विकासन्युज

नेपालका ८०९ वडाका स्वास्थ्य संस्थामा मात्र सर्पदंश सेवा उपलब्ध

काठमाडौं । पछिल्लो समय देशभरि गर्मी बढेको छ । गर्मीयाममा सर्प डसाइकाे जोखिम बढी हुन्छ । तराईदेखि हिमाल, पहाड जुनसुकै स्थानमा सर्पले मानिसलाई डस्छ ।  सर्पको डसाइबाट धेरैकाे मृत्यु हुने गरेकाे तथ्यांकले पनि देखाउँछ ।  अन्य समयभन्दा गर्मीमा सर्पले डसेका बिरामीको अस्पतालमा बढी भीड लाग्छ । तर, नेपालमा सर्पले डसेका नागरिकले समयमै उपचार पाउँदैनन् । जसका कारण उनीहरूले अकालमै ज्यान गुमाउन पुग्छन् । अहिले काठमाडाैंका  टेकु लगायत अन्य अस्पतालमा सर्पदंशका बिरामीको संख्या बढिरहेकाे छ । बर्सेनि विश्वमा २० लाख मानिसको मृत्यु सर्पको डसाइबाट हुने तथ्यांकले देखाउँछ । नेपालमा पनि सर्पको डसाइबाट बर्सेनि तीन हजार बढीले  ज्यान गुमाउँछन् । तर, यसको उपचार भने सहज छैन । नेपालको जनगणना २०७८ को तथ्यांकले नेपालका ८०९ वटा वडाका स्वास्थ्य संस्थामा मात्र सर्पदंशको उपचार हुने देखाएकाे छ । बाँकी वडाका स्वास्थ्य संस्थामा यसको उपचार छैन । जनगणानाअनुसार १२ प्रतिशत नागरिकले सर्पदंश सेवा लिएका छन् । नागरिकले स्वास्थ्य संस्थाबाट अन्य सेवाभन्दा बढी खोप सेवा लिने गरेको पाइएको छ । सरकारले स्वास्थ्य संस्थामा उपलब्ध गराउने विभिन्न सुविधामध्ये नागरिकले धेरै खोप सेवा पाउने गरेको तथ्यांकले देखाएकाे छ । नेपालको जनगणना २०७८ मा संकलन गरिएको विवरणअनुसार ७ सय ५३ वटा स्थानीय तहमा रहेका ६ हजार ४ सय १८ वडाबाट ९५.२ प्रतिशतले खोप सेवा लिएका छन् । प्रदेशगत हिसाबमा हेर्दा कोशी प्रदेशका वडामा सबैभन्दा बढी खोप सेवा लिएको पाइएको छ भने कर्णाली प्रदेश बाहेक अन्य प्रदेशका वडामा ९५ प्रतिशतले खोप लिएको पाइएको छ । यस्तै कर्णाली प्रदेशमा ९२.८ प्रतिशत वडामा नागरिकले खोप सेवा लिएको पाइएको छ । यस्तै, अन्य सेवामध्ये प्रसुतिपछिको स्वास्थ्य सेवा ६० प्रतिशत, निःशुल्क औषधी वितरण सेवा ८४.४ प्रतिशत, रेबिज उपचार भ्याक्सिन सेवा १७.४ प्रतिशत, सर्पदंश उपचार सेवा १२ प्रतिशत, पोषण सेवा ८५.७ प्रतिशतले लिएका छन् । यसैगरी आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य सेवा २४.४ प्रतिशत, सामान्य आकस्मिक ७७ प्रतिशत, मेलेरियाको औषधी उपचार सेवा ४६.५ प्रतिशत, झाडापखालाको औषधी उपचार सेवा ८९.४ प्रतिशत, स्वास्थ्य प्रावधन सेवा ८१.१ प्रतिशत, खोप सेवा ९५.२ प्रतिशत, परिवार नियोजन सेवा ५६ प्रतिशत, प्रसुति सेवा सुविधा ४९.९६ प्रतिशत, गर्भावस्थाको परामर्श तथा गर्भावस्थाको स्वास्थ्य सेवा ८१.२ प्रतिशतले  लिएकाे तथ्यांकले देखाएकाे छ ।

भरतपुरमा भित्रन्छ करिब १२ अर्ब रेमिट्यान्स, ७३ प्रतिशत ऋण तिर्न प्रयोग

नारायणगढ । चितवनको भरतपुर महानगरपालिकामा वार्षिक ११ अर्ब ९६ करोड ९१ लाख २२ हजार रुपैयाँ बढी विप्रेषण (रेमिट्यान्स) भित्रने गरेको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले सार्वजनिक गरेको तथ्यांकअनुसार सो रकम भरतपुरबाट वैदेशिक रोजगारमा रहेका ३० हजार पाँच सय ५५ जनाबाट भित्रिएको विप्रेषण रकम हो । सामी कार्यक्रम हेल्भेटास (नेपाल सरकारको सहकार्यमा काम गरिरहेको संस्था)की संयोजक उमा पौडेलका अनुसार एक व्यक्तिले औषतमा मासिक ३२ हजार छ सय रुपैयाँ ४३ दशमलव ६५ विप्रेषण पठाइरहेका छन् । आएको विप्रेषणमध्ये ७३ प्रतिशत ऋण तिर्न, घरखर्च, खाद्यान्न, स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा खर्च गरेको पाइएको उनले बताए । वैदेशिक रोजगारमा रहेका ३० हजार पाँच सय ५५ जनाका २९ हजार एक सय ७७ परिवारले एक वर्षमा करिब १२ अर्ब रुपैयाँ विप्रेषण प्राप्त गर्ने गरेका संयोजक पौडेलले जानकारी दिए । उनका अनुसार १३ प्रतिशतले बचत, छ प्रतिशतले जिन्सी सम्पत्ति जोड्ने, चार प्रतिशतले जग्गा खरिद, तीन प्रतिशतले ऋण लगानी र एक प्रतिशतले मात्र व्यवसाय सञ्चालन गरेका पाइएको छ । विदशेबाट फर्केर आएका दुई हजार दुई सय ७२ विभिन्न आयमूलक क्षेत्रमा रहेका भन्दै आठ हजार नौ सय ५९ जनाले केही नगरी बसेको पाइएको जानकारी संयोजक पौडेलले दिए । एक हजार ७४ जनाले स्थानीयस्तरमा आयआर्जनसम्बन्धी विभिन्न योजना बनाएका उनले बताए । विदेशबाट फर्केर यहाँ आएका व्यक्तिमध्ये तीन हजार तीन सय ५८ जनाले कुनै न कुनै सीप लिएर फर्केका पौडेलले बताए । सीप भएका तर प्रमाणपत्र नभएका व्यक्तिको सङ्ख्या पनि उल्ललेख्य रहेको भन्दै उनले रोजगारमा रहेका कामदारमध्ये ३३ दशमलव ६१ प्रतिशतले मात्रै सीप सिकेर गएको उल्लेख गरे । उनले ५५ प्रतिशतले आवश्यक सूचना तथा परामर्शसमेत लिएर विदेश जाने गएको जानकारी दिए । छयानब्बे हजार पाँच सय ९१ घर रहेको भरतपुरमा ३४ हजार पाँच सय आठ घरबाट ४१ हजार सात सय ८६ जना वैदेशिक रोजगारीमा गएका सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको तथ्यांकमा उल्लेख गरिएको छ । हाल ३० हजार पाँच सय ५५ विदेशमा रहेका र ११ हजार दुई सय ३१ जना नेपाल फर्किएका संयोजक पौडेलले जानकारी दिए । रासस

प्रदेश तेस्रो तहका नेताहरूलाई राख्ने ठाउँ बन्यो : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश संरचनालाई सही बाटोबाट अघि बढाउन आवश्यक रहेको बताएका छन् । बुधबार नेपाल समाजवादी पार्टीको स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रदेश तेस्रो तहका नेताहरुलाई राख्ने स्थल बनेको बताए । व्यवस्थाले परिकल्पना गरेको संघीयताको मर्मलाई अँगाल्न नसकेको बताए । तेस्रो तहका नेताहरुलाई राख्ने ठाउँ प्रदेश बनेको बताए । अहिले भएको प्रदेशले संविधान र संघीयतालाई बोक्न नसकेको जानकारी दिए । ‘प्रदेश संरचनालाई लिएर हामीले राखेका केही प्रश्नहरुलाई लिएर धेरै जिज्ञासाहरु छन् । प्रदेश जुन ढंगको बनेको छ, के संविधानले परिकल्पना गरेको प्रदेश अहिले जे देखिएको छ, त्यही प्रदेश हो । त्यो दोस्रो तेस्रो लेयरका राजनीतिक दलका नेताहरुलाई पार्किङ गर्ने, पार्किङ स्थल भएको छ । तेस्रो तहका नेताहरु कता जाने भन्दा प्रदेशमा’, उनले भने । गृहमन्त्री लामिछानेले सबैलाई जोगाउँदा, देश, व्यवस्था र संविधान नजोगिने अवस्थामा पुगेको बताए । मिलेर जाउँ भन्ने चकरमा आफू ३ महिना नलागेको भए गत निर्वाचनमा २० सिट बढी जित्ने दाबी गरे ।

झिनो अंकले नेप्से बढ्दा उच्च कारोबार, वित्त समूहमा झुमिए लगानीकर्ता

काठमाडौं । बुधबार सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । वृद्धिसँगै नेप्से परिसूचक ६.७३ अंकले बढेर २१२१.६२ बिन्दुमा कायम भएको छ ।  नेप्से ०.३० प्रतिशतले बढेको हो । नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने बढेको छ । आज ३१२ कम्पनीको सेयर खरिदबिक्री हुँदा ५ अर्ब ८९ करोड रुपैयाँ बराबरको बारोबार भएको छ । मंगलबार ५ अर्ब ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । सूचीकृत कम्पनीहरू मध्ये ११९ कम्पनीको मूल्य बढ्दा १५ को घट्यो भने १३ को स्थिर रह्यो । बुधबार होटल तथा पर्यटन समूह ०.१८, जलविद्युत् समूह ०.६१, निर्जीवन बीमा ०.४८ र व्यापार समूह ०.३६ प्रतिशतले घटेको छ  । अन्य सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै वित्त समूह १.०७ प्रतिशतले बढेको छ । समृद्धि फाइनान्स कम्पनी लिमिटेड, मिड सोलु हाइड्रोपावर लिमिटेड, साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ४.४८ प्रतिशतले घटेको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको २७ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

कामना सेवा विकास बैंकमा आबद्ध हुनेलाई थाइरो ल्याब बुटवलमा छुट

काठमाडौं । कामना सेवा विकास बैंकले बुटवल, रुपन्देही स्थित थाइरो ल्याब बुटवलसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले उक्त ल्याबले प्रदान गर्ने विभिन्न सेवा-सुविधामा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पुर्याउने उद्धेश्यले स्थापित उक्त थाइरो ल्याब बुटवलमा कामना सेवा विकास बैंकका ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

‘नाडा अटो एक्सपो २०२४’ को स्टल बुकिङ खुल्यो

काठमाडौं । भदौ ११ गतेदेखि १७ गतेसम्म काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी हलमा आयोजना हुने ‘नाडा अटो एक्सपो २०२४’ को स्टल बुकिङ खुला भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले बुधबार एक सूचना जारी गर्दै बिहीबारदेखि स्टल बुकिङ खुलाएको हो । नाडाले स्टल बुकिङका लागि जेठ ३१ देखि आसार ५ गतेसम्मको समय तोकेको छ । तोकिएको समयमा परेको आवेदनहरूबाट लक्की ड्र गरि बुथरब्लक छनोट गरिने नाडाले जनाएको छ । प्रदर्शनीमा दुई पांग्रे, चार पांग्रे, लाइट कमर्शियल, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुलाई समुह अनुसार छुट्टाइएको हुँदा सोही अनुरूप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको नाडाले जनाएको छ । सोमबार बसेको नाडाको कार्यसमिति बैठकले भदौ ११ गतेदेखि नाडा अटो एक्सपो २०२४ गर्ने निर्णय गरेको थियो ।

सरकारले पाँच लाख वा त्यो भन्दा कम बजेट विनियोजन गर्नु गलत छ : पूर्णबहादुर घर्तीमगर

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तीमगरले ५ लाख भन्दा कमको पनि बजेट विनियोजन शहरी विकास मन्त्रालयले विनियोजन गरेकोमा आपत्ति जनाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय सरकारले ५ करोड भन्दा कम बजेट विनियोजन नगर्ने प्रतिवद्धता जनाएपछि त्यस विपरित बजेट आएको भन्दै उनले आक्रोश व्यक्त गरेका हुन् । बुधबार प्रतिनिधि सभा बैठकमा शहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले ५ करोड भन्दा कम बजेट संघीय सरकारले नगर्ने भन्ने सहमति विपरितका बजेटहरु विनियोजन गर्नु गलत भएको बताए । द्वन्द्व पीडितहरुलाई क्षतिपूर्ति दिनका लागि बजेट विनियोजन नगरिएकामा असन्तुष्टि व्यक्त गरे । सांसद घर्तीमगरले भने, ‘शहरी विकास मन्त्रालयको बजेटमा ५ लाख बराबरको योजनाहरु १७७ वटा रहेछन् । जबकी हामीले ५ करोड भन्दा बढिको योजना समावेश नगर्ने भनेका थियौं । प्रधानमन्त्रीज्यू र अर्थमन्त्रीज्यूको भनाई र गराई मिलेन कि भन्ने मलाई लागिराखेको छ । यो ५ लाख, ३ लाख, २ लाखका योजनाहरु गर्दाखेरी मिलेन भन्ने मलाई लाग्छ ।’ सांसद घर्तीमगरले बजेट वितरणमुखि भएको पनि बताए ।

बैतडीको देहीमाण्डौंमा प्रभु बैंकको ३०३ औं शाखा सञ्चालनमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो ३०३ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बुधबारदेखि दशरथचन्द नगरपालिका, वडा नं.२ स्थित देहीमाण्डौंमा शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको हो । प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा खोलेर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको छ । प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको जनाएको छ । बैंकको देहीमाण्डौ शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।