चिसोले मुसहर बस्तीको जनजीवन कष्टकर
मध्यविन्दु । चिसो बढ्दै जाँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–२ मुसहर बस्तीको जनजीवन कष्टकर बन्दै गएको छ । मुसहर बस्तीमा करिब एक सय १३ घरधुरी छ । यहाँका अधिकांश मानिसले दैनिक ज्याला मजदुरीबाट गुजारा चलाइरहेका छन् । स्थानीय शान्ति मुसहरले भनिन्, ‘जाडोमा न लगाउने न्यानो कपडा छ, न पेटभरि खाने अन्न । जाडो छल्न घामको पार ताप्नु परेको छ । ‘ ब्लकले बनाएको सानो घरमा न ढोका छ न त झ्याल । ‘घरमा ओड्ने ओछ्याउने छैन्, पराल ओछ्याएर सुतेका छौँ, श्रीमान्ले काम पाउनुभएको छैन,’ उनले भनिन्, ‘यो चिसोमा बिहान बेलुकाको छाक टार्न पनि मुस्किल भएको छ ।’ झुप्रो घरभित्र परालमा सुतेर रात कटाउने शान्ति जस्तै यहाँ धेरै छन् । स्थानीय जितनी माझी उमेरले ६५ वर्ष पुगिन् । अहिले काम नभएपछि अन्न र लत्ताकपडा किन्ने पैसा नभएको उनले बताइन् । ‘पेटभरि खान नपाएको छैन, जाडोमा केटाकेटीले छिनछिनमै खान खोज्छन्, तर खानदिने अन्न छैन,’ उनले भनिन्, ‘मजदुरी गर्न काम पाइएको छैन , कति दिन भइसक्यो एक छाक खान्छौ । ‘ देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले मुसहर बस्तीमा लत्ताकपडा र खाद्यान्न तत्काल व्यवस्था गर्ने जानकारी दिए । उनले भने, ‘केही लत्ताकपडा, खाद्यान्न नगरपालिकाको तर्फबाट तत्काल व्यवस्था गर्छौं । ती समुदायको आर्थिक स्तर माथि उठान नगरपालिकाले विभिन्न कार्यक्रम कार्यान्वयन समेत गर्ने छ । ‘ रासस
सुन्तलाखेती मास्दै एभोकाडो लगाउँदै इलामका किसान
इलाम । इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ आकर्षित भएका छन् । माइजोगमाई गाउँपालिका-५ सोयाङका लक्ष्मण खत्रीले १२ रोपनी क्षेत्रफलमा एक सयभन्दा धेरै एभोकाडो लगाएका छन् । ‘तीन वर्ष भएका बिरुवाले सामान्य उत्पादन दिन सुरु गरेको छ, दुई वर्ष पुराना बिरुवा धेरै छन्, गत वर्ष लगाएका बिरुवा भर्खर सर्दैछन्’, उनले भने । जिल्ला सदरमुकामका खगेन्द्र देवानले इलाम बजार नजिकैको सुन्तलाबारीमा एभोकाडो खेती गरेका छन् । धेरै सुन्तला फलेकाले सुन्तलाबारीको नाम रहेको उक्त गाउँमा हाल सुन्तला मासिएर एभोकाडोको पहिचानले कब्जा जमाउन थालेको उनी बताउँछन् । ‘सुन्तला विस्थापित भयो, नयाँ फलका रुपमा एभोकाडो खेती सुरु गरेका छौँ, एउटै बोटबाट एक क्विन्टलसम्म उत्पादन हुन्छ’, उनले भने, ‘एउटै झ्याङमा ८० हजारको एभोकाडो फलेको तथ्यांक छ।’ यहाँका अधिकांश किसानले सुन्तलाबारी मासेर एभोकाडो खेती गर्न थालेका छन् । करिब २० रोपनी क्षेत्रफल जमिनमा अढाइ सय बिरुवा रोपिएको देवानले जानकारी दिए। उनी भन्छन्,’कम स्याहारले नै उच्चतम आम्दानी लिन सकिने भएपछि सहज भएको छ ।’ नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका देवान सामाजिक तथा राजनीतिक भूमिकाको अलवा कृषि कर्ममा समेत रमाउने गरेका छन् । ‘हामी राजनीति गर्नेले ढुक्क बसेर खेती गर्न समय नहुँदोरहेछ तर एभोकाडोलाई त्यति धेरै समय दिनुपर्दैन फुर्सदमा खटिँदा मात्र पनि राम्रै उपार्जन छ’, उनले भने । जिल्लामा यस वर्ष एभोकाडोको उत्पादन बढेको कृषि ज्ञान केन्द्र इलामले जानकारी दिएको छ। गत वर्ष चार सय १९ दशमलव २२ मेट्रिक टन एभोकाडो उत्पादन भएको इलाममा यस वर्ष चार सय २२ दशमलव पाँच मेट्रिक टन एभोकाडो उत्पादन भएको ज्ञान केन्द्रका प्रमुख टानी बर्देवाले जानकारी दिए । गतवर्ष ५५ हेक्टर जमिनमा खेती लगाइएको थियो भने यस वर्ष ६० दशमलव पाँच हेक्टर जमिनमा खेती गरिएको उनले बताए । उनका अनुसार गतसालको तुलनामा उत्पादकत्व भने घटेको छ । ‘गत वर्ष प्रतिहेक्टर सात दशमलव ६३ मेट्रिक टन एभोकाडोको उत्पादकत्व थियो तर यस वर्ष प्रतिहेक्टर सात दशमलव तीन मेट्रिक टन मात्र रहेको छ’, उनले भने । नयाँ फलका रूपमा परिचित एभोकाडो पछिल्लो समय इलामका गाउँगाउँमा समेत विस्तार हुँदै गएको माइजोगमाईका खत्रीले बताएका छन् । सो फलबाट किसानले मनग्ये आयआर्जनसमेत गर्न थालेको स्वयम् किसानको भनाइ छ । एक दशक मलेसिया बसेर स्वदेश फर्किएका खत्रीले गाउँको बाँझो जमिनमा लगाएको एभोकाडो खेती यहाँको हावापानीमा एकदमै फस्टाएको बताए । एभोकाडो कात्तिक मङ्सिरमा नै पाक्ने भएकाले यसको बजार राम्रो भएको किसान बताउँछन् । सुरुमा तीन सय किलो बिक्ने एभोकाडोको बजार भाउ पनि तलमाथि भइरहन्छ। इलाम बजारमा हाल रु दुई सय प्रतिकिलो यसको खरिद बिक्री भइरहेको छ । ‘व्यापारीको दःख छैन, बगानमै आउँछन् र मुस्टमा दामकाम गरेर पनि किन्छन्’, देवानले भने । हाल इलाममा उत्पादित एभोकाडो इलामको स्थानीय बजार तथा झापा तथा सुनसरीमा बिक्री भइरहेको किसान तथा निजामती कर्मचारी कृष्ण लिम्बूले बताए । उनका अनुसार हाल इलामसहित, झापा, सुनसरी काठमाडौंलगायतका स्थानमा यसको बिक्री भइरहेको छ । बजारको समस्या नभएपछि पनि यस खेतीतर्फ किसानको आकर्षण बाक्लिएको हो । दिउँसो अन्यत्रै काम गरेर भए पनि बिहान बेलुकाको समय निकालेर खेती गर्न सकिने यो फल यस याममा मुख्य उत्पादन लिन सकिन्छ । दीर्घरोगीले समेत खान मिल्ने एभोकाडो फल लटरम्म फलेपछि एउटै बोटबाट राम्रो आम्दानी गर्न सकिने बताइएको छ । सुरुमा धनकुटाबाट ल्याएर रोप्न सुरु भएको एभोकाडो पछिल्लो समय प्रायः जिल्लाभर नै खेती विस्तार भइरहेको हो। कुनै लामो त कुनै डल्लो आकारको हुने एभोकाडो धेरै प्रजातिका हुने गरेका छन् । यसकै कुनै फल स्वादिष्ट त कुनै खास स्वाद नहुने गरेको उपभोक्ताको भनाइ छ । दानाबाट यसको उत्पादन लिन सकिन्छ। रुखमा फल्ने यसको फल सामान्यतया दुई सय ग्रामदेखि एक किलोसम्मको हुने गर्दछ । भित्र दानो बीचमा खानयोग्य फल र बाहिर बोक्राले ढाकेको हुन्छ । त्यस्तै एभोकाडो सजिलैसँग रोप्न सकिने कारण कृषक यस खेतीमा तानिएको रोङ गाउँपालिका-५ जिर्मलेका किसान प्रेम राईले बताए । एभोकाडो खेती गर्दा क्षेत्रफल भने बढी आवश्यक पर्छ । एक रोपनीमा करिब छ वटासम्म एभोकाडो रोप्न सकिने माइजोगमाईका किसान खत्रीको भनाइ छ । कात्तिक महिनामा टिप्न सुरु गरिने एभोकाडोको फल फागुनसम्म बोटमा राख्न सकिने इलामका किसान एवं राजनीतिज्ञ देवानले बताए । ठूला होटल, पर्यटक र सहर बजारका बासिन्दाले प्रायः एभोकाडोलाई मुख्य फलको रुपमा उपभोग गर्न थालेको होटल व्यवसायी नवीना कार्कीले बताएकी छन् । यसमा भिटामिन र खनिजतत्व पर्याप्त मात्रामा पाइन्छ भने एभोकाडोको भित्री र बाहिरी भाग दुवै प्रयोग गर्न सकिन्छ । विज्ञका अनुसार, एउटा एभोकाडोमा ६४ क्यालोरी हुन्छ । यसमा छ ग्राम चिल्लो, तीन-चार ग्राम कार्बोहाइड्रेट, एक ग्रामभन्दा कम चिनी र तीन ग्राम फाइवर हुने गरेको छ । एभोकाडोमा भिटामिन ‘सी, ई, के, बी’ पाइने जनाइएको छ। राइवोप्लाविन, नियासिन, फोलेट, पयान्टोथेनिक एसिड, म्याग्नेसियम र पोटासियम पनि यो फलमा पाइन्छ । साथै बिटाक्यारोटिन र ओमेगा-३ चिल्लो एसिड पनि यसमा पाइन्छ । एभोकाडो पूर्णरूपमा स्वास्थ्यवर्धक मानिन्छ। यसले रगतमा ग्लुकोजको मात्र नियन्त्रण गर्न मद्दत गर्ने जनाइएको छ । जिल्लामा उत्पादन भएको एभोकाडोलाई देशका विभिन्न ठाउँमा प्रवद्र्धन गर्नका साथै प्रचारप्रसार गर्न र किसानलाई हौसला प्रदान गर्न कृषि ज्ञान केन्द्रले समन्वय र सहयोग गर्दै आएको छ । बिरुवा रोपेको तीन वर्षदेखि नै उत्पादन दिन सुरु गर्ने र मूल्य पनि राम्रो पाइने भएपछि कृषक यसतर्फ आकर्षित भएको ज्ञान केन्द्रका प्रमुख बर्देवाले बताए । एभोकाडोको जुस बनाएरसमेत उपभोग गर्न सकिन्छ । समुद्री सतहबाट दुई हजार पाँच सय मिटरसम्म यसको खेती गर्न सकिन्छ । बिरुवा रोपेको केही वर्षभित्रै उत्पादन दिने भएकाले यहाँका किसानले पाखोबारी, कान्ला र खोला छेउमा एभोकाडो रोपेर नियमित आम्दानीको स्रोत बनाउन थालेका छन् । चार नगरपालिका र छ गाउँपालिका भएको इलामका सबै स्थानीय तहमा एभोकाडोको आंशिक खेती हुन सुरु भएको ज्ञान केन्द्रले जनाएको छ । रासस
झापा इनर्जीले ७ लाख ८६ हजार कित्ता जगेडा सेयर बेच्दै
काठमाडौं । झापा इनर्जीले जगेडा सेयर बिक्री गर्ने भएको छ । कम्पनीलाई पुँजी आवश्यक परेका कारण जगेडा सेयर बिक्री गर्ने भएको हो । कम्पनीका अनुसार पुँजी आवश्यकता भएकाले जगेडा सेयरमध्ये हाललाई ७ लाख ८६ हजार ७११ कित्ता सेयर जगेडा सेयर बिक्री गर्ने निर्णय भएको छ । कम्पनीको उक्त सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । उक्त सेयर खरिद गर्न सेयरधनीहरूलाई ३० दिनभित्र आवेदन पेश गर्न कम्पनीले आग्रह गरेको छ । यदि सो समयमा जगेडा सेयरधनीहरुले सकार गर्न बाँकी रहेमा सेयरधनीभन्दा बाहिरका लगानीकर्तालाई बिक्री गर्ने कम्पनीले बताएको छ ।
सहकारीको करोडौं रकम अपचलनमा १९ जना दोषी ठहर
काठमाडौं । बाँकेको पुरानो सहकारीका रुपमा रहेको ‘सहकारी वित्तीय संस्था लिमिटेड’को घोटाला (रकम अपचलन) मुद्दामा १९ जना दोषी ठहर भएका छन् । जिल्ला अदालत बाँकेले बुधबार फैसला सुनाउँदै सहकारीको रकम अपचलन मुद्दामा १९ जनालाई दोषी ठहर गरेको हो । जिल्ला अदालत बाँकेका न्यायाधीश इन्द्रबहादुर कठायतको एकल इजलासले २१ जनालाई सफाइ दिँदै १९ जनालाई दोषी ठहर गरेको छ । अदालतका स्रेस्तेदार सरोजनिधि वाग्लेका अनुसार मुद्दाको फैसलामा लीलाप्रसाद वली, गौरव श्रैष्ठ, शारदाकुमारी थापा मगर, सिद्धिकुमार महर्जन, अमर खड्का, रवीन्द्र थापा, ओमप्रकाश चौधरी, लीला शाह, तुसार शाह, सन्दीप शर्मा, बलराम यादव, हरदेव बक्स चौधरी, स्थिरमणि बज्राचार्य, किरण श्रेष्ठ, गङ्गाधर सुवेदी, अरुणकुमार पाठक, गोपाल भण्डारी, सूर्य विक र सुरतराम खटिक दोषी ठहर भएका हुन् । विसं २०७६ असोजदेखि सुरु भएको रकम घोटाला प्रकरणको मुद्दामा हालसम्म ३३ जना धरौटीमा छुटेका थिए । ४३ करोड रुपैयाँ अपचलनमा अहिले ७ जना हिरासतमा रहेका छन् भने एक जना देश बाहिर रहेकाले अदालतमा हाजिर भएका छैनन् । यो मुद्दामा ४१ जना प्रतिवादी रहेको अदालतले जनाएको छ । कसुर ठहर हुनेमा सहकारीका तत्कालीन सञ्चालक समिति र कर्मचारी रहेका छन् । कसुर ठहर भएका प्रतिवादीका लागि एक महिनाभित्र अर्को पेसी तोकेर सजाय निर्धारण गरिने से्रस्तेदार वाग्लेले बताए । कसुर ठहर भएका प्रतिवादीको हकमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ९ अनुसार सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने देखिएको र सो प्रयोजनका लागि जिल्ला सरकारी वकिल कार्यालय बाँके र प्रतिवादीका कानुन व्यवसायीलाई सजायपूर्वको प्रतिवेदन सात दिनभित्र पेस गर्न अदालतले आदेश दिएको छ । यसैगरी आरोपित अजयकुमार पाठक, सतिशकुमार शर्मा, तुल्सा थापा, अङ्गतरा वर्मा, दीपक वर्मा, चन्द्रप्रसाद तिमिल्सेना, राजेन्द्रकुमार विक, मैया केसी, पवनकुमार यादव, लक्ष्मी श्रेष्ठ, विमला गौतम, कृष्णविक्रम केसी, रत्ना राणा, प्ररमात्माप्रसाद कुर्मी, नन्दकिशोर कहार, गङ्गा भुसाल, विजयकुमार पाठक, विनमकुमार श्रेष्ठ, नारायणबाबु अधिकारी, विनोदकुमार शाक्य र कुलानन्द रेग्मीले सफाइ पाएको स्रेस्तेदार वाग्लेले बताए । अदालतले दिएको निर्देशनात्मक आदेशमा सहकारी संस्थाका सञ्चालक समितिउपर मुद्दा परी अन्तिम भई नसकेकाले सो समिति विघटन गर्न आदेश दिइएको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले संसोधन गर्याे बचत खाताहरूको बिशेषता
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको बचत खाता योजनाको बिशेषतामा संसोधन गरिएको छ । बैंकले विभिन्न खातामा प्रदान गर्दै आएको बीमा सुविधा अबदेखि बन्द गर्ने बैंकले जनाएको छ । बैंकका अनुसार विभिन्न बचत खाता योजनामध्ये कर्पाेरेट बेनिफिट, प्रोफेसनल कर्मचारी र प्रबर्धक बचत खाताको अन्य विशेषताहरू यथावत राखि खातावाला ग्राहकहरूलाई प्रदान गर्दै आएको आकस्मिक मृत्यु बीमा तथा स्वास्थ्य बीमा सुविधा पुस १६ गतेदेखि बन्द गरिनेछ । साथै उल्लेखित बचत खाता संचालन गरिरहेका ग्राहकहरूले खाताको योजना परिवर्तन गर्न चाहेमा बैकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ । यस संसोधनबाट ग्राहकहरूमा पर्ने असुविधाको बैंकले क्षमा मागेको छ ।
अपर तामाकोशीको १ करोड ७० लाख कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता १ सय रुपैयाँ
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले अवितरित हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि १ करोड ७० लाख कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा राखेको हो । कम्पनीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म चुक्ता पूँजीको १० अर्ब ५९ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । जसमध्ये सर्वसाधारण समूहतर्फको बिक्री नभएको १ करोड ७० लाख १९ हजार ५३० कित्ता हकप्रद सेयर लिलामीमार्फत बिक्री खुला गरेको हो । कम्पनीको सो सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्। लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले पुस २९ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ भने सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
३ लघुवित्तसहित ८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति ?
काठमाडौं । बिहीबार विभिन्न ८ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आइसिएफसि फाइनान्स, सिक्लेस हाइड्रोपावर, हिमालयन डिष्टिलरी, राधी विद्युत, आत्मनिर्भर लघुवित्त, घोराही सिमेन्ट, सपोर्ट लघुवित्त र साना किसान विकास लघुवित्तको लाभांश सुरक्षित गर्ने आज पुस १२ गते अन्तिम दिन हो । साधारणसभा तथा लाभांश प्रयोजनार्थ आइसिएफसि फाइनान्स, सिक्लेस हाइड्रोपावर, हिमालयन डिष्टिलरीले पुस १३ गते, राधी विद्युतले पुस १५ गते, आत्मनिर्भर लघुवित्त, घोराही सिमेन्ट, सपोर्ट लघुवित्त र साना किसान विकास लघुवित्तले पुस १६ गते सेयरधनी किताब बन्द (बुक क्लोज)गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजसम्म सेयर खरिद गर्नेले लाभांश प्राप्त गर्नेछन् । आइसिएफसि फाइनान्सले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार रुपैयाँको ६.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न फाइनान्सले पुस २९ गते आम्रपाली ब्यांक्वेट काठमाडौंमा २० औँ वार्षिक साधारणसभा बिहान १० बजे बोलाएको छ । सिक्लेस हाइड्रोपावरले चुक्ता पुँजीको ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न पुस २७ गते काठमाडौंमा बिहान ११ बजे १९औं वार्षिक साधारणसभा आह्वान गरेको छ । राधी विद्युत कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले उक्त लाभांश पारित गर्न पुस २९ गते प्रथम वार्षिक साधारणसभा बिहान ११ बजे काठमाडौंमा बोलाएको हो । घोराही सिमेन्ट इण्डष्ट्रीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले उक्त लाभांश पारित गर्न पुस २८ गते दाङको घोराहीमा तेस्रो वार्षिक साधारणसभा बिहान ९ बजे बोलाएको हो । हिमालयन डिष्टिलरीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १५ प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न २३औं वार्षिक साधारणसभा पुस २५ गते रजिष्टर्ड कार्यालय पर्सामा डाकेको छ । आत्मनिर्भर लघुवित्तले चुक्ता पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न पुस २८ गते दाङमा पाँचौ वार्षिक साधारणसभा बिहान ११ बजे बोलाएको छ । सपोर्ट लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.६८४२ प्रतिशत नगद गरी कूल १३.६८४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न नवौं वार्षिक साधारणसभा पुस २७ गते सुनसरीमा बिहान साढे ९ बजे बोलाएको हो । साना किसान विकास लघुवित्तले चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले २२औं वार्षिक साधारणसभा पुस २९ गते भक्तपुरको बोडेमा बिहान ११ बजे बोलाएको हो ।
नबिल बैंकले ल्यायो नबिल इन्स्ट्यान्ट गोल्ड लोन, एक घण्टाभित्रै ऋण पाइने
काठमाडौं । नबिल बैंक लिमिटेडले तुरुन्तै सुन धितो राखी ऋण लिन सक्ने नयाँ ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना बजारमा ल्याएकोे छ । आफुलाई आवश्यक पर्दा बिना कुनै झन्झट सुन धितो राखी एक घन्टाभित्र पाउने गरि बैंकले यो ऋण योजना ल्याएको हो । यो ऋण योजना अन्तर्गत १२.३० प्रतिशत ब्याजमा १० लाख रुपैयाँसम्मको ऋण दिइने नबिलले जनाएको छ । आवेदन दिएदेखि ऋण प्राप्तिसम्मको समय एक घण्टाको अवधिमा ऋण पाइने भएकाले तत्काल समस्या समाधानमा सहयोग पुग्ने बैंकले दाबी गरेको छ । त्यस्तै सुनको लागि निःशुल्क बिमाको व्यवस्था पनि गरिएको छ । बैंकले ग्राहकको विभिन्न वित्तीय आवश्यकताहरू पूरा गर्न यस्तो प्रकारको कार्यक्रम ल्याएको जानकारी दिएको छ । नबिलले तत्कालको लागि नेपालभर ८ वटा शाखाबाट यो सेवा दिने जनाएको छ । जसमा उपत्यका भित्रका ग्राहकहरूका लागि कुमारीपाटी, कालीमाटी र सूर्यविनायक शाखाबाट लिन सकिन्छ । उपत्यका बाहिरका ग्राहकका लागि धरान-महेन्द्रपथ, बुटवल-चौराहा, नेपालगन्ज (भानुभक्त चोक), फिदिम र चिप्लेढुङ्गाबाट सुन कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ । नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकमध्ये एक हो । बैंकले देशभर २६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ । नबिल बैंकले १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।