कृषि विकास बैंकले लाभांश नदिने
काठमाडौंं । कृषि विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ । माघ २५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० को नाफाबाट लाभांश नदिने घोषणा गरेको हो । अघिल्लो वर्ष बैंकले १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
घरेलु मदिरा ‘ब्रान्डिङ’ गरेर बिक्री गरिने, ब्राण्डेड बजारमा धक्का लाग्ने
कृत्रिम बौद्धिकता प्रविधिद्वारा निर्मित तस्बिर काठमाडौं । लामो समयदेखि नकारात्मक रुपमा लिएको घरेलु मदिराको विषयमा सरकारले सकारात्मक सोच निर्माण गर्ने देखिएको छ । सरकारलाई वैद्यानिक मान्यता नदिएपनि अनौपचारिक बजारमा ठूलो हिस्सा बनेको घरेलु मदिरालाई ब्राण्डिङ नै गरेर बिक्री वितरण गर्ने विषयमा सरकारको उच्च तहमा बिहीबार छलफल भयो । बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा घरेलु मदिरा प्रवद्र्धन विषयक औपचारिक छलफल भएको हो । जसमा विभिन्न प्रदेशका मुख्यमन्त्री, अर्थ मन्त्री, कानून मन्त्री, उद्योग मन्त्री लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गरेर बिक्री प्रवर्द्धन गर्ने धारणा व्यक्त गरेका थिए । उनले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गर्दै लैजाने समेत बताए। ठूला उद्योगी हाबी नहुने गरी स-साना तथा घरेलु उद्योगको रुपमा घरेलु मदिराको बिक्री प्रवर्द्धनको व्यवस्था मिलाइने मन्त्री रिजालको भनाइ थियो । घरेलु मदिराको उत्पादन तथा गुणस्तर कायमको मापदण्ड निर्धारण गरी बिक्री प्रवर्द्धनको व्यवस्था मिलाइने समेत उनले छलफलमा बताए । मन्त्री रिजालका अनुसार घरेलु मदिराको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बिक्री प्रवर्द्धनका लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको छ । मन्त्रालयले घरेलु मदिरालाई गुणस्तर मापदण्ड तयार गरेर ‘ब्रान्डिङ’ गर्ने नीति लिएको छ । सोही अनुरुप बिहीबार मन्त्रालयमा भएको छलफल कार्यक्रममा बिक्री प्रवर्द्धनसम्बन्धी मार्गदर्शन समेत प्रस्तुत गरिएको थियो । छलफलमा सहभागी अर्थमन्त्री डा प्रकाशशरण महतले घरेलु मदिराको गुणस्तर मापदण्डमा विशेष ध्यान पुर्याउनुपर्ने बताए । कानुनमन्त्री धनराज गुरुङले घरेलु मदिराको उत्पादन तथा बिक्री प्रवर्द्धनका लागि स्पष्ट कानुनप्रति संवेदनशील हुनुपर्ने धारणा राखेका थिए । छलफलमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको उपस्थिति थियो । मदिराको ब्राण्डेड बजारमा प्रभाव पर्न सक्ने लामो समयदेखि विवादित बन्दै आएको घरेलु मदिरालाई सरकारले मापदण्ड निर्माण गरेर ब्राण्डिङ गरि बिक्री वितरण गर्ने नीति अख्तियार गरेमा हालसम्म बजारमा एकाधिपत्य जमाएको ब्राण्डेड मदिराको बजारलाई चुनौति सिर्जना गर्न सक्ने देखिएको छ । औपचारिक बिक्री वितरणमा प्रतिबन्ध लगाइएपनि मदिरा पिउनेहरुको रोजाइको विषय बन्दै आएको घरेलु मदिरा मापदण्ड सहित बजारमा प्रवेश गर्यो भने त्यसले ब्राण्डिङ गरेको मदिरालाई स्वभाविक रुपमा ठूलो चुनौति दिनसक्ने देखिएको छ । अहिले घरेलु मदिरा देशैभरीे परिवारको जनशक्तिमा मात्रै सीमित रहेर अनौपचारिक रुपमा उत्पादन र बिक्री वितरण हुँदै आएको छ । जसले गर्दा घरेलु मदिरा राजस्वको दायरामा समेत आउन सकेको छैन । सरकारले घरेलु मदिरालाई मापदण्ड सहित उत्पादन गर्न दिने नीति लिएमा परिवारको जनशक्तिमा सीमित रहेको घरेलु मदिराले उद्योगको आकार ग्रहण गर्नुका साथै राज्यको राजस्व आम्दानीमा समेत ठूलो योगदान पुर्याउन सक्ने देखिन्छ । सरकारले गत आर्थिक वर्षमा ब्राण्डेड मदिरामार्फत २५६ अर्ब ९२ करोड र बियरमार्फत ३२ अर्ब ६१ करोड राजस्व संकलन गरेको थियो ।
गोँगबुस्थित नयाँबसपार्कभित्र होटल सञ्चालन
काठमाडौं । रातका समयमा काठमाडौं आउने चालक, सहचालक र यात्रुको सुविधाका लागि गोँगबुस्थित नयाँबसपार्कभित्र लोत्से बहुउद्देश्यीय प्रालिले होटल सञ्चालनमा ल्याएको छ । प्रालिका अध्यक्ष इन्जिनियर दीपक कुँवरले यातायात व्यवसायीसँगको सल्लाहमा लामो दूरीबाट आएका चालक, सहचालक र यात्रुको खान तथा बस्नका लागि बिचल्ली नहोस् भन्ने उद्देश्यले होटल सञ्चालनमा ल्याएको जानकारी दिए । उनले बसपार्कभित्र क्रमशः अन्य सेवासमेत विस्तार गर्दै लैजाने बताए । काठमाडौं महानगरपालिका-२६ गोँगबुमा एक सय ६१ रोपनी क्षेत्रफलमा सञ्चालित उक्त बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा यात्रु सार्वजनिक यातायातमार्फत आवतजावत गर्दै आएका छन् । पश्चिमको हुम्लाबाहेक सबै जिल्लामा बस आवतजावत गर्दै आएका छन्भने पूर्वमा सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायत जिल्लामा सवारीसाधन जाँदैनन् । काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको उक्त जग्गा २०५६ मा महानगरपालिकाले ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत लोत्से बहुउदेश्यीय प्रालिसँग सम्झौता गरेर सञ्चालनको जिम्मेवारी दिएको हो । प्रविधिमैत्री टिकट बुकिङ काउन्टर स्थापना गरेर यात्रुलाई सेवा प्रदान गर्दै आएको लोत्सेले टिकटलाई अनलाइनमार्फत काट्न मिल्ने व्यवस्थासमेत मिलाउन लागेको छ । नयाँबसपार्कमा हाल एक हजारभन्दा बढी सार्वजनिक सवारी साधन ‘पार्किङ’ गर्न मिल्छ । तर हाल जम्मा तीन सयदेखि तीन सय ५० सार्वजनिक सवारीसाधन मात्र पार्किङ भई सञ्चालन हुँदै आएका छन् अन्य सार्वजनिक सवारीसाधन भने नयाँ बसपार्कभन्दा बाहिर विभिन्न ठाउँमा पार्किङ गरेर सञ्चालन हुँदै आएका छन् । रासस
हिमालयन रिइन्स्योरेन्सले घोषणा गर्यो लाभांश
काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनश सेयर र कर प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरेन्सले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।
७१ मेगावाटको नीलगिरिखोला-२ को प्रसारण लाइन परीक्षण सफल
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो जलविद्युत आयोजनाको प्रसारण लाइनको परीक्षण सफल भएको छ । नीलगिरिखोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले अन्नपूर्ण गाउँपालिका–४ दोभिल्नादेखि वडा नं–३ दाना जोड्ने प्रसारण लाइनको माघ १५ गतेदेखि परीक्षण सुरु गरेको थियो । यस आयोजनाको विद्युत् दाना सबस्टेसनमार्फत केन्द्रीय ग्रिडमा जोडिन्छ । नीलगिरिखोला हाइड्रोपावरका आधिकारिक प्रतिनिधि उपेन्द्र गौतमले दोभिल्नादेखि दाना जोड्ने दुई सय २० केभी क्षमताको प्रसारण लाइनको परीक्षण सफल भएको जानकारी दिए । ४२ मेगावाट क्षमताको नीलगिरिखोला पहिलोको विद्युतगृह रहेको छोटेपादेखि दोभिल्ना हुँदै दाना जोड्ने ७.४ किलोमिटर लामो प्रसारण लाइन निर्माण भएको छ । नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीको सहभागितामा दाना सबस्टेसनदेखि नीलगिरि दोस्रोको विद्युतगृहसम्म प्रसारण लाइनबाट विद्युत् आपूर्ति गराएर परीक्षण गरिएको हो । प्रसारण लाइनको परीक्षण सकिए पनि आयोजनाको सुरुङको परीक्षण भने जारी रहेको छ । सुरुङमा पानी हालेर परीक्षण गर्ने समय तालिका २०८० साल फागुन १५ गतेसम्म लम्ब्याइएको आयोजनाका आधिकारिक प्रतिनिधि गौतमले बताए । ‘टनेलमा पानी हाल्ने क्रममा छोटेपादेखि दोविल्नासम्म खोलाको पानीको बहाव थपघट हुन्छ’ उनले भने, ‘माछा मार्ने, नुहाउने, गाईवस्तु, चौपाया छाड्ने र आवतजावत गर्ने कार्य नगराउन सार्वजनिक सूचनामार्फत आग्रह गरेका छाैँ ।’ नीलगिरिखोला दोस्रो म्याग्दीमा हालसम्म निर्माण भएकोमध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो । बाँध, सुरुङ, विद्युत्गृह, प्रसारण लाइन, स्विचार्ड निर्माण सकेपछि परीक्षणलाई तीव्रता दिएको आयोजनाले जनाएको छ । छोटेपामा निर्माण भएको डिसेन्डर (बालुवा थिग्र्याउने पोखरी)मा यसअघि नै पानी हालेर परीक्षण गरिएको थियो । छोटेपादेखि दोभिल्नामा रहेको विद्युत्गृहसम्म चार हजार दुई सय ७५ मिटर लामो सुरुङ निर्माण भएको छ । विद्युतगृह र छोटेपाको बाँधसहित पाँचवटा अडितबाट विसं २०७६ देखि सुरुङ निर्माण थालिएको थियो । नीलगिरि पहिलोको विद्युत्गृहबाट निस्कने पानीलाई बाँध बनाएर नीलगिरि क्यासकेडको सुरुङमा हाल्न मिल्ने गरी संरचना निर्माण भएको छ । दुईवटै आयोजनाको प्रवद्र्धक कम्पनी एउटै हो । नीलगिरि पहिलोको हुमखोलामा बाँध र छोटेपामा विद्युत्गृह निर्माण निर्माण अन्तिम चरणमा पुगेको छ । दुई हजार मिटर लामो सुरुङलाई प्लास्टर गरेर फिनिसिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ । विद्युत्गृहको भवन निर्माण सकेर उपकरण जडान थालिएको छ । नीलिगिरि पहिलोको करिब ८० प्रतिशत भौतिक प्रगति भएको छ । दुई वटै आयोजनाको विद्युत्गृह परिसरमा स्विचार्ड बनाइएको छ । बस्तीदेखि टाढा रहेको नीलगिरिखोला जलविद्युत आयोजना निर्माणस्थल भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्छ । रु १३ अर्ब लागत अनुमान गरिएको दुवै आयोजना रन अफ द रिभर प्रकृतिका हुन् । नारच्याङमा यसअघि पाँच मेगावाट क्षमताको घलेम्दीखोला र ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माण भएको थियो । ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना पनि निर्माणको अन्तिम चरणमा रहेको कार्यवाहक वडाअध्यक्ष श्याम पुर्जाले बताए । ९.१४ मेगावाटको सुपर घलेम्दी आयोजना निर्माणमा जाने तयारीमा छ । कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको एक सय ६४ मेगावाटको कालीगण्डकी गर्ज आयोजनाको विद्युत्गृह नारच्याङमा बनाउन प्रस्ताव गरिएको छ । रासस
सोलुखुम्बुमा सुन्तलाको उत्पादन बढ्यो, किसानलाई बजारकै चिन्ता
सल्लेरी । हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष सुन्तला उत्पादन चार सय मेट्रिकटनभन्दा धेरैले वृद्धि भएको छ । जिल्लामा गत आर्थिक वर्ष २०७९/०८० को तुलनामा चालु आव २०८०/०८१ मा चार सय ६९ मेट्रिकटनले वृद्धि भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । ज्ञान केन्द्रका सूचना अधिकारी कुलबहादुर राईका अनुसार अघिल्लो आर्थिक वर्ष एक हजार छ सय ९० मेट्रिकटन सुन्तला उत्पादन भएको जिल्लामा यस वर्ष दुई हजार एक सय ५९ मेट्रिकटन उत्पादन भएको छ । हाल दुई सय ९५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आएको ज्ञान केन्द्रको तथ्याङ्क छ । यसमा दुई सय ५७ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाले उत्पादन दिएको सूचना अधिकारी राईले बताए । यस वर्ष उत्पादन दिने बिरुवाको सङ्ख्या बढेसँगै उत्पादन पनि बढेको उनको भनाइ छ । जिल्लाको आठ पालिकामध्ये खुम्बु पासाङ ल्हामू गाउँपालिकाबाहेक सबै स्थानीय तहमा सुन्ताल खेती हुने गरेको ज्ञान केन्द्र प्रमुख दुर्गाबहादुर तिरुवाले जानकारी दिए । उनले भने, ‘सोलुखुम्बु हिमाली जिल्ला भए पनि यहाँको धेरै क्षेत्रमा सुन्तलाखेती राम्रो हुन्छ, खुम्बुमा चिसो भएकाले खेती हुँदैन त्यसबाहेक अरू सबै पालिका क्षेत्रमा यसको खेती राम्रो हुन्छ, गत वर्ष रोग, किरा र फलमा देखिने औँसाले दुःख दिएकाले सुन्तला उत्पादन घट्यो यस वर्ष बेलैमा उपचार भएर रोग किरा नियन्त्रण हुँदा उत्पादन बढ्यो ।’ जिल्लामा उत्पादित सुन्तलाको झण्डै ६० प्रतिशत हिस्सा थुलुङ दूधकोसीले ओगटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । थुलुङ दूधकोसीको देउसा क्षेत्र सुन्तलाखेतीको प्रचुर सम्भावना बोकेको ठाउँ भएकाले यहाँ बढी उत्पादन भएको ज्ञान केन्द्र प्रमुख तिरुवाले बताए । देउसालाई जिल्लाको सुन्तला भण्डारकै रुपमा लिइन्छ । सदरमुकाम सल्लेरीस्थित साप्ताहिक हाट नयाँबजारमा बिक्रीका लागि ल्याइने अधिकांश सुन्तला देउसाकै हुने गरेको ज्ञान केन्द्रका सुचना अधिकारी राईको भनाइ छ । ‘जिल्लालाई देउसाकै सुन्तलाले धानेको छ, अन्य ठाउँहरुमा खासै व्यावसायिक रुपमा सुन्तलाखेती नभए पनि देउसामा व्यावसायिक सुन्तला खेती हुन्छ, यसका कारण देउसाको सुन्तलाले बजार नै ओगटेको छ, त्यहाँको सुन्तला बगान त हेर्दै रहर लाग्दा छन्, देउसाको सुन्तला स्वादको हिसाबले समेत निकै स्वादिष्ट छ त्यही भएर माग पनि राम्रो छ त्यहाँको सुन्तलाको,’ उनले भने । ज्ञान केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८र०७९ मा एक हजार एक सय ३४ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । यस्तै आर्थिक वर्ष २०७९र०८० मा एक हजार छ सय ९० मेट्रिकटन र चालु आर्थिक वर्ष दुई हजार एक सय ५९ मेट्रिकटन सुन्तला उत्पादन भएको ज्ञान केन्द्रको तथ्याङ्क छ । बजारीकरणमा समस्या जिल्लामा उत्पादन हुने सुन्तलाको बजारमा भने समस्या रहेको छ । जिल्लाको विभिन्न क्षेत्रमा वार्षिक दुई हजार मेट्रिकटनभन्दा धेरै सुन्तला उत्पादन भए पनि बजारीकरणको समस्या रहेको किसानको गुनासो छ । उत्पादित सुन्तलाले बजार नपाउँदा यत्तिकै कुहिएर खेर जाने गरेको देउसाका किसान सङ्गम राईले गुनासो गरे। उनले भने, ‘सुन्तला धेरै फल्यो भनेर रमाउनु मात्रै हो, बजार छैन, फलेर के गर्नु, त्यतिकै कुहिएर खेर जाने गरेको छ । यहाँको बजारमा कति नै पो बिक्छ र रु धेरै उत्पादन भए पनि खासै भाउ नै छैन, गाउँमा त सबै वस्तुभाउलाई चारो पकाएर दिने हो । त्योभन्दा अरू विकल्प नै छैन नि ।’ हाल जिल्लामा उत्पादन भएको सुन्तलाको बजार जिल्लाभित्र मात्रै सीमित बनेको छ । जसका कारण बजारीकरणमा समस्या रहेको किसानको दुखेसो छ । देउसाको सुन्तला जिल्ला सदरमुकाम सल्लेरीसम्म ढुवानी गरेर किलोको रु ५० मा पनि बिक्री नहुने गरेको देउसाका किसान अम्बर राईको भनाइ छ । उनले भने, ‘बजार नपाउँदा सिजनमा फलेको सुन्तलाबाट किसानले खासै राम्रो आम्दानी गर्न सकेका छैनन्, बजार सानो छ, खाने मान्छे कम छन्, त्यसैले गर्दा हामीले फलाएको सुन्तलाको केही भाउ छैन, रोग किरा, औँसाबाट कति दुःख गरेर जोगाउनुपर्छ, फलेपछि बजारमा भाउ छैन, किसानलाई जताबाट पनि घाटा नै घाटा, सुन्तलाखेतीबाट यसो आम्दानी होला कि भनेर बारीभरि सुन्तलाको बोट रोपियो, योबाट पनि खै त आम्दानी यस्तै त रहेछ नि ।’ जिल्लामा उत्पादित सुन्तला व्यावसायिक रुपमा अन्यत्र निर्यात गर्न सकेको छैन । थुलुङ दूधकोसी गाउँपालिकाले केही मात्रामा सुन्तला काठमाडौँ पु¥याएर बिक्री गरे पनि पालिका क्षेत्रमै उत्पादित सबै सुन्तला ढुवानी गर्ने व्यवस्था हुन नसकेको किसान सङ्गम राईले बताए । साथै जिल्लामा सुन्तलाबाट जुस उत्पादन गर्ने व्यवस्था नहुँदा फल यतिकै खेर जाने गरेको किसानको दुखेसो छ । स्थानीय सरकारले सुन्तला, कागती, जुनारजस्ता सिजनमा हुने फलहरुबाट जुसहरु तयार गर्न सके किसानको लगानी र मेहनतको सदुपयोग हुने नेलेका सन्तोष खत्रीले बताए । हाल जिल्लामा उत्पादन हुने सुन्तला खानकै लागि मात्रै प्रयोग हुँदा किसानले सोचेजस्तो आम्दानी लिन नसकेको उनको भनाइ छ । यहाँ उत्पादन हुने सुन्तला ढुवानी गरी अन्य जिल्लामा समेत पु¥याउन सके बजारको चिन्ता नहुँने सल्लेरीका मिङ्मार शेर्पाले बताए । देउसामा उत्पादन हुने सुन्तला अहिले साप्ताहिक हाट नयाँ बजारको भरपर्नु परेको छ । हाट बजारमा बिक्री नभएको सुन्तला किसानले यतिकै फर्काएर लैजानुपर्दा गाडी भाडा तथा ज्यालामा समेत दोहोरो घाटा हुने किसानको दुखेसो छ । सुन्तलाबाट जुस बनाएर बाहिर निर्यात गर्ने सवालमा आफूहरु गम्भीर रहेको थुलुङ दूधकोसी गाउँपालिका प्रवक्ता भोजराज कार्कीले बताए । किसानको मेहनत र लगानीलाई खेर जान नदिन स्थानीय सरकार ठोस योजनाका साथ बढ्ने उनको भनाइ छ । ‘हामीले जुस उत्पादन गर्ने कारखाना त खोल्छाैं तर यति मात्रै सुन्तलाले पुग्दैन, त्यसैले उत्पादनलाई अझै बढाउन आवश्यक छ, फेरि यो फल याममा मात्रै उत्पादन हुने फल भएकाले यसलाई भण्डारण गर्ने उचित व्यवस्थापनका लागि पनि हामी योजना बनाएर अघि बढ्छौँ, केही ठाउँमा त हामीले भण्डारण केन्द्र पनि बनाइसकेका छौँ,’ उनले भने । रासस
‘एस पावर क्यान इन्फोटेक’ शुरु, सूचना प्रविधि क्षेत्रमा नयाँ फड्को मार्ने
काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) को आयोजनामा माघ २५ गतेदेखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा २९औं संस्करणको क्यान इन्फोटेक मेला शुरु भएको छ । सूचना तथा सञ्चार रेखा शर्माले उक्त क्यान इन्फोटेक मेलाको उद्घाटन गरेकी हुन् । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले अबको युग सूचना प्रविधिको भएको भन्दै निजि क्षेत्रसँग हातेमालो गरेर सरकार अघि बढ्ने बताइन् । मन्त्री शर्माले भनिन्, – ‘क्यानले सुचना क्षेत्रको सफलता हासिल गर्ने ठुलो भुमिका खेलेको छ । यो युग सुचना प्रविधिको युग हो । विगत २८ वर्ष देखि बनाउदै आएको यो मेला निकै प्रभावकारी भइरहेको छ । सुचना प्रबिधी बिदेशी राष्ट्रबाट सिक्नु निकै आवश्यक छ । प्रविधि सरकारको अर्थतन्त्रको मुल आधार हो । यसमा निजि क्षेत्रसग समेत हातेमालो गर्नु सरकार तयार छ ।’ सरकारको सूचना प्रविधि क्षेत्रमा स्पष्ट नीति नहुँदा यो क्षेत्र अघि बढ्न केहि समस्या उत्पन्न भएको शर्माले बताइन् । ‘सरकारले प्रविधिमा स्पष्ट नीति बनाउन सकेको छैन । हाम्रो कानुन सुचना प्रविधिमैत्री बनाउनु जरुरी छ । प्रविधि राष्ट्रिय आवश्यकता हो भन्ने कुरा हामिले सैद्धान्तिक हिसाब मानि सकेका छौं’ शर्माले भनिन्, – ‘अबको लगानि सुचना तथा प्रविधि क्षेत्रमा हुनु पर्छ । यस क्षेत्रले हजारौं मान्छेलाइ रोजगारी दिन सकिन्छ । प्रविधिको क्षेत्रले सरकारलाई पनि ठुलो सहयोग भएको छ । डिजिटल नेपालको सपना पुरा गर्न क्यानको यो मेला सफल हुने छ ।’ साथै, क्यानलाई आफ्नो क्षेत्रको दायरा वृद्धि गर्ने समेत मन्त्री शर्माले आग्रह गरिन् । ‘सरकार र क्यानको सहकार्य आवश्यक छ । क्यानले पनि आफ्नो क्षेत्र बिस्तार गर्नुपर्छ । डिजिटल नेपाल बनाउन सरकारले चालेको कदम क्यानले थप सहयोग गरेको छ । प्रबिधिबाट प्रमाण ल्याउन हामिले सकेका छैनन्’ शर्माले भनिन् । समृद्धि आधार भनेको नै सुचना प्रविधि रहेको मन्त्री शर्माको तर्क थियो । बिदेशिएका युवाहरुलाई स्वदेश मै रोक्न सुचना प्रविधिबाट नयाँ फड्को मार्न सक्ने बताईन् । बजेट मार्फत पनि सरकारले सुचना प्रविधिलाइ जहिले पनि केन्द्रमा छ । प्रबिधि क्षेत्रमा आकर्षण बढाउन सरकारले छिट्टै नयाँ तालिम र प्रदर्शन गर्ने मन्त्रीले बताइन् । सुचना प्रविधि विकास सगै आएका नकारात्मक कुरालाई समेत सरकारले महत्वपूर्ण रुपमा लिएको उनले बताइन् । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तक्रिया गर्ने उद्देश्यले उक्त प्रदर्शनी शुरु भएको हो । प्रर्दशनीलाई सफल पार्न देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), सुबिसु केबलनेट लगायतका संस्थाले सहयोग रहेको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए । अन्तर्राष्ट्रिय रूपमा असोसियो र टीओए सफ्टवेयर कर्षको सहयोग रहेको छन् । नेपालमा सूचना तथा संचार प्रविधि र मनोरञ्जनसम्बन्धी वार्षिक रुपमा आयोजना हुने क्यानका अध्यक्ष रणजितकुमार पौदारले बताए । ’यो पटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर ईसेवामार्फत इन्फोटेकको टिकेट खरिद गर्न सकिने छ । यस अन्तर्गत सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ । विगत ६ वर्षदेखि क्यान महासंघ नेपालले लर्ड बुद्ध एजुकेसन फाउण्डेसनसँगको सहकार्यमा नेपालभरका जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई बीएस्सी आईटी डिग्रीका लागि प्रत्येक वर्ष २ करोड रुपैयाँको छात्रवृत्ति प्रदान गर्दै आएको छ’ पौदारले भने । त्यस्तै नेपाल रोबोटिक्स एकेडेमीले क्यान महासंघसँगको सहकार्यमा क्यान इन्फोटेक २०२४ मा नेपालमै विकास गरिएको जेनेरेटिभ एआई सिस्टम ‘कान्छी’ रोबटको बेटा संस्करण सार्वजनिक गरिने जनाएको छ । यस पटकको क्यान इन्फोटेकमा एनपी सर्ट र सीएसआरआईको पहलमा साइबर सेक्युरिटी हेल्प डेस्क समेत सञ्चालन गरिएको छ । प्रर्दशनिको बारे जानकारी दिदै महासचिव अधिकारीले सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने बताए । प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् । क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यक्ता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिने विश्वास लिएको छ । क्यान इन्फोटेकमा ब्राण्डिङ, आईसीटी एक्ससरिज, प्रडक्ट लञ्चिङसँगै आईटी करियर काउन्सिलिङ, स्टार्टअप तथा इनोभेसन पेभिलियन, सफ्टवेयर पेभिलियनको व्यवस्था गरिएको छ । यसपटक पनि नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवद्र्धन गरिएको छ । नेपालमै अनुसन्धान र विकासमार्फत तयार भएका प्रडक्ट र सलुसनलाई प्राथमिकता दिइने छ । यसअन्तर्गत इनोभेटिभ तथा स्टार्टअप पेभिलियनका लागि नेपाली स्टार्टअपलाई निःशुल्क स्टलको व्यवस्था गरिएको छ । गल्ली म्याप्समार्फत क्यान इन्फोटेक २०२४ को स्टलको स्थान तथा कम्पनीको ठेगाना म्यापमार्फत प्रदान गरिने जनाइएको छ । त्यस्तै मण्डला सिस्टमसँगको सहकार्यमा क्यान इन्फोटेक २०२४ लाई अनलाइनमार्फत पनि प्रत्यक्ष अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । उक्त मेलामा बीमा पोष्ट डटकमले समेत आफ्नो स्टल राखेको छ । क्यान इन्फोटेक २०२४ का लागि हालसम्म ९० प्रतिशत अर्थात् १२० बढी स्टल बुकिङ भइसकेको महासचिव अधिकारीले बताए । यस संस्करणको इन्फोटेक मेलालाई करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा क्यानले राखेको छ ।
हुलाकका एक हजार छ सय ३६ दरबन्दी खारेज
काठमाडौं । सरकारले केन्द्रीय धनादेश र टिकट व्यवस्थापन तथा ‘फिलाटेलिक’ कार्यालय खारेज गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले ‘एक पालिका एक हुलाक’ कायम गर्ने, हुलाकको सङ्गठन संरचना परिवर्तन गर्ने र एक हजार छ सय ३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । बैठकले विद्युतीय सुशान आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छभने गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण (पहिलो संशोधन) निर्देशिका २०८०, स्वीकृत गरेको छ । बैठकले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयार विकास समिति गठन आदेश २०८० बमोजिम अध्यक्ष पदमा महोत्तरी निवासी डा परशुराम मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहनुभएकी मन्त्री शर्माले सञ्चारकर्मीहरूलाई बताइन् ।