विकासन्युज

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम २ अर्ब ९२ करोड

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक २२ दशमलव १० अंकले बढेर २०५२ दशमलव ६५ बिन्दुमा पुगेको छ । यसदिन ३०४ कम्पनीका ५६ हजार ७ सय २६ पटकको कारोबारमा ७ लाख ४३ हजार ४ सय ५७ कित्ता सेयर किनबेच भएको छ । जसमा कारोबार रकम भने २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५ सय ५८ रुपैयाँ रहेको छ । गत कारोबार दिन बिहीबार ३ अर्ब १९ करोड ९२ लाख ५ हजार ८२० रूपैयाँको कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा कारोबार रकममा २७ करोड रुपैयाँले कमी आएको छ । आइतबार १९४ कम्पनीको सेयर मूल्य बढ्दा ४६ वटाको घटेको छ भने ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज विन नेपाल लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ । यस्तै, चिरख्वा हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ७.०६ प्रतिशतले घटेको छ । पिपुल्स हाइड्रोपावरको सेयरमूल्य ६.९५ प्रतिशतले घटेको छ । आइतबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता ५३७ रुपैयाँमा २२ करोड ९३ लाख बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

अनलाइन हिंसाको मारमा महिला र बालबालिका

नेपाल प्रहरीको साइबर ब्युरोको तथ्याङ्क भन्छ, ‘पछिल्लो पाँच वर्षमा साइबर हिंसा अर्थात अनलाइन अपराधका घटना छ गुणाले वृद्धि भएको छ ।’ हुन पनि प्रहरीमा दैनिक डेढ सयका हाराहारीमा अनलाइन हिंसाका उजुरी पुगेका छन् । आर्थिक वर्ष २०७६/७७ मा प्रहरीको साइबर ब्युरोमा दुई हजार तीन सय एक निवेदन आएका थिए । यो सङ्ख्या बढेर गत आर्थिक वर्ष २०७९/८० मा नौ हजार १३ निवेदन परे । सबैभन्दा धेरै अनलाइन हिंसामा महिला र बालबालिकामाथि भएका उजुरी छन् । महिला बालबालिकाका धेरै उजुरीमा जिस्काउने, प्रेम प्रस्ताव वा यौन प्रस्ताव नमान्दा धम्काउने, नग्न तस्बिरमा व्यक्तिको मुहार जोडी अनलाइनमा राख्ने, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम र तस्बिर प्रयोग गरेर प्रोफाइल पेज खोलेर बेइज्जत गर्ने तथा दुःख दिनेलगायत छन् । सामाजिक सञ्जालको दुरुपयोग गरी हुने चरित्र हत्या, गालीगलौज, डरधम्की जस्ता गतिविधिले महिला तथा बालबालिकाको मानसिकता र जीवनयापनमा ठूलो असर पारेको देखिन्छ । अनलाइन उपकरणको दुरुपयोगबाट सर्वसाधारण मात्र होइन, सार्वजनिक छवि भएका, प्रशासक, राजनीतिज्ञ, मानवअधिकार रक्षक, पत्रकार र सामाजिक अभियन्ता महिलासमेत हिंसाको जोखिममा छन् । त्यस्ता महिलाले कुनै विषयमा आफ्नो विचार वा टिप्पणी व्यक्त गरेकै कारण उनीमाथि सामाजिक सञ्जालमार्फत चारित्रिक दोष लगाउने, धम्काउने र नङ्ग्याउने क्रम सुरु हुन्छ । सामाजिक सञ्जालमा अश्लील गालीगलौज मात्र होइन, बलात्कार गर्ने र ज्यान मार्नेसम्मको धम्की आउने उनीहरुको अनुभव छ । इन्टरनेटको बढ्दो प्रयोगले मानिसका धेरै क्रियाकलाप अनलाइनमा रुपान्तरण भएका छन् । अनलाइनबाट जतिजति क्रियाकलापहरु बढ्दैछन् त्यति नै त्यसबाट हिंसा बढ्दै गएको छ । सामान्य रुपमा पनि  कसैको प्रेम प्रस्ताव स्वीकार नगरे बेइज्जत गर्ने, कुनै शब्द वा भनाइको ट्रोल बनाउने क्रम असाध्यै बढेको छ । अनलाइनका प्लेटफर्महरुको प्रयोग गरेर डरत्रास देखाउने, धाकधम्कीका सन्देश पठाउने, सहमतिबना निजी पहिचान र यौनजन्य सामग्री पठाउनेलगायतका गतिविधिले महिलामाथि अनलाइन हिंसा बढाइरहेको छ । अनलाइन अपराध गर्नु गलत मानसिकताको उपज हो । हिंसामा परेका व्यक्तिको नजरबाट हेर्दा विद्युतीय साक्षरता नहुँदा अर्थात अनलाइन कसरी प्रयोग गर्ने भन्ने नजान्दा पनि  भएका देखिन्छन् । कतिपयलाई सामाजिक सञ्जालमा मैले के लेख्दैछु, के च्याट गर्दैछु, यसलाई मैले मेट्दैमा सबै प्रमाण मेटिंदैन भन्ने थाहा हुँदैन । लेखिएका कुराले भोलि कानुनी झमेलामा फस्छु कि भन्ने जानकारी पनि छैन । यसले झन् समस्यामा धकेलेको छ । अनलाइन हिंसाका स्वरुप एकै प्रकारका छैनन् । फरकफरक छन् । यसले जो जतिबेला पनि हिंसामा पर्ने देखिन्छ । तर विद्यमान शक्ति संरचना र परम्परागत धारणाका कारण धेरै र सहजै हिंसा महिला र बालबालिकामाथि भएको पाइन्छ । सङ्ख्यात्मक रुपमा पिडा दिने धेरै पुरुष भेटिन्छन् । पितृसत्तात्मक सोचका कारण पुरुष पीडक बनेका हुन् । अपेक्षाकृत व्यवहार नमिलेमा महिलामाथि अनलाइन हिंसा सुरु गरिहाल्ने एकखाले जमात छ । त्यो जमातले फरकफरक तरिकाले महिला तथा बालबालिका हिंसा गरिहेको हुन्छ । अनलाइन माध्ययमको दुरुपयोगले मानव बेचबिखनको जोखिम पनि बढाएको छ । सामाजिक सञ्जालबाट साथी बनेर प्रेमको नाटक गर्ने, घुम्न लैजाने, पढाइदिने, मोबाइल तथा लुगा किनीदिने, रोजगारीमा लगाइदिनेजस्ता प्रलोभन देखाएर वयस्कहरुले बालबालिका तथा किशोरीको अवैध ओरासारपसार र बेचबिखन गर्ने पाइएको मानवअधिकार आयोगको प्रतिवेदन २०७९ मा उल्लेख छ ।   प्रहरीकै तथ्याङ्क हेर्ने हो भने पनि अवैध ओरासारपसार र बेचबिखनमा पर्ने महिला र बालिका धेरै छन् । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा आर्थिक वर्ष २०७९/८० मा मानव बेचबिखन तथा अवैध ओसारपसारका एक सय ५७ उजुरी आएका थिए । त्यसमा २१० महिला थिए । धेरैले अनलाइन प्लेटफर्मका माध्ययमबाट चिनेको वा योजना बनाएको बताएका थिए । डिजिटल अधिकारमा काम गर्ने अन्तरराष्ट्रिय संस्था ‘बडी एन्ड डाटा’ले सन् २०२३ मा गरेको अनलाइन हिंसा सम्बन्धित सर्वेक्षण गरेको थियो । त्यसमा ८६ प्रतिशत महिला तथा सीमान्तकृत समुदायले आफूले कुनै न कुनै प्रकारको अनलाइन हिंसा भोगेको बताएका थिए । महिला त्यसमा पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक र सिमान्तकृत समुदायमाथि धेरै हिंसा भएको छ । उनीहरुले आफूमाथि भएका हिंसा तत्काल बताउन नसक्दा भयावह रुपमा बाहिर निस्केको बताइएको छ । अनलाइन हिंसा व्यक्त भन्दा अव्यक्त धेरै छन् । प्रहरीमा पुग्ने भन्दा नपुग्ने धेरै छन् । युएन वीमनको प्रतिवेदन अनुसार विश्वमा तीन महिलामध्ये एक जनाले शारीरिक तथा यौनजन्य हिंसा भोगिरहेका छन् । सामाजिक सञ्जालको पहुँचमा रहेका सबैजसो महिला र युवतीले अनलाइन हिंसाको सामना गर्छन् । यसले महिलामाथि हुने हिंसाको स्वरुप र ढाँचा अझ बढ्न सक्ने देखिने बताइएको छ । हुन पनि सामाजिक सञ्जालमा अनावश्यक भावना र कुण्ठा यति बेसुर पोखेका भेटिन्छन् कि साथीसङ्गतीकै महिला बालबालिका पनि त्यसमा पर्छन् । आफूमा रहेको यौन उन्माद र कुण्ठा उनीहरुमाथि खन्याएका हुन्छन् । यसबाट वयस्क युवती मात्र होइन, किशोरी र पाका महिलासमेत प्रताडित भएका छन् । प्रताडना व्यक्तभन्दा अव्यक्त धेरै छन् । सक्नेले प्रतिकार गरेका छन् । नसक्ने कतिपय सामाजिक सञ्जालबाटै बाहिरिएका छन् । हिंसाका कारण मानसिक समस्या बढ्ने र आत्महत्या समेत बढेका छन् । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को प्रतिवेदनमा नेपालमा १५ देखि ४९ वर्ष उमेर समूहका २३ प्रतिशत महिलाले १५ वर्षकै उमेरदेखि शारिरीक हिंसा भोगेको बताएको उल्लेख छ भने छ प्रतिशत महिलाले गर्भावस्थामा हिंसा महसुस गरेका छन् । अनलाइन दुरुपयोग बढिरहे यो सङ्ख्या अझ बढ्ने देखिन्छ । कहिल्यै नदेखे नजानेको व्यक्तिले पनि सामाजिक सञ्जालमार्फत साथी बनौं भन्ने र साथी बनीहाल्ने परिपाटीले पनि अनलाइन हिंसा निम्त्याएको छ । यस्तो हिंसा विद्युतीय साक्षरता नभएका महिला, बालबालिका, किशोरी त्यसमा पनि अपांगता भएका, सिमान्तकृत र यौनिक अल्पसङ्ख्यक धेरै पर्छन् । धेरैको अनुभवमा अनलाइन माध्ययमबाट साथी बनेपछि बोलचाल सुरु हुन्छ ।  व्यक्तिगत कुरा गर्छन् ।  मलाई तिमी मन पर्यो । तिम्रो फोटो मन पर्यो । तिम्रो शरीर मन प¥यो । बोली मन पर्यो भनेर हिंसाको सिलसिला सुरु हुन्छ । कालु, काली, सानी, कान्छी जस्ता शब्दको प्रयोग अनि प्रेम प्रस्ताव राखिन्छ । ती महिला एवं बालबालिकाले प्रेषकको झुटो प्रस्ताव विश्वास गर्छन् । अनि मायाको साँच्चै अनुभूति गरेर उनीहरुको प्रस्ताव अनुसारका क्रियाकलाप गर्छन् । यसले मानसिक हिंसादेखि यौन हिंसा हुँदै बेचबिखन तथा ओसारपसारको शिकार बनाएको छ  । नेपालमा इन्टरनेट र प्रविधि बढ्दै गएको छ । सर्वसाधारण समेत इन्टरनेटको पहुँमा छन् तर तिनलाई प्रयोग गर्ने र सुरक्षित हुने कसरी विद्युतीय साक्षरता छैन । यसले महिला, बालबालिका र किशोरीहरु त्यसमा पनि सिमान्तकृत समुदायका व्यक्ति हिंसाको जोखिममा परिरहेका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा ७३ प्रतिशत परिवारमा स्मार्टफोन पुगेको छ । कुल जनसङ्ख्याको ३७.८ प्रतिशतले इन्टरनेट चलाउँछन् । ल्याबटप वा कम्प्युटर प्रयोग गर्नेको सङ्ख्या १५ प्रतिशत छ । जतिजति विद्युतीय अनलाइन उपकरणको पहँुच पुगेको छ, त्यसअनुसार अनलाइन सुरक्षाका बारेमा सिकाइएको छैन । कसरी अनलाइन प्लेटफर्महरुमा संलग्न हुने, कसरी सुरक्षित रुपमा चलाउने भन्नेबारेमा बहस भएको छैन । यसले महिला, बालिका, किशोरी, अपाङ्गता भएका तथा यौनिक तथा लैंगिक अल्पसङ्ख्यक समुदायलाई अनलाइन हिंसाको शिकार बनाएको हो । सामाजिक सञ्जाललाई असामाजिक बनाएको हो । कति बेला लाग्न सक्छ यसले सामाजिक होइन असामाजिक गतिविधि बढाएको छ । प्रयोग नै नगरौं  तर अनलाइन प्रविधिको प्रयोगबिना अबको जीवन सम्भव छैन । विद्यार्थीदेखि व्यवसायी, जागिरे, राजनीतक व्यक्ति सबैका लागि अनलाइन माध्यम अत्यावश्यक भएको छ । यसर्थ, अनलाइनका चुनौतीबाट बच्न आफूलाई प्रविधि र साक्षरमैत्री बनाउनुपर्छ । व्यक्ति व्यक्तिमा चेतना नपुग्दासम्म सामाजिक सञ्जालका माध्ययमबाट हुने अनलाइन हिंसा र दुव्र्यवहार अझ बढ्नेछ । यसर्थ राज्यस्तरबाटै सामाजिक सञ्जालको दुरुपयोग गरी हुने हिंसा रोक्न सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्छ । अनलाइनमार्फत हुने चरित्र हत्या, गालीगलौजजस्ता गतिविधिले व्यक्तिको मानसिकतामा ठूलो असर पारेको देखिन्छ । बालबालिकाका लागि साइबर सुरक्षाबारे पाठ्यक्रममै समावेश गरेर विद्यालय तहबाटै सिकाउनुपर्छ । विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ ले अनलाइनमार्फत अरुलाई मानसिक यातना दिने वा जिस्काउने व्यवहारलाई गलत मानेको छ । कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरुबाट महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमयार्दित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैया“सम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । ऐन अन्तर्गत बनेको नियमको उल्लंघन भएमा उल्लङ्घनकर्तालाई पचास हजार रुपैयाँसम्म जरिबाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुने उल्लेख छ । कसूरबाट पीडित व्यक्तिलाई हुन गएको हानीनोक्सानी कसूरदारबाट मनासिव क्षतिपूर्ति भराई दिने समेत व्यवस्था छ । यसर्थ सामाजिक सञ्जाललाई असामाजिक रुपमा प्रयोग गर्ने र अनलाइन हिंसा गर्नेको बेवास्था गर्नु हुँदैन । समस्या समस्या नै हो हिंसा हिंसा नै हो । भयावह नहुँदै समाधानका उपाय खोज्नुपर्छ । सामाजिक सञ्जाललाई असामाजिक बनाउने, साथी, सहकर्मी र सम्बन्धमा यौन वासना खोज्नेलाई रोक्नुपर्छ । रासस

मूल्यवृद्धि ५ प्रतिशतमा झर्‍यो, मरमसला मूल्य सूचकांक ३२.११ प्रतिशतले वृद्धि

काठमाडाैं । नेपाल राष्ट्र बैंकले २०८० माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०१ प्रतिशत रहेको जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.८८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थसमूहको मुद्रास्फीति ६.५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८५ प्रतिशत रहेको बैंकले जनाएको छ । समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ३२.११ प्रतिशत, दाल तथा गेडागुडीको ११.१५ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.०६ प्रतिशत र तरकारीको ७.५८ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२.३३ प्रतिशतले घटेको छ । साथै, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२.६१ प्रतिशत, विविध वस्तु तथा सेवाहरूको ९.१५ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १.४१ प्रतिशतले घटेको बैंकले जनाएको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९६ प्रतिशत, तराईको ४.७१ प्रतिशत, पहाडको ५.५८ प्रतिशत र हिमालको ५.४४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ८.४७ प्रतिशत, ७.८२ प्रतिशत, ७.३० प्रतिशत र ७.९२ प्रतिशत रहेको थियो । यस्तै, समीक्ष महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति २.८२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ९.६७ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ७.०५ प्रतिशत, ०.७२ प्रतिशत र १.७९ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.३२ प्रतिशतले घटेको छ ।

सहुलियतपूर्ण कर्जाको बक्यौता डेढ खर्ब नाघ्यो

काठमाडौं । बैंकहरुले प्रवाह गरेको सहुलियतपूर्ण कर्जाको बक्यौता डेढ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८० माघ मसान्तमा १ लाख ३२ हजार ७ सय ६ ऋणीलाई प्रवाह भएको १५४ अर्ब ४३ करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत ५२ हजार ५ सय ७४ ऋणीलाई प्रवाह भएको १०४ अर्ब ६० करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ७७ हजार ६ सय २ महिला उद्यमीलाई प्रवाह भएको ४७ अर्ब ७३ करोड कर्जा बक्यौता रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ५ सय ३० ऋणीको २ अर्ब १० करोड कर्जा बक्यौता रहेको छ ।

शोधनान्तर स्थिति ३ खर्बले बचत, प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब १८ करोड

काठमाडौं । ७ महिनाको अवधिमा शोधनान्तर स्थिति झण्डै ३ खर्ब रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को ७ महिनामा शोधनान्तर स्थिति २ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब २८ अर्ब ५५ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९७ करोड ५७ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २४ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा चालु खाता १ खर्ब ६१ अर्ब ६९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४० अर्ब १६ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३१ करोड ४६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २९.० प्रतिशतले कमी आई ३ अर्ब ८० करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब १८ करोड रुपैयाँले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ३५ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४ करोड रुपैयाँले धनात्मक रहेको थियो ।

सरकारको आन्तरिक ऋण ३.२ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा सरकारको आन्तरिक कर्जा ३.२ प्रतिशतले बढेको छ । चालु आवको सात महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले सो जनाएको हो । बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ३.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा यस्तो कर्जा ८.० प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दावी ७.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी ४.१ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा यस्तो दावी २०.६ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ५.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो दावी ४.३ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ५.४ प्रतिशतले बढेको छ ।

बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता आइएमई पेबाट टिकट काटेर हेर्न मिल्ने

काठमाडौं । धरानमा भइरहेको प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता आइएमई पेबाट सजिलै टिकट काटेर हेर्न मिल्ने भएको छ । फागुन २६ शनिबार देखि सुरु हुने बुढासुब्बा गोल्ड कप फुटबल २४ औँ संस्करण हेर्न सहज बनाउने उद्देश्यले आइएमई पेबाट सजिलै टिकट काटेर हेर्ने व्यवस्था मिलाइएको हो । चैत ३ गतेसम्म आयोजना हुने प्रतियोगिता अवधि भर आइएमई पे बाट टिकट काट्न मिल्ने छ । यस पटकको बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगितामा ८ वटा क्लब सहभागी छन् ।

रेमिट्यान्स २१.६ प्रतिशतले वृद्धि, ७ महिनामा ८ खर्ब ३९ अर्ब भित्रियो

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ७ महिनाको अवधिमा रेमिट्यान्स २१.६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २१.६ प्रतिशत बढेर ८ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशत बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.१ प्रतिशत बढेर ६ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतबढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ४७ हजार १२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ५८ हजार ५४० रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख १४ हजार ७६७ र १ लाख ६७ हजार ७०८ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २० प्रतिशत बढेर ९ खर्ब १० अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २५.२ प्रतिशतले बढेको थियो ।