कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान
नवलपुर । विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक खण्डमा कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान गरिएको छ । सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले सडक विस्तारको काम चाँडै सम्पन्न गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान गरेको जनाएको हो । कम्पनीका ठेक्का सहव्यवस्थापक राकेश झाले नारायणगढ–बुटवल सडकको कालोपत्र गर्ने काम चाँडो सम्पन्न गर्न प्रतिघण्टा चार सय मेट्रिक टन क्षमताको ‘हटमिक्स प्लान्ट’ जडान गरिएको बताए । प्लान्टमा बालुवा, ढुङ्गा, गिट्टी र अलकत्र हालेपछि मेसिनले आफैँ अलकत्रलाई पगालेर अस्फाल्ट (कालोपत्र गर्ने तयारी कच्चा पदार्थ) बनाएर पठाउने उनले बताए । यस प्लान्टलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सकेको खण्डमा जडित क्षमताको ८० प्रतिशतसम्म कार्य क्षमता हुने भन्दै उनले दैनिक दुई किलोमिटरसम्म कालोपत्र गर्न सकिने बताए । प्लान्ट कावासोती–१६ स्थित सुक्खा खोलाको किनारमा जडान गरिएको छ । यहाँबाट उत्पादन भएको अस्फाल्टले एकैपटक तीन/चार स्थानमा कालोपत्र गर्न सक्ने अवस्था रहेको झाको भनाइ छ । ‘अहिले सडकमा सब बेस र बेस तयार भएको ठाउँमा कालोपत्र गरिरहेका छौँ’, उनले भने, ‘विभिन्न कारणले गर्दा हाम्रो हटमिक्स प्लान्ट पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन ।’ दैनिक आठ घण्टामात्र प्लान्ट सञ्चालन हुने हो भने पनि १० दशमलव ५० मिटर चौडाइ र ६० मिलिमिटर मोटाइमा दैनिक दुई किलोमिटर कालोपत्रको कार्य सजिलै गर्न सकिने उनले बताए । नारायणगढ–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले यस सडक विस्तारका लागि जडान गरिएको प्लान्ट पूर्ण क्षमतामा सञ्चालनमा आउन नसक्दा आयोजनालाई केही फाइदा नभएको बताए । ‘सडक विस्तारका लागि आवश्यक पर्ने जनशक्ति तथा उपकरण पनि न्यून परिचालन भएको छ’, उनले भने, ‘यो लामो दिनमा पनि दैनिक ८/९ घण्टाभन्दा बढी काम हुन सकेको छैन, जसले गर्दा काममा ढिलाइ भएको छ ।’ बाटो सम्याउने ग्रेडर आवश्यकताभन्दा आधा कम भएको भन्दै उनले १५ वटा ग्रेडरले सम्याएर बेस बनाउँदा समय लाग्ने र कालोपत्रको काम ढिला हुने बताए । ‘प्लान्टलाई पूर्ण क्षमतामा चलाउन सकेको खण्डमा प्रतिघण्टा करिब १६ वटा गाडीमा अस्फाल्ट भरेर कालोपत्र गर्ने ठाउँमा पठाउँदै कामलाई तीव्रता दिन सकिन्थ्यो’, उनले भने, ‘निर्माण कम्पनीलाई जनशक्ति र उपकरण बढाउन पत्राचार गर्दा पैसाको अभाव भएको सुनाउँछ ।’ निर्माण कम्पनीले एक प्रतिशत काम गरेपछि भुक्तानी पाउने गरी सम्झौता भएको र सोही अनुसार भुक्तानी भइरहेको खनालले बताए । ‘यो पूर्वीखण्डको ठेक्का रकम रु नौ अर्ब ३८ करोड रहेको छ, यसको एक प्रतिशत काम भएपछि निर्माण कम्पनीले भुक्तानी दाबी गर्ने र योजनाले भुक्तानी गर्ने सम्झौतामा उल्लेख भएको छ’, उनले भने, ‘निर्माण कम्पनीले यहाँबाट पाएको पैसाले मात्रै काम गरिरहेको छ, उसले थप पैसा लगानी गरेर काम गर्ने चासो नदेखाउँदा काममा ढिलासुस्ती भएको हो ।’ निर्माण सुरु भएको ४२ महिनामा सडक विस्तारको काम सक्नेगरी विसं २०७५ माघमा निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले सरकारसँग सम्झौता गरेर काम सुरु गरेको थियो । दुई पटकसम्म म्याद थप भइसकेको योजनाको हालसम्म भौतिक प्रगति ५० दशमलव ६२ प्रतिशत मात्रै पुगेको इन्जिनियर खनालले बताए । दोस्रोपटक थप भएको म्याद आगामी साउन ८ गते सकिने यस खण्डमा हालसम्म एकतर्फी गणना गर्दा ३७ किलोमिटर कालोपत्र, २१ साना पुल निर्माण, एक सय ६३ कल्भर्ट निर्माण भएको तथा आठ ठूला पुलको निर्माण अन्तिम चरणमा रहेको खनालले बताए । विस्तार सुरु भएको पाँच वर्ष नाघ्दासमेत आधा मात्रै काम सकिएको सडकमा उड्ने धूलोका कारण स्थानीय र यात्रुहरुले सास्ती खेप्नुपर्ने बाध्यता छ । कालोपत्र नभएको ठाउँमा उड्ने धुलोका कारण सडक देख्नै समस्या हुने तथा खाल्डाखुल्डीका कारण दुर्घटनासमेत हुने गरेको छ । रासस
सरकारले विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने
काठमाडौं । सरकारले विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले प्रतिबन्ध लगाउने प्रक्रियामा सहयोग गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेको छ । केन्द्रका निर्देशक केशवराज पण्डितले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई विद्युतीय चुरोटको उपभोग गर्न नपाउने व्यवस्था कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका छन् । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को दफा २८ को उपदफा ४ मा ‘कसैले पनि इलेक्ट्रोनिक सिगरेटको उत्पादन, आयात, बिक्री वितरण, सार्वजनिकस्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चारमाध्यमबाट प्रवद्र्धन तथा विज्ञापन गर्न पाइने छैन’ भन्ने व्यवस्था रहेकाले सोही कार्यान्वयन गर्नका लागि पत्राचार गरिएको उनले बताए । केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. भक्तबहादुर केसीले अर्थ र सञ्चारमन्त्रायले निर्देशिकामा भएको कुरालाई कार्यान्वयन गर्नसाथ विद्युतीय चुरोटको नेपालबाट प्रतिबन्ध हुने बताए । उनले कतिपयले चुरोटको सेवन छाड्नका लागि विद्युतीय चुरोटको सेवन गर्ने गरेको भन्दै चुरोट जतिकै विद्युतीय चुरोटले पनि स्वास्थ्यमा हानी गर्ने बताए । उनले सुर्ती सेवनको गेट-वेका रूपमा विद्युतीय चुरोट रहेको समेत बताए । ‘विद्युतीय चुरोटको सेवनले चुरोट खान सिकाउँछ । यसले निकोटिनको लत बसाउने काम गर्दछ’, उनले भने, ‘त्यसैले विद्युतीय चुरोट सुर्तीजन्य पदार्थ सेवनको गेट–वेका रुपमा रहेको छ ।’ विद्युतीय चुरोटले मानिसको मुटु र फोक्सोमा सिधैँ असर गर्नुको साथै मुख जल्ने जस्ता पनि समस्या गराउनुको साथै सेवन गरिरहेको मानिससँगै बसिरहेको अर्को मानिसलाई पनि यसले हानी गर्ने उनको भनाइ छ । नेपालमा विद्युतीय चुरोट विभिन्न फ्लेवरमा आउने गरेको छ । ब्लाकवेरी, ब्लुवेरी, मेलन, पाइनापल, गाभा, म्याङ्गो जस्ता फ्लेवरमा आउने गरेको छ । भन्सार विभागको तथ्याङ्कमा गत आर्थिक वर्षमा वार्षिक ३२ लाख २३ हजार छ सय ८७ थान विद्युतीय चुरोटका डिभाइस नेपाल आउने गरेको बताए । तीमध्ये ३१ लाख ७५ हजार आठ सय १५ थान ती विद्युतीय चुरोट चीनबाट मात्र आउने गरेको छ । यस्तै अमेरिकाबाट दुई लाख ६५ हजार ६४०, सयुक्त अरब इमिरेट्सबाट १२ हजार नौ सय ६७ थान आउने गरेका छन् । भारत, बेलायतलगायत देशबाट पनि विद्युतीय चुरोट आउने गरेको छ । केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा केसीका अनुसार नेपालमा वार्षिक रु ३२ अर्ब बराबरको विद्युतीय चुरोटको व्यापार हुने गरेको छ । उनले नेपालमा विगत पाँच वर्षमा दुई सय गुणाले आयात बढेको बताए । एउटा विद्युतीय चुरोट रु १० हजारदेखि १३ हजारसम्म पर्छ । रासस
सहकारीको छवि जोगाउन लेखा समितिको भूमिका महत्वपूर्ण : सीईओ सापकोटा
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ( नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले सहकारी क्षेत्रको छवि जोगाउन र संस्थागत सुशासन कायम गर्न लेखा सुपरिवेक्षण समितिको भूमिका महत्वपुर्ण रहेको बताएका छन् । मंगलबारदेखि काठमाडांैमा सुरु लेखा सुपरिवेक्षण समितिको दोस्रो राष्ट्रिय गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै सापकोटाले सहकारी संस्थाको दिगो विकासमा लेखा सुपरिवेक्षण समिति केन्द्रीकृत हुन जरुरी रहेको बताए । लेखा सुपरिवेक्षण समितिले सदस्यमा आधारित छ की छैन ? सदस्य संस्थाको स्रोत र जग हो भन्ने बुझाइ सञ्चालकहरुमा रहे नरहेको भन्ने बिषयमा ख्याल गर्नु पर्ने बताए । सहकारीमा लेखा समितिको भूमिका प्रभावकारी नभएको उल्लेख गर्दै सापकोटाले संस्थाको सुशासन र व्यवस्थापनमा खबरदारी गर्न आवश्यक रहेको बताए । संस्थामा रोजागारी सिर्जना उद्यमशिलताको विकास र व्यावसायिक प्रवद्र्धनतर्फ सञ्चालक समिति उन्मुख छ की छैन भन्ने बिषयलाई सुक्ष्म तरिकाले निगरानी राख्नुपर्ने लेखा समितिको मुल जिम्मेवारी रहेको बताए । कर्मचारी भर्ती, अनावश्यक भ्रमण, ऋण लगानी लगायतका कुरामा निगरानी राखेर काम गर्न आवश्यक रहेको उल्लेख गरे । समुदाय केन्द्रीत कारोबार, दैनिक र नियमित भन्दा आवधिक बचतमा जोड र एकीकरणमा प्रथमिकता दिइनु पर्ने उनको भनाई थियो । ऐन कानून निमार्णमा सहजकर्ताको भूमिका, संस्थाको सम्पूर्ण खर्चको विवरण र बचत ऋणको अनुपात मिले÷नमिलेको पनि हेर्ने आवश्यक रहेको सापकोटाले बताए । लेखा समितिको मुख्य भूमिका भनेकै नीति विधि निर्माण र कार्यान्वयनको सहजकर्ताको भूमिकामा काम गर्ने रहेको बताउँदै सापकोटाले पटक पटक नीति बनेन भनेर मात्र टिपणी लेखेर मात्र संस्था सुधार हुन नसक्ने भएकाले हरेक काममा कार्यान्वयनमा लैजान लाग्नु पर्ने बताए । सञ्चालक समितिको स्वेच्छाचारी नियन्त्रण जरुरी कार्यपत्र माथी टिपणी गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले लेखा समितिको मुल कार्य सञ्चालकहरुको स्वच्छाचारी क्रियाकलाप नियन्त्रण गर्ने रहेको बताएका छन् । संस्थागत सुशासन, प्रर्वद्धन र सुद्धिकरण अहिलेको मुल आवश्यकता रहेको उल्लेख गर्दै बचत र शेयरको अनुपात नमिल्नु लाभांश र ब्याजको लोभमा सदस्य केन्द्रीत हुनु, संस्थाका नीति कार्यविधिहरु नहुनु, संस्थामा राजनितिकरण लगायतका गतिविधिहरुलाई नियन्त्रण गर्नु लेखा समितिको दायित्व रहेको बताए । ऐन कानूनको पालना, सामुदाय तथा सदस्य केन्द्रीत कारोबार नहुनु र सञ्चालक समितिको एकाधिकार माथी निगरानी आवश्यक रहेको बताए । ‘लेखा समितिले चनाखो भएर काम नगर्दा सञ्चालकहरुका काम कारबाहीहरु प्रभावकारी भएका छैनन्’, सचिव दवाडीले भने । घाटमा गए पनि लाभांश बाड्ने प्रवृति बढेको छ, यो गलत कार्यलाई रोक्न लेखा समिति प्रभावकारी बन्नु पर्ने आवश्यकता रहेको उनले औल्याए । कार्यक्रममा सहभागिहरुले सहकारीको नियमन र अनुगमन स्थानिय तहमा हस्तान्तरण हुँदा प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए । उनिहरुले लेखा समितिले उठाएका कुराहरुमा सञ्चालक समिति गम्भिर नहँुदा संस्थागत सुशासनमा समस्या आएको उल्लेख गरे । लेखा समिति संस्थाको मेरुदण्ड भए पनि यसको प्रभावकारी बनाउन बजेटको व्यवस्थापन नहुँदा पदिय दायित्व अनुसार काम हुन नसकेको बताए । सेसनको अध्यक्षता नेफ्स्कूनका पुर्व अध्यक्ष डिबी बस्नेतले गरेका थिए भने कार्यक्रमको सहजिकरण नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत गणेश तिमल्सिनाले गरेका थिए ।
स्वस्तिक हेल्थ केयर सेन्टरमा प्रभु बैंकका ग्राहकले छुट पाउने
काठमाडौं । स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच छुट सम्झौता भएको छ । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई ताल्छिखेल, सातदोबाटो, ललितपुर स्थित स्वस्तिक हेल्थ केयर सेन्टरले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका स्वास्थ सेवाहरूमा छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको हो । एक समारोहकाबीच स्वस्तिक हेल्थ केयर सेन्टरका अध्यक्ष डा.अमृश थापा र प्रभु बैंकका प्रमूख मार्केटिङ्ग अफिसर रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक स्वस्तिक हेल्थ केयर सेन्टरमा पेस गर्नुपर्ने छ । नेपालको निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक स्वस्तिक हेल्थ केयर सेन्टरले निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ र छिट्टै नै आकस्मिक उपचार देखि सघन उपचार लगायतका स्वास्थ सेवाहरू उपलब्ध गराउने छ । स्वास्थ्यप्रति जागरुक नागरिकहरूकालागि स्वस्तिक हेल्थ केयर सेन्टरमा विभिन्न स्वास्थ्य परिक्षणका प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरुमा १० प्रतिशत देखि २५ प्रतिशतसम्मको छुट व्यवस्था रहेको छ ।
बागलुङको विकट गाउँ रमुवामा पुग्यो केन्द्रीय प्रसारण लाइन
फाइल फोटो ढोरपाटन । बागलुङको अत्यन्तै विकट मानिने रमुवा गाउँमा पहिलो पटक केन्द्रीय प्रसारण लाइन पुगेको छ । गलकोट नगरपालिका–१० स्थित रमुवा गाउँमा विसं २०६२ सालमा लघु जलविद्युत पुगे पनि हिउँदको समयमा अन्धकारमा बस्नुपर्ने बाध्यता थियो । नेपाल विद्युत प्राधिकरणले यही वैशाख २४ गते केन्द्रीय प्रसारण लाइन बिस्तार गरेको हो । गाउँमा केन्द्रीय प्रसारण लाइन पुगेपछि स्थानीय हर्षित भएका छन् । बर्खाको समयमा मात्र बिजुली बाल्न पाउन रुमुवावासीले अब बाह्रै महिना विद्युत प्रयोग गर्न पाउने भएका छन् । १८ वर्ष अगाडि ठूलो खोला लघु जलविद्युत आयोजना सञ्चालनमा आएपछि रमुवा गाउँमा बिजुली पुगेको थियो । तर, खोलामा पानीको बहाव कम हुँदा समस्या भएको थियो । जसकारण गाउँमा बिजुली आपूर्तिमा समस्या हुँदै आएको थियो । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि ७६ किलोमिटर उत्तर पश्चिममा रहेको रमुवा तुलनात्मकरुपमा विकटमा पर्छ । आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको रमुवाका स्थानीय कृषि र पशुपालनमा आवद्ध रहँदै आएका छन् । गाउँमा केन्द्रीय प्रसारण लाइन पुगेपछि स्थानीय उत्पादनलाई प्रशोधन र बजारीकरणमा सहज पुग्ने विश्वास लिइएको छ । गलकोट नगरपालिका–१० का पूर्वअध्यक्ष तिलक घर्ती मगरले केन्द्रीय प्रसारण लाइन नहुँदा रमुवाका हजारौँ नागरिक अन्धकारमा बस्नुका साथै सूचना सञ्चारबाछ टाढा हुनु परेको बताए । गाउँमा सञ्चालनमा रहेको लघु जलविद्युत आयोजनाले एउटा चिम पनि नबल्न नसक्ने र नेपाल टेलिकमको टावरसमेत सञ्चालन नहुँदा टेलिफोन सेवा अवरुद्ध हुँदै आएको उनको भनाइ छ । अब ती समस्या समाधान हुने विश्वास लिएको घर्ती मगरले बताए । ‘गाउँमा बिजुली छैन भन्दा घर–घरमा लाइन पुगेको थियो तर जलविद्युतले हिउँदको समयमा एउटा बल्ब (चिम) पनि बाल्न सक्दैनथ्यो, केन्द्रीय प्रसारण लाइन ल्याउनका लागि धेरै प्रयास गर्यौँ, बल्ल आयो,’ उनले भने, ‘केन्द्रीय प्रसारण लाइनले यहाँका हजारौँ नागरिकको मुहारमा खुसी ल्याएको छ, अब बाह्रै महिना बिजुलीको सुविधा हुने छ, यसले स्थानीयको दैनिकी नै बदलिने अपेक्षा लिएका छौँ ।’ नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख पवन पौडेलले भौगोलिक विकटताका बाबजुत लामो समयको प्रयासमा यहाँ विद्युत पुर्याउन सफल भएको बताए । अघिल्लो वर्षदेखिनै रमुवामा विद्युत् पुर्याउनका लागि काम गरे पनि यस वर्ष पुगेको उनको भनाइ छ । रमुवामा लाइन ल्याउनका लागि करिब डेढ करोड रकम खर्च भएको प्रमुख पौडेलले बताए । ‘यो ठाउँ निकै विकट रहेछ, अघिल्लो वर्षनै विद्युत पुर्याउने गरि काम गरेका थियौँ तर भौगोलिक विकटताका कारण पुर्याउन सकिएन, यस वर्ष बल्लतल्ल सकियो, रमुवा गाउँको मुख्य समस्या स्थानीय हाइड्रोपावरले टेलिकमको टावर सञ्चालन गर्न पनि सक्दो रहेनछ,’ उनले भने ।
डिशहोमले देशका विभिन्न १५ शहरमा रोड-शो गर्दै
काठमाडौं । डिशहोमले आउदो टी२० र युरो २०२४ लाई लक्षित गरी देशको विभिन्न १५ वटा शहरहरूमा रोड-शो गर्ने भएको छ । मंगलबारबाट सुरु भईरहेको रेडियो अन-व्हील्स रोड-शो कार्यक्रमसँगको सहकार्यमा डिशहोम फाईवरनेटले पनि आफ्नो सेवा-सुविधाहरूको प्रचार-प्रसार गर्ने भएको छ । कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरू हुनेछन् जहाँ महिमा पण्डी भट्टराई, सञ्जोक बस्याल, दुर्गाराज पाण्डे, स्मिता राणा, प्रज्वल खड्का र महेस लिम्बू प्रस्तोताको भुमिकामा रहने यस कार्यक्रममा शिव परियार, महेश काफ्ले, विश्व नेपाली, टीका प्रसाईं तथा सुमन कार्की जस्ता ख्यातिप्राप्त कलाकारहरूले आफ्नो बेजोड प्रस्तुति दिने डिशहोमले जनाएको छ । डिशहोमका अनुसार अन्य थप रोमान्चाक गतिविधीहरू हुनेछन् जहाँ सहभागीहरूले विभिन्न खेलहरुमा सहभागी भई पुरस्कारहरु पनि जित्न सक्नेछन् । यो कार्यक्रम धरान बसपार्कबाट २५ गते साँझ ४ बजेदेखि सुरु हुँने रेडियो अन-व्हील्स वैशाख २६ गते इटहरी, २७ गते दमक, २८ गते बिर्तामोड, २९ गते बिराटनगर, ३० गते जनकपुर, ३१ गते बिरगंज, जेठ १ गते हेटौंडा, २ गते नारायणघाट, ४ गते बुटवल, ६ गते धनगढी, ८ गते सुर्खेत, ९ गते नेपालगन्ज, ११ गते पोखरा र १४ गते काठमाडौंमा आयोजना भई समापन हुनेछ। कार्यक्रमले देशैभर हजारौं जनालाई पूर्ण मनोरञ्जन गराउने विश्वास आयोजकले लिएको छ । डिशहोमले आउँदो टी२० र युरो २०२४ लाई लक्षित गरी देशको विभिन्न १५ वटा शहरहरुमा रोड-शो गरेको हो ।
दुर्गम खानीखोलामा श्रमाधान-कल सेन्टर सञ्चालन
काभ्रेपलाञ्चोक । जिल्लाको दुर्गम खानीखोला गाउँपालिकामा श्रम तथा रोजगार क्षेत्रसँग सम्बन्धित गुनासो तत्काल सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान कल सेन्टर’ सञ्चालनमा ल्याइएको छ । उक्त सेन्टरबाट असल श्रमसम्बन्ध, आन्तरिक तथा वैदेशिक रोजगार र सामाजिक सुरक्षा क्षेत्रसँग सम्बन्धित सेवाग्राही एवं सरोकारवालाका समस्या, जिज्ञासा, गुनासा र सुझावलाई प्रत्यक्ष संकलनसहित सम्बोधन गरिने जनाइएको छ । उक्त स्थानीय तह संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा ‘अति दुर्गम’ मा सूचीकृत गाउँपालिका हो । सेन्टरमार्फत् प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा कोषका काम कारबाहीबारे जिज्ञासा तथा सरोकारवालालाई जानकारी दिइने र गुनासाको सुनुवाइ गरी तत्काल समस्या समाधानमा पहल गरिने गाउँपालिकका अध्यक्ष इन्द्रबहादुर थिङले बताए । उनका अनुसार सेन्टरको सञ्चालनबाट गाउँपालिकास्थित निकायका कार्यक्षेत्रसँग सम्बन्धित आधिकारिक सूचनाको तत्काल प्रवाह भई सेवाग्राहीका समस्याको शीघ्र सम्बोधन हुने अपेक्षा गरिएको छ । यस्तै दैनिकरूपमा प्राप्त हुने गुनासालाई सुनुवाइ गरी तत्काल सम्बोधन गर्न, जानकारी लिन वा गुनासो सेन्टरबाट सम्बद्ध निकायमा सम्पर्क एवं समन्वय गर्न र सम्बन्धित निकायले समेत तत्काल सम्बोधन गरे/नगरेको विषयमा गाउँपालिकाबाट नियमित अनुगमन एवं ताकेता गर्न सकिने व्यवस्था मिलाइएको थिङले बताए । यसका लागि गाउँपालिकाको केन्द्रस्थान साल्मेचाकलमा सेवाग्राहीले सेन्टरका निःशुल्क फोन तथा सेन्टरको क्युआर कोड स्क्यानमार्फत् निःशुल्क गुनासो गर्न सकिने व्यवस्था गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यही साताबाट श्रम तथा रोजगारसँग सम्बन्धित नेपाली श्रमिकका समस्या समाधान र श्रम बजारमा सुधार ल्याउने उद्देश्यसहित ‘श्रमाधान’ अभियानअन्तर्गत ‘सेकेन्ड इनिङ्स’, रोजगार बैंक, समता, कनेक्ट, साथ, कल सेन्टर, पेसागत यात्राको सहयात्रीलगायत कार्यक्रम अभियानकारूपमा लैजाने योजना सुरुआत गरेको छ ।
रातो माछिन्द्रनाथको रथ निर्माणको अन्तिम चरणमा (तस्बिरहरू)
ललितपुर । ललितपुरको पुल्चोकमा रातो माछिन्द्रनाथको रथ निर्माणको अन्तिम चरणमा पुगेको छ । रातो मच्छिन्द्रनाथलाई आगामी वैशाख २७ गते रथारोहण गरी २९ रथ तनी जात्रा मनाउने साइत रहेको छ । रथ निर्माण कार्यमा पाटनका बाराही गुठीका २३ जना र ञवा गुठीका १२ जना गुठीयार सहभागी छन् ।