विकासन्युज

झापामा सबैको लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्लोबल मनी विकको अवसरमा झापामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तले झापाको बुधबारे स्थित बुद्द आर्दश माध्यमिकविद्यालयमा यस्तो तालिम सम्पन्न गरेको हो । तालिममा विद्यालयका १५ जना विद्यार्थीहरु गरी ३५ जनाको सहभागिता रहेको थियो । तालिममा प्रशिक्षक सत्येन्द्र कुमार सिहँ, रहेका थिए । तालिममा सहभागीहरुलाई वित्तीय साक्षरताको महत्व, वित्तीय साक्षरताको परिचय, आवश्यकता र चाहना, बचतको अवधारणा तथा लक्ष्यनिर्धारण, बचतको महत्व र बचतकाप्रकारहरु, बचतकाउपायहरु, बचत योजना, बचत प्रदायक संस्थाहरुको छनौट, कर्जाको योजनातथाकर्जा लिन सक्ने क्षमता, कर्जा सदुपयोग, जोखिमन्यूनीकरण, जोखिम परिचय र असर, विप्रेषण सेवा, अब्यवस्थितखर्चले गरीब बनाउँछ, खर्च प्राथमिकता र चुहावटको रोकथाम, फजुलखर्च तथानगरी नहुने खर्च, पारिवारिक बजेट, बजेट निर्माण, लघु ब्यवसायको परिचयतथामहत्व, ब्यवसाय विस्तार तथाविविधिकरण, ब्यवसायिक योजना, अन्यआयश्रोतको पहिचान, साधनश्रोतको उच्चतम सदुपयोगिता, पारिवारिक बजेट निर्माण, डिजिटल बैंकिङ्ग लगायतको विषयमा जानकारी दिइएको थियो । संस्थाले २०७४ आषाढ ३० गतेदेखि निरन्तर लघुवित्त सेवा प्रदान गरी गर्दै आइरहेको छ । बालबालिका र युवाहरु लक्षित गरी बालबालिका तथा युवाहरुमा वित्तीय साक्षरताअभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका सन् २०१२ देखि हरेक वर्ष “ग्लोबल मनिवीक विश्वभर मनाउँदै आइरहेको छ । यसै सन्दर्भमा सबैको लघुवित्तले २०८० चैत्र ५ गतेदेखि ११ गते मूल नाराका साथ १२ औं श्रृङ्खला मनाउन लागिएकोछ । संस्थाले २०८० फाल्गुण मसान्त सम्ममा ७० हजार ६२९ घरपरिवारहरुमा सेवाविस्तार गरेको छ । संस्थाको २०८० फाल्गुण मसान्तसम्ममा लगानीमा रहेको कर्जा ४ अर्ब १६ करोड ७३ लाख ६९ हजार ३३ रहेकोछ भने ग्राहक सदस्यहरुबाट १ अर्ब १७ करोड बचत परिचालन गरेको जनाएको छ।

सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको छ : गृहमन्त्री लामिछाने

चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको बताएका छन् । आईतबार यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले सहकारीपीडितसँग सरकारले वार्तामार्फत समस्या समाधानको प्रयास गरेको बताए । उनले भने, ‘सरकारी वार्ता टोली र सहकारीपीडितको वार्तामा सहमति भएको छ । सहमति कार्यान्वयनमा आउँछ ।’ देशभरिका सहकारीपीडितको समस्या समाधान गरिने उनको भनाइ थियो । सहकारीको पैसा अपचलन गर्नेहरुको सम्पत्ति खोजेर भए पनि बचत कर्ताको पैसा फिर्ता गर्ने उनले बताए । गृहमन्त्री लामिछानेले बचतकर्ताको रकम फिर्ता गर्नका लागि सम्बन्धित दोषीहरुको सम्पत्ति ल्याएर भए पनि उपलब्ध गराउने बताए । सहकारीको पैसा अपचलन गरेर फरार रहेका जीवि राईलाई नियन्त्रणका लागि सरकारले पूरै शक्ति परिचालन गरेको उनले बताए । सरकारले गरेका अनुसन्धान र अध्ययनका कुरा पहिलेनै सार्वजनिक गर्न नहुने भन्दै उनले राई छिट्टै पक्राउ पर्ने विश्वास व्यक्त गरे। सरकारले गरेका कामको नतिजा पूर्णरुपमा आउने उनको भनाइ थियो । उनले भने, ‘काहीँ कतै कसैलाई कानुनले जे भन्छ त्यही गर्ने हो । निर्दोष नफसोस् दोषी नउम्यिोस् भन्ने प्रधानमन्त्रीको निर्देशन छ । त्यहीअनुसार काम हुन्छ ।’ प्रक्रियामा केही जटिलता भए पनि नतिजा आउने गरी काम गर्ने उनले बताए । फरक प्रसङगमा बोल्दै उनले चेपाङ् समुदायका लागि राज्यको उपस्थिति हुनेगरी सरकारले काम गर्ने बताए । विज्ञहरु र सरोकारवाला प्रतिनिधिसँगको छलफलबाट यसवर्ष बजेटमै राखेर काम गर्न लागिएको उनले बताए । जनताको दुःखमा राज्य पुग्नुपर्ने उनको भनाइ थियो ।

विश्वकै दुर्लभ बगाले बगेडी चरा शुक्लाफाटाँमा भेटियो

कञ्चनपुर । विश्वकै दुर्लभ तथा सङ्कटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा देखापरेको छ । निकुञ्जको बाह्य क्षेत्रमा बगाले बगेडी चरा पहिलोपटक देखापरेको हो ।  शुक्लाफाँटा नगरपालिका–२ ढकनियास्थित स्थानीय किसानको खेतमा बगाले बगेडी चरा फेला परेको संरक्षणकर्मी सुवन चौधरीले बताए । भँगेरा जस्तै तर रङ्गीन ३२ वटा बगाले बगेडी चरा आफूले देखेको उनले बताए । धेरै वर्षपछि विश्वमै दुर्लभ मानिएको चरा देखापरेपछि नियमित निरीक्षण गर्दै आएको संरक्षणकर्मी चौधरीले बताए । ‘फरक प्रजातिको चरा देखेपछि तस्वीर खिचेर नेपाल पक्षी संरक्षण सङ्घलाई पठाएँ’, उनले भने ‘यो दुर्लभ प्रजातिको चरा भएको जानकारी प्राप्त भएको छ ।’ नेपाल पक्षी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यस चरालाई पहिलोपटक सन् १९८० मा अभिलेखीकरण गरिएको थियो । त्यसपछि यस चराको तथ्याङ्क राखिएको नपाइएको उनले बताए । अभिलेखीकरण गरिएको ४४ वर्षपछि बगाले बगेडी चरा देखापरेको उनले बताए । चराविज्ञ डगौराका अनुसार नेपालमा बगेडी चराका १५ प्रजाति नेपालमा पाइने गरेका छन् । तीमध्ये तीन प्रजाति रैथाने हुन् । बाँकी १२ आकर्षक साना प्रजातिका चरा रुस, मङ्गोलिया, चीनलगायतका क्षेत्रबाट बसाइँ सरेर आउने गर्दछन् । बसाइँ सरेर आउनेमध्ये बगाले बगेडी चरा पनि पर्ने गर्दछ । उत्तरी ध्रुवमा अत्यधिकरूपमा बढेको चिसो छल्नका प्रत्येक वर्ष यहाँ पुग्ने गर्दछन् । मासुका लागि अत्यधिकरूपमा सिकार हुन थालेपछि यो चरा विश्वबाटै लोप हुने अवस्थामा पुगेको छ । ‘अत्यन्तै सुन्दर शारीरिक बनावट र रङ भएका बगेड चराको सङ्ख्या पछिल्लो दशकमा ९० प्रतिशतले घटेको पाइएको छ’, चराविज्ञ डगौराले भने, ‘घट्नुको मुख्य कारणका रूपमा चोरी सिकारी नै हो ।’ चीनमा सबैभन्दा बढी यस चराको सिकार हुने गरेको उनको भनाइ छ । नेपालकै मधेस प्रदेशको धनुषा र महोत्तरी क्षेत्रमा यस चराको सिकार हुने गरेको पाइएको चौधरीले बताए। ‘उखुबारीमा भएका बेला यस चराको सिकार भएको पाएका छौँ’, उनले भने, ‘होटलमा समेत यस चराको मासु बिक्री भएको पाइएको छ ।’ ‘छातीमा पहेँलो रङ हुने बगाले बगेडी (एल्लो ब्रेस्टेड बन्टिङ) चरा नेपालमा पनि केही वर्ष पहिला हजारौँका सङ्ख्यामा देखिने गरेका थिए, अहिले २० देखि ३० को सङ्ख्यामा मात्रै देखिने गरेका छन्’, डगौराले भने, ‘पछिल्लो वर्षमा यस चरालाई देख्न पनि दुलर्भ भएको छ, सन् १९८० पछि पहिलोपटक देखिएका छन् ।’ यो चरा अतिसङ्कटापन्न अवस्थामा रहेको उनले बताए । चोरी सिकारीसँगै सिमसार क्षेत्र विनाश हुन थालेपछि बसाइँ सारेर आउने बगाले बगेडीसँगै अन्य चरा सङ्कटमा परेका छन् । बसाइँ सार्ने क्रममा हिमाल छिचोल्दै कयौँ फिटको उचाइ भएर आउने बगाले बगेडी चरा मर्ने गर्दछन् भने सिकारी चराको सिकार पनि हुने गर्दछन् । सिमसार क्षेत्र अतिक्रमणको चपेटामा पर्नु र कृषिमा अयिनन्त्रित तरिकाले विषादिको प्रयोग गर्दा पाहुना चरा यसबाट प्रभावित हुने गरेका छन् । नेपाल पक्षी संरक्षण सङ्घले बगाले बगेडी चराको सन् २००४ देखि सन् २०१७ सम्म गरेको तथ्याङ्क विश्लेषणमा पनि सङ्कटापन्न अवस्थमा देखिएको छ । चराविज्ञ डगौराका अनुसार बगाले बगेडी चरा सन् २००० देखि २०१५ सम्म संवेदनशील अवस्थामा थियो । सन् २०१३ देखि २०१६ सम्म सङ्कटापन्न अवस्थामा थियो । त्यसपछि यसको सङ्ख्या निकै घटेको पाइएपछि सन् २०१७ देखि हालसम्म यो चरा अतिसङ्कटापन्न अवस्थामा छ । यो चरा खेतबारी र घाँसेमैदानमा पाइन्छ । साउनदेखि जेठमा प्रजनन गर्ने यो प्रजातिको पोथीले घाँसको प्रयोग गरी भुइँमा गुँड लगाउने गर्छ ।  यसको औषत आयु सात वर्ष  हुने गरेको बताइएको छ । प्रजननका बेला पहेँलो रङमा देखिने बगाले बगेडी अरु बेला भँगेराजस्तै देखिने भएकाले चिन्न नै गाह्रो हुने गरेको छ । कैलाली, कञ्चनपुरसँगै बर्दिया, चितवन, झापा, कोशीटप्पु र मधेस प्रदेशका केही जिल्लामा बगाले बगेडी चरा पाइने गरेका जिल्लाका चरासम्बन्धी अन्य जानकारहरूले बताएका छन् । रासस

बदाम बेचेर नमुना उद्यमी बनेकी ७२ वर्षीया शिवमाया कार्की

भोजपुर । ७२ वर्षको उमेरमा गाउँघरका हटियामा पुग्नु भोजपुरकी शिवमाया कार्कीको दैनिकीजस्तो बनेको छ । घरमा आराम गरेर बस्नुपर्ने उमेरमा उनी हाटबजारमा बदाम बेच्न पुग्छीन् । बदामको व्यापार गरेर महिनामा १५ देखि २० हजारसम्म आम्दानी गर्दै आएको उनी बताउँछीन् । ३५ वर्षअघिदेखि बदामको व्यापार थालेकी उनी अहिले पनि उत्तिकै उत्साहका साथ व्यापार गर्न जान्छिन् । ‘आफूले सकेको काम गर्नुपर्छ’, वृद्धा कार्कीले भनिन्, ‘धेरै वर्षअघिदेखि गरिरहेको काम भएकाले अहिले पनि त्यसलाई निरन्तरता दिँदा रमाइलो लाग्छ । गाउँगाउँमा पुगेर बदाम खरिद गरी ल्याएर यहाँका हाटमा बेच्छु । बदाम बिक्रीबाट महिनामा १५ देखि २० हजारसम्म आम्दानी हुन्छ ।’ जिल्लाको बदाम उत्पादन हुने अरुण गाउँपालिकाको जरायोटार, सिमटार, पाल्पालेलगायत ठाउँमा पुगेर खरिद गर्ने उनले बताइन् । किसानले उत्पादन गरेको बदाम प्रतिपाथी तीन सय रुपैयाँमा खरिद गर्दै आएको उनले बताइन् । आफूले खरिदपश्चात भुटेर प्रतिकेजी तीन सय ५० मा बिक्री गर्ने उनले जानकारी दिइन् । ‘बदाम बिक्रीबाट आफ्नो दैनिक खर्च जुटाउदै आएकी छु, दुई–चार पैसा नातिनातिनालाई दिन पनि हुन्छ’ उनले भनिन् । किसानबाट एक वर्षमा चार लाखसम्मको बदाम खरिद गर्ने उनले बताइन् । भोजपुरको शनिबारे हटिया, पौवादुङमा गाउँपालिका च्याङ्ग्रेको बुधबारे हटिया, चम्पे हटियालगायत स्थानमा पुगेर उनले बदाम बेच्दै आएकी छिन् । वृद्धावस्थामा व्यापार गर्न समस्या हुने भए पनि यसलाई छोड्न मन नलाग्ने भन्दै उनले हातखुट्टा चलुञ्जेलसम्म काम गरेर नै खाने दृढता व्यक्त गरिन् । विगतमा धेरै स्थानीयस्तर उत्पादन भएको बदाम पाउने गरेको भए पनि पछिल्लो समयमा यसको खेती घट्दै गएको उनको अनुभव छ । ‘विगतमा भोजपुरमा प्रशस्त मात्रामा बदाम उत्पादन हुन्थ्यो’ उनले भनिन्, ‘अहिले गाउँघरमा कमैले मात्र खेती गरेको पाइन्छ । स्थानीय सरकारले बदाम खेती प्रवद्र्धन गर्नुपर्छ ।’ गाउँका अधिकांशले बदाम खेती छाड्दै गएका भए पनि आफूले वार्षिक ४० देखि ४५ मुरीसम्म बदाम उत्पादन गर्दै आएको अरुण गाउँपालिका–६ का ६८ वर्षीय किसान अम्बरबहादुर राईले बताए । पछिल्लो समय बदामको स्थानीय रैथाने बीउ मासिदै गएको उनले बताए । ‘बदामखेती व्यावसायिक बन्न सकेको छैन’, उनले भने, ‘व्यावसायिक बन्न नसक्दा पछिल्लो समय खेती घट्दै गएको छ । म एक वर्षमा ४५ मुरीसम्म बदाम फलाउँछु । सडक विस्तारका कारण विगतजस्तो बजारीकरणको समस्या छैन तर धेरै किसानले यसको खेती छाड्दै गएकाले उत्पादन घटेको छ ।’ बगर क्षेत्रमा बदाम खेती उपयुक्त भएको उल्लेख गर्दै किसान राईले भने । रासस

९०० बढी ट्राफिकले काठमाडौंका ९० ठाउँमा गर्दैछन् चेकजाँच, सादा पोसाकमा पनि विशेष निगरानी

काठमाडौं । होली दिनमा प्रहरीले ट्राफिक चेकजाँचमा थप कडाइ गरेको छ । रङहरूको पर्वको रूपमा परिचित होलीको दिन प्रहरीले काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थालाई थप कडाइ गरेको हो । काठमाडौं उपत्यकामा ट्राफिक कार्यालयका अनुसार आइतबार काठमाडौं उपत्यकाका ९० भन्दा बढी स्थानमा ट्राफिक चेकजाँचको व्यवस्था मिलाइएको छ भने ९ सय भन्दा बढी ट्राफिक चेकजाँचका लागि खटाइएको छ । होलीमा काठमाडौंको सुरक्षा व्यवस्था चुस्त राख्न ३ हजार प्रहरी परिचालन गरिएको कार्यालयका प्रवक्ता एसएसपी जीवन कुमार श्रेष्ठले बताए । उनका अनुसार तीन हजारमध्ये २ हजार पाँच सय सादा पोसाक र ५ सय जनालाई पोसाकसहित परिचालन गरिएको छ । उनले सवारी नियमविपरीत सवारी साधन चलाउने प्रवृत्तिलाई निस्तेज गरी सम्भावित सडक दुर्घटना रोक्नका लागि उपत्यकामा ट्राफिक चेकजाँचमा थप कडाइ गरिएको जानकारी दिए । उनले मापसे र लापसे चेकिङदेखि अन्य चेकजाँच भइरहेको बताए । उनका अनुसार चेकजाँचमा ३० वटा मोबाइल भ्यान परिचालन गरिएको छ । सवारी नियमविपरीत सवारी साधन चलाउने प्रवृत्तिलाई निस्तेज गरी सम्भावित सडक दुर्घटना रोक्नका लागि उपत्यकामा ट्राफिक चेकजाँच कडा पारिएको छ । बिहानैदेखि मापसे र लापसे चेकिङदेखि अन्य चेकजाँच भइरहेको छ । उनका अनुसार ३० वटा मोबाइल भ्यान परिचालन गरिएको छ । ‘अनावश्यक हर्न बजाउने, होहल्ला गरी सवारी चलाउने, मोडिफाइ गरी ठूला आवाज निकाल्ने, तीन जना चढ्ने, हेल्मेट नलगाउनेलाई विशेष निगरानी गरिरहेका छौं, ट्राफिक नियम उल्लंघन गर्नेलाई समेत कडाइका साथ कारबाही गर्छौं,’ उनले भने । होली पर्वको किम्बदन्ती र यसलाई मनाउने तरिका फरक भए पनि यसमा प्रयोग हुने रङहरू मित्रता, सद्भाव र उल्लाससँग जोडिएका छन् । होलीलाई व्यवस्थित किसिमले मनाउनका लागि पनि प्रहरीले सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाएको हो ।

होलीको दिन ट्राफिक चेकिङमा कडाइ (फोटो फिचर)

काठमाडौं । होलीलाई लक्षित गरेर बिहानैदेखि उपत्यकाका विभिन्न ठाउँका चोकचोकमा प्रहरीले चेकिङ सुरु गरेको छ । अवाञ्छित र उच्छृङ्खल गतिविधि हुन नदिन काठमाडौंमा बिहानैदेखि चेकजाँचको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।  

वसन्तपुरमा होलीको चहलपहल शुरु, चीर पूजा गर्नेको भीड

काठमाडौं । वसन्तपुरमा होलीको चहलपहल शुरु भएको छ । आईतबार नेपालको हिमाली र पहाडी जिल्लाहरुमा होली हर्षोल्लासपूर्वक मनाइन्छ । आज काठमाडौंसहित देशभरका हिमाली र पहाडी क्षेत्रमा होली मनाउन शुरु भएको छ । वसन्तपुरमा होली मनाउनका लागि मानिसहरु जम्मा भएका छन् । चीरमा पूजा गर्नेहरुको उल्लेख्य उपस्थिति रहेको छ । एक अर्कामा रङ दलेर खुशीयाली साटासाट गरेर होली मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचिन परम्परा छ । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ । नेपाल प्रहरीले संयमित भएर होली खेल्न पनि आग्रह गरेको छ ।

युरोपेली युनियनको टोलीद्वारा चिलिमे-त्रिशूली २२० केभी प्रसारण आयोजनाको अनुगमन

काठमाडौं । जर्मनी तथा युरोपेली युनियनको टोलीले निर्माणाधीन चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको स्थलगत अनुगमन गरेको छ । जर्मनीको आर्थिक सहायता तथा विकास मन्त्रालयकी एसिया निर्देशक गिजेला ह्याममरस्मिटको नेतृत्वमा युरोपेली युनियन, जर्मन विकास बैक (केएफडब्लू)का प्रतिनिधि सम्मिलित टोलीले शनिबार आयोजनाअन्तर्गत निर्माणाधीन प्रसारण लाइन र सबस्टेसनको अनुगमन गरी निर्माण प्रगतिको जानकारी लिएको छ । आयोजनाअन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीमा २२०/१३२/३३ केभीको क्रमश : चिलिमे हव र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माण अन्तिम चरणमा छन् । साथै, चिलिमे हबदेखि त्रिसूली थ्री बी हब सबस्टेसनसम्म २८ किलोमिटर २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र चिलिमे तथा त्रिशूली थ्री बी हब सबस्टेसन निर्माण गरिएको हो । अनुमानित लागत तीन करोड ९० लाख अमेरिकी डलर रहेको आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र जर्मन विकास बैक (केएफडब्लू)को अनुदान रहेको छ । युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैक (इआइबी)को आयोजनामा सहुलितपूर्ण ऋण रहेको छ । त्रिशूली थ्री बी हब सबस्टेसन र प्रसारण लाइन निर्माणको अनुगमन गरी टोलीले नेपाल विद्युत प्राधिकरण र आयोजना व्यवस्थापनसँग आयोजनाको प्रगति, समस्या, निर्माण सम्पन्न हुने मिति, ऊर्जा क्षेत्रमा थप लगानीको सम्भावना लगायतका विषयमा छलफल गरेको थियो । टोली प्रमुख गिजेला ह्याममरस्मिटले जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा पर्ने आयोजना निर्माण सम्पन्न हुने चरणमा पुग्नु ज्यादै खुशीको कुरा भएको बताए । नेपालको ऊर्जा क्षेत्रको विकासमा थप अनुदान दिन तयार रहेको प्रतिबद्धा जनाउँदै लगानी आवश्यक पर्ने क्षेत्र पहिचान गरी प्रस्ताव गर्न प्राधिकरणलाई आग्रह गरे । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसन र प्रसारण लाइन आगामी वैशाखको दोस्रो हप्ता  भित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने गरी अन्तिम चरणका कामहरु भइरहेको टोलीलाई जानकारी गराएका थिए । भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनु पर्ने, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुङ्गागिट्टी, बालुवा, टावरका सामान, पानी मान्छे या खच्चडबाट बोकाएर लैजानु पर्ने, बाढीपहिरो, ठेकेदारको कमजोर कार्यसम्पादन, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध, कोभिड–१९लगायतका कारणले आयोजनाको निर्माण प्रभावित हुँदै आएको छ । प्रसारण लाइन समुद्री सतहबाट ६८० देखि २६०० मि.सम्म पर्ने भूभागमा निर्माण गरिएको छ । ३३ वटा टावर पहुँच सडक नै नभएका ठाउँमा निर्माण गर्नु पर्ने अवस्था थियो । उक्त स्थानसम्म पुग्न छुट्टै पहुँच सडक निर्माण गरिएको छ । ‘निर्माणमा केही ढिलाइ भएकोमा लगानीकर्ताहरुबाट विगतमा बारम्बार चासो र चिन्ता व्यक्त भइरहेको थियो, तर निरीक्षण भ्रमणका क्रममा कामले गति लिई उल्लेख्य प्रगति हासिल गरेको र भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा आयोजनाको काम भइरहेको देखेर टोलीले खुसी व्यक्त गर्दै यसको प्रशंसा गरेको छ’, कार्यकारी निर्देशक घिसिङले भने । आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच छलफल गरी निर्माण कार्यमा ढिलाइ नगर्न, कामदार थपेर कामलाई तिब्रता दिन निर्देशन दिंदै कार्यकारी निर्देशक घिसिङले पछिल्लो पटक निर्माण सम्पन्न गर्न तय गरिएको समयसीमाबाट कोही पनि उम्किन नपाउने बताए । ‘आयोजना निर्माण सम्पन्न हुने समयसीमा दातृ निकायहरुको पनि ठूलो चासो र चिन्ता छ, यही लाइनमा जोडिने ११० मेगावाटको रसुवागढी जलविद्युत आयोजना तयारी अवस्थामा छ, लाइन बनाउन सकेनौं भने विद्युत् खेर फाल्नु पर्ने अवस्था छ,’ घिसिङले भन्नुभयो । ‘यो या त्यो बहाना बनाएर अब कोही उम्किन पाउँदैन, सबै जिम्मेबार भएर अन्तिम प्रयास गरौं, हाम्रोतर्फबाट आवश्यक सहयोग र सहजीकरण गर्ने छौं ।’ कूल २८ किलोमिटर प्रसारण लाइनमा पर्ने ७५ वटा टावरहरुमध्ये ६५ वटाको जग हालिएको छ । बाँकी रहेका १० टावरको जग हाल्ने काम भइरहेको छ । ५९ वटा टावर खडा गरिएको छ भने तीनवटाको काम भइरहेको छ ।११ किलोमिटर तार तानिएको छ भने खडा गरिएका टावरमा तार तान्ने काम भइरहेको छ । चिलिमे –त्रिशूली थ्री बी हब प्रसारण लाइन अन्तर्गत चिलिमे–मैलुङ खण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ–त्रिशूली थ्री बी हबसम्म ८ किलोमिटर चार (मल्टी) सर्किट लाइन निर्माण गरिएको छ । कोरियन कम्पनीहरुको अगुवाइमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको विद्युत जोड्नका लागि मल्टी सर्किट लाइन बनाउन लागिएको हो । माथिल्लो त्रिशूली–१ले मल्टी सर्किट लाइन बनाउँदा भएको खर्चको ६० प्रतिशत रकम बेहोर्ने छ । प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७४को पुसमा कार्यान्वयनमा आएको थियो ।