बाँकेको जमुनाहा नाका बन्द
खजुरा । बाँकेको नेपाल-भारत जमुनाहा नाका तीन दिनका लागि बन्द गरिएको छ । भारतको उत्तरप्रदेशस्थित बहराइच जिल्लामा यही वैशाख ३१ गते हुने लोकसभा निर्वाचनका लागि सीमा नाका शुक्रबार राति १० बजेदेखि तीन दिनका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीका अनुसार खुला सीमाका कारण बढ्न सक्ने सुरक्षा चुनौतीका कारण नाका बन्द गरिएको हो । नाका बन्द रहेका बेला एम्बुलेन्सलगायत अत्यावश्यक सेवालाई दुवै देशका सुरक्षाकर्मीको समन्वयमा कुनै अवरोध नहुने उनले बताएका छन्। निर्वाचनलाई लक्षित गरेर दुई देशका सीमा क्षेत्रमा मदिराको बेचबिखन र सेवनमा समेत रोक लगाइएको छ । लोकसभा निर्वाचनलाई दशगजा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीले संयुक्त रूपमा गस्ती गर्दै आएका छन् ।
मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु
सङ्खुवासभा । सङ्खुवासभामा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ । आरोहण गरी फर्किने क्रममा पर्वतारोही सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिका-४ का ५४ वर्षीय ल्हाक्पा तेञ्जी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिए । मकालु हिमाल आरोहण गरी फर्कने क्रममा मकालु गाउँपालिका-२ र ३ को सिमानामा बेपत्ता भएका शेर्पाको शव शुक्रबार दिउँसो मकालु आधार शिविरमा फेला परेको प्रहरी निरीक्षक जबेगुले बताए । घटनास्थलबाट शेर्पाको शव मुचुल्कापश्चात् सोलुखुम्बु लगिएको उनको भनाइ छ । यातायात र सञ्चार सेवा नभएका कारण मकालुक्षेत्र भौगोलिकरूपमा विकट मानिन्छ । घटनास्थल सदरमुकाम खाँदबारीदेखि पाँच दिनको पैदल दूरीमा पर्दछ । पर्वतारोही शेर्पाको शव मुचुल्का पछि शनिबार नै सोलुखुम्बु लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रसुवागढी नाकामा पर्यटकको चहलपहल बढ्दै
रसुवा । चीनको आधार इलाकामा पर्ने मानसरोवर कैलाश तीर्थ र ल्हासा क्षेत्र घुम्न जाने यात्रु तथा पर्यटक आउन थालेपछि रसुवागढी नाकाको चहलपहल बढ्न थालेको छ । ल्हासा घुम्न हिँडेका पर्यटक हेलिकप्टरमा र मानसरोवर जाने तीर्थयात्रुहरू बसद्वारा रसुवागढी पुग्न थालेपछि सुनसान रहेको रसुवागढी तथा घट्टेखोला क्षेत्रमा क्रमशः चहलपहल बढ्दै गएको हो । व्यावसायिक क्षेत्रका व्यापारीको आवागमन कमी भइरहेको अवस्थामा मान सरोवरको यात्रा सुरुआतले स्थानीयको व्यापार–व्यवसायमा समेत केही अभिवृद्वि भएको छ । टिमुरेको घट्टेखोलामा रहेको अध्यागमन कार्यालयमा भिसाको अभिलेख राख्नका लागि घुइँचो लाग्न थालेपछि घट्टेखोलाबाट रसुवागढी मितेरी पुलसम्मको करिब एक किलोमिटर क्षेत्रमा चहलपहल बढेको स्थानीयले बताएका छन् । मानसरोवर यात्राका लागि २५ जना नेपाली त्यसतर्फ प्रस्थान गरिसकेका र ल्हासाको अवलोकन भ्रमणका लागि पाँच सय विदेशी पर्यटक भिसामार्फत रसुवागढी नाकाबाट चीन प्रस्थान गरिसकेका रसुवागढी अध्यागमन कार्यालयका कार्यालय प्रमुख मुरारी निरौलाले जानकारी दिए । उनका अनुसार ल्हासा भ्रमण गर्न जानेहरूमा भूटान, रसिया, युक्रेन, सर्विया, फेन्स, अमेरिकालगायत विभिन्न देशका नागरिक रहेका छन् । पर्यठकलाई हेलिअल्ट्रिच्युट तथा डानेष्ट्रीलगायत कम्पनीका हेलिकप्टरले रसुवागढीस्थित घट्टेखोला पुर्याएको अध्यागमन कार्यालयले जनाएको छ । धार्मिक तथा घुम्ने पर्यटकको यात्रा सहज पार्न भिसा प्राप्त यात्रु तथा पर्यटकलाई तत्काल अध्यागमन कार्यालयले गर्नुपर्ने सबै प्रक्रिया पूरा गरी अनुमति दिने गरेको प्रमुख निरौलाले जानकारी दिए । वसन्तऋतुको मध्यदेखि सुरु भएको मानसरोवर तीर्थयात्रा भने शरदऋतुको मध्यसम्म सञ्चालन हुने र भक्तजनको ओहोरदोहोर भइरहने स्थानीयले बताएका छन् ।
रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी
धरान-धरान उपमहानगरपालिका-१४ का सन्तोष विश्वकर्माले रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गरिरहेका छन् । उनले धरान-१४ स्थित पिण्डेश्वरी मन्दिरमा रुद्राक्षको व्यापार गर्दै आएका छन्। विश्वकर्माले १३ वर्ष भारत बसेर नेपाल फर्किएपछि रुद्राक्षको माला बनाएर व्यापार गर्न सुरु गरेको बताए । विदेशमा दुःख गर्नुभन्दा यही रुद्राक्षको माला व्यापार गर्दा मनग्य आम्दानीसँगै सहज पनि भएको उनको भनाइ छ । उनले विगत ६ वर्षदेखि पिण्डेश्वरी मन्दिरको अगाडि रुद्राक्षको व्यापार गर्दै आएका छन्। अहिले उनका लागि यो ठाउँ रुद्राक्षको व्यापार गर्ने थलो नै बनेको छ । रुद्राक्ष धनकुटालगायत पहाडी भेगहरुबाट खरिद गरेर ल्याई माला, झोलार ढाकीलगायत सामग्री बनाएर बिक्री गर्दै आएको विश्वकर्माले बताए । रुद्राक्षको व्यापारबाट मासिक ३० देखि ४० हजारसम्म आम्दानी हुँदै आएको उनले जानकारी दिए । आफूले रद्राक्षबाट बनाएका सामान धरानमा मात्र नभई झापा, काठमाडौँ, काँकडभिट्टा र विशेष गरी विदेशी पर्यटक झोला धेरै मन पराएर लैजाने गरेको विश्वकर्माले बताए। माग अनुसार नै कतिपय सामान बनाउने गरेको उनको भनाइ छ । ‘रुद्राक्ष विशेषगरी हरियो केशरलामा–लामा हाँगाहरुमा सेता फूल हुने स्याउले एक सुरिलो ठूलो जातका रुखमा ओखर जस्तै फल्ने गर्छ । यो विशेषगरी २७ मुखीसम्म हुन्छ भन्ने छ तर खोजअनुसार संसारभरि अहिले ३८ मुखीसम्म रुद्राक्ष पाइएको सुनेको छु’, विश्वकर्माले भने, ‘सामान्यत एकदेखि १४ मुखीसम्म मात्र सर्वसुलभ उपलब्ध हुन्छ । एकमुखी र नौ मुखीदेखि १४ मुखीसम्मको रुद्राक्ष निकै दुर्लभ मानिन्छ ।’ धार्मिकरूपमा महादेवको प्रिय वस्तुका रूपमा वनस्पति रुद्राक्षको महिमा रहँदै आएको छ । रुद्राक्षलाई पहाडी भेगका गाउँघरमा ९दाना० भनेर चिनिन्छ ।
कसरी बनाउन सकिन्छ जिम्मेवार पर्यापर्यटन ?
काठमाडौं । नेपालको पर्यटन क्षेत्र तुलनात्मक र प्रतिस्पर्धात्मक लाभका दृष्टिले आर्थिक विकासको प्रमुख आधार हो । नेपालका पर्यटकीय क्षेत्रमध्ये अधिकांश पर्यटकको रोजाइमा पर्नुको मुख्य कारण पर्यापर्यटन नै हो । यहाँ आउने विदेशी पर्यटकमध्ये ६० प्रतिशतले संरक्षित क्षेत्रको भ्रमण गर्ने गरेका छन् ।नेपालको पर्यटन नीतिले पर्यावरणीय, पर्वतारोहण, पदयात्रा, जलयात्रा, व्यावसायिक, साहसिक, सांस्कृतिक, धार्मिक, खेलकुद, क्यासिनो, चलचित्र, शैक्षिक, स्वास्थ्य, कृषिलगायत विविध पर्यटन क्षेत्र निर्धारण गरेको छ ।नेपालमा संरक्षित क्षेत्रहरू आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रमुख गन्तव्य स्थानका रूपमा रहेका छन् । अधिकांश पर्यटकको रोजाइमा पर्ने पर्यापर्यटन संरक्षण र व्यवस्थापनका दृष्टिले संवेदनशील छन् । यसको दिगो व्यवस्थापनका लागि सम्बद्ध पक्ष सबैले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नु आवश्यक छ । राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागका उपमहानिर्देशक एवं प्रवक्ता वेदकुमार ढकालले वातावरणीय र स्थानीय सामाजिक जीवनसँग रमाउने पर्यटकले पर्यापर्यटकीय क्षेत्रको भ्रमण गर्ने गरेको बताए । उनका अनुसार हाल भइरहेको वातावरण तथा समाजिक अवस्थामा पनि केही नबिगारी त्यसैमा रमाउने गरी पर्यापर्यटनको परिकल्पना गरिएको हो । यसमा घरबास ‘होमस्टे’ र साना लजलाई पनि लिन सकिन्छ ।‘पर्यापर्यटनलाई दिगो बनाउन सबैको जिम्मेवारी उत्तिकै महत्वपूर्ण हुन्छ । आवश्यक पर्ने ट्रेकिङ रुटलगायत न्यूनतम् सुविधा तथा पूर्वाधार सरकारले बनाई दिनुपर्छ, पर्यापर्यटनमा स्थानीय संस्कृति, जैविक विविधता, वन्यजन्तु, भौगोलिक बनावट, साहसिक यात्राका विषय जोड्नुपर्छ,’ प्रवक्ता ढकालले भने, ‘सम्बद्ध व्यावसायीले उचित सत्कार, व्यवहार तथा नियमकानुन र आचारसंहिताको पालना गर्नुपर्छ, पर्यटकले पनि आफूसँगको फोहर जथाभावी फाल्ने, जाँ पायो त्यहीँ गाडी रोक्ने, झर्ने गर्नुहुँदैन, तोकेकोभन्दा छुट्टै बाटो हिँड्नु हुँदैन ।’ पर्यापर्यटनलाई दिगो संरक्षण गर्न गुणस्तरीय पर्यटनलाई जोड दिनुपर्ने आचारसंहिता बनाएर लागु गर्नुपर्ने प्रवक्ता ढकालको भनाइ छ । पर्यटनलाई मुलुकको आर्थिक आधारका रूपमा ग्रामीण तहसम्म विकास र विस्तार गरी यसको प्रतिफल जनजीवनको तल्लो तहसम्म पुर्याउन पर्यटन क्षेत्रको विविधीकरण, विस्तार र प्रवर्द्धन गरिनु आवश्यक रहेको उनले बताए । नेपाल पर्यटन बोर्डका निर्देशक एवं प्रवक्ता मणि लामिछानेका अनुसार सन् २०२३ मा नेपालमा विभिन्न देशबाट कुल १० लाख १४ हजार आठ सय ८२ पर्यटक आएका थिए । त्यसमध्ये सबैभन्दा धेरै क्रमशः भारत, संयुक्त राज्य अमेरिका, चीन, संयुक्त अधिराज्य र अष्ट्रेलियाबाट आएका हुन् । विदेशी पर्यटकमध्ये ३ लाख ८ सय ७५ जनाले निकुञ्ज तथा संरक्षित क्षेत्रको भ्रमण गरेका उनले जानकारी दिए । त्यसबाहेक १ लाख १८ हजार ५ सय ३१ जनाले पशुपतिनाथको दर्शन गरेका थिए भने ८५ हजार दुई सय ३२ जनाले लुम्बिनीको भ्रमण गरेका बोर्डका निर्देशक लामिछानेले बताए । तीन हजार ९४ ले मनास्लु, एक हजार एक सय ९८ ले मुस्ताङ, एक सय ७८ ले हुम्ला, तीन सय ६५ ले तल्लो डोल्पा, चार सय पाँचले कञ्चनजङ्घा र एक सय ४५ जनाले माथिल्लो डोल्पाको पैदल यात्रा गरेका उनले जानकारी दिए । त्यसबाट सरकारलाई ५४ करोड ८२ लाख अमेरिकी डलर राजस्व आम्दानी भएको पर्यटन बोर्डले जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा संरक्षित क्षेत्रमा भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या नौ लाख ३२ हजार पाँच सय ३२ रहेको थियो । त्यसमध्ये विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जमा मात्र दुई लाख ९२ हजार तीन सय ९२ पर्यटकले भ्रमण गरेका थिए । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख डिलबहादुर पुर्जा पुनले जिम्मेवार र दिगो पर्यापर्यटनका लागि स्थानीय र सम्बन्धित व्यवसायी पनि उत्तिकै उत्तरदायी हुनुपर्ने बताए । पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, आर्थिक क्रियाकलाप अभिवृद्धि र समग्र आर्थिक विकासमा टेवा पुर्याउँदै आएको उनको भनाइ छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि, पर्यटकको नेपाल बसाइ लम्ब्याउने, प्रतिपर्यटक प्रतिदिनको खर्चमा बढोत्तरी गर्ने तथा आन्तरिक पर्यटनको विकास गर्ने उद्देश्यका साथ काम गरिहेको जनाएको छ । मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी रामकृष्ण श्रेष्ठले भने, ‘मन्त्रालयको क्षेत्राधिकारमा रहेको जिम्मेवारी कुशलतापूर्वक एवं उत्तरदायी ढंगले सम्पादन हुँदै आएका छन् । पर्यटन नीतिले नै वातावरणमैत्री पर्यटन व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई प्रोत्साहितरपुरस्कृत गर्ने उल्लेख गरेको छ ।’ विद्यमान जैविक विविधता एवं वन्यजन्तु अवलोकनलाई पर्यटकीय उपजका रूपमा विकास, विस्तार र प्रवर्द्धन गरिने, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तुतर्फ आकर्षित उच्च आय वर्गका पर्यटकलाई ग्रामीण पर्यटनतर्फ आकर्षित गरिने उपायको अवलम्बन गरिने सरकारको नीति छ । पदयात्रा मार्ग, आधार शिविर तथा हिमाललाई सफा र प्रदूषणमुक्त बनाउन सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबाट भएका प्रयासलाई प्रभावकारी र नियमित बनाइने नीतिगत व्यवस्था रहेको मन्त्रालयका सूचना अधिकारी श्रेष्ठले उल्लेख गरे । चितवनको सौराहास्थित रोयल लक्जरी रिसोर्टका प्रबन्ध निर्देशक राजकुमार अधिकारीले काम गर्ने अवसर खोजिरहेका व्यवसायीलाई सरकारी तहबाट वातावरण बनाइदिनुपर्ने बताए । ‘सरकारले नयाँ नयाँ गन्तव्य पहिचान गरी आवश्यक पूर्वाधार निर्माण गरिदिनुपर्ने, बिजुली, खानेपानी, सुरक्षा तथा कानुनी जस्ता अतिआवश्यक व्यवस्था गरिदिनुपर्छ । अनि सरकारले नियमन गर्ने हो, हामीजस्ता निजी क्षेत्रले लगानी गर्नुपर्छ,’ उनले भने । पर्यटनसँग सम्बन्धित सरोकारवाला तीनै तहका सरकार, व्यवसायी, स्थानीय जनता र पर्यटक सबै यसमा जिम्मेवार हुनु पनि त्यतिकै आवश्यक रहेको प्रबन्ध निर्देशक अधिकारीको भनाइ छ । पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनलाई व्यवस्थित ढंगले अगाडि बढाउन तथा दिगो बनाउन पनि जिम्मेवारी निर्वाह आवश्यक छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का महासचिव विनोद सापकोटाले पर्यापर्यटनलाई थप दिगो र जिम्मेवार बनाउन दीर्घकालीन योजनाका साथ यस बारेमा तथ्यांक र सूचनाका लागि सहज र प्रभावकारी संयत्र बनाउनुपर्नेमा जोड दिए । ‘स्थानीय पैदल यात्राका रुट मासिने क्रमलाई रोक्नुपर्छ, पर्यटन सन्तुष्ट हुने गरी आवश्यक तयारी गरेर नयाँ नयाँ गन्तव्य पहिचान गरी सार्वजनिक गर्नुपर्छ,’ उनले भने, ‘व्यवसायीका तर्फबाट नयाँ गन्तव्यमा लगानी तथा प्रचार गर्न काम गर्नुपर्छ । साथै स्थानीय जनताको अपनत्व हुने गरी सरकारले नयाँ गन्तव्य निर्धारण गर्नुपर्छ ।’ ट्रेकिङ रुटमा सडक पुग्दा र अगाडिको अवस्थाका बारेमा अध्ययन गर्नुपर्ने साथै वातावरणमैत्री सवारी साधन, चुलोलगायत सामग्री प्रयोगमा बढाउनुपर्ने महासचिव सापकोटाको सुझाव छ । रासस
सर्लाहीमा पूर्व-पश्चिम रेलमार्ग निर्माण ९० प्रतिशत सकियो
सर्लाही । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेल मार्ग निर्माणको काम सर्लाहीमा मात्र ९० प्रतिशत सकिएको छ । पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत सर्लाही खण्डमा ९० प्रतिशत काम सकिएको आयोजनाको लालबन्दी कार्यालयका सूचना अधिकारी इन्जिनियर भुवनेश्वर यादवले जानकारी दिए । यस खण्डअन्तर्गत पूर्वमा बाँके खोलादेखि पश्चिम बागमती नदीसम्म ३० किलोमिटर ट्र्याक निर्माणको काम भइरहेको हो । परियोजनाको जारी पहिलो चरणको कामअन्तर्गत रेल मार्गको ट्र्याकमा बेस हाल्नेसम्मको काम सम्पन्न हुने इन्जिनियर यादवले बताए । चालु आर्थिक वर्षको अन्तिमसम्ममा ठेक्का अवधिसमेत सकिने भएकाले ठेकेदार कम्पनीले कामको रफ्तार बढाएको उनको भनाइ छ । यस खण्डको केही स्थानमा भने ट्र्याक निर्माणको कामसमेत बाँकी रहेको छ । सागरनाथ वन परियोजना र मूर्तिया वन कार्यालयले रूख कटान नगर्दा काम रोकिएको छ । हरिवन नगरपालिका–५ घुर्कौली क्षेत्रका केही किसानले अझै मुआब्जा लिन नमानेका कारण काम अगाडि बढ्न सकेको छैन । किसानले जग्गाको मूल्याङ्कन बढाउन माग गर्दै काम गर्न अवरोध गरिरहँदा त्यस क्षेत्रमा कामको प्रगति शून्य छ । वन कार्यालयले समेत भर्खरै रूख कटानको ठेक्का लगाएको रेल्वे आयोजना कार्यालय लालबन्दीले जनाएको हो । ढिलो गरी रूख कटानको तयारी भएकाले समयमै काम सम्पन्न हुनेमा अझै शङ्का रहेको परियोजनाका सूचना अधिकारी यादवले बताए । आयोजना ठेक्का लागेको छ वर्षमा मात्र ९० प्रतिशत हाराहारीमा काम सकिएको हो । यस योजनाको आर्थिक वर्ष २०७४/७५ मा ठेक्का लागेको थियो । लगत्तै ठेकेदार कम्पनीले निर्माण आरम्भ गरेको थियो । पछिल्लो समय बजेट अभावले समेत कामको गति सुस्त बनेको उनको भनाइ छ । ठेकेदार कम्पनीले काम सम्पन्न गरिसक्दासमेत भुक्तानी पाउन बाँकी रहेको आयोजना कार्यालय लालबन्दीले जनाएको छ ।
२२ महिनामा पनि बनेन दुई किलोमिटर सडक
गण्डकी । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको दुवैतिर चार लेनको चिल्लो सडक छ । बीचको करिब दुई हजार दुई सय मिटर सडक भने अहिले पनि कच्ची छ । निर्माण कम्पनीको ढिलासुस्तीले सडक विस्तार र स्तरोन्नतिले गति लिन नसकेको पर्वतस्थित लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । कार्यालय प्रमुख कल्पना अधिकारीका अनुसार दुई वर्षमा सक्ने गरी विसं २०७९ साउनमा काठमाडौँको मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिले सडक निर्माणको जिम्मा लिएको थियो । समयमा काम पूरा हुन नसक्ने देखिएपछि ठेक्का म्याद आउँदो चैतसम्म थप भएको उनले जानकारी दिइन् । विद्युतका खम्बा, खानेपानी व्यवस्थापन, भुक्तानी समस्या जस्ता कारणले पनि सडक निर्माणमा ढिलाइ भएको कार्यालय प्रमुख अधिकारीले बताइन् । ‘ठेक्का तोड्ने तयारीमा थियौं, पछि निर्माण कम्पनीबाट कामलाई तीव्रता दिने प्रतिबद्धता आएपछि म्याद थपिएको हो’, उनले भनिन्, ‘समयमा भुक्तानी दिन नसक्नेजस्ता कमजोरी आयोजना व्यवस्थापनबाट पनि भए, त्यसले पनि काम केही प्रभावित भयो ।’ आयोजना कार्यालयले समयमा काम सक्न निर्माण कम्पनीलाई पटकपटक ताकेता गर्दै आएको थियो । सुरुको ठेक्का अवधि सकिन लाग्दा पनि कामको प्रगति न्यून रहेको प्रमुख अधिकारीले बताइन् । पोखरा महानगरपालिका–१ का अध्यक्ष सहारा प्रधानले प्रदेश राजधानी जोड्ने मुख्य सडक दुई वर्षदेखि नाजुक अवस्थामा रहेको बताए । ‘हामीले पटकपटक दबाबमूलक कार्यक्रम पनि गर्यौं तर निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै काममा ढिलासुस्ती गरिरहेको छ’, उनले भने, ‘पोखरा प्रवेश गर्ने मुख्य सडक मार्गको अवस्था साह्रै दयनीय छ, स्थानीय पनि धूलो र हिलोले हैरान छन् ।’ केही दिनअघि निर्माणका विषयमा प्रमुख जिल्ला अधिकारीसहित, स्थानीय जनप्रतिनिधि, आयोजनाका प्रतिनिधिलगायतको छलफलमा निर्माण कम्पनीका प्रतिनिधिले कामलाई गति दिने प्रतिबद्धता जनाएको वडाध्यक्ष प्रधानले बताए । ‘मौसमको प्रतिकूलता, भुक्तानी नपाएको जस्ता समस्या देखाएर निर्माण कम्पनीले काममा ढिलासुस्ती गरिरहेको छ’, उनले भने, ‘अहिले पनि भने जसरी काम भएको छैन ।’ पोखरा–बागलुङ चल्ने जिपका चालक लक्ष्मण क्षेत्रीले समयमा सडक नबन्दा यात्रामा सास्ती खेप्नुपरेको सुनाए । ‘एकातिर गाडीलाई मार अर्कातिर यात्रुलाई सकस’, उनले भने, ‘दुवैतर्फ चार लेन कालोपत्र सडक छ, बीचको बाटो किन बनेन अचम्म छ ।’ ग्राभेल हालेर खाल्डाखुल्डी पुर्ने र पानी तर्काउनेसम्मको काम पनि नभएकामा उनले दुःखेसो पोखे । सोही सडकका कारण पोखरासम्मको यात्रा झन्झटिलो र लामो बनेको यात्रुको गुनासो छ । पोखराको जिरो किमीदेखि हरिचोक र याम्दीदेखि फेदीसम्मको सडक दुई वर्षअघि नै कालोपत्र गरिएको थियो । प्रदेश राजधानी पोखरा जोड्ने मुख्य सडकको दूरवस्थाप्रति जनगुनासो पनि बढ्दै गएको छ । पश्चिमतर्फ पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुम पूर्वलगायत जिल्लाबाट लोकमार्ग हुँदै दैनिक सयौँ गाडी पोखरा आउजाउ गर्छन् । सडक जीर्ण र अस्तव्यस्त हुँदा सवारी जामको समस्या छ । दुर्घटनाको पनि जोखिम बढेको छ ।
विकासमा राजनीति नगरौं : उपप्रधानमन्त्री महासेठ
काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकासको मामिलामा राजनीति गर्न नहुने बताएका छन् । शनिबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीति ५ वर्षमा ६ महिना जति गरे पुग्ने भन्दै अरु बेलामा विकास निर्माणमा लाग्नुपर्ने बताएका हुन् । उनले संघ, प्रदेश र स्थानीय तहको निर्वाचनताका राजनीति गरेर अन्य सबै समयमा देश विकासमा लाग्न सबै राजनीतिक दल र नेताहरूलाई आग्रह गरे । उनले दलका नेताहरूले राजनीतिक कुरा र पार्टीका कुरा मात्रै गर्ने नभई दलको स्वार्थभन्दा माथि उठेर सोच्न आवश्यक रहेको बताए । उनले दलभन्दा माथि उठेर नसोचेसम्म देश अघि बढाउन नसकिने जिकिर गरे । वर्तमान सरकारले भौतिक प्रगतिको रूपमा राम्रो उपलब्धि पाउने उनको दाबी छ । उपप्रधानमन्त्री महासेठले देश विकासका लागि सबैको भूमिका महत्वपूर्ण हुने बताउँदै नेपालमा विगतको भन्दा वर्तमानमा धेरै प्रगति भएको दाबी गरे ।