विकासन्युज

नबिल बैंकका सीईओ ढुङ्गानाको कार्यकाल दुई वर्ष थप, तीन दशकदेखि निरन्तर बैंकिङमा

काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाको कार्यकाल २ वर्ष थपिएको छ । जेठ २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले ढुंगानालाई असार १७ गतेदेखि लागू हुनेगरी अगामी दुई वर्षका लागि कार्यकाल थपेको हो । नबिल बैंकका सीईओका रुपमा उनको पहिलो कार्यकाल असारसम्म थियो । तर, बैंकले उनको पफर्मेन्सप्रति सकारात्मक हुँदै थप दुई वर्षका लागि कार्यकाल थप गरिएको हो । नबिल बैंकले तत्कालीन नेपाल बंगलादेश बैंकलाई गाभिएपछि ढुङ्गानालाई सीईओमा नियुक्त गरेको थियो । नबिलमा एनबी बैंकलाई गाभ्नका लागि ढुङ्गानाले महत्वपूर्ण भूमिका खेलेका थिए । अब ढुङ्गानाले थप दुई वर्ष नबिल बैंकमा काम गर्नेछन् । तेह्रथुममा जन्मिएका ढुङ्गाना चार्टर्ड एकाउन्टेन्ट (सीए) हुन् । चार्टर्ड एकाउन्टेन्टको पढाई पुरा गरेसँगै २०५२ सालमा तत्कालीन बैंक अफ काठमाण्डूबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका उनी तीन दशकदेखि बैंकिङ क्षेत्रमै छन् । उनीसँग नेपाल राष्ट्र बैंकमा पनि १० वर्ष काम गरेको अनुभव छ । सन् २०१८ देखि २०२० सम्म सीईओ ढुङ्गाना वाणिज्य बैंकहरूको छाता संस्था नेपाल बैंकर्स संघको अध्यक्ष समेत बनेका थिए । नेपाल राष्ट्र बैंक लगायत विभिन्न वाणिज्य बैंकको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २७ वर्ष भन्दा बढी बैंकिङ्ग क्षेत्रको अनुभव बटुलीसकेका ढुङ्गानालाई कुशल नेतृत्व र कार्यशैलीकै कारण सञ्चालक समितिले थप दुई वर्षका लागि पुनःबहाली गरेको बैंकले जनाएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय अर्थतन्त्र तथा बैंकिङ क्षेत्रको विज्ञता तथा अनुभव समेत हासिल गरेका ढुङ्गाना देशको अर्थतन्त्रको आवश्यकता बमोजिम विषम परिस्थितिमा समेत कुशल नेतृत्वको क्षमता राख्ने प्रमुख कार्यकारी अधिकृतको रूपमा परिचित छन् । पेशाले चार्टड एकाउन्टेन्ट रहेका ढुङ्गानाको पूर्वाधार विकास तथा निर्माण परियोजना सम्बन्धी बैंकिङ लगानीको क्षेत्रमा विशेष दख्खल रहेको मानिन्छ । नबिल बैंकमा प्रमुख कार्यकारी अधिकृतको पद सम्हाल्नु पूर्व नेपाल बङ्गलादेश बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेको अनुभव ढुङ्गानासँग रहेको छ । नेपाल बङ्गलादेश बैंक लिमिटेड नबिल बैंक लिमिटेडमा गाभिए पश्चात् ढुङ्गानाको सबल नेतृत्व र पहलमा सम्पन्न भएको दुबै बैंकको व्यवसाय तथा कर्मचारी समायोजन र व्यवस्थापन बैंकिङ क्षेत्रमै उदाहरणीय रहेको छ । यसबाहेक ढुङ्गानासँग नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा रही कार्य गरेको लामो अनुभव समेत रहेको छ । नबिल बैंकको शाख र विश्वसनीयतालाई थप उचाइमा पुर्याउने सन्दर्भमा ढुङ्गानाको पछिल्लो कार्यकाललाई उपलब्धिमूलक मानिएको छ । भारतबाट चार्टर्ड एकाउन्टेन्सी र अस्ट्रेलियाबाट सर्टिफाइड पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका ढुङ्गानालाई नेपालको बैंकिङ क्षेत्रमा पुर्याएको उत्कृष्ट योगदानका लागि सन् २०२२ मा राष्ट्रपतिबाट प्रबल जनसेवा श्री पदकद्वारा विभुषित गरिएको थियो । साथै ढुङ्गाना सन् २०१३ मा नेपाल व्यवस्थापन संघद्वारा म्यानेजर टु वाच अवार्ड र सन् २०१५ मा म्यानेजर अफ द इयर अवार्ड विधामा पुरस्कृत व्यक्तित्व हुन् । प्रमुख कार्यकारी अधिकृत ढुङ्गानासँग सन् २०१८ मा नेपालका वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स संघको अध्यक्षका रूपमा नेपालको बैंकिङ क्षेत्रको नेतृत्व गरेको अनुभव समेत रहेको छ । नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्त ढुङ्गानाको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा नबिल बैंक लिमिटेडले विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा गरिएको छ ।

संसद अवरोध खुलाउन सभामुखको प्रमुख सचेतकहरूसँग छलफल, बैठक बस्न ढिलाई

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा केही पछि बस्ने भएको छ । सभामुख देवराज घिमिरले सदन सञ्चालनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग टेलिफोनवार्तापछि बैठक निर्धारित समयभन्दा केही पछि सञ्चालन हुने भएको हो । प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले बैठक निर्धारित समयभन्दा पछि सार्न आग्रह गरेका सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए । यसअघि प्रतिनिधिसभाका बैठक ११ बजे बोलाइएको थियो । कांग्रेसले सहकारीको रकम अपचलनका सन्दर्भमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै संसद् बैठक अवरोध गर्दै आएको छ । प्रधानमन्त्री दाहालले आजको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्ने वातावरण निर्माण गरिरहेको जानकारी दिएका छन् । बैठकको गतिरोध अन्त्य गर्न सभामुख घिमिरेले संघीय संसद भवन नयाँ बानेश्वरमा कानुन, न्याया तथा संसदीय मामिला मन्त्रीसहित प्रमुख दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन् । छलफलमा कानुनमन्त्री पदम गिरी, उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेस सचेतक सुशीला थिङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख सचेतक महेश बर्तौला, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रमुख सचेतक सन्तोष परियार र राप्रपा सचेतक बिनाकुमारी लामा सहभागी थिए ।

कस्तो छ बेचिएको भनिएको गिरीबन्धु टि-स्टेटको जग्गाको अवस्था ? (फोटो फिचर)

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसले कमिसन खाएर गिरीबन्धु टि-स्टेटको ७० विघा जग्गा बेचेको आरोप लगाएपछि नेपालको राजनीतिको मोड फेरिने संकेत देखिएको छ । टि-स्टेटको बेचिएको भनिएको जग्गा अहिले झापाको बिर्तामोड नगरपालिका ५ र अर्जुनधारा ११ मा पर्दछ । ठूलो भागमा अहिले पनि चियाको बुटा र जंगल नै छ । अहिले कस्तो अवस्थामा छ ? बेचिएको भनिएको जग्गामा अहिले ठूलो मानवीय बसोवास भएको बस्ति, बसपार्क, ठूल्ठूला होटल तथा विभिन्न संस्थाका कार्यालय छन् । ११५३ वटा कित्तामा विभाजन भएको जमिनमा अहिले करिव ४ सय घर परिवार बसोवास गरिरहेका छन् । बिर्तामोड ५ र अर्जुनधारा ११ स्थित ५१ विघा जग्गामध्ये ३८ विघा जग्गा प्लटिङ गरिएको थियो भने बाँकी खाली नै रहेको छ । प्लटिङमा आवासीय घरसँगै टेकबहादुर गिरी बसपार्क, पाथीभरा इन्जिनियरिङ कलेज, कान्तिपुर ड्राइभिङ सेन्टरजस्ता व्यावसायिक संस्था सञ्चालनमा छन् । त्यही जग्गामा दुई दर्जनभन्दा बढी होटल खुलेका छन् । झापाको गिरीबन्धु टि-स्टेटको नाममा रही चिया उत्पादनका लागि उपयोग नभएको जग्गा सरकारीकरण गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि सोही जग्गामा बसोवास गर्नेहरूमा अन्योल छाएको छ । यता गिरीबन्धु टि-स्टेटको जग्गाको विषयमा सत्ता साझेदार प्रमुख दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सदन र सडकमा आमने सामने हुने निश्चित छ । वास्तविकता के हो ? बिस्तारै खुल्दै जाला । अबको केही दिन सहकारीको विषयसँगै गिरीबन्धु टि-स्टेटको जग्गाको विषयले नेपालको राजनीति तात्ने निश्चित छ ।    

एमबीबीएस छात्रवृत्तिमा अन्तर्राष्ट्रिय चलखेल, पास भएकालाई हटाएर अर्कै विद्यार्थीको नाम छनोट

काठमाडौं । अछाम मंगलसेनका प्रकाश कठायतको दैनिकी आजभोलि मन्त्रालय धाउँदै र मन्त्रीलाई भेट्दै बितिरहेको छ । छात्रवृत्ति कोटामा एमबीबीएस पढ्न बंगलादेश जाने तयारीमा गरिरहेका उनको नाममा बंगलादेशले फरक व्यक्तिको नाम पठाएपछि उनी न्यायका लागि मन्त्रालय र मन्त्रीकहाँ धाइरहेका छन् । ‘१३ दिन भयो राम्रोसँग खाना पनि खाएको छैन,’ प्रकाशले विकासन्युजसँग गुनासो गर्दै भने, ‘नेपाल सरकारले छात्रवृत्तिका लागि लिएको परीक्षा पास गरेर नामसमेत छनोट भयो । तर, अन्तिमममा अर्कैको नाम आयो, यस्तो कसरी भयो, थाहै भएन ।’ गत कार्तिक १८ गते सरकारले बंगलादेश पढ्न पठाउने विद्यार्थीको परीक्षा लिएको लिएको थियो । त्यसमा प्रकाशले पनि परीक्षा दिए । उनी पास भएर छनोट समेत भए । तर, अन्तिममा नाम अर्कैको आयो । एमबीबीएसतर्फ १९ र बीडीएसतर्फ तीन जनाको लागि लिइएको परिक्षमा उनको पनि नाम निस्किएको थियो । छात्रवृत्तिमा नाम निस्किएपछि प्रकाशले बंगलादेश पढ्न जाने तयारी थाले । अछाम गएर परिवारसँग भेटघाट गरे । तर, गत वैशाख १८ गते बंगलादेशले पठाएको विद्यार्थीको सूचीमा प्रकाशको नाम भेटिएन । आफ्नो नाम नभेटिएपछि उनी छनोट भएको नाम कसरी कहाँबाट हट्यो र आफ्नो सट्टा अर्कैको नाम कसरी पर्यो भनेर जवाफ खोजिरहेका छन् । ‘कसरी यस्तो भयो भन्ने कुरा अचम्म लागेको छ,’ प्रकाश भन्छन्, ‘सबै तयारी गरिसकेको थिएँ, घरपरिवार र आफन्तलाई पढ्न जाँदैछु भनेर आएँ, उनले प्रश्न गर्दै भने, ‘अब म न्याय खोज्न कहाँ जानु ?’ प्रकाशले नेपालमै चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा बिडीएसतर्फ छात्रवृत्ति पाएका थिए । तर, एमबीबीएसतर्फ बंगलादेशमै पढ्न छात्रवृत्ति पाउँदा उनले यहाँ पाएको छात्रवृत्ति छोडे । अहिले नाममा चलखेल हुँदा उनी न यता न उताको भएका छन् । प्रकाशजस्तै एमबीबीएसमा नाम निस्केका १९ मध्ये ९ र बीडीएसमा ३ जनामध्ये एक जनाको नाममा चलखेल भएको उनीहरूको आरोप छ । चिकित्सा शिक्षा आयेगले बंगलादेशमा छात्रवृत्तिमा मेडिकल शिक्षा पढ्न जाने २२ जनाको नाम छनोट गरेर शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत् नेपालस्थित बंगलादेशको राजदूतावासमा पठाएको थियो । आयोगले पठाएको सूचीभन्दा बंगलादेशले फरक नामावली पठाएपछि छनोट भएका १० जनाको नाम हटेर उनीहरूको सट्टा नयाँ नाम आएपछि अहिले यो विषय सबैले चासोका साथ हेरेका छन् । बंगालदेशको सरकारले प्रत्येक वर्ष नेपाललाई चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस र बीडीएसतर्फ छात्रवृत्ति दिने गरेको छ । दुई देशको सम्झौताअनुसार सन् २०२३/०२४ का लागि एमबीबीएसतर्फ १९ र एमडीएसतर्फ २३ गरी जम्मा २२ सिटका लागि कुटनीतिक नाोटमार्फत नेपालमा रहेको बंगलादेशको दूतावासमार्फत परराष्ट्र मन्त्रालयलाई पठाएको थियो । परराष्ट्रले शिक्षा मन्त्रालय र शिक्षा मन्त्रालयले चिकित्सा शिक्षा आयोगलाई नोट पठाउँदा यसै वर्ष परीक्षा भयो । बंगलादेशको नोटको आधारमा चिकित्सा शिक्षा आयोगले सूचना निकाल्यो । उसले आवश्यक मापदण्ड तोकेर परीक्षा लियो । आयोगले समयमै परीक्षाको नतिजा पनि सार्वजनिक गर्यो । सार्वजनिक गरेको नतिजा शिक्षा मन्त्रालयमा पठायो । शिक्षा मन्त्रालयले फेरि परराष्ट्र मन्त्रालयमा पठायो । परराष्ट्रले नेपालमा रहेको दूतावासमार्फत बंगलादेशको डिरेक्टर जनरल मेडिकल एजुकेशन (डीजीएमई) लाई पठायो । बंगलादेशको चिकित्सा शिक्षा महानिर्देशनालयले वैशाखको १८ गते निकालेको सूचीमा नेपाल सरकारले सबै प्रक्रिया पूरा गरेर पठाएको विद्यार्थीको ९ जना एमबीबीएस र एकजना बीडीएसको नाम काटेर नयाँ विद्यार्थीको नाम पठाएको देखिन्छ । आफ्नो नाम काटेर अरुको नाम आएपछि नेपाली विद्यार्थी अहिले यो कसरी भयो भन्ने विषयमा खोजी गर्दै न्याय मागिरहेका छन् । १० जनामध्ये दुई जना नेपालमा भर्ना भइसकेको र बाँकी ८ जना अहिले मन्त्रालय धाइरहेका छन् । यी हुन् सुरुमा छनोटमा भएका विद्यार्थी एमबीबीएस तर्फ १. राहुल शाह २. देबशिखर रौनीयार ३. पारस कठायत ४. आशिर्वाद झा ५. अनु कुमारी शाह ६. अमृता कुमारी ७. ललनकुमार दास ८. पुनम चुनारा ९. समिक्षा बोहरा १०. बीडीएस तर्फ ११. अस्वीन पुरानो हटाएर नयाँ थपिएका विद्यार्थी १. गौरव झा २. नेहा अन्सारी ३. आदित्या महतो ४. आशिस अधिकारी ५. आशिस कुमार साह ६. आदर्शकुमार यादव ७. अहसान जमाल ८. अभिशेक शाह ९. एमडी मासोम अन्सारी आश्चर्यमा आयोग र मन्त्रालय विद्यार्थीको नाममा कसरी चलखेल भयो भन्ने विषयमा अहिले शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग र परराष्ट्र मन्त्रालय नै अचम्ममा परेका छन् । चिकित्सा शिक्षा आयोगका अध्यक्ष प्रा.डा अञ्जलीकुमार झाले आयोगले एकिकृत प्रवेश परीक्षा मार्फत् छनोट भएका विद्यार्थीको नामावली शिक्षा मन्त्रालयमा पठाएको र त्यसपछि के भयो भन्नेबारे जानकारी नभएको बताए । ‘हामीले परीक्षा लिएर २२ जना विद्यार्थीको नाम पठाएका हौं, त्यो मध्ये केही विद्यार्थीको कन्फ्रमेशन आयो र केही विद्यार्थी त्यो लिस्टमा नपरेको सूचना आयो, यो विषयमा हामीलाई पनि अचम्म लागेको छ,’ उनले भने । झाले चिकित्सा शिक्षा आयोग, शिक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट पठाइएको सूचीमा एकनास देखिन्छ । सबैको नाम ठिकै छ । तर, बंगलादेशबाट आउने सूचीमा कहाँबाट हामीले छनोट नगरेका विद्यार्थीको नाम आयो भन्ने विषयमा सोधपुछको काम भइरहेको बताए । उनी कुनै न कुनै पहँचको आधारमै यस्तो भएको हुन सक्ने बताउँछन् । शिक्षा मन्त्रालयले पनि यो विषयमा अहिले छानबिन गरिरहेको छ । शिक्षा मन्त्रालयले बंगलादेशलाई कुटनीतिक नोट पनि पठाइसकेको बताइसकेको छ । यो विषयमा शिक्षामन्त्री सुमना श्रेष्ठले नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिननोमान चौधरीसँग भेट पनि गरिसकेकी छन् । अन्तर्राष्ट्रिय चलखेलको आशंका शिक्षा मन्त्रालय, पराराष्ट्र मन्त्रालय र चिकित्सा शिक्षा आयोगले नै थाहा नभएको जानकारी दिइरहँदा यसमा अन्तर्राष्ट्रिय चलखेलको आशंका गरिएको छ । विद्यार्थीका अभिभाव सिद्धराज ढुङ्गानाले यसमा छानबिन हुनुपर्ने माग राखेका छन् । ‘छनोट भएका विद्यार्थीको नाम कसरी र कसले हटायो, यस विषयमा छानबिन हुनुपर्छ, नयाँ नाममा अटाएका विद्यार्थीको कुन नेतासँग पहुँच छ, यस विषयमा जानकारी हुनुपर्छ, यस विषयमा हामी अदालत पनि जान्छौं,’ ढुङ्गानाले भने । [pdf id=483964]

आइपीओ जारी गर्दै ठमेल प्लाजा होटल

काठमाडौं । ठमेल प्लाजा होटल एन्ड सुइटस् लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी प्रस्तावसहित जेठ १९ गते विशेष साधारण सभा बोलाएको छ । सभा कम्पनीको सभाकक्ष, ठमेल, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा आइपीओ जारी प्रस्ताव पेस हुनेछ । यस्तै हाल कायम सेयरधनीलाई हकप्रद सेयर पनि निष्कासन गर्ने सम्बन्धमा छलफल हुनेछ । कम्पनीले सभा प्रयोजनका लागि जेठ १५ गते बुक क्लोज गर्ने जनाएको छ ।

सञ्चारकर्मीलाई हुण्डाई मोटर अस्सेम्ब्ली प्लान्टमा भ्रमण, टेस्ट ड्राइभ कार्यक्रम सम्पन्न

रामग्राम । ह्युण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको मुख्य कम्पनी लक्ष्मी ग्रुपको एक सहायक कम्पनी लक्ष्मी मोटर कोर्पोरेसन (एलएमसी) ले आफ्नो उद्घाटनको दोस्रो दिन टेस्ट ड्राइभ कार्यक्रम सम्पन्न गरेको छ । गत शनिबार रामग्राम, परासीस्थित ह्युण्डाई मोटर एसेम्बली प्लान्टमा राष्ट्रिय तथा क्षेत्रीय सञ्चारकर्मीहरुलाई आमन्त्रण गरि नेपालमै निर्मित ह्युण्डाई भेन्युको एक्स्पिरिन्यस र गाडीको टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरेको हो । सो कार्यक्रममा ६५ भन्दा बढी सञ्चारकर्मीहरुले सहभागिता जनाएका थिए । उक्त कार्यक्रममा सञ्चारकर्मीहरुलाई प्लान्टको भ्रमण गराउनुका साथै प्राविधिकहरुद्वारा एसेम्बली प्रक्रिया सम्बन्धि सम्पूर्ण जानकारी गराइएको थियो जसबाट हुन्डाई मोटर सम्बन्धि थप जानकारी प्राप्त गरिएको थियो । त्यसअघि उद्घाटन समारोहको पहिलो दिन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा उद्घाटन समारोह भव्य रुपमा सम्पन्न भएको थियो । लक्ष्मी मोटर कोर्पोरेसनको उक्त पहलबाट विभिन्न ग्राहक वर्गको विविध आवश्यकता र आकांक्षाहरू पूरा गर्ने लक्ष्य राख्दै सुलभ र पहुँचयोग्य ह्युण्डाई सवारी साधनहरुको उत्पादन प्रति आफ्नो समर्पण देखाएको छ।

आजबाट काठमाडौंका यी क्षेत्रमा बिजुली नआउने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले काठमाडौं उपत्यकाभित्रका यी क्षेत्रहरूमा आजबाट विद्युत सेवा अवरुद्ध हुने जनाएको छ । प्राधिकरणको एक सूचना जारी गरेर पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजना, खटिपारी, भक्तपुरले विद्युत लाइन अवरुद्ध हुने जनाएको हो । जेठ ३, ५, ६ र ८ गते बिहान ११ बजे देखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध प्राधिकरणले बताएको छ । नेपाल विद्युत प्राधिकरण, रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य निरन्तर भएकाले सेवा अवरुद्ध सूचनामा उल्लेख छ । आज नयाँ बजार, खुसिब, सोह्र खुट्टे चोक, भ्याली कोल्ड स्टोर, पिपुल्स डेन्टल अस्पताल र जेठ ५ गते सोह्र खुट्टे चोक, भ्याली कोल्ड स्टोर, पिपुल्स डेन्टल अस्पताल टेक, पुष्पलाल पार्क, ढल्कु क्षेत्रपाटी चोक, धोबीचौर, ठहिटी, पकनाजोल, ज्याठा र कान्तिपथ क्षेत्रमा अवरुद्ध हुने छ । त्यसै गरी जेठ ६ गते काष्ठमण्डप भिमसेनस्थान १२ नं वडा कार्यालय, ह्युमत, जैसीदेवल, चिगमंगल र ८ गते भिमसेनस्थान, काष्ठमण्डप त्रिपुरेश्वर टेक, पचली भैरव मन्दिर, बम्सीघाट, सबलबहाल, त्रिपुरेश्वर, विश्व निकेतन स्कुल क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरिने जनाएको हो ।

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला १ लाख ४० हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार प्रतितोला १६ सय रुपैयाँले सुनको मूल्य वृद्धि भएको हो । नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४० सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्म्कै उच्च मुल्य हो । त्यस्तै, तेजावी सुनको मूल्य पनि बढेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य ६० रुपैयाँले बढेर तोलामा १ हजार १८ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।