नहुँदा उत्पादन भएका तरकारी तथा फलफूल सडकसम्म पु¥याउन समस्या हुने गरेको उनको भनाइ थियो । सोही ठाउँका किसान टेकबहादुर खड्काले पनि सुन्तला र अलैँची मनग्य उत्पादन हुने गरेको बताए । गत वर्ष २५ क्विन्टल सुन्तला र दुई सय ४० किलो अलैँची बिक्री गरेर रू पाँच लाख आम्दानी गरेको उनले बताए । वडामा छैन तथ्याङ्क किसानले उत्पादन तथा बिक्री गर्ने कृषिजन्यवस्तुको वडा कार्यालयले कुनै तथ्याङ्क राखेको छैन् । वडामा किसानले धेरै मात्रामा सुन्तला तथा अलैँची व्यावसायिकरुपमा खेती गर्ने गरे पनि कार्यालयले यकिन तथ्याङ्क नराख्दा कति रकम भित्रियो भन्ने विवरण नभएको हो । वडाका धेरै किसानले सुन्तला, अलैँची तथा अन्य तरकारी लगाउने गरेपनि यसको विवरण नरहेको वडा अध्यक्ष नन्नराम बाँठाले बताए। ‘किसानले उत्पादन गरेको कृषिजन्यवस्तु आफैँ बिक्री गर्ने गरेका छन् । कति उत्पादन हुन्छ रु कति बिक्री गर्नुहुन्छ यसको वडामा विवरण छैन्’, उनले भने । उत्पादन गरिएका वस्तुको बजार व्यवस्थापन तथा अन्य समन्वयलगायत काममा वडाले सहयोग नगरेको उनको भनाइ थियो । एउटै वडाबाट एक करोड २० लाखको सुन्तला बिक्री त्रिवेणी गाउँपालिकाको कृषि शाखा कार्यालयले भने ४ नं वडाका किसानले मात्रै गतवर्ष रू एक करोड २० लाखको सुन्तला बिक्री गरेका जनाएको छ । शाखा प्रमुख रमेश पुनका अनुसार वडामा व्यावसायिक सुन्लता खेती गर्ने ५० घरधुरी छन् । प्रत्येक किसानले पाँच रोपनी भन्दा बढी जग्गामा खेती गर्ने गरेका छन् । पाँच रोपनीमा ४० देखि ४८ क्विन्टल सुन्तला उत्पादन हुने गरेको पुनले जानकारी दिए । उनका अनुसार वडामा चार सय रोपनी अर्थात २० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । गतवर्ष वडामा दुई हजार चार सय क्विन्टल सुन्तला उत्पादन भएको थियो । यसवर्ष सुन्तलाले फल राम्रो दिएकाले गतवर्ष भन्दा बढी उत्पादन हुने अनुमान गरिएको पुनको भनाइ थियो । गाउँबाटै प्रतिकिलो रू ५० का दरले व्यापारीले सुन्तला खरिद गर्ने गरेका भन्दै किसानलाई बजारको समस्या नरहेको कृषि शाखा प्रमुख पुनले जानकारी दिए । रासस
सुन्तलाको मूल्य निर्धारण, प्रतिकिलो न्यूनतम ८० रुपैयाँ कायम
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनामा सुन्तलाको न्यूनतम मूल्य निर्धारण गरिएको छ । मूल्यमा एकरुपता कायम गर्न, किसानको सहजता र सस्तोमा सुन्तला बेच्नुपर्ने समस्या हटाउनका लागि वडाका जनप्रतिनिधि तथा किसान समूहले मूल्य निर्धारण गरेका हुन् । बेनी–४ का वडा सदस्य सन्दिप खत्रीका अनुसार हाल सुन्तलाको मूल्य प्रतिकिलो न्यूनतम रु ८० कायम गरिएको छ। यसअघि यहाँ गत मङ्सिरमा सुन्तला नपाक्दै बिक्री गर्न थालिएको थियो । ‘किसानले ब्यापारीले जति भन्यो त्यति मूल्यमै सुन्तला बेच्ने गरेका थिए,’ उनले भने । म्याग्दीका अन्य ठाउँका किसानले भने ब्यापारीले भनेको मूल्यमै सुन्तला बिक्री गर्ने गरेका छन् । बास्कुनामा जिल्लामै पहिलो पटक सुन्तलाको न्यूनतम मूल्य निर्धारण गरिएको हो । गत वर्ष यहाँ सुन्तला प्रतिकिलो रु ६५ देखि रु ७५ मा बिक्री भएको थियो । व्यापारीले सुन्तला नटिप्दै अगाडी नै पैसा दिएर खरिद गरिसकेका किसान भीम थापाले बताए । यहाँको सुन्तला पोखरा, चितवन, काठमाडौँलगायत ठाउँमा बिक्रीका लागि लग्ने गरिएको उनले जानकारी दिए । आगामी सातादेखि सुन्तला टिपेर बजार पठाउने तयारी गरिएको छ। बास्कुना, सुर्केमेला र थामडाँडाका चालीस परिवारले आठ हेक्टर जग्गामा सुन्तलाखेती गरेका छन् । पछिल्लो एक वर्षमा एक हजार नयाँ बिरुवा थपिएका छन् । गत वर्ष तीन वटा गाउँबाट रु एक करोड मूल्य बराबरको सुन्तला बिक्री भएको खत्रीले बताए । परम्परागत खाद्यबालीको विकल्पमा व्यावसायिक सुन्तला खेतीबाट जीवनस्तरमा परिवर्तन आएको छ । यहाँका बासिन्दाले धान, मकै र कोदो बाली रोप्न छाडेर सुन्तला रोप्न थालेका छन् । वार्षिक दश मुरी धान फल्ने खेतमा चार सय सुन्तलाका बिरुवा रोपेको बास्कुनाकी तिलकुमारी हुमेनले बताइन् । गत वर्ष रु सात लाख मूल्य बराबरको सुन्तला बिक्री गरेको उनको भनाइ छ । ‘छोरा विदेशिए, छोरीको बिहे भएपछि बाँझिएको खेतमा झाडी फाँडेर सुन बेचेर सुन्तलाका बिरुवा रोपेँ’, उनले भनिन् । बास्कुना गाउँभरि सुन्तला खेती गरिएको छ । कृषि ज्ञान केन्द्रले बास्कुनालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बल्क कार्यक्रममा समेटेको छ । सुन्तला बगैँचा व्यवस्थापन गर्ने औजारका साथै झर्याङ, क्रेट, झरेका सुन्तलाको दाना व्यवस्थापन गर्ने पलास्टिकको थैलीलगायतका सामग्री सहयोग गरेको केन्द्रले जनाएको छ। प्रदेश सरकारमार्फत दुई वर्षअघि बास्कुना, सुर्केमेला र थामडाँडाका लागि बालमखोला सिँचाइ आयोजना निर्माण गरिएको छ । बेनी–थामडाँडा–बरंजा सडक स्तरोन्नति नहुँदा भने सुन्तला बिक्री गर्न बजार लैजान समस्या भएको स्थानीय भीम गुरुङले गुनासो गरे । रासस
उखु किसानले २० करोड अनुदान पाउन बाँकी
सर्लाही । सर्लाहीका उखु उत्पादक किसानले गत वर्ष बिक्री गरेको उखुको अनुदानबापतको रकम रु २० करोडभन्दा बढी भुक्तानी लिन बाँकी रहेको छ । जिल्लाका १७ हजार ३० किसानले चिनी उद्योगलाई उखु बिक्री गरेबापत प्रतिक्विन्टल रु ७० का दरले पाउनुपर्ने रु २९ करोड २५ लाख ५२ हजार सात सय ४९ मध्ये हालसम्म रु २० करोड २५ लाख ५२ हजार सात सय ४९ निकासा हुन बाँकी रहेको नेपाल उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनी मैनालीले जानकारी दिए । उनका अनुसार प्रतिक्विन्टल अनुदानबापत रु ७० का दरले पाउनुपर्ने रु २९ करोड २५ लाख ५२ हजार सात सय ४९ मध्ये प्रतिक्विन्टल अनुदानबापतको रकम रु ४९ का दरले रु २० करोड २५ लाख ५२ हजार सात सय ४९ भुक्तानी हुन बाँकी रहेको हो । जिल्लामा रहेका इन्दुशङ्कर चिनी उद्योग हरिवन, महालक्ष्मी चिनी उद्योग र अन्नपूर्ण चिनी उद्योग गरी तीनवटा चिनी मिलमा गत वर्ष उखु बेचेका १७ हजार ३० किसानले प्रतिक्विन्टल अनुदानबापतको रकम रु २१ का दरले रु नौ करोड ११ लाख २६ हजार छ सय ३८ मात्रै हालसम्म प्राप्त गरेका मिलगेट उखु उत्पादक समितिका जिल्ला अध्यक्ष राजकुमार उप्रेतीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बैठक बसेर मन्त्रालयबाट प्राप्त सो रकम जिल्लाका उखु उत्पादक किसानलाई ३० प्रतिशतका दरले वितरण गर्ने निर्णय गरेपछि कोष तथा लेखानियन्त्रकको कार्यालयले अनुदानबापतको रकम रु नौ करोड ११ लाख २६ हजार छ सय ३८ भुक्तानी गरेको कार्यालय प्रमुख एवं कोष नियन्त्रक निर्मल न्यौपानेले बताए । उनका अनुसार किसानका लागि अनुदानबापत करिब रु २० करोड १४ लाख २६ हजार एक सय ११ आउन बाँकी रहेको छ । यता राज्यले दिनुपर्ने अनुदानबापतको गत वर्षको रकम यथाशीघ्र भुक्तानी हुनुपर्ने र यस वर्षको उखुको मूल्य रु सात सय ५० कायम हुनुपर्ने माग राख्दै जिल्लाका उखु उत्पादक किसान गत शनिबारदेखि सडक आन्दोलनमा होमिएका किसान अगुवा ताराराज पन्त (अर्जुन)ले बताए । उनका अनुसार आफूहरूका माग सम्बोधन नहुँदासम्म आफ्ना आन्दोलनका कार्यक्रम जारी रहनेछन् । त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा बालुवाटारमा अर्थ, कृषि तथा पशुपक्षीमन्त्री तथा विभिन्न मन्त्रालयका सचिबबीच उखु उत्पादक किसानले गत वर्ष बिक्री गरेको उखुुको अनुदानबापतको राज्यले दिनुपर्ने रकम रु ५२ करोड तत्काल भुक्तानी गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । सो निर्णयपछि पनि उखु उत्पादक किसानको आन्दोलन रोकिएको छैन । आफूहरूकोे खातामा अनुदानबापतको रकम नआउँदासम्म र चालु वर्षका लागि उखुको समर्थन मूल्य रु सात सय ५० नतोकिँदासम्म आन्दोलन जारी रहने महासङ्घका अध्यक्ष मैनालीले बताए । रासस
सोल्टी होटलको सेयर मूल्य समायोजन
काठमाडौं । सोल्टी होटलको सेयर मूल्य समायोजन भएको छ । ५ प्रतिशत बोनसको लागि होटलको सेयर मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै होटलको सेयर मूल्य प्रतिकित्ता ४८२.८६ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ५०७ रुपैयाँ थियो । यससँगै अबको बजारमा होटलको पहिलो कारोबार प्रतिकित्ता ४८२.८६ रुपैयाँलाई आधार मानेर हुने छ ।
सस्तोमा औषधि बेच्न घर भाडामा लिँदै काठमाडौं महानगर, तोक्यो मापदण्डसहितको स्थान
काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंवासीलाई सस्तोमा औषधि बिक्री गर्न घर भाडामा लिने भएको छ । महागनरले सुलभ फार्मेसी स्थापनाका लागि घर भाडामा लिन लागेको हो । बुधबार एक सूचना जारी गर्दै महानगरले महानगरपालिका भित्रका ५ स्थानहरुमा सुलभ फार्मेसी स्थापना गर्ने स्वर्णिम योजना अनुसार महाराजगञ्ज, वीर अस्पताल, कालीमाटी, लैनचौर क्षेत्रमा घर भाडामा लिन लागेको जानकारी गराएको हो । महानगरले महाराजगञ्ज क्षेत्रको वडा नं. ३, वीर अस्पताल क्षेत्रको वडा नं. २२, कालीमाटी क्षेत्रको वडा नं. १३ र लैनचौर क्षेत्रको वडा नं. २६ को स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट १०० देखि २०० मिटर भित्रका क्षेत्रको घर भाडामा लिने भनेर प्रष्ट बताएको छ । भाडामा लिने घरको आवश्यक न्यूनतम मापदण्डहरू महानगरका अनुसार भाडामा लिने घरको क्षेत्रफल न्यूनतम ८०० ( आठ सय) देखि १२०० (बाह्र सय) वर्ग फिट भएको तथा नक्सा पास हुनुपर्नेछ । कम्तीमा ३ (तीन) वटा कार तथा ५ वटासम्म दुई पाङ्ग्रे सवारी पार्किङ गर्न मिल्ने पार्किङ स्थान भएको हुनुपर्ने र मुख्य सडक वा कम्तीमा ६ मिटर फराकिलो सडकको किनारा रहेको घर हुनुपर्ने महानगरको मापदण्ड छ । त्यस्तै, घर, जग्गाको कर नियमानुसार भुक्तानी भएको, बिजुली बत्ती, पानी, तथा शौचालय (सकेसम्म फरक क्षमतामैत्री समेत) भएको र घर कम्पनी वा व्यक्तिको नाममा रहेको हुनुपर्नेछ बताइएको छ । त्यसैगरी, स्वास्थ्य प्रवर्द्धन केन्द्रसँग जोडिएको वा सँगै रहेको भवनलाई प्राथमिकता दिइने महानगरले जारी गरेको सूचनामा उल्लेख छ । महानगरले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र मासिक के कति दरमा दिन सकिने हो, सो उल्लेख गरी गोप्य सिलबन्दी खामसहित काठमाडौं महानगरपालिकाको कार्यालय स्वास्थ्य विभागमा दर्ता गराउन आग्रह गरेको छ ।
पशुपति क्षेत्र विकास कोषको सय बढी सल्लाहकार खारेज
काठमाडौं । विभिन्न समयमा नियुक्त गरिएका पशुपति क्षेत्र विकास कोषका सल्लाहकारहरु खारेज गर्ने निर्णय भएको छ । आज बसेको कोषको परिषद बैठकले यसभन्दा अगाडि गरिएका सल्लहकार नियुक्तिको निर्णयलाई खारेज गरेको हो । राज संस्थाका पाला देखि हालसम्म विभिन्न समयमा नियुक्त गरिएका सय बढी सल्लाहकार खारेज गरिको विकासकोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको सचीवलयले जनाएको छ । परिषद बैठकले पशुपति क्षेत्र परिषदमा मदिरा विक्री वितरण समेत बन्देज गर्ने निर्णय गरेको छ । बैठकले पशुपति दर्शन तथा अवलोकनमा आउने दर्शनार्थी र पर्यटकहरुको सुरक्षाका लागि सुरक्षा पोष्टहरु निर्मान गर्ने समेत निर्णय गरेको ।
मेलम्चीको पानी चाँडै काठमाडौं ल्याउने तयारी
काठमाडौं । मेलम्ची खानेपानी विकास समिति पानीपोखरीले अबको २८ दिनभित्रमा काठमाडौंमा मेलम्चीको पानी ल्याउने तयारी भइरहेको जनाएको छ । आयोजना र ठेकेदार कम्पनीबीच सहमति भएकाले २८ दिनभित्र पानी पथान्तरण गरिसक्ने गरी तयारी थालिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । आकस्मिक परिस्थिति पर्न नआएको अवस्थामा निर्धारित समयभित्र काठमाडौंका घरघरमा मेलम्चीको पानी पुग्ने उनको भनाइ थियो । समितिले एक विज्ञप्ति प्रकाशित गरी खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा बसेको बोर्ड बैठकबाट निर्माण व्यवसायीसँग समझदारीपत्रमा हस्ताक्षर गरी तत्काल निर्माण क्षेत्रमा परिचालनका लागि आवश्यक सहजीकरण र समन्वय गर्ने निर्णय भएको उल्लेख गरेको छ । ‘सहमति अनुसार निर्माण व्यवसायी तत्कालै निर्माण क्षेत्रमा परिचालन हुनेछ । अबको २८ दिनको दु्रत कार्यतालिका अनुसार दुई सिफ्टमा जनशक्ति परिचालन गरी पानी पथान्तरणका लागि आवश्यक कार्य सम्पन्न गर्ने गरी काम गरिनेछ’, प्रवक्ता पन्तले भने । पथान्तरण पश्चात् मेलम्ची नदीको पानी दैनिक १७ करोड लिटरका दरले उपलब्ध गराइने छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडबाट सुन्दरीजल पानी प्रशोधन केन्द्रमा प्रशोधन गरी उपत्यकामा वितरणका लागि पुनः उपलब्ध हुने उक्त विज्ञप्तिमार्फत जनाइएको छ । गत असार ८ गते वर्षायामको जोखिमलाई ध्यान दिएर सुरुङमार्फत् मेलम्चीको पानी सञ्चालन बन्द गरिएको थियो । गत साउन २८ र २९ गते मेलम्चीमा बाढी आएपछि पुनः हेडवर्क्स पुरिएकाले पानी पठाउन समस्या भएको प्रवक्ता पन्तले बताए । रासस
सेयर बजारमा एक वर्षयताकै उच्च कारोबार, ७ अर्बको सेयर किनबेच हुँदा १५ कम्पनीमा लाग्यो सर्किट
काठमाडौं । बुधबारको सेयर बजारमा ७ अर्ब माथिको सेयर कारोबार भएको छ । जुन विगत एक वर्ष यताकै उच्च कारोबार हो । यसअघि २०७९ पुस २६ गतेको बजारमा ७ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । त्यसयताको बजारमा भने ७ अर्ब रुपैयाँको सेयर कारोबार हुन सकेको थिएन । ३०६ वटा स्क्रिप्स कारोबारमा आएको बजारमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३७ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य बढेर प्रतिकित्ता ६१३ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा प्रतिकित्ता १९ रुपैयाँले बढी हो । त्यस्तै, अधिकांश कम्पनीको सेयर मूल्य बढेको बजारमा १५ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक भने ३५.३९ अंकले बढेर २१४१.८७ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.६८ प्रतिशतले बढी हो भने गत पाँच महिना यताकै उच्च हो । गत साउन १० गतेको बजारमा नेप्से परिसूचक २१५६ बिन्दुमा थियो ।