मेलम्चीको पानी नआएसम्म वैकल्पिक माध्यमबाट काठमाडौंमा पानी वितरण गर्न निर्देशन
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौंबासीलाई मेलम्चीको पानी उपलब्ध नभएसम्म वैकल्पिक माध्यमबाट वितरण गर्न निर्देशन दिएका छन् । शनिबार सुन्दरी जलस्थित मेलम्ची सुरुङ आउटलेटको निरीक्षण गर्ने क्रममा उनले वर्षायाममा मेलम्चीबाट पानी ल्याउन नसकिने अवस्थामा अन्य स्रोतबाट पानी व्यवस्थापन गर्न निर्देशन दिएका हुन् । उनले काठमाडौंबासीका लागि बाह्रै महिना सफा, शुद्ध र स्वच्छ पानी उपलब्ध गराउन आग्रह गरे। उनले भने, ‘मानिसको जीवनमा सबैभन्दा महत्वपूर्ण पानी हो, काठमाडौंमा वर्षभरि सफा, शुद्ध र स्वच्छ पानी वितरण गर्न जे आवश्यक पर्छ, त्यो गर्नुस्, बजेट, आधुनिक उपकरण र जनशक्ति जे चाहिन्छ मन्त्रालयबाट म व्यवस्था गर्छु ।’ मन्त्री यादवले हाल काठमाडौंमा पानीको अभावले जनजीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै वैकल्पिक स्रोत प्रयोग गरेर पानी आपूर्ति गर्न निर्देशन दिए । बागमती नदीको पानी र भूमिगत पानीलाई प्रशोधन गरी वितरणको व्यवस्था मिलाउन उनले आग्रह गरेका छन् । मन्त्री यादवले काठमाडौंमा आधुनिक पानी प्रशोधन केन्द्रहरूको स्थापना, पुराना पाइपलाइनको मर्मत तथा पुनःनिर्माण, डिजिटल प्रणालीबाट पानी वितरणको निगरानी गर्ने योजना पनि सुनाए । ‘पानी वितरणलाई प्रभावकारी बनाउन र जनतालाई सन्तुष्ट पार्न हामीले डिजिटल प्रणालीबाट पानी वितरणको निगरानी गर्नेछौँ,’ उनले भने । मन्त्री यादवले काठमाडौंमा मात्र नभइ देशका अन्य स्थान, विशेष गरी तराई-मधेसमा देखिएको पानीको समस्याप्रति पनि चिन्ता व्यक्त गरे । मधेसमा चापाकल (ह्याण्ड पम्प) सुक्दा निम्तिएको समस्यालाई समाधान गर्न पनि काम गरिरहेको जानकारी दिँदै उनले भने, ‘कुनै जमानामा तराई–मधेस क्षेत्रमा ८० फिट खन्दा पानी आउँथ्यो, तर अहिले चार सय फिट खन्दा पनि पानी आइरहेको छैन, समस्या विकराल छ, यसलाई समाधान गर्न हामीले काम गरिरहेका छौंँ ।’ मन्त्री यादवले मेलम्ची सुरुङ आउटलेटसँगै मेलम्ची खानेपानी प्रशोधन केन्द्र, बागमतीबाट प्रशोधन केन्द्रमा आउने पानीको प्रणाली, पानी प्रशोधन ल्याब, सुपरभिजन कन्ट्रोल एन्ड डेटा एक्युजीसन सेन्टरलगायतको निरीक्षण गरेका थिए ।
प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमालेको ह्वीप
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले आज पार्टीका सबै सांसदलाई ‘एसएमएस’ पठाउँदै भोलि (साउन ६ गते) बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गरेका हुन् । ‘साउन ६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा सम्माननीय प्रधानमन्त्रीज्यूले विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुहुने भएकोले अनिवार्य उपस्थित भई विश्वासको मत माग्ने प्रस्तावको पक्षमा मतदान गर्नुहुन ह्वीप जारी गरिएको जानकारी गराउँदछु’ उनले जारी गरेको ह्वीपमा भनिएको छ । संविधानको धारा ७६ (४) बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
ढोरपाटन पुग्ने सडकको दुरावस्था, पर्यटक र स्थानीयलाई सास्ती
ढोरपाटन । यतिबेला ढोरपाटन क्षेत्र हरियाली छ । उपत्यकासहित चारै तिरका पहाड र समथर मैदानमा फुलेका रङ्गीन फूलले आगन्तुकलाई स्वागत गरिरहेका देखिन्छन् । प्रकृतिसँग रमाउन यो याममा धेरै आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन पुग्ने गर्छन् । वर्षा सुरुभएसँगै यहाँ पुग्ने अधिकांश भागमा बाढीपहिरा र स्तरोन्नतिका कारण सडक बिग्रिदा पर्यटकले सास्ती खेप्नु परेको छ । ढोरपाटनको प्रवेशद्वार बुर्तिबाङ बजारबाट उकालो लाग्नासाथ पर्यटकलाई सास्ती हुने गरेको हो । ढोरपाटन पुग्न राष्ट्रिय प्राथमिकताको योजना सालझण्डी–ढोरपाटन सडकको प्रयोग गर्नुपर्छ। यस बाहेक ढोरपाटन पुग्ने विकल्पका सडक अहिलेसम्म निर्माण भएका छैनन्। बुर्तिबाङबाट ढोरपाटन पुग्न ३२ किलोमिटर दूरी पार गर्नुपर्ने हुन्छ । सरकारले दुई वर्ष अगाडि उक्त खण्डको करिब २२ किमी सडक स्तरोन्नति गर्ने भन्दै ठेक्का लगाए पनि हालसम्म काम हुनसकेको छैन । निर्माण कम्पनीले सयममै काम नगर्दा ढोरपाटन पुग्ने पर्यटकले सास्ती खेप्नु परेको हो । नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटन सदाबहार सुन्दर देखिए पनि वर्षामा यहाँ पुग्ने कतिपय पर्यटक बीचबाटोमै अलपत्र पर्ने आवस्था भएको ढोरपाटन नगरपालिका–९ का गमबहादुर पुनले बताए । ‘यो बेला चारैतिर हरियाली हुने हुँदा धेरै पर्यटकका यहाँ पुग्न रुचाउँछन्। सडकको दुरावस्थाका कारण आगन्तुक सहज रूपमा यहाँ पुग्न सक्दैनन् । बुर्तिबाङबाट बोबाङ गाउँसम्म जसोतसो यात्रा गरे पनि त्यसभन्दामाथि यात्रा गर्न निकै कठिन छ,’ उनले भने। साँघुरो सडक खाल्डाखुल्डी र हिलाम्य हुँदा पर्यटकका सवारीसाधान ढोरपाटन पुग्नै सक्दैनन् । यस बेला अधिकांश पर्यटक मोटरसाइकल र जीपमा यात्रा गर्दछन्। कतिपय स्थानमा पहिरो जाने, स्तरोन्नति नहुँदा बिग्रिनेलगायत समस्याले कतिपय पर्यटक बीचबाटोमै अलपत्र पर्ने गरेका पुनले बताए । हिउँदको समयमा पनि यातायातका साधान सहज रुपमा सञ्चालन हुन नसक्ने भन्दै वर्खामा अझ बढी सास्ती हुने उनको भनाइ छ । ट्र्याक खुलेको लामो समय बितिसक्दा एक पटक पनि स्तरोन्नति हुन नसक्दा सबैभन्दा बढी समस्या स्थानीय र पर्यटकले भोग्नु परेको पुनले उल्लेख गरे । ‘ढोरपाटन घुम्ने भनेर टाढाटाढाबाट पर्यटक आउँछन्, बाटोको अवस्थाले कोहीको सवारीसाधन बिग्रिन्छ, अनि बीच बाटोमा गाडी बिग्रिदा धेरै पर्यटक अलपत्र पर्ने गर्छन्,’ पुनले भने, ‘सरोकार भएका निकाय तथा राज्यले ठेकदारलाई समयमा सडक मर्मत गर्न दबाब दिनुपर्ने थियो । आलु, स्याउलगायत यहाँका कृषि उत्पादन बजारसम्म पुर्याउन सहज बाटो नहुँदा ढुवानी खर्च धेरै तिर्नुपर्छ, यात्रा पनि ज्यान जोखिममा राखेर गर्छौं ।’ तराई र पहाडलाई जोड्ने गरी रुपन्देहीको सालझण्डीबाट अर्घाखाँची हुँदै बागलुङ ढोरपाटन जोड्ने उक्त खण्ड विसं २०७१ मा ट्र्याक खुलेको थियो । बडिगाडको गङ्गरेबाट ढोरपाटनसम्म ६१ किलोमिटर सडक बागलुङमा पर्दछ। सालझण्डीबाट ढोरपाटनसम्म १९७ किलोमिटर रहेको छ । बडिगाड गाउँपालिका–१० गङ्गरे, निसीखोला गाउँपालिका–७ राजकुट, वडा नं १ देवीस्थान हुँदै ढोरपाटन जोडिएको सडक स्तरोन्नतिका लागि तीन वर्ष अघि ठेक्का सम्झौता भएको थियो । सम्झौता मिति सकिँदासम्म जम्मा ३० प्रतिशत मात्रै काम भएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयका प्रमुख अञ्जु परियारले जानकारी दिइन् । आयोजना कार्यालयले बुर्तिबाबाट फल्लेघरसम्मको सडक स्तरोन्नति गर्न स्वच्छन्दरओमबुद्ध जेभीसँग ३० महिनामा सक्ने गरी २५ करोडको सम्झौता भएको थियो । सडक स्तरोन्नति समयमै सक्न निर्माण कम्पनीलाई ताकेता गर्दागर्दै म्याद सकिएको उनले बताइन् । निर्माण कम्पनीले आगामी पुस मसान्तसम्मका लागि म्याद थप गरेको भन्दै बताइन् । ‘निर्माण कम्पनीले सुरुको चरणमा तीव्र गतिमा काम गरेको थियो, पछिपछि काम गरेन, कार्यालयले नियम अनुसार पत्र लेखी ताकेता गरिरहेको छ,’ उनले भिनन्, ‘पुससम्म म्याद थप गरेको छ, सो अवधिसम्म काम नसके ठेक्का तोडिन्छ । बजेट अभावका कारण निर्माण कम्पनीले काम गरेको रु एक करोड झुक्तानी गर्न सकिरहेका छैनौँ ।’ ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख धनबहादुर कायत (कल्याण) ले सडक समयमा नबन्दा यहाँका हजारौँ नागरिक र आगन्तुकले सास्ती खेप्नु परेको बताए । निर्माण कम्पनीलाई समयमा काम सक्न पालिकाले सघाउँदा पनि काम नगरेको उनले गुनासो पोखे । सङ्घीय सरकार मतहतको आयोजना हुँदा नगरपालिकाले काम गर्न नमिल्ने भन्दै बाढीपहिरोका कारण समयसमयमा सडक बन्द हुँदा खुलाउने काम भने गर्दै आइएको कायतले जानकारी दिए । सडकका कारण ढोरपाटन आउने हजारौँ पर्यटक बुर्तिबाङबाटै फर्कने गरेका छन् ।
कांग्रेस-एमालेबीचको सहमतिबारे प्रधानमन्त्रीले संसद्बाट स्पष्ट पार्नुपर्छ : महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेसँग गरिएको सात बुँदे लिखित सहमति कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा प्रतिनिधि सभाबाट त्यस्ता संशयहरूलाई स्पष्ट पार्नुपर्ने बताए । शनिबार जय नेपाल फाउण्डेशनले गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीबीच विगतमा पनि धेरैपटक धोकाधडीको राजनीति भएकाले सरकार आलोपालोमा चलाउने लगायतका दुई पार्टीबीच भएको लिखित ७ बुँदे सहमति कार्यान्वयन हुनेमा सबै मानिसमा संशय रहेको बताए । उनले भने, ‘आजको रियालिटी के हो भने नेपाली कांग्रेस पार्टीले नेकपा एमालेसँग एउटा समझदारी गरेको छ । त्यो समझदारीको आधारमा हामी सत्तामा छौं । अब यसको पुष्टि हाम्रो एक्सनबाट हुनुपर्छ । हाम्रो कामबाट हुनुपर्छ । हामीले किन गर्यौं ? भोलि प्रधानमन्त्रीले देशको नाममा सम्बोधन गर्दै हुनुहुन्छ । त्यसकारण अहिले धेरै कुरा भन्न उपयुक्त नहोला । किनकि उहाँले नै भन्नुहोला । भोलि हाम्रो समर्थनमा बन्ने प्रधानमन्त्रीले भोलि राष्ट्रको नाममा अथवा विश्वासको मत लिँदै गर्दा खेरी, संसद्मा आफ्नो विचार राख्दै गर्दा खेरी यति वटा बुँदामा नेपाली कांग्रेस र नेकपा एमालेको बीचमा समझदारी भयो । सात बुँदाको बीचमा भनिरहेको छ । अब यो सात बुँदा के हो भन्ने बारे भोलि त्यहाँ पढेर सुनाउनुपर्छ भन्ने म ठान्दछु ।’ उनले त्यो सहमतिलाई कसरी अघि बढाउने भन्नेमा प्रधानमन्त्री ओली नै प्रमुख जिम्मेवार रहेको बताए । उनले कांग्रेसका कारण सत्ता गठबन्धनमा कुनै खटपट नआउने समेत दाबी गरे । ‘म पार्टीकै जिम्मा लिएर भन्न सक्छु कि अहिले नेकपा एमालेसँग भएको सहमतिको कार्यान्वयनमा कांग्रेसका तर्फबाट कुनै तलमाथि हुदैन ।अहिले २ वर्ष नेकपा एमालेका अध्यक्षज्युको नेतृत्वमा सरकार चलाउने भनेर जुन भनिएको छ । हाम्रो कारणले, हामीेले चकचक गरेर, हामीले लोभ गरेर, यता उता हात लम्काएर यो दुई वर्ष उहाँले सरकार चलाउने कुराको सन्दर्भमा कही पनि हाम्रो कारणले तलमाथि हुँदैन,’ उनले भने । महामन्त्री थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको अन्य दललाई सधैँभरि झुक्क्याउन सक्छु भन्ने भ्रम र चकचकको कारणले नै कांग्रेस र एमालेले मिलेर सरकार बनाउनुपर्ने अवस्था आएको दाबी गरे ।
ड्रागन फ्रुट बिक्रीबाट वार्षिक १६ लाख आम्दानी
तनहुँ । जिल्लाको व्यास नगरपालिका–५ ढोडेनीकी किसान कल्पना गौलीले (ड्रागन फ्रुट) सिउँडी फल बिक्रीबाट गत वर्ष १६ लाख रुपैयाँ आम्दानी गरेकी छन् । ९ रोपनी क्षेत्रफलमा लगाइएका दुई हजार एक सय बिरुवाबाट उनले १६ लाख रुपैयाँ आम्दानी गरेकी हुन् । ड्रागन फ्रुटका दाना पाक्न थालेपछि टिप्न र बिक्री गर्न यो समयमा भ्याइनभ्याइ हुने गरेको किसान गौलीले बताइन् । ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी विसं २०७९ मा भारतको हैदराबादबाट ‘सी’ प्रजातिका बिरुवा ल्याएर खेती सुरु गरेको उनले जानकारी दिइन् । ‘मासिक २० हजार बुझाउने सम्झौता अनुसार २० वर्षका लागि जग्गा भाडामा लिएर व्यावसायिक रूपमा खेती गर्दै आएको छु, गौलीले भनिन्, ‘अघिल्लो वर्ष १६ लाख बराबरको ड्रागन फ्रुट बिक्री गरेको जनाउँदै यस वर्ष फल राम्रो लागेकाले २० लाख बराबरको बिक्री हुने अपेक्षा गरेको छु ।’ ‘वैशाखदेखि ड्रागन फुल्न सुरु गर्छ, फूल फुलेको ६० दिनको अवधिमा पाक्छ र टिप्नलायक हुन्छ’ उनले भनिन् ‘असारदेखि मङ्सिर ६ महिनासम्म फल टिप्न सकिन्छ ।’ यसवर्ष पहिलो छिमालमा ३५, दोस्रो छिमालमा एक हजार र तेस्रो छिमालमा एक हजार किलोग्राम ड्रागन फ्रुट टिपिसकेको उनले जानकारी दिइन् । उनका अनुसार ड्रागन फ्रुट तेह्र छिमालसम्म टिप्न सकिन्छ । अधिकांशले फार्ममै आएर खरिद गरी लैजाने गरेका गौलीले बताइन् । बाँकी रहेका फल दमौलीका फलफूल र तरकारी व्यवसायीलाई बिक्री गर्ने गरेको उनले जानकारी दिइन् । ‘ड्रागन बिक्रीका लागि अन्यत्र लैजानु परेको छैन् । उत्पादित फल दमौलीमा नै खपत हुने गरेको छ’ उनले भनिन् । गौलीका अनुसार फार्ममा दैनिक दुई जना कामदारले नियमित रोजगारी पाएका छन् । उत्पादित ड्रागन फ्रुट ग्रेडिङ गरेर प्रतिकिलोग्राम पाँच सयदेखि सात सय रुपैयाँसम्म बिक्री गर्ने गरिएको उनले बताइन् । अवलोकनका रूपमा विकास हुँदै पछिल्लो समय गौलीको फार्म अवलोकन केन्द्रका रूपमा विकास हुँदै गएको छ । विद्यालय र कलेजका विद्यार्थी, शिक्षक तथा स्थानीय अवलोकन गर्न यहाँ आउने गरेका छन् । ड्रागन फ्रुटका बारेमा जानकारी लिन सरकारी कार्यालयका कर्मचारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसमेत फार्ममा आउने गरेका किसान गौलीले बताइन् । ‘फार्ममा ड्रागन फ्रुट पाकेको समयमा मानिसलाई भित्र पस्न दिने गरे पनि अन्य समयमा रोक लगाउने गरिएको छ’ उनले भनिन् ।
पूर्वप्रधानमन्त्री चन्द भेट्न वीर अस्पताल पुगे उद्योगमन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शनिबार पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई भेटेरै स्वास्थ्य लाभको कामना गरेका छन् । बिहीबारदेखि वीर अस्पतालमा उपचाररत ८५ वर्षीय पूर्वप्रधानमन्त्री चन्दलाई निमोनियाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको उनका छोरा अरुण चन्दले जानकारी दिए । उनका अनुसार अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र मङ्गलबारसम्म ‘डिस्चार्ज’ हुने अपेक्षा गरिएको छ । पूर्वप्रधानमन्त्री चन्द भेट्न उद्योगमन्त्री भण्डारी एमालेका सुदूरपश्चिम प्रदेश सचिव रणबहादुर चन्दसहित वीर अस्पताल पुगेका थिए ।
मनसुनी विपदका मृतक परिवारलाई २ लाखका दरले राहत निकासा
काठमाडौं । मनसुनी विपदमा परी ज्यान गुमाएका ६९ जनाका परिवारलाई मापदण्ड अनुरूप दुई लाखका दरले राहत वितरणका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा निकासा गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म मृत्यु भएका ६९ जनाका परिवारका लागि एक करोड ३८ लाख निकासा भएको र उक्त रकमबाट कतिपय जिल्लाले प्रक्रिया पुर्याएर पीडित परिवारलाई राहत वितरण पनि गरिसकेका छन् । मनसुनको अवधिमा सबै प्रकृतिका विपदमा परेर अहिलेसम्म एक सय २५ भन्दा बढीको मृत्यु भइसकेको छ । त्यसमा सबैभन्दा बढी बाढीपहिरो र चट्याङका कारण मानवीय क्षति भएको छ ।मनसुनका समयमा यही देशभर परेको भारी वर्षाका कारण विपद्का घटना बढेपछि उच्च जोखिममा रहेका १२५ जनालाई सुरक्षा निकायद्वारा जीवित्तै उद्धार गर्न सफल भएको पनि प्राधिकरणले जानकारी गराएको छ । प्राधिकरणका प्रवक्ता उपसचिव डा डिजन भट्टराईले ओखलढुङ्गा, ताप्लेजुङ, कालीकोट र बझाङलगायत जिल्लाबाट हेलिकप्टरमार्फत उद्धार गरिएको पनि जानकारी दिए । शुक्रबार मात्रै गएको एक महिनामा भएको मनसुनी विपद्को अवस्था प्रतिवेदन सार्वजनिक गर्दै प्राधिकरणले जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समिति, नेपाल रेडक्रसलगायत सङ्घ संस्थाद्वारा प्रभावित परिवारलाई खाद्यान्न तथा गैरखाद्यान वस्तु वितरण गरिएको जानकारी दिएको छ । प्रतिवेदन अनुसार मनसुनबाट प्रभावित परिवारलाई तत्काल राहतस्वरूप १५ हजारदेखि २० हजार रुपैयाँसम्म वितरण गरिएको जनाइएको छ । प्रवक्ता भट्टराईका अनुसार रेडक्रसबाट हालसम्म सात सय ४५ थान तारजाली, दुई सय ९५ थान ब्ल्याङ्केट, दुई सय पाँच थान म्याट्रेस, एक सय २५ थान भाँडाकुँडा, एक सय थान झुल, २२५ थान सरसफाइ किट, एक हजार १३८ मिटर कपडा उपलब्ध गराइएको र गृह मन्त्रालयमातहत निकायबाट ५२० थान त्रिपाल, ५० थान टेन्ट, तीन सय थान ब्ल्याङ्केट, एक सय थान म्याट्रेस र ५० थान स्लिपिङ ब्याग उपलब्ध गराइएको छ। उनले समन्वयात्मक रूपमा विपद् व्यवस्थापनको काम जारी रहेको पनि जानकारी दिए । यसपालि बढी वर्षा हुने आँकलन रहेको थियो । मनसुनको सुरुआत महिनामै भारी वर्षाले जनधनको क्षति गराएको छ । रासस
सरकारी ऋण २४ खर्ब ३४ अर्ब नाघ्यो
काठमाडौं । नेपालले तिर्न बाँकी कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ३ करोड रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा मात्र १ खर्ब ३४ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ सरकारी ऋण थपिएको छ । कार्यालयले प्रकाशित गरेको ‘२०८१ असार मसान्तसम्मको सार्वजनिक ऋणको संक्षिप्त प्रतिवेदन’ अनुसार २०८० साउनमा २२ खर्ब ९९ अर्ब ३५ करोड रुपैयाँ बराबर रहेको सरकारी ऋण २०८१ असार समान्तसम्म बढेर २४ खर्ब ३४ अर्ब ३ करोड ६५ रुपैयाँ लाख पुगेको हो । वैदेशिक मुद्राको समायोजनपछिको बाँकी ऋण दायित्व २४ खर्ब ३३ अर्ब २३ करोड ९४ लाख रुपैयाँ बराबर छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को आधारमा सार्वजनिक ऋणको प्रतिशत ४२.६५ प्रतिशत बराबर हो । कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणको दायित्व ११ खर्ब ८० अर्ब ९० करोड १८ लाख रुपैयाँ अर्थात् जिडिपीको २०.७० प्रतिशत र बाह्य ऋणको दायित्व १२ खर्ब ५२ अर्ब ३३ करोड ७६ लाख रुपैयाँ अर्थात् जिडिपीको २१.९५ प्रतिशत पुगेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा सरकारले जम्मा ४ खर्ब ५२ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा असार मसान्तसम्ममा ३ खर्ब ५८ अर्ब २ करोड ९५ लाख रुपैयाँ ऋण प्राप्ति भएको कार्यालयले जनाएको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ७९.०८ प्रतिशत छ । गत आर्थिक वर्षका लागि ऋण परिचालनको लक्ष्यमध्ये आन्तरिक ऋण प्राप्ति ९७.६८ र बाह्य ऋण ५८.१० प्रतिशत रहेको छ । आन्तरिकतर्फ २ खर्ब ४० अर्ब ऋण उठाउने लक्ष्य रहेकोमा २ खर्ब ३४ अर्ब ४२ करोड रुपैयाँ उठाइएइको छ भने बाह्यतर्फ २ खर्ब १२ अर्ब ७५ करोड रुपैयाँ ऋण उठाउने लक्ष्य रहेकोमा १ खर्ब २३ अर्ब ६० करोड रुपैयाँ बराबर उठाइएको हो । गत आर्थिक वर्षमा ऋण सेवा खर्चका लागि ३ खर्ब ३० अर्ब वार्षिक बजेट विनियोजन भएकोमा गत असार मसान्तसम्म ३ खर्ब ५अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बराबर भुक्तानी भएको छ । यो वार्षिक विनियोजनको आधारमा ९२.५४ प्रतिशत बराबर हो । कुल गार्हस्थ्य उत्पादनको आधारमा कुल ऋण सेवा खर्च ५.३५ प्रतिशत बराबर हो । गत आर्थिक वर्षमा सरकारले २ खर्ब २३ अर्ब ३४ करोड रुपैयाँ साँवा भुक्तानी गरेको छ भने ८२ अर्ब ३ करोड १७ लाख रुपैयाँ बराबर ब्याज भुक्तानी गरेको छ ।