एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआमा अवलोकनकर्ताको आकर्षण
काठमाडौं । भृकुटीमण्डपमा बिहीवारदेखि सुरु भएको वृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआ’ मा अवलोकनकर्ताको आकर्षण बढेको छ । नयाँनयाँ प्रविधि र समाधानसहित सहभागी कम्पनीका स्टलमा अवलोकनकर्ताको चासो देखिएको छ । इन्फोटेकलाई लक्षित गर्दै प्रदर्शनी स्थलमा विभिन्न प्रविधि कम्पनी तथा संघसंस्थाहरुले आफ्नो ब्राण्ड प्रवद्र्धनसँगै विशेष छुट र अफर घोषणा गरेका छन् । प्रदर्शनीमा इन्टरनेट सेवाप्रदायक, स्थानीय सफ्टवेयर, कम्प्युटर तथा एक्सेसरिज, आईटी ट्रेनिङ तथा इन्स्टिच्युट, स्टार्टअप तथा इनोभेसन, नेटवर्किङ प्रडक्ट लगायतका स्टलमा अवलोकनकर्ताको बढी आकर्षण देखिएको क्यान महासंघका अध्यक्ष रणजीत पोदारले बताए । इन्फोटेकको शीर्ष प्रायोजक एस पावर बीपीई प्राइभेट लिमिटेडले नेपालका शैक्षिक संघसंस्थाका लागि उपयोगी हुने स्मार्ट बोर्डसहित यूपीएस, अटोमेटिक भोल्टेज रेगुलेटर, वाटरपम्प लगायतका प्रविधिहरूको विशेष प्रदर्शनी गरिरहेको छ । यी उत्पादनमा इन्फोटेक अवधिभर कम्पनीले अधिकतम ४० प्रतिशतसम्म छुट घोषणा गरेको छ । त्यस्तै नेपाल टेलिकमले इन्फोटेकलाई लक्षित गर्दै फाइबर इन्टरनेटमा विशेष प्याकेज घोषणा गरेको छ । यसअन्तर्गत १२ हजार रुपैयाँमै एक वर्षका लागि ५० एमबीपीएस इन्टरनेट प्याकेज ल्याएको छ । जसमा ग्राहकले सेटटप बक्स निःशुल्क पाउनुका साथै ल्यान्डलाइनमार्फत ३०० मिनेट कल र प्रतिदिन ६०० एमबी मोबाइल डेटा पाउनेछन् । अर्को इन्टरनेट सेवाप्रदायक डिशहोम फाइबरनेटले विशेष छुटसहित २०० एमबीपीएस र ३०० एमबीपीएसका प्याकेजमा इन्टरनेट, डीटीएच कम्बो तथा आईटीभी कम्बो अफर ल्याएको छ । इन्फोटेकमा स्वदेशी सफ्टवेयर कम्पनी इन्फोडेभलपर्स प्रालिले बैंक तथा वित्तीय संस्थाका लागि उपयोगी ‘बजेट ३६०’ नामको सफ्टवेयर सार्वजनिक गरेको छ, जसमा इन्फोटेक अवधिभर २५ प्रतिशत छुट घोषणा गरिएको छ । प्रदर्शनीमा चर्चित ब्राण्डहरूका ल्यापटप तथा गेमिङ पीसीमा युवा अवलोकनकर्ताको विशेष चासो देख्न सकिन्छ । कम्पनीहरूले पनि यी उत्पादनमा ‘क्यान अफर’ भन्दै विशेष छुट ल्याएका छन् । इन्फोटेकका अवलोकनकर्ताका लागि आईटी तालिम प्रदायक ब्रोडवे इन्फोसिसले आफ्ना हरेक आईटी कोर्समा १८ प्रतिशत छुट दिने घोषणा गरेको छ । त्यस्तै नेपाली ब्राण्ड अस्ट उल्फले पनि यही अवसरमा आफ्ना स्मार्टवाच, इयरबड, हेडफोन, स्पिकर, नेकब्यान्ड, चार्जर लगायतका एक्सेसरिजमा २० प्रतिशत छुट दिँदै ग्राहक आधार र बजार विस्तार गरेको छ । साथै अवलोकनकर्तालाई आफ्नो स्टलमा तान्न कम्पनीहरूले विभिन्न गेम तथा लक्की ड्र पनि सञ्चालन गरिरहेका छन् । इन्फोटेककै अवसरमा ‘कता हो’ नामक डिजिटल ठेगाना प्लेट प्रणाली सार्वजनिक भएको छ । यस प्लेटफर्मबाट केही मिनेटभित्रै नेपालका हरेक घरले आफ्नो घर ठेगाना प्लेट तयार गर्न सक्नेछन् । त्यस्तै नेपालको पहिलो बग बाउन्टी प्लेटफर्मका रूपमा परिचित ‘बगभी’को स्टलमा साइबर सुरक्षा अनुसन्धानकर्मी तथा जिज्ञासुहरूको आकर्षण देखिन्छ । साथै इन्फोटेकमा आफ्नो स्टल भिजिट गर्ने विद्यार्थीले ‘एमएस्सी आईटीएम’ डिग्रीमा विशेष छुट दिने कलेजले जनाएको छ । यसअन्तर्गत ६ लाख शुल्क लाग्ने यो डिग्री अब साढे ४ लाखमै पढ्न पाइनेछ । इन्फोटेककै अवसर पारी एफवन सफ्ट ग्रुपले ‘जुम जुम’ नामको राइड शेयरिङ प्लेटफर्म घोषणा गरेको छ । यसअन्तर्गत ग्राहकले प्रोमोकोड प्रयोग गरी पहिलो तीन राइड सेवा निःशुल्क लिन पाउने भएका छन् । त्यस्तै सीजी डिजिटलले इन्फोटेकका अवसरमा एक्सचेन्ज अफर घोषणा गरेको छ । यसअन्तर्गत जुनसुकै ब्राण्डका विद्युतीय उपकरण दिएर ग्राहकले नयाँ उपकरण खरिद गर्न सक्नेछन् । साथै नयाँ उपकरण किन्दा २० प्रतिशत छुटसमेत पाउनेछन् । त्यस्तै नेपाली स्टार्टअपहरू ठूलो डटकम, यार्सा टेक, कारोबार एप, आकाश एसएमएस, स्किल सेवा लगायतका स्टलमा पनि अवलोकनकर्ताको घुइँचो लागेको छ । क्यान इन्फोटेकको अर्को आकर्षणमा काठमाडौं मेट्रो आइडिया एन्ड इनोभेसन प्याभिलियन रहेको छ । यसअन्तर्गत काठमाडौं महानगरले १० उत्कृष्ट स्टार्टअपहरूलाई इन्फोटेकमा सहभागी गराएको छ । यसबाट स्टार्टअपलाई आफ्ना ग्राहकसँग जोड्न मद्दत मिल्ने तथा नागरिकहरूमाझ स्टार्टअप र उद्यमशीलता मानसिकता प्रवर्द्धन गर्ने विश्वास लिइएको छ । त्यसबाहेक नेपाली सफ्टवेयर कम्पनीहरू, आईटी ट्रेनिङ प्रोभाइडर, आईटी कलेजहरूले इन्फोटेकमा आउने अवलोकनकर्ताका लागि विशेष स्किम घोषणा गरेका छन् । अर्कोतर्फ कम्प्युटर र एक्सेसरिज लगायतका ब्राण्डले अवलोकनकर्ता आकर्षित गर्न सोही अनुसारका छुट तथा अफर सञ्चालन गरेका छन् । यसअन्तर्गत केही कम्पनीहरूले इन्फोटेकका अवसमा ल्यापटप, गेमिङ पीसी लगायतका प्रडक्टका लागि फ्रि सर्भसिङ अफर ल्याएका छन् । त्यस्तै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को सूचना प्रविधिमैत्री बसमा पनि अवलोकनकर्ताको आकर्षण देखिएको छ । विभिन्न ब्राण्डका केही कम्पनीहरुले अवलोकनकर्ताका लागि भन्दै प्रदर्शनीको अवसरमा ५० प्रतिशतभन्दा बढीको छुट दिइरहेका छन । छुट धेरै हुने भएकाले् केही ब्राण्डका पोर्टेबल एक्सेसरिजमा अवलोकनकर्ताको बढी भीड लाग्ने गरेको आयोजक क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । प्रदर्शनीमा नेपालको नवीनतम सोच (इनोभेसन) र स्टार्टअपलाई प्राथमिकतामा राखिएको महासचिव अधिकारीले जानकारी दिए । उनका अनुसार प्राथमिकतामा राखिएकै कारण इनोभेसन र स्टार्टअपहरुलाई निःशुल्क स्टलहरु समेत उपलब्ध गराइएको छ । शुक्रवार विभिन्न कलेज तथा विद्यालयबाटबाट उल्लेख्य संख्या आएका विद्यार्थीले माहोल थप बढाएको थियो । शुक्रबार क्यान इन्फोटेकमा चाइल्ड डेभलपमेन्ट प्रोग्राम नेपाल (सीडीपीएन), महादेवङबेसी, धादिङबाट सयभन्दा बढी विद्यार्थी अवलोकन गर्न आएका थिए । आयोजक क्यान महासंघले क्यान इन्फोटेकका लागि जेष्ठ नगरिक, फरक क्षमताका नागरिक, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विधालयको सिफारिसमा सामूहिक अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाएको छ । करिब १५० ओटा स्टल सहित सञ्चालन भइरहेको यो प्रदर्शनी सोमवारसम्म चल्ने छ । यसैबीच इन्फोटेक हेर्न शुक्रबार नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलसमेत आएका थिए । सो अवसरमा उनले नेपाली युवाले विकास गरेका नयाँ प्रविधिले आफूलाई आकर्षित गरेको प्रतिक्रिया दिए । त्यस्तै शक्रबार नै कोरिया फुड फर द हङ्ग्री इन्टरनेसनल (केएफएचआई) का नेपाल निर्देशक जेम्युन पार्कले पनि क्यान इन्फोटेक अवलोकन गरेका थिए । यो प्रदर्शनीलाई सरकारी तथा निजी क्षेत्रका उच्च पदस्थ अधिकारीहरू, नीति निर्माता, राजनीतिज्ञ लगायतले अवलोकन गर्ने कार्यक्रम छ । त्यस्तै इन्फोटेकमा शनिबार नेपालमै विकास गरिएको कान्छी रोबोट विशेष सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
नेपालको पाँचवर्षे ‘पार्टनरसीप फ्रेमवर्क’ बनाउदै विश्व बैंक
काठमाडौं । राष्ट्रिय योजना आयोग र विश्व बैंकबीच ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क’का विषयमा छलफल भएको छ । विश्व बैंकले नेपालका लागि बनाइरहेको आगामी पाँचवर्षे ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क’बारे शुक्रबार छलफल गरेको हो । छलफलमा आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले विश्व बैंकलगायत विकास साझेदारहरुका कतिपय कार्यक्रमका विषयमा पुनर्विचार गर्नुपर्ने बताए । विकास–निर्माणका परियोजनालाई नयाँ ढङ्गले कार्यान्वन गर्नुपर्नेमा उनले जोड दिए । साथै उनले सबै पुराना कार्यक्रमहरुलाई निरन्तरता दिन नहुने बताए । ‘पुराना कतिपय सफल नभएका कार्यक्रमहरुलाई बन्द वा पुनःसंरचना गर्नुपर्छ, उत्पादन र रोजगारी वृद्धिका लागि नयाँ कार्यक्रम बनाउर्नुपर्छ’, उपाध्यक्ष डा. श्रेष्ठले भने, ‘यसका लागि विश्व बैंकको सहयोग अपेक्षा गरिएको छ ।’ विश्व बैंककी नेपाल, माल्दिभ्स र श्रीलङ्का हेर्ने सञ्चालक व्यवस्थापक लाडा स्ट्रेलकोवासले आयोगले बनाइरहेको नेपालको १६औँ योजना र विश्व बैंकको कन्ट्री पार्टनरसीप फ्रेमवर्कबीच तादात्म्य कायम गर्नुपर्नेमा जोड दिइन् ।
गण्डकी र मधेश प्रदेशमा एनसेलको फोरजी सेवा सुधार
काठमाडौं । एनसेलले मधेश र गण्डकी प्रदेशका विभिन्न जिल्लाका स्थानीय स्तर र क्षेत्रमा फोरजी नेटवर्क सुधार गरेको छ । यससँगै यी क्षेत्रका ३० भन्दा बढी स्थानका ग्राहकहरूले अब फोरजीको सुदृढ नेटवर्क र मोबाइल ब्रोडब्याण्डबाट फाइदा लिनसक्ने कम्पनीले जनाएको छ । मधेश प्रदेशमा फोरजी सेवामा सुधार भएका क्षेत्रहरुमा औराही, बलवा, बटेश्वर, चन्द्रनगर, जनकपुरधाम, लोहरपट्टी, मटिहानी, मिथिला बिहारी नहरा, नवराजपुर, पिपरालगायतका स्थानहरु रहेका छन् । त्यसैगरी गण्डकी प्रदेशको आँबुखैरेनी, घरपझोङ, फेदीखोला, पोखरा, पुतलीबजार र ताराखोलामा पनि फोरजी नेटवर्क सुधार भएको छ । देशका अन्य स्थानहरुमा पनि सेवाको अवस्था हेरि आवश्यक लगानी गर्दै विस्तारित फोरजी सेवामा थप सुधार गर्ने योजना रहेको कम्पनीले जनाएको छ । हालैमात्र एनसेलले सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा विभिन्न स्थानहरुमा फोरजी सेवा सुधार गरेको थियो । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार एनसेलको फोरजी सेवा प्रयोग गर्ने ग्राहकहरूको सङ्ख्या असोजसम्ममा ६८ लाख ८५ हजार रहेको छ र भिजिटर लोकेसन रजिस्टर (भीएलआर) तथ्यांकका आधारमा एनसेलको बजार हिस्सा ५४.०६ प्रतिशत रहेको छ। सेवामा विस्तार साथै कम्पनीले विभिन्न जिल्लाका टावरमा फोरजी क्षमताको स्तरोन्नति पनि गर्दै आएको छ।
मेरोमाइक्रोफाइनान्स लघुवित्तको ११औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ११औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । उक्त सभा संस्थाका संचालक समितिका अध्यक्ष सुमित बाबु खत्रीको सभाध्यक्षमा सम्पन्न भएको हो । सो साधारण सभामा संस्थाका सेयरधनीहरूले आफ्नो विचार समेत व्यक्त गरेका थिए । संस्थाका सञ्चालक समितिका अध्यक्ष खत्रीले १० वर्षको अवधिमा संस्थाले आफ्नो ब्राण्डको रुपमा स्थापित गराउन सफल भएको बताए । त्यस्तै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले स्वागत मन्तव्य राखी सबैलाई स्वागत गरेका हुन् । सभामा समितिको प्रतिवेदनसहित गत आर्थिक वर्षको नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरू पारित गरेको छ । नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहेको संस्थाको देशका ६४ जिल्लामा १४९ शाखा कार्यालय मार्फत सेवा प्रवाह गरिरहेको छ ।
वैदेशिक रोजगारीका नाममा ५ लाख ठगी गर्ने पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै रु पाँच लाख रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१४ घर भई हाल काठमाडौं महानगरपालिका–३२ शान्तिनगर बस्ने धीरज पटेल रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनले भने, ‘पक्राउ परेका पटेलले विवेक यादवलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै पीडितबाट पटकपटक गरी पाँच लाख रुपैयाँ लिइ सम्पर्कविहीन भएपछि खोजी गर्ने क्रममा बिहीबार बबरमहलबाट पक्राउ गरी आज सार्वजनिक गरेका हौँ ।’ पक्राउ परेका पटेलमाथि थप अनुसन्धान तथा कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए । रासस
आर्थिक विकासका लागि पुँजीगत खर्च बढाऔं, अर्थतन्त्रको चक्रलाई चलायमान बनाऔं
सरकारका योजना तथा कार्यक्रमहरूको सफल कार्यान्वयनका लागि निजी क्षेत्रको नेतृत्वदायी संस्था नेपाल उद्योग परिसंघ (सीएनआई) ले सरकार तथा सरोकार निकायहरुसँग निरन्तर सहकार्य र समन्वय गर्दै आइरहेको छ । परिसंघले अर्थतन्त्रलाई पहिलो प्राथमकितामा राखेर नीतिगत सुझाव दिँदै आएको छ भने आफ्ना गतिविधिहरु पनि सोही दिशामा केन्द्रित गर्दै आएको छ । यसै सन्दर्भमा बजेटमा राम्रा योजना तथा कार्यक्रम आउने तर कार्यान्वयनको अवस्था निकै कमजोर रहने गरेको अनुभव हामी सबैले गरेका छौं । बजेटको सफल कार्यान्वयनबाट नै पुँजीगत खर्च बढ्ने, बजेटले निर्दिष्ट गरेको लक्ष्य हासिल हुने नीतिगत सुधार हुँदै समग्र अर्थतन्त्रको विस्तार हुने हुँदा बजेटको सफल कार्यान्वयन अति महत्वपूर्ण छ । प्रभावकारी बजेट कार्यान्वयनका लागि निजी क्षेत्रकोतर्फबाट रचनात्मक सहयोग गर्ने उद्देश्यसहित नेपाल आर्थिक पत्रकार समाज (सेजन) तथा पायोनेयर ल फर्मसँगको सहकार्यमा नेपाल उद्योग परिसंघले बजेटवाच कार्यक्रम सुरु गरेको छ । सीएनआई बजेट वाच नेपाल सरकारको बजेटमा आएका निजी क्षेत्र र अर्थतन्त्रसँग प्रत्यक्ष सरोकारका नीति तथा कार्यक्रमहरुमाथिको सार्वजनिक निजी संवाद कार्यक्रम हो । सरकार, निजी क्षेत्र विज्ञलगायत सम्पूर्ण सरोकारवालाहरुबीच सघन अन्तरक्रियामार्फत सरकारको वार्षिक बजेट कार्यान्वयनमा देखिएका अवरोधहरुको पहिचान र तिनको समाधानका लागि रचनात्मक सहयोग गर्दै बजेट कार्यान्वयनलाई प्रभावकारी बनाइ समग्र आर्थिक विकासलाई बढवा दिनु हाम्रो उद्देश्य रहेको छ । निजी क्षेत्र र अर्थतन्त्रसँग प्रत्यक्ष सरोकारका ७३ वटा बुँदालाई औद्योगिक विकास, लगानी प्रबर्द्धन, पूर्वाधार विकास, पर्यटन, कृषि, जडिबुटी तथा सुगन्धित वनस्पति, स्वदेशी उत्पादन तथा निर्यात प्रबर्द्धन, र कर व्यवस्थालाई सात क्षेत्रमा वर्गिकरण गरेका छौं । चालु आर्थिक वर्षको तेस्रो संवाद पूर्वाधार विकासमा केन्द्रित रहेर आज हामीले आयोजना गरेका हौं । बजेट सार्वजनिक भएको ६ महिना पूरा भइसकेको छ । बजेटमा घोषणा भएका निजी क्षेत्र र आर्थिक समृद्धिसँग सम्बन्धित ७३ वटा बुँदाहरुलाई दृष्टिगत गर्दा गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा केही सुधार आएको देखिएको छ । दोस्रो त्रैमासको अन्त्यसम्म आइपुग्दा बजेटमा घोषणा भएका बुँदाहरु मध्ये ७४ प्रतिशत (कुल ५४ बुँदा) नीति तथा कार्यक्रमहरु आंशिक कार्यान्वयन गइसकेको देखिएको छ । यो सकारात्मक छ । किनकि, अघिल्लो वर्ष समग्र आर्थिक वर्षभरिमा नै सीएनआईले प्राथमिकतामा राखेका ६३ मध्ये ४७ बुँदाहरु मात्र आंशिक कार्यान्वयनको चरणमा थिए । शून्य प्रगति भएका बजेटका बुँदाहरु दोस्रो त्रैमासको अन्त्यसम्म आइपुग्दा १६ प्रतिशतमा झरेको छ । शून्य प्रगतिका नीति तथा कार्यक्रमहरुको संख्यामा यस किसिमले कमी आउनुलाई हामीले सकारात्मक मान्नुपर्छ । यद्यपी ६ महिनाको अवधिमा ७३ बुँदाहरु मध्ये ७ बुँदाहरु (करिब १० प्रतिशत) पूर्ण कार्यन्वयनमा आएका छन् । यसैले बजेटको समग्र कार्यान्वयनको अवस्थामा भने सन्तोष मान्न सकिने अवस्था नरहेको देखिन्छ । हामीले विश्वास लिएका छौं की बाँकी अवधिमा बजेट कार्यान्वयन प्रभावकारी रुपमा हुनेछ । बजेटमार्फत राखिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न पूँजीगत खर्च बढाउनुपर्ने आवश्यकता छ । पुँजीगत खर्च बढ्न नसक्दा विकास निर्माणका कार्यहरु प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको हो की भन्ने हामीलाई महसुस गरिरहेका छौं । चालु आर्थिक वर्षको ७ महिना पूरा हुनै लाग्दा पुँजीगत खर्च ज्यादै न्यून छ । हालसम्म २० प्रतिशत पनि पुँजीगत खर्च भएको छैन । अर्थतन्त्रलाई प्रभावकारी रुपमा चलायमान बनाउन, विकास निर्माणलाई तीब्रता दिँदै समग्र आर्थिक विकासका लागि पुँजीगत खर्च बढाउनुपर्ने हुन्छ । पुँजीगत खर्च बढ्दै जाँदा त्यसले अर्थतन्त्रको चक्रलाई नै चलायमान बनाउँछ । बजेटको प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ । औद्योगिकीकरणका माध्यमबाट समग्र अर्थतन्त्रको विकास, रोजगारी सिर्जना गर्न लगानी प्रोत्साहन गर्न अपरिहार्य छ । सरकारले योजनाहरु अगाडि बढाउने तर कार्यान्वयन फितलो हुने गरेको विगतका परम्परालाई तोड्दै मुलुकलाई आर्थिक रुपान्तरणको वाटोमा लैजान बजेटको सफल कार्यान्वयन महत्वपूर्ण हुन्छ । परिसंघले जहिले पनि देशको समग्र आर्थिक हितलाई नै हेरेर आफ्ना सुझावहरु दिने र सोही अनुरुपका आफ्ना गतिविधिहरु संचालन गर्दै आइरहेको छ । बजेट वाच पनि सोही अनुरुप एउटा पहलको रुपमा अगाडि बढाइएको छ । (नेपाल उद्योग परिसंघका अध्यक्ष अग्रवालले पूर्वाधार विकासमा केन्द्रित बजेट वाच कार्यक्रममा राखेका मन्तव्यको सम्पादित अंश)
सुन्तला बेचेरै दुई छोरा इञ्जिनियर र एक छोरी बैंकर
भोजपुर । सुन्तला बिक्रीबाट किसानले मनग्य आम्दानी गर्दै आएका छन् । भोजपुरको टेम्केमैयुङ–३ अन्नपूर्णका किसान बद्रीप्रसाद अधिकारीले सुन्तला बिक्रीबाट वार्षिक १० लाख आम्दानी गर्दै आएका छन् । ४३ वर्षअघिदेखि ३३ रोपनी क्षेत्रमा व्यावसायिकरुपमा सुन्तलाखेती गर्दै आएका किसान अधिकारीले आफ्नो बगानमा रहेका तीन सय ७५ बोट सुन्तलाले आम्दानी दिँदै आएको जानकारी दिए । ‘मैले विगत ४३ वर्षदेखि व्यावसायिक सुन्तलाखेती गर्दै आएको छु’, उनले भने, ‘सुन्तला बिक्रीबाट १० लाख वार्षिक आम्दानी हुन्छ । यसबाट भएको आम्दानीले दुई छोरालाई इञ्जिनियर र एक छोरीलाई बैंकको जागिरे बनाएको छु । मेरो मुख्य आम्दानीको स्रोत सुन्तला बनेको छ ।’ विगतमा यहाँका स्थानीय बजारमा मात्र बिक्री हुने भन्दै अधिकारीले पछिल्लो समय सडक विस्तारका कारण बिक्री वितरणमा सहज बनेको बताए । अहिले बगानबाट नै धरान, इटहरी, विराटनगरलगायतका सहरमा पुग्न थालेपछि किसानले राम्रो मूल्य पाएका हुन् । उत्पादित सुन्तलाको बिक्रीका लागि बजारको समस्या नभएको उनको भनाइ थियो । एकपटक हुर्काएपछि सुन्तलाखेती दिगो आम्दानीको स्रोत बन्ने अधिकारीले बताए । एक पटक बिरुवा हुर्किसकेपछि एक सय वर्षसम्म लाभ लिन सकिने भएकाले भविष्यको पनि राम्रो आम्दानीको स्रोत बन्ने उनको भनाइ छ । ‘सुन्तलाखेती भविष्यको राम्रो आम्दानीको स्रोत हो’, उनले भने, ‘एक पटक बिरुवा हुर्काएपछि लामो समयसम्म निरन्तर आम्दानी हुन्छ । सामान्यरुपमा बगानको हेरचाह मात्र गरे हुन्छ, धेरै दुःख गर्न पर्दैन ।’ व्यावसायिक सुन्तलाखेतीमा लागेका अधिकारी जिल्लाको एक उदाहरणीय किसान बनेका छन् । आफैंले बिक्री गर्न ठूला बजारसम्म लैजानसके हालकोभन्दा राम्रो मूल्य लिन सकिने उनको भनाइ छ । सिँचाइ तथा आधुनिक प्रविधिको विकासमा जोड दिनसके अझ राम्रो आम्दानी गर्न सकिने किसान अधिकारीको भनाइ छ । पछिल्लो समय यो क्षेत्रका धेरै युवा व्यावसायिक सुन्तलाखेती विस्तारमा जुटेको उनले बताए । कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको टेम्केमैयुङ गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताए । गाउँपालिकाले यहाँका किसानलाई लक्षित गरेर प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिरहेको उनले जानकारी दिए । ‘गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ’, उपाध्यक्ष राईले भने ‘यहाँको माटो सुहाउँदो बालीमा जोड दिएका छौँ । गाउँपालिकालाई कृषिमा आत्मानिर्भर बनाउने लक्ष्यका साथ अघि बढेका छौँ ।’ किसानलाई बहुवर्षीय बालीखेतीका लागि प्रोत्साहन गर्दै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले बताए । किसानको आवश्यकतालाई ध्यानमा राखेर सुन्तला, किबीलगायत खेतीमा जोड दिइएको उनको भनाइ छ । ‘हामीले कृषिलाई व्यावसायिक बनाउने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिरहेका छौँ’, प्रशासकीय अधिकृत पौडेलले भने, ‘बहुवर्षीय बालीको खेती विस्तारमा जोड दिएका छौँ । किसानलाई आवश्यकताका आधारमा विभिन्न सहयोग गर्दै आएका छौँ । कृषिलाई व्यावसायिक बनाएर यहाँको आम्दानीको स्रोतका रुपमा जोड्ने हाम्रो लक्ष्य छ ।’ सुन्तलाखेती विस्तारका लागि बर्सेनि बिरुवा वितरण गर्दै आइएको वडाध्यक्ष पूर्णप्रसाद राईले बताए । यहाँका साविक ९, ४, ५, ६ ८ वडाका करिब दुई सय घर परिवार सुन्तलाखेतीमा आबद्ध रहेको उनको भनाइ छ । ‘यहाँका अधिकांश किसानले सुन्तलाखेती गर्दै आएका छन्’, वडाध्यक्ष राईले भने, ‘खेती विस्तारमा जोड दिन किसानलाई बर्सेनि बिरुवा वितरणसँगै आवश्यक सहयोग गर्दै आएका छौँ । सुन्तला किसानको राम्रो आम्दानीको स्रोत बनेको छ ।’ कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम अघि बढाएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । यहाँका नगदेबालीसँगै, कृषि तथा पशुपालनमा लागेका किसानलाई प्रोत्साहन गर्ने योजना रहेको उनको भनाइ छ । यहाँका नौवटै स्थानीय तहमा सुन्तला उत्पादन हुन्छ । विशेष गरेर टेम्केमैयुङ गाउँपालिकाको खावा केराबारी, अन्नपूर्ण, छिनामखु, कोट, गोगनेसँगै भोजपुर नगरपालिकाको दावा, बोमिख, पोखरे, षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकामा सुन्तला बढी उत्पादन हुने गरेको छ । सुन्तलाको खेतीका लागि पूर्व उत्तर फर्केको जमिन उपयुक्त हुने किसानको भनाइ छ । सुन्तला विषेश गरेर समुन्द्री सतहबाट एक हजारदेखि बाह्र सय मिटरसम्मको उचाइमा राम्रो फस्टाउने गर्दछ । रासस