विकासन्युज

भरतपुरमा एकैदिन तीन आयोजना उद्घाटन, पूर्वाधार बनेपछि महानगरबासीलाई उद्यमी बनाइने

चितवन । भौतिक पूर्वाधारमा द्रूत विकास गर्दै आइरहेको भरतपुर महानगरपालिकाले एकैदिन तीन आयोजनाको उद्घाटन गरेको छ । संघीय र प्रदेशसँग समन्वय गर्दै ठूलो मात्रामा विकास बजेट भित्र्याएको भरतपुरले तीनवटा सरकारको समन्वयमा निर्माण भएका आयोजना उद्घाटन गरेको हो । वडा कार्यालय भवन, १६ शय्याको अस्पताल र घरेलु प्रदर्शनी केन्द्रको महानगर प्रमुख रेनु दाहालले आज उद्घाटन गरिन् । उद्घाटन समारोहमा प्रमुख दाहालले आगामी कार्यभार भरतपुरको उद्यमशीलताको विकास रहेको बताइन् । भरतपुरमा पूर्वाधार विकासको क्षेत्रमा धेरै काम भएको भन्दै उनले अबको योजना महानगरबासीलाई उद्यमी बनाउने रहेको बताइन् । उनले भनिन्, ‘स्वदेशमा नै रोजगारी सृजना गर्न महानगरले घरेलु उद्योगको प्रवर्द्धन गर्दै आएको छ । अबका दिनमा उद्यमशीलतालाई थप प्रोत्साहन गर्दै जानेछौँ ।’ समय–समयमा विभिन्न किसिमका तालिम प्रदान गर्दै आइरहेको बताउँदै उनले समग्र महानगरबासीको आर्थिक विकासमा प्रदर्शनी केन्द्रले, स्वास्थ्य क्षेत्रमा अस्पतालले र स्थानीय जनतालाई अन्य सेवा वडा कार्यालयले दिने बताइन् । कार्यक्रममा उपप्रमुख चित्रसेन अधिकारीले जनताको अधिकारलाई थप बलियो बनाउन तीनवटा योजनाको एकैपटक उद्घाटन गरिएको बताए । महानगरपालिकाले स्थानीय सरकारका रुपमा आम जनताको भावना र मर्मअनुसार काम गर्दै आएको उनको भनाइ थियो । दुईतले वडा कार्यालय भवन निर्माणका लागि एक करोड ३२ लाख रुपैयाँ खर्च भएको वडाअध्यक्ष विष्णुराज महतोले जानकारी दिए । यसैगरी, बागमती प्रदेश सरकारको एक करोड ५५ लाख सहयोगमा घरेलु प्रदर्शनी केन्द्र निर्माण भएको हो । एसियाली विकास बैंक÷जेएएफपीआरको अनुदान सहयोगमा नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत कोभिड–१९ रेस्पोन्स आयोजनामार्फत एक करोड ६६ लाख रुपैयाँको लागतमा १६ शय्याको अस्पताल निर्माण भएको हो । यसको स्वामित्व आजै भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेललयागतले बोलेका थिए ।

किसानलाई दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुग्ध विकास संस्थानले दूध खरिद गरेबापत किसानलाई दिनुपर्ने भुक्तानी तुरुन्त दिन निर्देशन दिएका छन् । उनले सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषि तथा पशुपक्षी विकास मन्त्री डा. बेदुराम भुसाल र मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर किसानको दूधको भुक्तानी तुरून्तै दिन निर्देशन दिएका हुन् । त्यस क्रममा प्रधानमन्त्रीले निजी क्षेत्रबाट किसानले पाउनुपर्ने भुक्तानी तुरून्त दिन र भुक्तानी नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । ‘किसानले महिनौँसम्म दूधको भुक्तानी नपाउनुको कारण के हो, यसलाई गम्भीरतापूर्वक लिनुस्,’ उनले भने, ‘निजी क्षेत्रबाट किसानलाई भुक्तानी दिनुपर्ने रकमका लागि तत्काल सहजीकरण गर्नुस् ।’

अब २९ हजारमै ‘होनोर एक्स८बी’ मोबाइल पाइने

काठमाडौं । उच्च क्षमताको ‘होनोर एक्स८बी’ मोबाइल अब ५१२ जीबी मेम्माेरी भएको मोबाइल मात्र २९ हजार ९९९ रुपैयाँमा पाइने भएको छ । नेपालमा होनोर मोबाइलको आधिकारिक वितरक सेलट्रोन नेपालले उच्च क्षमताको ‘होनोर एक्स८बी’ मोबाइल निकै सस्तो मूल्यमा उपलब्ध गराउन लागेको हो । आजदेखि स्पेनको बार्सिलोनामा आयोजित टेक्नोलोजी र इन्नोभेसनका लागि सबैभन्दा ठूलो इभेन्ट मोबाइल वर्ल्ड कांग्रेस (एमडब्ल्यूसी)मा आफ्नो ‘म्याजिक इन्नोभेसन’का रुपमा ‘म्याजिक ६ सिरिज’, म्याजिक भी२ सेरिज’ र म्याजिक बूक प्रो १६’ लञ्च गर्दै छ । त्यहाँ लञ्च गरिने नयाँ सिरिजका मोबाइलहरूमध्ये एस्क सिरिजको मोबाइल ‘होनोर एक्स८बी’लाई चाँडै नै नेपाली बजारमा भित्र्याउने कम्पनीले जनाएको छ । जुन ५१२ जीबी स्टोरेजको छ भने कम्पनीले ‘कम्प्युटर लेभल स्टोरेज’ ट्याग लगाइदिएको छ । बुकिङका लागि कम्पनीले तीन दिन अर्थात् फेब्रुअरी २८ सम्मको समयसीमा तोकेको छ । प्रि–बुकिङ गर्दा कम्पनीले ५ हजार ९९० रुपैयाँ पर्ने होनोर च्वाइस एयरवड ‘एक्स५ई दुई हजार रुपैयाँमै उपलब्ध गराउने पनि जानकारी दिएको छ ।

गायक भक्तराज आचार्यको निधन

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । घरमै अस्वस्थ भएपछि उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै गायक आचार्यको निधन भएको हो । ८२ वर्षीय आचार्यको सोमबार निधन भएको हो । घरमै बसेका बेला एक्कासि अक्सिजनको लेभल घटेपछि अस्पताल लैजाने क्रममा आचार्यको निधन भएको जनाइएको छ । ४ सयजति गित गाएका आचर्यका मुटु जलिरहेछ, जति चोट दिन्छौं, जहाँ छन् बुद्धका आँखा लगायतका चर्चित गित छन् । भक्तराजका दुई छोरा सत्य-स्वरुप आचार्य पनि नेपाली गीतसंगीतका लोकप्रिय गायक हुन् ।

यस कारण नेपाली बैंक डुब्दैनन्- गभर्नर अधिकारीको विचार

पछिल्लो समय अर्थतन्त्रमा एक किसिमको सिथिलता सिर्जना भएको छ । कोरोना महामारी र अन्तर्राष्ट्रियस्तरमा सप्लाइमा ठूलो परिवर्तन आएको छ । यही बेला धेरै किसिमका असरहरू भोग्नु परेको छ । सन् २०२२ मा विश्वमा मूल्यवृद्धि धेरै भयो । तर, उत्पादन ग्रोथ धेरै तल रह्यो । सन् २०२३ मा भने केही सुधार भयो । सन् २०२४ मा थप सुधार हुन सुक्ने अनुमान विभिन्न निकायहरूले गरेका छन् । अहिले उत्पादन बढ्दै र मूल्यवृद्धि घट्दै जाने भइरहेको छ । केही सीमित देशहरू जस्तै, अर्जेन्टिना र टर्कीमा धेरै सुधार भइसकेको अवस्था छ । नेपालको आर्थिक स्थिति सबल देखिन्छ । तर, जनभावना बेग्लै किसिमको छ । हामीसँग १४ महिनाको आयातलाई कभर गर्न सक्ने विदेशी मुद्राको सञ्चिति छ । यो देशको अर्थतन्त्रका लागि बलियो आधार हो । राज्यले चाहेको बेलामा जहाँसुकै खर्च गर्न सक्ने अवस्था सिर्जना भएको छ । बैंक तथा वित्तीय संस्थाहरूलाई लगानी गर्ने ठाउँ खुला गरिदिएको छ । यो धेरै ठूलो स्ट्रेन्थ हो । यसलाई हामीले उपयोग गर्नका लागि रोकिरहेका छैनौं । आर्थिक सिथिलता भयो । अर्थतन्त्र चलायमान भएन भनेर समुदायमा धेरै ऋणीहरूको गुनासो छ । ऋण र वस्तुको माग पनि घटेको अवस्था छ । उद्योगहरू पूर्ण क्षमतामा चलिरहेका छैनन् । यसको असर अन्य क्षेत्रमा परिरहेको छ । मैले पहिले नै ओभर फाइनान्सिङ भयो भनेर भनेको थिएँ । तर, धेरैले प्रश्न गरे । अहिले धेरैलाई त्यो कुरा महसुस भएको छ । अब यसमा कसलाई दोष दिने ? बैंकलाई दिने कि ऋणीलाई ? अब आफैले लिनु पर्ला । कर्जा दिने बैंकका सीईओहरूले हो । यहाँ बैंकरको पनि दोष देखियो । हाम्रा ऋणीहरूले पनि आफ्नो घाँटी अनुसारको काम गरिदिएको भए, बैंकहरूले पनि उहाँहरुको क्षमता यति हो, यो भन्दा माथि जानु हुँदैन भनेर सोचिदिएको भए अहिले उहाँहरूलाई समस्या पर्ने थिएन । त्यसैले उहाँहरू (ऋणी वा ग्राहक)लाई समस्या पर्नुमा हामी पनि दोषी छौं । अहिले केही ठूला उद्योगहरूमा समस्या परेको हुन सक्छ । उसको क्षमता घट्दै गएपछि हिजोको तुलनामा आज फरक पर्न सक्छ । उसको टर्म लोन, फिक्स्ड एसेटहरूमा लगाइएको फिक्स नै थियो । तर, वर्किङ क्यापिटल तलमाथि नै हुने भयो । उसै पनि अहिले कर्जाको माग घटिरहेको कारण पनि त्यही नै हो । एउटा उद्योग ४० प्रतिशत क्षमतामा चल्छ भने उसको वर्किङ क्यािपटल रिक्वायरमेन्ट ६० प्रतिशतले घट्छ । उसले त्यो ६० प्रतिशत पाउन मात्रै ऋण खोज्छ । किन ब्याज र ऋण बोकेर मात्रै बस्छ ? पछिल्लो समय ऋणको माग आएन भनिरहेका छौं । ठूला ऋणीहरूले ऋण माग गर्न सक्ने स्थिती सिर्जना भइसकेको छैन । अब बढाउन हामीले अन्य विषय पनि छुन पर्छ की जस्तो लाग्छ । सहकारी क्षेत्रको समस्या पनि त्यस्तै छ । हाम्रो अर्थतन्त्र सहकारी र अनौपचारिक अर्थतन्त्रले निकै असर पारेको छ । अधिकांश सटरहरू सहकारीबाट फाइनान्समा आउँछौं । अधिकांश साना पसलले दैनिक ४/५ वटा सहकारीमा रकम जम्मा गरेका हुन्छन् । उहाँहरू सानो कर्जा त्यही सहकारीबाट लिनु हुन्छ र सानो बचत पनि त्यही सहकारीबाट लिनु हुन्छ । बैंकको पहुँच त्यो ग्रास रूटमा धेरै कम पुगेको छ । सहकारीमा समस्या आइसकेपछि बैंकतिरको रिपेमेन्टमा पनि समस्या आएको हामीले देखेका छौं । मैले आफ्नो तर्फबाट समाधान उपाय, आफ्ना प्रस्तावहरू सम्बन्धित ठाउँमा राखिसकेको छु । सहकारीभित्र बचतकर्ताको कम्पोजिसन कस्तो छ, बचतकर्ताहरू कस्ता किसिमका छन्, साना कति, ठूला कति छन् ? सानालाई रकम सेटल गर्न कति रकम लाग्ला ? अरु बचतकर्ता आफैं चुप लागेर बस्ने स्थिति देखिन्छ । सुधारका केही प्रतिवेदन बनेका छन् । सहकारी संस्थाको नियमनका लागि सेकेण्ड टायर इन्स्टिच्युट आवश्यक छ । जुन विषय सरकारको बजेटमा पनि उल्लेख छ । सहकारी संस्था नियमनका लागि नियामक निकाय बनाउने । त्यो संस्था स्थापना गरेपछि मात्रै सहकारीलाई थप व्यवस्थित गर्न सकिन्छ । त्यो व्यवस्थित भइसकेपछि अर्थतन्त्रमा अहिलेको समस्या टर्दै जान्छ । निजी क्षेत्रबाट पनि निर्माण कम छ । निर्माण क्षेत्र सुस्त छ । सरकारको तर्फबाट हुने निर्माणका ठूला आयोजना पनि प्रभावकारीरूपमा अगाडि बढ्न सकेका छैनन् । निर्माण क्षेत्रलाई ‘पूस’ गर्नु पर्नेछ । यसको लिंक सिमेन्ट तथा स्टिल उद्योगमा पनि छ । ती उद्योग गतिशिल हुन सक्यो भने आर्थिक गतिविधिहरू बढ्छन् भन्ने राष्ट्र बैंकको बुझाइ छ । वास्कविकता र फिलिङमा फरक छ । सहकारी क्षेत्रमा पनि समस्या पर्दा अर्थतन्त्रमा केही असर परेको छ । यो वर्ष नर्मल भए पनि खराब कर्जा बढेको छ । यो बढेको भन्दा पनि यो वर्ष रियालिस्टिक पिक्चर बाहिर आइरहेको वर्ष हो । रिफर्म गर्दा केही समय पेनफुल हुन्छ नै । अहिले खुद खराब कर्जा १.१३ हाराहारीमा छ । बैंकिङ प्रणालीले ठूलो मात्रामा प्रोभिजनिङ गरेको छ । अहिले लाभांश कम भएपनि संस्था बलियो हुनुपर्छ भन्ने मान्यता हाम्रो हो । त्यसैले आत्तिहाल्नु पर्ने अवस्था छैन । त्यसैले पनि हामीलाई स्ट्रेस छैन । अहिलेको समस्या भनेको समुदायको मनोविज्ञान हो । बैंकिङलाई बुझ्ने सोसाइटी हाम्रो छैन । अधिकांशले बैंकर सामन्ती, साहु र मिटरब्याजी बने भन्ने अभिव्यक्ति दिइरहेका छन् । वित्तीय अराजकता बढिरहेको छ । मैले नम्बर हेर्दा कुनै पनि समस्या देख्दिनँ । म गभर्नरमा नियुक्त हुँदा ३२ खर्बको पोर्टफोलियो थियो, नाफा ७० अर्बको हाराहारीमा थियो । आज त्यो पोर्टफोलियो बढेर ५० खर्ब बढी पुगेको छ । अनि बैंकहरू कसरी नाफाखोर भए ? कसरी नाफा बढ्यो ? पहिले बैंकहरूले चार प्रतिशतसम्म शुल्क लिन्थे । अहिले हामीले ०.७५ प्रतिशतभन्दा बढी लिन नपाइने भनेर तोकिदिएका छौं । बैंकहरूको आम्दानी घटेको छ । यो विषय कसैले भन्दिदैनन् । बैंकलाई चौतर्फीरूपमा पेलेर उपलब्धि हाँसिल गरेजस्तो व्यवहार धेरैले गर्छन् । बैंक बिग्रनु भनेको समुदाय बिग्रिनु हो । एउटा बैंक बिग्रियो भने अन्य संस्था पनि बिग्रन्छन् । सानो झिल्कोले पनि संसारमै समस्या आएको उदाहरण देखेका छौं । केही समस्याले बैंक डुब्न सक्छ । तर, नेपाली बैंकहरूमा त्यो अवस्था छैन । बैंक डुब्नुमा धेरै कारणहरू हुन्छन् । त्यहाँको मेगानिज्म के छ ? बीमाको अवस्था के कस्तो छ ? इन्टरभेन्सन के कस्तो छ ? यस्ता विविध विषयहरू हेर्नु पर्ने हुन्छ । तर, हाम्रोमा त्यस्तो अवस्था छैन । नेपाली बैंक डुब्ने अवस्था छैन । बैंकिङ प्रणालीलाई मजबुद बनाउने प्रयास हामीले गरिरहेका छौं । एउटा संस्था समस्यामा पर्दा अर्को संस्था खुसी हुने प्रवृति पनि नेपालमा छ । तर, अरुलाई खाने बाघले आफूलाई पनि खान्छ भन्ने कुरा भुल्नु हुँदैन । संस्था बिग्रियो भने अर्थतन्त्रलाई असर गर्छ । अर्थतन्त्रलाई असर गर्यो भने हामी सबैको चुलोलाई असर गर्छ । त्यसैले सबैले ख्याल गरेर अगाडि बढ्नुपर्छ । राष्ट्र बैंकले अम्ब्रेला पोलिसी ल्याइरहेको छ । वित्तीय क्षेत्र संवेदनशील छ । केही समय राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्थामा पनि निकै प्रहार भयो । कर्जा निक्षेप अनुपात (सिडी रेसियो) लाई धेरैले फरक ढंगबाट बुझे । धेरै कर्जा प्रवाह भइरहेको बेला आएको नीतिलाई धेरैले विरोध गरे । अहिले धेरै बैंकलाई त्यो सीडीले काम गर्यो । अहिले एनआईसी एसिया बैंकलाई पनि त्यो सीडी रेसियोले काम गर्यो । एनआईसी एसियाको गलत हल्ला बाहिर आएपछि २७ अर्ब रपैयाँ विथड्र भएको छ । सीडी रेसियो ९५ गरेको भए अहिले हामी अर्कै किसिमको व्यवस्थापनमा लाग्नु पथ्र्यो । राष्ट्र बैंकका नीतिहरू पछाडि मात्रै थाहा हुन्छ । यसको प्रभाव पछि मात्रै थाहा हुन्छ । त्यो कति महत्वपूर्ण रहेछ भन्ने आज मात्रै थाहा भएको छ । हाम्रो वित्तीय प्रणाली धेरै हदसम्म राम्रा छन् । हामी कुनै पनि बैंक वित्तीय संस्थालाई ढल्न दिँदैनौं । यसमा राष्ट्र बैंक प्रतिवद्ध छ । सबै बैंकहरूको पुँजी धेरै तल गयो भने फेल हुन सक्छन् । तर, त्यसको असर प्रणालीमा कस्तो पर्छ भन्ने विषय बुझ्न सक्नुपर्छ । अमेरिकामा एउटा बैंक डुबेपछि अन्य बैंकमा पनि समस्या बढ्दै गयो । यो पनि हाम्रो लागि महत्वपूर्ण पाठ हो । नेपाली बैंक डुब्ने स्थितिमा छैनन् । डुबिहाले पनि त्यो संस्था र निक्षेपकर्तालाई प्रोटेक्ट गर्ने मेकानिज्म हामीसँग छ । बचतकर्ताको बचत पनि कुनै हालतमा डुब्ने अवस्था छैन । (सोमबार नेपाल बैंकर्स संघले आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले राखेको विचार)

चीनले १०० वटा अन्तरिक्ष प्रक्षेपण गर्ने, अन्तरिक्षकमा नयाँ रेकर्ड हुने

चीन । चीनले यो वर्ष करिब १०० वटा अन्तरिक्ष प्रक्षेपण गर्ने भएको छ । यस योजनाबाट अन्तरिक्षका क्षेत्रमा देशको नयाँ रेकर्ड कायम हुनेछ । सोमबार पत्रकार सम्मेलन आयोजना गरी यस बारे सार्वजनिक जानकारी गराइएको छ । प्रक्षेपणहरूमा चीनको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण साइटबाट पहिलो उडान समावेश गरिएको बताइएको छ । चीनको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण स्थल दक्षिण चीनको टापु प्रान्त हेनानको वेनचाङ शहरमा निर्माण भइरहेको छ । चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेशन, देशको रकेट शृङ्खला विकासकर्ता र देशको अन्तरिक्ष उद्योगको अग्रणी शक्ति, चाइना एरोस्पेस विज्ञान र प्रविधिको सन् २०२३ ब्लु बुक (नीलो पुस्तिका) पनि सोही पत्रकार सम्मेलनमा जारी गरी यसबारे थप जानकारी दिइएको छ । रासस

वीर अस्पतालले गर्यो बदमासी, बिना टेन्डर औषधि खरिद

काठमाडौं । वीर अस्पतालले फार्मेसीका लागि औषधि खरिद बिना प्रतिस्पर्धा गरेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको अनुगमनका क्रममा त्यस्तो पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले जानकारी दिए । अस्पताल प्रशासनले भने तीन वटा फार्मेसीका लागि औषधि प्रक्रिया पूरा गरेरै खरिद गरेको दाबी गरेपनि अनुगमनका क्रममा भने २०७८ देखि पुरानै सम्झौताअनुसार खरिद भइरहेको पाइएको उनको भनाइ छ । अनुगमन टोली सदस्य समेत रहेका वरिष्ठ जनस्वास्थ्य अधिकृत मिश्रले भने, ‘विसं २०७८ देखि हालसम्म बोलपत्र आह्वान नगरी औषधि खरिद गरिरहेको अनुगमनका क्रममा देखिएको छ ।’ उनले अनुगमनका क्रममा अत्यावश्यक औषधि फार्मेसीमा नभएको, अनावश्यक औषधि स्टोरमा राखेको, म्याद सकिएको औषधि फिर्ता नगरी धेरै मात्रामा राखेको, फार्मेसीको स्टोरमा पालना गर्नुपर्ने न्यूनतम मापदण्ड पनि पालना नगरेको पाइएको जानकारी दिए । वीर अस्पतालका निर्देशक सन्तोष पौडेलले फार्मेसीको नेतृत्व यसबीच तीन पटक परिवर्तन भएकाले बोलपत्र आव्हानमा समस्या देखिएको बताए । उनले केही औषधि खरिदका लागि भने बोलपत्र आह्वान भइसकेको जानकारी दिए । ‘बीमाबाट आउनुपर्ने रकम छ महिनासम्म पनि नआउँदा आपूर्तिमा समस्या भएको हो । अन्यत्रबाट सोझै खरिद गरी ल्याउन सकिन्न’, उनले भने, ‘आपूर्तिकर्तासँग अत्यावश्यक औषधि खरिदका लागि पटक–पटक छलफल गर्दा पनि भुक्तानी नभएकाले आपूर्ति रोकिएको छ ।’ निर्देशक पौडेलले प्राविधिक जनशक्ति अभावले अस्पतालद्वारा सञ्चालित तीन वटा फार्मेसी चौबिस घण्टा सञ्चालन गर्न नसकिएको पनि बताए । उनले एउटा काउन्टरलाई २४ घण्टा सञ्चालन गरे पनि दुई वटा काउन्टर भने बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र सञ्चालन भइरहेको जानकारी दिए । उनले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा फार्मेसी भवन निर्माणका लागि खालि ठाँउमा टहरा निर्माणको ठेक्का लगाउने प्रक्रियामा अगाडि बढाइएको जानकारी दिए । ‘केही दिनमा टहरा निर्माण र बोलपत्र आह्वान गरी औषधि आपूर्ति पनि भइसक्छ’, उनले भने, ‘जनशक्ति थप गरेपछि अहिलेको समस्या ९० प्रतिशत समाधान हुनेछ ।’ रासस

सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगले माग्यो १५ दिनको समय

काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले यही फागुन मसान्तभित्र प्रतिवेदन प्रस्तुत गर्ने गरी अवधि थप गर्न सरकारसमक्ष अनुरोध गरेको छ । आयोगले यही फागुन १५ गतेभित्र प्रतिवेदन प्रस्तुत गर्न केही समय नपुग भएकाले समयावधि थपका लागि गृहमन्त्रालयमार्फत नेपाल सरकारसमक्ष अनुरोध गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट सङ्कलन भएका केही थप प्रमाण र तथ्य प्राप्त हुन आएकाले सोको अध्ययन विश्लेषण गर्न र केही निकायबाट विवरण तथा जवाफ प्राप्त भइनसकेकाले प्रतिवेदन लेखनमा ढिलाइ भएको आयोगका अध्यक्ष डिल्लीराज आचार्यले जानकारी दिए । आयोग प्राप्त प्रमाणको अध्ययन, विश्लेषण र प्रतिवेदन तयारीमा रहने हुँदा यो अवधिलाई आयोगको मौन अवधिका रुपमा बुझिदिनुहुन उनले आग्रह गरे । आयोगले फागुन मसान्तभित्रै सरकारसमक्ष प्रतिवेदन पेस गर्ने उनको भनाइ छ । सरकारले गत असोज १५ गते सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० गठन गरेको थियो । आयोगलाई तीन महिनाभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको थियो । तीन महिनामा अध्ययन नसकिएपछि आयोगलाई दुई महिनाको समय थप गरिएको थियो । रासस