विकासन्युज

मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति

जनकपुरधाम । मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा ४६ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको धनसम्पत्ति जलेर नष्ट भएको छ । मधेस प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म संकलन गरिएको तथ्यांक विवरणअनुसार मधेस प्रदेशका आठवटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहकाले आगलागीबाट सुरक्षित तथा सर्तक रहनका साथै पीडितलाई सहयोगका लागि आग्रह गरिएको छ । प्राप्त विवरणमा धनुषामा आठ करोड ४९ लाख, महोत्तरीमा चार करोड १४ लाख, सर्लाहीमा चार करोड ४१ लाख, सप्तरीमा पाँच करोड ४१ लाख, सिरहामा आठ करोड ४९ लाख, रौतहटमा चार करोड ९८ लाख, बारामा चार करोड १७ लाख र पर्सामा पाँच करोड ७२ लाख रुपैयाँ मूल्य बराबरको भौतिक सम्पत्ति जलेर नष्ट भएको बताइएको छ । मधेस प्रदेशको सिरहामा सबैभन्दा बढी तथा सर्लाहीमा सबैभन्दा कम आगलागीका घटना भएका छन् । सो अवधिमा सिरहामा दुई सय १६ तथा सर्लाहीमा एक सय ६ आगलागीका घटना भएको विवरणमा जनाइएको छ । यसैगरी सप्तरीमा एक सय ७२, धनुषामा एक सय ४५, महोत्तरीमा एक सय ३०, रौतहटमा एक सय ८३, बारामा एक सय २१ तथा पर्सामा एक सय २८ आगलागीका घटना भएकोे विवरणमा उल्लेख गरिएको छ । लामो समयदेखि आकासे पानी नपरेको तथा तातो हावा र बढ्दो गर्मीका कारण आगलागीका घटना अत्यधिक भएको प्रहरीको अनुमान रहेको छ । साथै मानवीय लापरबाही तथा प्राविधिक समस्याले पनि आगलागीका घटना तथा क्षति भएको हो ।

काठमाडौं उपत्यकालाई कुरूप बनाइरहेका अव्यवस्थित प्लटिङ (फोटो फिचर)

काठमाडौं । काठमाडौं उपत्यका अव्यवस्थित रूपमा घर निर्माणले मात्र होइन अव्यवस्थित प्लटिङले पनि कुरूप छ । व्यवस्थित बसोबास गराउने नाममा भएको अव्यवस्थित काम रिङरोड बाहिर असरल्ल छ । पछिल्ला वर्ष घरजग्गा कारोबारमा आएको मन्दीले प्लटिङले सम्म पारेको खेतबारी मात्र होइन डाँडा र पाखा सबैलाई आएको छ । डोजरले खनेको र इटाले भाग लगाएको जग्गालाई प्लटिङ भन्दै बिक्री गरिन्छ । न्यूनतम पूर्वाधारसमेत नपुगेको स्थानमा प्लटिङ गरिएको छ । राजकुलोमा मापदण्डअनुसार जग्गा नछोडि जग्गा प्लटिङ गरिएको त कतै जंगल र सार्वजनिक जग्गा मिचिएको अवस्था पनि छ । तर, मापदण्ड नपुगिकन गरिएका प्लटिङमा पनि सरकारले कारबाही गरेको देखिँदैन ।

चिम्टीका अग्निपीडितलाई राहत

राजविराज । आगलागीबाट घर नष्ट भएका चिम्टीका अग्निपीडितलाई यहाँस्थित नेपाल मुस्लिम समाज सेवालगायत विभिन्न संघसंस्थाले राहत सामग्री प्रदान गरेका छन् । नेपाल मुस्लिम समाज सेवा सप्तरीका उपाध्यक्ष अफरोज आलमका अनुसार सप्तरीले महादेवा गाउँपालिका–१ चिम्टी टोलका अग्निपीडित ६२ परिवारलाई भाँडावर्तनलगायत सामग्री प्रदान गरिएको हो । नेपाल–भारतमैत्री संघले पीडितलाई १० किलो चामल, दुई किलो दाल र नुन, एक किलो चिनी लुङ्गी, साडी, तन्ना, झुल, प्रदान गरेको छ । सप्तरी युथ नेपाल र नुर वेलफेयर सोसाइटीले नियमितरूपमा पीडितलाई भोजनको व्यवस्था गरेको छ । गत मंगलबार महादेवा गाउँपालिका–१ चिम्टीमा आगलागी हुँदा त्यहाँका ६२ परिवारका एक सय १४ वटा घर जलेका थिए ।

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौं । आम जनता पार्टी पार्टीका एवं सांसद प्रभु साहले मुलुकमा राजस्वको दुरुपयोग रोक्नुपर्नेमा जोड दिएका छन् । साहले मुलुक सञ्चालनको प्रमुख आम्दानीको स्रोत भन्सार राजस्व देशको समृद्धिका लागि सदुपयोग होस् भनी पार्टीले निरन्तर खबरदारी गर्दैआएको स्पष्ट पारे । उनले भने ‘देश विकासका लागि राजस्वको ठूलो योगदान छ । राजस्व सङ्कलनका स्रोतमध्ये भन्सार मुख्य हो । हामी चाहन्छौँ भन्सारबाट उठेको राजस्व रकम सदुपयोग होस् ।’ आम जनता पार्टीले राजस्व छल्नेविरुद्ध नौ महिनादेखि ‘राजस्व उठाउँ, देशलाई बुझाउँ’ भन्ने अभियान सञ्चालन गर्दैआएको छ । उक्त पार्टीले राजस्वको दुरुपयोग तथा सीमा क्षेत्रका जनताले ल्याएका दैनिक उपभोग्य सामान जफत नगर्न भन्सार विभागदेखि प्रधानमन्त्री कार्यालयसम्मका कर्मचारीको ध्यानाकर्षण गराइरहेको छ । सांसद साहका अनुसार, अवैध ढंगबाट सामान ओसारपोसार गर्ने क्रममा कुनै वस्तु बरामद भएमा भन्सार कानुनमा सुराकीलाई १५ प्रतिशत र समान जफत गरेर बुझाउनेलाई ३० प्रतिशत रकम दिने अभ्यास छ । ती सामान जफत गर्ने सरकारी कर्मचारी भएकाले उनीहरुलाई किन कमिसन भन्दै प्रश्न गरेका छन् । साहले कर्मचारीलाई कमिसन दिने भए उनीहरुलाई राज्यले तलब र भत्ता किन दिएको भन्दै प्रश्न उठाए । उनले भन्सारबाट उठेको सतप्रतिशत रकम राज्य कोषमा दाखिला हुनुपर्नेमा जोड दिए । उनले सरकारी खर्च पारदर्शी हुनुपर्ने, भन्सार छलीका सामान जफत गर्ने कर्मचारीको नाम सार्वजनिक गर्नुपर्ने, राजस्वबाट व्यक्ति मोटाउने र राज्य दुब्लाउने प्रवृत्ति बढेकामा चिन्ता व्यक्त गर्दै देश विकासका निम्ति त्यस्तो प्रवृत्ति अन्त्य हुनुपर्ने माग गरे। उनले नेपाल–भारत खुला सिमानाका कारण हुनसक्ने अवैध ओपासपोसार रोक्न र भन्सार राजस्व वृद्धि गर्न अन्य स्थानमा पनि भन्सार कार्यालय खोल्न र भन्सार व्यवस्थापनलाई चुस्त तुल्याउनुपर्नेमा जोड दिए ।

सुर्ती सेवनमा वार्षिक ४७ अर्ब खर्च

भक्तपुर । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव पूर्णभक्त दुवालले सुर्ती सेवनबाट मुलुकमा दैनिक ७३ जनाको ज्यान जाने गरेको बताएका छन् । बालबालिकालाई सुर्ती र धूमपानबाट टाढा राख्ने उद्देश्यले युवा सिर्जनशील समाजले शुक्रबारदेखि सुरु गरेको विद्यालयमा सचेतना अभियानमा उनले सुर्तीको धुवाँमा विश्वमा बर्सेनि ४७ अर्ब रुपैयाँ उडिरहेकाले यसलाई रोक्न पनि अभियान थाल्नुपर्ने बताए । सुर्तीमा निकोटिन, टारलगायतका ४० भन्दा बढी किसिमका खतरनाक विषादी हुने भएकाले यसले दीर्घरोग लाग्ने उनले बताए । महासचिव दुवालले सुर्तीजन्य पदार्थ नियमन ऐनले १६ वर्षमुनिका बालबालिकालाई सुर्ती बेच्न बन्देज लगाएको, विद्यालयको सय मिटर वरपरसम्म सुर्ती बेचबिखन र सेवन गर्न प्रतिबन्ध लगाएको हुँदा राज्यका निर्देशन उल्लंघन भएमा विद्यार्थी स्थानीय तह र प्रहरी प्रशासनमा उजुरी गर्न अग्रसर हुनुपर्ने औंल्याए । अभियानमा गणेशमान सिंह मेमोरियल अस्पतालका डा. आदित्य रञ्जितले धूमपान र सुर्ती सेवनबाट क्यान्सर, मधुमेह, मुटुरोग, दमखोकीलगायत रोग लाग्ने भएकाले यसबाट समाजलाई बचाउन विद्यार्थीलाई घरघरमा सन्देश पुर्‍याउन आह्वान गरे । धूमपान गर्ने व्यक्तिले आफूलाई मात्र रोगी पार्ने नभइ आफ्नो परिवार र आफू आसपासका व्यक्तिलाई पनि बिरामी पार्ने भएकाले सार्वजनिक स्थलमा धूमपान निषेध गर्न राज्य लाग्नुपर्नेमा उनले जोड दिए । युवा सिर्जनशील समाजकी अध्यक्ष शारदा लामाले सुर्तीको लत सानै उमेरदेखि लाग्न सक्ने भएकाले विद्यार्थी यसबाट टाढा रहनुपर्ने बताउँदै सुर्तीले आर्थिक, सामाजिक, वातावरणीय क्षय हुने मात्र नभई भविष्यका कर्णधारको जीवन नै जोखिममा पार्ने भएकाले सुर्ती सेवन र नगर्न अनुरोध गरिन् ।

नेपाल लाइफले मनायो २३औं वार्षिकोत्सव

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २३औं वार्षिकोत्सव देशव्यापी रूपमा विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाएको छ । यस सुखद अवसरमा देशका १२ स्थानबाट रक्तदान कार्यक्रम, १८५ वटै शाखामा वृक्षारोपण कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर तथा विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू भव्यतापूर्वक सञ्चालन गरेको हो । यस अवसरमा कम्पनीले रक्तदान कार्यक्रममार्फत कोशी प्रदेशको दमकमा ३९, मधेश प्रदेशको वीरगञ्जमा ३२ र जनकपुरमा ३४, बागमती प्रदेशको नारायणगढमा ४३, हेटौंडामा ३२, ललितपुरमा ३८ र काठमाडौंमा ७०, गण्डकी प्रदेशको पोखरामा ४१, लुम्बिनी प्रदेशको बुटवलमा २५ र कोहलपुरमा ३८, सुदरुपश्चिमको महेन्द्रनगरमा ३२ र धनगढीमा ३३ गरी कुल ४५७ पिन्ट रगत संकलन गरेको छ । साथै, कम्पनीले केन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, कर्णाली प्रदेशको सुर्खेतमा रहेको बादी सरोकार मञ्च नेपाललाई हजार लिटरको पानी ट्यांकी प्रदान, धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको हरियाली प्रवर्द्धन कार्यक्रमलाई १०० वटा वृक्ष रोप्नका निम्ति ५ लाख रुपैयाँको आर्थिक सहयोग तथा कम्पनीले आफ्ना १८५ वटै शाखामा वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरेको छ । यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले सम्पूर्ण ग्राहकले गरेको विश्वास, कम्पनीको मेरुदण्डका रूपमा रहेका अभिकर्ताहरू, मार्गनिर्देशन प्रदान गर्ने सञ्चालक समितिका पदाधिकारी, आरोह अवरोहमा सदैव साथ दिने कर्मचारी, माया, स्नेह प्रदान गर्ने सेयरधनी, नेपाल बीमा प्राधिकरण, अन्य नियामक निकायका साथै नेपाल लाइफलाई नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्न अतुलनिय भूमिका खेल्ने सबै सरोकारवालामा धन्यवाद ज्ञापन गरेका छन् । आगामी दिनमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरूको सेवाको गुणस्तरीयतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाँउदो योजना ल्याउने उनले बताए । यसका साथै सम्पूर्ण सरोकारवालाको अपेक्षालाई पूरा गर्न कम्पनी दत्तचित्त भएर लागिपर्ने उनको भनाइ छ ।

सिंहेश्वरी माविका विद्यार्थीलाई नेपाल एसबिआई बैंकद्वारा १५३ थान ट्रयाक सुट प्रदान

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको सिंहेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ट्रयाक सुट वितरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त विद्यालयका कक्षा एल केजीदेखि कक्षा चारसम्मका विद्यार्थीलाई १५३ थान ट्रयाक सुट प्रदान गरेको हो । बैंकले शिक्षा क्षेत्रमा यस खालका कार्यक्रम विगत लामो समयदेखि गर्दै आइरहेको छ । सोही कार्यक्रममा बचत, लघु कर्जा, बैंक खातामार्फत विप्रेषण, सहुलियत कर्जा तथा अन्य बैंकिंग सुरक्षा तथा सचेतना सम्बन्धि वित्तीय साक्षरता कार्यक्रमसमेत आयोजना गरिएको थियो । उक्त कार्यक्रममा बैकका धर्मदेवी शाखा प्रबन्धक सुशील निरौला, स्कुलका प्रधानाध्यापक देवी माया अधिकारी तथा बैंकका कर्मचारीहरू, स्कुलका शिक्षक, कर्मचारी र स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको थियो । हाल बैंकले ९७ शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १३ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

‘टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’ का विजेताले पाए पुरस्कार

काठमाडौं । टिभिएसले ‘टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’ नामक नयाँ वर्षको योजनाको विजेता घोषणा गरी पुरस्कार वितरण गरेको छ । नयाँ वर्षको स्किमअन्तर्गत ग्राहकलाई टिभिएसका बाइक तथा स्कुटरको खरिदमा लाइफटाइम वारेन्टीको सुविधाका साथ साथै हरेक हप्ता १०० प्रतिशत क्यास ब्याक, स्योर सट क्यास डिस्काउन्ट, एक्सचेन्ज गर्दा बजार मूल्य भन्दा थप मुल्यांकन, र बजारकै सबै भन्दा कम आईएमआई तथा सजिलो फाइन्यान्स सुविधा जस्ता आकर्षक अफरहरू उपलब्ध गराएको थियो । योजना अन्तर्गत अंकुश साहले एनटर्क ड्रमको खरिदमा ५० हजार रुपैयाँ पुरस्कार जितेका छन् । त्यसैगरी सपना सापकोटाले एनटर्क रेस ऐडिशन र गोदावरी ठगुन्नाले एनटर्क आरटीएफआईको खरिदमा १०० प्रतिशत क्यासब्याक प्राप्त गरेका छन् भने राम बहादुर राणाले रेडरको खरिदमा ५० हजार रुपैयाँ पुरस्कार जितेका छन् । जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुई पांङ्ग्रे सवारीसाधनको एकमात्र आधिकारिक वितरक हो ।