विकासन्युज

उर्जा क्षेत्रको विकासका लागि ५० अर्ब ७४ करोड विनियोजन

काठमाडौं । सरकारले उर्जा क्षेत्रको विकासका लागि ५० अर्ब ७४ करोड विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाललाई सूचना प्रविधि विकासको हवका रुपमा विकास गरिने बताए । सूचना प्रविधि क्षेत्रमा १० वर्षमा रु ३० खर्बको निर्यात गर्ने तथा पाँच लाख प्रत्यक्ष तथा पाँच लाख अप्रत्यक्ष प्रत्यक्ष रुपमा रोजगारी सिर्जना गर्ने लक्ष्य सहित आगामी आर्थिक वर्षलाईं सूचनाप्रविधि दशकको प्रस्थान वर्षको रुपमा अगाडि बढाइने उल्लेख छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका लागि ११ अर्ब ९१ करोड रुपैयाँ बजेट

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका लागि ११ अर्ब ९१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले घोषणा गरेका हुन् ।

१० वर्षमा ३० खर्बको प्रविधि निर्यात गर्ने लक्ष्य

काठमाडौं । सरकारले आगामी १० वर्षमा ३० खर्बको सूचना प्रविधि निर्यात गर्ने लक्ष्य तय गरेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री वर्षमान पुनले ५ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी सृजना गर्ने लक्ष्यसहित ३० खर्बको प्रविधि निर्यात गर्ने लक्ष्य तय गरेको बताएका हुन् ।

२०८१ मा १६ लाख पर्यटक भित्र्याइने

काठमाडौं । सरकारले २०८१  मा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारले राखेको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले एक वर्षमा १६ लाख पर्यटक भित्र्याउने घोषणा गरेका हुन् ।

औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गरिने

काठमाडौं । सरकारले गाँजाखेतीलाई वैधानिकता दिने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त वैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै गाँजाको व्यावसायिक उत्पादनका लागि आवश्यक कानुन निर्माण गरिने बताए । ‘औषधिजन्य प्रयोजनका लागि गाँजाको व्यावसायिक खेती गर्नका लागि कानुनी व्यवस्था मिलाइने छ’, उनले भने ।

पर्यटनमा ११ अर्ब ९१ करोड बजेट, नागरिक उडड्यन तर्फ ३ अर्ब

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले पर्यटन क्षेत्रको विकासका लागि ११ अर्ब ९१ करोड बजेट विनियोजन गरेका छन् । पुनले संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै पर्यटन विकासका लागि सो रकम विनियोजन गरेका हुन् । उनले नागरिक उडड्यन क्षेत्रतर्फ ३ अर्ब बढी बजेट विनियोजन गरेको बताएका हुन् ।

प्रदेश र स्थानीय तहलाई ५ खर्ब ६७ अर्ब विनियोजन

काठमाडौं । स्थानीय तहका लागि ८८ अर्ब र प्रदेशका लागि ६० अर्ब रुपैयाँ विनियोजन गरेको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत सरकारले उक्त वित्तीय समानीकरण अनुदान विनियोजन गरेको बताएका छन् । यस्तै सर्सत अनुदानतर्फ प्रदेशका लागि २५ अर्ब ८४ करोड र स्थानीय तहका लागि २ खर्ब ८ अर्ब ८८ करोड गरी जम्मा गरी २ खर्ब ३४ अर्ब ७३ करोड विनियोजन गरिएको उनले बताए । प्रदेश र स्थानीय तहलाई पूर्वाधारका आयोजना कार्यान्वयन गर्न प्रदेशलाई ६ अर्ब २० करोड र स्थानीय तहलाई ७ अर्ब विनियोजन भएको छ । विशेष अनुदानतर्फ प्रदेशलाई ४ अर्ब ४० करोड र स्थानीय तहलाई ८ अर्ब ५० करोड विनियोजन भएको छ । राजस्व बाँडफाँडबाट प्रदेश र स्थानीय तहमा १ खर्ब ५९ अर्ब रुपैयाँ हस्तान्तरण हुने अनुमान अर्थमन्त्रीको छ । राजस्व बाँडफाँड र अनुदान गरी आगामी आर्थिक वर्षमा स्थानीय तह र प्रदेशमा ५ खर्ब ६७ अर्ब हस्तान्तरण हुने सरकारको अनुमान छ ।

नेपाललाई विवाह गर्ने हब बनाइने, लुम्बिनीलाई बर्थिङ हब

काठमाडौं । नेपाललाई विवाह गर्ने थलको रुपमा विकास गरिने भएको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् । जनकपुरलाई वेडिङ र लुम्बिनीलाई बर्थिङ हबका रुपमा विकास गरिने कार्यक्रम बजेटमा समावेश गरिएको अर्थमन्त्रीले बताए । नेपालमा वैवाहिक समारोह आयोजना गर्न आउने पर्यटकहरूका लागि सहजीकरण गरी साँस्कृतिक तथा पर्यटकलाई विवाह गन्तव्यमा रुपान्तरण गरिने बताएका हुन् ।