विकासन्युज

पहिले जस्तो छैन व्यापार होलीको (तस्बिरहरु)

काठमाडौं । होली आउन केहि दिन मात्र बाकी रहदा बजारमा होलीको सामान किन्न आउने निकै न्युन छ । पहिले भिडभाड हुने स्थानमा अहिले सामान किन्न आउने निकै कम छ्न् । यस वर्ष टिसर्टको बिक्री कम भएको छ । त्यस्तै यस वर्ष रङको कारोबारसमेत कम भएको व्यवसायीहरु बताउँछन् ।      

सन सेक्युरिटिजले आयोजना गर्यो ब्रोकर भिजिट कार्यक्रम

काठमाडौं । ग्लोबल मनि विक २०२४ को अवसरमा ब्रोकर भिजिट कार्यक्रम आयोजना गरेको छ । सन सेक्युरिटिज प्रा.लि. (ब्रोकर नं. ६४) ले शुक्रबार विद्यार्थीहरुको लागि ब्रोकर भिजिट कार्यक्रम आयोजना गरेको छ । ग्लोबल मनि विक २०२४ को उपलक्ष्यमा त्रिभुवन विश्व विद्यालय अन्तरगतका एमबिए अध्ययनरत विद्यार्थीहरुलाई सन सेक्युरिटिज प्रा.लि.ले ब्रोकर अफिस भिजिट कार्यक्रम सञ्चालन गरेको हो । यस अवसरमा त्रिभुवन विश्व विद्यालय स्कुल अफ म्यानेजमेन्ट तथा सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्ट अन्तरगत एमबिए तहमा अध्ययनरत विद्यार्थीहरुलाई सन सेक्युरिटिजको अफिस अवलोकन भ्रमण कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा सन सेक्युरिटिजले प्रदान गर्ने कारोबार सेवा तथा डिम्याट खाता सेवाका साथै ब्रोकर अफिस अन्तरगत आन्तरिक रुपमा सञ्चालन हुने विभिन्न विभाग तथा सो अन्तरगत सञ्चालन हुने विभिन्न कार्यहरुको बारेमा विद्यार्थीहरुलाई जानकारी दिइएको थियो । पूँजीबजार अन्तरगतको एक अभिन्न क्षेत्रको रुपमा रहेको ब्रोकर व्यवसाय विस्तारै थप व्यवसायिक तथा प्रतिस्पर्धी बन्दै गएको अवस्थामा सन सेक्युरिटिज प्रा.लि.को अत्याधुनिक कारोबार स्थलमा बसेर कारोबार गर्ने लगानीकर्ताहरुले सुरक्षित रुपमा लगानी गर्न सक्ने गरी भौतिक पूर्वाधार तयार गरेको छ । जसमा लगानीकर्ताहरुले ४ घण्टाको समय कारोबार गर्न फराकिलो एवं सहज कारोबार स्थल, चिया कफिका लागि क्याफे सेवा तथा आफैंले कारोबार गर्न नजान्ने लगानीकर्ताहरुका लागि खरिदबिक्री गर्न अनुभवी ट्रेडिङ कर्मचारी लगायतको सुविधा प्रदान गर्नुका साथै आफैंले खरिदबिक्री गर्ने लगानीकर्तालाई निःशुल्क इन्टरनेट सेवा एवं पूँजीबजार तथा लगानी सम्बन्धमा अध्ययन गर्ने विभिन्न श्रोत सामाग्री तथा पुस्तकहरु समेत प्रदान गरिरहेको जानकारी सन सेक्युरिटिजका अध्यक्ष कृष्ण गिरीले विद्यार्थीहरुलाई जानकारी गराए ।

सांग्रिला डेभलपमेन्टका विभिन्न शाखाले सञ्चालन गर्यो वित्तीय सचेतना कार्यक्रम

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका विभिन्न शाखा कार्यालयहरुद्वारा देशव्यापी रुपमा ग्लोबल मनी विक २०२४ को अवसरमा ‘आफ्नो पैसाको रक्षा गरौं, आफ्नो भविष्यको सुरक्षा गरौं’ भन्ने विश्वव्यापी नारालाई आत्मसाथ गरी आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्रम सञ्चालन गरेको छ । बैंकका पोखरा, बुटवल, इटहरी, काठमाडौं, नारायणगढ क्षेत्र लगायतका विभिन्न शाखा कार्यालयमा कार्यरत कर्मचारीहरुले सो कार्यक्रममा सहभागीता जनाएका थिए । गत चैत ५ गतेदेखि देखि शुरु भएको यस साता व्यापी कार्यक्रम चैत ११ गते सम्म वित्तीय साक्षरता सम्वन्धि कार्यक्रम मार्फत वित्तीय चेतना फैलाउने कार्यक्रम निरन्तर रुपमा संचालनमा रहनेछ । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

सेन्ट्रल फाइनान्सका शाखाहरुले गर्यो वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । सेन्ट्रल फाइनान्सका विभिन्न शाखा कार्यालयहरूले ग्लोबल मनी विक २०२४ अन्तर्गत सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेका छन् । ‘प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर’ भन्ने नाराका साथ ग्लोबल मनी वीक २०२४ अन्तर्गत सेन्ट्रल फाईनान्स लिमिटेडका विभिन्न शाखा कार्यालयहरुबाट सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने क्रममा नारायणगढ, लालबन्दी र भैरहवा शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम तथा प्रभातफेरी कार्यक्रम सञ्चालन गरेका हुन् । चितवनको नारायणगढस्थित नारायणगढ शाखा तथा सर्लाहीको लालबन्दी शाखाले आ–आफ्ना क्षेत्रका अन्य बैंक वित्तीय संस्थाहरुसँग मिलेर वित्तीय साक्षरता जागरणका लागि प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । बैंक वित्तीय संस्थाका सेवा र सुविधा तथा डिजिटल बैंकिङ्गलगायतका वित्तीय तथा जनचेतनामूलक प्लेकार्डहरुसहित आयोजित कार्यक्रममा संस्थाको कर्मचारीहरुको उपस्थिति रहेको थियो । त्यस्तै रुपन्देहीको भैरहवा शाखाले भैरहवाको श्री ब्राइट स्टार इङ्गलिश बोर्डिङ्ग स्कूलमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा संस्थाका शाखा प्रमुख अरुण अधिकारीले बैंक तथा वित्तीय संस्थाको बारेमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जानकारी र सुसूचित गर्नुका साथै डिजिटल बैंकिङ्ग लगायत बचत गर्नु किन आवश्यक छ र यसले हाम्रो जीवनमा के भूमिका खेल्दछ भन्ने बारेमा आफ्नो विचार राखेका थिए । कार्यक्रममा विद्यालयका प्रिन्सिपल, विद्यालयका शिक्षक वर्ग, कक्षा ९ र १० को विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

बैंकको ऋण तिर्न हकप्रद सेयर जारी गर्दै रिभर फल्स पावर

काठमाडौं । रिभर फल्स पावरले सेयरधनीहरुमा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको एक बराबर एकको अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीले बैंकको ऋण भुक्तानी गर्न हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई विद्युत नियमन आयोगले स्वीकृत गरी कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने हुन्छ । हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ छ । शतप्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी ७७ करोड नाघ्ने छ ।

ग्लोबल आइएमईले गर्यो वित्तीय साक्षरता कार्यक्रम आयोजना, १४ हजार बढीको सहभागिता

काठमाडौं । ग्लोबल आइएमई बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका १११ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । बैंकले ग्लोबल मनि विक २०२४ को अवसर पारेर देशव्यापी रुपमा आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा १४ हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता रहेको थियो । ग्लोबल आइएमई बैंकले आफ्ना ३५४ वटै शाखाहरुमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग प्रवद्र्धन कार्यक्रमहरुसञ्चालन गर्ने उद्देश्य राखेको छ । कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन । ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव सम्पन्न भएको छ । साबिकका सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स गाभिएर २०७९ चैत्र ९ गतेका दिन बनेको सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको शुक्रबार विविध कार्यक्रमको आयोजना बीच प्रथम वार्षिकोत्सव मनाएको छ । कम्पनीका संचालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च पदाधिकारीहरू लगाएतका सहभागितामा विभिन्न संदेश मूलक प्लेकार्ड सहित प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रम कम्पनीको कमलादी कार्यालयबाट सुरुवात भई घन्टाघर-भद्रकाली-जमल हुदै पुन : कमलादीमा पुगेर टुंगिएको थियो । साथै मानव जीवनको रक्षा गर्ने उदेश्यले नेपाल रेड क्रस सोसाईटिसंगको सहकार्यमा कम्पनीको प्रधान कार्यालय, बानेश्वरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा ५५ जना भन्दा बढी सहभागीहरुले रक्तदान गरेका  थिए। साथै काठमाडौं शान्तिनगर स्थित असहाय वृद्धबृद्धाहरुको लागि विशेष आश्रय प्रदान गरिरहेको नि: सहाय सेवा सदनमा आहार बिहार र देशैभरि विभिन्न शाखा कार्यालयहरू मार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत सोही किसिमका कार्यक्रमहरूको आयोजना गरि मनाईराखीएको छ । बीमा कम्पनीहरूको पुँजी वृद्धि गरि समग्र बीमा क्षेत्रलाई अझै मजबुत बनाई उत्कृष्ट ग्राहक सेवा प्रवाह गर्नका लागि बीमा नियमनकारी निकायको पहलमा दुई कम्पनी गाभिएर बनेको बीमक सानिमा रिलायन्सको चुक्ता पुँजी ४. १८ अर्ब रहेको छ भने लगानी १७ अर्ब नजिक र जीवन बीमा कोष १२. ६९ अर्ब रहेको छ । देशभरि १७५ साखा संजाल मार्फत आफ्नो सेवा प्रदान गर्दै आएको कम्पनीको व्यवसाय तथा अधिकांश आर्थिक सूचकाङ्कहरू सकारात्मक रहेका छन् ।

महिलामा बिकराल बन्दैछ पाठेघरको मुखको क्यान्सर, संक्रमण रोक्न एचपीभी खोप लगाइँदै

काठमाडौं । पाठेघरको मुखमा हुने क्यान्सरबाट जोगाउन किशोरीलाई दोस्रो मात्राको एचपीभी खोप लगाउन सुरु गरिएको छ । पहिलो खोप लगाइसकेका १४ वर्ष पूरा भई १५ वर्ष नकटेका किशोरीलाई दोस्रो मात्रामा खोप लगाउन सुरु गरिएको स्वास्थ्य सेवा विभाग अन्र्तगतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । खोप शाखाका प्रमुख अभियान गौतमका अनुसार सातवटै प्रदेशमा खोपको पहिलो मात्रा लगाइसकेका किशोरीलाई खोप लगाइनेछ । चैत ६ गतेदेखि सुरु भएको कर्यक्रम १५ गतेसम्म लगाइने छ । जसअनुसार चैत ६ गते लुम्बिनी प्रदेशको भेरी अस्पताल, ७ गते कोशी प्रदेशको कोशी अस्पताल विराटनगर, मधेशको नारायणी अस्पताल विरगञ्ज, गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णालीको प्रदेश अस्पताल विरेन्द्रनगरमा खोप कार्यक्रम सुरु भएको छ । यस्तै बागमती प्रदेशको परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल र सुदूुरपश्चिमको डडेल्धुरा अस्पतालमा चैत १५ गते खोप लगाइने छ । पहिलो मात्रा खोप लगाएका ९ हजार ९ सय ९९ किशोरीलाई दोस्रो मात्रा लगाउन थालिएको हो । किशोरीहरूले खोप लगाउन पहिलो खोप लगाएको केन्द्रमै जानु पर्नेछ । सरकारले चीन सरकारसँग महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको २० हजार मात्रा खोप खरिद गरेको थियो । १० हजार मात्रा पहिलो पटकको अभियानमा लगाइएको थियो भने बाँकी मात्र दोस्रो पटक लगाइने भएको हो । यो खोपको दुवै मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमणबाट ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने दाबी गरिएको छ । यसअघि सरकारले सन् २०१६/१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमुनाका रूपमा चितवन र कास्कीमा लगाएको थियो । बाँकी रहेका किशोरीलाई आगामी दिनमा खोप लगाइने शाखाले जनाएको छ । महिलामा बिकराल पाठेघरको मुखको क्यान्सर आजभोली स्वास्थ्य संस्थामा पुग्ने धेरै जसो महिलामा पाठेघरको मुखको क्यान्सर भएको पाइन्छ । यो समस्या महिलामा विकरालरूपमा देखिएको छ । पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापपिलोमा भाइरस (एचपीभी) एउटा भाइरसको संक्रमणका कारण लाग्ने गर्छ । साथै, धेरै पुरुषसँग सम्पर्क राख्दा पनि यो रोग लाग्छ भने कम उमेरमा धेरै सन्तान जन्माउने महिलाहरूमा पनि यस्तो समस्या देखिने गर्छ । जुनसुकै अंगमा सामान्य भन्दा धेरै कोषीका बढ्नु राम्रो होइन, यो हुनु भनेको क्यान्सर हो । पाठेघरमा पनि असामान्यरूपमा कोषहरू वृद्धी हुँदा क्यान्सर हुन्छ । डिम्बाशयको क्यान्सर र पाठेघरको मुखको क्यान्सरपछि पाठेघरको क्यान्सर नै प्रजनन् प्रणालीको क्यान्सरबाट हुने मृत्युको तेस्रो कारक तत्व हो । पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा वर्षेनी दुई हजार देखि तीन हजार महिलाको मृत्यु हुने गरेको छ । के हो एचपीभी ? ह्युमन प्यापिलोमा (एचपीभी) एउटा भाइरस हो । यो सानो र सामान्य डीएनए भाइरस हो । यसले शरीरका भित्री अङ्गको सतहमा हुने झिल्लीमा रहेको कोशिकामा सङ्क्रमण गर्छ । अहिलेसम्मको अध्ययन अनुसार महिलाहरूको पाठेघरमा लाग्ने क्यान्सरको प्रमुख कारण एचपीभी हो । यसका अनगिन्ती प्रजातिहरू हुन्छन् । पाठेघरको मुखमा हुने क्यान्सर मध्ये ९५ प्रतिशत बढी क्यान्सर यसले गराउँछ । सामान्यतया यसको सङ्क्रमणले कुनै लक्षण देखाउँदैन । तर, कुनै कुनैले भने शरीरमा ‘मुसा’ उत्पन्न गराउँछ । संक्रमण भएको बेलैमा थाहा नहुँदा शरीरको प्रतिरोध प्रणालीले कुनै उपचारबिना नै भाइरस सखाप पारिदिन्छ । यो भाइरस छालाको सम्पर्कबाट सर्छ । अझै भन्नुपर्दा यौन क्रियाकलापको माध्यमबाट महिलामा सर्ने गर्दछ । तर, यो संक्रमित व्यक्तिको यौनांगको छाला श्लेष्म झिल्ली (म्युकस मेम्ब्रेन) वा तरल पदार्थ (सेक्रेसन)सँगको सम्पर्क मार्फत् पनि सर्ने हुन्छ । यसको संक्रमण पुरुष र महिला दुवैमा हुन्छ । लक्षणहरू के हुन् ? सुरुमा त यो संक्रमण भएको धेरैलाई थाहै हुँदैन । तर, बिस्तारै तल्लो पट दुख्ने, अनियमित रुपमा रगत बग्ने, गन्हाउने पानी बग्ने लक्षणहरू देखा पर्दछन् । यसको संक्रमण भएको आफैं थाह हुँदैन । यसका लागि स्वास्थ्य संस्थामा गइ पाठेघरको मुखको पानीको परीक्षण गर्नुपर्छ । कसरी हुन्छ रोकथाम ? यो संक्रमण असुरक्षित यौन सम्पर्कबाट हुने भएकाले सुरक्षित तबरले सम्पर्क राख्नुपर्छ । यो संक्रमणबाट बच्ने भरपर्दो उपचार भनेको एचपीभी विरुद्धको खोप नै हो । यौन सम्पर्क राख्ने उमेर भन्दा पहिले नै किशोरीलाई खोप लगाउनुपर्छ । यो खोप लगाउँदा कुनै असर पर्छ ? कुनैपनि खोप लगाउँदा कतिपयलाई यसले असर गर्छ । प्रायः खोप लगाइसकेपछि ज्वरो आएको महसुस हुन्छ । एचपीभी खोपले पनि किशोरीहरूमा केही समस्या देखिन सक्छन् । यो खोप लगाइसकेपछि खोप लगाएको ठाउँमा दुख्ने, सुन्निने, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकान महसुस हुने, रिँगटा लाग्ने, ज्वरो आउने, एलर्जी रियाक्सन हुने हुन्छ । यी असरहरू सामान्य हुने भएकाले पछि आफैं निको हुन्छ । तर, यस्ता असरहरू रहिरहेमा वा गम्भीर लक्षणहरु देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।